नारायणगढ–मुग्लिङ सडक खण्ड भोलिदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माण गर्न एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक माघ ५ गतेसम्म एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार सवारी साधन प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध समेत गरेको छ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।

सवारी तोकेको समयमा पार गर्न नसक्ने सवारी साधनलाई राख्ने व्यवस्था समेत गरिएको छ। नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ।

यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।

काठमाडौँ तर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ। यस्तै, काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ।

Leave a Reply