हरिकृष्ण गौतम
म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगखोलाकी सावित्री पुर्जा मगरले जापानमा हुने पिरिका मोसोरी सेभेन्स २०२६ मा खेल्नुहुने भएको छ ।राष्ट्रिय टोलीकी कप्तान सृजना राई र राष्ट्रिय टोलीकी सदस्य सावित्री मगरले एसियन बार्बेरियन्स रग्बी क्लबबाट खेल्न केही दिन अगाडि जापानमा पुग्नुभएको छ । म्याग्दीबाट पहिलो रग्बी खेलाडी सावित्रीले पहिलोपटक अन्तराष्ट्रिय खेलको अवसर मिलेको छ ।
मोना जापानका बरिष्ठ उपाध्यक्ष टिका छन्त्यालले नेपालीहरुले कमै खेल्ने रग्बीमा राष्ट्रिय टिमबाट म्याग्देली चेली छनौट भएकोमा उत्साहित भएको बेनीअनलाइनलाई बताउनुभयो ।खेलपछि समयअनुकुल भएमा मोनामार्फत सम्मान समेत गरिने छन्त्यालले बताउनुभयो ।
नेपाली महिला रग्बीका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीहरूसँग एउटै टोलीबाट प्रतिस्पर्धा गर्ने अवसरले आगामी दिनमा म्याग्दीमा समेत रग्बी खेलमा रुची भएका खेलाडीलाई प्रोत्साहन मिल्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
रग्बी खेलाडी साबित्रीलाई नेपाल फर्किएपछि अनुभवसहित सम्भावना र रुची भएका खेलाडीहरुलाई जोड्ने प्रयास गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । सावित्रीको अनुभव र क्षमतामा थप निखार ल्याउनुका साथै नेपाली महिला रग्बीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । जापानको होक्काइडो बार्बेरियन्स रग्बी क्लबको आयोजनामा शनिबार र आइतबार हुने पिरिका मोसोरी सेभेन्स २०२६ प्रतियोगिता हुँदैछ।












