Wednesday, April 30, 2025
20.9 C
Beni
20.9 C
Beni
Wednesday, April 30, 2025
Home Blog Page 12

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

0

बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार अपराह्न बागलुङ नगरपालिका-४ ढोडेनी बस्ने सुरेन थापा मगरका छोरा १७ वर्षीय शिव थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरदेखि पाँच सय मिटर टाढा म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ बेलबोट स्थित शिव मन्दिरको कम्पाउण्ड भित्र रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगा नजिकै रहेको तेत्तिस हजार के.बि.प्रसारण लाईनको नाङ्गो तारमा छुन जाँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लगोर गम्भीर घाईते भएका उनलाई उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग

0

कृषक खेमबहादुर शाहीले हिमाली मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीप मुस्ताङमा स्याउको नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन् ।

करिब १४ रोपनी जग्गा भाडामा लिएर ‘केबी शाही फुड्स एण्ड फरावर नर्सरी फार्म दर्ता’ गरी उनले दुई वर्षदेखि स्याउका बिरुवा उत्पदान गरिरहेका छन् । साढे दुई दशकबढी भारतमा स्याउ फार्ममा मजदुरका रूपमा सिकेको सीपलाई ४४ वर्षीय शाहीले मुस्ताङको उर्वर भूमिमा फेरि ब्यूँताउने जमर्को गरे ।

केबी शाही (खेमबहादुर) जाजरकोट गाउँपालिका–२ निवासी हुन्। शाही १४ वर्षको कलिलो उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारबाट भागेर भारतको हिमाचल प्रदेशको सिम्ला पुगे। परिवारको आर्थिक अवस्था कमजोर भएकाले धन कमाउन भारत पुग्नुभएका शाहीले भारतको सिम्लामा २५ वर्षसम्म भन्दा बढी स्याउ फर्ममा काम गरे।

परिवारले हराएको लामो समयपछि नफर्किएपछि आशा मारेको अवस्थामा कोभिड–१९ (कोरोना भाइरस)ले विश्व आक्रान्त भएको बेला घर फर्किएर केही वर्ष स्याउ बारीमा काम गरेपछि करिब दुई वर्षदेखि मुस्ताङको घाँसामा स्याउखेती गरिरहेको शाहीको भनाइ छ ।

समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा नर्सरी र स्याउखेती विस्तार गरेको बताउँदै उनले भारतमा काम सिक्ने र ज्यान पाल्नेबाहेक केही प्रगति नभएको उल्लेख गरे। अन्ततः स्याउको राजधानी भनेर चिनिने मुस्ताङमा पुगेर केही उत्पादनमूलक काम गर्ने सोचका साथ स्याउको नर्सरी सुरु गरेको शाहीले जानकारी दिए।

सुरुवातका वर्षमा उनले स्याउ नर्सरीबाट पाँच हजार बिरुवा बेचेको बताए। भारतमा सिकेको सीपलाई अँगाल्दै स्याउखेती र नर्सरीका लागि जिल्लाका विभिन्न पालिकामा पुगेर त्यहाँका जनप्रतिनिधि, स्थानीय र किसानसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक तालिम दिएको शाहीको भनाइ छ ।

दुई वर्षअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले सञ्चालन गरेको छ महिने तालिममा किसानलाई उन्नत तथा स्थानीय जातका स्याउखेतीसम्बन्धी तालिम दिएको उनले अनुभव सुनाए। हाल शाहीले आफ्नो फार्ममा रेड डेलिसियस, रोयल डेलिसियस, रिचा रेड डेलिसियस र गोल्डेन डेलिसियसका साथै इटिलियन गाला, फुजी, किङ्रड प्रजातिका प्रतिबिरुवा रु तीन सयदेखि रु नौ सयसम्ममा बिक्री गरिरहेको जानकारी दिए।

फार्ममा लगाएको तीन सय बोट उत्पादन दिन तयार भएका उनले बताए। “छिमेकी जिल्ला म्याग्दीसँग सिमाना जोडिएको घाँसा क्षेत्रमा स्याउ फल्नेमा धेरैले आशा मारिसकेको अवस्था थियो । दुई वर्ष अघि नर्सरीको सुरुआत गर्दा स्थानीय र सरोकार भएकाले नकारात्मक प्रतिक्रिया दिँदा दुःख लाग्थ्यो”, उनले भने, “अहिले बिरुबा लिन मुस्ताङ भित्र र बाहिरी जिल्लाबाट पनि फार्ममा किसान आउछन्।”

शाहीका अनुसार अबको पाँच वर्षभित्र घाँसामा पाँच गुणा स्याउका बिरुबा उत्पादन गर्ने, स्थानीयलाई आवश्यक सीप प्रदान गर्ने, मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बगैँचामा घुमाउनुका साथै बगैंँचाबाटै पाकेका स्याउ बिक्री गर्ने लक्ष्य छ । शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका अनुसार यहाँ समुद्री सतहको एक हजार ९०० मिटरदेखि तीन हजार ६०० मिटर सम्मको उचाइमा स्याउ उत्पादन हुन्छ ।

महिलालाई सेलरोटी बनाउने तालिम

0

महिलाहरुको क्षमता अभिवृद्धि गरी उनिहरुलाई व्यवसायीक बनाउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउन म्याग्दीमा सेलरोटी बनाउने तालिम संचालन गरिएको छ ।

नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घ म्याग्दीको आयोजनामा बेनीमा बुधबारदेखि उक्त तालिम सुरु भएको हो। पाँच दिन सम्म सञ्चालन हुने तालिमको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य अमृतदेवी बानियाँले उद्घाटन गर्नुभयो ।

उहाँले महिलाहरुलाई उद्यमी व्यवसायीक बनाउन तालिमले सघाउ पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । महिलाहरु आर्थिक अभावकै कारण विभिन्न क्षेत्रमा पछाडी पर्ने गरेका बानियाँको भनाइ थियो ।

तालिममा तीस जना बढी महिलाहरु सभागी भएका महिला सङ्घ म्याग्दीकी सचिव पुष्पा पौडेल घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार, ७ गते सम्म संचालन हुने तालिममा चामलको पीठोबाट सेलरोटी बनाउने बारे सिकाइनेछ ।

सेलरोटी व्यवसायबाट राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकोले म्याग्दीका महिलाहरुलाई उनिहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको महिला सङ्घ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठले बताउनुभयो । कम लगानी पनि कम लाग्ने र बिक्रीका लागि पनि सहज हुने भएकोले सेलरोटी बनाउने तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

तालिममा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विश्वकर्मा, खिमा पुर्जा लगायतले घरायसी कामधन्दामा व्यस्त महिलाहरुलाई व्यवसायीक बनाउन आगामी दिनमा अन्य तालिमहरु समेत सञ्चालन गरिने बताउनुभयो । महिला सङ्घ म्याग्दीकी अध्यक्ष श्रेष्ठले तालिममा प्रशिक्षार्थीहरुलाई सेलरोटी बनाउने सीप सिकाउनुभएको छ । महिला संघ म्याग्दीकी सचिव पुष्पाले संचालन गर्नुभएको कार्यक्रममा बेनी नगर सचिव सुनिता केसी स्वागत मन्तव्य राख्नुभएको थियो ।

यो पोखरी होइन सडक हो !

0

म्याग्दीको बेनी नगरपालिका–७, कालिगण्डकी नदीमा अन्त्येष्टीका लागि जाने सडकमा जमेको पानी । सदरमुकाम बेनीस्थित रिङरोड अन्तरगत पर्ने उक्त क्षेत्र हुदै दोभानमा अन्त्येष्टी गर्न जाने मलामी, पदैलयात्री र सवारीसाधन आवतजावतमा समेत उचित ढल ब्यवस्थापन नहुदाँ दैनिक सास्ती खेप्नुपरेको छ ।

बहुउदेश्यीय मैदान देखि दोभानको चौतारीसम्म ढल ब्यवस्थापन नहुदाँ पानी जमेर पोखरी बनेको छ । चालु आवमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी बेनी नगरपालिका–८, कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म करिब नौ सय मिटर ५ देखि ६ मिटर चौढाईमा नालीसहित सडक ढलान गरिने छ ।

गौश्वारामा पश्चिम नेपालकै पहिलो गोबर्धन महायज्ञ हुँदै

0

म्याग्दीको बेनी नगरपालिका- २ ज्यामरुककोटको गौश्वारामा पश्चिम नेपालमै पहिलो पटक गोवर्धन महायज्ञको आयोजना गरिएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि ३० गतेसम्म गौश्वारामा गोवर्धन बिराट महायज्ञ २०८२ आयोजना गरिएको हो । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको महायज्ञ पूर्व तयारी समितिका सदस्य चन्द्रकान्त रिजालले जानकारी दिनुभयो ।

बागलुङको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चकोटको नजिकै रहेको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले युक्त गौश्वारमा पश्चिम नेपालमा नै पहिलो पटक गोवर्धन महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञका लागि विभिन्न सातवटा सेवाका प्रकल्पहरु निर्धारण गरिएको छ । महायज्ञ आयोजनाका लागि सातवटा सदस्यता वर्ग विभाजन गरी सेवाशुल्क निर्धारण गरिएको महायज्ञ पूर्व तयारी समितिका सदस्य रिजालले बताउनुभयो ।

उहाँकाअनुसार क वर्गको सदस्यताका लागि रु सातलाख ५५ हजार पाँच सय ५५ सेवाशुल्क तोकिएको छ भने उक्त सदस्यता जम्मा एक जनालाई मात्र वितरण गरिने छ । त्यसैगरी ख वर्गको सदस्यताका लागि रु पाँचलाख ५५ हजार पाँचसय ५५ निर्धारण गरिएको छ । उक्त सदस्यता दुईजना दाताले प्राप्त गर्न सक्नुहुने छ ।

त्यसैगरी पाँच जनालाई ग वर्गको सदस्यता वितरण गरिने छ । जसको शुल्क रु तीन लाख ५५ हजार पाँच सय ५५ रहेको छ । ११ जनालाई वितरण गरिने घ वर्गको सदस्यता शुल्क रु दुईलाख ५५ हजार पाँच सय ५५,१५ जनालाई दिइने ङ वर्गको सदस्यता शुल्क रु एकलाख,५५ हजार, पाँच सय ५५, च वर्गको सदस्यताका लागि रु ५५ हजार,पाँच सय ५५ र छ वर्गको सदस्यताका लागि रु २५ हजार,पाँचसय ५५ शुल्क निर्धारण गरिएको छ । च वर्गको सदस्यता ३५ जना र छ वर्गको सदस्यता १०८ जनालाई वितरण गरिने छ ।

महायज्ञमा सदस्यताबाट रु एक करोड, ३४ लाख, ९३ हजार, दुईसय ३५ सहयोग रकम जुट्ने अपेक्षाका साथ तयारी गरिएको उहाँले बताउनुभयो । सदस्यता शुल्कका अतिरिक्त रु दुई करोड थप रकम संकलन गर्ने अनुमान आयोजकको रहेको रिजालले बताउनुभयो ।

महायज्ञमा वचत भएको रकमबाट विभिन्न पर्यटकीय तथा धार्मिक पूर्वाधार निर्माण गरिनुका साथै गौशाला, बहुउद्धेश्यीय सांस्कृतिक भवन, ध्यान कुटीलगाएतका संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना

0

कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेकाे कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ।

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। तर उक्त  सूचना बोर्डको नभएको बताइएकाे छ। राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायाण पोख्रेलले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिए।

राष्ट्रिय परीक्षा बोर्डले निकालेको आधिकारिक सूचना 

शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन सर्वोच्चको आदेश

0

सर्वोच्च अदालतले शिक्षक तथा कर्मचारीहरुलाई राजनीतिक दलको सदस्यता प्रदान नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले राष्ट्र सेवकहरुलाई पार्टीको सदस्यता नदिन आदेश जारी गरेको हो । गत २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शिक्षक तथा प्राध्यापकहरु विभिन्न तहमा चुनिएको र महाधिवेशन प्रतिनिधिसमेत बनेको भन्दै भक्तबहादुर बस्नेत र मिठुबहादुर बोहोराले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले शिक्षक तथा कर्मचारीलाई दलीय राजनीतिमा सहभागी नगराउन आदेश दिएको हो । राष्ट्र सेवकलाई राजनितिक दलको सदस्यता प्रदान नगर्नु, प्रदान गरेको भए खारेज गर्नु र राजनितिक दलको सदस्यता लिएका राष्ट्रसेवकलाई बर्खास्त गर्नु र दलको निर्वाचनमा उम्मेद्धार नबनाउनु भनी निर्देशनात्मक आदेश जारी गर्न उनीहरुले माग गरेका थिए ।

शिक्षक, कर्मचारीलगायतले दलको सदस्यता लिन नपाउने, राजनीतिमा सहभागी हुन नपाउने लगायतका व्यवस्था ऐनमा भएपनि यसको उल्लङ्घन हुँदै आएको छ । कांग्रेसको १४औं महाधिवेशनको बेलामा ठूलो संख्यामा शिक्षकहरु विभिन्न पदमा मनोनयन भएका थिए ।

१ महिनामा ८ अर्ब ७७ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

0

सरकारले १ महिनामा करिब ९ अर्ब रुपैयाँले सार्वजनिक ऋण घटाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

यसअघि, फागुन मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।

सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ ।

कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सरकारले चैत मसान्तसम्म ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४.४३ प्रतिशत खर्च गरिसकेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ९ महिनामा सरकारले १ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण तथा ३२ अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।

‘लाइसेन्स नभएकालाई सवारीसाधन नदिनुहोस्, तपाईलाई पनि कारवाही हुन्छ’

0

म्याग्दीको बेनी नगरपालिका–६,जोगीगाडेमा ट्याक्टरले स्थानीय महिलालाई गम्भीर घाईते बनाएर भागेका चालक अनिल परियारसँग चालक अनुमतिपत्र (लाइसेन्स) छैन । उमेरले १८ बर्ष पूरा गरेका परियारले यसअगाडी समेत ट्याक्टर दुर्घटना गराएका थिए ।

परियार जस्तै म्याग्दीमा थोरै तलबसुविधामा काम गराउन पाइने भएपछि ट्याक्टर, बोलेरो, ट्रिपर सहित अन्य निजी तथा सार्वजनिक सवारीसाधनमा लाइसेन्स नभएकालाई चालक बनाउँदा दुर्घटना बढ्ने गरेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिएका व्यक्तिले सवारी चलाउनु गैरकानुनी भएपनि निर्माण क्षेत्रमा काम गर्नेले धमाधम काम लगाउने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीको चैत्र महिनामा विना लाइसेन्स मोटरसाइकलमा सवार १८ जना, टिपरका ३ ट्याक्टरका १ जना चालकलाई कारवाही गरिएको छ । त्यस्तै मादपर्दाथ सेवन गरी मोटरसाइकल चलाउने ४२ जना, टिपर १, ट्याक्टर २ र कारका ३ जना चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले बताउनुभयो ।

बिना लाइसेन्स चालउनेबाट ३० हजार र मापसे गरेका चालकबाट २८ हजार ५ सय राजश्व समेत संकलन भएको छ । ट्राफिक कार्यालय प्रमुख केसीका अनुसार कसैले नियमविपरीत सवारी चलाएको फेला परे ट्राफिक प्रहरी तथा प्रहरीलेसवारी नियन्त्रणमा लिई चालकलाई कारबाही गर्ने गरेको बताउनुभयो ।

उहाँले कागजपत्र लिएर आएका सम्बन्धित व्यक्तिलाई जरिवानापछि सवारी उपलब्ध गराउने गरेको बताउँदै बिनालाइसेन्स चलाउने चालकसँगै लाइसेन्स नभएका व्यक्तिलाई सवारी साधन चलाउन अनुमति दिने उक्त सवारीसाधनका सवारी धनीलाई समेत कानुनी कारवाही गरिने बताउनुभयो ।

‘‘लाइसेन्स नभएकालाई सवारीसाधन नदिनुहोस्, कानुनले तपाईलाई पनि कारवाही गर्छ’’ ट्राफिक प्रमुख केसीले भन्नुभयो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले बिनालाइसेन्स सवारी चलाउनेलाई मात्र नभई उनीहरुलाई सवारी उपलब्ध गराउनेलाई समेत तत्कालै कारबाही गर्ने गरी जिल्लामा थप चेकजाँच भइरहेको प्रमुुख केसीको भनाई छ । लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ भने कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।

जोगीगाडे घटना : चालक अनिल परियार प्रहरी नियन्त्रणमा

0

म्याग्दीको बेनी नगरपालिका–६,जोगीगाडेमा नियतबस घटना घटाएर गराई एक महिलालाई गम्भीर घाईते बनाई फरार भएका चालकलाई प्रहरीले गएराती नियन्त्रणमा लिएको छ ।

गत बैशाख १ गते साँझ सदरमुकाम बेनी आउँदै गर्दा स्थानीय ६१ बर्षिया डोलकुमारी बानियाँलाई ट्याक्टरले किचेर भागेका पर्वतको जलजला गाउँपालिका–४,लामाखेतका १९ बर्षिय चालक अनिल परियारले जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीले बेनीबजारबाट नियन्त्रणमा लिएको हो । चालक परियारलाई आफन्तको सूचनाको आधारमा प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

आरोपी परियारलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाउने सूचना अधिकारी पौडेलको भनाई छ । ‘‘चालकलाई नियन्त्रणमा लिइएको छ, थप अनुसन्धान हुन्छ’’ सूचना अधिकारी पौडेलले भन्नुभयो ।

चुत्रेनीबाट घरबाट खाना पकाउने खाली सिलिन्डर लिएर बेनीबजार जाने क्रममा बृद्धा डोलकुमारीलाई एकान्तमा भाडा माग्ने बाहनामा शरीरमा लगाएको गरगहना लुट्ने प्रयासमा गम्भीर घाईते बनाएको पीडितका आफन्तको भनाई छ । चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको प्रहरीले जनाएको छ ।घाईते डोलकुमारीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच चालक अभियुक्त परियारले यसअगाडी बागलुङमा नियतबस ट्याक्टर दुर्घटना गराएको र लागुऔषधको सेवनमा समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेर निस्किएको पाइएको छ ।

स्थानीय महिला डोलकुमारीलाई ठक्कर दिदाँ समेत चालक परियारले मदिरा सेवन गरेको आशंका प्रहरीले गरेको छ । अपराधिक मानसिकताका परियारलाई प्रहरीले बि.स २०८० साल भदौ १६ गते लागुऔषधको सेवनको क्रममा नियन्त्रणमा लिएको थियो ।

नियतबस दुर्घटना गराए के छ सजाय ?
नियतबस दुर्घटना गराएको प्रमाणित भए चालकलाई जन्मकैद सजाय हुन्छ । लापरवाही गरी सवारी चलाए ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै दुर्घटना भएर कसैको ज्यान गए त्यस्तो सवारी चालकलाई एक वर्षसम्म कैद हुने प्रावधान छ । लाइसेन्स नभएका व्यक्तिले सवारी दुर्घटना गराए त्यस्तो सवारी धनीलाई पनि दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा १ मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ।’

लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ । दफा १६१ को उपदफा २ मा भनिएको छ ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’ लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।

 

error: Content is protected !!