Monday, June 9, 2025
31 C
Beni
31 C
Beni
Monday, June 9, 2025
Home Blog Page 316

सडकमै चालकको स्वास्थ्य परीक्षण, चालकमा उच्च रक्तचाप धेरै

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा सञ्चालित ट्राफिक सप्ताह अन्तरगत चालक, सहचालक तथा यात्रुकोे स्वास्थ्य परीक्षण गरिएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा इलाका प्रहरी कार्यालय अन्तर्गत अस्थाई ट्राफिक कार्यालयको आयोजना र दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा मालिका-६ भूमेथानमा सवारी चालक र यात्रु गरी ५० जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य अवस्थालाई अन्य समयमा समेत सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, यो अभियान सप्ताहमा मात्रै सिमित गर्नुहुदैन’ अध्यक्ष गर्बुजाले भने । सडकमै स्वास्थ्य परीक्षणको क्रममा मास्क बितरण, लागूऔषध सम्बन्धि परामर्श, स्वाथ्य परामर्श, दुर्घटना न्यूनीकरण सम्बन्धि परामर्श, सवारी साधनको परिक्षण साथै सचेतनामुलक पम्प्लेट र स्टिकर बितरण गरिएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत हेअ एवम् सूचना अधिकारी यमन नेपालीले स्वास्थ्य परिक्षण गरेका थिए । उनका अनुसार परीक्षणको क्रममा एक चालकलाई धुलोको एलर्जी,८ जनामा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको थियो ।
लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने अभियान राम्रो भएको बेनी नगरपालिका–६का चालक श्याम किसानले बताए ।

चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण अभियान महत्वपूर्ण भएको उनले बताए। अभियानमा मालिका गाउँपालिका वडा नं.२ को वडा सदस्य प्रतीक्षा रसाइली, दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख डा.गायत्री पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा सवारीसाधनको अवस्थाका बारेमा समेत प्राविधिक सहित चेकजाँच गर्ने क्रममा तीनवटा सवारी साधनमा सामान्य समस्या देखिएकोमा तत्काल मर्मतका लागि पठाइएको र सवारीधनीलाई फोन गरेर जानकारी समेत दिइएको ट्राफिक प्रहरी दलबहादुर अखेलीले बताए ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरु सुधारोन्मुख देखिएका हुन् ।

राष्ट्र बैंकका अनुसार चैतमा वाार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव १४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२ दशमलव ६४, तरकारीको १६ दशमलव ९९, दाल तथा गेडागुडीको १० दशमलव ९४, खाद्य तथा खाद्यजन्य पदार्थको सात दशमलव ५९ प्रतिशत र गैर(मदिराजन्य पेय पदार्थको छ दशमलव ०६ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १० दशमलव १० प्रतिशतले घटेको छ ।

त्यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्यसूचकाङ्क १२ दशमलव ८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२ दशमलव ६१ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क शून्य दशमलव ३३ प्रतिशतले घटेको छ ।

गत चैत महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६, तराईको चार दशमलव ५८, पहाडको पाँच दशमलव ३३ प्रतिशत र हिमालको चार दशमलव ३२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चार सय २२ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ ।

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ ।

विसं २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४ दशमलव दुई प्रतिशतले वृद्धि भई गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । चालु आर्थिक वर्षको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यो अवधिमा सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड र राजस्व परिचालन सात खर्ब ४८ अर्ब ४ करोड रहेको छ । त्यसैगगरी, विस्तृत मुद्राप्रदाय सात दशमलव पाँच प्रतिशतले बढेको छ ।

चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात दशमलव दुई प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव पाँच प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव नौ प्रतिशत छ ।

तेस्रो त्रैमासिक अवधिसम्ममा आयात दुई दशमलव आठ, निर्यात तीन दशमलव सात र कुल वस्तु व्यापार घाटा दुई दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । रासस

खुम्लियाका युवाहरुले बनाए गाउँमै खेलमैदान,खेल्न अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दीको मंगला गाउँपालिका-२,खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यतालाई अन्त्य गदैं गाउँपालिका, चन्दा र सहयोगबाट रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन ।

खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने बाध्यताको अन्त्य गदैं स्थानीय खुम्लिया यूवा क्लवको अगुवाइमा गाउँपालिकाबाट ३ लाख २० हजार, स्वदेश तथा विदेशबाट साढे २ लाख चन्दा संकलन गरी गाउँमा रहेको देवी मन्दिर नजिकै खेलमैदान निर्माण गरिएको हो ।

खेलमैदान निर्माणसँगै यूवा क्लवले खेलकुद प्रतियोगिता तथा नियमित विहान, बेलुकी भलिबल खेल्न सहज भएको स्थानीय रितु घर्तीले बताइन् । ‘हामी खेल्नका लागि छिमेकी गाउँमा जानुपर्ने बाध्यता थियो, अहिले खेलमैदान बनेपछि खुसी छौ’ उनले भनिन् ५० मिटर लम्बाई र १७ मिटर चौडाईको खेलमैदानसँगै स्टेडिएम गरिएको छ ।

क्लवका उपाध्यक्ष तेजिन्द्र आचार्यले खेलमैदानका लागि गाउँपालिका बाहेक संकलन गरिएको आर्थिकले पहिलो चरणको काम सकिएको र थप खेलमैदानलाई ब्यवस्थित बनाउने र स्टेडियमलाई समेत आधुनिक बनाउने योजना रहेको बताए । ‘खुम्लियाका खेलप्रेमीको एउटा चाहना पूरा भएको छ, स्थानीयबासीको प्रयासमा खेलमैदान बनेको छ’ उपाध्यक्ष आचार्यले भने ।

खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज भएको छ । व्यवस्थित खेलमैदानको अभावमा खेलकुद गतिविधिहरु प्रभावित भएपछि बुढापाकाले समेत खेलमैदान बनाउने अभियानमा साथ दिएका थिए ।

‘हाम्रो खेल्ने उमेर त सकियो, अहिले गाउँका यूवाहरु खेलेको देख्दा आनन्द आउँछ’ स्थानीय भिमबहादुर किसानले भने । खेलमैदान निर्माणले स्थानीयबासीमा उत्साह थपिएको बताए। खेलमैदान वरीपरी अस्थायी घेराबार लगाइएको छ ।

सरकारी निकाय, स्वदेश तथा विदेशमा रहेका खुम्यिाबासीबाट थप सहयोग जुटाएर दर्शकहरु वस्नका लागि प्याराफिट, मैदानमा राती समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी बत्तिहरु जडान लगायतका योजनाहरू समेत बनाइएको क्लव अध्यक्ष मिलन गुरूङले बताए । खेलमैदान बनेसँगै गाउँमा रहेका खेल प्रतीभाको पहिचानमा समेत सहज हुने स्थानीयबासीको भनाई छ।

पुल बनेपछि दरबाङसँग सिधा यातायात सञ्जालमा जोडियो निस्कोट

म्याग्दीको मालिका गाउँपालिका १ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ। मालिका १ र मङ्गला गाउँपालिका ५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो।

छ्यारछ्यारेमा पुल निर्माण भएपछि निस्कोटको दरबाङसँग सिधा यातायात सम्पर्क स्थापित भएको मालिका १ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए। ‘१५ वर्षअघि सडकले जोडिए पनि निस्कोटमा बर्खामा यातायात सञ्चालन बन्द हुँदै आएको थियो’,  उनले भने, ‘छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ।’

पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदीप जुम्ली जेभीसँग २०७७ साउन ४ गते चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो।

उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस्ट’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इनिजनियर विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ।

हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्णरुपमा सवारी आवागमन बन्द हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मङ्गला ५ छिस्वाङका तिलक गौतमले बताए।

उनका अनुसार यो पुल निर्माण भएसँगै निस्कोटका साथै मङ्गला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाको रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारणसमेत लाभान्वित भएका छन्। निस्कोटबाट मङ्गलाको टिकवाङ–रुम–बागलुङ्को ताराखोला–खोप्टी–छिसवाङसम्म सडक सञ्जालले विस्तार भएको छ।

नासिएको चौतारी र बर-पिपल संरक्षणमा जुट्यो खुम्लिया यूवा क्लव

म्याग्दीको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन्। बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर-पिपल रोपण गरिने भएको हो ।

तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्धारा निर्मित चौतारी सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पिपल सुकेपछि चौतारी समेत जिर्ण भएको खुम्लिया यूवा क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए ।

‘चौतारीको पूरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे,अब सधै प्रयोग हुने गरी पुननिर्माण गछौं’ उपाध्यक्ष आचार्यले भने। धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्वन्धित वर–पिपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने र खानेपानीको धारा निर्माणका लागि समेत गाउँपालिका सहित अन्य संघसंस्थालाई समेत सहयोग मागिने छ ।

तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेको स्थानीय बुढापाकाको भनाई छ ।

चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोग तथा धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार समेत गर्ने योजना छ । चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी बनाउन आफ्नो तर्फबाट सहयोग हुने बताए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।

ट्राफिक सप्ताहको अवसरमा बेनीमा रक्तदान, २८ पिन्ट रगत संकलन

म्याग्दीमा ट्राफिक सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  शनिबार बेनि अस्पतालामा एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम आयोजना  गरिएको हो ।कार्यक्रमको  प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख सुरत केसीले  शुभारम्भ गर्नुभएको हो  । कार्यक्रम शुभारम्भ गर्दै नगरप्रमुख केसीले  प्रत्येक केही सेकेन्डमा कसैलाई रगत चाहिन्छ।

रगतको आवश्यकता सधैं रहिरहन्छ। रगत दान गर्नसक्ने प्रत्येक व्यक्तिले नियमित स्वेच्छिक रक्तदान गर्नुपर्छ, जसले गर्दा देशमा पर्याप्त रक्त आपूर्ति हुन्छ। सुरक्षा र स्वास्थ्यलाई सुनिश्चित गर्नका लागि रक्तदान महत्त्वपूर्ण रहेको बताउनुभयो   । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् नेपाल प्रहरी, ट्राफिक प्रहरी, पुर्वाधार विकास कार्यालय, म्याग्दी उद्योग बाणिज्य संघ  र २ जना आगन्तुक द्वारा २८ पिन्ट रगत संकलन गरिएको छ  ।

रक्तदान कार्यक्रम शुभारम्भ गर्नुअघि भएको औपचारिक कार्यक्रममा गैह्र सरकारी महासंघ नेपाल म्याग्दीका अध्यक्ष दिपक पौडेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम  जिल्ला प्रहरी  कार्यालय म्याग्दीका प्रहरी किरिक्षक अधोक कुमार झाको अध्यस्क्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायब निरीक्षक राज कुमार केसीको संचालनमा सम्पन्न भएको थियो ।

ट्राफिक सप्ताह–२०८१ वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाइदै छ । दिवसको अवसरमा जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि कार्यक्रम तय गरिएको छ । मंगलवार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकै साथ ट्राफिक सप्ताहलाई सुभारम्भ गरिएको थियो ।

निर्वाचनबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चुनिए 

म्याग्दीको रघुगंगा गाउँपालिका-३,मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा निर्वाचन प्रकृयाबाट विद्यार्थीहरुको क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुबिच सहमति नभएपछि निर्वाचन प्रकृया मार्फत चयन गरिएको हो ।

विद्यालयमा भएको मतदानबाट क्याप्टेनमा बल चुनाब चिन्हका गोपि दर्जीले ७८ मत मत र भाइस क्याप्टेनमा कलम चुनाब चिन्हका बिजन भण्डारीले ७५ मत प्राप्त गरेर बिजयी हुनुभएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक समेत रहनुभएका निर्वाचन अधिकृत अर्जुन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, क्याप्टेनमा कलम चुनाब चिन्हका अजिता भण्डारीले ३४ र भाइस क्याप्टेनमा बल चुनाब चिन्हका अप्सन शर्माले ४१ मत प्राप्त गरेका थिए भने क्याप्टेनमा ८ र भाइस क्याप्टेनतर्प ५ मत बदर भएको थियो । मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका १२६ जना विद्यार्थीहरुमध्ये १२१ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रकृया हुँदै मतदानबाट विद्यार्थीहरुबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको जनाएको छ ।

एक साता अघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समयसिमाभित्र क्याप्टेनमा ५ जना र भाइस क्याप्टेनमा ६ जनाले मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता पछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समयसिमा भित्र क्याप्टेनतर्फका ३ जना र भाइस क्याप्टेन तर्फकाट ४ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए ।

मतदान मार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रकृयामा विद्यार्थीहरुलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाईएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरुलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरुलाई चुनाब चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिईएको थियो।

प्रतिस्पधी विद्यार्थीहरुले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरुलाई मत समेत मागेका थिए । विहिवार दिउँसो २ बजदेखि मौन अवधि लागु गरेर प्रचार प्रसारमा रोक लगाईएको थियो । शुक्रवार विहान १० बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्वाधारण गरेर मतदान गराइएको थियो ।

निर्वाचनलाई सम्पन्न गराउन शिक्षकहरु सकुन्तला सुवेदीलाई निर्वाचन आयोगको प्रमुख, मिनबहादुर खत्रीलाई निर्वाचन आयुक्त, अर्जुन पौडेललाई निर्वाचत अधिकृत, सजनी मल्ललाई सहायक निर्वाचत अधिकृत, सुरेश थापा र दामोदर रिजाललाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको थियो । विद्यार्थीहरुलाई दुई छुट्टाछुट्टै कलरको मतपत्रमा क्याप्टेन र भाइस क्याटेन पदको चुनाब चिन्हमा मत संकेत गरेर मतदान गर्न लगाइएको थियो ।

मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरुलाई नै सुरक्षाकर्मीको समेत भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुले निर्वाचन परिवेक्षकको भूमिका निर्वाह गर्नुभएको विद्यालयका शिक्षक उर्मिला रेग्मीले बताउनुभयो । शुक्रवार दिनभर विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न भएको मतदानले संसदीय निर्वाचनको झल्को दिएको थियो ।

पाठ्याक्रममा नै विद्यार्थीहरुलाई निर्वाचन शिर्षकमा पठनपाठन गराउनुपर्ने र उनीहरुलाई निर्वाचनको व्यवहारिक शिक्षा दिन समेत संसदीय चुनावको सबै प्रकृयालाई अबलम्बन गरेर मतदान गराइएको शिक्षक अर्जुन पौडेलले जानकारी दिनुभयो ।

नवविर्नाचित क्याप्टेन दर्जी र भाइस क्याप्टेन भण्डारीले सबै कक्षाकोठामा फोहोर संकलन गर्ने कुचो, डस्बीनको व्यवस्थापन, शुद्ध खानेपानीको व्यवस्थापन र अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित गर्न विद्यालय प्रशासन र व्यवस्थापन समितिसंग आबश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

निर्वाचित क्याप्टेन भाइस क्याप्टेनलाई आइतवार विद्यालयले सपथ ग्रहण संगै निर्वाचित भएको प्रमाणपत्र समेत उपलब्ध गराउने जनाइएको छ । विद्यार्थीका समस्याहरुबारे ध्यानकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहजीकरण गर्न र विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरुमध्येबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको विद्यालयले जनाएको छ ।

उदयको ‘मेरो मन’ म्युजिक भिडियो रिलिज

गायक लोहनी को नयाँ गीत ‘मेरो मन’ रिलिज भएको छ। उनको पहिलो सांगीतिक कोसेलीले दर्शक,स्रोता र संगितप्रेमीको अत्यधिक मन जित्ने गायक लोहनी को दाबी छ। उनको उक्त गित बाल्यकालदेखिको मायालाई मिठो रुपमा संगीतमार्फत दर्शाएको छन्। प्रेमको गहिराइमा डुबेर लेखेको उक्त गीतको शब्द गायक लोहनीको आफै ले लेखेका हुन्।

गितको लिङ्क:

उक्त गितमा उदय लोहनी को स्वर रहेको छ । गितको म्युजिक  कन्सेप गायक उदय लोहनी ले नै गरेका छन् । म्युजिक भिडियोमा म्युजिक भिडियोमा उदय, सम्राट, साक्षी, गौरव र विनीताको अभिनय देख्न सक्नुहुनेछ भने म्युजिक भिडियोको निर्देशन उदय लोहनी ले नै गरेका छन्। प्रोड्युसरमा उत्तम लोहनी रहेको उक्त भिडियोमा क्रेटिभ प्रोड्युसर भने अर्जुन ढुङ्गाना रहेको छन्।

म्युजिक भिडियो उदय लोहनी को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।उक्त गितको लोहनी ले आफ्नै गाउँ सहरमा सुटिङ गरेका छन् । गितमा बाल्यकालको मायापिरती र जन्मभुमिप्रतिको यादगार दर्शाएको छ ।

 

सार्वजनिक स्थानमा बोल्न नसक्दा अवसरबाट बन्चित हुनुपरेको गुनासो

सार्वजनिक स्थानमा बोल्न नसक्दा ग्रामिण क्षेत्रमा अवसरबाट बन्चित हुनुपरेको म्याग्दीको मंगला गाउँपालिका–१,कुहुँमा आयोजित तीनदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । महिलालाई बोल्ने बानीको विकास गर्न मालिका सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबारदेखि आयोजित तालिम शनिबार सम्पन्न भएको हो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले समुदायमा पद अनुसारको जिम्मेबारी र विभिन्न सार्वजनिक कार्यक्रमहरुमा समेत भाषण गर्ने शैली राम्रो हुनेलाई अवसरको कुनै कमी नभएको बताउनुभएको थियो ।

व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी हुने वडा अध्यक्ष रोकाको भनाई थियो ।तालिममा सहभागीको तर्फबाट राकुमारी रोका र रिमा बानियाँले बोल्ने बानिको विकास नहुदाँ संघसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत बन्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढेको बताउनुभएको थियो ।

मंगला–१ कुहुँ, पूर्णगाउँ, थाईवाङ, पौयूपाँटा लगायतका बस्तीबाट ३० जना महिला तथा विद्यार्थीको सहभागिता रहेको तालिममा सिकाई केन्द्रकी अध्यक्ष गौमती रोकाले महिलालाई भाषण गर्ने शैली र नेतृत्व विकास अति आवश्यक रहेको बताउनुभयो ।

एकै ब्यक्तिले लामो समयसम्म नेतृत्व गर्ने अवस्थाको अन्त्यका लागि महिलाहरु समेत निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । तालिममा उद्घोषण, भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप, र भाषण कला, माइन्यूट लेखनका साथै सफल नेतृत्व कसरी हुने लगायत प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

तालिमको उद्घाटन सत्रमा अध्यक्षता रोका, सञ्चालन सहजकर्ता रमिला पाइजाले गर्नुभएको थियो। तालिमकोनेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा दरबाङमा सम्पन्न, विभिन्न विधामा सम्मान

नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

यस वर्ष पनि मानवतालाई जीवित राखौं भन्ने नारासहित मे ८ तारिखमा विश्व रेडक्रस दिवस मनाइएको बताउँदै प्रमुख अतिथी श्रेष्ठले संसारमा द्धन्द्ध,युद्ध र विपदले मानवता संकटमा परेको र यस अनिश्चित संसारमा रेडक्रस स्वयम्सेवकले प्रदान गर्ने निःस्वार्थ सेवा मार्फत मानवताको दियो जोगाइ राख्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर वानियाँले मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाले संगठन विस्तार,विपद् व्यवस्थापन,रक्तसञ्चार सेवा,एम्बुलेन्स सेवा,जुनियर तथा युवा रेडक्रस परिचालन,आर्थिक स्रोत परिचालन,सामुदायिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम लगाएतका परोपकारी तथा समुदायका आर्थिक विकाससँग समेत जोडिएका विभिन्न कार्यहरु गर्दै आएको बताउनुभयो ।

म्याग्दी रेडक्रसको यात्रा अनेक किसिमका सेवाहरुको इतिहासले भरिएको बताउँदै सभापति बानियाँले पीडित र असहायहरुको सेवा नै रेडक्रसको मुख्य उद्धेश्य हो भन्नुभयो ।

सोही अवसरमा म्याग्दी रेडक्रसको दरबाङ उपशाखाको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउनुहुने स्थानीय समाजसेवी शिवनारायण फगामीलाई विशेष सम्मान समेत गरिएको थियो ।

त्यस्तै उत्कृष्ट उपशाखा शिख उपशाखा,उत्कृष्ट सभापति टेकबहादुर रावल, रत्नेचौर, उत्कृष्ट सचिव सेते तिलिजा, शिख उपशाखा,विषेश पुरस्कार सिंगा उपशाखा, सहसचिव रमेश पौडेल,सदस्यता, महिला सदस्यता बृद्धि सिंगा उपशाखा, मानवीय सेवाको उत्कृष्ट उपशाखा पिप्ले, उत्कृष्ट साझेदारी परियोजना, आँखा उपचार केन्द्र दरबाङ उपशाखालाई सम्मान गरिएको थियो ।

जिल्ला सभापति अमर बानियाँको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको स्वागत उपसभापति काशिराम रेग्मी, दरबाङ उपशाखा सभापति भिमप्रसाद गौतम, महामन्त्री यामबहादुर चोखालले वार्षिक प्रगति तथा सञ्चालन, कोषाध्यक्ष नवराज पौडेलले आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।