---Advertisement---

पोखरा–दुबई नियमित उडान सुरु, पहिलो जहाज ११३ यात्रु लिएर पोखरा अवतरण

On: September 23, 2026 10:18 PM
Follow Us:

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु भएको छ। फ्लाई दुबईको जहाज ११३ यात्रु लिएर बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए।

नियमित उडान तालिकाअनुसार उक्त जहाज बुधबार साँझ ७ः१५ बजे १५३ यात्रु लिएर दुबई फर्कने महाप्रबन्धक निरौलाले बताउनुभयो।

यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमितता पाउन नसकेको उल्लेख गर्दै उहाँले फ्लाई दुबईको नियमित उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना देखाएको बताउनुभयो।

उहाँका अनुसार पोखराबाट दुबई हुँदै युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा जाने यात्रुलाई प्रत्यक्ष हवाई सम्पर्कले सहजता थप्नेछ। यात्राको समय छोटिनुका साथै खर्चसमेत घट्न सक्ने उहाँले बताउनुभयो।

पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएसँगै विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्ने र वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुकलगायत अन्य देश जाने यात्रुलाई पनि सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई पोखरा विमानस्थलतर्फ आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको थियो।

दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो।

अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले पोखरा विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।

फ्लाई दुबईको नियमित तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखराबाट दुबईका लागि प्रस्थान गर्नेछ।

विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको दुबईसँग पोखराको सीधा हवाई सम्पर्क स्थापित भएपछि पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सञ्चालन हुनेछ। यसबाट पोखराबाट अष्ट्रेलिया, युरोप तथा अमेरिकाका विभिन्न सहर जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने जनाइएको छ।

Leave a Comment