---Advertisement---

यातायातमा नयाँ प्रस्ताव : ट्राफिक नियम उल्लंघनमा ५०० देखि १ लाखसम्म जरिवाना

On: June 25, 2026 7:28 PM
Follow Us:

सरकारले सवारी तथा यातायात व्यवस्थापनलाई थप सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउन नयाँ कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीधनीलाई ५०० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ।

पूर्वाधार विकास मन्त्रालयले तयार गरेको सवारी तथा यातायातसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक हाल राय–सुझावका लागि कानुन मन्त्रालयमा पठाइएको छ। विधेयकमा यातायात निरीक्षक तथा सहायक निरीक्षकलाई घटनास्थलमै ‘स्पट फाइन’ गर्ने अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित कानुनअनुसार सवारी साधनमा बाहिरबाट भित्र नदेखिने गरी अपारदर्शी सिसा प्रयोग गरेमा १ लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ, जुन सबैभन्दा ठूलो आर्थिक दण्डको रूपमा राखिएको छ।

मादक पदार्थ सेवन (मापसे), लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने तथा अत्यधिक गति सीमा उल्लंघन गर्ने चालकलाई सवारीको प्रकारअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने प्रस्ताव छ।

त्यस्तै, लाइसेन्सबिना सवारी चलाउने, जाँचपास नगराई सञ्चालन गर्ने, प्रदूषण परीक्षण प्रमाणपत्र नराख्ने तथा दर्ता प्रयोजनविपरीत सवारी प्रयोग गर्ने कार्यमा दुईपाङ्ग्रे सवारीलाई ५ हजार, साना सवारीलाई १० हजार र मझौला तथा ठूला सवारीलाई १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने, लेन अनुशासन उल्लंघन गर्ने, फुटपाथमा सवारी चलाउने, एकतर्फी सडकमा विपरीत दिशाबाट सवारी सञ्चालन गर्ने, रुट परमिटबिना सवारी चलाउने तथा बीमा नगरी सवारी प्रयोग गर्ने कार्यमा १० हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ।

सार्वजनिक सवारीले तोकिएको सिट क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएको तौलभन्दा बढी मालसामान ढुवानी गरेमा, अनुमति बिना विदेशी सवारी सञ्चालन गरेमा वा सडक अवरुद्ध हुने गरी सामग्री राखेमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

यस्तै, हेल्मेट वा सिट बेल्ट नलगाई सवारी चलाएमा ३ हजार रुपैयाँ, ट्राफिक संकेत अवज्ञा गरेमा ३ हजारदेखि ५ हजार रुपैयाँ, निषेधित क्षेत्रमा ओभरटेक गरेमा २ हजार रुपैयाँ तथा निषेधित क्षेत्रमा हर्न बजाएमा ५०० रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

विधेयकमा एउटै कसुर दोहोरिएमा थप कडाइ गर्ने व्यवस्था पनि राखिएको छ। दोस्रो पटक गल्ती दोहोरिएमा जरिवानामा ५० प्रतिशत थप हुने र तेस्रो पटक वा सोभन्दा बढी दोहोरिएमा दोब्बर जरिवाना लाग्ने प्रस्ताव गरिएको छ।

साथै, जरिवाना तत्काल नतिरेमा ट्राफिक प्रहरीले चालक अनुमतिपत्र, सवारी दर्ता प्रमाणपत्र वा बाटो इजाजतपत्र नियन्त्रणमा लिन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि, नागरिक एप वा अन्य विद्युतीय माध्यमबाट आवश्यक कागजात देखाउन सकिएमा कागजात साथमा नराखेको कसुरमा जरिवाना नलाग्ने व्यवस्था राखिएको छ।

सरकारले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन कायम तथा यातायात क्षेत्रलाई आधुनिक र जिम्मेवार बनाउन नयाँ कानुनी व्यवस्था अघि बढाएको जनाएको छ।

प्रस्तावित जरिवाना दर
१ लाख रुपैयाँसम्म – अपारदर्शी (कालो) सिसा प्रयोग गरेमा
२५ हजार–५० हजार रुपैयाँ – मापसे, लापसे वा अत्यधिक गति सीमा उल्लंघन गरेमा
१० हजार रुपैयाँसम्म – मोबाइल प्रयोग, लेन मिच्ने, फुटपाथ वा वान–वेमा सवारी चलाएमा
२५ हजार रुपैयाँ – अनुमति बिना विदेशी सवारी सञ्चालन गरेमा
५ हजार–२५ हजार रुपैयाँ – सडक अवरुद्ध हुने गरी सामग्री राखेमा
५ हजार–२० हजार रुपैयाँ – सिट क्षमताभन्दा बढी यात्रु बोकेमा
५ हजार–१५ हजार रुपैयाँ – प्रदूषण परीक्षण प्रमाणपत्र नराखेमा
५ हजार रुपैयाँ – ढोका खुला राखेर वा प्राविधिक रूपमा अयोग्य सवारी चलाएमा
३ हजार–५ हजार रुपैयाँ – ट्राफिक संकेत उल्लंघन गरेमा
३ हजार रुपैयाँ – हेल्मेट वा सिट बेल्ट नलगाई सवारी चलाएमा
५०० रुपैयाँ – निषेधित क्षेत्रमा हर्न बजाएमा।

Leave a Comment