Sunday, June 8, 2025
25.3 C
Beni
25.3 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 313

लुलाङको कहालीलाग्दो भीरमा हनी हन्टिङ

म्याग्दीको धवलागिरी गाउँपालिका-२,लुलाङ खोरिया मतलाभीरमा भीरमौरीको घार देख्न सकिन्छ। आङ सिरिङ्ग हुने हिमाल जस्तै अग्लो कहालीलाग्दो पहरामा ६० बर्षिय मोतिप्रसाद पाइजाको टोली ज्यानको बाजी राखेर भीरमौरीको महको सिकार गर्दै आएका छन्। तुर्लुंङ डोरी झुन्डिएर वर्षैपिच्छे मह सिकार गर्दै आएका युवाले पुख्र्यौली पेसा र परम्परा ठान्छन्। अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकारमा निस्किएको टोलीले दिनभरी भीरमै मह काट्दै विताउँछन् ।

सिजनमा हत्केलामा राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजीक पुगेर मह निकाल्ने मह शिकारीको दैनिकी जस्तै बनेको छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने भएकाले पूर्वतयारीमा समेत समय खर्चनुपर्छ। लुलाङका भीर पहरामा भीर माहुरी पाइन्छ। ठूलो भीरमा १ सयसम्म घार र सानोमा ४० घारसम्म निकाल्ने गरिएको छ ।

करिब ३५ बर्षदेखि भिरमहको शिकारमा ब्यस्त मोतिप्रसादले टोलीलाई म्याग्दीका विभिन्न ठाउँ र कास्कीमा समेत लगेर समेत मह काढ्ने गरेका छन् । मोतिप्रसादले लुलाङ बाहेक यसपटक मंगला गाउँपालिका–१ थाईवाङमा समेत पुगेर मह काढेका छन् ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्। ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरी खर्चिनुपर्ने मोतिप्रसादको भनाई छ ।

झण्डै ५ सयदेखि १५ सय मिटरको उचाईका पहरामा पुगेर मह निकाल्ने गरेको टोलीका सदस्य सकप्रसाद पुनले बताए । बजारमा महको प्रतिलिटर २५ सय रुपैयाँमा बिक्री हुुन्छ। गाउँमै आएर मह लैजाने गरेका छन् । मोतिप्रसादको टोलीले ठूलो भीरमा १५ र सानोमा ९ जनाको जनशक्ति ब्यवस्थापन गर्ने गरिएको छ ।

‘भिरमौरीसँगै धेरै वर्ष खेलियो,‘यूवापुस्ताले सघाइरहेका छन् मैले अझै पेशालाई निरन्तरता दिएको छु’ मोतिप्रसादले भने । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा बृद्ध अवस्थामा पनि मोतिप्रसादले डोरीको सहायताले पुग्ने गरेको दृष्य हेर्न लायकको हुन्छ । मोतिप्रसादको टोलीे सिजनमा भीरमह खोज्दै धेरै ठाउँमा पुग्ने गरेको छ ।

ठूलाठूला पहरा साथै खोलानालाको वरिपरि रहने भीर महबाट हुने आम्दानीले घरखर्च चलाउन सहज हुने टोलीका सदस्य सकबहादुर पुनको भनाई छ । भीरमौरीको महत्वबारे जानकार रहेकाले संरक्षणका लागि पुराना र अनुभवीहरुबाट जानकारी तथा संरक्षणका थप योजना बनाउने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

उनले धवलागिरीलाई ‘हनी हन्टिङ’ का लागि प्रख्यात ठाउँको रुपमा चिनाउन आवश्यक तयारी गरिने बताए । म्याग्दीमा लुलाङ बाहेक गूर्जा, कुइनेमंगले,चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्ले लगायतका स्थानमा भीर मह पाइन्छ। गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनबद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ।

हानिकारक सामाजिक मान्यताहरू न्यूनिकरणमा विद्यार्थीको सक्रियता आवश्यक

हानिकारक सामाजिक मान्यताहरू समाजका लागि चुनौती भएको भन्दै न्यूनिकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

म्याग्दी विकास युनेस्को केन्द्रको आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको सहयोगमा रघुगंगा गाउँपालिका-२,भगवतीस्थित मुक्तिथाम माविमा आयोजित सामाजिक कुरीति बिरुद्धको अभियान कार्यक्रममा समुदायमा हुने हरेक गलत क्रियाकलाप विरुद्ध विद्यार्थीको अग्रसरता आवश्यकता रहेको बताइएको थियो ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैङ्घिक, हिंसा, बाल विवाह, दाईजो प्रथा, जातिय भेदभाव, मानव बेचविखन तथा ओसारपोसार लगायतका हानिकारक अभ्यासहरुको न्युनिकरणका अभियानहरु प्रभावकारी भइरहेको र यसलाई समुदायस्तरमा निरन्तरताको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अभियान्ता मुक्ति ढुंगाना, दलित अभियान्ता याम किसान, म्याग्दी विकास युनेस्को केन्द्रका अध्यक्ष निर्मल खत्रीले सहजीकरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष अमृत भण्डारीले समाजमा सामाजिक विभेद र हानिकारक सामाजिक मान्यताहरुलाई विस्थापनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ टेकबहादुर केसी, सञ्चालन म्याग्दी विकास युनेस्को केन्द्रका हरिकृष्ण आचार्यले गरेका थिए । यसैबीच धवलागिरी गाउँपालिकाको वडा नं ३ मुना र वडा नं ४ मुदी समेत कार्यक्रम गरिएको थियो ।

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

‘…निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’, अदालतको फैसलामा भनिएको छ ।

ज्यानको बाजी लगाएर आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए ।“अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ”, उनले भने, “अत्यधिक माग हुने भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम आर्जन पनि गरेका छन् ।”केही दिनअघि मङ्गला गाउँपालिका–१ थाइवाङको भिरमा तीन सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका–२ खोरियाका मोतिप्रसाद पाइजाको १० जनाको टोलीले मङ्गलबार खोरियाको महभिरमा ३० लिटर मह उत्खनन गरेको छ ।

स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा आज पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताए ।

एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुण्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचाङ्गी पुनले बताए।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा प्रतिलिटर दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ ।

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण–५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताए ।

“गाउँका बासिन्दा, बजार र विदेशबाट मह किन्न ग्राहक जङ्गलमै आउँछन्”, उनले भने, “भिरमहलाई बजारको समस्या छैन ।” स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट छोडपुर्जी लिनुपर्छ ।

मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुण्ड्याउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ । त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रुख र ओढारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिएको धवलागिरि गाउँपालिका–२ खोरियाको महसिकारी मनबहादुर चोचाङ्गीले बताए । रासस

बेनीमा मादल बजाउने तालिम सुरु

म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले स्वस्थ रहन समेत सहयोग पु¥याउने उहाँको भनाई थियो ।

कला संस्कृतिको संरक्षण स्वरुप नगरपालिकाले संचालन गरेको परम्परागत लोकबाजा मादल बजाउने तालिममा सक्रियता पूर्वक सिप सिक्न सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख ज्योति लामिछानेले महिलाहरुलाई गाउँघरमा हुने रत्यौली, भजनकृतन लगायतमा मादल बजाउन सक्ने क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले महिलाहरुमा मादल बजाउन सिक्ने तिव्र इच्छा भएको र तालिम संचालनका लागि माग आएकाले नगरपालिका भित्रका महिला दिदीवहिनीहरुलाई लक्षित गरेर तालिम संचालन गरिएको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत अधिकृत सातौँ अर्जुन सुवेदी र संचालन महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसी, कार्यपालिका सदस्यहरु सृजना श्रेष्ठ र वविता सापकोटाको पनि उपस्थिति रहेको थियो ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समुह तथा महिलाले नेतृत्व गरेका संघ÷संस्थाहरुबाट गरि ६० जना सहभागी भएका छन । तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गर्नुभएको छ । सहभागीहरुलाई २० जनाका दरले तीन समुहमा विभाजन गरेर तालिम संचालन गरिने प्रशिक्षक पुनले बताउनुभयो ।

म्याग्दी क्याम्पसको प्रमुखमा श्रीधर सुवेदीको पदस्थापन

म्याग्दी जिल्लाकै पहिलो सामुदायिक क्याम्पस म्याग्दी बहुमुखी क्याम्पसको प्रमुखमा श्रीधर सुवेदीलाई चयन गरेर मंगलबार पदस्थापन गरिएको छ । क्याम्पस प्रमुख गोरखबहादुर जिसीको कार्यकाल सकिएपछि खुल्ला प्रतिस्पर्धाबाट चयन हुनुभएका सुवेदीलाई एक समारोहका बीच पदस्थापन गराइएको हो ।

पदस्थापनमा बोल्दै सुवेदीले आफ्नो तर्फबाट क्याम्पसलाई उच्च बिन्दुमा पु¥याउनका लागि प्रयास गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा मेरो पहिलो घर भनेकै म्याग्दी क्याम्पस भएकाले यसको हित बिपरीत कुनै पनि कार्य नगर्ने र हुन पनि नदिने उहाँले जनाउनु भयो ।

२०४८ सालमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पस जिल्लाकै शैक्षिक धरोहर भएकाले पनि यस संस्थाको उन्नती र संस्थाले पाएका उपलब्धीहरुको रक्षा गर्दै थप प्रगति तर्फ लैजानु पर्ने जिम्मेवारी हरेकको उहाँको भनाई थियो । संस्थाले दिएको जिम्मेवारी पुरा गरेर सबैलाई समेट्दै अगाडी बढ्ने योजना रहेको उहाँको तर्क थियो ।

पदस्थापनमा म्याग्दी क्याम्पसका संरक्षक हरिकुमार श्रेष्ठले बिगतको तुलनामा म्याग्दी बहुमुखी क्याम्पसमा धेरै फेरबदल आएको र सुधार भएकोले पद लिने तर समय नदिने व्यवहार कसैले पनि गर्न नहुने बताउनुभयो । उहाँले क्याम्पस प्रमुख चयनमा प्रतिस्पर्धात्मक तबरले भएको छ र यहाँ संधै जसो यस्तै बिधिबाट हुने भएकाले अहिले छनौटको समयमा पछाडी पारेकाले औंला उठाउने मौका नपाउने गरी कार्य सम्पादन गर्न आग्रह गर्नुभएको थियो । म्याग्दी क्याम्पस क्युएए प्राप्त गरेको शैक्षिक संस्था भएकोले त्यसलाई नबिकरण गर्ने जिम्मेवारी पनि नयाँ प्रमुखको भएकाले तदारुकता साथ उक्त जिम्मेवारी पुरा गर्नका लागि सबैलाई समेटेर अगाडी बढ्न सुझाब दिनुभएको थियो ।

म्याग्दी क्याम्पसका निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदीले क्वालिटि म्याग्दी क्याम्पसको मुख्य पाटो भएकोले अब आएका प्रमुखले पनि क्वालिटिलाई अझ राम्रो बनाउनु पर्ने तर्क गर्नुभयो । सञ्चालक समितिमा बायोडाटा बढाउन मात्रै हैन काम गर्न आउनु पर्छ–उहाँले भन्नुभयो । कतिपय साथीहरु क्याम्पस सञ्चालक समितिमा आफ्नो बायोडाटा बढाउन मात्रै आएको जस्तो पनि देखिन्छ त्यस्ता व्यक्तिहरु बाहिरै बस्दा क्याम्पसको हित हुन्छ ।

क्याम्पसका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले अहिले पछिल्लो समय विद्यार्थी संख्या कम हुँदै गएको अवस्थामा विद्यार्थी बढाउने र गुणस्तर पनि अझै मजबुत बनाउन तर्फ सोच्नु पर्ने तर्क गर्नुभयो । सबैले काम गर्छन् तर उत्कृष्ट को भन्ने सवाल हुन्छ त्यसैले प्रतिस्पर्धीहरु मध्ये सबै उत्कृष्ट नहुने भएकाले यसबारेमा पनि सोच्नु पर्छ । कुनै पनि मिटिङ भन्दा पहिला नै एजेन्डा तय हुनु पर्छ र मात्रै मिटिङमा मजबुत छलफल हुन्छ त्यसैले त्यसका बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाको अध्यक्षता, सञ्चालन नारायण सुवेदीको सञ्चालनमामा भएको पदस्थापन समारोहमा पब्लिक क्याम्पस प्रध्यापक संघका सभापति प्रेम जिसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकताः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।

मंगलबार अपराह्न संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन्।

राष्ट्रपति पौडेलले वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित समृद्ध नेपाल: सुखी नेपाली को राष्ट्रिय पूरा गर्न प्रतिबद्ध रहेको पनि जानकारी दिए।

उनले नेपाली जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको सुनाए।

राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताए।

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिएकी छन।

राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।

म्याग्दीमा सकियो ट्राफिक सप्ताह

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा आयोजित ट्राफिक सप्ताहमा करिब २५ हजार सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि सप्ताहव्यापी अभियानको सोमबार सडक सुरक्षा सम्बन्धि नागरिक संवाद गरी औपचारिक समापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सचेतना कार्यक्रम अन्तरगत विभिन्न गतिविधिबाट २४ हजार ९ सय ५५ जना सर्वसाधारणहरु लाभान्वित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले बताए ।

ट्राफिक सप्ताह अन्तरगत २ सय ३० वटा कार्यक्रममा सचेतना ¥याली, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, सडकका खाल्डाखुल्डी पुर्ने, सवारी चालक र सहचालकलाई प्रशिक्षण, सिट क्षमता अनुगमन, शैक्षिक संस्थामा विद्यार्थीहरुलाई ट्राफिक नियमको प्रशिक्षण, स्ट्रिकर टाँस्ने, रक्तदान लगायतको सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।

सप्ताहको अन्तिम दिन बेनीबजारस्थित बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा सडक दुर्घटन न्यूनिकरणको लागि ट्राफिक सप्ताहले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसीले सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटना निम्तिन सक्ने अवस्थालाई मध्यनजर गरी छाडा पशुचौपायाको ब्यवस्थापन गरिएको र अतिक्रमित सार्वजनिक स्थानबाट समेत संरचना हटाउने लगायतका कार्यहरूलाई प्राथमिकता दिएको बताए ।

‘दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै देखिएकाले यसलाई घटाउन सबैजना सचेत बन्नुपर्छ,दुर्घटनाको मुख्य कारण मानवीय लापरबाही नै देखिएकाले यसलाई घटाउन सबैजना सचेत बन्नुपर्छ’ मेयर केसीले भने ।

सोही अवसरमा प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता खेमराज पाठक, स्रेस्तेदार भोलाराज रेग्मी, जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद पोख्रेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सवारीसाधनका चालकले बजार क्षेत्रमा सडकमै खेल्ने, पदैलयात्रीका कारण हुने दुर्घटनामा समेत चालकलाई नै दोषी देखाउने, कुकुर नियन्त्रण नहुदाँ दुर्घटना बढेको लगायतका गुनासो गरिएको थियो ।

प्रकाश दुतराजको नयाँ गीत ‘करिम’ सार्वजनिक

मौलिक सिर्जनाहरूबाट स्रोता-दर्शकको मन जितिरहेका लोकप्रिय गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत ‘करिम’ सार्वजनिक भएको छ ।

नेपाली सांगितिक क्षेत्रमा एउटै स्वादका गीतबाट आजित भएका दर्शकश्रोतलाई नयाँ र फरक शैलीले गीत पस्किदै आएका गायक दुतराजले शोषण, दमन र चरम गरिबीको सामाना गदैं आएका बादी समुदायको कथाबस्तुमा केन्द्रित भएर ‘करिम’बोलको नयाँ गीत सोमबार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् ।

https://youtu.be/fUclawyqvks

नेपालमा बादी समुदायका चेलीहरूको कथामा आधारित गीतमा राजनीतिक परिवर्तन भएपनि बादी समुदायको दैनिकी उस्तै रहेको देखाउने प्रयास गरिएको गायक दुतराजको भनाई छ ।

https://youtu.be/fUclawyqvks

‘अहिले पनि यो समुदाय प्रयोग भइरहेको छ, परिवर्तनको अनुभुती गर्न पाएको छैन, नेपाली समाजमा दोस्रो दर्जाको नागरिक सरह बाँच्नु परेको छ’ दुतराजले बेनीअनलाइनसँग भने ।

बादी समुदायले बाध्यात्मक देहव्यापारमा लाग्नुपर्ने अवस्थालाई म्यूजिक भिडियोमा देखाइएको छ । यसभन्दा अगाडी रिमैको म्यूजिक भिडियोमा राउटेको कथा प्रस्तुत गरेका गायक दुतराजले यसपटक सुदुर पश्चिमकै बादी समुदायको कथा दुखदायीलाई म्यूजिक भिडियोमा देखाएका छन् ।

दैनिक के खाउँ र के लाउँ भन्ने पीडामा रुमल्लिएका अल्पसंख्यक बादी समुदायका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा लिएर आउने आशमा झुपडीमा बिताउनु परेको छ । गीतमा दुतराज र गायिका शान्तिश्रीको स्वर रहेको छ भने शब्द तथा संगीत पनि गायक स्वयंकै हो । अनिल के. मानन्धरको छायाँकन रहेको गीतमा नविन घर्ती मगरले निर्देशन गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनमा जन्मिएका साधारण र हसिलो स्वभावका गायक दुतराजका हरेक सांगितिक कोशेली बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ। ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, ‘रिमै’ गीत करोड क्लवका गीत हुन् । समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ ।