सीमा भन्दा बढी भार बोक्ने सवारी साधनका चालकलाई कारबाही गर्ने यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बिहीबार सूचना जारी गरेर प्रचलित कानुनबमोजिम जरिवाना गरी अतिरिक्त मालसामान हटाउन लगाउने जनाएको छ। यस्तै सीमा नाघेको सामानको व्यवस्थापन सम्बन्धित सवारीधनी आफैंले गर्नुपर्ने पनि विभागले स्पष्ट पारेको छ।
विभागले मालवाहक सवारी भारवहन सम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो। विभागले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै देशैभर चल्ने मालवाहक सवारी साधनहरूले निर्धारित मापदण्डअनुसार भारवहन गर्नुपर्ने स्पष्ट गरेको हो।
सूचनाअनुसार ‘मालवाहक सवारी साधनको भारवहन नियम सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित)’ बमोजिम सञ्चालन हुनुपर्नेमा कतिपय सवारी साधनहरूले बढी लोड बोक्ने गरेको गुनासो आएपछि कडाइ गरिएको विभागले जनाएको छ।अब प्रत्येक मालवाहक सवारीले अनिवार्य रूपमा प्रावधान पालन गर्नुपर्नेछ।
सूचनामा आयातित सवारी साधनहरूको हकमा भन्सार कार्यालय परिसरमै स्वीकृत भारवहन क्षमता अनुसार तौल मिलाएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, मालवाहक सवारीले प्रस्थान बिन्दु, मध्य बिन्दु र गन्तव्य नजिकका तोलपुलमा अनिवार्य रूपमा तीन पटक तौल जाँच गराई लोड सिट साथमा राख्नुपर्नेछ।
विभागले विभिन्न एक्सलका सवारी साधनका लागि अधिकतम तौल सीमा समेत निर्धारण गरेको छ। जसअनुसार २ एक्सल (४ पाङ्ग्रे) सवारीका लागि १२ टन, २ एक्सल (६ पाङ्ग्रा) का लागि १६.२ टन, ३ एक्सल (आगाडि २ र पछाडि ८ पाङ्ग्रा, ट्यान्डेम) का लागि २५ टन, ४ एक्सल (आगाडि २, लिफ्ट २ र पछाडि ८ पाङ्ग्रा, ट्यान्डेम) का लागि ३१ टन, ४ एक्सल (आगाडि २ र पछाडि १२ पाङ्ग्रा, ट्राइडेम)का लागि ३० टन तथा ६ एक्सल (आगाडि २, बीचमा ४ र पछाडि १२ पाङ्ग्रा, ट्राइडेम) का लागि ४०.२ टन अधिकतम तौल तोकिएको छ।
यसैगरी, रिजिड ट्रकको हकमा अधिकतम ३५ टन र ट्रेलर र सेमी ट्रेलरको हकमा ४९ टनभन्दा बढी तौल हुन नहुने उल्लेख गरिएको छ। विभागले तोकिएको व्यवस्था विपरीत सवारी सञ्चालन गरेको पाइएमा प्रचलित ऐन, नियम र कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।














