बेनी नगरपालिका-७ बिरेन्द्रचोकमा शान्ति पार्क निर्माण हुने भएको छ । आइतबार जिल्ला समन्वय समितिका बसेको सर्वदलिय, सर्वपक्षीय भेलाबाट डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको जमिनलाई पार्कका रुपमा विकास गरी आर्कषक संरचना बनाउने निर्णय भएको छ ।

करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउन जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि,सरोकारवाला निकायले सहमति जनाएपछि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने जिसस प्रमुख राजकुमार थापाले बताए ।‘डिपिआर अनुसार काम गर्ने निर्णय भएको छ,‘शान्ति र मनोरञ्जनको लागि आवश्यक पर्ने संरचना तयार गरिने छ’ प्रमुख थापाले भने ।

पार्कस्थलमा शान्तिको सन्देश दिने संरचनाहरूलाई प्राथमिकता दिएपनि तत्कालिन विद्रोही नेकपा माओवादीले २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनी आक्रमणमाको क्रममा छियाछिया परेको विद्युत पोललाई समेत फिर्ता लिएर राखिने छ ।

उक्त स्थानमा ज्येष्ठ नागरिकलाई बिश्रामस्थल, बालबालिकालाई लक्षित गरी बन्ने चिल्ड्रेन पार्कमा बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिने छ ।पार्कलाई अपाङ्मैत्री बनाउने र पैदलमार्गबाट आवतजावत गर्न मिल्ने बनाउने नगरप्रमुख सुरत केसीले बताए । ‘पर्यटकलाई तान्ने गरी पार्क बनाउँछौ,‘नगरको गौरवको योजनाभित्र पर्छ’ मेयर केसीले भने ।

लागत, समग्र प्रोजेक्टमा हुने गतिविधि, आवश्यक स्रोतसाधन, विभिन्न भूमिका र जिम्मेवारीको विवरणको आधारमा विज्ञ, सम्बन्धित निकायहरु, सम्बन्धित व्यक्तिहरुलगायतसँगको छलफलका आधारमा डिपिआर तयार गरिने मेयर केसीको भनाई छ ।

बालबालिकादेखि बृद्धबृद्धाको रोजाईमा पर्ने गरी संरचना बनाउन नगरपालिकाले प्रदेश र संघीय सरकारलाई समेत आवश्यक सहयोग माग्ने छ ।पार्क आसपासमा ब्यायामका लागि आवश्यक औजारहरु समेत राखिने छ ।

जिल्लाको प्रशासनीक क्षेत्र नजिकै जंगल छेउमा पार्क निर्माण भएपछि मनलाई शान्त गराउन सकिने र मनोरञ्जन पनि लिन पाइने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । उनले पार्क बनाउन वडाबाट आवश्यक सबै सहयोग गरिने बताए। शहरीकरणको चाप र त्यसले दिने तनावबाट मुक्त हुनका लागि शान्ति उद्यान आवश्यक भएको बताए ।

बराहपाखो सामुदायिक बनसँगै जोडिएकाले बिहानदेखि बेलुकासम्म चराचुरुङ्गीको आवाज सुन्न पाइने, घुमफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउन समेत मिल्ने भएकाले भविस्यमा सामुदायि बनभित्र समेत असर नगर्ने गरी जंगल सफारीका लागि समेत प्रयोग गर्न सकिने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

सुन्दर वातावरणमा रमाउन आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरी संरचना बनाउँदा सामुदायिक बन र आसपासमा रहेका अन्य सरकारी संरचनामा कुनै असर गर्न नदिने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

सर्वदलिय तथा सर्वपक्षीय भेलामा जिसस उपप्रमुख दिलकुमारी खत्री, उपमेयर ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोख्रेल, बेनी नगरका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

उद्यान आनन्द लिन र पार्कमा सामूहिकरुपमा बसेर आपसमा भावना साटासाट गर्ने थलो भएकाले शान्ति पार्क बनाउने निर्णयबाट बेनीबजारबासी समेत उत्साहित छन् । यसैबीच तत्कालिन विद्रोही नेकपा माओवादीले २०६० साल चैत ७ गते बेनी आक्रमणको बेलाम बिद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा सयौं गोली लागेर छियाछिया बनेको बिजुलीको( खम्बा) पोललाई समेत फिर्ता लिएर उचित स्थानमा राख्ने निर्णय भएको छ ।

तत्कालिन विद्युत प्राधिकरणका प्रमुख सहित केही सरकारी निकायका अधिकारीको मिलेमतोमा सुटुक्क ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा लगिएको पोल म्याग्दी आक्रमणको दुई दशक पुग्न लाग्दा समेत फिर्ता ल्याउन नसकिएको अवस्थामा सरोकारवाला निकायले यूद्धको संकेत नदिने गरी सर्वसाधारणलाई हेर्न मिल्ने गरी राख्ने निर्णय गरेको हो ।

 

Leave a Reply