Monday, April 28, 2025
16.3 C
Beni
16.3 C
Beni
Monday, April 28, 2025
Home Blog Page 2

बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा

0

सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन् ।

आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् । गण्डकी प्रदेशमा पहिलोपटक दुई वर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिबार र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुनेगरी बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार बिहानै अस्पतालमा उपचार गराउन आए पनि ओपिडी सेवा बन्द भएपछि उपचार नगराइकन फर्कनुपरेको धवलागिरि गाउँपालिका–२ लुलाङबाट सेवा लिन आएका भबिराम विकले बताए ।

“अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिकमा जाँच गर्नुपर्ने भयो, घरमा नियमित प्रयोग गर्ने औषधिसमेत पाउन सकिएन”, उनले भने । शुक्रबारदेखि नै अस्पतालको ओपिडी सेवा बन्द भएपछि गाउँगाउँबाट उपचार गराउन आएका बिरामी उपचार नगराइकन फर्कनुपरेको छ । अस्पतालका डा रामु सापकोटाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिए ।

प्रदेश अस्पताल बेनीमा कार्यरत चिकित्सकले ओपिडी सेवा बन्द भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई समेत ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित बनेको छ । रासस

लेक लागेर मुस्ताङमा एक तिर्थयात्रुको मृत्यु

0

प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा आउनुभएका एक नेपाली तिर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताउनुभयो ।

सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक अधिकारीले दिएको जानकारी अनुसार घरपझोङ गाउँपालिका–२ मार्फामा टाउको दुख्ने, शरीरमा असहज महसुस भएपछि तत्कालै अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । मृतक गाहा २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा अघिल्लो बर्ष बि.स २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेहरूमा ८ जना भारतीय, २ जना नेपाली र १ जना अमेरिकन नागरिक रहेका छन् ।

मुक्तिनाथ दर्शन तथा भमणका क्रममा मुस्ताङ आउनेमध्ये ५ जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, ५जनाको घरपझोङ–४ जोमसोममा र १ जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको थियो । मृतकको उमेर ६४ वर्षदेखि ८१ वर्षसम्मको रहेको तथ्याङकमा देखिन्छ । मृतकले ज्यान गुमाएका क्षेत्र तल्लो मुस्ताङमा पर्छ । मुस्ताङमा लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् ।

समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङटा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरू खानुपर्ने चिकित्सकको सुझाव छ ।

आज वैशाख कृष्ण औँसीमा आमाको मुख हेर्ने पर्व मनाइँदै

0

प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद लिने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउने र मीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद लिने चलन छ। आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्छ भनिएको छ। वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यारा छन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ,’ धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई भन्छन्।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरूभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख छ,’ उनले बताए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ। वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ,’ धर्मशास्त्रविद् भट्टराईले बताए।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए। यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ। रासस

कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता

0

नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको पहिलो पटक उपाधि जितेको छ । शनिबार भएको आठौं संस्करणको फाइनलमा पुलिसले ६ पटकको विजेता एपीएफलाई सोझो सेटमा हरायो ।

राखेप कभर्डहलमा शनिबार भएकाो फाईनलमा पुलिसले एपिएफलाई २५–१५, २५–२३, २६–१६ ले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो । एपीएफलाई सोझो सेटमा हराउनु नेपाल प्रहरीका लागि एउटा मिठो सफलता हो । कप्तान कमलाले प्रतियोगितामा बेष्ट सेटरको उपाधी समेत जित्नुभयो ।

अनुभवी टोलीसँगै खेलमा तालमेल, आत्मविश्वास र निरन्तर अभ्यासका कारण नतिजा आफ्नो पोल्टामा पार्ने पुनले विभागीय टोलीमा कप्तानीको जिम्मेबारी सम्हाल्दै धेरै घरेलु प्रतियोगितामा उपाधि जिताउन सफल हुनुभएको छ ।गतबर्षसातौं राष्ट्रिय बिच भलिबल प्रतियोगितामा कमला पुन र मनिषाको जोडीले आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई बिच भलिबलमा हराउँदै च्याम्पियन बन्नुभयो ।

०८१ साल साउनमा कमलाको कप्तानीमा मनिषासँगैको जोडीले भुटानमा भएको काभा बिच भलिबलमा स्वर्ण पदक जितेको थियो भने असोज महिनामा माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लबमा भएको ६ खेलमै अपराजित हुदै पुलिसले च्याम्पियनसिपको उपाधि जितेको थियो ।

बिच भलिबलमा नेपाली जोडीले तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता जितेको छ ।मैदानभित्र फरक–फरक भुमिकामा देखिने पुनले खेलमा चमत्कारी जित निकाल्न सक्ने क्षमता छ । राष्ट्रिय तथा अन्तराष्ट्रि बिच भलिबलमा कमला पुनको कप्तानीमा पछिल्ला बर्षहरुमा रित्तो हात फर्किन परेको छैन ।

म्याग्दीक्को मालिका गाउँपालिका–३ रुम औलमा जन्मिनुभएकी कमलाले बि.स २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार नेपाली टिमबाट खेलिरहनुभएको छ ।पिता स्व. चन्द्रहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिनुभएकी पुनले गाउँबाट भलिबल खेल्दै जिल्ला, क्षेत्र हुदै राष्ट्रिय टिममा पुग्नुभएको थियो ।

जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सहकार्य जरुरी

0

अस्ट्रेलियामा प्रथम रियल ‘फाइभ ए साइड’ फुटसल हुने

0

अस्ट्रेलियामा रहेका म्याग्देली फुटबल प्रेमीहरूको संस्था दि रियल म्याग्दीको आयोजनामा प्रथम रियल फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । आगामी मे महिनाको ११ तारिकमा ग्रानभिल फुटसल सेन्टरमा हुने प्रतियोगिताको प्रचारप्रसार तिब्र पारिएको छ ।

शैक्षिक परामर्शदाता एभरेष्ट ग्लोबल एजुकेशनको प्रायोजनामा हुन लागेको प्रतियोगिताको विजेताले ४ हजार डलर र उपविजेताले २ हजार डलर पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले ट्रफी पाउनेछन् ।

1593,2048,0,0.45,-1

मे महिनाको ९ तारिकसम्म टिम दर्ता गर्नुपर्ने छ । टिम दर्ता शुल्क ३ सय डलर रहेको छ । दि रियल म्याग्दी सनम चोखाल, आषिश पुन, रेमन श्रीष, विश्वास राना, रविन बानियाँ, बिशाल घर्ती, दिप्सन कार्की, प्रवेश घिमिरे, आयुश रावल, निशान राम्जाली र सुदिप बानियाँले गठन गरेका थिए ।

म्याग्दीमा हुने फुटबल प्रतियोगितामा समेत खेलेका खेलाडीहरु रोजगारका लागि अस्ट्रेलियामा पुगेपछि गठन गरेको क्लवमार्फत लायन्स क्लव अफ बेनी लभ्लीहिलको प्रथमा छात्रा फुटबलमा प्रयोजना समेत गरेका थिए । पछिल्लो समय एक टिममा नाइन ए साइड जस्तै सेभेन ए साइड फुटबलसँगै फाइभ ए साइड फुटसल पनि निकै लोकप्रिय छ ।

बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने

0

म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म खुल्लामञ्चमा प्रशिक्षण गर्ने भएको हो ।

१० बर्षभन्दा माथिका किशोरीले प्रशिक्षणमा सहभागिता जनाउन बैशाख २० गतेभित्र फारम बुझाउनुपर्ने बेनी फुटबल संघका सचिव उपेन्द्र गिरीले बताए । उनका अनुसार दर्ता शुल्क ५ सय रुपैयाँ रहेको छ भने आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क उपलब्ध गराइने छ ।

बेनी नगर फुटबल संघका अध्यक्ष देबेन्द्र चोखालले यसपटक प्रशिक्षणबाट म्याग्दी जिल्लाका पालिकास्तरमा रहेका खेल प्रतिभाको पहिचान हुने बताए। उनले प्रशिक्षणमा पालिका तथा जिल्लास्तरीय टिम बनाउन समेत सहज हुने भएकाले अवसरलाई सदुपयोग गर्न समेत फुटबलमा रुची रहेका छात्राहरुलाई अनुरोध गरे ।

प्रशिक्षकको संंयोजक म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानियाँले गरेका छन् । जिल्ला खेलकुद विकास समिति र म्याग्दी फुटबल संघको समेत सहकार्यमा हुने प्रशिक्षणको मुख्य उदेश्य खेल प्रतिभालाई प्रष्फुटन रहेको छ ।

म्याग्दीमा लायन्स क्लव अफ बेनी लभ्लीहिलले हरेक बर्ष जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने गरी सुरुवात गरेको छ । प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

छात्रा फुटबल प्रतियोगिता निरन्तर सञ्चालन गर्नकालागि जिल्ला फुटबल संघ म्याग्दी र लायन्स क्लब अफ बेनी लभ्लिहिबिच संस्थागत सम्झौता समेत भएको छ । म्याग्दीमा हुने महिला फुटबल प्रतियोगिताकै कारणमहिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट मंगला गाउँपालिका–२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका–५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट भएका थिए ।

यो म्याग्दीले पाएको पहिलो अवसर हो । त्यस्तै गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकाले प्रदेशस्तरीय तालिममा समेत सहभागि हुने अवसर पाउने छन् ।

प्रकाश दुतराजको नयाँ गीत ‘राम साइँली’ सार्वजनिक (भिडिओ)

0

मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका लोकप्रिय गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत ‘राम साइँली’ सार्वजनिक भएको छ ।

नेपाली सांगितिक क्षेत्रमा एउटै स्वादका गीतबाट आजित भएका दर्शकश्रोतलाई नयाँ र फरक शैलीले गीत पस्किदै आएका गायक दुतराजले नेपाली नयाँ बर्ष २०८२ सालको अवसरमा बुकी, ग्रामिण परिवेश, धार्मिक तथा प्रेमसँग सम्बन्धित कथाबस्तुमा केन्द्रित भएर नयाँ गीत दर्शक तथा स्रोतामाझ ल्याएका हुन् ।

गीतमा दुतराज र गायिका मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि गायक दुतराज स्वयंकै हो भने संगीत संयोजन बिबि अनुरागीको रहेको छ । प्रकाश र मेलिनाको यो ’जुन माया’, ’रिमै’ र ’रेशम’ पछिको सहकार्य हो । गायक दुतराजले नयाँ बर्ष, विजयदशमी लगायत चाडपर्वलाई केन्द्रित गरी आफ्नो प्रस्तुती दिने गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका साधारण र हसिलो स्वभावका गायक दुतराजका हरेक सांगितिक कोशेली बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ।

‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, ‘रिमै’ र रेशम गीत करोड क्लवका लोकप्रिय गीत हुन् । समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ।

महिलाहरुलाई स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन तालिम

0

म्याग्दी– समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउन व्यावसायिक बाख्रापालन सम्बन्धी विषयको तालिम दिइएको छ । उनीहरुलाई सिप सिकाएर आत्मनिर्भर तथा सशक्त बनाउने उद्देश्यसहित व्यावसायिक बाख्रापालनका लागि तालिम प्रदान गरिएको हो ।

मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बाख्रापालन तालिम सञ्चालन गरिएको थियो । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’ अन्तर्गत एक हप्तासम्म चलेको तालिममा मंगला गाउँपालिकाको ५ वटा वडाबाट २५ जना एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई समेटेर तालिम दिइएको छ ।

तालिममा महिला हिंसाको अवस्था, आर्थिक सशक्तिकरण, व्यावसायिक उत्प्रेरणा, बाख्राको परिचय, महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरणीय अनुकुलता, बाख्रालाई खोरको तयारी तथा व्यवस्थापन, खोरको सरसफाइ, बाख्रापालनमा ध्यान दिनुपर्ने विषयहरु, आवश्यक सामग्रीको परिमाण र व्यवस्थापन, नजिकका बाख्रा खोरको अनुगमन, खोर तयार गर्ने कार्यको अभ्यास, लक्षित समुदायले प्राप्त गर्ने अनुदानसहित राज्यबाट पाउने सेवासुविधाहरु, बाख्रापालनमा आउने जोखिमका विषयमा सहजीकरण गरिएको थियो ।

यसैगरी बाख्रापालन व्यवसायको जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनको साथै बीमाको प्रावधान, बाख्रालाई लाग्न सक्ने रोगका प्रकारहरु, रोगबाट बचाउने उपाय र विधिहरु, पोषिलो खाना तथा उत्पादनको तरिका, व्यावसायिक योजना, बजार व्यवस्थापन तथा नाफा र घाटा निकाल्ने तरिका, व्यवसाय प्रवद्र्धन र बजारीकरण, सफल व्यवसायीको स्थलगत अनुगमन, व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने विषय, व्यवसाय दर्ता र नवीकरणको प्रक्रिया, व्यावसायिक सहजकर्ता समयको उपलब्धता साथै समन्वयकारी भूमिका, व्यावसायिक निरन्तरता, समूह गठन व्यवस्थापन, माइन्युटलेखन तथा खातापाता सञ्चालनबारे प्रशिक्षण दिइएको छ ।

तालिमको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पौडेल, लेखा अधिकृत प्रकाश शर्मा, पशु विकास अधिकृत सगुन बराल, पशु सेवा प्राविधिक रबि विष्ट, नायव पशु स्वास्थ्य प्राविधिक विजयकुमार ठाकुर, महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्मा, एम.आई.एस. अपरेटर लेखनाथ सापकोटा र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो । तालिम गएको आइतबार सुरु भई शनिवार सकिएको छ ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले तालिमपश्चात् महिला दिदीबहिनीहरुले अब व्यावसायिक रुपमा बाख्रापालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई पूर्णरुपले व्यवहारमा उतारेर गाउँपालिकाले सहयोग गर्ने बिऊपुँजीमा थपेर बाख्रापालन गर्न सुझाव दिनुभयो । मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले सुमदायमा पछाडि परेका महिलाहरुको उत्थान गर्न व्यावसायिक तालिम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र मंगला गाउँपालिकाको महिला बालबालिका तथा समाजकल्याण इकाई प्रमुख अनिताकुमारी शर्माले तालिमपछि बाख्रापालन सुरु गर्नुपर्ने र त्यसको गाउँपालिकामार्फत अनुगमन गरिने बताउँदै म्याग्दीमा मंगला र धवलागिरि गाउँपालिकामा यसवर्ष राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन भैरहेको बताउनुभयो । मिलन म्याग्दीका कर्मचारी राम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी छककुमारी छन्त्यालले अनुभव सुनाउनुभएको थियो ।

तालिमकै अवसर पारेर बुधिकला रोका अध्यक्ष, सीतादेवी रोका उपाध्यक्ष, छककुमारी छन्त्याल सचिव, रिता थजाली रोका कोषाध्यक्ष र भूमिसरा रोका सदस्य रहेको मंगला गाउँपालिका बाख्रापालन समूह समेत गठन गरिएको छ । मंगला गाउँपालिकामा गतवर्ष पनि मिलन म्याग्दीको आयोजना तथा व्यवस्थापनमा लक्षित समूहका महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सञ्चालन भएको थियो ।

नारच्याङको रेलेखोलाबाट ६ मेगावाट विद्युत थपिदैं

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युतले बैशाख महिना भित्रै परीक्षण उत्पादन शुरु गर्ने तयारी गरेको छ । आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरेकाले बैशाख महिनाभित्र नै विद्युत उत्पादनको चरणमा प्रवेश गर्ने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए ।

उनका अनुसार बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परिक्षण थालिएको छ भने भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परिक्षणको काम अन्तिम चरणमा पुगेको छ ।

यससँगै म्याग्दीबाट थप ६ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिने छ । रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ ।

निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०÷५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको जनाएको छ । आयोजनामा सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो ।पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित वि.स.२०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पु¥याउँदा कार्यतालिका प्रभावित बनेका हो ।

अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको र विद्युत उत्पादनपछि पनि समुदायस्तरलाई लाभ हुने वडा सदस्य श्याम पुर्जाले बताए ।एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् ।

यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । हालसम्म अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ ।

अन्तिम चरणमा पुगेका थप आयोजनाहरु
म्याग्दीमा कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट आयोजना अन्तिम चरणमा छन् ।

अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ ।

रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ ।

error: Content is protected !!