---Advertisement---

म नेपाल आमा हाँसेको हेर्न चाहन्छु : प्रधानमन्त्री शाह

On: April 17, 2026 10:19 AM
Follow Us:

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आमाको मुख हेर्ने पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

सामाजिक सञ्जाल एक्समार्फत उनले शुभकामना दिएका हुन्। उनले आफ्नो शुभकामनामा ‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ भनेर लेखेका छन्। साथै, ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भनेर समेत उल्लेख गरेका छन्।

हेर्नुस् उनको शुभकामना
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। 
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

आजका दिनमा दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठुलो संख्यामा भक्तजनाको भीड समेत लागेको छ।  

Leave a Comment