Tuesday, June 10, 2025
23.4 C
Beni
23.4 C
Beni
Tuesday, June 10, 2025
Home Blog Page 319

बेनीका निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने

बेनी नगरपालिका भित्र सञ्चालित संस्थागत (निजी) विद्यालयले जेहेन्दार, विपन्न, अपाङ्ग भएका विद्यार्थीलाई अनिवार्य १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भएको छ । बेनी नगरकार्यपालिकाको बैशाख १८ गते बसेको कार्यपालिकाको बैठकले नयाँ शैक्षिक सत्रबाटै कार्यान्वयन हुने गरी संस्थागत विद्यालयका सञ्चालक र प्रिन्सिपलसँगको छलफलबाट कुल विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिएको विवरण समेत नगरपालिकालाई उपलब्ध गराउनुपर्ने निर्णय भएको सामाजिक विकास समितिका संयोजक चक्र केसीले बताए ।

‘संस्थागत विद्यालयमा विपन्नले तोकिएको सुविधा पाउनुपर्ने बाध्यकारी नियम छ, कार्यान्वयनमा आलटाल गर्न पाइदैन’ बेनपा–९ का वडा अध्यक्ष समेत रहेका संयोजक केसीले भन्नुभयो । शिक्षा ऐन र नियमावलीले व्यवस्था गरेअनुरुपको छात्रवृत्ति वितरणका लागि संस्थागत विद्यालयलाई सिफारिस समेत गरिने छ ।

मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकले संस्थागत विद्यालयले अभिभावकाबाट बर्षभरी लिने शुल्कको पूर्व स्वीकृति नगरपालिकालबाट लिनुपर्ने, चर्को शुल्क भएमा नगरपालिकाले हस्तक्षेप गर्ने, शिक्षकहरुलाई नियुक्ती पत्र दिनुपर्ने, सबै शिक्षकलाई प्रचलित कानुन अनुसार तलब दिनुपर्ने, स्वीकृति विनाको पाठ्यक्रमहरु पठनपाठन गर्न नपाइने निर्णय भएको छ । बेनी नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयको अनुगमनलाई समेत तिब्रता दिएको छ ।

आज मातातिर्थ औँसी, आमाको सम्मानमा मनाइँदै

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी आज मातातिर्थ औँसी मनाइँदै छ।

आजको दिन आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको शास्त्रहरूमा उल्लेख गरिएको छ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । नागरिक

 

म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ट्राफिक प्रहरीलाई मास्क सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बेनीमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ हजार थान मास्क उपलब्ध गराइएको हो । रेडक्रसका शाखा सभापति अमर बानियाले जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीलाई मास्क हस्तान्तरण गरेका थिए।

स्थापना दिवसको अवसरमा बेनीमा प्रभातफेरी गरिएको थियो । रेडक्रसको भवनबाट शुरु भएको ¥याली बेनी बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकमा पुगेर समापन गरिएको थियो । शाखा सभापति बानियाले रेडक्रसले मानवीय सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा गर्दै आएको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाइन्छ । यस वर्षको विश्व रेडक्रस दिवसको नारा ‘मानवतालाई जीवित राखौँ’ भन्ने रहेको छ ।

अनिश्चित, ध्रुवीकृत, द्वन्द्व र विभेदको चपेटामा परेको संसारमा निःस्वार्थ सेवाभाव राखी मानवीय पीडा कम गर्न अहोरात्र खटिने स्वयंसेवकहरूले पु¥याउने सेवामार्फत मानवताको दियो जगाइराख्न आवश्यक छ’ भन्ने सन्देश दिन खोजेको छ । रेडक्रस अभियान विश्वको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको अन्तर्राष्ट्रिय परोपकारी संस्था हो ।

म्याग्दीको विकट खतेन गाउँमा बल्यो बिजुली

म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो ।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।“घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो”, उनले भने, “खतेनका छिमेकी बस्तीका करिब चार सय घरमा पनि मिटरबक्स वितरणको तयारी गरेका छौँ ।”

मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका चार सय घरमा विद्युतीकरणका लागि जडान गरिएको ‘ट्रान्सफर्मर’ र मुख्य लाइनको गत चैत अन्तिम साता परीक्षण गरिएको थियो । “मालिकाको वडा नं २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नं ३ को लुप्सीपार, पात्ले र ४ नं वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान र परीक्षण सफल भएको छ”, उनले भने, “विद्युत् प्राधिकरणले मिटर बक्स वितरण, हाउस वायरिङ गरेपछि चार सय घरधुरीमा केन्द्रीय लाइनको बिजुली बल्छ ।”

नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो । मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

विद्युतको कुनै स्रोत नभएको घ्याङलेपानीका बासिन्दा ‘सोलार’ बत्ती र टुकी प्रयोग गर्छन् । वर्षौँको प्रयासपछि बिजुली बाल्ने तयारी भएको मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । रुम गाउँमा चार वर्षअघि तार तानेर पोल गाडिएको थियो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रसारणको विद्युत् सुविधा विस्तार गर्न गत वर्ष रु २० करोड बजेट विनियोजन भएको थियो । यो योजनामार्फत म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् सेवा पुग्ने प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

एक वर्षभित्र विद्युतीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार ग्राहक छन् । गत आर्थिक वर्षमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए । रासस

म्याग्दीमा कानुन दिवस मनाइयो

न्यायालयको सेवालाई निष्पक्ष र भूमिकालाई तटस्थ बनाउन सकेमा नागरिकको विश्वास बढ्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । कानुन दिवस –२०८१ को अवसरमा बुधबार बेनीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम कानुन सबै नागरिकको पहुँचमा हुनुपर्ने बताइएको थियो ।

जिल्ला अदालत म्याग्दी र नेपाल बार एसोशियसनको म्याग्दी अदालत इकाईको आयोजनामा अदालत परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले न्यायालयको गरिमा र नागरिकको विश्वासलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए ।

जिल्ला न्यायाधिश प्रकाशप्रसाद पण्डितले कानुनको परिधीभित्र रहेर न्याय सम्पादन गर्नेसँगै नागरिकको संवैधानिक अधिकार स्थापित गर्न अदालतको योगदान रहेकोमा जोड दिए । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खेमराज पाठक, नेपाल बार एशोसियन म्याग्दीका अध्यक्ष सागरजिवी उपाध्यायले मन्तब्य राखेका थिए ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले गर्नुभएको थियो । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

४० मेगावाटको रघुगंगा हाइड्रोले घाटमा फोहोर फाल्दा…

नेपाल विद्युत प्राधिकरणको निर्माणधिन अवस्थामा रहेको रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाटले पवित्र कालीगण्डकी नदी किनारको घाटमा आवतजावत गर्ने स्थानमा संरचना र फोहोर फाल्दा मृत्युपछि दाहसंस्कारमा समस्या भएको छ । जलविद्युतको विद्युतगृह रहेको रघुगंगा गाउँपालिका–३, तिल्किनी उपल्लो आर्यघाट आसपासका क्षेत्रमा ढुङ्गा तथा माटो फाल्दा दाहसंस्कारका लागि आवतजावतमा समस्या भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

‘घाट जोगाउन पटक–पटक ताकेता गरिएको छ, अव सहमति अनुसार काम गर्ने प्रतिबद्धता आएको छ’अध्यक्ष भण्डारीले भने । उनले उक्त क्षेत्रका नागरिकको सदियौंदेखि दाहसंस्कार गर्ने घाट आसपासमा गरिएको फोहोर र अवरोध पन्छाउन ठेकेदारलाई अनुरोध गर्दा अटेर गरेपछि निरन्तरको दबाबपछि अहिले अवरोध पन्छाउन प्रतिबद्धता जनाएको बताए ।

केहीदिन अगाडी गाउँपालिकामा भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाका प्रतिनिधिले विद्युतगृह रहेको तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाई तथा चौडाई अनुसार प्रतिक्षालय निर्माण गर्ने र आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो आर्यघाट परिसरबाट खाली गर्ने लिखित प्रतिबद्धता जनाएको थियो । म्याग्दी र कालिगण्डकी नदीमा लुकीछिपी र अवैध रूपमा उत्खनन गर्दा दाहसंस्कार गर्ने घाट, बस्ती आसपासमा समेत असर गरेको छ ।

आजदेखि बेनी-बागलुङ सडक जेठ ४ गतेसम्म बन्द हुने

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडकको बागलुङ खण्ड १० दिन बन्द हुने भएको छ । बैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सहायक प्रजिअ चित्राङ्घत बरालद्धारा जारी सूचनामा डिभिजन सडक कार्यालय बागलुङले बागलुङ खण्डको पाङ्ग्रे खोलामा सडक विस्तार तथा मर्मतको कार्य भइरहेकाले सडक बन्द हुने जनाइएको छ। पाङ्ग्रे खोलाको घुम्ती र सडक मर्मत नहुदाँ दुर्घटना हुने गरेको छ ।

बन्द समयमा बैकल्पिक सडकको प्रयोग गर्न अनुरोध गरिएको छ । १४ किमि बेनी–बागलुङ सडक खण्डमध्ये नौ किलोमिटर सडक म्याग्दी र साढे चार किमि सडक बागलुङ जिल्लाभित्र पर्छ । बेनी–बागलुङ सडकखण्ड बन्द हुदाँ यातायातका साधन बेनी–मालढुंगा खण्डको प्रयोग गर्नुपर्ने छ ।

पात्लेखेतका महिलालाई नौमती बजाउने तालिम

म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१०पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा बजाउने तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले ग्रामिण क्षेत्रका महिलाको सक्रियतामा नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै आयआर्जनमा समेत सघाउने भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । ‘नौमती बाजा बजाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ, आमा समूहको अग्रसरतामा भएका कार्यक्रमहरु सफल र दिर्घकालिन समेत देखिएका छन्’ उपमेयर लामिछानले भन्नुभयो ।

गृहिणी महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा सघाउने उपमेयर लामिछानेको भनाई छ । गाउँमा विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा विदेश पलायन भएको अवस्थामा महिलालाई सीपसँगै आम्दानीको समेत अवसर रहेको सिद्धबराह आमा समुहकी सचिव गिता रोकाले बताउनुभयो । तालिममा बाजा बजाउने इच्छा भएका महिलालाई अवसर दिइएको छ ।

तालिमा सहभागी ३० जना महिलालाई स्थानीय देबीलाल नेपाली र श्याम नेपालीले एक महिनासम्म प्रशिक्षण दिनुहुने छ । तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मसबिर रोकाले आमा समुहसँग उपमेयर कार्यक्रममा दुई सेट नौमती बाजा खरिद, तालिम सञ्चालन लगायत महिला लक्षित गतिविधिका लागि ६ लाख, कुटानी पिसानी मेसिनका लागि ३ लाख बजेट विनियोजन भएको बताउनुभयो ।

तालिमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत वडा सदस्य जानकी शर्मा र सञ्चालन नगरपालिकाकी महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । म्याग्दीमा नौमति बाजाको तालिम लिएका महिलाहरूको सक्रियता प्रभावकारी देखिएको छ । पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

 

 

म्याग्दीमा ट्राफिक सप्ताह सुरू

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा ट्राफिक सप्ताह सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तरगत ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा स्थानीय तह, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो ।

सप्ताहको पहिलो दिन सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरी जिल्ला समन्वय समितिमा पुगेर अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले ट्राफिक सप्ताहको उद्घाटन गदैं सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको जिम्मेबारी रहेको बताउनुभयो ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्लाका स्थानीय तहका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन सचेतनामुलक अभियानहरु निरन्तर जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने बताउनुभयो।

म्याग्दीमा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै ग्रामिण क्षेत्रमा सडकको अवस्था,सवारी साधनको खराब र लाइन्सेन्स नभएका चालक, निजी सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने , भाडाका सवारीसाधनको नियमित मर्मतको अभाव, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेको छ। ट्राफिक सप्ताहमा सचेतनामुलक अभियान, सवारीचाकलको स्वास्थ्य परीक्षण देखि दुर्गम क्षेत्रमा समेत विभिन्न कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाश सपुत : गायकदेखि चलचित्र निर्देशकसम्म

गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् ।

निर्देशकका रूपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो ।

सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रूपमा उदाएका थिए ।

‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रूपमा देखिँदैछन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए ।

चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रूपमा अर्थाए ।

गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाउँथे। गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रूचाएका थिए ।

“अभिनेताका रूपमा ‘परदेशी २’लाई मैले परीक्षाका रूपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपुतले भने, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए ।

“चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ”, सपुतले भने, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।”

चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ ।

सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए ।

“मैले गायकका रूपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ”, उनले भने, “यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।”

कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ ।

चलचित्रमा ‘वसन्त’ पात्रका रूपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रूपमा अभिनेत्री स्वस्तिमा खड्का छन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए ।

“आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ”, उनले भने ।

चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पारेका हुन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् ।

सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् ।

मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौं ‘भ्यूज’ पाएका छन् ।

साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस