राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ हालसम्म ८७ दशमलव ०८ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
थापाथलीस्थित कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गणनाको प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।
उनका अनुसार देशभर खटिएका गणकहरूले स्थलगत रूपमा तथ्याङ्क सङ्कलन गरिरहेका छन् । हालसम्म आठ लाखभन्दा बढी कागजी फारम तथा १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण भइसकेको छ ।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले आर्थिक गणनाले मुलुकको आर्थिक संरचना, व्यवसाय, रोजगारी र उत्पादनसम्बन्धी यथार्थ तथ्याङ्क उपलब्ध गराउने बताए ।
उनले प्रतिष्ठान तथा व्यवसायीलाई सत्य र तथ्यपरक विवरण उपलब्ध गराउन आग्रह गर्दै सञ्चारमाध्यम, विशेषगरी रेडियोमार्फत् गणनाबारे जनचेतना फैलाउन सहयोग गर्न अनुरोध गरे ।
डा. पोख्रेलले राष्ट्रिय आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखा प्रणालीलाई समयसापेक्ष बनाउन सहयोग पुग्ने धारणा राखे ।
साथै सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारलाई आर्थिक नीति, योजना तथा कार्यक्रम निर्माण र मूल्याङ्कनमा समेत गणनाले आधार प्रदान गर्ने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा सहभागी रेडियोकर्मीहरूले भने सरकारले सरकारी विज्ञापन कटौती गर्दा सञ्चारमाध्यम समस्यामा परेको गुनासो गरेका थिए । उनीहरूले रेडियो क्षेत्रले विभिन्न चरणमा सात प्रकारका कर तिर्नुपर्ने झन्झटपूर्ण अवस्थाको सामना गरिरहेको बताएका छन् ।
कार्यक्रममा नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले रेडियो अझै पनि आमजनतामाझ लोकप्रिय र प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै यसको संरक्षणका लागि राज्यले लचिलो नीति अवलम्बन गर्नुपर्ने बताए । उनले कर छुट तथा विज्ञापन व्यवस्थापनमा सहजीकरण भए रेडियो क्षेत्रलाई टिकाउन सहज हुने धारणा राखे ।










