आदिवासी जनजाति महासंघ अष्ट्रीयाको आयोजनामा संचालित खुल्ला युरोप स्तरीय भलिबल प्रतियोगिताको उपाधि मोना क्रोएशियाले जितेको छ ।
शनिवार सम्पन्न भएको फाईनल खेलमा ढोरपाटन क्लव डेनमार्कलाई २–१ को सेटमा हराउँदै मोना क्रोएशियाले उपाधि चुमेको हो ।
डेनमार्क, माल्टा, फिन्ल्याण्ड, अष्ट्रीया लगायत गरि युरोपका ८ वटा देश सहभागी भएको प्रतियागितामा उत्कृष्ट खेल प्रदर्शन गरि प्रथम स्थान हासिल गर्न सफल मोनाले २ हजार युरो सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी मोना क्रोएशियाका विनोद सर्वन र उत्कृष्ट सेटर पुस्कर मगर घोषित हुनुभएको छ । साथै उत्कृष्टको कोचको रुपमा मोना क्रोएशियाका तेज सुन्दाश पुरस्कृत हुनुभएको छ ।
“मोना क्रोएशियाले भलिबल खेलमा निरन्तर सफलता हात पार्दै गएको छ, युरोप स्तरीय प्रतियोगितामा पनि शानदार प्रदर्शन गर्न सफल भयौँ र उपाधि पनि चुम्यौँ” मोना क्रोएशियाका अध्यक्ष रुपेश सुन्दाशले भन्नुभयो ।
खेलकुद संगै मोना क्रोएशियाले विभिन्न सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको छ ।
युरोपस्तरीय भलिबलको उपाधि मोना क्रोएशियालाई
माओवादीको म्याग्दी–काठमाडौ सम्पर्क समितिको नयाँ नेतृत्व चयन
नेकपा (माओवादी) केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क समितिको पाँचौ भेलाबाट नयाँ नेतृत्व चयन भएको छ ।
म्याग्दीमा जन्मिएर पेशा, ब्यवसाय, अध्ययनको शिलशिला र बसाई सराई गरेर काठमाडौमा बस्दै आएका माओवादी केन्द्र समर्थकहरुको काठमाडौमा शनिबार भएको भेलाबाट रेशम कटुवाल क्षेत्रीको अध्यक्षतामा समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा टिका फगामी, रन रोका, टकबहादुर थापा, सचिवमा दिपक आचार्य र कोषाध्यक्षमा रामजि परियार चयन हुनुभएको माओवादी केन्द्रको विशेष प्रदेश कमिटि सदस्य अर्जुन थापाले जानकारी दिनुभयो ।
सदस्यहरुमा बिना पौडेल, दिल बुढाथोकी, अनिल थापा, हिमाली थापा, टक जुग्जाली, भोजिन्द्र फगामी, ओमकार केसी, बागबिर पुन, सुमन बिक, राजु थापामगर, राज घिमिरे र चन्द्र पुन रहनुभएको छ ।
भेलाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचारीहरुलाई कारबाही गर्न थालेपछि माओवादी नेतृत्वका सरकार ढालिएको बताउदै जनतामा जाने र शुसाषनको पक्षमा दवाव दिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सचिवालय सदस्य, प्रदेश सांसद तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जाली, जिल्ला संयोजक सेरबहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्र म्याग्दी काठमाडौ सम्पर्क समितिका अध्यक्ष याममती रोकाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएको थियो ।
माओवादी म्याग्दीको टोलीको अध्यक्ष प्रचण्डसँग भेटघाट
नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरुको टोलीले आइतबार काठमाडौमा पार्टीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गर्नुभएको छ ।
माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक सेरबहादुर केसीको नेतृत्वको टोलीले अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङसँग भेटघाट गर्नुभएको हो । भेटमा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सांसद तथा पुर्व मन्त्री रेशम बहादुर जुग्जाली, विशेष प्रदेश सदस्य अर्जुन थापा, धनलाल जैसी लगायत नेताहरु सहभागी हुनुभएको थियो ।
भेटमा सहभागी माओवादी केन्द्रका युवा नेता समेत रहेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले अध्यक्ष प्रचण्डसँग समसामयिक राजनीतिक घटनाक्रम र जिल्लाको बस्तु अवस्थाको विषयमा छलफल भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले आफू सरकारको नेतृत्वमा रहँदा भ्रष्ट्राचार न्युनीकरणका लागि गरेका कामबाट डराएर सरकारबाट हटाइएको बताउदै जनतासँग जान र उनिहरुका समस्याको पक्षमा आवाज उठाउन आग्रह गर्नुभयो ।
‘रेडिमेड’ ले विस्थापित गर्यो हातले बुन्ने राखी
वीरगञ्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्थे। श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे। समय बितेसँगै अहिले उनको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ।
बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उनी बताउँछन्। ‘पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्याैं’, उनले भने, ‘हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं।’
उनी बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गर्छन्। अहिले श्रीवास्तव आफैँ नेपाल–भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहेका छन्।
यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ। यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ। तराई–मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ।
‘अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित ग¥यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ।’ उनको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ। ‘अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्’, उनले भने, ‘दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?’
श्रीवास्तव जस्तै वीरगञ्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहेका नन्दु साह पनि राखीको व्यापार घटेको बताउँछन्। ‘पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो’, उनले विगत स्मरण गर्दै भने, ‘अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो।’
साहका अनुसार नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ। ‘अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ’, उनले भने, ‘अर्काेतर्फ वीरगञ्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो।’
यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उनले सुनाए। उनले भने, ‘अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ।’ उनका अनुसार वीरगञ्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ।
‘पहिला–पहिला राखीको व्यापार गर्ने व्यापारी पनि निकै कम हुन्थे, तर अहिले जसले पनि राखीको व्यापार गर्नसक्ने भएकाले पनि बिक्री वितरण घटेको जस्तो लाग्छ’, उनी भन्छन्। वीरगञ्ज महानगरपालिका–६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी छन्।
‘पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन’, उनले भने, ‘आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ।’ वीरगञ्ज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन्। हिमाल लम्साल/रासस
जागिर खोज्न आएकी लिला पुन नमुना उद्यमी बनिन्
१८ बर्ष अगाडी रित्तै जागिरको खोजीमा भकिम्लीबाट बेनीबजारमा झरेकी लिला पुन अहिले ढाका र अल्लो कपडामा चलेकी उद्यमी हुन् । गाउँघरबाट तालिम लिने र जागिर खोजेर घरखर्च चलाउने योजना बुनेर निस्किएकी पुनलाई अहिले उत्पादनसँगै नयाँ उद्यमीलाई तालिम दिन भ्याइनभ्याई छ । म्याग्दी जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि ढाका उद्यमी भनेर चिनिन्छन् । उद्यमी पुनका उत्पादन संसारभरी पुग्छन् । स्वदेशमा र विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको छ ।
म्याग्दीको बेनी नगरपालिका–७, सदरमुकाम बेनीस्थित मंगलाघाटमा बस्ने उद्यमी लिला पुनले बार्षिक १५ लाखको ढाकाबाट उत्पादित टोपी पछ्यौरा, रुमाल, पर्स, झोला, लगायतका सामग्री विदेशमा बिक्री गर्छिन्। उनलाई अष्ट्रेलिया, जापान, यूके, हङकङ, दक्षिण कोरिया,अमेरिका लगायत यूरोपका देशबाट नियमित अर्डर आउँछ । विदेशमा रहेका नेपालीको रोजाईम ढाकाबाट बनेका थरीथरीका डिजाइन खोज्न थालेपछि उनले नयाँ उद्यमीलाई समेत प्रोत्साहन गदैं माग पुरा गर्छिन् । स्वदेश तथा विदेशबाट आउने माग अनुसार उत्पादन गर्न नसकेकी पुनले म्याग्दीका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेकी छन् । उनले स्वदेशमा भन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीलाई बिक्री गर्ने गरेको बताइन् । ‘माग ठेग्नै सकिदैन,अहिले अल्लो र ढाकाबाट निर्मित साम्रागीहरूलाई बजारको अभाव छैन’ पुनले भनिन् ।
उनले ग्राहकको रोजाई अन्ुसार ढाकाका कपडाहरू तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताइन् । ‘विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ,‘अहिले कोशेली दिन पनि ढाकाकै कपडाबाट बनेका डिजाइनहरू प्रयोग हुन्छ’ पुनले भनिन् । ढाकासँगै अल्लोका कपडा समेत बिक्री गर्ने गरेकी पुन सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निशुल्क समेत तालिम दिन्छिन् ।‘पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु’ पुनले भनिन् । उद्यमीको परिचयसँगै यसपटक महिलाले पढ्ने उज्यालो बैकल्पिक विद्यालयबाट एसइईको परीक्षा दिएपनि सफल हुन नसकेपनि अर्को बर्षको एसइईको तयारीमा समेत जुटेकी छन् । ‘तानमा बसेपछि समय बितेको पत्तै हुदैन,’अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ’ पुनले भनिन् । अहिलेसम्म पुनले २ हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण समेत दिएको बताइन् ।
म्याग्दीमा अल्लो र ढाकाका ३० जना उद्यमी सक्रिय छन् । म्याग्दीमा पुन बाहेक नेकसरा पुन, दिलु घताने,विष्णु गुरूङका साथै पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत स्थानीय तह, विभिन्न संघसंस्थाले तालिम दिन थालेपछि उद्यमीको संख्या ह्वात्तै बढेको छ ।महिला उद्यमी दिल घतानेले अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिलाहरू आथिैक रुपमा समत सम्पन्न रहेको बताइन् । म्याग्दीका ढाका र अल्लो उत्पादनमा सक्रिय महिला उद्यमीका अनुसार बार्षिक १ करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भएपनि अल्लो र ढाकाबाट उत्पादिन बस्तु नै प्रयोग गर्ने गरेका छन् ।
जलजलाका गोठमा देखिन थाले हल गोरु : जलजला गाउँपालिकाको नगद अनुदान सहित प्रोत्साहन
पर्वतको जलजला गाउँपालिका–४,चिउरीपात्लाका यूवा भरत नेपालीको गोठमा खाइलाग्दो हलगोरु छन्। डेढबर्ष कतारमा विताएर फर्किएका भरतलाई अहिले भ्याइनभ्याई छ। खाडी मुलुक कतारमा साढे ३ बर्ष बसेर फर्किएका भरत असार–साउनमा धान रोप्न होस् वैशाखमा मकै छर्न । कोदोको बाँझो फुटाउने देखि खेतीपातीका लागि बर्षभरीमा करिब ४ महिना ब्यस्त हुन्छन् ।
बलिया गोरु र हलो जुवा बोकेर खेतीबारीमा पुग्ने गरेका शुसिलले दैनिक हालगोरूसँगै २५ सय कमाउँछन् । भरत गाउँका करिब ३५ घरधुरीमा हलगोरू पाल्ने एक्लो यूवा हुन् । ‘दुःख हुन्छ, काम अनुसारको कमाइ पनि छ’ भरतले भने । हलगोरू र आफ्नो कमाइले अहिले घरखर्च र केही बचत समेत हुने गरेको बताउँछन् । भरत जस्तै जलजला गाउँपालिका–२,पाखाथरका डम्बर परियारले खेतीपातीका लागि गोठमा रहेका हलगोरूलाई सिजनमा खाली बस्दैनन् ।गाउँघरमा मेलापात गर्न हालगोरु खोज्नेहरुले डम्बर र उनको गोठमा भएका हालगोरू नै रोज्ने गरेका छन् । हलगोरु मात्रैले दिनको १२ सय र हली सहित उनले २५ सय कमाउँछन् ।
सोही वडाको रखाल विसौनाका कर्णबहादुर बरुवालले पनि खेतबारी जोत्न अहिलेसम्म ट्याक्टरसहितका कृषि औजारको प्रयोग गरेका छैनन् । उनीहरूले घरको सोझा हुने, मल प्रसस्तै हुने भएकाले हलगोरु पालेर खेतबारी जोत्ने र छिमेकीलाई समेत दिने गरेका छन् । बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला कृषि व्यवहारमै परिवर्तन हुदाँ गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले लागत साझेदारीमा मिनी टेलर अनुदान सम्म नपाउने अवस्थामा हलगोरू नै पालेर खेतजोत गर्ने गरेको स्थानीय महिला गोमा परियारको भनाई छ । ‘मिनी टेलर महँगो हुन्छ, अनुदानमा ल्याएकाहरूले पनि नियमित जोत्न सकेका छैनन्, हामीलाई हलगोरूले नै सजिलो हुन्छ’ परियारले भनिन् ।
उनले गाउँमा मिनी टेलर ल्याएर मर्मत गर्न नसक्नेहरूले पछिल्लो समय हलगोरू खोज्न थालेपछि स्थानीयको गोठमा हलगोरू देखिन थालेको बताइन् ।
गाउँघरमा कृषकले हलगोरू खोजेर ल्याउन थालेपछि अहिले जलजलामा खेतबारी जोत्न समस्या नभएको स्थानीय बताउँछन् । कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको अवस्थामा जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८० ८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार हलगोरु पालन प्रोत्साहन अनुदान कार्यक्रमले किसान हलगोरु पाल्न हौसिएका छन्। गाउँपालिकाले पहिलो चरणमा २२ हालगोरुलाई प्रति हल गोरु १५ हजारको दरले ३ लाख ३० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत हालगोरु पालेका किसानलाई आवेदन मागी स्थलगत अनुगमन, वडामार्फत सिफारिस लगायतका प्रक्रिया पूरा गरी चालु आवमा २२ किसानलाई अनुदान दिएको हो ।
गाउँपालिकाभित्र हलगोरु पाल्नेको संख्या बढ्न थालेपनि सिमित अनुदानका कारण पहिलो चरणमा नपाएकालाई चालु आवमा समेट्ने ग गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ’आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति हराउन थालेपछि प्रोत्साहन गरिएको छ’ अध्यक्ष आचार्यले भने । उनले किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएको अवस्थामा पनि हलगोरुको आवश्यकता रहेको बताए । गाउँपालिकाले दिएको अनुदानबाट किसान उत्साहित भएकाले कार्यक्रमलाई निरन्तरता दिने बताए । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगले गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिएपनि किसान सन्तुष्ट छैनन् । मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने उनीहरुको भनाई छ ।गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेका छन् ।
जलजला गाउँपालिकाले हलगोरु मात्रै होइन स्थानीय प्रजातिका पशुचौपाया पालेकालाई बार्षिक प्रति पशु २ हजारको दरले सहयोग समेत गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए। उनका अनुसार गाउँपालिका भित्रका सबै वडामा ५०८ पशुचौपायालाई न्यूनतम ३५० रुपैयाँ देखि ७५० सम्मको पशु विमा समेत गरिदिएको छ । कृतिम गर्भधारन गर्ने प्रति गाईभैसीलाई २५ सय अनुदान समेत गाउँपालिकाले वितरण गर्ने गरेको छ । पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै स्थानीय पशुचौपायाको संरक्षण, हलगोरु पाल्न किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने गाउँपालिकाको कार्यले किसान मात्रै उत्साहित छैनन् अन्य स्थानीय तहले समेत सिको गरिरहेका छन् ।कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुने, दाइँ हाल्ने, रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा गर्दा त्यसले माटोमा समेत गम्भीर असर पारेको अवस्थामा गाउँपालिकाको यो प्रोत्साहनको नितिले सहज भएको छ ।
हलगोरू पाल्ने कृषकलाई गोठमै पुगेर प्रोत्साहन गछौं
अध्यक्ष, राजुप्रसाद आचार्य
कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएको हो । रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने गत आर्थिक वर्षदेखि लागू हुने गरी हलगोरु पाल्ने किसानलाई अनुदानको कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आवमा पनि बाँकी कृषकलाई कार्यक्रममा सहयोग गछौं ।
गोरु पाल्ने किसानले अनुदानका निम्ति निवेदन पेस गरेपछि वडाका जनप्रतिनिधि सहितको गोठमै पुगेर अनुगमन गरी सोहीअनुसार छनोट गरेर अनुदान प्रदान गरिन्छ ।किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि वृद्धि हुने हुँदा यसलाई पाल्न प्रोत्साहन गर्नुपरेको छ । गोरुले जोत्दा स्थानीय प्रविधि हलोजुवा प्रयोग हुने भएकाले बाँझो जग्गा राम्रोसँग जोतिने र माटोको अम्लिएपनमा कमी आउने किसानहरूको विश्वास छ। अर्को कुरा समथर फाँटमा मिनी टिलरको प्रयोग बढ्दो रहे पनि लेकको खेतबारीमा भने गोरुले जोत्ने प्रचलन कायमै छ। गोरु प्रवर्द्धन कार्यक्रम जलजलाबाट अन्य पालिकाले समेत सिको गर्ने थालेका छन् ।
अल्लोका उत्पादन बिक्रीबाट मनग्य कमाउँदै महिला उद्यमी
चुलोचौकोमा मात्रै सीमित भएर धेरै समय खर्च गर्ने महिलाहरु व्यावसायिक उत्पादनतर्फ लागेका छन् । बिहान र बेलुका चुलोचौकाको काम सकेर पनि उनीहरु विभिन्न किसिमका पेशा र व्यवसायमा संलग्न भई आर्थिक उपार्जनमा सक्रिय भएका हुन् ।
हिमाली जिल्ला म्याग्दीका महिलाहरु पछिल्लो समय व्यावसायिक रुपमा अल्लो र ढाका उत्पादन, तरकारी खेती, कुखुरापालन, अर्गानिक पसल सञ्चालनलगायत पेशा तथा व्यवसायमा संलग्न छन् । यसैमध्ये अल्लोको उत्पादनमा म्याग्दीका महिलाहरु लागिपरेका छन् । गाउँघर तथा पाखोमा उम्रिएर त्यत्तिकै खेरजाने गाउँले भाषामा (चाल्ने सिस्नो) भनेर चिनिने अर्थात् अल्लोको पुवाबाट विभिन्न उत्पादनहरु गरिरहेका छन् ।
जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्रको भवन बनाइएको छ । अहिले त्यसै भवनभित्र अल्लो उद्यमी विष्णु गुरुङको नेतृत्वमा महिलाहरुले अल्लो पुवाबाट कपडा तयार गरिरहेका छन् । हिमाली अल्लो कपडा उद्योग समूह दर्ता गरी उनीहरुले त्यसै उद्योगमार्फत नियमित रुपमा अल्लो पुवाको उत्पादनमा लागेको बताएका छन् । साझा सुविधा केन्द्रको भवनभित्र मेसिनको सहायतामा तान लगाएर अल्लोको कपडा बुनिरहेका छन् ।
विगतको समयमा अल्लो कपडा उत्पादन गर्ने कच्चापदार्थ जिल्लाको ओखरबोट, गूर्जा, लुलाङ, रुम र निस्कोटबाट ल्याएर कपडा बनाएको भए पनि अहिले भने कुईनेमङ्गलेबाट अल्लो पुवाको कच्चापदार्थ आयात गर्ने गरिन्छ । पछिल्लोपटक कुईनेमङ्गलेबाट खच्चडमार्फत अल्लोको कच्चापदार्थ मगाएर त्यसलाई प्रशोधन गरी धागो बनाई अल्लोको कपडा उत्पादन भैरहेको छ । कुईनेमङ्गले पुगेर त्यहाँका स्थानीय महिलाहरुलाई अल्लो पुवाको बारेमा जानकारीसहित तालिम दिएर १० जनाको समूह गठन गरेपछि अहिले उनीहरुले अल्लो पुवा सङ्कलन गरेर पठाइरहेको हिमाली अल्लो कपडा उद्योग समूहका अध्यक्ष विष्णु गुरुङले जानकारी दिइन् ।
विभिन्न ७ जना महिला उद्यमीहरु आबद्ध यस अल्लो कपडा उद्योग समूहमार्फत साझा सुविधा केन्द्रको भवनमा अहिले अल्लो पुवाको सहयोगमा कपडा उत्पादनलाई निरन्तरता दिइएको छ । सामुदायिक वन क्षेत्रमा अल्लो पुवा सङ्कलन गर्नका लागि समूहमार्फत डिभिजन वन कार्यालयबाट अनुमति लिई केजीका हिसाबले शुल्क तिरेर अल्लो पुवा सङ्कलन गर्ने गरिएको छ । कुईनेमङ्गलेको समूहले अल्लो पुवा सङ्कलन गरी त्यसबाट धागो निकालेर सदरमुकाम बेनीमा पठाउने गर्दछ ।
महिला उद्यमीहरुलाई लक्षित गरेर निर्माण गरिएको साझा सुविधा केन्द्र (सिएफसी)को भवनमा अहिले चारजना महिलाहरुले अल्लो धागोबाट कपडा उत्पादन गरिरहेका छन् । एक महिनाको अवधिमा २०० मिटर अल्लोको कपडा उत्पादन गरी यस केन्द्रमा महिला उद्यमीबाट वार्षिक रुपमा २४ सय मिटर अल्लोको थान कपडा उत्पादन गर्ने गरिएको महिला उद्यमी गुरुङले बताइन् ।
अल्लोको धागोबाट उत्पादित थान कपडालाई प्रति मिटर छ सय रुपैयाँको दरले बिक्री गर्ने गरिएको महिलाहरु बताउँछन् । यसबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ । अल्लोको कपडा स्वाथ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ ।
‘थ्रि मेन ए साइड’ पुरुष भलिबल : म्याग्दी साइलेन्टको विजयी सुरुवात
पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।
यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्याे । तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्याे । चौथो खेलमा ढिकी डाँडालाई लौरुकले हराउदै अघिल्लो चरणमा स्थान बनायो । पाँचौ खेलमा सेती दोभानलाई मामा भान्जाको टोलीले पराजित गर्याे । छैटौं खेलमा मट्टिखानलाई बटालियनले पाखा लगाउदै बटालियन दोस्रो चरणमा प्रवेश गर्याे ।
शनिबार भएको अन्तिम खेलमा स्काई लिंकले ताराखोला जापानलाई पराजित गदै दोसो चरणमा स्थान पक्का गरेको सचिव थापाले जानकारी दिए ।
यसअघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माले गरे । उनले सो अवसरमा बोल्दै भलिबलको विकासमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताले थप टेवा पुर्याउने धारणा राखे ।
खेलकुद अनुशासनको पहरेदार भएको बताउदै उनले खेलाडीलाई अनुशासित बन्न र एकताको सुत्रमा बाध्न सघाउ पुर्याउने बताएका थिए ।
हल्लनचोक भलिबल कोर्टमा यही ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको छ । आइतबार पनि बिहान ८ बजेदेखि नै बाँकी खेलहरु सञ्चालन गरिने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रचण्डलाई जनताका मुद्दा खोसिने चिन्ता
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि भन्ने चिन्ता लागेको बताएका छन् । जनताको मुद्दा खोसिन नदिनको लागि आफू अब जनतामाँझ जाने पनि उनको उद्घोष छ ।
रामवृक्ष यादवको स्मृति दिवसमा आज (आइतबार) पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टी अहिले एक ढिक्का भएको भन्दै सोहीअनुसार तल्लो तहसम्म पुगिने विश्वास दिलाए ।
उनले भने,‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौं ।’ ReportersNepal
सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन ।
रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै ती पुरुषले किशोरीहरुलाई इमो एपमा कुरा गरेर भारत बोलाए । त्यहाँ २० हजार भारतीय रुपैयाँको जागिर दिने प्रलोभन देखाए ।
केही दिनको कुराकानीमै विश्वास गरेर चार किशोरी अज्ञात व्यक्तिको भनाइको भरमा भारत जान कैलालीको धनगढीस्थित नेपाल–भारत सीमामा पुगे । कहिल्यै एक्लै जिल्ला पार नगरेका ती किशोरीहरुलाई इमो माध्यमबाटै बसपार्कको टिकट कसरी काटन् र कसरी सीमापार गर्ने तरिका समेत इमोमार्फत ती पुरुषले सिकाएका थिए ।
घरका कुनै पनि सदस्यलाई जानकारी नगराई भारत जान हिँडेका किशोरीहरुलाई माइती नेपाल कैलालीले सीमामा रोक लगायो । “ती किशोरीहरुसँग न झोला थियो न कुनै सामग्री । घरमा सकैलाई भन्दै नभनी भारत जागिर गर्न जान लागेका रहेछन्, मानव बेचबिखनको शङ्कास्पद अवस्था लागेर तत्काल रोक्यौँ”, माइती नेपाल कैलालीका संयोजक शिव चरण चौधरीले घटना सुनाउदै भने, “पछिल्लो समय सामाजिक सञ्जालले दलालतको मनोबल बढाएको छ, मानव बेचबिखनको उच्चतम् खतरा बढ्दो छ ।”
चौधरीका अनुसार फेसबुक, भाइवर, ह्वाट्स एपजस्ता सामाजिक सञ्जालमार्फत दलालले मानव बेचबिखनको जोखना थापिरहेको अनुभव सुनाए । यहाँसम्म कि अपराधमा संलग्न व्यक्ति वा समूहसम्म सम्पर्कमा पुग्न चुनौती थपिएको पनि उनले बताए । विदेशमा बसेर नेपालमा लक्षितगरी काम गर्ने गिरोह छन् ।
माइती नेपाल कैलालीकै अर्को घटनाले पनि यो समस्यालाई अझ प्रस्ट्याउँछ । फेसबुकमार्फत एक जना भारतीय नागरिकको धनगढीकी युवतीसँग सम्पर्क हुन्छ । सुरुमा फेसबुकबाटै प्रेम भाव प्रकट हुन्छ । पछि ती पुरुष नेपालमै आएर युवतीसँग समय बिताउँछन् । विवाह गरेर भारत लैजाने प्रलोभन पार्दै ती पुरुषले युवतीलाई शारीरिक शोषण गर्छन् । पछि मात्रै युवतीले पुरुषको पहिलो बिहे भइसकेको सुइको पाउँछिन् र बिहे नगर्ने जिकिर गर्छिन् ।
युवतीले बिहे इन्कार गरेको दिनदेखि ती पुरुषले जबर्जस्ती दबाब र मानसिक यातना दिन थाल्छन् । युवतीलाई थाहै नदिइ खिचेका गोप्य भिडियो र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने धम्की दिन थाल्छन् । भारतमा बसेर फेसबुकमार्फत पुरुषले पटकपटक युवतीलाई मानसिक यातना दिन थाल्छन् । आफूमाथि हिंसा भएको महशुस गरेकी ती युवतीले प्रहरीमा उजुरी गर्ने प्रयास गरिन् । व्यक्तिको पहिचान नखुलेको र तथ्य प्रमाणित नहुँदा उनले उजुरी हाल्ने आधारसमेत हुँदैन । पर्याप्त प्रमाण नहुँदा उनी अहिले चुपचाप पीडा सहेर बस्न बाध्य छिन् ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९’ मा १५ देखि १६ वर्षका किशोरीहरु पूजाका लागि, विवाह गरेर जानेलगायतका प्रलोभनमा परी फेसबुक, इमोबाट चिनजानका आधारमा भारततर्फ लाने गरेको अवस्था उल्लेख छ । आयोगले २०७७ फागुन १३ देखि २१ गतेसम्म मोरङ, इलाम, सुनसरी र झापा जिल्लामा गरेको अनुगमनबाट प्राप्त घटनाको प्रकृतिले पनि सूचना प्रविधिको प्रयोग गर्न नजान्दा बेचबिखनको जोखिम बढेको प्रष्ट पार्छ ।
आयोगको अनुगमनमा उल्लेख छ, “एक जना दाङ जिल्लाकी किशोरीले मोबाइलमा फेसबुक चलाउँदा भारतका नागरिकले फेसबुकमा फोटो देखाएर मोडल बनाएदिने प्रस्ताव राखेपछि ती किशोरी दाङबाट रात्रि बस चढेर सुनसरी जिल्लाको भन्टाबारी सीमानाका हुँदै जान लाग्दा निगरानी केन्द्रबाट सम्झाइबुझाई घर फिर्ता पठाएको थियो ।”
त्यस्तै अर्को घटना, सप्तरी जिल्लाकी किशोरी विराटनगरमा बसेर पढ्दै थिइन् । उनलाई भारतीय नागरिकले फेसबुकमार्फत मोबाइल किनिदिने बाहनामा सुनसरीको भन्टाबारी हुँदै भीमनगर आउन भनेपछि ती किशोरी भन्टाबारीको सीमा नाका हुँदै जान लाग्दा उनलाई सम्झाइबुझाई घर पठाइएको घटना पनि अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
मानव बेचबिखनका मुद्दा बढ्दो
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समयसापेक्ष रूपमा विभिन्न ऐन नियमहरू तर्जुमा गरिएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ जारी भएको छ । मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाहरूको बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०६८ तथा यसको कार्यान्वयन योजना, २०७१ बनाई लागू गरिएको छ ।
सरकारको निरन्तर प्रयास जति देखिन्छ उति मानव बेचबखिनको सङ्ख्या भने बढ्दै गएको तथ्याङ्कले देखाउँछ । मानव बेचबिखन अनुसन्धान ब्युरोको चार वर्षको तथ्याङ्क हेर्दा मानव बेचबिखनको अवस्था उच्च देखिन्छ । आव २०७७÷७८ मा १३४ मुद्दा दर्ता भएकामा २०८०÷८१ मा सङ्ख्या बढेर १६६ पुगेको छ । महान्यायधिवक्ताको कार्यालयको २०७९÷८० को वार्षिक प्रतिवेदन हेर्ने हो भने मानब बेचबिखनविरुद्ध एक सय ९४ मुद्दा परेकामा २१ मुद्दा मात्रै फछ्र्यौट भएका छन् ।
राष्ट्रिय बालअधिकार परिषद्को आव २०७७÷७८ मा जम्मा तीन हजार ६५८ बालबालिका हराएका र तीमध्ये ७६।७ प्रतिशत बालिका र २३।२ प्रतिशत बालक रहेका छन् । हराएकामध्ये जम्मा ८१।७ प्रतिशत बालिका मात्र फेला परेको देखिन्छ छ । बालक ८३।८ प्रतिशत फेला परेका छन् । हराएका बालबालिकामध्ये बालिका फेला पर्ने सम्भावना बालकको तुलनामा अत्यन्त न्यून देखिन्छ ।
राष्ट्रिय मानवअधिकार आयोगले मानव बेचबिखनको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायले निर्वाह गर्नुपर्ने भूमिकाबारे सरकारसँग पटकपटक सिफारिस गर्दै आएका बुँदा कार्यान्वयनको हुन सकेका छैनन् । आयोगले २०७९ मा सरकारसँग मानब बेचबिखनविरुद्धका प्रयासका केन्द्रित सिफारिस २२ बुँदामध्ये एउटा मात्रै पूर्ण रुपमा कार्यान्वयन भएको तथ्याङ्कमा उल्लेख छ ।
अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले पछिल्लो समय मानव बेचबिखनविरुद्धका मुद्दा दर्ता बढ्दै जानु भनेको जनचेतना अभिवृद्धि भएको तर्क राख्छन् । उनका अनुसार चेतनाकै कारण पीडितले प्रहरीसमक्ष आएर उजुरी दिनसक्ने भएका छन् । यद्यपि मानव बेचबिखनको अवस्था रोकथाम भने हुन सकेको छैन । “मुद्दा दर्ता सङ्ख्या बढ्नु एक अर्थमा सकारात्मक मान्नुपर्छ”, उनले भने, “यो भनेको पीडित सचेत हुँदै गएको सङ्केत हो । तर, हाम्रो प्रयास मानव बेचबिखन न्यूनीकरणमा नै ध्यान दिनुछ ।”
सूचना प्रविधिको विकाससँगै छदमभेष्ीामा दलाल संयन्त्र फैलिएको छ । प्रविधिले विश्वव्यापी रुपमा सञ्जाल फैलाउन सूचना प्रविधिले सहज बनाएको उनी बताउँछन् । ह्वाट्स एप, भाइबर, इमोजस्ता असङ्ख्य सञ्जाल अपनाएर विदेशबाट दलालले मानव बेचबिखनको महोरा बनाएका थुप्रै मुद्दा रहेको उले सुनाए । “यस्तोमा पहिलो जस्तो अपराधी पत्ता लगाउन सजिलो छैन”, उनले भने, “त्यसैले सामाजिक सञ्जालमा नचिनेको अपरिचत व्यक्तिसँग विश्वास गरिहाल्नु हुँदैन भनी जनमानसमा जागरण ल्याउनुपर्छ ।”
मिश्रका अनुसार स्कुलका बालबालिका लक्षित ‘अनलाइन’ शिक्षा दिन जरुरी छ । नेपाल प्रहरीको एक्लो प्रयासले भन्दा पनि स्थानीय सरकार र सङ्घसंस्थाको पहलले सचेना वृद्धि गर्न सजिलो हुने उनले बताए ।
शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले सूचना प्रविधिको माध्यमको प्रयोग सही ढंगले गर्न नजान्दा धेरै किशोरी दलालको चङ्गुलमा पर्ने खतरा बढ्दै गएको बताए । यसका लागि सरकारीस्तरबाटै जति सक्दो सुचना प्रविधिको प्रयोगमा जनचेतना दिने अभियान थाल्नुपर्ने उनको धारणाछ । “हामीले सामाजिक सञ्चाल र मोबाइल नचलाउन त भन्न सक्दैनौँ तर, मानव बेचबिखनको डर हुन पनि सक्छ भनेर सचेत चाहीँ गराउन सक्छौँ”, उनले भने । रासस