Sunday, June 29, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 465

बागलुङमा एकै रात ६ घरमा चोरी

बागलुङमा एकै रात ६ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ६ घरमा सुनसहित पाँच लाख रुपैयाँबराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्रनजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित छन्।

बजारका पाँचवटा पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

रातको दुईदेखि तीन बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट १५ हजार, जलजला होटलबाट १० हजार, मायालु होटलबाट पाँच हजार, कक्षपति स्टोर्सबाट चार हजार रकम चोरी भएको अध्यक्ष अधिकारीले बताए।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उनको भनाइ छ।

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवेयरको सिसी क्यामेरामा एक अर्धवैंसे पुरुष अनुहारमा मुकुन्डो लगाएर झोला बोकेको र पिपिई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसी क्यामराद्वारा घटनाको सूक्ष्म अनुसन्धान गरिने बताए। चोरी भएको ठाउँमा सिभिल प्रहरी खटाइने र सिसी टिभी फुटेज फेला परेकाले त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ। –रासस

म्याग्दी सहकारीको अध्यक्षमा थदेवी पुन, शेयरधनीले ९.५ प्रतिशत लाभाँश पाउने

काठमाण्डौमा १७ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभाबाट पुनः थदेवी पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार सामाखुशीमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षहरूमा सुशिला शेरचन,थमबहादुर छन्त्याल,धनलाल जैसी,सचिव टकबहादुर थापा,कोषाध्यक्ष इन्द्रजित छन्त्याल,सह–सचिवमा छकप्रसाद शेरचन र सदस्यहरूमा क्रमश केशबहादुर गौचन,लेपप्रसाद पुर्जा,गीताकुमारी रावल,खिमबहादुर गुरुङ्ग,धनबहादुर भुजेल,हर्कनारायण घर्तिमगर,हेलेन श्रेष्ठ र लिलकुमारी रोका रहेका छन् ।

साधारणसभाबाट लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरूमा मदन थापा र धनबहादुर छन्त्याल सर्वसम्मत निर्वाचित भएको सहकारीका कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले बताए ।

साधारणसभाको उद्घाटन गदैं म्याग्दी सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाबाट (खम्वीर)ले काठमाडौंमा भएका म्याग्देलीहरूलाई संगठित भएर वित्तिय कारोबारका लागि स्थापना भएको सहकारीले वित्तियसँगै सामाजिक एवम् मानवीय सेवामा समेत सक्रिय भएको बताए ।

प्रतिनिधिसभा सदस्य गर्बुजाले काठमाण्डौमा सञ्चालन भएपनि सहकारीले म्याग्दीका सबै भुगोललाई समेटेर सेयर सदस्यता वितरण गरेर सहकारी अभियानलाई बलियो बनाएको बताए । त्यसैगरी गण्डकी प्रदेशका प्रदेशसभा सदस्य बिमला गौचनले म्याग्दी सहकारीले महिला नेतृत्वका विकासमा उदाहरणिय भूमिका खेलेको प्रति सहकारीको प्रशंसा गरेकी थिईन् ।

उनले काठमाण्डौमा महिलाको नेतृत्वमा सहकारी संचालन भई वित्तिय सूचकमा अब्बल हुनु ठुलो सफलता भएको बताईन् ।
त्यसैगरी गण्डकी प्रदेश सरकारका मुख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्माले केही सहकारीमा समस्या देखिए पनि म्याग्दी सहकारी संकटबाट मुक्त रहेको र सबै सेयर सदस्यहरुको एकता र सहकार्यले सफलता प्राप्त गरेकोमा खुसी ब्यक्त गरेका थिए ।

साधारणसभाको अवसरमा धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठ र सहकारी अभियन्ता डिल्लीराम तिवारीले अहिलेको विषम परिस्थितिमा सहकारी सञ्चालनमा सजक हुनुपर्ने बताए । त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार एवम् निर्वाचन समितिका संयोजक डा.ज्योति शेरचनले सहकारीमा ज्ञान सीप र क्षमताका सदस्यहरुको सामुहिक योगदानलाई सधै सम्मान गर्ने गरिएको बताए ।

वार्षिक साधारणसभाको अवसरमा संस्थापक अध्यक्ष तथा सल्लाहकार एवम प्रतिनिधीसभाका सदस्य माननीय खमबहादुर गर्बुजा,गण्डकी प्रदेशसभाका सदस्य माननीय बिमला गौचन र गण्डकी प्रदेश सरकारका मूख्य न्यायधिवक्ता चिरिञ्जीवी शर्मालाई संस्थाको तर्फबाट बधाई सहित शुभकामना पत्र प्रदान गरिएको थियो ।

अध्यक्षमा थदेवी पुनद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार २ हजार भन्दा बढि सदस्य रहेको यस संस्थाको आ.व. २०७९÷८० मा शेयर पूँजीतर्फ ७ करोड ९२ लाख, जगेडा कोषतर्फ ७ करोड ७५ लाख, बचततर्फ ४१ करोड १६ लाख, कर्जा लगानीतर्फ ४२ करोड ८२ लाख र बाँडफाँड योग्य मुनाफा २ करोड ७ लाख अर्थात ९.५ प्रतिशत शेयर लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

२ हजार भन्दा बढि सदस्य रहेको यस संस्थामा बचत तथा ऋणमा योगदान गरी १ लाखको शेयर खरिद गरेका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. रवि मल्ल, प्रा.डा.हुमबहादुर बरुवाल, डा. दलिप मल्ल लगायत ४० जना सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो ।

बचत तथा ऋणमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले र स्वागत भाषण उपाध्यक्ष धनलाल जैसीले गरेका थिए । साधारणसभामा कलाकारले समेत सांगितिक प्र्रस्तुती दिएका थिए ।

 

पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको टोड्के (फोटो फिचर)

भौतिक पूर्वाधारको विकास भएसँगै म्याग्दीको टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । टोड्केसम्म पुग्ने सडकको पहुँच विस्तार, खान र बस्नको लागि सामुदायिक लजको निर्माण, हरियाली पार्क तथा भ्यू–प्वाइन्टसहितका भौतिक संरचनाहरुको विकास भएपछि टोड्के पर्यटकीय गन्तव्य बन्दै गएको हो । 

समुन्द्री सतहबाट २५ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केबाट मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । टोड्केमा विभिन्न भौतिक पूर्वाधारहरूको विस्तार भएसँगै पछिल्लोपटक टोड्के पर्यटकीय गन्तव्य बन्दै जान थालेको हो । जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्केले धार्मिक तथा पर्यटकीय महत्व समेत बोकेको छ । 

अहिले पर्यटकीय क्षेत्र टोड्के मनोरम दृश्यावलोकनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको छ । निकै सुन्दर, आकर्षक र मनमोहक दृश्यहरु देखिने टोड्के पर्यटकीय गन्तव्य बनेको स्थानीयवासी बताउँछन् । पछिल्लो समय बेनी नगरपालिकाको डडुवा हुँदै पूर्णगाउँ, वाखेत, मंगलाको कुहुँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल विस्तार भएपछि टोड्के पुग्न सहज भएको छ । 

 

माघदेखि वैशाख महिनासम्म लालीगुराँस ढकमक्कै फुलेर राताम्य हुने टोड्के क्षेत्रमा विभिन्न समयमा वनभोज खानका लागि मानिसहरु पुग्ने गर्दछन् । टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका अधिकांश हिमालहरूसहित मानापाथी, पुतली, निलगिरी, माछापुच्छ्रे, चुरेन लगायत हिमशृङ्खला देखिन्छन् ।

 टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागसहित हिमालपारीको जिल्ला मुस्ताङ तथा पर्वत र बागलुुङको डाँडाकाँडाहरु समेत देखिन्छ । डाँडाकाँडाको आकर्षक दृश्यका साथै वनजङ्गलमा चराचुरुङ्गी र वन्यजन्तु जनावरलाई पनि देख्न पाइने टोड्केको अर्को विशेषता हो ।   पर्यटकलक्षित सामुदायिक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याएपछि अहिले दैनिकजसो पर्यटकहरू टोड्केमा पुग्ने गरेका छन् ।

 टोड्केको भ्रमण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर खाने, बस्ने र रमाउनका लागि रिसोर्ट निर्माण भएपछि टोड्के आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीय व्यवसायीले बताउछन्। टोड्के क्षेत्र भ्रमण तथा रिसोर्टमा बस्न आउने पर्यटकहरूलाई स्थानीय उत्पादन मुलाको चटनी, कोदो र फापरको ढिँडो, लोकल कुखुराको मासुलगायत अर्गानिक खाना खुवाउने गरिन्छ । 

अहिले पर्यटकलाई लक्षित गरेर टोड्केमा हाई अल्टिच्युडको प्ले–ग्राउण्ड, वनस्पति उद्यान केन्द्र र हरियाली पार्क निर्माणाधीन अवस्थामा रहेको छ भने रिसोर्टमार्फत कृषि खेती गर्नेतर्फ जोड दिइएको छ । पर्यटन र धार्मिक महत्व बोकेको टोड्के अर्गानिक उत्पादनको हिसाबले पनि अब्बल छ । 

 

थोरै घरधुरी भएको यो ठाउँ व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादी रहित मुलाको खेती गर्दै आएका छन् । टोड्केमा पर्यटकको आगमन बढाउन सडक सञ्जालको स्तरोन्नति आवश्यक रहेको रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो । 

वामपन्थी शक्तिहरूबीच एकता आवश्यक : मन्त्री बस्नेत

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यलाई बलियो बनाउने बताएका छन् । वामपन्थी शक्तिहरूबीच एकतालाई अहिलेको समाजबादी मोर्चाले नेतृत्व गर्ने बताए ।

समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले माओवादी केन्द्र, एकीकृत समाजवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बाहेक पनि अन्य कम्युनिस्ट पार्टीसँग सहकार्य गरिने बताए ।

मन्त्री बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताए । नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाए ।“अबको दुई वर्षभित्र नेपालले बिजुली आयात गर्दैन् । बिजुली निर्यात मात्र गर्ने अवस्था बनाउदैछौ ।” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले गत वर्ष नेपालले रु. दश अर्बको बिजुली बेचेर रु. बीस अर्बको आयात गरेकोमा यसपाली बिजुली निर्यात बढ्ने र आयात घटेको बताए । हालसम्म रु. १४ अर्बको बिजुली निकासी भइसकेको र वर्षको अन्तसम्म यो रु. १८ अर्ब पुग्ने मन्त्री बस्नेतले बताए । यो वर्ष रु. एघार अर्बको मात्र बिजुली आयात हुने मन्त्री बस्नेतको दावी छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्धारा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा स्थानीयलाई सेयर लगानीको व्यवस्था मिलाउने मन्त्री बस्नेतले जानकारी दिए । संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउदै नागरिकलाई अधिकार सम्पन्न गराउने प्रयासमा सरकार रहेको मन्त्री बस्नेतको भनाई थियो ।

समाजवादी मोर्चाका केन्द्रिय सचिव तथा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले संविधान र लोकतन्त्रलाई संस्थागत गर्न प्रगतिशिल शक्तिहरुबीच सहकार्य हुनुपर्ने बताए ।  संघीय व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउदै नेपालमा राजतन्त्र फर्काउने खेल सफल नहुने र लोकतन्त्रको विकल्प नभएको हमालको भनाई थियो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले म्याग्दी जस्तो दुर्गम र विकट जिल्लाका लागि संघीय व्यवस्था वरदान सावित भएको बताए । “म्याग्दीको गुर्जा बाहेक सबै ठाउँका साढे बाईस सय घरमा विद्युतिकरण गर्न रु. बीस करोड ५१ लखको ठेक्का सम्झौता भएर काम शुरु भएको छ ।

गण्डकी प्रदेश सरकारबाट मात्र म्याग्दीमा यस वर्ष सडक स्तरोन्नति र पुलका लागि रु. एक अर्ब २५ करोडको बहुबर्षीय ठेक्का लाग्दैछ,” उनले भने । “हिजो एउटा गाविसमा रु. २५–३० लाख बजेट आउँथ्यो । अहिले एउटै वडामा करोड भन्दा बढीको योजना भित्रिएको छ । विकासको गतिबिधि गाउँगाउँमा बढेको छ । सहरको बिकास गाउँमा पुग्न थाल्नुनै संघीयताको उपलब्धी हो ।”

कार्यक्रममा नेकपा रणविर (सि), भरत (सि), नेकपा एकिकृत समाजवादीका गोविन्द सुवेदी र कृष्णकुमार विश्वकर्माले मन्तब्य व्यक्त गरेका थिए । मोर्चाको आवश्यकता र योजनाको विषयमा नेता कार्यकर्ताहरुलाई जानकारी गराउदै प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेकपाका नेता गोपाल पौडेलले बताए ।

 

जेसीज कप फुटबलको फाइनलमा न्यू वेष्ट प्वाइन्ट र माउण्ट एभरेष्ट भिड्ने

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् ।

शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा तय गरेका हुन् । न्यू वेष्ट प्वाइन्टका खेल सुरु भएको २० मिनेटमा सुनिल थापाले गोल प्रहार गदै अग्रता लिएका थिए । त्यस्तै दोस्रो हाफको ४८ औं मिनेटमा प्रवेश घर्तीले अर्को गोल गदैं अग्रता लिएका थिए ।

बेनी सामुदायिकको डिफेन्स कडा हुँदाहुँदै पनि मिसपासका कारण पाएका राम्रा अवसरलाई समेत गुमाउनु परेको थियो। खेलमा पहिलो हाफमा १ गोलको दवावमा परेको बेनी सामुदायिक दोस्रो हाफमा समेत अर्को गोलको सामाना गरेपनि चर्को दवावमा परेको थियो ।

यता माउण्ट एभरेष्टसँग निकै प्रतिस्पर्धात्मा खेल खेलेको हेम मावि सिवाङले पेनाल्टीमा लय गुमाउँदा सेमिफाइनलबाटै बाहिरिएको छ । निर्धारित समय अवधिमा माउण्ट एभरेष्टलाई चर्को दवावमा राखेका हेम माविका खेलाडीले पेनाल्टीमा कमजोर प्रर्दशन गरेका थिए ।

प्रतियोगितामा उपाधीको दाबेदार मानिएका बेनी सामुदायिक र हेम माविलाई पन्छाउँदै फाइनलमा प्रवेश गरेका दुबै टिमको खेल आइतबार ११ बजे हुने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले बताए ।

न्यु वेष्ट प्वाइन्टका कप्तान समन थापा र माउण्ट एभरेष्टका कप्तान सनम विकले जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका छन् । समन सर्वाधिक गोलकर्तामा अग्रस्थानमा छन भने सनमले पच्छाइरहेका छन् ।दुबै विद्यालयका कप्तानले आफ्नो टिमलाई समाल्दै खेलेकाले फाइनल निकै रोचक हुने निश्चित छ ।

न्यु वेष्ट प्वाइन्ट र माउण्ट एभरेष्टले दुबै टिमको कमजोरीलाई केलाउँदै नतिजा आफ्नो पोल्टामा पर्ने तयारीमा छन् । निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा घरेलु मैदान, नियमित अभ्यास र चर्को हुटिङका बिच आइतबारको फाइनल खेलमा खुल्लामञ्च खचाखच भरिने छ ।

बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

राहुघाटमा सबै म्याग्देली सेयरको हकदार बनाइनेः मन्त्री बस्नेत

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका राहुघाट सहितका जलविद्युत आयोजनाको सेयरको हकदार सम्पूर्ण म्याग्देलीलाई बनाइने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निरिक्षणका लागि शनिबार म्याग्दीमा आएका उर्जामन्त्री बस्नेतले राहुघाट जलविद्युतको सेयर सम्पूर्ण म्याग्देलीको पहुँचमा पुग्ने गरी ब्यवस्था मिलाउने प्रतिबद्धता जनाए।

राहुघाटको निर्माणलाई गति दिन मन्त्री बस्नेतले निर्देशन दिदैं हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन सरकार प्रतिबद्ध रहेको र नीतिगत ब्यवस्था समेत गरिएको बताए । उनले निजी तथा सरकारी स्वामित्वका निर्माणाधिन विद्युत आयोजनालाई लक्ष्य अनुसारको काम गर्न सरकारी प्रक्रियालाई समेत सहज बनाइने बताए ।

आयोजना निर्माणको जिम्मा पाएका स्वदेशी तथा विदेशी ठेकेदार कम्पनीले लाइसेन्स ओगटेर एवं पीपीए गरेर काम नगर्ने अवस्थामा सरकारले कडाई गरेको बताए ।

लाइसेन्स मात्र होल्ड गरेर बस्नेको खोसेर स्रोत सुनिश्चित भएकालाई दिने बताए । नेपालमा ठूला जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले समग्र देशलाईनै नोक्सानी भएको बताउदै मन्त्री बस्नेतले विभिन्न बाहना बनाएर काम रोक्ने आयोजनाको सूची बनाएरै कारवाहीको प्रक्रियामा जाने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आयोजनाका अधिकारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिबिधिले आगामी २५ महिनाभित्र निर्माण सम्पन्न हुने जानकारी गराएका हुन् । मन्त्री बस्नेतको टोलीले म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधिन आयोजनाको विद्युतगृह निरिक्षण गरेका थिए । नदीजन्य निर्माण सामग्रीको आपुर्तिका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्नुपर्ने बताए ।

आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजना सहित काम भैरहेको बताए ।

६ किलोमिटर दुई सय मिटर सुरुङ मध्य अब ७०० मिटर मात्र खन्न बाँकी छ, बाँध, विद्युतगृह निर्माणको काम पनि पचास प्रतिशत भन्दा बढी सकिएको छ । अबको २५ महिनाभित्र विद्युत उत्पादन गर्ने कार्ययोजना सहित निर्माण कार्य भैरहेको छ । निर्माण कम्पनी जयप्रकाश एसोशियट्सका आयोजना व्यवस्थापक हरिस अग्रवालले नदीजन्य निर्माण सामग्रीको अभाव आयोजना निर्माणका लागि चुनौति बनेको बताए ।

सर्वोच्च अदालतको वि.स. २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो । ठेक्का सम्झौतामा कालीगण्डकीको नदीजन्य सामग्री प्रयोग गर्ने उल्लेख भएको र कालीगण्डकीबाट सामग्री नपाउँदा समस्या भएको आयोजना व्यवस्थापक अग्रवालले बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राहुघाट लगायत कालीगण्डकी र सहायक नदीहरुबाट उत्पादन हुने विद्युत केन्द्रिय ग्रिडमा जोड्न २२० केभी क्षमताको कालीगण्डकी कोरीडोर प्रशारण लाइन निर्माण भइसकेको बताए । उनले अब नेपालले विद्युत आयात रोकेर निर्यातमा केन्द्रित हुने बताए ।

म्याग्दी जेसीज कपमा चम्किएका समन र सनम

म्याग्दीको सदरमुकाम बेनीमा भइरहेको २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि बिरुद्ध न्यु वेष्ट प्वाइन्ट आवासिय माविका कप्तान समन थापाले उत्कृष्ट फ्रि–किक प्रहार गरे ।

करिब ३५ टाढाबाट हानेको फ्रि किक प्रहार गरेर सोझै गोल परिणत गरेका थियो । जारी प्रतियोगितामा हालसम्म भएका गोलमा फ्रि–किक बाट समनले प्रहार गरेको गोल सर्वोत्कृष्ट गोल मानिएको छ ।न्यु वेष्ट प्वाइन्ट आवासिय माविका कप्तान समन थापा

न्यू वेष्ट प्वाइन्टबाट विगत तीनबर्ष लगातार म्याग्दी जेसीज कपमा खेलेका समनले मंगला माविसँगको खेलमा एक्लै ४ गोल गरे । फुटबलमा गोलरक्षक बाहेक अन्य सबै पोसिजनमा उत्कृष्ट समन म्यान अफ दी म्याच घोषित समेत भएका छन्। आफ्नो कप्तानीमा मैदानमा उत्रिएका समनले यसपटक उपाधीका लागि आफ्नो टीमका लागि निकै मेहनत गरेका छन्।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका समन न्यू वेष्ट प्वाइन्टमा कक्षा १० मा अध्ययनरत छन् । समनले ३ खेलमा ९ गोल प्रहार गदै सर्वाधिक गोलकर्ताको सूचीमा छन्।

जेसीज कपका खेलाडीहरूको भिडमा माउण्ट एभरेष्ट आवासीय माविका कप्तान सनम विकको चर्चा पनि उत्तिकै कम छैन। शुक्रबार बगरफाँटको सरस्वती आधारभुत विद्यालयलाई एक्लै ६ गोल प्रहार गरेका थिए ।

एउटै खेलमा डबल ह्याट्रिकको रेकर्ड गर्ने खेलाडीमा सनम एक्लै छन् ।पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका समनले ६ गोल प्रहार गर्दा माउण्टले सरस्वती आधारभुत विद्यालमाथि ११ गोलको वर्षा गरेको थियो । म्याग्दी जेसीजमा दोस्रोपटक खेलिरहेका सनमको खेल्ने शैली नै फरक छ ।

खेलमैदान भित्र सनमको स्वभाव र शैलीबाट खेलाडीसँगै दर्शक समेत उत्साहित छन् । चरम गरिबीसँगै हुर्किएका सनमको उत्कृष्ट कप्तानी र खेलले माउण्ट एभरेष्ट सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्याग्दी जेसीजमा सदरमुकाम बेनीका दुई निजी विद्यालयका कप्तानको सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धासँगै उपाधी आफ्नो पक्षमा पार्ने निकै मेहतन गरेको देखिन्छ । ‘दुबै कप्तानले उत्कृष्ट खेल प्रर्दशन गरेका छन्,‘म्याग्दीबाट फुटबलमा सम्भावना भएका खेलाडी पनि हुन्’ म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले भने ।

उनले फुटबलमा उत्कृष्ट खेल खेलिरहेका खेलाडीलाई अभ्यास तथा अन्य प्रोत्साहनका गतिविधि आवश्यक रहेको बताए । म्याग्दी फुटबल संघका अध्यक्ष समेत रहेका बानियाँले जेसीज कपले विद्यालयस्तरमा रहेका खेल प्रतिभाको पहिचानमा सहज भएको बताए ।

एउटै खेलमा डबल ह्याट्रिकका र ह्याट्रिक गर्ने खेलाडीलाई उचित प्रशिक्षणको आवश्यकताका बारेमा संघमार्फत पहल समेत गर्ने बताए । म्याग्दी जेसीज कपको इतिहासमा सर्वाधिक धेरै २३ विद्यालय सहभागी रहेको प्रतियोगितामा क्वाटर फाइनमा प्रवेश गरेका सदरमुकाम बाहिरको जनप्रिय र हेम मावि सिवाङका साथै बेनी सामुदायिक माविले समेत यसपटक राम्रो खेल देखाइरहेका छन् ।माउण्ट एभरेष्ट आवासीय माविका कप्तान सनम विक

फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले जेसीज कपका उत्कृष्ट खेलाडीको छनौट गरी नियमित अभ्यास सहित सरकारी निकायबाट समेत सहयोग गर्न सकेमा म्याग्दीबाट गण्डकी र राष्ट्रियस्तरको प्रतियोगितामा समेत राम्रो खेल देखाउन सक्ने बताए । उनले विगतमा समेत राष्ट्रियस्तरको खेलसम्म पुग्ने धेरै खेलाडीहरु म्याग्दी जेसीज कपमै खेलेको बताउँदै अब सम्भावना भएका खेलाडीलाई प्रोत्साहनमा ढिलाइ गर्न नहुने बताए ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

ताकमको वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन  

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गर्नुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुुभयो ।

“यसअघि पधेराचौरमा रहेको सामुुदायिक भवनको सभाहलमा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “वडाको आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हुुनेछ् ।” वि.स. २०७७ पुुषमा भवन निर्माण शुुरु भएको थियो ।

सामुुदायिक भवन अघि आरसीयुुपी परियोजनाले बनाएको भेटेरीनरीको भवनबाट वडा कार्यालय सञ्चालन भएको थियो । दुुई चरणमा करिब रु. ६१ लाखको लागतमा भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । वि.स. २०७७ मा रु. ४७ लाखमा ठेक्का सम्झौता गरेको डोल्पो कन्ट्रक्सनले भवनको संरचना तयार पारेको थियो ।

पहिलो चरणमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु. तीस लाख सहयोग गरेको थियो । दोस्रो चरणमा २०७८ मा जयमा लक्ष्मी कन्ट्रक्सनसँग रु. १५ लाखमा भएको ठेक्का सम्झौता मार्फत पलास्टर, रंगरोगन, बिद्युुत, पानी जडान लगायतको काम भएको थियो ।

फर्निचर व्यवस्थापन गरेर नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको वडा सचिव तमबहादुुर बिकले बताउनुुभयो । चार वटा कोठा रहेको भवनमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, सभाहल र बैठक कक्ष छन् ।

वडा कार्यालय भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुुवेदी, पुुर्व वडा अध्यक्ष कलानिधी शर्मा, अन्य वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

गाउँपालिकाका अध्यक्ष पुुनले सेवा प्रवाहलाई सहज बनाउन प्रशासकीय सहित वडा र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुुभयो । ताकम, मल्कवाङ र लुुलाङमा वडा कार्यालय, गुुर्जा र मुुनामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

ताकममा अलपत्र रहेको पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पूूर्णता दिन व्यवसायिलाई ताकेता गरिएको बताउनुुभयो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको उपाध्यक्ष रेशम पुुनमगरले बताउनुुभयो । –

बेनी नगरपालिकाको प्रथम चौमासिकमा ११ प्रतिशत बढी पुँजीगत खर्च

म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज (शुक्रवार) ५ नम्बर वडा कार्यालय पुलाचौरमा चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा भए गरेका सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनवाइ र प्रगति समीक्षा गरिएको हो ।

बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च भएको जनाएको छ । पुँजीगततर्फ चालु आवमा १७ करोड ९१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासिकमा दुई करोड १० लाख ७८ हजार रुपैयाँ खर्च भएको छ ।

यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार अर्थात् २० दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ ।

त्यस्तै चालु आवमा कुल चार करोड ५४ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने अनुमान गरिएकोमा हालसम्म एक करोड १५ लाख ४५ हजार रुपैयाँ अर्थात् २५ प्रतिशत राजश्व सङ्कलन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो ।

विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा पाँच दशमलव ३७ प्रतिशत, सामाजिक विकासतर्फ २२ दशमलव ३६, पूर्वाधारतर्फ १४ दशमलव ९४, सुशासन तथा अन्तरसम्बन्धितमा सात दशमलव ७६ र कार्यालय तथा प्रशासनिक क्षेत्रमा २८ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आवको पहिलो चौमासिकमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइमा विषयगत शाखाको समेत संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले पुलाचौर स्वास्थ्यचौकीमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन नभएको, उपभोक्ता समितिहरुलाई पेश्की दिनुपर्ने, कक्षा १–५ मा दरबन्दीअनुसार शिक्षकको व्यवस्थापन गर्नुपर्ने, तातोपानी कुण्ड, गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई करको दायरामा ल्याउनुपर्ने, निर्माणाधीन रावणपार्कलाई तीव्रता दिनुपर्ने, बेनी–पुलहाश्रम र जगन्नाथसम्मको सडक स्तरोन्नति गर्नुपर्नेलगायत गुनासाहरु गरेका थिए ।

यसअघि सम्पन्न सार्वजनिक सुनुवाइमा उठेका सवाल र सम्बोधन भएका विषयहरुलाई पनि जोड्नुपर्ने, नगरपालिकामा प्रदेश र केन्द्रबाट आएका योजनाहरुको विषयमा जानकारी दिनुपर्ने, सार्वजनिक जग्गा व्यक्तिगत बनाएकाले यसलाई कानुनी दायरामा ल्याउनुपर्ने, समुदायस्तरमा सचेतना तथा महिलासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, अव्यवस्थित रुपमा टाँगिएका बिजुलीका तार र पोलहरु हटाउनुपर्ने तथा कृषकलाई सहजीकरण गर्नुपर्नेलगायत मागहरु सहभागीहरुले उठाएका छन् ।

सार्वजनिक सुनुवाइमा रामप्रसाद सुवेदी, रामचन्द्र पौडेल, टंकनाथ शर्मा, हरिप्रसाद पौडेल, यामबहादुर बानियाँ, शान्ति शर्मा, मोतिलाल नेपाली, यामबहादुर बानियाँ (रामु), भोजबहादुर कार्की, गिरेन्द्र बानियाँ, खड्कबहादुर दर्जी, प्रेमबहादुर नेपाली, यामकुमारी पुन र प्रेमबहादुर बानियाँले प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएको प्रश्न तथा जिज्ञासाको उत्तर दिँदै नगर प्रमुख सुरत केसीले ग्रामीण भेगमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बिक्री वितरणको व्यवस्थापन गर्ने पहल भैरहेको जानकारी दिनुभयो । उहाँले अव्यवस्थित रुपमा विद्युतका पोल र तारहरुलाई व्यवस्थापन गरिने बताउँदै बेनी नगरपालिकाले कुनै पनि करको दररेट परिवर्तन नगरिएको बताउनुभयो । कानुनी झमेलाका कारणले भाडादर समायोजनमा समस्या भएकाले समाधानका लागि आवश्यक पहल गरिने उहाँको भनाइ छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा जोड दिइएको बताउँदै यसवर्ष बेनीको २ र १० नम्बर वडामा ‘उपमेयरसँग आमा’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेल, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), बेनी अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर अनुषा मानन्धर र बेनपाका इन्जिनियर बिमलरञ्जन कार्कीले कार्यक्रम तथा योजनाको बारेमा जानकारीसहित जवाफ दिनुभएको थियो । कार्यक्रम बेनी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालन, पत्रकारद्वय कमल खत्री र प्रताप बानियाँले सहजीकरणमा सम्पन्न भएको थियो ।

माउण्ट र वेष्ट प्वाइन्ट सेमीफाइनलमा

बेनी बजारका न्यु वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय र माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बेनीमा जारी जेसीजकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेकाछन् । पहिलो क्वाटर फाइनलमा सारदा माध्यमिक विद्यालय छिस्वाङलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै न्यू वेष्ट प्वाइन्टले सेमीफाइनलमा स्थान बनाएको हो । त्यस्तै म्याग्दी एकेडेमी सिंगालाई एक शुन्य गोल अन्तरले पराजित गर्दै माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले सेमीफाइनलमा स्थान बनाएको हो ।

तेश्रो क्वाटर फाइनलमा बेनी सामुदायिक मावि र जनप्रिय मावि र चौथो क्वाटर फाइनलमा बेनी बोर्डीङ र हेम मावि सिवाङ बीचको खेल शनिबार हुने म्याग्दी जेसीजले जनाएको छ । बेनी सामुदायिक मावि र हेम मावि बिचको बिजेताले वेष्ट प्वाइन्ट संग र बेनी सामुदायिक मावि र जनप्रिय मावि बीचको बिजेताले माउण्ट संग सेमीफाइनलमा भिड्ने छन् ।

प्रिक्वाटर फाइनलमा जनप्रिय माविले धौलागिरी माबिलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेस गरेको थियो । त्यस्तै अर्को खेलमा बेनी बोर्डीङले सरस्वती माध्यमिक विद्यालय तातोपानीलाई पराजित गरेको थियो । गलेश्वर मावि तोरीपानीलाई पराजित गर्दै बेनी सामुदायिक मावि क्वाटर फाइनल प्रवेश गरेका छन् । अर्को प्रि क्वाटरमा माउण्ट एभरेष्टले सरस्वती आधारभुत विद्यालयलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो ।प्रतियोगितामा जिल्लाका विभिन्न २३ विद्यालयले सहभागीता जनाएका छन् ।

म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमिफाईनलिष्ट दुई टिमलाई नगद ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह–प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष, शैक्षिक प्रायोजक एभरेष्ट ग्लोबल कन्सल्टेन्सी, होटल प्रायोजक होटल डाँफेले गरेको छ ।प्रतियोगितामा जिल्ला भित्रका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले विद्यालयको तर्फबाट प्रतियोगितामा सहभागीता जनाउदै छन् । गत वर्ष भएको जेसीजकपमा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए भने यस वर्ष संख्या बढेको छ ।