Sunday, June 29, 2025
20.9 C
Beni
20.9 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 250

जोमसोम जाँदै गरेको यात्रुवहाक बसमाथि ढुङ्गा खस्दा दुई जना घाइते

पोखराबाट जोमसोमका लागि छुटेको ग१ख ७७१७ नम्बरको बसमाथि रघुगंगा गाउँपालिका–२,बैसरीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् ।पोखराबाट मुस्ताङको जोमसोमका लागि छुटेको गाडीमा मंगलबार दिउँसो पौने दुई बजेको समयमा सडकमाथिबाट एक्कासी पहिरोसहितको ढुङ्गाले लाग्दा बेनी नगरपालिका–४, की २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा गाउँपालिका–२, घर भइ हाल लेखनाथ बस्ने  ३२ वर्षीया मिना नेपाली घाइते हुनुभएको छ ।

दुवै जनालाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । पुजाको टाउँको, टाउको र ढाडमा  तथा मिनाको हाट र  खुट्टामा चोट लागेको छ । करिब १५० मिटर दुरीको सडकमा १ किलोमिटर माथिबाट पहिरो खसिरहने गर्छ । दुवै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ । दुवै जनाकाे बेनी अस्पतालमा उपचार भइरहेकाे सुचना अधिकारी रायमाझीले बताउनुभयाे । केही समय अवरूद्द भएकाे सडक भने सुचारू भइरहेकाे छ ।

तस्बिर साैजन्य : राजु राम्जाली ।

म्याग्दीका किसानलाई नौ करोड अनुदान

चालु आर्थिक वर्ष २०८०/८१ मा यहाँका किसानलाई अनुदान वितरण गर्न नौ करोड छ लाख बजेट प्राप्त भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमार्फत तीन करोड ३३ लाख २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट दुई करोड ५२ लाख २१ हजार र सङ्घीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट तीन करोड २१ लाख ६८ हजार बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटबाट छिमेकी जिल्ला मुस्ताङ, पर्वत र बागलुङका किसानले पनि सुविधा पाउनेछन् । कूल लागतको ५० देखि ८५ प्रतिशत अनुदान प्राप्त हुने कार्यक्रमका लागि तीन वटै कार्यालयले सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेका छन् ।

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलले बताए ।

खायन आलु उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई एक करोड २० लाख छ हजार, फलफूल बाली विकास र रैथाने बाली प्रवद्र्धन आयोजनाका लागि २१/२१ लाख, तरकारीबाली प्रवद्र्धन आयोजनाका लागि १५ लाख पचास हजार, पोषण सुरक्षण कार्यक्रमका लागि २० लाख, सुन्तला जात फलफूल विकास आयोजनालाई ६७ लाख विनियोजन भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले मासु, दूध, अण्डा उत्पादन वृद्धि गरी जिल्लालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम आएको बताए । पशुलाई पूर्ण खोप कार्यक्रमका लागि सबैभन्दा बढी ८० लाख बजेट प्राप्त भएको छ ।

यसैगरी बृहत्तर पशु विकास प्रवद्र्धन कार्यक्रमलाई २० लाख, दूध उत्पादक किसानलाई अनुदानका लागि १० लाख, कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका पाडापाडी हुर्काउने किसानका लागि तीन लाख, घुम्ती गोठ संरक्षणका लागि चार लाख, बाँझो जग्गामा घाँसखेती गर्नेलाई पाँच लाख, कृषि ऋणमा ब्याज अनुदान एक लाख, मत्स्य पोखरी निर्माण तथा क्षेत्र विस्तारका लागि तीन लाख बजेट प्राप्त भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले म्याग्दी, बागलुङ र पर्वतमा सञ्चालन भएको सुन्तला तथा मुस्ताङको स्याउ जोन क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि रु ६० लाख विनियोजन भएको जानकारी दिए ।

बङ्गुरपालक किसानका लागि नश्ल सुधार तथा उत्पादन वृद्धि, यान्त्रिकरण र मासु पसल सुधारका लागि १८ लाख, सुन्तला जोन कार्यक्रममार्फत सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि १६ लाख, कृषि उपज सङ्कलन केन्द्रलाई आठ लाख, बजारीकरणका लागि १५ लाख र यान्त्रिकरणका लागि दश लाख बजेट प्राप्त भएको छ ।

पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रममा अधिकतम ८५ प्रतिशत, यन्त्र उपकरण, पाइप तथा ड्रम, बीउ, बेर्ना, विषादीलगायत सामग्री खरिदमा अधिकतम ५० प्रतिशत अनुदान सहयोग हुने कृषि अधिकृत बस्यालले बताए।

सहरलाई गाउँको कोसेली– कोदोको बिस्कुट

कोरोना कहर नहुँदो हो त उनी सहरमै हुन्थे । रेष्टुराँ चलेकै थियो । धेरथोर कमाइ दिने त्यहीं सहरले उनलाई भुलाइरहेको थियो । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी कादेशका ३४ वर्षीयय तन्नेरी चानसिंह श्रीस त्यो बेला काठमाडौंको बागबजारस्थित टुकुचा गल्ली र डिल्लीबजार हाइटको रेष्टुराँ व्यवसाय चलाइरहेका भेटिन्थे । उनले जीवनमा थालेका अनेकौमध्येको एक काम थियोे –रेष्टुँरा व्यवसाय ।

गाउँघरकै स्कुलमा उच्च मावि पूरा गरेका श्रीसलाई चार्टर अकाउण्टेण्ट बन्ने हुटहुटीले काठमाडौं डोहो¥यायो । पुतलीसडकस्थित सिएआइमा भर्ना भए । नियमित उपस्थित हुन नपर्ने भएपछि उनी बीबीएसका लागि शंकरदेव क्याम्पसमा जोडिए । पढाइसँगै व्यवसाय चलाउन श्रीसले दाजु दिलबहादुरको साथ पाए । अनि सुरु भयो, रेष्टुराँहुँदै तन्दुरी व्यवसाय । यो बेलासम्म उनले गाउँ फर्कने कुरा भुलिरहेका थिए । व्यवसाय राम्रै चलेकै थियो । विश्वभर कोरोना महामारी फैलियो । व्यवसाय ठप्प हुने देखेपछि बल्ल उनले गाउँ सम्झे । पछि चाहिँ दुवै रेष्टुराँ बिक्री गरेर सदाका लागि जन्मगाउँ फर्किए ।

२०६८ सालमा काठमाडौं फिरेका श्रीसलाई गाउँ फर्कन झण्डै १० वर्ष लाग्यो । हरेक काममा नयाँपन खोज्ने श्रीसले काठमाडौं रहदैं गाजा इन्टरनेशनल इन्भेष्मेण्ट एण्ड रिसर्च सेन्टर दर्ता गरेर बिस्कुट उत्पादनसम्बन्धी अनुसन्धान गरिरहेका थिए । त्यो सोच चार्टर्ड अकाउण्ट पढाइको सिलसिलामा भारतको पञ्जावस्थित एक बिस्कुट कारखानाको अवलोकनपछि फुरेको थियो ।

लामो अध्ययनपछि श्रीसले गाउँमै कोदोको बिस्कुट उत्पादन गर्ने योजना बनाए । त्यसलाई साकार पार्न गण्डकी प्रदेश सरकारको ग्रामीण उद्योग प्रवद्र्वन गर्ने नीति वरदान सावित बन्यो । प्रदेशको १० लाख अनुदान र बैंकबाट १० लाख ऋण लिएर श्रीसले २० लाखले उद्योग संचालनमा ल्याए । सिए सपना अधुरै रहेपनि सफल उद्यमी बन्ने चानसिंहको सपनामा आँकुरा पलाएका छन् । २०८० माघमा जस्ताको छाप्रोबाट सुरु भएको गाजा बेकरी तथा विष्कुट उद्योगले कोदोको बिस्कुट बजारमा ल्याएको थियो । जुन ७ महिनामै उपभोक्तामाझ लोकप्रिय बन्यो । स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक कोदोको बिस्कुट बालबालिकादेखि ज्येष्ठ नागरिकको रोजाइमा पर्छ । स्वास्थ्यप्रति सजग उपभोक्ताले बिस्कुट रुचाएको श्रीस सुनाउँछन् ।

ढुंग्रोले बेलेर सुरु, अहिले आधुनिक मेशिन
बिस्कुटमा नयाँपन दिन श्रीसले झण्डै हजार पटक प्रयोग गरेको स्मरण गर्छन् । प्रयासहरु सफल नहुन्जेल उनी निराश बने तर गलेनन् । बिस्कुट उत्पादन गरेर गाउँगाउँमा हुने सभा–समारोहदेखि कृषि ज्ञानकेन्द्र, कृषि विकास निर्देशनालय पोखरा र साथीसर्कलसम्म पु¥याए । सुझाव मागे । सकारात्मक सुझावपछि सुरु भयो–प्याकेजिङसहित ‘कोदोको बिस्कुट’को बजार यात्रा । सरकारी निकायको चासो र शुभचिन्तकको साथले कोदोको बिस्कुट एकाएक चर्चामा आयो । नेपालमा पहिलोपटक रैथाने स्वादमा आएको बिस्कुटले उपभोक्तालाई आकर्षित ग¥यो । ‘बिस्कुटको माग धान्नै सकिएको छैन, उत्पादन बढाउन उद्योग बिस्तार गर्नुपर्छ तर तत्काल स्रोत साधनको अभाव छ,’ उद्यमी श्रीस भने ।

सुरुमा स्थानीय बजारमा खपत हुने बिस्कुट अहिले पोखरा, काठमाडौं, झापा, इटहरी, बुटवल, चितवनसम्म पुग्ने गरेको छ । दक्षिण कोरिया, जापान, मलेसिया, खाडी मुलुकहरु, बहराइन, अमेरिका र भुटान लगायतका देशमा कोसेलीको रुपमा जाने गरेको छ । जापान र कोरिया निर्यात गर्ने विषयमा प्रक्रिया अघि बढिसकेको श्रीस बताउँछन् । बाँसको ढुंग्रो र बेलनाले बेलेर पहिलो बिस्कुट उत्पादन थालेका श्रीससँग अहिले आधुनिक रोलरहरु छन् । ठूलो क्षमताका ओभनहरु जोडिएका छन् । ६० प्याकेट बिस्कुटबाट उत्पादन थालेको उद्योगले अहिले दैनिक ४ हजारदेखि ४५ सय प्याकेटसम्म उत्पादन गर्छ । उद्योग परिसरमा संरचनाहरु थपिएका छन् । लगानी बढेर एक करोड पुगेको छ । उद्योगमा ४० लाखको मेसिनमात्रै खरिद गरिएको छ ।

रैथाने बाली संरक्षण, गाउँमै स्वरोजगारको अवसर
कोदो, गहुँ, दूध, तेल र चिनीको मिश्रणबाट बिस्कुट उत्पादन हुन्छ । चिनी र फ्लेभरबाहेक अन्य सबै सामग्री गाउँघरमै उत्पादन हुन्छन् । उद्योगले लेखानी, बिहुँ, गौश्वारा, पाला, रेश र ताराखोलाबाट कोदो खरिद गर्दै आएको छ । स्थानीय उत्पादनले माग पु¥याउन नसकेपछि ढोरपाटन, पर्वत, तनहुँ र गोरखाका विभिन्न स्थानबाट कोदो आयात गर्ने तयारी छ । उद्योगले कोदो प्रतिकेजी ८५ र गहुँ २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा खरिद गर्दै आएको छ । उद्योगले सिजनमा गाउँघरकै दूध अफसिजनमा पाउडर दूध प्रयोग गर्छ ।

रैथाने बाली संरक्षणमा चुनौती बढिरहेका बेला उद्योगले कृषकलाई समेत प्रोत्साहन गरेको छ । कोदोलाई ब्राण्डिङ गर्नसके उत्पादन बढ्ने र किसान आर्थिक रुपमा सम्पन्न हुने श्रीसको विश्वास छ । उद्योग संचालनपछि उत्पादनअनुसारको मूल्य नपाउँदा मर्कामा पर्दै आएका किसानले कोदोको उचित मूल्य पाएको ताराखोलाका विकास कँडेलले बताए ।

त्यति मात्रै होइन, उद्योगले गाउँमा स्वरोजगारको ढोका पनि खुलेको छ । गाउँका युवाहरु पुरन क्षेत्री, गगन श्रीस, साजन पुन, भूषण श्रीस, यामबहादुर पुन, ओमबहादुर श्रीसलाई उद्योगले गाउँमै थामेको छ । घरधन्दा पछि फुर्सदिला बन्ने महिलाहरु मिरा, धनकुमारी छन्त्याल, भूमि श्रीस, माया, निर्जला पुनहरु रोजगारी पाएर उत्साहित देखिन्छन् । गे्रडिङ र प्याकेजिङको काम गरिरहेकी धनकुमारी त उद्योगको प्राविधिक बन्दैछन् । उनलाई दक्ष बनाउन उद्यमी श्रीसले तालिमहरुमा सहभागी गराएर साथ दिन्छन् ।

बागलुङ बजारदेखि लेखानी कादेशसम्मको दूरी झण्डै १७ किलोमिटर हो । केही पक्की भएपनि अधिकांश कच्ची सडक छिंचोल्दै लेखानी पुग्न सकिन्छ । जीर्ण कृषि सडक वर्षातमा क्षतविक्षत हुँदा ढुवानीमा समस्या छ । सडक, विद्युतलगायत अनेकौं कठिनाइ छिचोल्दै श्रीसले गाउँमा बिस्कुट उद्योग संचालन गरेर सहरलाई अर्गानिक स्वाद चखाइरहेका छन् । ढिडो, रोटी, सातु, लिटो, खोले, पुवा जस्ता परिकार बनाएर खाइने कोदो ‘बिस्कुट’ फ्लेवरमा आएपछि बिहानको नास्तादेखि खाजासम्ममा खोजी हुन थालेको छ । गरीबको खाना भनेर चिनिने कोदो अहिले हुनेखाने वर्गको भान्सामा नियमित पाक्न थालेको छ । गाउँमै उद्योग संचालनमा आएपछि कोदोको महत्व पनि बढेर गएको छ । घरबाटै बिक्री हुने कोदोले राम्रो बजार पाउन थालेपछि किसानहरु खेतीप्रति उत्साहित देखिएको काठेखोला ५ बिहुँका ओमप्रकाश पुन बताउँछन् ।

जस्तापाताको एउटा छाप्रो थियो, ७ महिनामै दुई भएका छन् । बाँसको ढुङ्ग्रोलाई मिक्चरले विस्थापित गरेको छ । सानो ओभन थियो उद्योग सुरु गर्दा अहिले दुई थपिएका छन् । उनी अझै सन्तुष्ट छैनन् । उद्योगले माग पु¥याउनै नसक्दा छट्पटी भइरहन्छ । कोदोको बिस्कुटलाई छोटो समयमै उपभोक्ताले रुचाइदिएपछि उनी हौसिएका छन् । देशैभर कोदोको बिस्कुट पु¥याउने सपना पालेका छन् । त्यसका लागि पूर्वको झापा र पश्चिमको दाङसम्म उद्योग विस्तार गर्नुपर्छ । ‘तत्काल संभव नभएपनि युवा उद्यमीलाई प्रोत्साहन गर्ने मेरो चाहना हो,’ श्रीस ढुक्कसँग भन्छन्, ‘लक्ष्य बनाएपछि गन्तव्यमा अवश्य पुगिन्छ ।’ उद्योग विस्तारका लागि पहिलो सर्त हो लगानी । त्यसैले त उनको केही गर्छु भन्ने युवाहरुलाई आव्हान छ– आउनुहोस्, उद्योगको भविष्य उज्वल छ, मिलेर काम गरौं, नचुकौं ।’

खडेरीले घट्यो ताराखोले आलुको उत्पादन

मल नहाल्ने र जैबिक मल मात्रै प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । जसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरी लगायतका समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए ।
घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टी र असिनाको क्षतिमा न्युनिकरण गर्न नसकेको हो । ‘असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भएपनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन’ पुन भन्छन्, ‘व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।’ केन्द्रकै तथ्यांकमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिकटनसम्म आलु उत्पादन हुने गरेको हो ।
बागलुङमा हिउँदमा २३ हजार ९ सय मेट्रिकटन र वर्षातमा ११ हजार ६ सय ९४ मेट्रिकटन गरी ३५ हजार मेट्रिकटन आलु बजारमा आउने गरेको हो । त्यस बाहेक घर घरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्यांक छैन । यो वर्ष खडेरी धेरै परेको र बैसाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकोले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको ९ महिनासम्म थेग्ने गरेपनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारन क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

महावीर पुनको २ सय दिनः १ लाख २५ हजार किताब बिक्री

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ ।

दुईसय दिनको अभियानमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छ्न । कारखाना संचालनको लागि सरकारबाट पर्याप्त सहयोग नमिलेको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखानाको निर्माणमा लगाउने सोचको साथ अभियान सुरु गरेका हुन् ।

कृषि उत्पादनलाई आधुनिकीकरण गर्ने गरि आफ्नै देशमा औजार , मेसिनरी सामग्री उत्पादन गर्ने भन्दै उनले आविस्कार केन्द्र मार्फत विरगन्जमा बन्द भैसकेको सरकारी उधोगलाई पुनः संचालनमा ल्याएर मेसनरी औजारको परिक्षण गरेका छ्न ।

उद्योगमार्फत धान काट्ने मेसिन, धान झार्ने मेसिन, आलु खन्ने, गोडने र रोप्ने मेसिन लगाएत दर्जन वढी मेसिनहरुको सफल परिक्षण भएको उनले बताए । 

कृषि प्रधान देशमा आफ्नै देशमा उत्पादन भएको कृषि औजार प्रयोग गर्न सके उत्पादनको लागत मुल्य घटने, औजारको रुपमा देशको पैसा बाहिर नजाने र देशमानै रोजगारी बढ्ने आफ्नो अपेक्षा रहेको पुनको भनाई छ । आफुहरुले ट्रायल गरेको सामग्रीले सोचे अनुसारनै काम गरेको वताउदै पुनले अब चाडै उत्पादनको काम अघि बढाउने योजना रहेको सुनाए ।

केन्द्र, प्रदेश र स्थानीय तहको सरकारल कृषि उत्पादनलाई जोड दिनको लागि पनि आधुनिक कृषि उत्पादनको लागि आवश्यक मेसिन उत्पादनलाई बढवा दिनुपर्ने उनको धारणा छ ।यसैबीच राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्ने क्रममा बागमती प्रदेशको राजधानी हेटौंडा आईपुगेका छ्न ।

चितवन हुँदै शनिवार मकवानपुर छिरेका पुनले मकवानपुरको मनहरी गाउँपालिकाबाट आफ्नो आत्मकथाको विक्री सुरु गर्दै आईतवार हेटौंडा बजार क्षेत्र आईपुगेका हुन् । मनहरी क्षेत्रमा सयौं किताब बेचेका उनले हेटौंडामा मात्र आईतबार र सोमबार गरि १ हजार ४ सय किताब बिक्री भएको डाक्टर पुनले बताए । मकवानपुरको हेटौंडा आसपासको क्षेत्रमा अझै ३ दिन बढी रहने पुनको भनाइ छ ।

गर्मी छल्न कोप्रे झरनाको सहारा (फोटो फिचर)

चारैतिर हरियालीले ढाकेको छ । वर्षा ऋतुको समयमा पनि गर्मी हपक्कै बढेको छ । यसपटक पानी परिरहेको भए पनि गर्मी अत्यधिक छ । गर्मी छल्नका लागि मानिसहरु सितलताको खोजीमा घर बाहिर निस्किरहेका छन् । गर्मीलाई छल्ने ठाउँहरु ताल, तलैया, नदीनाला, झरना, चौतारी, पोखरी आदि मानिसहरुको सहारा बनेका छन् ।

पछिल्लो समय गर्मी छल्ने ठाउँमध्येको एक पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ, म्याग्दीको कोप्रे झरना । यस झरनामा अहिले दैनिकजसो म्याग्दीसहित विभिन्न ठाउँबाट पर्यटकहरु गर्मी छल्न र रमाउन पुग्ने गर्दछन् । यसअघि कोरोना संक्रमणको जोखिमका विरुद्ध लगाइएको निषेधाज्ञा अर्थात् लकडाउनको समयमा चर्चामा आएको कोप्रे झरना पछिल्लोपटक खासगरी स्वदेशी पर्यटकहरुको रोजनाइमा पर्दै जान थालेको हो ।


जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा पर्यटकको आकर्षण बढ्दै गैरहेको पाइन्छ । पर्यटकीय आकर्षणको सम्भावना बोकेको यस झरनामा गएर रमाउनका लागि पर्यटकहरुको निकै भीड लाग्ने गर्दछ । पछिल्लोपटक नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिएको कोप्रे झरनामा पर्यटकहरुको आकर्षण बढ्दै गएको स्थानीयवासी बताउँछन् । देशका विभिन्न स्थानहरुमा पर्यटकहरुको आगमन बढिरहेको अवस्थामा अहिले म्याग्दीका पर्यटकीय स्थलहरुमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ ।


बेनी–२, ज्यामरुककोट र ३ नम्बर वडा भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा दिनहुँ पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयवासीले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिवार तथा विदाको दिनमा पर्यटकहरुको घुइँचो नै लाग्ने गर्छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने झरनामा हिँजोआज झण्डै १ सय जनाको हाराहारीमा पर्यटकहरु घुम्न पुग्ने गरेका छन् । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै पर्ने कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । पर्यटकीय क्षेत्र घुम्न नपाएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा पुगेर आनन्दको सास फेर्छन् ।

स्थानीयले जनाएअनुसार कोप्रे झरनामा पहिलेदेखि नै मानिसहरु जान्थे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दथे । अहिले दैनिकजसो झरनामा टिकटिक तथा रिल्स बनाउन पर्यटकहरु पुग्ने गर्दछन् । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारदेखि कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले निकै रमाइलोको अनुभूति गर्न पाएको स्वदेशी पर्यटक दुर्गामाया रोकाले अनुभव सुनाउनुभयो ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर पनि नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ ।

घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोप्रे झरनालाई बाह्रै महिना चल्ने बनाउन नजिकै रहेको म्याग्दीखोलाको पानी तानेर पर्यटनको हव बनाउनुपर्ने म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँले माग गर्नुभयो ।


कोप्र झरनामा कतिपय पर्यटकहरु टिकटक, रिल्स र स्टोरी बनाउनकै लागि भए पनि पुग्ने गर्दछन् । फोटो भिडियो खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, रिल्सलगायत सामाजिक सञ्जालमा पोष्ट्याउन पाइने भएपछि यहाँ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । झरनाको भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पर्यटकलक्षित प्रतिक्षालयसहितका संरचनाहरु बनाइएको छ । आगामी दिनमा कोप्रे झरनासहित वडामा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न आवश्यक पहल गरिने बेनी–२, ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर क्षत्रीले बताउनुभयो ।

कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौरगायत आसपासका क्षेत्रहरुबाट प्रायः पर्यटकहरु भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवतीका साथै केटाकेटीहरु धेरै जाने गर्छन् ।

कोप्रे झरनामा रिभरसाइड युवा क्लबले फोटो खिच्न मिल्ने गरी झरना अङ्कित पर्यटकीय बोर्ड राखेपछि रौनकता थपिएको छ । बेनी नगरपालिकाले पर्यटकीय गन्तव्यको हव बनाउन नगरका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिएको जनाएको छ ।

उत्तरगङ्गा ढोरबराह मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्तिपीठका रुपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिए । बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठानसहित बुटवल, पोखरा काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उनको भनाइ छ ।

वर्षौं पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउँछन् । आइतबार बिहानदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लबले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदा अझै केही दिन चल्ने उनी बताउँछन् । ढोरबराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बलि दिइने पुनले जानकारी दिए ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न आउने गरेका छन् । रासस

म्याग्दीका तालतलैयामा र शक्तिपीठमा भक्तजनको घुइँचो

जनैपूर्णिमा पर्वका अवसरमा लेकाली क्षेत्रमा रहेका तालतलैया र शक्तिपीठमा पूजापाठ गर्ने भक्तजनको घुइँचो लागेको छ । आज जनैपूर्णिमा पर्वका अवसरमा जिल्लाको माथिल्लो लेकाली क्षेत्रका तालतलैया र शक्तिपीठहरुमा बिहानदेखि भक्तजनको चहलपहल बढेको हो ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरभारानी, रघुगङ्गा गाउँपालिका–८ को रिखार, वडा नं ७ को कालीबराह ताललगायत ठाउँमा सयौँ सङ्ख्यामा भक्तजनहरु पुगेका छन् । हिमाली क्षेत्रमा रहेका बराह, बाराही, भारानी ताल र मन्दिरहरुमा पूजाआजा गरेर वर मागेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

समुद्री सतहबाट चार हजार ६ सय ३० मिटर उचाइमा अवस्थित खयरभारानी थानमा जनैपूर्णिमाको दिन पूजा गर्न म्याग्दीका साथै छिमेकी जिल्लाबाट समेत उल्लेख्य मात्रामा भक्तजन पुगेका अन्नपूर्ण–५ का वडाध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भएपछि विगतका वर्षको तुलनामा उल्लेख्य मात्रामा भक्तजन र तीर्थयात्री खयरलेक पुगेका छन् ।

“खयरलेक पुग्न कम्तीमा दुई दिनको पैदलयात्रा गर्नुपर्छ, कतिपय तीर्थयात्रीहरु चार दिन अगाडिबाटै खयरतर्फ लागेका थिए, खयरको महिमाको प्रचारप्रसारले हरेक वर्ष भक्तजनको सङ्ख्या बढ्दो छ, भक्तजनहरुलाई अस्थायी आवासको व्यवस्थापन मिलाउन समेत कठिन भएको छ”, वडाध्यक्ष तिलिजाले भने ।

पाउद्वार हुँदै खयरभारानी जाने तीर्थयात्री खोप्रामा पर्यटन सहकारीमार्फत सामुदायिक लजका साथै खयरभारानी क्षेत्र संरक्षण समितिले बनाएको अस्थायी टेन्टमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको उनले बताए । साथै खयरखोलामा पनि अस्थायी रुपमा बसोबासको प्रबन्ध मिलाइएको छ ।

रघुगङ्गा गाउँपालिका–८ मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाइमा अवस्थित रिखारमा पनि उल्लेख्य मात्रामा भक्तजन पुगेका छन् । रिखार जाने अन्तिम बस्ती पात्लेखर्कबाट एक दिनको पैदल यात्रामा पुग्न सकिने भए पनि भक्तजनहरु दुई दिनअघिबाटै त्यसतर्फ जान थालेका थिए ।

रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले आइतबार अधिकांश भक्तजन रिखार परिसरमा आएर बास बसेका बताउँदै आज बिहानदेखि लाइनमा बसेर पूजाआजा गर्न थालेका जानकारी दिए । विगतका वर्षको तुलनामा भक्तजनको आगमन बढेको उनको भनाइ छ ।

पानीको तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर रहेको रिखार भक्तजन र पर्यटकहरुका लागि अनौठो र आकर्षणका रुपमा रहेको छ । यहाँ जाने तीर्थयात्रीहरु धर्मशाला र भेडिगोठमा आश्रय लिने गर्छन् ।

आज खयरभारानी, रिखारका साथै चिमखोलाको कालीबराह, नाङ्गीबराही, भगवतीको नौलीबराही र घराम्दीको प्यारी बराहीलगायत थान र तलाउमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । रासस

आज जनैपूर्णिमा : जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, भदौ ३ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका अनुसार मुलुकका विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १स्३१ बजेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिव हुनेछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलिसमेत बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । सोही पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा निरन्तर छ ।

यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठमन्दिरमा भक्तजनको भीड लागेको छ ।

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

धारिलाे हतियार प्रहार गरी महिलाकाे हत्या

म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँ  स्थित गलकोटमा एक महिलाको विभत्स हत्या भएको छ । वडा अध्यक्ष मोतिप्रसाद बुढाका अनुसार ,आइतबार साँझ करिब साढे ६ बजेको समयमा स्थानीय युवा दलबिर श्रीपालीले धारीलाे हतियार प्रहार गरी सोही गाउँकी बिनाकुमारी बिकको हत्या गरेका हुन् ।

अहिले घटनास्थलमा वडा अध्यक्ष बुढा सहित  इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएकाे प्रहरी टोली पुगेको छ । घटनास्थलमा बन्चरो ,दाउ र हँसिया फेला परेको छ । मृतक बिनाकाे टाउकाेमा चाेट लागेकाे छ । केही समय अघि मात्र उनिहरु बिच  जग्गा किनबेचको विषयमा विबाद भएको  बुझिएको छ । हत्यामा संलग्न अभियुक्त श्रीपाली फरार रहेका छन् ।अन्दाजी ३५ वर्षिय दलबिर र ४३ वर्षिया बिना छिमेकी नाताले दिदिभाई पर्ने हुन् । हत्या गरेर फरार भएका अभियुक्त श्रीपालीलाई सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर रहेको अवस्थामा राती करिब पौने ११ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।