Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 443

कालीगण्डकी करिडोर: नागढुङ्गा-काभ्रे खण्डकाे निर्माण कार्य सुरु

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका- २ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो। नागढुङ्गा-काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिए।

उनले भने, ‘लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ। निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ।’

विसं २०७४ मा निर्माण कम्पनी शर्मा-गजुरमुखी नागढुङ्गा-कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो। विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो।

पहिरोपछि बिमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए।

‘आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ’, उनले भने, ‘हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ।’

विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ। पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’ सहित लागत ६३ करोड रुपैयाँ पुगेको छ।

हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर विष्णु चापागाईले बताए। घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ। सोही सडकमा ६ सय मिटर ढलानको तयारी गरिएको छ।

पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ। नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो।

बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला-नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ। शर्मा-युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो।

यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ।

राहुघाट-बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक चार वर्षअघि नै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ। राहुघाट-बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ।

उक्त सडकको ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ। उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएका छन्। –रासस

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन।

अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइरहेको छ। तमानखोलामा पनि गत वर्षदेखि नै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन।

अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ। निसीखोला क्षेत्रमा पनि बुर्तिबाङ बजारदेखि पोल गाड्ने र तार तान्ने काम तीव्र गतिमा भइरहेको छ। जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका पालिकामा केही वर्षअगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बागलुङका धेरै पालिकामा पुग्न सकेको थिएन।

विद्युत् प्राधिकरणले गत वर्षदेखि नै केन्द्रीय लाइन नपुगेका ठाउँलाई प्राथमिकतामा राखेर काम जारी राखेको छ। गाउँगाउँमा विद्युत् विस्तार हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

नेपाल विद्युत प्राधिकरणले यस वर्ष निसीखोला, तमानखोला र ढोरपाटनमा केन्द्रीय लाइन बाल्ने गरी काम गरिरहेको छ। पश्चिम बागलुङका लागि गलकोटमा सबस्टेसन निर्माण भएको छ भने बुर्तिबाङमा पनि १३२ किलोभोल्टको सबस्टेसन निर्माण भइरहको छ।

यस वर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पु¥याउने गरी काम भइरहको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख पवन पौडेलले बताए।

आगामी एक महिनाभित्रमा बत्ती बाल्ने गरी काम भइरहेको उनले बताए। ढोरपाटन उत्यका, निसीखोलाको देवीस्थान र तमानखोलाको बोङ्गादोभानमा चाँडै केन्द्रीय लाइन सञ्चालन हुने पौडेलले बताए।

अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको १४ करोड रुपैयाँबाट प्रसारण लाइन विस्तार गरिएको हो।

-रासस

आज तमु ल्होसार

आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ। गुरुङ समुदाय नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्छन्।

सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौं पुस्ता)को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भएको इतिहास छ। ड्रिगमको हत्यारा (लोङम डाजी) को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको विश्वास छ।

पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए जसलाई क्यार वोन भनिने गरिन्छ। त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरिएको मान्यता छ। त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइने गरिन्छ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको भन्दै आज हर्षोल्लासका साथ यो पर्व मनाउने गर्छन्। प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ।

पर्वको पूर्व सन्ध्याँमा पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गर्ने गरिन्छ।

आजको दिन बिहानैदेखि ढोग/भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्ने गर्छन्।

सरकारले आजको दिन सार्वजनिक विदा समेत दिएको छ।

बालकुमारी घटना: मृतकका परिवारलाई १० लाख, उपसचिव निलम्बित

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट मृतकका परिवारलाई राहतस्वरूप १० लाख दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय बैठकबाट गरिएको छ । सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले बताइन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय बैठकबाट गरिएको छ ।

आउँदा दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताइन् । घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकबाट आह्वान गरिएको उनले जानकारी दिइन् । घटनाको छानबिनका आधारमा सरकार अघि बढ्ने उनको भनाइ छ ।

गोली चलाउन आदेश दिने कर्मचारी, डीएसी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन् । अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई राम्रोसँग बुझाउन नसक्दा र भीड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिव गुरुदत्त सुवेदी (कोरिया शाखा कार्यालयका निर्देशक) लाई पनि निलम्बन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो ।

महिला भलिबलको उपाधि नव मालिकालाई

सातौं बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि नव मालिका युवा क्लबले जितेको छ ।शनिबार भएको फाइनल खेलमा नव मालिकाले निर्माण व्यवसायी संघ बागलुङलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

नव मालिकाले पहिलो सेट २५–१७ र दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट १२–२५ ले गुमाएको थियो । चौथो सेट २५–११ ले जित्दै नव मालिकाले उपाधि जितेको हो ।

शनिबार नै भएको तेस्रो स्थानको खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ विजयी भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघले प्रेम दाईको रेष्टुरेण्ट तंग्राम भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । प्रथम भएको नव मालिका युवा क्लबले ५१ हजार १ सय ११ रुपैयाँ, द्धितिय भएको निर्माण व्यवसायी संघ बागलुङले ३१ हजार १ सय ११ रुपैयाँ र तृतीय भएको नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् ।

दिदीबहिनी सहकारीको १२ औँ बार्षिक साधारणसभा सम्पन्न

म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो ।

दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पूँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ ।

सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड ५९ लाख ९७ हजार सातँसय रुपैयाँको कारोबार गरेको प्रवन्धक समिक्षा ढुंगानाले जानकारी दिनुभयो । सहकारीको मुनाफा १८ लाख रुपैयाँ रहेको छ ।

अध्यक्ष विष्णुकुमारी गौतम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले संचालकहरुले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।उहाँले केही सहकारीको कमजोरीले राम्रा सहकारीलाई पनि चुतौनी दिएको उल्लेख गर्दे संस्थालाई बलियो बनाएर लैजान संचालक समिति तथा शेयरसदस्यहरु पनि सक्रिय रहन आग्रह गर्नुभयो ।

साथै गौचनले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव समेत दिनुभयो ।साधारणसभामा सहकारीका सल्लाहकार एवम बेनी नगरपालिका उपप्रमुख ज्योती लामिछाने, संस्थाका सल्लाहकार जमुना आचार्य र सञ्जु बरुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सहकारीले बचत र क्रृणको मात्र काम नगरि मुष्ठीदान, सदस्य संरक्षण योजना, सुत्केरी भेटघाट, एकल महिला सम्मान, दम्पति सम्मान, विभिन्न दिवसीय कार्यक्रम, लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम लगायतका सामाजिक कार्यहरु पनि गर्दै आएको बताउनुभयो ।

संस्थाकी उपाध्यक्ष सुगम श्रेष्ठको स्वागत, सचिव जगतकुमारी खत्रीको संचालन र प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले विभिन्न ब्यक्तिलाई आर्थिक लगायतको सहयोग गरेको साधारणसभामा शेयर सदस्यको उपस्थिती थियो ।

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो । दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला बगाइएको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले जानकारी दिनुभयो ।

“अण्डर सुुलुुस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन थालिएको हो”, उहाँले भन्नुुभयो, “३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुुगेको छ ।” नदी फर्काउने काम जलविद्युुत् आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा र फड्को भएको विष्टले बताउनुभयो ।

राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ । विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवद्र्धक कम्पनी रघुुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुुभयो । आयोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

 

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाच किलोमिटर पाँच सय ९८ मिटर सुरुङ निर्माण सकिएको जयप्रकाश एसोशियटसका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।

अब छ सय दुई मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी छ । अबको दुई महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्यसहित काम भइरहेको छ । सिभिल ठेकेदारले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरका चार अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको छ ।

सुरुङबाट आउने पानीलाई रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो । अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ ।

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ ।

भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट ९इपीसी० प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

प्राकृतिक विपद्, कोरोना ९भाइरस०को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । सर्वोच्च अदालतको विसं २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी ९डबल सर्किट० क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न ‘लुप इन लुप आउट’ (लिलो)का चार टावर तयार भएका छन् । रासस

लोकदीप सहकारीको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ चयन

बेनीमा संचालित लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।

संचालक समितिको नवनिर्वाचित उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा भिमनाथ शर्मा रहनुभएको छ ।त्यस्तै सदस्यहरुमा गोविन्द प्रसाद रिजाल, शर्मिला जोशी श्रेष्ठ, ओम प्रसाद शर्मा, प्रेम नेपाली, चिरञ्जीवि सुवेदी, गितु आचार्य र भगिरथ उपाध्याय निर्वाचित हुनुभएको छ । लेखा तथा सुपरिवेक्षक समितिको संयोजकमा खुमराज उपाध्याय र सदस्यहरुमा शुसिला रोका र बामदेम रिजाल निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव पौडेलले जानकारी दिनुभयो ।

 

साधारणसभाको राष्ट्रिय सहकारी वैंकका केन्द्रिय सदस्य राम बहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उहाँले सहकारीले शेयर सदस्यहरुको आर्थिक उन्वयनलाई जोड दिनुपर्ने बताउनुभयो । सामान्य स्तरका नागरिकलाई सहकारीमा आवद्ध बनाई उनिहरुको जीवनस्तर उकास्नतर्फ सहकारीका संचालकहरु अग्रसर बन्नुपर्ने जिसीको भनाई थियो ।

२०६९ साल देखि संचालनमा आएको सहकारीमा गत आर्थिक बर्ष सम्ममा ११ सय ५६ जना शेयर सदस्य रहेका छन । सहकारीको हाल सम्मको कुल शेयर पूँजी १ करोड, ६८ लाख ८९ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको कुल बचत ९ करोड २७ लाख ५ सय ५० रुपैयाँ र लगानी ११ करोड ५ लाख ३७ हजार ९६ रुपैयाँ रहेको सहकारीका प्रवन्धक नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

 

साधारणसभाको अवसरमा सहकारीका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान, विपन्न परिवारलाई खाद्यान्न वितरण लगायतका कार्यक्रम गरिएको छ । साथै कार्यक्रममा हात हातमा लोकदीप नामक स्मार्ट मोवाईल वैकिङ सेवाको शुभारम्भ समेत गरिएको छ । ज्येष्ठ शेयर सदस्य नैन कुमार श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभएका थियो । कार्यक्रममा सहकारीका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव ओ प्रसाद शर्माले वार्षिक प्रगति र कोषाध्यक्ष देवेन्द्र पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव शर्माको संचालनमा सम्पन्न भएको थियो ।

मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले द्धितिय स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी पाँच स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्न सफल वडा नम्बर ५ स्थित भिम मावि तृतिय हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुने किसानी माविले ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । द्धितिय भएको जनप्रिय माविले ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुन, वडा नम्बर ४ का वडा अध्यक्ष भेजेन्द्रमान पुन, वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका, वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन, वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी, शिक्षा अधिकृत रिजाल लगायतले वितरण गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष बर्गुजाले प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद संचालन गर्न प्रोत्साहन, प्रतिभाको पहिचान तथा खेलक्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिक्षा अधिकृत रिजालका अनुुसार,विहिबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले गर्नुभएको थियो ।

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश बानियाँ निर्वाचित

म्याग्दीमा यूवा नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको २५ औं वार्षिक साधारण सभा र शाखा अधिवेशनबाट बर्ष २०२४ का लागि दिनेश बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको कानुनी सल्लाहकार कुमार बानियाँ, बरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, कार्यकारिणी उपाध्यक्षमा ई. अमीर श्रेष्ठ र कृष्णप्रसाद पौडेल, महासचिव सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ती, शाखा सम्पादकमा अनिल पौडेल, सहसचिवमा पवित्रा खत्री, सहकोषाध्यक्षमा नवीन पौडेल, उपाध्यक्षमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा, तालिम संयोजकमा धनमाया श्रेष्ठ, प्रकरण निर्देशकमा मदन खत्री, अर्थवृद्धी संयोजकमा गणेश सुवेदी रहेको म्याग्दी जेसिजले जनाएको छ । नयाँ कार्यसमितिको प्रमुख सल्लाहकारमा पूर्व अध्यक्ष सन्दिप खत्री रहनुभएको छ ।

नवनिर्वाचतलाई पदस्थापनमार्फत जिम्मेबारी हस्तान्तरण गरिने छ । सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, युवाहरुको नेतृत्व र क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । म्याग्दी जेसीजले संस्थागत गतिविधि बाहेक सामाजिक एवम् मानवीय सेवा र पर्यटन प्रर्बधनमा समेत सक्रियता देखाउने गरेको छ । अधिवेशन शाखा अध्यक्ष सुमन बानियाँको अध्यक्षता गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारी, पूर्व अध्यक्ष लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।