---Advertisement---

अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीद्वारा पौलस्त्य पुलहाश्रमको अवलोकन, भारतीय पर्यटक भित्राउन सघाउने

On: April 16, 2026 10:44 PM
Follow Us:

भारतको नयाँ दिल्लीमा रहेको संसारको सबैभन्दा विशाल हिन्दु मन्दिर अक्षरधामका प्रमुख मुनीवत्सल स्वामीले म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको पुलाडाँडास्थित पछैमा रहेको धार्मिक पर्यटकीयस्थल पौलस्त्य पुलहाश्रमको अवलोकन भ्रमण गर्नुभएको छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउनुभएका अक्षरधामका प्रमुख मुनीवत्सलले पुलहाआश्रम क्षेत्रको भ्रमणसँगै विश्वभरका हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र भएकाले प्रचारप्रसारमा सघाउने बताउनुभएको छ ।


करिब एक घण्टा पौलस्त्य पुलहाश्रम क्षेत्रको अवलोकन तथा धार्मिक महत्वका बारेमा स्थानीयलाई समेत जानकारी गराउँदै विश्वभरका हिन्दु धर्मालम्बीहरु एकपटक पुग्नुपर्ने स्थान रहेको बताउनुभएको थियो ।

अक्षरधामका प्रमुख स्वामीलाई बेनी नगरपालिकका मेयर सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँ, वडा अध्यक्ष गोविन्द बानियाँ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी सहित स्थानीयबासीले स्वागत गरेका थिए ।

संसारको सबैभन्दा विशाल हिन्दु मन्दिरको रुपमा चिनिने अक्षरधाममार्फत पुलहआश्रम क्षेत्रको दर्शनका लागि समेत वातावरण बनाउने स्वामीसँगै आउनुभएको धामका महन्तहरुको भनाई छ ।


बेनी नगरपालिकाका मेयर सुरत केसीले पौलस्त्य पुलहाश्रम क्षेत्रको विकासका लागि स्थानीय सरकारको बजेटले मात्रै प्रयाप्त नहुने भएकाले धार्मिक संंघसंस्थामार्फत समेत सहकार्य आवश्यक रहेको बताउनुभयो । रामायण पार्कमा रावणसँगै पुलस्त्य र पुलह ऋषिको समेत मूर्ति बनाउने तथा ऋषिपार्क निर्माण गरी धार्मिक पर्यृटकलाई आर्कषित गर्ने याृेजना रहेको प्रमुख केसीको भनाई थियो ।


पुलस्त्य पुलह क्षेत्र विकास कोषका अध्यक्ष लिलाबहादुर बानियाँले पौलस्त्य–पुलहाश्रम क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि झण्डै ३० करोड रुपैयाँ बराबरको लागत अनुमान गरी डिपिआर बनाएर आवश्यक पूर्वाधारहरु बनाउन नेपाल सरकार सहित विश्वभर रहेका धार्मिक सघसंस्थाको योगदान आवश्यक रहेको बताउनुभयो ।

पौलस्त्य पुलहाश्रम सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा पर्दछ । यहाँ पुलह, पुलस्त्य, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता रहेको अध्यक्ष बानियाँको भनाई छ ।


अक्षरधाम निर्माण गर्ने महन्त स्वामीले ३ वर्षसम्म मुक्तिनाथमा बसेर तपस्या गरेकाले गलेश्वर मन्दिर क्षेत्रमा समेत समय विताएकाले यस क्षेत्रको महत्व रहेको बताइएको थियो । अक्षरधाम संसारको सबैभन्दा विशाल हिन्दु मन्दिरको रुपमा चिनिएको छ । उक्त धामका महन्तहरुले पनि शालीग्राम संग्राहलय, मुक्तिनाथको महिमाका बारेमा पूजा गर्ने गरिन्छ ।

भारतको दिल्लीमा १ सय एकड जमिनमा २ सय ११ फिट अग्लो मन्दिर निर्माण गरिएको छ । यो मन्दिर हिन्दुको सबैभन्दा ठूलो हो । २००५ को नोभेम्बर ६ मा भारतका राष्ट्रपति एपिजे अब्दुल कलामले उद्घाटन गरेका थिए । २००७ मा यो मन्दिर गिनिज बुक आफ वल्र्डमा रेकर्ड समेत भएको इतिहास छ ।

Leave a Comment