नेपाल सरकार गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकमा म्याग्दी जिल्लाको कार्यसम्पादन देशभरकै दोस्रो स्थान हासिल गरेको छ । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला पहिलो र म्याग्दी दोस्रो भएको हो । कुल १८ दशमलव २५ पूर्णाङ्कमध्ये ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा मनाङले १८ र म्याग्दीले १७ दशमलव ८७ अङ्कसहित दोस्रो स्थान हासिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्धन, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण सूचक र विभिन्न सहायक सूचकमा म्याग्दी जिल्लाले उत्कृष्ट कार्यसम्पदान गरेको सहायक प्रजिअ आचार्यको भनाई छ । म्याग्दी जिल्लाले कम अंक पाउनुनमा राष्ट्रिय परिचयपत्र वडास्तरमा वितरणको क्रममा सेवाग्राहीको संख्यामा कमी हुनु प्रमुख कारण रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यका अनुसार बैदेशिक रोजगारीमा गएका कारण वडास्तरमा पुगेर सञ्चालित शिविरमा समेत परिचयपत्र वितरणमा उल्लेखनीय प्रगति नभएको बताउनुभयो ।’नतिजाबाट उत्साहित छौ,नागरिकलाई प्रवाह गरिने सेवालाई थप सहज बनाउन प्रतिबद्ध छौ, सबै म्याग्देलीको साथले उत्कृष्टमा परको छ’ प्रजिअ आचार्यले भन्नुभयो ।
प्रजिअ आचार्यले जिल्लाभित्र अलपत्र रहेका र सञ्चालित आयोजनाको नियमित अनुगमन तथा मौसमजन्य विपद्बाट हुने जोखिम न्यूनिकरणका यसबर्ष थप सतर्कता सहित तयारी भइरहेको बताउनुभयो । प्रजिअ आचार्यले प्रशासन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीसहित जिल्लास्थित सबै कार्यालयहरूको सामूहिक प्रयासको नतिजा प्राप्त भएको र आगामी दिनमा देशभर नै पहिलो हुने गरी नागरिकको गुनासोरहित कार्यसम्पादन गर्ने बताउनुभयो । प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको विभिन्न सूचक र मापदण्डका आधारमा नियमित रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको पहिलोपटक म्याग्दी उत्कृष्ट भित्र परेको छ ।













