Monday, June 9, 2025
22.7 C
Beni
22.7 C
Beni
Monday, June 9, 2025
Home Blog Page 315

म्याग्दी बहुमुखी क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना

विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक गराउन म्याग्दी बहुमुखी क्याम्पसमा पहिलो पटक अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लव अन्तराष्ट्रिय कोष र म्याग्दीमा रहेका लायन्स क्लवको कुल १ करोड ६२ लाख सहयोगमा क्याम्पसमा अत्याधुनिक विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

विज्ञान प्रयोगशालाको लायन्स क्लब अन्तराष्ट्रियका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गदैं म्याग्दीको पुरानो क्याम्पसको शैक्षिक अभियानमा लायन्स जोडिन पाउँदा खुसी लागेको बताउँछन् । प्रयोगशालाका लागि लायन्स क्लव अन्तराष्ट्रिय कोषबाट १ करोड २२ लाख र म्याग्दीमा क्रियाशिल क्लवद्धारा ४० लाख सहयोग गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसले भौतिक विज्ञान, रसायन विज्ञान र जीवविज्ञानका लागि छुट्टै कक्ष निर्माण गरी फर्निचर, कक्षा कोठा सजावट, व्यवस्थापन गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताए । प्रयोगशालामा आधुनिक माइक्रोस्कोप सहित नयाँ उपकरणहरु समेत राखिएकाले जिल्लाभित्र विज्ञान विषयको अध्ययन र अनुसन्धानका लागि समेत सहज हुने छ।

प्रयोगशालाले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने, शिक्षण सिकाइ क्रियाकलाप समेत प्रभावकारी हुने भएकाले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी छात्राबृद्धि सहितका आर्कषक प्याकेजहरूमार्फत समेत विद्यार्थीलाई आर्कषित गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका गभर्नर चन्द्रकुमार केसीले हालसम्म लायन्स क्लबले म्याग्दी जिल्लामा विभित्र परियोजनामा १२ करोड रुपैया भन्दा धेरैको सहयोग गरेको बताए ।  विज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, क्याम्पस पुर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण सुबेदी,सञ्चालक समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । म्याग्दी क्याम्पसमा विभिन्न संकायमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् ।  लायन्स क्लवका प्रोजेक्ट चियरपर्सन सन्तोष रावलले प्रयोगशालाको नियमित प्रयोगसँगै भविस्यमा समेत थप सहयोग गरिने बताए ।

यसअगाडी लायन्स क्लबको आर्थिक सहयोगमा बेनी नगरपालिका–९, तोरीपानीस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा चार करोडको दुईतले आठवटा कोठासहितको पक्की भवन विद्यालय समेत बनाइएको थियो । म्याग्दीमा सन् २००७ देखि लायन्स क्लबमार्फत शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग गरिएको छ ।

क्यान्सरलाई जितेर ३० वर्षमै सगरमाथाको चुचुरोमा पुगे जोर्डन

फोक्सोको क्यान्सर जितेका जोर्डन क्षेत्रीले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । उनले आइतबार बिहान १० बजेर ३० मिनेट जाँदा सगरमाथामा आरोहण गरेका हुन् । उनले १४ घण्टा लगाएर सगरमाथाको आरोहण गरेका जोर्डनका बुवा बेलायतबासी नेपाली एनआरएनए अभियन्ता योगेन क्षेत्रीले बताए।तस्बिर सौजन्यः एजीए एड्भेन्चर्स

जोर्डनलाई गेल्जे शेर्पा, एड्रियाना र फुडी शेर्पाले सगरमाथा चढ्न सहयोग गरेका थिए । जोर्डनलाई सानै उमेरमा फोक्सोको क्यान्सर भएको थियो। क्यान्सर लागेदेखि नै उनलाई एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास थियो। सोही आत्मविश्वासलेनै उनलाई आज उक्त सफलता हात परेको छ।

सगरमाथाको बेसक्याम्पबाट जोर्डनले भनेका थिए, ‘सानै उमेरमा कठिन रोगबाट जुन संघर्ष मैले गरेँ। त्यतिबेला हौसलाको खाँचो थियो। मेरो जस्तै जटिल रोग बाट गुज्रिरहेकालाई मेरो सगरमाथा आरोहण प्रेरणा बनोस्।’

‘छोरा जोर्डन छेत्रीको सगरमाथा आरोहण यात्रामा तपाईंहरुले दिनुभएको दयालु शब्द, प्रोत्साहन, शुभकामना र तपाईंको समर्थन हाम्रो लागि धेरै महत्त्वपूर्ण छ । तपाइहरुले दिनुभयको शुभकामना सन्देश र आशिर्वादको लागि हामी कृतज्ञ छौं।’ जोर्डनका बुबा योगेन छेत्रीले भनेका छन् ।

छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम

प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ ।

गाउँपालिकाले दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक (अर्गानिक) र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको हो । चाउचाउ र बिस्कुटजस्ता पत्रुखाना दिवा खाजाका रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्नेगरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक र अभिभावकको उपस्थितिमा तालिम दिइरहेको हो ।

गाउँपालिकाले वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले जानकारी दिए । “पोषणयुक्त खाजा बनाउन सिकाइएको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी अभिभावकलाई नै तालिममा सहभागी गराइएको हो”, उपाध्यक्ष पुनले भने ।

तालिमको सहजकर्ता बालकुमारी पुन र भगवती खड्काले बालबालिकाबाट पोषणयुक्त खानाको महत्वका बारेमा अभिभावकलाई जानकारी दिँदै गाउँघरमा पाइने पोसिलो खानेकुरा र रैथाने वस्तुको तयारी गर्ने प्रयोगात्मक अभ्यास गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यालयमा पूर्णरुपमा पत्रुखाना निषेध गर्नेगरी सबै वडामा तालिमसहित नियमित अनुगमन गरिने बताए ।

बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीका लागि दैनिक २० दिवाखाजाका लागि सरकारले उपलब्ध गराउने भए पनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई खाजाका लागि बजेट विनियोजन गरेको छ । तालिममार्फत अभिभावकलाई पोसिलो रैथाने वस्तु उत्पादन गर्न सघाउने गाउँपालिकाले जनाएको छ । रासस

बेनी नगरपालिका-४ सिंगाका महिलाहरुलाई मादल बजाउने तालिम

वडा कार्यालयको आयोजनामा आइतवारदेखि गीत संगीतको क्षेत्रमा अत्यावश्यक बाध्यबाधनको रुपमा चिनिने मादल बजाउने सीप सिकाई सम्बन्धी तालिम संचालन गरिएको वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । तालिममा वडाभित्रका विभिन्न टोल,वस्तीमा रहेका महिला र आमा समुहका ४० जनाको सहभागिता रहेको छ । पछिल्लो समय मौलिक कला संस्कृतिको लोप हुनथालेको भन्दै वडा कार्यालय संस्कृति संरक्षणमा जुटेको वडाध्यक्ष खड्काले बताउनुभयो । बैशाख ३० गतेबाट शुरु भएको तालिम जेठ ६ गते समापन हुनेछ  ।

कार्यक्रममा वडा सचिब बिनिता रेग्मीले गाउँघरमा हुने भजन किर्तनमा मादल बजाउनेको अभाब हुने र सिप भएको मान्छेको खोजी गर्नुपर्ने बाध्यताको अन्त्य गर्न तालिमले सहयोग पूग्ने विचार व्यक्त गर्नुभयो । तालिममा मादल बजाउने सीपका साथै मादलका ताल लगायतको बारेमा कलाकार कृष्ण जिसीले एकसाता सम्म व्यवहारिक तालिम प्रदान गर्नुहुने छ ।

कार्यक्रममा जनचेतना युवा क्लबका पूर्व अध्यक्ष देवेन्द्र चोखाल र प्रशिक्षक जिसीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम वडा नं ४ का अध्यक्ष अण बहादुर खड्काको अध्यक्षता वडा सदस्य मिना कुमारी कार्कीको स्वागत र  सामाजिक परिचालक सिता थापा कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ । जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने उद्देश्यले जलजलाका विभिन्न वडामा रहेको खाली जमिनमा फलफूल खेती विस्तार गर्न थालिएको हो । मुख्य गरी सुन्तला र कागती खेती विस्तार गरिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार जलजलामा ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’अन्तर्गत ६० हेक्टर क्षेत्रफलमा सुन्तला र १५ हेक्टर क्षेत्रफलमा कागतीखेतीको बगैँचा निर्माणको प्रक्रिया सुरु गरिएको छ ।

पहिलो चरणमा सम्भाव्यता अध्ययन गर्ने र सफल भएमा आगामी वर्षमा थप क्षेत्रफलमा पनि बगैँचा निर्माण गर्ने गरी बगैँचा निर्माण गर्न लागिएको उनले बताए।

सुन्तला बगैँचाका लागि वडा नं ७ धाइरिङको बरायदेखि चिसापानी हुँदै छेडा बराहाको घेराभित्र रहेको जमिनलाई तयार गर्न थालिएको छ । पातलपानीदेखि पुर्निखोरियासम्मको क्षेत्रमा कागती बगैँचा निर्माणका लागि काम सुरु गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

मकै, धान, कोदोजस्ता अन्नपातको राम्रो उत्पादन हुने खेतबारी लामो समयदेखि झाडीमा परिणत भएको छ । उत्तरी मोहोडामा फर्किएको यहाँको जमिन सुन्तला र कागतीखेतीका लागि उपयुक्त रहेकाले यो क्षेत्रलाई व्यवस्थापन गर्न थालिएको अध्यक्ष आचार्यले बताए ।

काष्ठ फलअन्तर्गत पर्ने अन्य जातका फलफूलका लागि पालिकाका अन्य वडालाई छनोट गर्ने तयारी भइरहेको छ । हावापानीअनुसारको फलफूल उत्पादनको सम्भावना रहेका वडालाई छनोट गर्न अहिले स्थानीय कृषकसँग छलफल र अन्तर्क्रिया भइरहेको उनले बताए ।

गाउँपालिकाको कृषि उत्पादनलाई आत्मनिर्भर बनाइ हजारौँ हेक्टर जमिनमा व्यावसायिक फलफूलखेती गरेर रोजगारी सिर्जना गर्नका लागि ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ महत्त्वपूर्ण हुने कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक वासुदेव रेग्मीले जानकारी दिए ।

सुन्तला, किबी, कागती, एभोकाडोलगायत विभिन्न १० जातका फलफूलखेतीमा आयोजनाले काम गर्ने उनको भनाइ छ । आर्थिक वर्ष २०७९/८० देखि २०८६/८७ सम्म सञ्चालन हुने यो आयोजनाले पछिल्लो समयमा खाली हुँदै गइरहेका गाउँ र बाँझो बनेका जमिनलाई भरिभराउ गराउने तथा ती फलफूलमा बाँदरले पनि क्षति नगर्ने भएकाले यसबाट धेरै फाइदा लिन सकिने निर्देशक रेग्मीले बताए।

एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा सञ्चालन हुन लागेको यो कार्यक्रम जलजलासहित मोदी गाउँपालिका तथा कुश्मा र फलेबास नगरपालिकामा पनि सञ्चालन हुने उनले बताए । यस वर्ष जलजलामा यो परियोजना सुरु भएको हो ।

व्यक्तिगत वा समूहमा कम्तीमा २० रोपनी क्षेत्रफलदेखि पाँच सय रोपनीसम्ममा बगैँचा निर्माण गर्दा ठूलो क्षेत्रबाट एक पटकमा आम्दानी लिन सकिने निर्देशक रेग्मीको भनाइ छ ।

व्यक्तिगत वा क्लस्टरमा कम्तीमा पनि २० देखि पाँच सय रोपनी क्षेत्रफलमा बगैँचा स्थापना गर्ने र खाली जमिनबाट उत्पादन लिने लक्ष्य आयोजनाको छ । यस्ता फार्ममा लाग्ने कूल लगानीको ५० प्रतिशत आयोजनाले बेहोर्ने भएको छ भने बाँकी कृषक वा कृषि समूहले व्यहोर्ने भएका छन् ।

यो कार्यक्रमको कार्यान्वयनको मुख्य जिम्मेवार निकायका रूपमा स्थानीय तहलाई नै राखिएको छ । स्थानीय तहको उपप्रमुख नै कार्यक्रमका लागि बन्ने समितिको प्रमुख हुने व्यवस्था भएकाले प्रभावकारीरुपमा सञ्चालन हुनेछ । त्यसमा आयोजना र कृषि ज्ञान केन्द्रसहित प्रदेशका प्रतिनिधि पनि समावेश हुनेछन् । कृषकलाई शतप्रतिशत अनुदान दिँदा राज्यको मात्रै लगानी रहेको भन्दै बेवास्ता हुनसक्ने भएकाले कृषककोसमेत लगानीमा कार्यक्रम आयोजनाले काम गर्न लागेको निर्देशक रेग्मीले बताए ।

अन्नपूर्णमा दिवा खाजमा पोषणयुक्त खुवाउनुपर्ने, अभिभावकलाई दिइयो तालिम

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोशिलो खाजा बनाउन तालिम दिएको छ । चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक, अभिभावकको उपस्थितीमा तालिम दिइरहेको छ ।

गाउँपालिकाले चालु आवमा वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले बताउनुभयो । ‘पोषणयुक्त खाजा बनाउन सिकाइरहेको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी अभिभावकलाई नै तालिममा सहभागि गराइएको छ’ उपाध्यक्ष पुनले भन्नुभयो ।

तालिमको सहजकर्ता बालकुमारी पुन, भगवती खड्काले बालबालिकालाई पोषणयुक्त खानाको महत्वका बारेमा समेत अभिभावकलाई जानकारी दिदैं गाउँघरमा पाइने पोषिलो खानेकुराहरु र रैथाने वस्तुहरुको तयारी गर्ने प्रयोगात्मक अभ्यास समेत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले विद्यालयमा पूर्णरुपमा जंकफुड निषेध गर्ने गरी सबै वडामा तालिम सहित नियमित अनुगमन समेत गरिने बताउनुभयो ।

बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीको लागि दैनिक १५ रुपैयाँ दिवा खाजाको लागि सरकारले उपलब्ध गराउने भएपनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई समेत खाजाका लागि बजेट विनियोजन गरेको छ। तालिममार्फत अभिभावकलाई पोषिण रैथाने वस्तुहरु उत्पादन गर्न समेत सघाउने गाउँपालिकाले जनाएको छ ।

कुस्मा गएका भकिम्लीका नेपाली चारदिनदेखि बेपत्ता

उपचारका लागि पर्वत कुस्मा गएका म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका एकजना पुरुष चारदिन देखि बेपत्ता भएका छन् । श्रीमतिसँगै उपचार गरी कोठामा फर्किएका ५६ बर्षिया रेशमबहादुर नेपाली कुस्मामा रहेको बुहारीको डेराबाट निस्किएर नफर्किएको नाति दिपेन्द्र नेपालीले बताए।

गत बिहिबार साँझ ४ बजे कोठाबाट नेपाली कसैलाई जानकारी नदिई घरबाट निस्किएका थिए । आइतबारसम्म आफन्त र खोजीकार्य गर्ने सबै ठाउँमा खोज्दा समेत परिवारको सम्पर्कमा नआएपछि खोजीकार्य सुरु भएको परिवारका सदस्यले बताएका छन् । कुस्मा र बेनी प्रहरीलाई समेत हराएको बारेमा जानकारी गराइएको छ ।

 

सडकमै चालकको स्वास्थ्य परीक्षण, चालकमा उच्च रक्तचाप धेरै

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालित ट्राफिक सप्ताह अन्तरगत चालक, सहचालक तथा यात्रुकोे स्वास्थ्य परीक्षण गरिएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा इलाका प्रहरी कार्यालय अन्तर्गत अस्थाई ट्राफिक कार्यालयको आयोजना र दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा मालिका-६ भूमेथानमा सवारी चालक र यात्रु गरी ५० जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य अवस्थालाई अन्य समयमा समेत सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, यो अभियान सप्ताहमा मात्रै सिमित गर्नुहुदैन’ अध्यक्ष गर्बुजाले भने । सडकमै स्वास्थ्य परीक्षणको क्रममा मास्क बितरण, लागूऔषध सम्बन्धि परामर्श, स्वाथ्य परामर्श, दुर्घटना न्यूनीकरण सम्बन्धि परामर्श, सवारी साधनको परिक्षण साथै सचेतनामुलक पम्प्लेट र स्टिकर बितरण गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेअ एवम् सूचना अधिकारी यमन नेपालीले स्वास्थ्य परिक्षण गरेका थिए । उनका अनुसार परीक्षणको क्रममा एक चालकलाई धुलोको एलर्जी,८ जनामा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको थियो ।
लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने अभियान राम्रो भएको बेनी नगरपालिका–६का चालक श्याम किसानले बताए ।

चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण अभियान महत्वपूर्ण भएको उनले बताए। अभियानमा मालिका गाउँपालिका वडा नं.२ को वडा सदस्य प्रतीक्षा रसाइली, दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख डा.गायत्री पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा सवारीसाधनको अवस्थाका बारेमा समेत प्राविधिक सहित चेकजाँच गर्ने क्रममा तीनवटा सवारी साधनमा सामान्य समस्या देखिएकोमा तत्काल मर्मतका लागि पठाइएको र सवारीधनीलाई फोन गरेर जानकारी समेत दिइएको ट्राफिक प्रहरी दलबहादुर अखेलीले बताए ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् ।

राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२ दशमलव ६४, तरकारीको १६ दशमलव ९९, दाल तथा गेडागुडीको १० दशमलव ९४, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैर(मदिराजन्य पेय पदार्थको छ दशमलव ०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १० दशमलव १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकाङ्क १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ ।

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ ।

विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो अवधिमा सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब ४ करोड रहेको छ । त्यसैगगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ ।

चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव दुई प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ ।

तेस्रो त्रैमासिक अवधिसम्ममा आयात दुई दशमलव आठ, निर्यात तीन दशमलव सात र कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । रासस

खुम्लियाका युवाहरुले बनाए गाउँमै खेलमैदान,खेल्न अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दीको मंगला गाउँपालिका-२,खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यतालाई अन्त्य गदैं गाउँपालिका, चन्दा र सहयोगबाट रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन ।

खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यताको अन्त्य गदैं स्थानीय खुम्लिया यूवा क्लवको अगुवाइमा गाउँपालिकाबाट ३ लाख २० हजार, स्वदेश तथा विदेशबाट साढे २ लाख चन्दा संकलन गरी गाउँमा रहेको देवी मन्दिर नजिकै खेलमैदान निर्माण गरिएको हो ।

खेलमैदान निर्माणसँगै यूवा क्लवले खेलकुद प्रतियोगिता तथा नियमित विहान, बेलुकी भलिबल खेल्न सहज भएको स्थानीय रितु घर्तीले बताइन् । ‘हामी खेल्नका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता थियो, अहिले खेलमैदान बनेपछि खुसी छौ’ उनले भनिन् ५० मिटर लम्बाई र १७ मिटर चौडाईको खेलमैदानसँगै स्टेडिएम गरिएको छ ।

क्लवका उपाध्यक्ष तेजिन्द्र आचार्यले खेलमैदानका लागि गाउँपालिका बाहेक संकलन गरिएको आर्थिकले पहिलो चरणको काम सकिएको र थप खेलमैदानलाई ब्यवस्थित बनाउने र स्टेडियमलाई समेत आधुनिक बनाउने योजना रहेको बताए । ‘खुम्लियाका खेलप्रेमीको एउटा चाहना पूरा भएको छ, स्थानीयबासीको प्रयासमा खेलमैदान बनेको छ’ उपाध्यक्ष आचार्यले भने ।

खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज भएको छ । व्यवस्थित खेलमैदानको अभावमा खेलकुद गतिविधिहरु प्रभावित भएपछि बुढापाकाले समेत खेलमैदान बनाउने अभियानमा साथ दिएका थिए ।

‘हाम्रो खेल्ने उमेर त सकियो, अहिले गाउँका यूवाहरु खेलेको देख्दा आनन्द आउँछ’ स्थानीय भिमबहादुर किसानले भने । खेलमैदान निर्माणले स्थानीयबासीमा उत्साह थपिएको बताए। खेलमैदान वरीपरी अस्थायी घेराबार लगाइएको छ ।

सरकारी निकाय, स्वदेश तथा विदेशमा रहेका खुम्यिाबासीबाट थप सहयोग जुटाएर दर्शकहरु वस्नका लागि प्याराफिट, मैदानमा राती समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्तिहरु जडान लगायतका योजनाहरू समेत बनाइएको क्लव अध्यक्ष मिलन गुरूङले बताए । खेलमैदान बनेसँगै गाउँमा रहेका खेल प्रतीभाको पहिचानमा समेत सहज हुने स्थानीयबासीको भनाई छ।