Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 440

‘मिनी रंगशाला’ बनाउने बजेट देउ !

भनिन्छ– नमच्चिने पिङको सय झड्का । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चलाई ‘मिनी रंगशाला’ बनाउने सपनाले यही नियत्ति झेल्नु परेको छ । अहिलेसम्म निर्वाचित जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिले अहिलेसम्म भाषणमा संरचनाको चासो देखाउँछन्, व्यवहारमा त्यस्तो पटक्कै देखिँदैन ।

‘मिनी रंगशाला’ बनाउने घोषण र अहिलेको बजेटको अवस्था हेर्दा खेलप्रेमीलाई झुक्याइरहेका छन् । सरकारी संघसंस्था र निजी क्षेत्रबाट आयोजना हुने हरेक कार्यक्रममा भाषणमा करोडौं बजेट भित्राउने सपना बाँडिरहेका छन् ।

मिनी रंगशालाको अवधारणा अनुसार नगरपालिकाले तयार गरेको डिपिआर अनुसारको बजेट माग गर्दा गएको ५ बर्ष यता गण्डकी र संघीय सरकारबाट बजेट विनियोजन भएको छैन्। भुक्ने कुकुरले टोक्दैन भनेजस्तै खुल्लामञ्चमा एकबर्षमै रंगशाला बनाउँछु भन्नेहरू अहिले अनेक बाहना बनाउन थालेका छन् ।

आर्थिक मन्दी, ग्रामिण क्षेत्रको खेलकुद मैदानमा बजेट विनियोजन जस्ता तर्क दिएर पन्छिएपनि निर्वाचित जनप्रतिनिधिको पहुँच नपुग्दा नेपाली उखान–आकाशको फल आँखा तरी मर भनेजस्तै म्याग्देलीलाई मिनी रंगशाला’ खेल खेल्ने र अवलोकन गर्ने यो उखान चरितार्थ भएको छ । खुल्लामञ्च बनाउन सुरू भएको २९ बर्षसम्म पनि गतिलो खेलमैदान नहुदाँको पीडा खेलाडी, खेलप्रेमी दर्शक र आयोजकलाई मात्रै चसक्क दुख्ने गरेको छ ।

पछिल्लो डेढदशक यता निर्वाचित सांसदले विनियोजन गर्ने बजेट ग्रामिण क्षेत्रका सामान्य खेलमैदानमा राजनीतिक प्रभाव हेरेर खन्याउने गरेपनि खुल्लामञ्चको पूर्वाधार विस्तारमा आँखा चिम्लिएका छन् ।अव्यवस्थित मैदानका कारण फुटबलका फुटबलमा ११–११ जनाको टिम हुनुपर्नेमा खेलमैदानको मापदण्ड नपुग्दा ९–९ जनाको टिममा प्रतियोगिता हुने गरेको छ ।

मिनी स्टेडियम बनाउने योजनामा खेलमैदानलाई फराकिलो बनाउने र प्याराफिट बनाउने पूर्वाधारको काम बजेट अभावका कारण गति लिन नसकेपछि बेनी नगरले २० लाख बजेट बिनियोजन गरेको छ । मिनी रंगशालाका लागि करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

कालीगण्डकी र म्याग्दी नदीमा पक्की पर्खाल र पुरानो भन्दा फराकिलो ११–११ जना फुटबल खेल्न मिल्ने मैदान बनाउन ९६ मिटर लम्बाई र ४५ मिटर चौडाई भएको मिनी स्टेडियम बनाउन अहिलेकै अवस्थामा बजेट विनियोजन भए अझै एकदशक लाग्ने देखिन्छ ।

खुलामञ्चको स्वरुप फेर्दै रंगशाला बनाउने गण्डकी प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भए करिब २ बर्षमै मिनी रंगशाला तयार हुन्छ । अहिले नगरपालिकाको कनिका छर्किएजस्तै विनियोजित बजेटबाट म्याग्दी नदी र कालीगण्डकी किनारतर्फ प्याराफिट बनाउने काम भइरहेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको संगमस्थलमा अवस्थित खेल मैदान विस्तारसँगै नदी किनारामा तटबन्ध उठाई ८ हजारभन्दा बढी दर्शक अट्ने ९०–९० मिटर लामो प्यारापिट राख्ने योजना छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट १ लाख रूपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो ।

खेलमैदान सुधारको अभियान सुरू भएको २९ बर्षसम्म पनि सदरमुकाम बेनीको एउटा खेलमैदान बनाउन म्याग्दीबाट निर्वाचित भएर गएका सांसदहरू असफल भएका छन् ।

सदरमुकाम बेनीबजारमा ‘मिनी रंगशाला’ बनाउने अभियान निर्वाचित संघीय र प्रदेश सांसदको सक्रियता अति आवश्यक छ । ठूला गफ गरेर मात्रै अव म्याग्दीका अधुरा योजनाहरूले पूर्णता पाउँदैन । खुल्लामञ्चको संरचनाको अवस्था र खेलप्रेमीको चाहना पूरा गर्न बेलैम जनप्रतिनिधिको चेत खुलोस् ।
बेनी साप्ताहिक समाचारपत्रबाट साभार

मुनामा दन्त शिविर, १८५ जना लाभान्वित

म्याग्दीको धवलागिरी गाउँपालिका-२ मुनामा रहेको धवलागिरी माविका विद्यार्थीहरुको दन्त उपचार र रगत समुह पहिचान गरिएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको आयोजनामा मंगलबार मुनामा कार्यक्रम भएको थियो । २५ जना बालबालिकाको दाँत उखेलिएको र १६० जनाको रगत समूह पहिचान गरिएको क्लवका अध्यक्ष प्रेम कडेल (सदन)ले बताउनुभयो ।

क्लवका पुर्व अध्यक्ष समेत रहनुभएका स्वास्थ्यकर्मी थमन गौतमको नेतृत्वमा रहेका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो। लायन्स क्लव अफ म्याग्दी दरवाङले विभिन्न सामाजिक गतिबिधि गर्दै आएको छ।

औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरुको जोड

चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो।

काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, फार्मेसी विभागका प्रा. डा. पन्ना थापाले मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भए बिरामीमा प्रयोगका लागि सिफारिस गरिने भएकाले बिरामीले पनि औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसार कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिइएको हो।

‘बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूको जोड छ। मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भएको अवस्थामा बिरामीलाई प्रयोग गर्न सिफारिस गर्ने गरिन्छ, धेरैजसो देशले औषधिका रूपमा प्रयोग गर्न पाउनु पर्छ भनेर पैरवी गरेका छन् तर हामीले २० वर्षभन्दा मुनिका लागि भने प्रयोगमा अनुमति दिनुहुँदैन’, उनले भने।

प्रा. डा. थापाले गाँजा विशेष किसिमको वनस्पति भएको र  नेपालमा अहिलेसम्म तीन प्रकारको गाँजा पाइने उल्लेख गर्दै चीनबाट सुरु भएको गाँजाको प्रयोग अहिले निद्रा नलाग्दा र एन्जाइटीमा प्रयोग गर्न सकिने धारणा व्यक्त गरे। उनले शक्तिशाली देशले गरिब देशलाई कमजोर बनाएर राख्ने रणनीतिअनुरूप औषधीय गुणलाई बेवास्ता गर्दै गाँजालाई बन्देज गरिएको उल्लेख गरे।

नेपालकै इतिहासमा पनि विसं १९७३ भन्दा अगाडि यसलाई औषधीयरूपमा प्रयोग गरेको पाइन्छ भन्दै डा. थापाले गाँजाको टुप्पोदेखि जरासम्म सबै उपयोगमा आउने र यसलाई राम्रोसँग नियमन गर्न सके आर्थिक उपार्जनको माध्यम बन्न सक्ने जानकारी गराए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले गाँजाको प्रयोगसम्बन्धी तीन सय वर्षको इतिहास भेटिने उल्लेख गर्दै गार्मेन्ट र टेक्सटाइलमा पनि कच्चा पदर्थका रूपमा प्रयोग गर्न सकिने देखिएको जानकारी दिए। ‘गुल्मीको कफीलाई जापानसँग लिङ्क गरेपछि सहज भएजस्तै गाँजालाई पनि औषधीय गुणसँग जोडेर अन्तर्राष्ट्रियकरण गरिनुपर्छ।

आयातित प्रवृत्तिले हाम्रा गर्विलो इतिहासलाई मेटाउँदै छौँ, विगतका शासन प्रणालीमा भएको कमजोरीले हाम्रो मौलिकतालाई गुमाउँदै छौंँ,’ डा. पौडेलले भने, ‘गाँजालाई धुम्रपान रूपमा प्रयोग गर्ने पद्धतिलाई मात्रै बन्देज गर्न सकेको भए हुन्थ्यो, अन्तर्राष्ट्रिय प्रभावका कारण औषधीयरूपमा पनि प्रयोग गर्न बन्देज गरेर हामीले सबै अवसरलाई गुमायौँ। बन्देज गर्नेगरी बनेका र भएका कानुनलाई १६औँ आवधिक योजनामा परिमार्जन गर्न पहल गर्नेछु।’

नास्टका उपकुलपति प्रा डा दिलीप सुब्बाले गाँजा उत्पादन, उपभोग, प्रशोधन र बजारीकरणको विषय पेचिलो बनेको र नीति निर्माण तहमा विवादास्पद विषय बनेको धारणा व्यक्त गरे। उनले सबै पक्षलाई केलाएर वैज्ञानिक, सामाजिक र मानवीय पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा जोड दिए। नीति र कानुन निर्माणमा ठोस सहयोग पुगोस् भन्ने धारणा व्यक्त गर्दै सरकारमा लाभदायक देखिने गरी प्रतिवेदन पेस गर्न सकिने अपेक्षा गरे।

गाँजासम्बन्धी नीति–नियमबारे चर्चा गर्दै बौद्धिक सम्पत्ति केन्द्र नेपालका कार्यकारी निर्देशक अधिवक्ता राजकुमार सुवालले मनीप्लान्टको सट्टामा घरको कोठाभित्र गाँजा रोप्न सक्यौँ भने हावामा कार्बनडाइअक्साइडलाई शुद्धीकरण गर्न सकिने  धारणा व्यक्त गरे। उनले कानुनी रूपमा बन्देज गरिएका देशमा मेडिकल क्षेत्रमा एक वर्षमा पनि चार सयभन्दा बढी बिरामीलाई गाँजा प्रयोगका लागि सिफारिस भएको पाइएको धारणा व्यक्त गरे।

गाँजासम्बन्धी भएका अनुसन्धान र हालसम्मको उपलब्धिबारे प्रस्तुतीकरण गर्दै नास्टका वैज्ञानिक डा. सजनलाल स्याउलाले कुन खालको गाँजा कुन उपचारमा उपयोगी हुन्छ भन्ने कुरा अनुसन्धान गर्न आवश्यक रहेको बताए।

कुन औषधिमा के प्रयोजनका लागि गाँजा प्रयोग हुन्छ भन्ने अनुसन्धान पनि आवश्यक भएको धारणा व्यक्त गर्दै उहाँले यसको प्रयोगलाई व्यवस्थित गर्न र दुरुपयोगलाई निरुत्साहित गर्न कसरी नियमन गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिएर नीति–निर्माण गर्नुपर्नेमा जोड दिए।

मुस्ताङका किसानलाई याक वितरण

नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो ।

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मङ्गलबार पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गरेका थिए ।

कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ मध्ये नौ मनाङका किसान समूह र समितिलाई दिइने जानकारी दिए । “एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौँरीपालक किसान, समूह र सहकारीलाई वितरण गरिएको हो”, उनले भने, “नश्ल सुधार भई चौँरीपालक किसानलाई लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए । गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।

यातायात सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गरिन्छ । चौँरीको दूध, घिउ र छुर्पी बिक्री हुन्छ । याक चौँरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ । मुस्ताङ र म्याग्दीमा साउन र चैतमा चौँरीको रगत पिउने मेला लाग्छ । धार्मिक कार्यमा प्रयोग हुने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ ।

मुस्ताङमा झण्डै चार हजार याकचौँरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले जनाएको छ । थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिकरूपमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी पालेका छन् ।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी आठ घरधुरीले करिब पाँच सय याकचौँरी पालेका छन् । बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौँरीको गोठ चिसो याममा बेँसी झारिएको छ ।

रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

भर्खरै सरकारले आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख गतिमा अगाडि बढेको दावी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेयता विकास र अर्थतन्त्रमा सुधार भएको बताएका छन्।

अहिले विशेषगरी मुलुकको शोधनान्तर स्थितिमा देखिएको बचत, विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धि, घट्दो मुद्रास्फीति तथा ब्याजदर, घट्दो व्यापार घाटा आदिका कारण अर्थतन्त्रका परिसूचकहरू अनुकूल देखिएका छन्। यसैकारण सरकारले अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेको हुन सक्छ।

तथापि, यी सुधारका पछाडि सरकारले अवलम्बन गरेका वर्तमान नीति तथा कार्यक्रमभन्दा पनि मुलुक भित्रने रेमिट्यान्स अर्थात् विप्रेषणको निरन्तर वृद्धि प्रमुख कारक तत्व रहेको अर्थविद्हरूको बुझाइ छ।

मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गरी आन्तरिक उत्पादन वृद्धि गर्ने उपायहरू खोज्नुको सट्टा सरकार रेमिट्यान्स आम्दानीमा रमाएको भन्दै आलोचनासमेत हुने गरेको छ।

मुलुकमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति जस्ता अर्थतन्त्रका बाह्य परिसूचकहरूमा सकारात्मक प्रभाव पर्नु स्वभाविक नै भयो। यसका साथै कतिपय आन्तरिक परिसूचकहरूमा समेत अप्रत्यक्ष प्रभाव परेको देखिन्छ।

बजारमा तरलता सहजता हुनु, घट्दो मुद्रास्फीति तथा ब्याजदरमा समेत यसको भूमिका देखिन्छ। निर्यात तथा आयातमा आएको संकुचनले घटेको व्यापार घाटाको अवस्थालाई कुनै उपलब्धि मान्न मिल्दैन। यता सरकार भने यसैलाई आफ्नो उपलब्धिका रूपमा व्यख्या गरिरहेको छ।

मुलुकमा अहिले औद्योगिक गतिविधिमा सुस्तपन, व्यापार व्यवसायमा गिरावट तथा लगानीमा आएको संकुचनले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन। व्यवसायीहरू पलायन भएका खबर बाहिर आउन थालेका छन्।

आन्तरिक उत्पादन तथा रोजगारीका अवसरहरूमा वृद्धि हुन सकेको छैन। दैनिकरूपमा मुलुकका श्रमशक्तिहरू विदेशिने क्रम बढ्दोरूपमा देखिन्छ।

यस्तै सरकारको आम्दानीले मुलुकको साधारण खर्चसमेत धान्न नसक्ने अवस्थाले वित्तीय असन्तुलन देखा परेको छ। यस्तो अवस्थामा अर्थतन्त्रमा देखिएको भनिएको सुधारलाई जुनकीरीको उज्यालोसँग तुलना गर्दा अत्युक्ति नहोला।

नेपालको श्रमबजारमा वार्षिक करिब पाँच लाख युवा कामको खोजीमा बजारमा प्रवेश गर्छन्। आन्तरिक बजारमा पर्याप्त रोजगारीको अवसर नहुँदा दैनिक सरदार दुई हजारभन्दा बढी सक्रिय जनशक्ति कामको खोजीमा विदेशिने गरेका छन्।

स्वदेशमै रोजगारीसँग सम्बन्धित नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाको संख्या दिन/प्रतिदिन बढ्दै गएको छ। मुलुकबाट युवाहरू विदेशिन थालेको धेरै समय भए पनि, सरकारले भने आर्थिक वर्ष २०६५/०६६ देखिमात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार डेढ दशकको अवधिमा करिब ८४.६६ खर्ब रूपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ भने यो अवधिमा वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर ५० लाखभन्दा बढी नेपाली विदेश गएका छन्।

पछिल्लो समय विदेशिने श्रमिकको संख्या बढेसँगै रेमिट्यान्सको आप्रवाहमा समेत वृद्धि हँुदै गएको छन्।

आ.व. २०७१/७२ मा ६ खर्ब १७ अर्ब रूपैयाँ बराबर रेमिट्यान्स भित्रिएकामा गत आ.व.२०७९/८० मा यो रकम दोब्बरभन्दा बढीले वृद्धि भई रु. १२ खर्ब २० अर्ब ५६ करोड पुगेको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ।

चालु आ.व.को पहिलो चार महिनामा रेमिट्यान्समार्फत चार खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ मुलुक भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २६.४ प्रतिशतले बढेको थियो।

करिब ५० खर्ब रूपैयाँ बराबरको आर्थिक संरचना र १७ खर्बको राष्ट्रिय बजेट भएको देशमा बर्सेनि १२ खर्बभन्दा बढी रेमिट्यान्स आप्रवाह हुनु सामान्य कुरा होइन। तथापि, भित्रिएको रेमिट्यान्स कहाँ र कसरी उपयोग भैरहेको छ भन्ने विषयले भने प्राथमिकता पाएको देखिँदैन।

रेमिट्यान्समा भएको वृद्धिसँगै विदेशी मुद्रा सञ्चितिले मुलुकमा वस्तु आयातमा समस्या नभएको भन्दै सरकार ढुक्क देखिन्छ। यसैगरी शोधनान्तर स्थितिमा आएको सुधारले अर्थतन्त्र जोखिमरहित भएको दाबी सरकारले गर्ने गरेको छ।

रेमिट्यान्सबाट प्राप्त आम्दानीको सदुपयोग गरी मुलुकको आन्तरिक उत्पादन कसरी बढाउन सकिन्छ भन्ने बहस अहिलेसम्म चलेको देखिँदैन।

एकातिर स्वदेशमा रोजगारी सिर्जना गर्न नसकिरहेको अवस्थामा युवाहरू विदेश गएकाले सरकार ठूलो जिम्मेवारीबाट मुक्त भएको महसुस गरेको छ भने अर्कोतर्फ कुनै कडा मेहनतविना महिनैपिच्छे खर्बौँ रूपैयाँ मुलुक भित्रिएकाले सरकारलाई हाइसन्चो भएको छ। तर, सरकारले के हेक्का राख्नुपर्छ भने रेमिट्यान्सलाई स्थायी आम्दानीको स्रोतका रूपमा लिन सकिँदैन।

मुलुकमा अहिलेकै गतिमा रेमिट्यान्स आप्रवाह सँधैभरि भैरहने कुनै प्रत्याभूति गर्न सकिँदैन। किनकि रेमिट्यान्स आम्दानी हाम्रो वसमा हुँदैन। यसको गतिलो उदाहरण सन् २०१९मा देखिएको कोभिड–१९ महामारी र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको प्रतिकूल असरलाई लिन सकिन्छ। उक्त समयमा रेमिट्यान्स आम्दानीमा आएको गिरावटले मुलुकको समग्र आर्थिक अवस्था नाजुक बन्न पुगेको थियो। यो घटनालाई सरकारले भुल्नुहुँदैन।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेको विवरणमा रोजगागारीका जाने नेपाली श्रमिकको संख्या बढ्दो दरमा रहे पनि सोअनुसार रेमिट्यान्सको दर बढ्न नसकेको बताएको छ। अहिलेको भन्दा करिब चार गुणा बढी रेमिट्यान्स नेपाल भित्रनुपर्ने उसको दाबी छ।

जिफन्टका अनुसार आ.व.२०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जना विदेशिएकामा नौ खर्ब ६१ अर्ब पाँच करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो।

आ.व.२०७९/०८० मा विदेशिने श्रमिकको संख्या बढेर सात लाख ७१ हजार ३२७ पुगेकाले त्यसै अनुपातमा रेमिट्यान्स भित्रिएको भए नेपालमा ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स भित्रिनुपर्ने देखिन्छ। तर सरकारसँग केवल १२ खर्ब २० अर्ब रेमिट्यान्स मात्र भित्रिएको तथ्यांक भएकाले करिब ३८ खर्ब रेमिट्यान्स हराएको जिफन्टको दाबी छ।

यसका पछाडि अवैध कारोबार, श्रम गन्तव्यमा आएको परिवर्तन, विदेशमै बसोबास जस्ता विभिन्न कारण भएको अनुमान लगाइए पनि मुलुकका लागि भने यो सुखद् खबर हुन सक्दैन।

युवालाई गाउँमै रोजगारी दिन ‘श्रम बैङ्क’

विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैङ्क’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मङ्गलबार आयोजित समारोहमा उक्त श्रम रोजगार बैङ्कको कार्य शुभारम्भ गरिएको हो ।

सांसद देवेन्द्र पौडेलको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले श्रम रोजगार बैङ्कमा आबद्ध ६७  सदस्यलाई शपथ ग्रहण गराएका थिए । युवालाई गाउँमै रोजगारी सिर्जना, स्थानीय सीप र श्रमको सदुपयोग, मानव संसाधनमार्फत गाउँपालिकाको समग्र विकासलागयत उद्देश्य राखेर श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको उनले बताए ।

रोजगार बैङ्कमा आबद्ध सदस्यलाई गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माणका आयोजना, निजी क्षेत्र, निर्माण व्यवसाय, कृषि, सहकारी र उद्यमका विकासका काममा लगाइने उनको भनाइ छ । “गाउँपालिकामा सञ्चालन हुने विकास योजना, ढुङ्गाखानी उत्खननलगायत स्थानीय उद्योगधन्दामा आवश्यक जनशक्ति आपूर्ति र रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई न्यूूनीकरण गर्न श्रम रोजगार बैङ्क सञ्चालनमा ल्याइएको हो,” अध्यक्ष बिकले भने “पहिलो चरणमा वडा तहबाट आवेदन सङ्कलन गरेर रोजगार बैङ्कमा ६७ जनालाई सूचीकृत गरेका छौँ ।”

स्थानीय दक्ष जनशक्ति परिचालन गरी विकास योजनालाई समयमै र गुुणस्तरीय रुपमा सम्पन्न गराउने, युवाको सीप र दक्षताको प्रयोगमार्फत सामाजिक रुपान्तरण, सामाजिक विकृति न्यूनीकरण, श्रमिकको सम्मान र सुरक्षा गर्ने बैङ्कको उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए ।

गाउँपालिकाले बजेट विनियोजन गरेका, सङ्घीय र प्रदेशका आयोजनामा श्रम बैङ्कमार्फत जनशक्ति आपूर्ति गरिने उनले उल्लेख गरे । गाउँपालिकाभित्र रहेका निर्माण व्यवसायी र सञ्चालकहरुलाई पनि रोजगार बैङ्कमा सूचीकृत गरिने जनाइएको छ।

चालु आर्थिक वर्षमा रु तीन करोड छ लाख बजेट बराबरको योजना श्रम बैङ्कमार्फत कार्यान्वयन गरिने गाउँपालिकाका प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए । “विकास निर्माणका अलावा सामाजिक गतिविधिमा पनि श्रम बैङ्कका जनशक्तिलाई परिचालन गर्छौं,” उनले भने, “श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि बनाएका छौँ, श्रमिकको सम्मान र श्रमको उचित ज्यालाको सुनिश्चितता गर्न गाउँपालिका प्रतिबद्ध छ ।”

गाउँपालिकाले ताराखोलामा रहेका सबै दुुई हजार दुई सय घरधुरीबाट एक–एकजनालाई बैङ्कमा आबद्ध गराउने लक्ष्य लिएको छ । कार्यविधिमा दैनिक आठ घण्टा काम गर्ने मजदुुरलाई गाउँपालिकाको योजनामा प्रतिघण्टा रु एक सय १०, प्रदेश, सङ्घीय योजना र निजी क्षेत्रका काममा प्रतिघण्टा रु एक सय १५ का दरले ज्याला उपलब्ध गराइने व्यवस्था छ ।

मासिक रु १७ हजार तीन सय ज्यालामध्ये ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने भएको छ । गाउँपालिकाले श्रमिकलाई काम दिन नसके वा श्रमिकको एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा कम दिएमा सामाजिक सुुरक्षा कोषमा गाउँपालिकाले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत जम्मा गर्ने व्यवस्था गरिएको छ ।

एक महिनाको ज्याला रु १० हजार आठ सय २० भन्दा बढी भएमा गाउँपालिकाले १० प्रतिशत र श्रमिकले २१ प्रतिशत बराबरको रकम जम्मा गर्नुुपर्नेछ । श्रम बैङ्कमा आबद्ध निर्माण व्यवसायीले सामाजिक सुुरक्षा कोषमा २६ प्रतिशत र गाउँपालिकाले ६ प्रतिशत जम्मा गर्नेछन् ।

श्रम बैङ्कमा आबद्ध श्रमिक र आश्रित परिवारलाई सामाजिक सुुरक्षा भत्ता, औषधि उपचार, मातृत्व सुुरक्षा योजना, बिरामी बिदा, दुर्घटना बीमा, किरिया खर्च, शैक्षिक छात्रवृत्तिलगायत सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । एकजना श्रमिकको सामाजिक सुरक्षाका लागि उनीहरुको १० प्रतिशत सहभागितासहित वार्षिक रु एक लाख १५ हजार १९ खर्च गरिने भएको छ ।

श्रम रोजगार बैङ्कमा आबद्ध सदस्यहरुका लागि कार्यस्थलमा मादक पदार्थ सेवन गर्न नपाउने, तोकिएको पोसाक र सामग्रीसहित गाउँपालिकाले लगाएको काम गर्नुपर्ने, काममा अनुपस्थित हुँदा व्यवस्थापकलाई जानकारी गराउनुपर्ने, सार्वजनिक रुपमा गाउँपालिकाविरुद्ध अभिव्यक्ति दिन नपाउनेलगायत आचारसंहिता बनाइएको गाउँपालिकाका अध्यक्ष बिकले बताए ।

श्रम रोजगार बैंकमा आबद्ध चन्द्रबहादुर रोकाले गाउँपालिकाले युवालाई लक्ष्य गरी रोजगारको कार्यक्रम ल्याएकामा खुशी व्यक्त गरे। केही दिनभित्रमा गाउँपालिकासँग सम्झौता गरेर सबै श्रमिक सदस्य कार्यस्थलमा खटिने उनको भनाइ छ । गाउँपालिकाका पाँचवटै वडाका युवा जनशक्ति श्रम रोजगार बैङ्कमा आबद्ध भएका छन् । युवाको आवेदन र वडा कार्यालयको सिफारिसका आधारमा गाउँ कार्यपालिकाले रोजगार बैङ्कमा आबद्ध हुने श्रमिकको छनौट गरेको थियो ।

१८ देखि ४० वर्ष उमेर समूहका युुवाका अतिरिक्त प्राविधिक सीपमा दखल राख्ने ६० वर्षसम्मका व्यक्तिहरुलाई समेत आवश्यकताका आधारमा श्रम रोजगार बैङ्कमा आबद्ध गरिने गाउँपालिकाले जनाएको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  पौडेलले श्रमिकको सम्मान र सुुरक्षाका लागि ताराखोला गाउँपालिकाले देशमै नमुना कार्यक्रम सुरु गरेको बताए । गाउँमै रोजगारी सिर्जनाका साथै गुुणस्तरीय पूूर्वाधार विकासमा श्रम रोजगार बैङ्क कोशेढुङ्गा बन्ने उनले विश्वास व्यक्त गरे ।

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा, केन्द्रिय सदस्य मधुमाया अधिकारी, बखानसिंह गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला संयोजक मनरुपा शर्माले माओवादी आन्दोलनको पृष्ठभूमि, उपलब्धी र योजनाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

माओवादी आन्दोलनको उपलब्धीका रुपमा रहेको संघीयता र गणतन्त्र सहितको संविधानको कार्यान्वयन गर्दै नागरिकको अवस्था सुधारका लागि शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दामा केन्द्रित हुुनपर्ने नेताहरुले बताउनुभयो ।

रुपान्तरण अभियानले माओवादीलाई कमजोरी सुधार गरेर थप सुदृढ र जनतामा आशा जगाउन सफल भएको नेताहरुले बताउनुभयो । माओवादीका युवा नेता तथा जलजला ९ का जननिर्वाचित वडा अध्यक्ष गौबहादुर पुन लगायत स्थानीय नेता कार्यकर्ताहरुको व्यवस्थापनमा बनौमा कार्यक्रम भएको हो ।

अभियानको क्रममा जलजलाको ९ वटै वडामा कार्यकर्ताको सदस्यता नविकरण, नयाँ सदस्यता विस्तार, जनभेटघाट, सुझाव संकलन र प्रशिक्षण दिइएको माओवादी केन्द्र जलजला कमिटिका अध्यक्ष तथा जलजला गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।

धेरै वर्षपछि माओवादीका नेताहरु गाउँगाउँमा पुग्दा नागरिकले जनताका मुद्दा र समस्या समाधानमा केन्द्रित हुदै कार्यशैली सुधार गर्न सुझाव दिएका छन् । प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका माओवादी केन्द्र जलजलाका सचिव सोम बहादुर जिसीले गर्नुभएको थियो ।

एथलेटिक्समा रिकजनाले जगाएको आशा

पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा मंगलबार सम्पन्न भएको चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा मंगला माविकी रिकजना बोटे (माझी)ले ४ स्वर्ण र एक रजत पदक जितिन् । आइतबारदेखि मंगला-५ पिपलबोटको खेलकुद मैदानमा सुरू भएको प्रतियोगितामा १५ सय मिटर दौडमा मंगला माविलाई पहिलो स्वर्ण पदक दिलाइन् ।

एथलेथिक्सको ३ हजार, १५ मिटर, त्रिपल जम्पमा स्वर्ण र ४ इन्टु १ सयमा स्वर्ण पदक जितेकी रिकजनाले समुहगत खेलमा उत्कृष्ट लयमै रहेपनि अन्य सहभागीका कारण एक रजत पदक जितिन् । म्याग्दी जिल्लामा विद्यालयस्तरीय एथलेटिक्समा आफ्नो सशक्त पहिचान बनाउन सफल भएकी रिकजनाले मंगला मावि र जिल्लास्तरीय प्रतियोगितामा कायम गरेको रेकर्ड अहिलेसम्म तोडिएको छैन ।

गतबर्षको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा चार स्वर्ण पदक दिलाएकी रिकजनाले पालिका र जिल्लास्तरीय मात्रै नभई प्रदेशस्तरीय खेलमा समेत ३ जम्पमा स्वर्ण र ४ सय इन्टु ४ रिलेतर्फ काँस्य पदक जित्दै गण्डकी प्रदेशबाट राष्ट्रिय खेलका लागि छनौट भएकी थिइन् ।

चरम अभाव र समस्यालाई जितेर उदीयमान खेलाडी बन्न सङ्घर्षशील रिकजनाले जितेको पदकले प्रतियोगिताको अंकतालिका नै फेरिन्छ । गतबर्ष मंगलामा सम्पन्न भएको प्रतियोगितामा ६ स्वर्ण जितेकी रिकजनाको एकल दौडको लय यसपटक सुधार देखिएको मंगला माविका प्रधानध्यापक गम खत्रीले भने ।

‘रिकजनाले एथलेटिक्समा नयाँ सम्भावनाको ढोका खोलेकी छिन्,‘यसपटक जिल्लामा हुने प्रतियोगितामा एथलेटिक्स क्षेत्रमा नयाँ तरङ्ग आउने छ‘ प्रअ खत्रीले भने । एथलेटिक्स विधामा अलराउन्ड रिकजना यसपटक पनि मंगला गाउँपालिकामा छात्रातर्फ सवोत्कृष्ट खेलाडीबाट सम्मानित भइन् ।विपन्न परिवारमा जन्मिएकी रिकजनालाई मंगला ५ पुलचोकमा भवानी बुढाथोकीले संरक्षण गरेकी छन् ।

रिकजनको खेल प्रतिभालाई अगाडी बढाउन धवलागरी गाउँपालिका वडा नं १ गुर्जा घर भई हाल अमेरिकामा बस्ने अम्मर छन्त्यालले बार्षिक २५ हजार सहयोग समेत घोषणा गरी पहिलो बर्षको सहयोग विद्यालयमै कार्यक्रम गरी बेनीअनलाइनमार्फत हस्तान्तरण गरेका छन् ।

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि समान्य अभ्यासबाटै एथलेटिक्समा खुड्किला उक्लिँदै गरेकी रिकजनाको खेल प्रतिभालाई गाउँपालिकाले समेत प्राथमिकता दिने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर चकित पार्ने गरेकी रिकजना सहित सम्भावना भएका खेलाडीलाई जिल्लास्तरीय र प्रदेशस्तरमा हुने खेलमा समेत प्रोत्साहन गरिने गाउँपालिकाले जनाएको छ ।यसैबीच मंगला माविकै मिलन थापाले चार स्वर्ण जिते ।

कक्षा १२ मा अध्ययनरत थापाले ४ सय मिटर, ४ इन्टु १ सय, २ सय मिटर र ४ इन्टु ४ सय मिटरमा स्वर्ण पदक जितेको मंगला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए ।उनले मंगलाबाट छनौट भएका रिकजना र मिलनले आगामी पुस २० र २१ गते हुने ९ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने बताए ।

लगातार तेस्रो पटक जित्यो मंगला माविले राष्ट्रपति रनिङ शिल्ड

म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ ।

मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो । ६ स्वर्ण,१२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा द्धितीय भएको छ । ३ स्वर्ण,८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा शारदा मावि २ स्वर्ण,१ रजत ३ काँस्य, शिशु कल्याण मावि २ स्वर्ण, २ काँस्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण,२ रजत, २ काँस्य पदक, भित्रुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ काँस्य, डनिङ बोर्डिङ २ रजत, ४ काँस्य पदक र किसानी आधारभुत विद्यालयले १ काँस्य पदक जितेको छ ।

बिजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद राृेका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा भलिबलतर्फ उत्कृष्ट छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धिमायाँ बुढाथोकी, कबड्ीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटे उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता अध्यक्ष रोका, स्वागत मन्तब्य वडा नं १ अध्यक्ष एकजित रोका, धन्यबाद मन्तब्य उपाध्यक्ष प्रेमकुमारी खत्री, वडा नं २ वडा अध्यक्ष धनबहादुर खाती क्षत्री र सञ्चालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

वार्षिक २० हजार बिरामी पुग्छन् तातोपानी

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्डमा डुबेर प्राकृतिक उपचार गराउन र नुहाउन विभिन्न ठाउँबाट वार्षिक २० हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।
प्राकृतिक चिकित्सालयको नामले परिचित यो कुण्डमा पुस पहिलो सातादेखि दैनिक पाँच सयभन्दा बढी बिरामीलगायत अन्यले डुबेर उपचार गराइरहेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।
अहिले दैनिक पाँचसय बिरामी, सर्वसाधारण तथा पर्यटकले पनि स्नान गर्दै आइरहेका छन् । तातोपानी रहेको मुख्य कुण्डमा नियमित चार सय बिरामीले र बाहिरको पोखरीमा एक सय सर्वसाधारण र पर्यटकले स्नान गर्ने गरेको उहाँको भनाइ थियो । सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देशविदेशमा चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि रोग निको भएको सम्बद्ध बिरामीले बताए ।
विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । विगत १३ वर्षदेखि ढाड र घुँडा दुख्ने समस्याबाट ग्रसित बागलुङ अमलाचौरका ६३ वर्षीय डण्डपाणि चापागाईंले विगत तीन वर्षदेखि हिउँदयाममा तातोपानीमा डुब्न आउने गरेको बताउनुभयो । “काठमाडौँ र पोखराका धेरै अस्पतालमा उपचार गराएँ तर निको भएन, तीन वर्षअघिदेखि तातोपानीमा आएर १०÷१२ दिन डुब्ने गरेको छु । पोहोर सालभन्दा अहिले दुखाइ कम भएको छ”, उहाँले भन्नुभयो ।
विगत तीन वर्षदेखि वर्र्र्षमा एकपटक कुण्डमा आएर डुब्ने गर्नुभएका डण्डपाणि तातोपानीमा डुबेर नै रोग निको हुनेमा विश्वस्त हुनुहुन्छ । यहाँ हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामी डुब्न आउने गरेका कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । कुण्डमा डुब्न तथा स्नान गर्नका लागि नेपालको अधिकांश जिल्लासहित छिमेकी देश भारत र तेस्रो मुलुक जापान, कोरिया, युरोपलगायत देशका नागरिक पनि भ्रमणका  क्रममा आएर नुहाउने गरेको उहाँको भनाइ थियो ।

जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा बिरेनुनको स्वादमा निस्कने तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याष्ट्रिक, बाथरोग, घाउखटिरा, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, नशा च्यापिएको, बज्रिएको सड्किएको, मर्किएकोसहित चिसोबाट उत्पन्न सबै प्रकारका रोग निको हुने जनविश्वास रहेको छ ।
पछिल्लो समय कुण्डमा बिरामीलाई लक्ष्य गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ । व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्था गरेको छ । तातोपानीको मुख्य पोखरीमा स्नान गर्न प्रतिव्यक्ति रु तीन सय ५० र बाहिरको पोखरीमा प्रतिव्यक्ति रु एक सयको टिकटको व्यवस्था गरिएको छ । रु तीन सय ५० को टिकट लिएका बिरामीले पालोअनुसार एक हप्तासम्म नुहाउन पाउँछन् भने बाहिरको पोखरीमा रु एक सयको टिकटले दुई घण्टा नुहाउन पाइन्छ । कुण्डको आम्दानी कुण्ड परिसरमा संरचना निर्माण, कर्मचारी व्यवस्थापन, स्थानीय सरस्वती माविका पाँच शिक्षकको तलबभत्तामा लगानी र बेनी नगरपालिकालाई २५ प्रतिशत दिने गरिएको छ । कुण्डमा नुहाउन शुक्रबार, शनिबार र बिदाका दिन भीड लाग्छ ।
कुण्डमा एकपटक आएर डुबेका बिरामी निको भएपछि पटकपटक आउने गरेका छन् । विसं २०४२ मा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीय बासिन्दाले संरक्षणसहित र कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो । नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पदयात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीका लागि हिजोआज यहाँका तातोपानी कुण्ड मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षकस्थल बन्दै गएका सचिव केसीले बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा १४ ओटा तातोपानीका कुण्ड रहेकामा सिङ्गा तातोपानी बिरामीको उपचारका लागि प्राकृतिक चिकित्सालयको नामले चिनिन्छ भने अरु ठाउँका तातोपानी पनि पर्यटक र स्थानीयवासीको थकान मेटाउने र चिसो भगाउने स्थलको रुपमा चिनिएका छन् । उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजालगायत तातोपानी कुण्डमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि तीनलाई व्यवस्थित बनाइएको छ ।उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्ड पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि मनोरञ्जनस्थल बनेको स्थानीयवासीले बताए ।
धेरै दिनसम्म हिमाली क्षेत्रको पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, छालाको एलर्जी र यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । कतिपय पर्यटक त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ ।  सिङ्गाको तातोपानीमा उपचारका लागि आउनेहरु यातायातका साधनबाटै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका सञ्चालन हुँदै आएको छ । बेनीदेखि नौ किलोमिटर पश्चिममा तातोपानी कुण्ड रहेको र त्यहाँ पुग्न बस, ट्याक्सी, जिप, अटोरिक्साजस्ता साधन पाइन्छन् ।