Sunday, June 29, 2025
22 C
Beni
22 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 444

एथलेटिक्सकी खेलाडी सु्ष्मा नेपालीलाई एभरेष्ट ग्लोवलको सहयोग

बेनी नगरपालिका विद्यालयस्तरीय एथलेटिक्स विधामा सर्वोत्कृष्ट प्रकाश माविकी सुष्मा नेपालीलाई शैक्षिक परामर्शदाता एभरेष्ट ग्लोवल एजुकेशन एन्ड भिसा सर्भिसेसले बेनी शाखाले शैक्षिक, खेलकुद र खाद्यान्न साम्रागी सहयोग गरेको छ । बेनी नगरपालिका–३,भकिम्लीकी १४ बर्षिया नेपालीको खेलकुद गतिविधिलाई सहज हुने गरी स्र्पोट्स जुत्ता, खाद्यान्न र शैक्षिक गरी १२ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

अति विपन्न परिवारमा जन्मिएपनि बुबाको न्यानो मायाँ नपाई घरेलु काम गर्न बेनी झरेकी आमासँग बस्दै आएकी नेपालीको अवस्थाका बारेमा बेनीअनलाइनबाट समाचार प्रकाशित भएपछि एभरेष्ट ग्लोवका सिनियर काउन्सिलर सुमन बानियाँले सहयोग हस्तान्तरण गदैं आगामी दिनमा पनि सहयोगलाई आवश्यकता अनुसार निरन्तरता दिने बताए ।

‘खेल र शिक्षालाई सँगसँगै लैजानुपर्छ,‘समुदायसँगै मिलेर संस्थागत गतिविधलाई अगाडी बढाउन चाहन्छौ’ बानियाँले भने । उनले सुष्माको ब्यक्तिगत जिवन र परिवारिक अवस्थाका बारेमा बुझ्दा दुःख लागेको बताए ।

सोही अवसरमा खेलाडी सुष्माले अभाव र पीडाका बिच आमाले यहाँसम्म ल्याएको बताउँदै भविस्यमा खेल क्षेत्रबाट जिल्लालाई चिनाउने चाहना रहेको बताईन् ।

हालै बेनी नगरपालिकाकद्धारा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा ४ स्वर्ण र १ रजत पदक जितेकी नेपालीले विद्यालयस्तर, नगर, जिल्ला र प्रदेशस्तरीय एथ्लेटिक्समा ३३ पदक जितेकी छन् ।, सुुष्मा एथलेटिक्स विधामा अलराउन्ड हुन् ।

भिरमुनीका दुई बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

बुबाको मृत्युपछि समस्यामा परेका बेनी नगरपालिका–५,भिरमुनीका दुई बालबालिकाको एभरेष्ट ग्लोवल एजुकेशन एन्ड भिसा सर्भिसेसले शैक्षिक अभिभावकत्व ग्रहण गरेको छ ।

दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका मिठे दर्जीको घाँस काट्न गएको समयमा रुखबाट लडेर मृत्यु भएपछि हरेक बषै शैक्षिक,खाद्यान्न र पोशाक र लत्ताकपडा सहयोग गदैं आइरहेको छ । निकै कष्टकर जीवन विताइरहेका अरुणा र अजित परियारलाई विद्यालयका प्रअ प्रेम बानियाँको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको हो ।

शुक्रबार बेनीमा रहेको शाखामा आयोजित कार्यक्रममा एभरेष्ट ग्लोवका सिनियर काउन्सिलर सुमन बानियाँ, म्यानेजिङ डाइरेक्टर अस्मिता केसीले उच्च शिक्षासम्म आवश्यक खर्च सुनिश्चितता गदैं सहयोग हस्तान्तरण गरिएको हो । यो सहयोगलाई उच्च शिक्षासम्म निरन्तरता दिने बेनी शाखाकी म्यानेजिङ डाइरेक्टर केसीले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन शाखाका बजार ब्यवस्थापक जगत गैरेले गरेका थिए । ।म्याग्दीबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, क्यानेडा, यूके लगायतका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई अंग्रेजी भाषा परीक्षा आइएलटिएस कक्षा, शैक्षिक परामर्श,भिजा प्रोसेसिङको सम्पुर्ण डकुमेन्टेशन, ऐन, नियम कानुन र शिक्षा प्राणालीका बारेमा बेनीमै सेवा दिने गरेको छ ।

 

चैते दशैंमा बिदा दिने सरकारको निर्णय

सरकारले २०८१ सालमा दिइने सार्वजिनक बिदामा दुई दिन थप गरेको छ। मन्त्रिपरिषद्को पुस १२ गते बसेको बैठकले चैते दशैं र शहीद दिवस (माघ १६ गते) मा बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मन्त्री शर्माका अनुसार बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, बालबालिका नीति, राष्ट्रिय लैङ्गिक समानता नीति, २०७७ को कार्यान्वयन कार्ययोजना, संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि र राष्ट्रिय स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय निर्देशिका स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

फागुन १ मा जनयुद्ध दिवस मनाउने निर्णय सर्वोच्चद्वारा बदर

Communist party of Nepal (Maoist) Chairman Prachanda (C) is surrounded by officials as he arrives to attend the seventh anniversary of the Maoist's People's Liberation Army (PLA) day at the Shaktikhor cantonment site in Chitwan some 220 kms south west of Kathmandu, 24 November, 2007. The Maoist launched the people's movement in 1995 but the Maoist PLA was officially formed 23 November 2001. Various political leaders, ministers, officers from the Nepal Army and other high ranking officials were invited to participate in the event. This is the first time that Maoists are celebrating this anniversary in such an open manner, following the Comprehensive Peace Agreement of November 2006 and the first time that officials from the state security agencies have been invited to the programme. AFP PHOTO / PRAKASH MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २९ माघ २०७९ मा १ फागुनमा जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बुबाको उपचारमा लागेको ऋण तिर्न कोरिया जान चाहन्थे सुजन

शुक्रबार बालकुमारीमा ईपीएस कोरियन भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित युवामध्ये एक थिए सुजन राउत । आन्दोलनमा सहभागी भएकै अवस्थामा मृत्यु भएका उनी घरको जेठो छोरा थिए ।

‘ब्रेन ट्युमर’का कारण सुजनका बुबा भक्तबहादुर रावतको गत वर्ष मृत्यु भएको थियो । त्यसपछि परिवारको सम्पूर्ण जिम्मेवारी २१ वर्षीय (प्रहरीले २३ वर्ष भनेपनि परिवारले २१ वर्ष भनेका छन्) सुजनको काँधमा आयो ।

बुबाको उपचारमा लागेको ऋण तिर्नका लागि धेरै कमाइ हुने ठाउँ जान चाहन्थे सुजन । बुबाको उपचारका लागेको ऋण तिरौँला, परिवारलाई खुसी राखौँला भन्ने सपना बोकेका सुजन आफ्नो बुबाको वर्ष दिनको काम सकेर कोरिया जाने तयारीमा लागे ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा महावु गाउँपालिका–६, का सुजन पनि मिसिएका थिए । आन्दोलनमा प्रहरीको निर्घात कुटपिटबाट उनी सडकमै ढले । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि किष्ट अस्पतालमा लगियो । त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरे ।

सुरुमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिए पनि प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको उनका दाजु (मामाका छोरा) रोशन कटुवालले रातोपाटीलाई बताए । सुजनको मृत्यु पश्चात रोशन अहिले किष्ट अस्पतालमा पुगेका छन् । ‘गोली लागेको हैन, प्रहरीको बन्दुकको पछाडि भागले छातीमा हानेको छ, भित्र निकै गहिरो चोट लागेकाले मृत्यु भएको हो,’ उनले भने, ‘शरीरमा निल डाम छ ।’

सुजन शुक्रबार आन्दोलनमा नभइ त्यहाँको अवस्था हेर्नका लागि त्यहाँ पुगेको रोशनको भनाइ छ । रोशनका अनुसार सुजनको घर महावु भए पनि उनको सम्पूर्ण परिवार दैलेख सदरमुकाममा बस्छन् । सुजनका बुबा उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भइसकेका थिए । लामो समयदेखि सदरमुकाममा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए भक्तबहादुरले ।

राउत दैलेख बजारका सफल व्यवसायीका रुपमै चिनिन्थे । उनलाई ब्रेन ट्युमर भयो । उनी बिरामी भएपछि उनको व्यवसाय पनि कमजोर हुँदै गयो । भएको सम्पत्ति सबै उपचारका लाग्यो, नपुगेर लाखौँ रकम ऋण लाग्यो । तर, उनी बचेनन् ।

उपचारकै क्रममा ०७९ मङ्सिरमा उनको मृत्यु भयो । बुबाको मृत्यु र व्यवसाय पनि संकटमा भएकाले सबै जिम्मेवारी काँधमा बोकेका सुजनलाई कोरिया जानुपर्ने बाध्यता बनेको दाइ रोशन बताउँछन् ।

‘तर, भाइ कोरिया जान पाएन । बुबाको उपचारमा धेरै खर्च भयो, ऋण थियो । पसल गर्दा पनि ऋण थियो,’ रोशनले भने, ‘त्यही रकम तिरौँला, कोरिया गएपछि आम्दानी पनि धेरै हुने, ऋण पनि चाँडो तिरिने भएर कोरियातिर जाने सोच बनाएको थियो ।’

उनका अनुसार सुजन निकै मेहनती र इमानदार थिए । यसअघि सुजन नेपालगञ्ज बसेर ओभरसियर पढ्थे । अन्तिम सेमिस्टरमा एउटा विषय बाँकी थियो । बुबाको मृत्यु भएपछि उनले पढाइ पनि पूरा गर्न पाएका थिएनन् । घरमा आमा नन्दाकुमारी, एक भाइ र दिदी छन् । सदरमुकामको काँडाचौरमा उनीहरु बस्छन् ।

सुजनका अंकल नन्दु राउतका अनुसार भक्तबहादुरको मृत्यु पश्चात सुजनको आमा नन्दा कुमारीले रसिया पठाइदिने कुरा सुनाएकी थिइन् । ‘रसियामा अहिले आर्मीका रुपमा जान्छन् नि, त्यसैमा पठाइदिन्छु बाबु, यहाँ जागिर पनि केही छैन । अन्यत्र गर्ने पनि केही छैन, व्यवसाय पनि डुबिरहेको छ भनेर भाउजूले मलाई भन्नुभएको थियो,’ नन्दु भन्छन्, ‘पछि रसिया नगई कोरियाको तयारीमा रहेछ ।’

रोशनका अनुसार सुजनकै साइँला बुबाको छोरा पनि कोरिया नै जाने भनेर सँगै लागेका थिए । रोशनका अनुसार सुजनसँगै रहेका अंकलको छोरा (सुजनको दाइ)ले आन्दोलनमा नगएको तर, हेर्नका लागि त्यहाँ पुगेको बताइरहेका छन् । ratopati

नेत्र ज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान

भौतिक संरचनाको अभावमा भाडा तिरेर सेवा दिइरहेको नेत्र ज्योति संघ बेनीलाई एक दम्पत्तीले करिब साढे २ करोड बराबरको निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याम घर भई हाल पोखरामा बस्ने समाजसेवी मुक्ती रोका र श्रीमति याम माया रोकाले नेत्र ज्योति संघ बेनीलाई बेनीबजारस्थित कालिपुलको कित्ता नम्वर १००७ को ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा हस्तान्तरण गरेका हुन् ।

सो जग्गाको हालको मूल्य २ करोड ५० लाख रहेको छ । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतिले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपूर्जा हस्तान्तरण गरे । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको नेत्र ज्योति संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ ।

जग्गादाता रोकाले २०६६ सालमा आफैले नेतृत्व गरेर हिमालयन आँखा अस्पताल संग समन्वय गरि बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र संचालनमा ल्याएको विगत स्मरण गरेका थिए । ‘बेनीमा आँखा उपचार केन्द्र संचालनको अनुमति लिनका लागि म पोखरा, काठमाडौँ लगायत देशका विभिन्न ठुला आँखा उपचार केन्द्रहरुमा पुगेँ, अन्तत लामो मेहनत पछि हिमालय आँखा अस्पतालको अनुमतिमा बेनीको रेडक्रस भवनबाट आँखा उपचार केन्द्र सुरु गरियो, त्यतिबेला म रेडक्रसको सभापति समेत थिएँ’ रोकाले भने ।

उनले कलिलै उमेरदेखि समाजसेवामा सक्रिय रहेको बताउँदै रोकाले नेत्र ज्योति संघलाई जग्गा सहयोग गर्न पाउँदा समाजसेवाको सवै भन्दा ठुलो सपना पुरा भएको बताए ।

जग्गामा भवन निर्माण गर्ने योजना अघि सारि आर्थिक संकलनको अभियान संचालन गर्न समेत संघलाई आग्रह गरे । भवन निर्माणका लागि आफ्नो परिवारबाट सक्दो आर्थिक सहयोग हुने बताए । उनले अव आँखाका जटिल समस्या पनि जिल्लामै उपचार हुने गरी भौतिक संरचना र जनशक्ती ब्यवस्थापन गर्न समेत अनुरोध गरे ।

जग्गाको लालपूर्जा ग्रहण गर्दै संघका अध्यक्ष बानियाँले जग्गादाता रोका परिवारलाई आभार प्रकट गर्नुभएको थियो । साथै संघले रोका परिवारलाई फुलमालाले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्रीले समाजसेवामा रोकाको भूमिका महत्वपूर्ण भएको बताएका थिए । संघका उपसभापति राजेन्द्र श्रेष्ठ, मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठ, बेनपा ६ का वडा अध्यक्ष, समाजसेवी सुवासकुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

समाजसेवी रोका दम्पत्तीले बेनीबजारको प्रवेशद्धार पर्ने कालिपुलमा जग्गा उपलब्ध गराएपछि नेत्रज्योती संघले स्थानीय तह, प्रदेश र संघीय सरकारबाट बजेट माग गरी आधुनिक भवन सहित गुणस्तरीय सेवा सञ्चालन गर्ने जनाएको छ ।

 

त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न म्याग्दीबाट प्रधानमन्त्रीलाई पत्र

नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीलेत्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्ने माग गदैं नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ म्याग्दी बहुमुखी क्याम्पस मुल इकाईको आयोजनामा ४३ जना विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएका छन् ।

नेविसंघ केन्द्रिय सदस्य निर्मलद्धय निर्मल खत्री, सुजता खत्री, क्याम्पस मुल इकाइ उपसभापति शिव श्रेष्ठ लगायतले सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र पन्तमार्फत प्रधानमन्त्रीको कार्यालयमा त्रिविको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गदैं ज्ञापनपत्र पठाइएको छ ।

विश्वविद्यालयबाट राजनीतिक भागबण्डा अन्त्य गदैं योग्यता दक्षता र अनुभवमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्ति नभए थप आन्दोलनको घोषण गर्ने समेत विद्यार्थीले चेतावनी दिएका छन् । विश्वविद्यालयलाई दलीयकरण र राजनीतिक भागबण्डाबाट मुक्त गर्न नेपाल विद्यार्थी संघले चरणबद्ध दवाव दिइरहेको नेपाल विद्यार्थी संघ म्याग्दीले जनाएको छ।

आमाको मृत्युपछि दुई सन्तानको पालनपोषणमा सहयोगको याचना

म्याग्दीको बेनी नगरपालिका-७,अग्नीखेतमा आगन चर्किएको ब्लक र जस्ताले छाएको साँघुरो र चिसो कोठाको भित्तामा सुसान र सपना किसानको रंगीन फोटो छ । श्रीमन र छोरासँगको तस्वीरमा रहेकी भित्तामा सजिएकी सपना अब भौतिकरुपमा परिवारसँग कहिल्यै सँगै हुने छैनिन् । कोठाको भित्तो रंगीन भएपनि परिवारको खुसी उडेको छ ।

ब्रेन ट्युमरको उपचारको क्रममा सपनाको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । आँखा अझै ओभाएका छैनन्, श्रीमतिका बारेमा बोल्दा आँखामा टिलपिल आँसु भरिन्छ ।ज्यालामजदुरी गरी घरखर्च चलाउँदै आएका सुसानले ९ महिनाको छोरी र २ बर्षको छोरालाई हुर्काउन धौ-धौ परेको छ ।

विहानै ज्यालामजदुरीका लागि श्रीमतिसँगै निस्कने गरेका सुसानले अहिले छोराछोरीको रेखदेख गर्नुपर्ने भएपछिघरखर्च चलाउन समेत मुस्किल छ।तीन महिनाअगाडी अचानक टाउको दुख्न थालेपछि उपचारको क्रममा क्यान्सरको अन्तिम स्टेजमा पुगेको चिकित्सकले बताएसँगै उपचारका लागि भरतपुर पुर्याएका सुसानले श्रीमतिको उपचारमा झण्डै ४ लाख खर्च गरे ।

श्रीमतिलाई गुमाएका सुसानसँग ९ महिनाको छोरीलाई दुध खुवाउने पैसा समेत छैन ।‘छोराछोरीको भविष्यबारे धेरै चिन्ता लाग्छ, दुध र बिरामी हुदाँ उपचार गर्ने पैसा समेत छैन’ सुसानले भने । श्रीमानीसँगै मजदुरी गरेर जीविका चलाइरहेकोमा अव मानसिक तनाबसँग शिक्षादिक्षा, पालनपोषण, घरखर्च चलाउने चिन्ताले पिरोलिरहेको सुसानको भनाई छ ।

‘छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता छ,श्रीमतिको तस्वीर हेर्दा रुन मात्र मन लाग्छ’ सुसानले भने ।सपनालाई गुमाएपछि दुईबर्षको छोरा र ९ महिनाकी छोरीले बेला-बेलामा आमालाई खोज्दा उनी भकान्छिन् । दुई सन्तानलाई पालनपोषण, स्याहारसुसार, हेरचाहको चिन्ताले सताइरहेको छ ।

‘मैले काम नगरी यिनीहरूलाई पेटभरी खुवाउँन पाउँदैन,‘काम गर्न जाने अवस्था पनि अहिले छैन, आमालाई नदेखेपछि छोराले साथ नै छोडैन’ सुसानले भने । श्रीमतिले मृत्यु हुदाँको अन्तिम समयमा पनि छोराछोरीको चिन्ता गरेको उनले बताए ।तत्काल सहयोगको आवश्यकता रहेपनि छोराछोरीलाई मजदुरी गरेरै पाल्ने उनको भनाई छ ।

४ भाइ छुट्टिएरका छन् । सबै ज्यालामजदुरी गरी घर खर्च चलाउने भएकाले तत्काल कलिला बालबालिकालाई सहयोग आवश्यक रहेको स्थानीय हरि शाक्यले बताए ।

‘हातमुख जोड्न पनि धौ–धौ हुन्छ,‘आमाको मृत्युपछि कलिला बालबालिकाको बिचल्ली भएको छ, उनीहरुलाई सहयोगको आवश्यकता छ’ शाक्यले भने । बेनी नगरपालिका–७ वडाले मृतकको अन्त्येष्टीका लागि आवश्यक दाउरा तथा सहयोग समेत गरेको छ ।

वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले वडाबाट र सहयोग जुटाएर तत्काल राहत हस्तान्तरण गरिएको बताए । उनले मातृत्व प्रदान गरिरहेकी आमाको मृत्युपछिको अवस्थामा कलिला बालबालिकालाई नियमित पोषण सहितको सुविधाका लागि सहयोग आवश्यक रहेको बताए ।

‘हामीले सक्ने सहयोग गछौ,‘सबैको सानोसानो सहयोगले बालबालिकालाई हुर्काउन सजिलो हुन्छ’ अध्यक्ष श्रेष्ठले भने ।जन्मदिने आमासँग हुन नपाउँदाको पीडालाई महसुस हुन नदिने गरी सहयोगको आवश्यकता रहेको बताए । उनले ब्रेन ट्युमरका कारण छोराछोरीको स्वास्थ्य समेत परीक्षणका लागि लैजान आवश्यक सहयोग गरिने बताए ।

थप जानकारीका र सहयोगका लागि वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ ९८५७६४७०६७

पोखरामा म्याग्दीका घर्तीले श्रीमती रेखाको घाँटी थिचेर हत्या गरे

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ।आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -७ ताकम घर भइ हाल पोखरा -२९ बस्दै आएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार बिहीबार दिउँसो अन्दाजी १:४० बजेको समयमा पोखरा महानगरपालिका-२९ नौविसेचोक स्थित विश्वराज पौडेलको तोरी बारीको कान्लामा आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीलाई घाँटी थिचेर हत्या गरेको भन्ने स्थानीयको सूचना पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले श्रीमान रत्नलाई पक्राउ गरेको हो।

हत्याको कारणबारे प्रहरीले केही बताइसकेको छैन। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता विकले जानकारी दिए।

म्याग्दीमा आठ महिनामा ६ वटा पक्की पुल निर्माण

म्याग्दीमा आठ महिनाको अवधिमा ६ वटा नयाँ सडक पुल निर्माण सकिएको छ। थप एकवटा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा छ। ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ। संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन्।

यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ।

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा-बिएम जेभी पोखरासँग विसं २०७६ माघ १७ गते मूल्य अभिवृद्धि करसहित दुई करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत रघुगंगा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ। बिओकेआई÷हिमालयन जेभीले भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा विसं २०७८ असार २९ गते सम्झौता गरेको यो पुल लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न भएको छ।

सडक डिभिजन कार्यालय बाग्लुङले बेनी नगरपालिका ४ फापरखेत र मंगला गाउँपालिका ३ बरञ्जाको पखेर जोड्ने एक सय १७ मिटर र मंगला गाउँपालिका २ माटेबगर र वडा नं ५ पोक जोड्ने ८० मिटर लामो दुईवटा मोटरेबल पुल बनाएको छ।

म्याग्दी नदीमाथि बनेका दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सीधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका ३ का वडाध्यक्ष याम रोकाले बताए।

पूर्वाधार विकास कार्यालयमार्फत मालिका गाउँपालिका वडा नं १ र ६ को सिमानास्थित छ्यारछ्यारेको म्याग्दी नदीमा ४० मिटर लामो स्टिल ट्रस्ट प्रविधिको मोटरेबल पुल निर्माण भएको छ। सो पुल निर्माणका लागि प्रदीप जुम्ली जेभीसँग २०७७ साल साउन ४ गते चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको छ। पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते फेवा सावित्री जेभी पोखराले दुई करोड ७२ लाख ९४ हजार पाँच सय ६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।  मालिका गाउँपालिका ७ र धवलागिरि गाउँपालिका ७ भारवाङघाट स्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण अन्तिम चरणमा छ। पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले ६ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो

मालिका गाउँपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित रितुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ। असोज अन्तिम साता चार करोड १० लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको बिएम कोन्डा जेभीले पुलको फाउन्डेसन खन्न सुरु गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए।

उनका अनुसार मंगला गाउँपालिका ३ र बेनी नगरपालिका ४ को सिमाना अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन असोज अन्तिम साता तीन करोड ४१ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको प्रमाण सारस जेभी कार्यस्थलमा परिचालन हुने तयारीमा छ।

धवलागिरि गाउँपालिका २ को दरखोला र मालिका गाउँपालिका ७ शिवरात्रि खोलामा पनि मोटरेबल पुल निर्माणको तयारी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निर्माणाधीन पुल सम्पन्न गराउने र नयाँ पुल निर्माणसम्बन्धी योजना भित्र्याउन पहल गरिएको बताए। –रासस

नृत्य प्रतियोगिता : शिक्षकमा शिख मावि र विद्यार्थीतर्फ प्रकाश मावि प्रथम

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खलःको सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा शिक्षकतर्फ बेनी सामुदायिक मावि द्धितिय र प्रभा मावि तृतिय हुन सफल भएका छन् । त्यसैगरी विद्यार्थीतर्फ प्रभा मावि द्धितिय र समान अंकको आधारमा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,माउण्ट एभरेष्ट आवासीय मावि र बेनी सामुदायिक माविलाई तृतिय पुरस्कार वितरण गरिएको छ ।

निर्णायकद्धय अजयमिलन श्रेष्ठ र डिके पुनले तीन विद्यालयले समान ७४ अंक प्राप्त गरेको घोषणा गर्नुभएको थियो । प्रथम ,द्धितिय र तृतिय हुने शिक्षक र विद्यार्थीले समान क्रमश ः १५ हजार ,१० हजार र ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो पुरस्कार शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा मगर ,सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा मगर, बेनी नगरपालिका शिक्षा अधिकृत कमलप्रसाद ढकाल लगायतले वितरण गर्नुभएको थियो ।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापा मगरले शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्धेश्यले दुई दिने नृत्य तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार,दुवै विद्याका विजेताहरु पोखरामा संचालन हुने गण्डकी प्रदेश स्तरीय कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगर प्रमुख सुरत केसीले प्रतियोगिताले विद्यार्थी र शिक्षकमा लुकेर रहेका प्रतिभा पहिचान गर्नमा मदत पुग्ने बताउनुभयो ।

उहाँले यस्ता प्रतियोगिताहरु विद्यालय स्तरमा पनि निरन्तर रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । समाजिक विकास कार्यालय प्रमुख रमेश थापाले गत वर्ष सञ्चालित प्रतियोगिताले विद्यार्थी र शिक्षकको प्रतिभा पहिचान गर्न मदत पुगेको बताउनुभयो । साथै प्रतियोगिताले विद्यालयतहबाटै नेतृत्व निर्माण ,उत्प्रेरित जनशक्ती र प्रतिस्पर्धी उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ छ। सामाजिक विकास कार्यालय म्याग्दीका नायव सुब्बा गोविन्द पुन मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतियोगितामा एक सय पुर्णाङ्क राखिएको प्रतियोगितामा भेषभुषा,सुरताल,मौलिकता र सान्दर्भिकता,श्रृङ्गार ,सिर्जनशिलता ,प्रस्तुतिकरण लगायत आधारमा प्रतियोगिले अंक प्राप्त गरेका थिए । शुक्रबार वक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ ।