म्याग्दीमा तीन तह (संघ, प्रदेश र स्थानीय) सरकार मातहतका सरकारी कार्यालयहरूले चालु आर्थिक बर्षको अन्तिम दिन वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, म्याग्दीको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ जिल्लाभित्र सञ्चालित विकास निर्माण, सार्वजनिक सेवाप्रवाह र विभिन्न प्रशासनिक कार्यक्रमहरूको उपलब्धि तथा चुनौतीबारेमा छलफल र मूल्याङ्कन गरिएको थियो।

बार्षिक प्रगति समिक्षा बैठकमा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यको अध्यक्षतामा आयोजित बैठकमा म्याग्दीमा कार्यक्षेत्र रहेका र बाहिरी जिल्लामा कार्यालय रहेका गरी ४० सरकारी निकायले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । बैठकमा बार्षिक प्रगति, चुनौतिका साथै बेरुजुको अवस्थाका बारेमा समीक्षा तथा फस्यौटका लागि थप कार्ययोजना समेत बनाएर अगाडी बढ्ने बारेमा समेत छलफल केन्द्रित भएको थियो ।

प्रजिअ आचार्यले बैठकमा वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान गरी आगामी आर्थिक बर्ष ०८३÷०८४ मा नागरिककलाई सेवा प्रवाह थप प्रभावकारी बनाउन तथा निर्धारित कार्यहरुलाई समयमै सम्पन्न गर्ने समेत निर्देशन दिनुभयो ।
बार्षिक समीक्षा बैठकमा विविध कारणले अनुपस्थित भएकालाई प्रगति विवरणलाई उपलब्ध गराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
बैठकमा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनउपर कार्यक्रममा छलफल समेत गरिएको थियो । प्रतिवेदनसहित प्रस्तुतीकरण गरेका कार्यालयहरुको योजना तथा कार्यक्रम सञ्चालन भने तुलनात्मक रुपमा सन्तोषजनक देखिएको प्रजिअ आचार्यको भनाई छ ।

जिल्लाका संघीय सरकार,६ वटै स्थानीय तह, जिल्ला समन्वय समितिसहित सरकारी कार्यालयहरु सहभागी भएर प्रस्तुतीकरणले आगामी दिनमा सेवाप्रवाह तथा योजनालाई प्रभावकारी रुपमा सञ्चालनमा समेत सहज हुने नियमित कार्यालय प्रमुख, सूचना अधिकारीको बैठकमा समेत छलफल गरिने प्रजिअ आचार्यले बताउनुभयो ।
‘सरकारी सेवाप्रवाहको प्रगतिको समीक्षाले आगामी दिनको बाटो थप सहज हुन्छ, बेरुजुको कारण खोज्दै अब फछर्यौटमा केन्द्रित हुनुपर्छ’ प्रजिअ आचार्यले भन्नुभयो ।
यसैबीच संघीय र प्रदेशतर्फ ९४ प्रतिशतसम्म वित्तीय प्रगति देखिको छ । संघीय चालु शीर्षकमा विनियोजित कुल ३ अर्ब ६० करोड ६ लाख ८८ हजार ८७० रुपैयाँमध्ये ९४.४२ प्रतिशत रकम खर्च भएको छ । संघीय पुँजीगत (विकास) तर्फ ३ करोड ७५ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकोमा ८०.७६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
त्यस्तै प्रदेश सरकार मातहतका कार्यालयतर्फ चालु बजेटमा ७३.१६ प्रतिशत र पुँजीगततर्फ कुल ७९ करोड ६४ लाख ७० हजार रुपैयाँ विनियोजन भएकोमा ६९.६६ प्रतिशत खर्च भएको छ । भौतिक प्रगतितर्फ संघीय योजनाहरूले ८२ प्रतिशत र प्रदेशका योजनाहरूले ७१ प्रतिशत लक्ष्य हासिल गरेका छन् ।

यता आर्थिक वर्ष २०८२÷८३ सम्मको कुल बेरुजु २० करोड ८१ लाख २० हजार ३८८ रुपैयाँ पुगेको छ । चालु आवको अवधिमा कुल बेरुजुमध्ये जम्मा ६२ लाख ५० हजार ५९० रुपैयाँ मात्र सम्परीक्षण (फछर्यौट) भएको छ ।

म्याग्दीमा अझै १४ करोड ५६ लाख १४ हजार ४०८ रुपैयाँ बेरुजु फछर्यौट हुन बाँकी रहेको तथ्याङ्कले देखाउँछ । समीक्षा बैठकमा कतिपय सरकारी कार्यालयको बेरुजु घटेको, केहीको बढेको, पूँजीगत खर्च बढाउनुपर्ने, कार्यक्रम सञ्चालन गर्ने क्रममा जिल्लास्थित सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य गर्नुपर्ने लगायत सुझावहरु दिएका थिए ।










