अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा. ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ९४९ मत ल्याई पहिलो निर्वाचित विधायक बनेका छन् । यो कूल खसेको मतको २० दशमलव २७ प्रतिशत हो ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा विजयी भएर अमेरिकाको मूलधारको राजनीतिमा जीत हासिल गर्ने पहिलो नेपाली बनेका भण्डारीले आफ्नो क्षेत्रका नागरिकलाई शिक्षामा सुधारको अभियान अगाडि सारेका थिए । यसका लागि उनले दुवै पटकको निर्वाचनमा ‘टिचर फर डेलिगेट’ भन्ने नारा अगाडि सारेका थिए ।

हयारीसहित डेमोक्र्याट पार्टीका कार्ल ज्याक्सन र निक एलेनले पनि विजयी हासिल गरेका छन् । कार्लले १३ हजार ती सय एक मत र निकले १२ हजार पाँच सय ४७ मत प्राप्त गरेका छन् । डिष्ट्रिक्ट ८ बाट तीन जना विधायक निर्वाचित हुने व्यवस्थाअनुसार तीनै जना डेमोक्रयाटका उमेदवार विजयी भएका छन् । ह्यारीले सबैभन्दा वढी मत पाएका हुन् ।

मूलधारको राजनीतिमा एकपछि अर्को सफलता हात पारेसँगै नेपालीमूलका अमेरिकी खुसी भएका छन् । ‘यो जित हाम्रो मूलधारको राजनीतिमा कोसेढुंगा साबित भएको छ’, अमेरिकाको मेरिल्याण्डमा रहेका डा. श्याम कार्कीले विजयको खबर सुनेपछि प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाको नीति निर्माण तहमा नेपालीभाषीको प्रतिनिधित्वले हामी नेपालीलाई गौरवको अनुभूति भएको छ ।’ कार्कीले सन् २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा सघाउँदै आएका छन् ।

केही महिना अगाडी  बेनीबजारमा रहेका आफन्तसँगको भेटघाटपछि पत्रकार महासंघ म्याग्दीको कार्यालयमा आयोजित कार्यक्रममा सांसद भण्डारीले म्याग्दीको सदरमुकाम बेनीबजार प्रकृतिको बरदान पाएको बजार भएको बताएका थिए । कालीगण्डकी र म्याग्दी नदीले बेनीबजारको सुन्दरता बढाएकाले बेनीबजार आसपासका क्षेत्रलाई राम्रोसँग चिन्ने अवसर मिलेको बताए । सांसद भण्डारीले कालिगण्डकी नदीको महत्व विश्वभर रहेको बताउनुभयो ।‘मेरो त यो प्यारो ठाउँ हो,‘धेरैपटक यहाँ आएको छु,‘पारिवारिक सम्बन्धले समेत बलियो बनाएको छ’ भण्डारीले भने ।े नेपाल भ्रमणको क्रममा साथीभाईले पबित्र कालिगण्डकीमा स्नान गर्न गरेर आउन समेत सुझाव दिएको समेत बताए ।

Leave a Reply