Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 256

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनर्निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनर्निर्माण भएको छ । करिब १ सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।

बेनी–जोमसोम–सडकभन्दा तल रहेको मन्दिरलाई सडकमाथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुनर्निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार २४ लाख ७० हजार सात सय ५० को लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । २ लाख ८० हजार आठ सय ५६ ऋण रहेको मन्दिर पुनर्निर्माणका लागि सो सडक आयोजनाले सहमतिअनुसार थप रु एक लाख ६७ हजार तीन सय ३९ भुक्तानी गर्न बाँकी छ ।​

अन्नपूर्ण गाउँपालिकाको १० लाख बजेटमा सो मन्दिर परिसरमा गत वर्ष निर्माण थालिएको सत्तललाई पूर्णता दिन यस आर्थिक वर्ष २०८१/८२ मा ५ लाख विनियोजन भएको छ । मन्दिर परिसर घेरबार र हनुमानको मूर्ति राख्न बाँकी छ । मन्दिरभित्र हिन्दू धर्मावलम्बीहरूका भगवान रामको मूर्ति राखिसकिएको छ । घेरबार र हनुमानको मूर्ति राख्नका लाथि थप आर्थिक स्रोतको खोजी गरिएको अध्यक्ष गिरीले बताए ।

हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ जाने बाटोमा पर्ने र शालिग्राम शिला पाइने कालीगण्डकी नदीको किनारमा रहेको राममन्दिर रहेको पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्रसमेत भएकाले नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजाले बताइन् । रासस

गलेश्वरधाम शिवालयमा साउन महिनामा १५ लाखभन्दा बढी भेटी

म्याग्दीको बेनी नगरपालिका-९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा भक्तजनले १५ लाखभन्दा बढी भेटी चढाएका छन् । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको प्रवेशमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको अलौकिक तिर्थस्थल गलेश्वरधाममा साउन महिनाका चार सोमबार पूजाआजाका लागि आएका भक्तजनको दान र सहयोग गरी १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

पहिलो सोमबार ३ लाख ७२ हजार ३७२ रुपैयाँ, दोस्रो सोमबार ३ लाख ३६ हजार १८५ रुपैयाँ, तेस्रो सोमबार ३ लाख ६६ हजार २ सय रुपैयाँ र चौथो सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वर शिवालयमा साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा १५ दिन र मासिक रूपमा भेटी गनिने कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।

भेटी संकलन गरेपछि कोषाध्यक्ष कुमारी रोकाले मुचुल्का गरी राखेपछि मंगलबार विहान कोषका पदाधिकारी, गलेश्वरबासी प्रहरी, सशस्त्र प्रहरी र आमा समूह र इच्छुक भक्तजनले समेत पैसा गन्ने गरी सार्वजनिक ठाउँमा झिजाउने गरिन्छ । संकलन गरिएको भेटीले बृद्धाआश्रम, विद्यालयका साथै विभिन्न भौतिक पूर्वाधार निर्माणमा खर्च हुने कोषका सदस्य सचिब बलबहादुर खत्रीको भनाई छ ।

गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ ।

पवित्र कालीगण्डकी नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा अवस्थित मन्दिर सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन गएको विभिन्न धार्मिक ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको पाइन्छ।

पाँच सय वर्ष पुरानो कुवा संरक्षण विहीन

तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान नजिकै पर्ने पुराण प्रशिद्ध ऋषिहरु पुलस्त्य र पुलहको तपोभूमी पुलापछैमा रहेका पाँच सय वर्ष पुराना मल्लकालीन सम्पदाहरु संरक्षणको अभावमा नासिँदै जान थालेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलापछैमा रहेको तत्कालीन पर्वतेराजा डिम्बबम मल्ल र उनका शाखा सन्तानहरुले पानी खाने गरेको पाँच सय वर्ष पुरानो कुवा संरक्षणको अभावमा अलपत्र परेका छन् ।

करिब पाँचसय वर्ष पहिले पर्वत राज्यको विरासतसँग जोडिएको ढोलठान क्षेत्रमा ऐतिहासिक महत्वका सामग्रीहरू रहेका भएपनि पहिचान र संरक्षणको अभावमा अलपत्र परेका स्थानीय बुद्धिजीवि शिव बानियाँले बताउनुभयो । पुलापछैमा रहेको ऐतिहासिक कुवा माथिबाट खनिएको मोटरबाटोका कारण कुवा सुकेर खण्डहरमा परिणत भएको छ ।

त्यतिबेलाका पर्वते प्रतापि राजा डिम्वम मल्ल (उनलाई दिलिपबम मल्ल पनि भनिन्थ्यो) ले ढोलठानलाई गृष्मकालीन राजधानी बनाएकोले यस ठाउँमा बसुञ्जेलसम्म त्यही कुवाको पानी र ओखलमा धान कुट्न लगाएर दरबारका सदस्यहरूले भात खाने गरेका प्रमाणहरू भेटिएका स्थानीय यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

वि.सं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको इतिहासमा उल्लेख छ । ‘कहिले राजा बेनी बाग्लुङ्ग, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताउनुभयो ।

राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै अपार पर्यटकीय सम्भावना बोकेको यस क्षेत्र बाहिर जति चर्चामा आएपनि म्याग्देलीहरूका लागि भने ‘कागलाई बेल पाक्यो, न हर्ष न विस्मात’ भने झैं भएको उहाँको भनाइरहेको छ ।

१४औं शताब्दिताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्वम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केहीमाथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिकैमा रहेको छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने बेनी नगरपालिका वडा नं ५ का वडाअध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

यो क्षेत्र ऐतिहासिक रुपमा मात्रै होइन जैविक, धार्मिक र प्राकृतिक रुपमा पनि महत्वपूर्ण क्षेत्र रहेकोले यसको संरक्षणका लागि स्थानीय तह र प्रदेश सरकारबाट समेत पहल भइरहेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक

कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट  चालु आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिकीकरण गरिएको हो ।

चालु वर्षमा कृषि ज्ञान केन्द्रले जिल्लाभर कुल तीन करोड ३३ लाख २५ हजार रुपैयाँको लागतमा कृषिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ । सार्वजनिकीकरण कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै केन्द्र प्रमुख बाँस्तोलाले कृषि प्रसार तथा तालिम, समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवद्र्धन, खाद्यान्न तथा तरकारी बाली प्रवद्र्धन, सुन्तलाजात फलफुल विकास आयोजनालगायत ६१ वटा कार्यक्रमहरु सञ्चालन हुने बताउनुभयो ।

यसैगरी कृषि तथ्याङ्क तथा बजार विकास, फलफुल बाली विकास, मसला तथा निर्यातयोग्य बाली प्रवद्र्धन, रैथाने बाली तथा जलवायुमैत्री प्रविधि प्रवद्र्धन र पोषण सुरक्षा कार्यक्रम रहेको केन्द्र प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो । गएको आर्थिक वर्ष २०८०÷०८१ मा कृषि ज्ञान केन्द्र म्याग्दी र स्थानीय तहले जिल्लामा कुल १३ करोड ६४ लाख बढीको कार्यक्रम सञ्चालन गरेका थिए । गतवर्ष कृषि ज्ञान केन्द्रबाट खायन आलु प्रवद्र्धन कार्यक्रम, अगुवा तथा उत्कृष्ट किसानलाई पुरस्कृत, फलफुल तथा तरकारी खेतीमा सिँचाइ, ग्रामीण पोषण प्रवद्र्धन कार्यक्रम, धान दिवस मनाउनेलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट गतवर्ष सञ्चालित र चालु वर्षमा सञ्चालन हुने कार्यक्रम तथा बजेट पनि सार्वजनिक भएको छ । विज्ञ केन्द्र प्रमुख डाक्टर भरत रेग्मीले गतवर्ष सञ्चालित कार्यक्रम तथा बजेट र चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित बजेटको बारेमा आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।
सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनमा राज्य लागिपरेको बताउनुभयो ।

उहाँले विभिन्न समस्याहरुको बाबजुद पनि कृषि र पशुपालनको विकासमा जोड दिइएको बताउँदै राज्यले कृषकहरुलाई लक्षित गरेर ल्याएका अनुदान, बजेट तथा कार्यक्रमहरुको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । कृषि र पशुपालनको विकास गर्न आफूले प्रदेश सरकारमा आवश्यक पहल गरिरहेको बताउँदै उहाँले म्याग्दीलाई आलु तथा टिम्मुरको पकेट क्षेत्र बनाउनुपर्नैमा जोड दिनुभयो ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले कृषि र पशुपालनको कार्यक्रममार्फत पर्याप्त मात्रामा जिल्लाका कृषकहरुलाई समेट्नुपर्ने बताउँदै कृषकलक्षित अनुदान तथा राहतको कार्यक्रममा जोड दिन आवश्यक रहेको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले नगरपालिकामार्फत कृषि उत्पादन खरिद गर्नका लागि कृषि बजार स्थापना गर्न लागिएको बताउँदै कालीपुलमा कृषि भवन बनाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले अहिले वडा कार्यालयसम्म सडक विस्तारको कार्यलाई जोड दिएको भन्दै ग्रामीण कृषि सडक स्तरोन्नति गर्न नगरपालिका लागिरहेको बताउनुभयो ।

कार्यक्रममा कृषकद्वय तिलकबहादुर गुरुङ र मुक्तिबहादुर खड्काले आ–आफ्नो धारणासहित जिज्ञासा राख्नुभएको थियो भने कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोला र विज्ञ केन्द्र प्रमुख डा. रेग्मीले जवाफ दिनुभएको थियो ।

कृषि ज्ञान केन्द्र प्रमुख बाँस्तोलाको अध्यक्षता र बाली संरक्षण अधिकृत प्रकाश पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, कृषि प्राविधिक, अगुवा कृषक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

तालिमपछि महिलाहरुले भने, ‘प्लाष्टिकको प्लेट र सिन्के धुपलाई विस्थापन गर्छौं’

पछिल्लो समय व्यावसायिक सिपमूलक सम्बन्धी विभिन्न किसिमका तालिमहरु लिएर पेशा तथा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने क्रम बढ्दै जान थालेको छ । खासगरी महिला उद्यमी र समूहलाई आर्थिक रुपमा सशक्त बनाउन तथा नयाँ उद्यमी सिर्जना गर्नेगरी तालिम तथा गोष्ठीहरु सञ्चालन हुँदै आएका छन् ।
यसैक्रममा म्याग्दीको सदरमुकाम बेनीमा पनि दुई दिनसम्म महिलाहरुलाई लक्षित गरेर पेशा, व्यवसायमार्फत आत्मनिर्भर बनाउनका लागि जीवनपयोगी सिपमूलक सम्बन्धी तालिम प्रदान गरिएको छ । ‘सिप सिकौं, स्वरोजगार बनौं’ भन्ने मूल नारासहित शनिवार र आइतबार बेनीमा दुनाटपरी बुन्ने तथा बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, महिला उद्यम विकास समिति म्याग्दीको आयोजनामा संघको सभाहलमा तालिम सञ्चालन गरिएको थियो ।
तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमकुमार कर्माचार्यले दुनाटपरी बुन्ने र बाटेको धुप बनाउने तालिम अब व्यवहारमा पूर्णरुपमा उतार्न सहभागीलाई सुझाव दिनुभयो । उहाँले दुनाटपरी र बाटेको धुप स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक हुने बताउँदै अहिलेको अवस्थामा दुनाटपरी तथा बाटेको धुपलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बजारमा आउने प्लाष्टिकका प्लेट तथा सिन्के धुपलाई अब विस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा बेनी नगरपालिकाको नगर कार्यपालिका सदस्य एवं महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठले महिला उद्यमीहरुलाई अलि लामो अवधिका तालिमको आवश्यकता रहेको बताउँदै यस्ता सिपमूलक तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । तालिमको समापन गर्दै महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले महिलाहरुलाई सिपमूलक तालिममार्फत पेशा तथा व्यवसायमा आबद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभएको छ । उहाँले महिला दिदीबहिनीहरु त्यत्तिकै बसेर समय खेर फाल्नुभन्दा सिप सिकाएर उद्यमी सिर्जना गर्न र अर्गानिक उत्पादनलाई प्रयोगमा ल्याउनका लागि पनि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुको तर्फदेखि तालिमको अनुभव मन्तव्य व्यक्त गर्दै सहभागीद्वय जमुना गौतम र विष्णु शर्माले महिला उद्यम विकास समितिले सञ्चालन गरेको तालिम एकदमै जीवनपयोगी सिपमूलक भएकोमा प्रशंसासहित आगामी दिनमा पनि निरन्तरता दिन माग गर्नुभयो । उहाँहरुले अब बजारमा पाइने प्लाष्टिकका प्लेट र सिन्के धुपको सट्टा दुनाटपरी तथा बाटेको धुप उत्पादन गर्नेतर्फ ध्यान दिइने बताउनुभयो । प्लाष्टिकका सामानको प्रयोग तथा मगमग बसाउने अगरबत्तीलगायत सिन्के धुपले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने भएकाले त्यसलाई विस्थापन गर्नका लागि दुनाटपरी र बाटेको धुप उत्पादन गर्ने उहाँहरुले प्रबिद्धता जनाउनुभयो ।

तालिमको समापनसत्र महिला उद्यम विकास समितिका सभापति श्रेष्ठको अध्यक्षता र सहसचिव गुमा भट्टराई शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको तालिममा पहिलो दिन दुनाटपरी बुन्ने र दोस्रो दिनमा बाटेको धुप बनाउन सिकाइएको थियो । तालिममा प्रशिक्षक एवं महिला उद्यमीहरु पदमकुमारी श्रेष्ठ, कमला गिरी, सृजना श्रेष्ठ र गीता रिजाल शर्माले सहजीकरण गर्नुभएको थियो । आयोजक महिला उद्यम विकास समितिका पदाधिकारी तथा सदस्य, महिला सहकारीका प्रतिनिधिहरु र महिला लायन्स क्लबहरुका प्रतिनिधिसहित पहिलो दिन ३० जना र दोस्रो दिन करिब ४० जनाले तालिममा सहभागिता जनाएका थिए ।

महिला भलिबल लिगका मार्की खेलाडी तोकिए

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो सिजनका कुल ६ वटा फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक भएका छन्।

इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कप्तान अरूणा शाहीसहित नेपाली राष्ट्रिय महिला भलिबल टोलीका ६ सदस्यलाई मार्की खेलाडी तोकेको हो । नेपालमा पहिलो पटक भलिबलको फ्रेन्चाइज लिग इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा हुँदै छ।

कप्तान तथा सेटर अरूणा शाही चितवन र स्पाइकर सरस्वती चौधरी गण्डकीका मार्की खेलाडी भएका छन्। अर्की स्पाइकर उषा भण्डारीलाई काठमाडौंले आफ्नो मार्की खेलाडी घोषणा गरेको छ। पछिल्लो समय सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेल्दै आएकी स्पाइकर निरुता ठगुन्ना मधेसको मार्की खेलाडी बनेकी छन्।

टिम कर्णालीले आफ्नो मार्की खेलाडीमा मिडल ब्लकर सुमित्रा रेग्मीलाई रोजेको छ। उनले गत हप्ता मात्र सम्पन्न काभा महिला भलिबल नेसन्स लिगबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। टिम ललितपुरको मार्की खेलाडी लिबेरो सलिना श्रेष्ठ चयन भएकी छन्।

मार्की खेलाडीले टोली निर्माणमा भूमिका खेल्नेछन्। आयोजकले काभा महिला भलिबल नेसन्स लिग सकिएको भोलिपल्टै नै फ्रेन्चाइज टोली सार्वजनिक गरेको हो। काभा महिला भलिबलमा नेपाल उपविजेता बनेको थियो। फाइनलमा भारतसँग ३–२ ले पराजित भएपछि नेपाल पाँच वर्षपछि पनि उपविजेतामा सीमित भएको हो।

नेपालमा भलिबल खेल विकासका लागि पुरुष र महिला दुवैतर्फ फ्रेन्चाइज  लिग हुँदै छ । नेपाल भलिबल संघले यसअघि नै पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि सम्झौता गरिसकेको छ । महिला भलिबलको भने गत बिहीबार पत्रकार सम्मेलनमार्फत् फ्रेन्चाइज टोली सार्वजनिक भएको हो।

पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णाली हुनेछन्। काठमाडौंको प्रवर्धकमा शरदकृष्ण टिबरेवाला तथा ललितपुरको प्रवर्धकमा अनुज एम तिमिल्सिना, अनुज रिमाल र विरोचन खनाल छन्।

रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा टिम मधेस छ । गण्डकीको प्रवर्धक सौरभ केडिया र टिम चितवनको प्रवर्धक निम्बस होल्डिङ हुन्। प्रतीक अधिकारी र राजेश बगडियाले टिम कर्णालीको प्रवर्धन गर्ने भएका छन् ।

खेलडीको क्याटागोरी विभाजनग गर पारिश्रमिक दिइनेछ। क्याटागोरी ‘ए’ का खेलाडीले एक लाख ५० हजार, ‘बी’ का खेलाडीले एक लाख र ‘सी’ का ले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। इन्फिनिटीका संस्थापक आमिर अख्तरले टर्की, रसिया, ब्राजिल, कजाखस्तान, जर्मनी र अस्ट्रेलिया र भारत गरी करिब १८/२० वटा देशबाट राम्रा खेलाडी फ्रेन्चाइज टोलीमा समावेश गर्ने योजना रहेको उल्लेख गरेकाका थिए ।   nagariknews.com

८ महिनाअघि बेपत्ता मीनाको हुलियासँग मिल्दोजुल्दो कंकाल र सामग्री फेला

म्याग्दीको बेनी नगरपालिका-९,आंखखेत कालीमुलमा बेपत्ता मीना परियारको हुलियासँग मिल्दोजुल्दो कंकाल र सामग्री फेला परेको छ । गंगटा खोज्दै गएकाले जमिनमा गाडेको अवस्थामा आइतबार दिउँसो साडे ३ बजे मानव कंकाल, चप्पल,कपडा भेट्टाएपछि गाउँमा खवर गरेका थिए ।

विगत ८ महिनादेखि बेपत्ता तोरीपानीकी १९ वर्षीया परियारले बेपत्ता हुनुभन्दा अगाडी लगाएको एक तोलाको सुनको सिँक्री, बाख्लो कपडा, रबरको चप्पल फेला पारेपछिपछि शब मीनाकै हुनसक्ने अनुमान गरिएको छ ।

Adv

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घटनास्थलबाट कंकाल तथा सम्पूर्ण सामग्री संकलन गरेर अनुसन्धान थालेको छ । घटनास्थलबाट फर्किएपछि बेनीअनलाइनसँग कुरा गदैं प्रनाउ श्रेष्ठले कंकाल सहित अन्य प्रमाणहरूलाई थप जाँच र अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाउने बताउनुभयो । शब गाडेको अवस्थामा भेटिएको स्थान

‘घटनाको अनुसन्धान सुरू भएको छ, भोली नै प्रयोगशालामा पठाउँछौ, शब पहिचान भएपछि अन्य प्रक्रिया अगाडी बढ्छ’प्रनाउ श्रेष्ठले बेनीअनलाइनलाई भन्नुभयो । प्राप्त कंकाल, सामान र उजुरीबारे प्रमाणिक अनुसन्धान गरेर सत्य बाहिर ल्याउने प्रहरीले जनाएको छ ।

Adv

शब गाडेको क्षेत्रमा प्रसस्तै गंगटा पाइने भएकाले नेप्टेचौरका दिपक परियार, शुसिल परियार र सनम परियारले पहिलोपटक शब भेट्नुभएको थियो घटनास्थलमा वडा नं ९ का वडा अध्यक्ष चक्रबहादुर केसी, वडा नं १० का वडा अध्यक्ष मसबीर रोका समेत पुग्नुभएको थियो ।

कंकाल र अन्य सामग्री फेला पारेपछि घटनास्थलमै पुगेका आफनतले मीनाकै शब भएको दावी गरेका छन् । मीना बेपत्ता हुनुभन्दा अगाडी एक तोलाको सिंक्री खरिद गरेको, जाडो मौसम भएकाले बाख्लो कपडा लगाएको र कपडाको रंग समेत मिलेको आफन्तको भनाई छ ।

मीनाको खोजी अभियानमा सदरमुकाम बेनीबजारदेखि संघीय सरकारका तत्कालिन गृहमन्त्री रबी लामिछाने, राज्यब्यवस्था समितिका सभापति रामहरी खतिवडा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका निकायलाई समेत ज्ञापनपत्र बुझाइएको थियो । मीना २०८० पुस १६ गते राति घरबाटै बेपत्ता भएपछि खोजीकार्य गर्दा छिमेकी गाउँका स्थानीय युवा राम खत्रीसँगै रहेको तथ्य फेलाको थियो ।

Adv

मीनाको खोजीकार्यको क्रममा हाल पुर्पक्षमा राखेर अनुसन्धान गर्ने जिल्ला अदालतको आदेश अनुसार जिल्ला कारागारमा रहेका अभियुक्त खत्रीले मीनासँग प्रेम सम्बन्ध रहेको र यौन सम्पर्कसमेत राखेको स्वीकार गरे पनि आफूले बेपत्ता नबनाएको दावी गदैं आएका थिए ।

मीना र अभियुक्त खत्रीबिच सामाजिक सञ्जालमा कुराकानी भएको, खेत जोत्ने बेलामा चिनजान भएको, शारीरिक सम्बन्ध भएको, ६ महिनाको गर्भ रहेको, भागेर भारत जाने सल्लाह भएको म्यासेन्जर च्याट समेत भेटिएको थियो ।बेपत्ता मीनाको मोबाइलको अन्तिम ‘लोकेसन’ उत्तरी म्याग्दीको बैसरी आसपासको क्षेत्र देखिएको थियो।

काभा महिला भलिबल नेसन्स लिगका उपविजेता खेलाडीलाई तीन लाख

काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले काभा नेसन्स लिगमा उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि सिफारिस गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्पmत नेपाल सरकारसमक्ष उक्त सफारिस गरेको छ।

परिषद्को कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो। राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन्।

मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन्। गत साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो । सोही लिगमा इरानसँग पराजित हुन पुगेको नेपालले सेमिफाइनलमा भने इरानलाई नै हराउँदै उपाधि भिडन्त तय गरेको हो। तर, फाइनलमा भने भारतसँग ३–२ ले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए। सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उपविजेता बनेको नेपाल पाँच वर्षपछि पनि घरेलु मैदानमा भारतसँग बदला लिन असफल भएको हो। सागमा पनि नेपाल भारतसँग ३–२ ले नै पराजित भएको थियो। तर, घरेलु मैदानमा गत हप्ता सम्पन्न काभाको लिगमा नेपालले भारतमाथि ३–२ को जित निकाल्यो। यो जित नै भारतमाथि महिला भलिबलमा नेपालको पहिलो र ऐतिहासिक हो।

जंगली रातो च्याउको माग झन् बढ्दै

म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका रेशम बूढामगर हिजोआज जंगलमा गएर रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ । ओसिलो जङ्गलका पुराना रुख र ठुटामा रातो च्याउ पाइने सिजन सुरु भएपछि पश्चिम म्याग्दको मालिका गाउँपालिका २ रुमकी देविकला घर्ती लगायत उहाँका परिवारका सदस्यहरुको दिन पनि च्याउ खोज्न जंगलमा नै वित्ने गरेको छ ।

बूढामगर र घर्ती मात्रै होइन साउन दोस्रो सातादेखि पश्चिम म्याग्दीका रुम,दिच्याम,मुना,मुदी,लुलाङ,गुर्जा,देविस्थान,विम लगाएतका गाउँका महिला र पुरुषहरु जंगली रातो च्याउ खोज्न जंगलमा जाने गरेका छन् ।

रातो च्याउको माग गाउँका होमस्टेदेखि सहरका तारे होटेल र विदेशमा समेत रहेकोले महंगोमा विक्री हुने गरेको छ । रातो च्याउको मूल्य यस वर्ष आलोमा प्रतिकिलो रु दुईहजार र सुकाएकोलाई रु पाँच हजारसम्म व्यापारीहरले निर्धारण गरेका छन् ।

म्याग्दीका धवलागिरि,मालिका,रघुगंगा र मंगला गाउँपालिकाको अधिकांश जङ्गलमा रातो च्याउ पाइन्छ । जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनपर्ने भएकाले यसको मूल्य निकै महङ्गो भएको रुमकी देविकला घर्तीले बताउनुभयो ।

प्रोटिन र भिटामिनका लागिसमेत राम्रो मानिने जङ्गली रातो च्याउ म्याग्दीका ग्रामीण वस्तीहरुमा पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरवासमा आउने अधिकांशले रुचाउने परिकारमध्ये रातो च्याउ प्रमुख भएको मुना घरवास (होमस्टे)का सञ्चालक राधिका भण्डारीले बताउनुभयो ।

“घरवासमा आउने जो कोहीले खानका लागि र कोशेलीका लागि रातो च्याउ खोज्ने गरेका छन्” भण्डारीले भन्नुभयो “पाहुँनाले आफ्ना परिवारका सदस्यहरु रहेको युरोप अमेरिकासमेत कोशेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”

गत सालसम्म प्रति किलो रु आठ सयदेखि रु एकहजार सम्ममा पाइने आलो रोतो च्याउको मूल्य यस वर्ष भने बढेर रु दुई हजार प्रतिकिलो पुगेको छ । सुकाएको रातो च्याउ रु चार हजार देखि पाँच हजार सम्ममा विक्रि हुने गरेको च्याउ व्यापारी जगमाया पुन मगरले बताउनुभयो । जङ्गली च्याउको माग बढ्दै गएपछि पश्चिम म्याग्दीका स्थानीयवासीले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् ।

स्थानीयवासीले जङ्गलमा घाँस दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हालसम्म रातो च्याउको व्यावसायिक बिक्रीवितरण नभएको रुमका स्थानीयवासी टेकबहादुर घर्तीले बताउनुभयो । अहिले जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको घर्तीको भनाइ रहेको छ । उच्च हिमाली भेगमा ठूला रूखमा रातो च्याउ पाइन्छ ।

गत वर्ष रुमबाट मात्रै नौ किलो सुकाएको रातो च्याउ विदेश पठाइएको घर्तीले जानकारी दिनुभयो । त्यसका साथै काठमाण्डौ,पोखरा,बेनी लगाएतका सहरमा गाउँबाट २५ किलो बढी च्याउ निर्यात गरिएको अनुमान छ ।

त्यसैगरी गाउँमा रहेका घरबासहरुमा पनि रातो च्याउ खोसाखोस हुने गरेको छ । दरबाङ बजारमा च्याउ लगिनसक्दै विक्री हुने गरेको व्यापारीहरु बताउँछन् । “जंगली रातो च्याउको माग उच्च छ,जति भए पनि विक्री हुन्छ तर हिजोआज जंगलमा रातो च्याउ पनि पहिलाको जस्तो पाइन छोडेको छ ” देविस्थानका बीरबहादुर सिउथानी मगरले बताउनुभयो ।

रातो च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोशेलीका रुपमा प्रयोग हुँदै आएको बेनी बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका सुमन पौडेलले बताउनुभयो । उहाँले च्याउको महत्व बुझ्नेले जापान, अमेरिकालगायत देशमा आफन्तलाई कोशेली पठाउने गरेको जानकारी दिनुभयो ।

गत वर्ष रुमबाट रु पाँच लाखको जंगली च्याउ विक्री भएको स्थानीय टेकबहादुर घर्तीले बताउनुभयो । त्यसैगरी देविस्थानबाट जंगली रातो च्याउ संकलन गरी विक्री गरेर वार्षिक रु ५० हजारदेखि रु दुईलाखसम्म आम्दानी हुने गरेको छ ।

व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ छ । सिताके च्याउको व्यावसायिक उत्पादन थालिए जसरी नै रातो च्याउको पनि उत्पादन गर्न सकिने सम्भावना रहेको आत्मनिर्भर साना किसान सहकारी संस्था दरवाङका अध्यक्ष सन्तनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो “अब जङ्गललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन, जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बीउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ ।”यहाँको रातो च्याउ युरोप,अमेरिका लगाएतका देशहरुमा समेत पठाउन थालिए पछि आम्दानीको बलियो स्रोत वन्दै गएको स्थानीयले बताएका छन् ।

फ्रान्समा तेस्रो मोना कप हुने

म्याग्दी प्रवासी संघ (मोना) फ्रान्सले तेस्रो मोना कपको आयोजना गर्ने भएको छ । फ्रान्समा रहेका म्याग्देली खेलाडीलाई संगठित गदैं खेलकुद गतिविधिलाई तिब्रता दिएको मोनाले आगामी अगष्ट १८ तारिकमा मैत्रीपूर्ण खुल्ला पुरुष भलिवल प्रतियोगिताको गर्ने अध्यक्ष देबेन्द्र केसीले जानकारी दिनुभयो ।

नेपाली महिलाको महानपर्व तिजको अवसरमा शुभकामना आदानप्रदान सहित खेल क्षमताको विकास र प्रोत्सहान स्वरुप मैत्रीपूर्ण खुल्ला महिला भलिवल प्रतियोगिताको तयारीमा जुटेको अध्यक्ष केसीको भनाई छ ।

प्रतियोगितामा पुरुष भलिवल तर्फ टिम दर्ता ३५० युरो रहेकोमा प्रथम र द्धितिय पुरस्कार क्रमश २ हजार २४ युरो, १ हजार २४ युरो, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने महिला भलिवल तर्फ टिम दर्ता शुल्क ५० युरो र प्रथम तथा द्धितिय पुरस्कार २ सय यूरो, १ सय यूरो, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

भलिवल टिम दर्ता तथा टाईसिट गर्ने अगष्ट १७ तारिक दिउँसो ३ बजे लाकुर्नाभ स्थित चिल्ड्रेन पार्क रहेको छ । प्रतियोगिताका प्रमुख अतिथि मोना अन्तराष्ट्रियका सल्लाहकार मिम पूर्जा रहेको मोना फ्रान्सले जनाएको छ ।