नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि र रूपान्तरण सम्भव नभएको बताएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूले लामो समयदेखि उठाउँदै आएको एजेन्डाले बल्ल मूर्त रूप पाएको बताए।
मन्त्री पुनले आफूले विगतदेखि नै यस्तो मन्त्रालयको आवश्यकताका बारेमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गरे। ‘यस्तो मन्त्रालयको चाहना अहिलेको मात्र होइन, उहिलेदेखिको हो,’ उनले भने, ‘विज्ञान र प्रविधि नभई देश विकास हुँदैन भनेर म काग कराएसरी कराइरहेको थिएँ, अहिले आफैँ त्यही ठाउँमा आइपुगेको छु।’
आगामी योजना र कार्यदिशाका बारेमा सोधिएको प्रश्नमा मन्त्री पुनले तुरुन्तै ठूला योजनाहरू घोषणा नगर्ने बताए। उनले भने, ‘भोलि के गर्छस् भनेर अहिले नै नसोध्नुहोस्। सबै कुरा एकैचोटि सम्भव हुँदैन। आफ्नो बुद्धि र विवेकले भ्याएसम्म देशका लागि काम गर्ने हो।’
उनले विज्ञान र प्रविधिको क्षेत्रमा ठोस उपलब्धि देखिन कम्तीमा १० वर्ष लाग्ने र एक–दुई महिनामै कुनै चमत्कार नहुने बताए।
मन्त्री पुनले कुल बजेटको १ प्रतिशत यस क्षेत्रमा विनियोजन हुनु धेरै नभए पनि यो एउटा सुरुवात भएको टिप्पणी गरे। ‘१ प्रतिशत बजेट धेरै पैसा होइन, तर अहिलेलाई टिका लगाउन भने पुग्छ,’ उनले भने, ‘यो कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा थप सुदृढ बनाउनु पर्नेछ।’
स्वतन्त्र सांसदका रूपमा रहेका पुनलाई प्रधानमन्त्री बालेन्द्र शाहले उनको विज्ञता र आविष्कारको क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सरकारमा सहभागी गराएका हुन्।
पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए।










