Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 441

क्लवले चार लाखको खर्चमा बनभोजस्थलमा संरचना

म्याग्दीको बेनी नगरपालिका-६ चुत्रेनीको द मनसुन युथ क्लवले बनभोज (पिक्निक) स्थललाई ब्यवस्थित गरेको छ । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रबाट सबैभन्दा धेरै पिक्निकका लागि जाने चुत्रेनीमा शैचालय, स्टेज, खानेपानी सहित अति आवश्यक संरचना बनाइएको क्लवका अध्यक्ष दिनेश बानियाँले बताए ।

उनका अनुसार सिजनमा विद्यालय, पारिवारिक, संघसंस्थाका बनभोजलाई सहज बनाउन क्लवले मेलापर्व तथा सहयोग जुटाएर ४ लाखभन्दा बढी खर्च गरी संरचना बनाएको बताए । थप संरचना बनाउन समेत क्लवले बेनी नगरपालिका सहित अन्य संघसंस्थासँग समेत सहयोगको अनुरोध गरेको छ । बनभोजस्थलमा एकैपटक धेरै समुहलाई समेत सहज हुने गरी पूर्वाधार बनाउन पहल भइरहेको क्लवले जनाएको छ ।

बनभोजस्थल नजिकै मैदान समेत रहेकाले खेलकुदजन्य गतिविधिका लागि समेत सहज हुन्छ । द मुन सन युथ क्लबले मेलाका साथै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय रहेको छ। मंसिरदेखि माघसम्म म्याग्दीमा बनभोजका लागि सार्वजनिक विदाका दिन घुईचो लाग्ने गर्दछ । बनभोजस्थलमा पुग्नेले समेत सहयोग गर्ने भएकाले संरचना बनाउन सहज हुने गरेको छ ।

 

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन्। सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ। एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिए।

‘राष्ट्रिय सडक सञ्जालमा जोडिएको, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको यो जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको हो’, उनले भने,’भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको छ।’

सन् २०२२ मा ६५ हजार नौ सय ४०, सन् २०२१ मा दुई हजार तीन सय र २०२० मा दुर्ई हजार तीन सय ४७ जना पर्यटक मुस्ताङ आएका थिए। कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वर्षिक ६० हजार जनासम्म पर्यटक आएका थिए।

सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार एक सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका र १८ हजार  एक सय ६६ जना तेस्रो मुलुकका छन्। दश हजार सात सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीले बताए।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ। गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यतटकलाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार  तोकिएको छ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ।

म्याग्दी हुँदै सडक र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गरेका छन्। मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन्। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको छ। समग्रमा मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढेको पाइए पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै जानु चुनौती रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए। रासस

मोना जापानको अपिल,‘भूकम्प प्रभावित क्षेत्रमा समस्या परे सम्पर्क गर्नुहोला’

जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट प्रभावित भएका म्याग्देलीलाई सम्पर्कमा आउन म्याग्दी प्रवासी नेपाली संघ मोनाले सार्वजनिक अपिल गरेको छ ।

भूकम्पका कारण यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको र घरहरु समेत भत्किएकाले सुरक्षित बस्न र समस्या भए सम्पर्क गर्न मोना जापानका अध्यक्ष विशाल केसीले अनुरोध गरे ।

‘अहिलेसम्म कुनै समस्यामा परेका म्याग्देली भेटिनुभएको छैन, भुकम्पपछिको अवस्था जोखिम नै हुन्छ, कुनै समस्या भए उद्धार र सहयोगका लागि टोली पुग्छ’ अध्यक्ष केसीले भने ।

उनले मोना जापानमार्फत महासचिव सागर कार्की, क्षत्रीय सचिव उज्जवल बानियाँको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । भुकम्प प्रभावित क्षेत्रमा म्याग्देलीको समेत बसोबास रहेकाले मोनामार्फत विभिन्न संघसंस्थासँग समेत समन्वय गरिएको छ।

 

अन्नपूर्णका माओवादी कार्यकर्तालाई प्रशिक्षण

नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।
‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक र वैचारिक प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य चन्द्रबहादुर बुढाले माओवादी जनयुद्ध, जनआन्दोलनको उपलब्धीका रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएकाले यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

नेपालमा संघीय व्यवस्था भएपछि दुर्गम र विकट क्षेत्रमा विकास गतिबिधि बढेको, महिला, दलित, जनजाती, पिछडिएका समुदाय, लिंगको राज्यका निकायमा उपस्थिति बढेको बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, सचिवालय सदस्य बिनोद केसी, बेनी नगर अध्यक्ष सेरबहादुर केसी, प्रदेश सदस्य रिमबहादुर कटुवाल र प्रदेश सांसद हरि भण्डारीले म्याग्दीको विकासका लागि माओवादीले गरेको पहलकदमीलाई निष्कर्षलाई जनताले साथ दिनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष थमबहादुर बिकको अध्यक्षता र सचिव श्याम खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादीका गाउँपालिका ईञ्चार्ज बागबिर पाईजाले अभियान र माओवादीका जनप्रतिनिधिहरुको कामबाट जनआकर्षण बढेको बताउनुभयो ।

अन्नपूर्णसँगै म्याग्दीका ६ वटै स्थानीय तहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । भदौ १६ गतेदेखि शुरु भएको माओवादीको अभियानका क्रममा कार्यकर्ता भेला, प्रशिक्षण, सदस्यता विस्तार, नविकरण, नागरिकसँग भेटघाट लगायतका कार्यक्रम भएको थियो ।

मालिकाको धुरीः ‘जसले पर्यटनलाई नयाँ उचाई दिने क्षमता राख्छ’

अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालपाको ।

त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । मालिका श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित छ । महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा उनको माला खसेको ठाउँमा मालिका स्थापना भएको हो । कालिका र जालिकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।

बाह्रैमास चिसो हावा चल्ने मालिकाधुरीे मालिका, रघुगंगा र मंगला गाउँपालिकाको सीमानामा अवस्थित छ । हिमालको काखैमा रहेको मन्दिरमा बर्षेनी हजारौं भक्तजनहरू मनोकामना पूरा हुने विश्वासका साथ पुग्ने गरेका छन्।

समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला त्यहाँ पुग्ने पर्यटकभन्दा होेँचा देखिन्छन् ।

मन्दिर आसपासका क्षेत्रबाट दृष्य अवलोकन गर्न आउने धार्मिक तथा पदयात्रामा पुग्ने पर्यटक हिमालभन्दा अग्ला देखिन्छन् । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रमा धमाधम पूर्वाधार विस्तार गरिरहेका छन ।

‘पूर्वाधार विस्तारमा प्राथमिकता दिएका छौ,‘सडक सञ्जाल र पदमार्ग सहित थप पूर्वाधार विस्तारका लागि समेत बजेट विनियोजन गरेका छौ’ मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भने ।

उनले मालिकाधुरीलाई धार्मिकस्थलसँगै अन्य समयमा पर्यटकलाई समेत आर्कषित गर्ने गरी बास बस्ने कोठा, नियमित खानेपानी र पूजाआजाका लागि नियमित पूजारी राख्ने योजना रहेको बताए । उनले धार्मिक बाहेक पदयात्रामा रमाउने पर्यटकलाई जंगल सफारी सहित रातको समयमा सुविधाका लागि निजी क्षेत्रसँग समेत सहकार्य गरी पूर्वाधार बनाउन पालिका तयार रहेको बताए ।

उनले थप संरचना सहित पर्यटकलाई आर्कषित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अगाडी बढ्ने बताए । मालिकाधुरीमा बैशाख, जेष्ठ र कात्तिक पूर्णिमामा पूजा गरिन्छ । भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर बर्षेनी १० हजारभन्दा बढी भक्तजन मन्दिरमा पुग्छन् ।

अघिल्लो दिन मन्दिरको तल बनाइएको सत्तलमा बसेर पूज गर्न जाने भक्तजनहरु प्राकृतिक रुपमा निर्मित पहाडका ओडार र खुल्ला आकाशमा समेत रात विताएर ८० वर्ष नाघेका बृद्धबृद्धादेखि दुधे बालक काखमा च्यापेर बोकेर समेत मानिसहरु पुग्ने गरेको मालिकाधुरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

‘धार्मिक पर्यटक सयौं आउनुहुन्छ, यहाँ अन्य सिजनमा पर्यटक ल्याउन सकेमा नमुना पर्यटकीय गन्तब्य बनाउन सकिन्छ’ अध्यक्ष पाइजाले भने ।कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वास रहेको छ । विगत लामो समय अगाडीदेखि पुजा गरिँदै आएको भएतापनि वि.स. २०२५ मात्रै मन्दिर बनाइएको थियो ।

पछिल्लो समय स्थानीय तह, गण्डकी प्रदेश सहित आफ्नो मनोकामना पूरा भएपछि भक्तजनले समेत भौतिक संरचना बनाउन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले प्राथमिकतामा राखेको क्षेत्र भएकाले बजेट विनियोजन सहित प्रचारप्रसारमा समेत सक्रिय रहेको बताए । उनले सडक, पदमार्ग सहित खानेपानी लगायतका पूर्वाधारमा पालिकाले बजेट विनियोजन गर्ने गरेको बताए । यता मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले हिँदी हुदै पदमार्ग बनाउने र सहज आवतजावतका लागि मंगलाभित्रका रुटहरुमा पूर्वाधार विस्तारको सोच रहेको बताए।

रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहँु, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै पनि मालिका पुग्न सकिन्छ । बेनी–कुहुँ– पूर्णगाउँ, बेनी–दरबाङ, दरबाङ–बिमको बिलबाङ र बेनी–झिँ–पाखापानीको ठाडाखानी हुदै सडक पुगेपनि सबै क्षेत्रबाट करिब ३ घण्टासम्म कठोर यात्रा गरेपछि मात्रै मालिका पुगिन्छ । मालिकालाई पर्यटकिय गन्तब्य बनाउनको लागि मालिका हुदै पश्चिम म्याग्दीको मुदीमा रहेको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल र गुरिल्ला पदमार्गलाई जोड्ने पदमार्गको परिकल्पना गरिएपनि काम भने भएको छैन ।

 

गोलो आकारको बराह ताल ओझेलमा

म्याग्दीको मालिका गाउँपालिका–७,बिमबाङ रहेको बराहा ताल प्रचार–प्रसार तथा पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ। समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिका धुरीको प्रवेशद्वार र प्रभु चेला ध्यान आश्रमको नजिक रहेको बराह ताल प्रचुर पर्यटकीय सम्भावना भए पनि प्रचारप्रसारको अभाव र ताल संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा प्रकृतिको अनुपम उपहारले पर्यटकलाई तान्न सकेको छैन्।

धौलागिरि हिमाल र नजिकै रहेको मन्दिरको प्रतिबिम्ब देखिने ताल अपार पर्यटकीय सम्भावनाले युक्त भए पनि थप पूर्वाधार सहित पर्यटकलाई तालसम्म ल्याउने योजना नहुँदा पर्यटकको ध्यान खिच्न नसकेको स्थानीय युवा एवम् प्रभु चेला ध्यान आश्रम व्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले बताए। ‘मालिकाधुरी पुग्ने पर्यटकलाई यहाँ रोक्ने थप पूर्वाधार आवश्यक छ,‘ एक पटक पुग्ने पर्यटकलाई तालको बनोटले समेत लोभ्याउँछ’ गर्बुजाले भने। उनका अनुसार तालको माथिल्लो पट्टी बराह थान छ।

उक्त थानको नजिकै रहेको पानीको मूलबाट तालमा पानी आउँछ।तालमा जम्मा भएको पानी स्थानीयले सिँचाइमा समेत प्रयोग गर्ने गरेका छन्। तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको उनले बताए।ताल आसपासका क्षेत्रबाट हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरुहरु देखिन्छ। ताल साढे तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि करिब दुई हजार ३०० मिटरको उचाइमा रहेको छ। तालको चारैतिर ढुङ्गाको आकर्षक पर्खाल निर्माण गरिएको छ। तालसम्म आवतजावत गर्न मिल्ने सडक समेत बनाइएपछि मालिकाधुरी र प्रभु चेला आश्रमसम्म आउने पर्यटकहरूको नजरमा ताल पर्ने गरेको त्यहाँ घुम्न गएका पत्रकार अमित विश्वकर्माले बताए।

उनले अहिले ओझेलमा परेको ताल नियमित मालिकाधुरी आउने पर्यटकको चाप बढेमा घुइँचो लाग्ने बताए। यस ठाउँमा वि.सं. १९२५ देखि पूजाआजा गर्ने परम्परा रहेको स्थानीयको भनाई छ। बराह ताललाई धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने प्रशस्त सम्भावना रहेकाले मालिकाधुरी, प्रभु चेला र ताललाई समेटेर पालिकाले पूर्वाधार सहित प्रचारप्रसार गर्ने गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए।

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु

म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ ।

तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरकी सञ्चालक गंगा थापा कार्कीले सहजिकरण गर्नुहुने जनाएको छ ।

“सिमित स्रोत र साधनका बावजुत सामाजिक र आर्थिक क्षेत्रका कार्यक्रमलाई पनि जोड दिएका छौ,” कार्यक्रममा उपप्रमुख लामिछानेले भन्नुभयो “तालिमको सदुपयोग गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुहुनेछ भन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।”

महिलाहरु स्वरोजगार र आत्मनिर्भर बनेपछि लैङ्गिक समानता र हिंसा न्युनीकरणमा सहयोग पुग्ने उपप्रमुख लामिछानेले बताउनुभयो । राज्यको लगानीको सदुपयोग र तालिमको उपयोग हुनुपर्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकामा ७ वटा सिकाई केन्द्र मार्फत क्षमता विकास र आयआर्जनमुलक कार्यक्रम सञ्चालन भएको छ ।

बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले टोल विकास संस्था, आमा समूहको सिफारिसमा सहभागी छनौट गरिएको बताउनुभयो । सिकाई केन्द्रको रु. एक लाख बजेटले तालिमलाई अपुग हुने भएपछि वडा मार्फत थप रु. दुई लाख बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

वडा सदस्य मिना कार्की र पवित्रा सार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन र ब्युटीपार्लर सम्बन्धी सेवा लिन बेनी पुग्नुपर्ने समस्या हटाउन स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न लागिएको बताउनुभयो । आधारभूत तहको तालिम लिएकाहरुलाई दोस्रो चरणमा एड्भान्स तहको तालिम दिने उहाँहरुले बताउनुभयो ।

शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत शर्माले गत वर्ष व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम दिएको र यसपाली महिलाहरुको माग अनुसार सौन्दर्यकला सम्बन्धी तालिम आयोजना गरेको बताउनुभयो ।

केन्द्रका सदस्य रामप्रसाद शर्माले प्रगति प्रतिवेदन पेश गर्दै साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम गरेको बताउनुभयो ।

केन्द्रका परिचालक सिता थापा कुँवरले सेवा क्षेत्र भित्र न्युन आय भएका महिलाहरुलाई विभिन्न आयआर्जन समूहमा आवद्ध गराई समुहलाई विउ पुँजी उपलब्ध गराएको र नियमित बैठक राख्ने गरिएको बताउनुभयो । सो कार्यक्रम देखि अतिथिहरुलाई मायाको चिनोका रुपमा स्थानीय उत्पादन उपहार दिन थालिएको छ ।

सोमबारको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख लामिछानेलाई सुन्तला उपहार दिएको र अन्य कार्यक्रमका अतिथिहरुलाई मौसम अनुसार फलफुल तथा कृषि उपज मायाको चिनो दिने वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।

लोकदिप सहकारी र दिगो क्लिनिक,कोर स्माइल डेण्टल बीच सम्झौता

बेनीमा संचालित लोकदीप बचत तथा ऋण  सहकारी संस्था सेयर सदस्यलाई लक्षित गरी दुई स्वास्थ्य संस्थासँग १५ प्रतिशत   विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौतामा हस्ताक्षर भएको छ। आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै सहकारीले पर्वत बेनीमा रहेको दिगो क्लिनिक र बेनी गणेशटोलमा अवस्थित कोर स्माइल डेण्टलसँग सम्झौता गरेको हो।

शनिबार सम्पन्न सहकारीको १० साधारणसभामा दिगो क्लिनिका सञ्चालक डा.गोविन्द पोख्रेल र सहकारीका निर्वतमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम र कोर स्माइल डेण्टलका सञ्चालक डा.मोचन श्रेष्ठसँग अध्यक्ष प्रमिला जोशी श्रेष्ठद्वारा हस्ताक्षर भएको उक्त सम्झौता लागू भएको छ ।

यो संगै सहकारीका सदस्यहरूले उक्त दुबै स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सबै प्रकारका सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘हामीले सेयर सदस्यको सुविधामा केन्द्रित छौ, समयअनुकुल मिलाएर शिविरमार्फत पनि सेवा दिन्छौ’ श्रेष्ठले भन्नुभयो ।

सम्झौतामा सेयर सदस्य तथा पारिवारका सदस्यहरूले विशेषज्ञ सेवा, फार्मेशी,ओपिडी, ल्याब, यूएजी, इसिजी लगायतका सेवा र दन्त सेवा अन्तरगत दाँतमा सिमेन्ट भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, टल्काउने, बच्चाको अस्थायी दाँतको जरादेखि उपचार गर्ने, हल्लिएको दाँतमा तार राख्ने, तलदेखि माथि पूरे सेट दाँत राख्ने, झिक्ने राख्ने दात लगाउने, खोल राख्ने,जरादेखि उपचार सेवाको लाभ लिन सक्ने प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो।

सहकारीले सदस्यलाई वितरण गरेको सदस्यता कार्ड लिएर सेवा लिन जान सक्ने प्रबन्धक सुबेदीको भनाई छ ।सहकारीका सदस्यद्धय डा. पोख्रेल र डा. श्रेष्ठले सहकारीका सेयर सदस्यलाई सेवा दिन आतुर रहेको बताउनुभयो । यूवाहरुको सक्रियतामा सञ्चालित सहकारीसंग जोगिएर काम गर्दा खुसी लागेको डा. पोख्रेलको भनाई छ । सहकारीले सेयर सदस्यसँग
भेटघाट, सुामाजिक एवम् मानवीय सेवा, विपन्नताका कारण समस्यामा परेका सेयर सदस्यलाई सहयोग तथा प्रोत्साहनको कार्य गर्ने जनाएको छ ।

 

नारी जागृति सहकारीको २४औं साधारणसभा

नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदरमुकाम बेनीमा २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  कुल ५ सय ६ जना शेयर सदस्य आबद्ध रहेको सहकारीमा गएको आर्थिक वर्ष २०७९÷०८० सम्म शेयर पुँजी ९४ लाख ७५ हजार नौसय रुपैयाँ रहेको छ ।

गत आवमा पाँचलाख ७९ हजार आठसय ७८ रुपैयाँ जगेडा कोष, एकलाख ७९ हजार नौसय १२ रुपैयाँ अन्य कोष, एक करोड २२ लाख ९९ हजार ४१ रुपैयाँ निक्षेप सङ्कलन र एक करोड ५९ लाख ५१ हजार छ सय २३ रुपैयाँ लगानी रहेको सहकारीले जनाएको छ ।

साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष चिना बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव दुर्गा केसीले प्रगति, कोषाध्यक्ष जमुना पुन पूर्जाले आर्थिक र लेखा समिति सदस्य कल्पना पौडेलले लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले सहकारी संघसंस्थाहरुले महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला दिदीबहिनीहरुलाई उद्यमको क्षेत्रमा जोड्न आवश्यक रहेको बताउँदै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरुले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी वृद्धि गरी रोजगारको सिर्जना गर्नुपर्ने र समुदायस्तरमा गरिबी निवारण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने उहाँको भनाइ छ ।

साधारणसभाको अवसरमा नारी बचततर्फ कौशिलादेवी जिसी, दैनिक बचतमा निर्मला श्रेष्ठ, सीता पूर्जा, मासिक बचततर्फ सपना खत्री, आवधिक बचतमा सन्तु पौडेल, लगानीतर्फ जमुना खत्री, ओमकुमारी रेग्मी र ओमकला बानियाँलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कांग्रेस म्याग्दीले मनायो ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । बेनी नगर समितिको आयोजनामा पार्टी कार्यालयमा सोमबार विविध कार्यक्रम गरी एकता दिवस मनाइएको हो । कार्यक्रममा बोल्ने बक्ताले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विचार र सिद्धान्त अनुसार नै पार्टी संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

राणा शासन, दोस्रो जनआन्दोलन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने देखि संविधानसभामार्फत नयाँ संविधान जारी गर्न कांग्रेसले नै नेतृत्व गरेको र अहिलेको अवस्थामा पनि कांग्रेसले नै देशको नेतृत्व गर्ने गरेको पूर्व सभापति एवम् संविधानसभाका सदस्य रेशमबहादुर बानियाँले बताए ।

त्यस्तै पार्टी सभापति एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्ला सम्मेलनमा गरिएको निर्णयको कार्यान्वयन तथा जनतामाझ पार्टीका गतिविधिहरु सञ्चालन गर्न सबैको सक्रियता आवश्यक रहेको बताए ।

कार्यक्रममा पार्टी उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी, पूर्व उपसभापति माधबप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो । नगर समितिका सभापति रबिन्द्र कार्कीको अध्यक्षता, प्रदेश क का सचिव सुजन बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।