Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 442

युएईमा पनि चम्किए सुजन चोखाल

बेनी नगरपालिका-९ घतान नेप्टेचौरका सुजन चोखाल यूएईमा सम्पन्न भएको प्रदेशी हातेमालो सहकारी संस्था यूएईले आयोजना गरेको भलिबल प्रतियोगिता उत्कृष्ट खेल देखाउँदै उपाधी जितेका छन् ।

पहिलोपटक देशबाहिर आयोजित भलिबल प्रतियोगितामा सहभागी हुन यूएई पुगेका चोखालले आयोजक प्रदेशी हातेमालो सहकारी संस्था यूएईबाट खेलेका थिए ।प्रतियोगिताको फाइनलमा तनहुँ सेवा समाजलाई सोझो सेटमा हराउँदै आयोजनकलाई नै उपाधी जिताएका थिए ।

२० टिमको सहभागिता रहेको प्रतियोगितामा चोखालले प्रदेशी हातेमालो सहकारीको टिमको कप्तानी गरेका थिए ।उनी प्रतियोगितामा उत्कृष्ट सेटर समेत भए । ५ खेलमा निकै उत्कृष्ट खेल देखाएका थिए ।

‘पहिलोपटक विदेशी भूमीमा खेल्ने अवसर पाए,‘यसपटक अनुभव पनि भयो, खेल पनि राम्रो देखाउन सफल भए’ चोखालले भने । उनले विदेशमा रहेका नेपालीको भलिबलप्रतिको चासो देखेर उत्साहित भएको बताए । चोखाल चम्किएपछि आयोजकले झण्डै ३ लाख २० हजार धनराशीको पुरस्कार समेत जितेको छ ।

राष्ट्रिय टोलीबाट विभिन्न खेलहरूमा सहभागी भइसकेका गण्डकी प्रदेशका सेटर चोखाल विभागीय टोली सहभागी भएका खेलहरूमा समेत हावी हुने खेलाडी हुन्। गाउँघरमा खेतबारी, साँधुरो मैदानमा खेल्दै भलिबल सिकेका चोखाल गाउँबाट जिल्ला, साविकको अञ्चल क्षेत्रीय हुदै राष्ट्रिय टोलीमा पुगेका चोखाललाई पछिल्लो समय ठूला धनराशीका खेलहरुमा समेत अफरै अफर आउने गरेको छ ।

काउलेगौंडा यूवा क्लव(केवाईसी) खेलाडी हुदै नेतृत्व गदैं मेलापर्वमा दर्जनौ खेलमा उपाधी जिताउन सफल भएका चोखालले पारिवारिक तथा आर्थिक समस्यासंगै संघर्ष गदैं मेलापर्वमै जितेको पुरस्कारले घरखर्चमा समेत सघाउने गरेका थिए। क्लवका खेलहरुमा सहभागी भएका चोखाल क्षत्रीय र राष्ट्रिय खेलमा खेल्ने गरेका थिए । जिल्ला भलिबल संघ म्याग्दीले पुरुषतर्फ चोखालले नै नेतृत्व गरी खेल्ने गरेका छन् ।

गणेश पोवीसरा स्मृति कोषको भलिबल प्रतियोगिता दिपशिखा र मंगला माविले जित्यो

गणेश पोवीसरा स्मृति कोषले आयोजना गरेको मंगला गाउँपालिका विद्यालयस्तरीय छात्र-छात्रा भलिबलमा मंगला मावि र दिपशिखा मावि विजय भएको छ ।

समाजसेवी स्वर्गीय गणेशबहादुर र पोविसरा रोकाको स्मृतिमा छोरा मुक्ति रोका र परिवारले दिपशिखा माविमा स्थापना गरेको कोषबाट आयोजित प्रतियोगितामा छात्रा तर्फ दीपशिखा मावि प्रथम, शिशुकल्याण मावि द्वितीय भएको छ भने छात्र भलिबल खेलमा मंगला मावि बाबियाचौर प्रथम र महेन्द्ररत्न मावि बरङ्जा द्वितीय भएको थियो ।

छात्रातर्फ ५ टिम र छात्रतर्फ ८ टिमको सहभागीता रहेको थियो ।बिजेतातर्फ छात्रामा क्रमश २० हजार, १५ हजार, छात्रतर्फ २५ हजार, १५ हजार नगद, मेडल, ट्रफी वितरण गरिएको दिपशिखा माविका प्रधानाध्यापक डा.नन्दबहादुर खत्रीले जानकारी दिनुभयो ।

विजेतालाई मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, गणेश पोवीसरा स्मृति कोषका उपाध्यक्ष रुकबहादुरराम्जाली, भेषमायाँ राम्जाली, विब्यस अध्यक्ष रिप्रसाद पुन लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । छात्रातर्फ ५ टिम र छात्रतर्फ ८ विद्यालयको सहभागिता रहेृको थियो । सोही अवसरमा कोषले गाउँपालिकाभित्र आधारभुत तह,सर्वोत्कृष्ट एसइई रउच्च माविका विद्यार्थीलाई नगदले सम्मान गरिएको छ ।

एसइ्रईमा गापा र दिपशिखा मावि प्रथम हुने जेनी रोकालाई १५ हजार, कक्षा ११ र १२ मा गाउँपालिका प्रथम अप्सरा पुन १० हजार, पालिकास्तरी कक्षा ८ का परीक्षा प्रथम हुने सायरी रोका ५ हजार, दलित समुदायतर्फ स्नेहा किसान ५ हजार नगदले सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले शैक्षिक र सामाजिक क्षेत्रमा स्वर्गीय रोका दम्पत्तीको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले खेलकदु र शिक्षाको क्षेत्रमा प्राप्त सहयोगले सहज भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य लगायत सामाजिक कार्यमा सक्रिय रहेको कोषका उपाध्यक्ष राम्जालीले भविस्यमा थप रचनात्मक कार्यहरु समेत गरिने बताउनुभयो । कुहुँ तुसारेपानी घरभई हाल अष्ट्रिलियामा बस्ने रोकाले स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापना गरेको कोषमार्फत खेलुकद सहितका शैक्षिक गतिविधिलाई थप सहज बनाउन कोष बृद्धि गरी १० लाख पु¥याएर जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरिएको छ ।

पोविसराले कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएपछि श्रीमान बि।स २०६३ सालमा तत्कालिन कुहूँ गाविसका सचिव गणेशबहादुर रोकाले दीपशिखा माविमा अध्ययन गर्ने बालबालिकाहरुलाई शैक्षिक पुरस्कार वितरण सुरु गर्नुभएको थियो । समाजसेवी रोकाको कोरोना संक्रमणको कारण निधन भएपछि कोषको नाम गणेशबहादुर र पोविसरा रोकाको स्मृति नामाकरण गरिएको थियो ।

यसैबीच दीपशिखा माविको ३०औं अभिभावक दिवस तथा ६२ औं वार्षिकोत्सब मनाएको छ । सोही अवसरमा मंगला गाउँ पालिका स्तरीय शिक्षक कर्मचारी मैत्री भलिबल खेलमा जम्मा १० टीम सहभागी भएकोमा शिशुकल्याण मावि, अर्मन प्रथम, विष्णु आधारभूत विद्यालय किमचौर द्वितीय , पुरुष अभिभावक मैत्री भलिबलमा ४ टीम सहभागी भएकोमा साविक कुहू गाविस वडा–३ प्रथम र वडा –४ द्वितीय, महिला अभिभावक मैत्री खेलमा पनि ४ टीम सहभागी भएकोमा माझथरका महिला अभिभावक प्रथम, दीपशिखा मावि महिला शिक्षक अभिभावक द्वितीय भएको थियो । मंगला गाउँपालिकामा रहेका विद्यालय, विद्यार्थी, शिक्षक बीच एकता गराई शैक्षिक उपलब्धि वृद्धि गर्ने भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रिप्रसाद पुन रबिनले बताए ।

तरुल खोज्न गएका युवाको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए।

अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए। घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले बताए। हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ। नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंंगला-५,पिपलबोट कैशालफाँट नवनिर्मित खेलमैदानमा आयोजित प्रतियोगिताको आइतवार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली (सुविन) ले उद्घाटन गर्नुभएको हो ।

पालिका भित्रका १ संस्थागत र ९ वटा सामुदायिक विद्यालय गरि १० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रमा आयोजित पार्चपासमा डर्निङ आवासीय मावि बाबियाचौरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

मंगलबार सम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा ३० वटा इभेन्ट संचालन हुनेछन। विभिन्न संघ, संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, वडा नम्वर १ का अध्यक्ष एकजित रोकाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

उद्घाटन लगत्तै भएको एथ्लेटिक्स विधाका खेलमा मंगला माविले ४ स्वर्ण,२ रजत र १ काँस्य सहित अग्रता लिएको छ । प्रतियोगितामा मंगलाकी रिकजना बोटेले दुई स्वर्ण जित्नुभएको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । 

रिलायबलको धौलागिरी एरियाबाट तीन जना एमडिआरटी हुन सफल

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरी एरियाबाट मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) २०२४ को लागि दिइएको लक्ष्य तीन जनाले प्राप्त गर्नुभएको छ । लक्ष्य प्राप्त गर्नु हुनेमा म्याग्दीकी कल्पना बरुवाल, बागलुङका यसिन रोका र जमुना श्रीस थापा रहनुभएको छ । उहाँहरुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दिएको प्रथम बिमा शुल्क ४२ लाख माथिको लक्ष्यलाइ हासिल गर्नुभएको धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

एमडिआरटी एचिभ गरेका बरुवाल र रोकालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाउनका साथै खादा ओडार सम्मान गरिएको थियो ।

जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा योग्य ठहरिने भएकाले डिसेम्बर अन्तिम सम्ममा भएको व्यवसायको आधारमा सन् २०२४ का लागि मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) का लागि धौलागिरी एरियाबाट तीन जना योग्य ठहरिएको घिमिरेले बताउनुभयो ।

धौलागिरी एरिया म्यानेजर घिमिरे भन्नुहुन्छ–‘मिलियन डलर राउण्ड टेबल वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था हो, यो संस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष मुलुक पिच्छेका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गर्ने र तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता हात पार्न सक्छन् ।’

सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः सदस्यता शुल्क भुक्तानी गर्नु पर्ने उहाँको भनाई छ ।

विमा अभिकर्ताहरुका लागि उनीहरुले ल्याउने प्रथम बिमा शुल्कको आधारमा एमडिआरटी अन्तर्गत तीन तहको योग्यता क्रम निर्धारण गरिने धौलागिरी एरियाबाट २०२४ का लागि एमडिआरटी हुन सफल यसिन रोकाको भनाई छ । उहाँका अनुसार पहिलो एमडिआरटी, दोश्रो सिओटी र तेश्रो टिओटी गरी तीनवटा तह निर्धारण गरिएको हुन्छ ।

एमडिआरटी एचिभ गरेका बरुवाल र रोकालाई बेनीमा सम्मान सहित केक काटेर खुशीयाली मनाइदै ।

क्यानडाको भ्यानकुभरमा आगामी २०२४ को जुन महिनामा आयोजना गर्न लागिएको एमडिआरटी विश्व सम्मेलनमा सहभागिता लागि पनि एमडिआरटी हुनु आवश्यक रहने एरिया म्यानेजर घिमिरेले बताउनुभयो । उहाँका अनुसार एमडिआरटीले ९९५ अमेरिकी डलर, सिओटीले एक हजार ९५ अमेरिकी डलर र टिओटीले लागि एक हजार एक सय ९५ अमेरिकी डलर दर्ता शुल्कवापत भुक्तानी गर्नुपर्ने हुन्छ ।

क्यानडा पुगेपछि विमा सम्बन्धी र व्यवसाय सम्बन्धमा धेरै कुराहरु सिक्ने मौका पनि मिल्ने हुँदा एमडिआरटी भए पछि उक्त कार्यका लागि सबैले आफ्नो तबरले अग्रसरता देखाउछन् ।

आफ्नै खर्चमा विदेश भ्रमणको अवसरसँगै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको अवसर एमडिआरटीको आकर्षक पक्ष हुने भएकाले पनि आफूले ब्यवसाय गरेर यस्ता फोरममा पुग्न नेपालीहरुका लागि निकै राम्रो कार्य भएको घिमिरेले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–‘एमडिआरटी हुने कार्यले अभिकर्ताहरुलाई अन्तर्राष्ट्रियरुपमा सम्बन्ध स्थापित गर्न सघाउनुका साथै सफल वित्तीय सल्लाहकारहरुको अनुभव सुन्ने अवसर पनि दिलाउँछ ।’आइतबार एमडिआरटी एचिभ गरेको खुशीयालीमा कल्पना बरुवाल र सयिन रोकालाइ सम्मान गर्दै बेनी शाखाले केक काटेर खुशीयाली मनाएको थियो ।

 

महिला उद्यम विकास समितिको सभापतिमा अम्विका श्रेष्ठ

महिला उद्यम विकास समिति म्याग्दीको दशौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट सभापतिमा अम्बीका श्रेष्ठलाई सर्वसम्मतिले चयन गरिएको छ ।

आइतबार उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा आयोजित अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बिष्णु गुरुङ, प्रथम उपाध्यक्ष सृजना भट्टचन, द्धितिय उपाध्यक्ष दिलमायाँ घताने, महासचिव प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्ष गिता शर्मा रिजाल, सचिव कमला सुबेदी, सहकोषाध्यक्ष राधिका सापकोटा, सहसचिव गोमा भट्टराई शर्मालाई चयन गरिएको छ ।अधिवेशनबाट सदस्यहरूमा चमन श्रेष्ठ, गंगाकुमारी खत्री, संगीता श्रेष्ठ ‐रोयल), तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रेजिता बराल र निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारी कार्की, आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारीका थापा मगर,अम्बिका ढुंगाना, मिना कुमारी मल्ल, अस्मी महतलाई चयन गरिएको महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।

अधिवेशनको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै नगर उपप्रमुख लामिछानेले महिलाहरु सिप विकास र उद्यमशिलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अधिवेशनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले महिलाहरुलाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सुदर्शन कुमार श्रेष्ठ, कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनपा वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।

अधिवेशनको अवसरमा उद्यमी सम्मान अन्तर्गत एसएस टेलरिङका संचालक सुकमाया रत्न र सुनिता टेलरका संचालक सुनमाया किसानलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा समितिद्वारा पौष १ गतेबाट संचालन गरिएको १५ दिने केश श्रृङ्गार तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । प्रशिक्षक पिस साइन व्युटि होम बेनीका संचालिका प्रमिला जोशी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता र कार्यवाहक महासचिव प्रमिला जोशी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनले अम्विका श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।
  

म्याग्दीबासीको निम्ति ‘संघीयता वरदान सावित भइरहेको छ: मन्त्री जुग्जाली

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ ।

म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको कैलाशफाँटमा आइतबार देखि शुरु भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडी परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताउनुभयो ।

“संघीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुवा–आमा, हजुरबुवा–हजुरआमाहरुलाई सोध्नुहुन अनुरोध छ,” उहाँले भन्नुभयो “काठमाडौ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा संघीयता वरदान हो ।”

गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उहाँले जानकारी दिनुभयो । हाल पाँच जना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका ९ वटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर संघीयताको बिरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाई थियो ।

“यो व्यवस्थामा जनताले आफुलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिको रुपमा चुन्ने अधिकार छ । मन नपरे बिरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,” उहाँले भन्नुभयो “हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउदै गएको बिर्सनु भएन् ।”

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

म्याग्दीको पूर्वाधार लगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गर्नुभयो ।

मंगला गाउँपालकाका अध्यक्ष सतप्रसाद रोका र वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपियाँ, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः  ३० हजार र २० हजार रुपियाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उहाँले जानकारी दिनुभयो ।

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन निर्माण भएको हो ।

विद्यालयको ६५ औ वार्षिकोत्सवको अवसरमा शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले भवनको उद्घाटन गर्नुभयो ।  कक्षा ८ सम्म पढाई हुने विद्यालयमा १०७ जना विद्यार्थी छन् ।मन्त्री जुग्जालीले जनयुद्ध, जनआन्दोलन गरेर नेपालमा संघीय गणतन्त्र स्थापना गर्नुको उद्देश्य र अहिलेको व्यवस्था ल्याउनमा भएको संघर्षको बारेमा शिक्षा दिन आवश्यक रहेको बताउनुभयो ।

“हिजो पञ्चायत, राजतन्त्र र राणा शासनमा हालीमुहाली गरेकाहरुले नियोजित रुपमा गणतन्त्र र संघीयताको बिरोध गरेका छन् । २०६२÷०६ पछि जन्मिएका युवा पुस्ताले नबुझेर अहिले भन्दा पहिलेकै व्यवस्था ठिक भनिरहेका छन,” उहाँले भन्नुभयो “राजा, राणा र पञ्चायतकालमा के कस्तो दुख, कष्ट र पिडा थियो भन्ने जानकारी गराउन आवश्यक देखिएको छ।”

पिछडिएको भूगोलमा विकासका लागि संघीयता वरदान सावित भएको बताउदै मन्त्री जुग्जालीले विगतमा देशको नेतृत्व गरेकाहरुले सहि हिसाबले काम नगर्दा व्यवस्थाप्रति नागरिकले गाली गरेका बताउनुभयो ।

मन्त्री जुग्जालीले बरंजामा सडक, मोटरेबल पुल, विद्यालय भवन लगायत रु. १७ करोड बजेट बराबरका योजना भित्रिएको जानकारी गराउनुभयो । गाउँमा भित्रिएका योजनालाई कसले जस पाउँछ भन्दा पनि सबैको नागरिकको सुविधाका लागि भएको बुझ्न अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रअ चित्रबहादुर रोकाले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रअ रोकाले १–३ तहमा अंग्रेजी माध्यमबाट पढाउने, सिकाई उपलब्धी बढाउने र पक्कि भवन निर्माण गर्ने योजना प्रस्तुत गर्नुभयो ।

मंगला–३ का वडा अध्यक्ष याम रोका, वडा नम्बर ४ का अध्यक्ष लालबहादुर रोका, शिक्षक अभिभावक संघका अध्यक्ष हरिमाया बिक, विद्यालय व्यवस्थापन समितिका सदस्य भक्तबहादुर रोका, सदस्य तेजिमाया बिक, धुलेमेला संरषण समितिका सदस्य तथा अभिभावक बिशाल रोका लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

म्याग्दी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना  गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा मजदुर परिचालन गरी खेतमा खाडल खन्ने र सुन्तला लगाएको बताइन् ।

सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ । ‘‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ”, हुमेनले भनिन् ।

अहिले सबै परिवारको मुख्य आम्दानीको स्रोत सुन्तलाखेती रहेको उनको भनाइ छ । कान्छो छोरासँगै बसोबास गर्दै आएकी हुमेन र उनका दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सय बढी बोट रहेका छन् ।

हरेक वर्ष रु आठदेखि १० लाखसम्म सुन्तला बिक्री हुने गरेको हुमेन परिवारको भनाइ छ । ‘‘खेतमा धान राम्रो फल्ने थिएन, एक नातेदारले  सुन्तला लगाउन सल्लाह दिएका थिए, उनले पनि खेतबारीमा सुन्तलाखेती लगाएको देखेर, मैले पनि लगाएको हुँ, पछि गाउँभर नै सुन्तलाखेती विस्तार भयो, अहिले हाम्रो गाउँ बास्कुनाबाट सुनकुना भएको छ भन्दा हुन्छ’’–उनले थपिन् । यहाँ रहेका बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् ।

हरेक घरमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । दुई वर्षअघि बालमखोला सिँचाई आयोजना निर्माण भएपछि सिँचाइ सुविधा पुगेर सुन्तलाखेती थप फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । यहाँ उत्पादन भएको सुन्तला बगैँचाबाटै बिक्री हुने गरेको छ । पोखरा र काठमाडौँको व्यवसायी यहाँका सुन्तला बगँैचामै पुगेर खरिद गर्छन् ।

सुन्तला फल्न थालेको सुरुवाती चरणमा पोखरा र काठमाडौँसम्म आफैँले  ढुवानी गरेर बिक्री गर्नुपरे पनि पछिल्लो समय भने व्यवसायी बगैँचामै आएर सुन्तला खरिद गर्न थालेका छन् । यसबाट सहज भएको स्थानीय अगुवा किसान दलबहादुर कार्कीले बताए ।

‘सुन्तला नपाक्दै पेश्की रकम लिएर व्यवसायी गाउँमा आउँछन्, यहाँका अधिकांश बगैँचा ठेकेदारले पेश्की लगाएका छन्, जति उत्पादन भए पनि बजारको अभाव छैन’’–उनले भने । यो वर्ष सुन्तलाको उत्पादन घटेपनि फलको गुणस्तर राम्रो भएकाले विगतको तुलनामा केही बढी मूल्य किसानले हात पारेका छन् ।

गतवर्ष प्रतिकिलो रु ७२ मा सुन्तला बिक्री गरेकामा यो वर्ष प्रतिकिलो रु ८० मूल्य पाएको किसान कार्कीले जानकारी दिए। बास्कुनामा यस वर्ष सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरेर सुन्तला बिक्री गर्न थालिएको छ ।

मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउन वडाका जनप्रतिनिधि र किसान समूहले मूल्य निर्धारण गरेको किसानसमेत रहनुभएका बेनी नगरपालिका–४ का वडा सदस्य सन्दीप खत्रीले जानकारी दिए  ।  बास्कुना, सुर्केमेला र थामडाँडाका चालिस घरधुरीले गतवर्ष रु एक करोड मूल्य बराबरको सुन्तला निकासी गरेकोमा यसवर्ष फल कम लागेकाले रु ७५ देखि ८० लाख बराबरको सुन्तला निकासी हुने अनुमान गरिएको वडा सदस्य खत्रीले बताए ।

सुन्तला बिक्री गरेर एक जना किसानले रु एक लाखदेखि दश लाखसम्म आम्दानी गर्छन् । परम्परागत रुपमा धान, कोदो, मकै र गहुँखेती गर्दै आएका यहाँका स्थानीयवासीले नगदेबालीको रुपमा सुन्तला खेतीलाई विस्तार गरेका छन् । सुन्तला खेतीबाटै यहाँका स्थानीयवासीको आयआर्जनमा वृद्धि र जीवनस्तरमा समेत सुधार भएको छ

लोकदीप सहकारीद्वारा १८ जेष्ठ शेयर सदस्य सम्मान

म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा गौतम लगायतले जेष्ठ सदस्यहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।

सहकारीको साधारणसभाको उद्घाटन गदैं प्रमुख अतिथि जिसीले प्रबन्ध र सञ्चालक समिति इमान्दार रहेको सहकारी समस्या नभएको बताए । कर्जा प्रवाह, नितिनियम र सहकारी सर्वमान्य सिद्धान्तको प्रयोग गरेका सहकारीहरू अहिलेको अवस्थामा निर्वाध सञ्चालन भइरहेको बताए ।

सञ्चालक समितिका सदस्यले मनोमानी पैसा चलाउँदा समस्यामा परेका सहकारीले अन्यलाई समेत बदानाम गराएपनि अहिलेको अवस्थामा सबै सहकारी एउटै नभएको बताए । सम्मानित हुने जेष्ठ नागरिकले सहकारीप्रतिको विश्वास अझै कायम रहेको बताएका थिए ।

सोही कार्यक्रममा सहकारीमा उत्कृष्ट उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।बाल बचत तर्फको खत्रुके बचत गर्ने २ जना, दैनिक बचत(क्रमिक बचत) तर्फ दुई जना र असल ऋणी दुई जनालाई सम्मान गरिएको संस्थाका प्रवन्धक नेत्रराज सुवेदीले बताए ।

त्यसैगरी संस्थाले बेनी नगरपालिका–९,घतानकी शेयर सदस्य हिराकुमारी चोखाल, विद्यार्थी पुष्पा राई र एथलेटिक्स खेलाडी शुष्मा परियारलाई खाद्यान्न सामग्री साधारण सभाकै अवसरमा वितरण गरेको थियो।

आफ्ना शेयर सदस्यहरुको स्वास्थ्यलाइ ध्यान राख्दै बेनी बजारमा रहेको दिगो क्लिनिक र कोर स्माइल डेण्टल स्वास्थ्य सम्झौता समेत सहकारीले साधारणसभाको अवसरमा गरेको छ ।

संस्थाको साधारणसभाको उद्घाटन सत्रमा शेयर सदस्यका तर्फबाट हिराकुमारी चोखाल र कमल ढुंगानाले मन्तव्य राखे । देवेन्द्र पौडेल कोषाध्यक्षको प्रतिबेदन, ओमप्रसाद शर्माले सचिवको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ

लोकदीप बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा बाट प्रमिला जोशी श्रेष्ठ अध्यक्षमा नयाँ सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा भिमनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए ।
हकारी संस्थाको लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक खोमराज उपाध्याय एवम् सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाललाइ चयन गरेको छ ।

एकहजार एक सय ५६ शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी १ करोड ६६ लाख ९८ हजार ९ सय रुपैया रहेको छ । संस्थामा जगेडा कोष २७ लाख १४ हजार २७ रुपैयाँ, अन्य विभिन्न कोषमा १९ लाख रहेको छ । सचिव ओमप्रसाद शर्माको संचालनमा भएको उद्घाटनसत्रको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ्ग सेवाको शुभारम्भ ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले उद्घाटन गरे ।