Tuesday, April 29, 2025
15.2 C
Beni
15.2 C
Beni
Tuesday, April 29, 2025
Home Blog Page 5

आन्दाेलनकाे २३औं दिन शिक्षकहरूले सडकमै रक्तदान गरे

0

काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूले आज २३औं दिन सडकमै रक्तदान गरेका छन् ।

सडकमै नाचगानसहित कहिले सिठी बजाउने, कहिले सडकमै सुत्ने, कहिले कालो मास्क लगाउने जस्ता विरोध शैलीसहित सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज सडकमै रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । शिक्षकहरूले आज बबरमहल–नयाँ बानेश्वर सडक खण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरू ऐन लिएर मात्रै विद्यालय फर्कने अडानमा छन् । सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्नेगरी विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।

शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाण्डाैमा भेला हुँदा सामुदायिक विद्यालयहरू बन्द छन् ।

अमेरिकाले एमसीसी परियोजना बन्द गर्दै, नेपालमा सञ्चालित काम पनि रोकिने

0

अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यको अनुदान सहयोग कार्यक्रम एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले बन्दका लागि प्रक्रिया अगाडि बढाएको हो ।

एमसीसीका कर्मचारीलाई इमेलमार्फत यसबारेमा सूचित गरिएको र उनीहरूलाई ‘मे’ ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज  डब्ल्यू बुसले सन् २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय प्रक्रियामा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत परेको हो ।

एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गतका काम पनि रोकिने छन् । नेपालमा गएको २०८० भदौदेखि एमसीसी परियोजना कार्यान्वयनमा आएको थियो । नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।

एमसीसीले विकासशील देशसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता महत्त्वपूर्ण पूर्वाधारमा लगानी गर्दै आएको छ ।

शिक्षक आन्दोलन : भर्ना अभियान सुरु हुन सकेन, निजी विद्यालयमा जाने क्रम रोक्न विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

0

विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ।

जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक गरेको हो। शैक्षिक सत्र सुरु भएको डेढ हप्ताभन्दा बढी भइसके पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन। यसले विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए।

शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो। शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत छ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन्।

निजी विद्यालयहरूले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष भाटले जानकारी दिए। ‘शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो,’ उनले भने, ‘अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्नका लागि र उनीहरू स्वअध्यनका लागि भए पनि किताब वितरण गरेका हौँ।’

यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी बताए। शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानलगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन्। रासस

मुस्ताङ-नश्ल सुधार र अनुसन्धानस्थल बन्दै च्याङ्ग्रा फार्म

0

लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो । हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन् ।

राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ । केन्द्रका जनशक्ति व्यवस्थापन तलबभत्ता उपलब्ध गराउनेदेखि च्याङ्ग्रालाई चाहिने दाना, घाँस औषधिउपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ ।

आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले राससलाई बताए। केही स्थानीय र केही तिब्बती च्याङ्ग्रा ल्याएर च्याङ्ग्रापालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवद्र्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन् । केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्याङ्ग्राको पाठापाठी उत्पादन हुने गरेका छन् ।

आज १९औं लोकतन्त्र दिवस : दुई दशकमा महत्त्वपूर्ण उपलब्धि, तर निराशा कायमै

0
NEPAL-PROTEST/

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ ।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

टहरा भत्काएर सडक विस्तार

0

मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी र विभिन्न प्रयोजनका निम्ति बनाइएका टहरा भत्काएर सडक विस्तार गरेका छन्।

दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयले आफ्ना घरहआँगनका संरचना भत्काएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए।

यसअघि तीन दशमलव पाँच मिटर फराकिलो सडकको दायाँबायाँका संरचना हटाएर पाँच दशमलव पाँच मिटर फराकिलो बनाइएको उनले जानकारी दिए। हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुलतर्फ सडकका दुवै किनारमा  ४०० मिटर लामो पानी निकासका निम्ति नाली निर्माण भएको छ।

मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको योजना कार्यान्वयनका लागि उपभोक्ताले रु पाँच लाख ४१ हजार आठ सय ३३ श्रमदान गरेका थिए। रासस

जलविद्युत आयोजनामा मजदुर मृत्यु प्रकरण : क्षतिपुर्तीमा सहमतिपछि परिवारले बुझे शव

0

म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने क्रममा ज्यान गुमाउनुभएका बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमरगढीका २७ बर्षिय चौधरीको शव बुधबार साँझ परिवारले बुझेका छन् । मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार ,हरिओमको कम्पनी सिविएम डब्लुईले पीडितका परिवारलाई क्षतिपुर्तीस्वरुप दश लाख रुपैयाँ सहित बेनीदेखि बारासम्मको एम्बुलेन्स लगायत खर्च र तुँदी पावर कम्पनीले थप ६ लाख रुपैयाँ उपलब्ध गराउने सहमतीपछि परिवारले शव बुझेका हुन् ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले पनि क्षतिपूर्ति दिलाउन समन्वय गर्नुभएको आफन्त कमलबाबु चौधरीले बताउनुभयो । उहाँका अनुसार ,सिविएम डब्लुई कम्पनीको तर्फबाट सुपरभाइजर कमल रानाले  दश लाख मध्ये पचास प्रतिशत अर्थात पाँच लाख पीडित परिवारलाई बुधबार बुझाउनुभएको छ भने बाँकी पाँच लाख जेठ महिनाको १३ उपलब्ध गराउने सहमति भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जाहेरी पछि बेनी प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम गरी बुधबार साँझ मृतकका परिवार र आफन्तलाई बुझाइएको जानकारी दिनुभयो । मृतक हरिओमका बुबा रामबाबु  ,दाजु धर्मराज चौधरी लगायत आफन्त बेनी आउनुभएको थियो ।

जिल्लाको रघुगंगा गाउँपालिका-८,कुइनेमंगले र वडा नम्बर-७,चिमखोला क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजना तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनामा कार्यरत चौधरी कार्यक्षेत्रमा मेसिन बोकेर हिड्ने क्रममा आइतबार दिउँसो साढे १ बजेको समयमा अचानक बेहोस भई ढल्नुभएको थियो ।

उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले आइतबार करिब साढे चार बजे मृत घोषणा गरेका थिए । मृतक चौधरीका बुबाआमा,एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । मृतक सिविएम डब्लुई कम्पनी मार्फत आयोजनामा जोडिनुभएको थियो । मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । यसैबीच कम्पनीले ७ महिनासम्म कार्यरत मृतक चौधरीको बिमा समेत नगरेको पाइएको थियो ।

मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारवाहीको माग गरेका थिए  । कम्पनीको लापबाहीको कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाई नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने भन्दै परिवारले अडान लिएका थिए । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

अज्ञात समुहले रूख काट्दा विद्युतका पाँचवटा पोलमा क्षती, मर्मतपछि विद्युत् ‘ट्रिप’ को समस्या हट्ने

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारको महभीर क्षेत्रमा अज्ञात समुहले रूख काट्दा ३३ केभि दाना-मिलनचोक सबस्टेशनको पोलमा क्षती पुगेको छ । शुक्रबार अज्ञात समुहले रूख कटान गर्दा प्रशारण लाइनका पाँचवटा पोललाई क्षति भएको हो ।

पोल क्षतिग्रस्त भए पश्चात म्याग्दीमा नियमित विद्युत आपूर्तीका लागि बागलुङबाट आएको ३३ केभि लाइन मात्रै प्रयोग भएकाले साँझपख ओभर लोड (भरिएर) का कारण विद्युत् ‘ट्रिप’ हुने समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो।

‘‘पोलमा क्षती पुगेको स्थानमा नयाँ पोल पुगिसकेको छ, पिकआवरमा विद्युत् ‘ट्रिप’को समस्या समाधानका लागि प्रयासरत छौ ।’’ कार्यालय प्रमुख गामीले भन्नुभयो । म्याग्दी जिल्लाका लागि आवश्यक विद्युत दाना र बागलुङबाट मिलनचोक सवस्टेशनमा आपूर्ती हुने गरेकोमा दानामा खराबी आएको खण्डमा बागलुङको र बागलुङमा समस्या आएमा दानाब प्रयोग गर्ने गरिन्छ ।

‘‘ विद्युतको अत्याधिक प्रयोग हुने समयमा विद्युत् ट्रिपको समस्या हुन्छ, पोल ढलेको क्षेत्रको मर्मत सकिएपछि समाधान हुन्छ ।’’ प्रमुख गामीले भन्नुभयो । यो समयमा हावाहुरीका कारण समस्या उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गदैं बागलुङबाट आपूर्ती भइरहेको अवस्थामा विद्युत् ट्रिपको समस्या हल गर्नका लागि आवश्यक जनशक्तीलाई परिचालन समेत गरिएको छ ।

यसैबीच पोल क्षती भएको स्थानमा सोमबारसम्म मर्मत गरेपश्चात नियमित आपूर्ती हुने म्याग्दी वितरण केन्द्रले जनाएको छ । पोल आसपासका क्षेत्रमा रुख कटानमा संलग्नको पहिचान भने अहिलेसम्म भएको छैन ।

म्याग्दी वितरण केन्द्रका २३ हजार ३६ ग्राहक छन् । पर्वतको जलजला गाउँपालिकाको पर्वतबेनी, मल्लाज तथा आसपासका क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गत मिलनचोक सवस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ ।

मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

0

 

‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । बुधवार पालिकाको केन्द्र बाबियाचौरमा आयोजित एक समारोहबीच मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ६८ जना र १६ महिनादेखि २७ महिनासम्मका २ सय ११ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । बालबालिकाहरुले जन्मेदेखि २७ महिनासम्म विभिन्न प्रकारका खोपहरु पाएका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बालकृष्ण शर्माले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २६ गते ४ नम्बर वडा बराङ्जाबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । कुहुँ, बाबियाचौर, बराङ्जा ३ र ४ तथा अर्मनसहित ५ वटा वडा रहेको मंगलामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि बुधवार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै म्याग्दीका जिल्ला समन्वय अधिकारी कमलप्रसाद आर्चाले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । म्याग्दीमा रहेका स्थानीय तहहरुलाई चरणबद्ध रुपमा पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषणा गर्ने गरिएको बताउँदै उहाँले नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई राज्यले संविधानमा सुनिश्चित गरेको बताउनुभयो । उहाँले पूर्णखोप पाउनुपर्ने बालबालिकाहरुको मौलिक अधिकारसँग जोडिएको भन्दै स्वस्थ, सक्षम र सबल नागरिक उत्पादनमा मानसिक र शारिरीक विकास गर्न खोपको महत्व रहेकोमा जोड दिनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले खोप कार्यक्रमलाई एकसय रुपैयाँ लगानी गरेमा त्यसको प्रतिफल १६ सय आउने विभिन्न अध्ययनहरुले देखाएको बताउनुभयो । स्थानीय पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने कार्य वार्षिक कार्यक्रम भएकाले यसलाई निरन्तरतासहित पूर्णखोप अभियानलाई सफल र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले महामारीजन्य विभिन्न प्रकोपबाट बच्नको लागि पनि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।

मंगला–४ नम्बर वडा बराङ्जाका अध्यक्ष लालबहादुर रोकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम २ नं वडा बाबियाचौरका अध्यक्ष धनबहादुर खाती क्षत्रीको स्वागत र गाउँपालिकाको रोजगार सहायक ज्ञानेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । मंगला गाउँपालिका म्याग्दीमा तेस्रो र गण्डकी प्रदेशमा चौथो पालिकाको रुपमा पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ ।

महिला राष्ट्रिय फुटबलमा गण्डकीबाट म्याग्दीकी निकिता र दिपा छनौट

0

महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पहिलोपटक म्याग्दीका दुई खेलाडी छनौट भएका छन् ।

यही वैशाख १३ गतेदेखि बागमती प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश फुटबल संघको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय छनोटमामंगला गाउँपालिका-२, सहस्रधाराकी निकिता सिङ ठकुरी र मालिका गाउँपालिका-५, देविस्थान दांगाकी दिपा बुढा टिममा छनौट भएको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले बताउनुभयो ।

‘‘पहिलोपटक म्याग्दीले महिला टिममा खेल्ने अवसर पाएको छ, दुबै खेलाडीको खेल उत्कृष्ट छ ।’’ अध्यक्ष बानियाँले भन्नुभयो ।

गण्डकी प्रदेश फुटबल संघको प्रतियोगिताका लागि छनोट खेलमा ११ जिल्लाबाट १३५ जना खेलाडीको उपस्थिति रहेकोमा म्याग्दीबाट ९ जनमध्ये ८ जना पहिलो चरणमा पर्न सफल भएकालाई समेत आगामी दिनमा हुने प्रतियोगितामा अभ्यास खेलका लागि समेत बोलाइएको छ।

बैशाख १३ गतेदेखि २० गतेसम्म हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।उक्त प्रतियोगितामा विभागीय कल्बसहित प्रदेशका टिमहरुको समेत सहभागिता रहनेछ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले महिला फुटबलका लागि गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीलाई कुनैपनि कमी हुन नदिने बताउँदै जिल्लाबाट हरेक खेलमा प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागिताको वातावरण बनाउने बताउनुभयो । म्याग्दीमा समेत महिला फुटबल हुन थालेपछि विद्यालयस्तरबाटै प्रतिभाहरु पहिचान गरिएकाले प्रदेशस्तरीय छनौटमा पठाउन सहज भएको जिल्ला फुटबल संघले जनाएको छ ।

error: Content is protected !!