Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 466

सडकले पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटकलाई सास्ती

????????????????????????????????????

केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए ।

पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।

होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताए। “घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ”, उनले भने ।

गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ । जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताए।

विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताए । “विदेशी नेपालको रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन, त्यसैले सडकले विस्थापित भएका ट्रेकिङ ट्रेललाई सडकले नछुने गरी पुनःनिर्माण गर्न जरुरी छ”, उनले भने । उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्ग क्षेत्रमा सडक विस्तारले पदमार्ग विस्थापित भएका छन् भने पर्यटकको यात्रा अवधिसमेत छोटिएको छ ।

पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गरी फर्कँदै गरेकी अमेरिकी पर्यटक ग्योरीले प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रलाई पदमार्ग मासेर खसेका सडकको धुँवा र धुलो समस्याका रूपमा देखिएको अनुभूति सुनाइन्। “हामी पहिलोपटक यहाँ आएका हौँ, पुनहिल साँच्चिकैको रमणीय रहेछ, यहाँबाट देखिने हिमशृङ्खला र सूर्योदयले मनै लोभ्याएको छ, तर यहाँ आइपुग्दा पदयात्रामा सडकको धुलो र धुँवाले हामीलाई नमज्जा लाग्यो”, उनले भनिन् ।

सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् । आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ ।

यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् । सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् । -रासस

मुस्ताङबाट ४९ करोडको स्याउ निकासी

मुस्ताङबाट यस वर्ष ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।

स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएको मध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताए । “मुस्ताङमा फलेको मध्ये ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको छ”, उनले भने, “करिब पाँच सय मेट्रिक टन स्याउ बेमौसममा बिक्री गर्न चिस्यान गृहमा राखिएको छ ।” कृषकले बिक्री गरेको सरदर प्रतिकिलो एक सय १० का दरले हिसाब गर्दा रु ४९ करोड २५ लाख २५ हजार मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत सहरका व्यापारीले बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रुपमा स्याउ किनेर लैजाने गर्छन् । धादिङबाट स्याउ खरिद गर्न मुस्ताङ पुगेका व्यापारी शिवाङ तामाङले बेनी, बागलुुङ र पोखराका बजारमा मुस्ताङको स्याउको माग उच्च हुने गरेको बताए । पातलो फले पनि दाना ठूला र स्वादिष्ट रहेको उनले बताए ।

बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छन् । मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती गरिएको छ । मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटले उत्पादन दिने गरेको छ । करिब ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती गरिएको छ ।

गत वर्ष मुस्ताङमा छ हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएकामा यसपालि २४ दशमलव ५८ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए । “फूल खेलेर परागसेचन हुुने समयमा धेरै वर्षा हुँदा फूलबाट स्याउको दाना कम लागेकाले उत्पादन घटेको हो”, उनले भने, “स्याउको फूल फुल्ने समय वैशाख–जेठ महिनामा वर्षाले स्याउ बोटमा परागसेचन (पोलिनेसन)हुन नपाउँदा उत्पादनमा असर परेको हो ।”

केन्द्रले मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैँचामा क्रम कटिङ विधिबाट उत्पादकत्वको विवरण सङ्कलन गरेर तथ्याङ्क बनाएको जनाएको छ । थासाङ गाउँपालिकाको कूल एक सय आठ हेक्टरमा पाँच सय ५१ दशमलव ८८ मेट्रिक टन, घरपझोङ गाउँपालिकाको दुई सय ८२ हेक्टर क्षेत्रफलमा दुई हजार चार सय दुई दशमलव ६४ मेट्रिक टन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक सय ८३ हेक्टर क्षेत्रफलमा एक हजार नौ सय २३ दशमलव ३३ मेट्रिक टन, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको १२ हेक्टरमा ९५ मेट्रिक टन र लोमान्थाङ गाउँपालिकाको शून्य दशमलव २५ हेक्टर क्षेत्रफलमा एक दशमलब ९९ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

गत वर्ष पाँच करोड मूल्यको स्याउ बिक्री गरेका घरपझोङ गाउँपालिका–२ स्याङका किसान कर्म गुरुङले यस वर्ष तीन करोडको मात्र स्याउ बिक्री भएको बताए । उनको बगैँचामा एक हजार पाँच सय बोट स्याउले उत्पादन दिन्छ । स्याउ टिपेर बजार पठाएपछि मुस्ताङका किसान बगैँचामा व्यवस्थापनमा जुटेका छन् । सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउ खेतीमा आकर्षित भएका छन् ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्षसम्म कूल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको थियो । यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिँचाइ, चिस्यान गृह निर्माणलगायत काममा किसानलाई सहयोग गरेका छन् । रासस

युएईको जेलमा परेका छोरालाई नेपाल फर्काइदिन कमलप्रसादको अपिल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६घार खिम्जाका कमलप्रसाद बरुवालले संयुक्त अरब ईमिरेट्स (युएई) को जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन अपिल गरेका छन् ।

 

वैदेशिक रोजगारीको सिलसिलामा बि.स २०७४ सालमा यूएई पुगेका ३० वर्षीय सुरज बरुवाल सवारी दुर्घटनामा जेलमा रहेको भन्दै छुटाएर नेपाल ल्याउने पहल गरिदिन अनुरोध गरेका हुन् ।

गएको साउन १ गते ट्याक्सी कम्पनीको उजुरीमा पक्राउ परेका बरुवालको परिवारले अभियोग र त्यहाँको नीति नियम र कानुनको बारेमा जानकार नहुँदा घर फिर्तीमा समस्या भएको बताएका छन् ।  ‘जेलबाट छुटाउनका लागि पनि ऋण खोजेर साढे ५ लाख पठाइसकेका छौ,पैसा लैजानेले समेत अहिले विभिन्न बाहना बनाइरहेको छ’ कमलप्रसादले भने ।

उनका अनुसार सुरजको चिनजनाको साथीलाई दुईपटक पैसा पठाएपछि अहिले विभिन्न बाहना बनाउने गरेको बताए ।ब्लडप्रेसर, सुगर र पिसान सम्बन्धि समस्याबाट ग्रसित छोरालाई जेलभित्र निकै समस्या भएकाले उद्धार गरी घर फर्किने वातावरण बनाइदिन कलमप्रसादले त्यहाँ रहेका म्याग्देली, नेपाली संघसंस्था र नेपाली दुतावासलाई अपिल गरेका छन्।

‘मेरो छोरा बिरामी छ,दैनिक मुखबाट रगत बग्छ, खर्च पनि छैन भन्दै रुदै फोन गर्छ’ कमलप्रसादले भक्कानिदैं भने । जेलमा परेको कारण समेत अहिलेसम्म परिवारका सदस्यलाई जानकारी छैन । नेपाल फर्काईदिन गुहार माग्दैं नेपाल दुतावाससम्म पुग्न सक्ने अवस्था नभएकाले प्रवासमा रहेका म्याग्देलीलाई सहयोगको अपिल गरिएको कमलप्रसादको भनाई छ ।

अरेबियन ट्याक्सी कम्पनी छोडेर बसेको अवस्थामा पासर्पोटको म्याद पनि सकिएको अवस्थाको समेत उनले बताए । सुरज यूएईको आजमान जेलमा रहेका छन । कमलप्रसादको दुई छोरा, एक छोरी छन् ।

माथिल्लो तातोपानीको ३ सय मिटर सडक कालोपत्रे

बेनी नगरपालिका-४,सिंगास्थित माथिल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत पर्ने तातोापनी बजारको ३ सय मिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ ।

बेनी नगरपालिकाको ३० लाख बजेटमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो । ‘तल्लो र उपल्लो तातोपानी बजार कालोपत्रेसँगै स्थानीय र पर्यटकलाई सहज भएको छ,‘स्थानीय समुदायको सहयोगले पनि काम गर्न सहज भयो’ अध्यक्ष खड्काले भन्नुभयो ।

उहाँका अनु्सार बजार क्षेत्रमा सडकसँगै तटबन्धन सहितका समस्या समाधानका लागि समेत नगरपालिकामार्फत प्रदेश र संघीय सरकारसँग बजेट समेत माग गरिएको छ । तल्लो र माथिल्लो तातोपानी बजारको सडक कालोपत्रे सडकले पश्चिम म्याग्दी जाने र तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको स्थानीय होटल ब्यवसायी कुमार केसीले बताउनुभयो ।

श्रमजिवि निर्माण कम्पनीले ठेक्का लिएर काम सुरू गरेको कालोपत्रे सडकको नियमित अनुगमन तथा प्राविधिक सहितको निगरानी समेत भइरहेको छ । निर्माण ब्यवसायी प्रकाश बानियाँले स्थानीयबासी, जनप्रतिनिधि सहित सरोकारवाला निकायको समन्वयमा मापदण्ड अनुसार नै काम भइरहेको बताउनुभयो ।

गतबर्ष बेनी नगरपालिकाले तल्लो तातोपानीमा ३३९ मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्रे, २० मिटर लामो मेसिनरी पर्खाल, सवारी आवतजावतलाई असहज बनाएको ठुलो ढुङ्गा फुटाउने र १०३ मिटर सडक ढलान करिब ३६ लाखभन्दा बढीमा सकिएको थियो ।

प्राकृतिक उपचार गर्न आउने विरामी लगायतको संख्यामा बृद्धि हुन थालेपछि कुण्ड स्नान गर्ने पूर्वाधारलाई ब्यवस्थित, स्थानीय होटल ब्यवसायीले होटलको सुविधा विस्तार र स्थानीय सरकारले सडक लगायतको पूर्वाधार निर्माणमा जोड दिएको छ । बेनी देखि तातोपानी बजार हुदैँ मंगला गाउँपालिकाको सिमसम्मको १२ किलोमिटर सडक कालोपत्रे भएपछि यात्रुलाई निकै सहज भएको छ ।

जेसीज कपमा प्रि-क्वाटर फाइनलका खेल शुरु

म्याग्दीको बेनीमा जारी २१ औं जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटवल’ प्रतियोगिताको प्रि–क्वारट फाइनलको खेल शुरु भएको छ । २३ वटा विद्यालयले सहभागिता जनाएको जेसीज कप फुटबलमा बिहीबारबाट दोश्रो चरणको खेल शुरु भएको छ । दोश्रो चरणको खेल अन्तरगत हेम माध्यमिक विद्यालय सिवाङले किसानी चन्द्रकुन्ता माविलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ ।

निर्धारीत समयको खेल एकएक गोलको बराबरिमा सकिएपछि भएको ट्राइब्रेकरमा हेम माध्यमिक विद्यालयले १५–१४ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो । त्यस्तै जामुनाखर्क माविलाई पराजित गर्दै डिफेण्डीङ च्याम्पियन सारदा माविले पनि क्वाटर फाइनलमा स्थान बनाएको छ ।

निर्धारीत समय गोलरहित बराबरिमा सकिएपछि भएको ट्राइब्रेकरमा ५–४ गोलअन्तरले जामुनाखर्कलाई पराजित गर्दै सारदाले अघिल्लो चरण प्रवेश गरेको हो । त्यस्तै अर्को खेलमा म्याग्दी एकेडेमी सिंगाले गौ बमबस्त माविलाई १–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

पहिलो चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

त्यस्तै प्रकाश मावि बेनीलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै गौबमवस्त मावि देविस्थान दोस्रो चरणमा प्रवेश गरेको छ । खेलमा मंगला माविलाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गर्दै न्यू वेष्ट प्वाईन्ट दोस्रो चरणमा प्रवेश गरेका छ । माउण्ट एभरेष्ट र केबी एकेडेमी दरवाङविचको खेलमा एक÷एक गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा (८–७) गोल अन्तरले माउण्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको हो ।

किसानी मावि विमलाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गर्दै बेनी सामुदायिक विद्यालय बेनी पनि दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी लिटिल गार्डेन एकाडमीलाई पराजित गर्दै सरस्वती माध्यमिक विद्यालय तातोपानी एवम् बालमन्दीर माध्यमिक विद्यालयलाई पराजित गर्दै जनप्रिय माध्यमिक विद्यालय दरवाङले दोश्रो चरणमा स्थान बनाएका छन् ।

जारी जेसीजकप म्याग्दी जेसीजको आयोजना र राम–विमला फाउण्डेशनको मुख्य प्रायोजनमा सञ्चालन भै रहेको छ ।
प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार दुई सय २२ र उप–बिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार दुई सय ३२ रुपियाँ पुरस्कार प्रदान गरिने जेसीज कप फुटबलका मुल संयोजक विनोद घर्तीले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार पाँच सय रुपियाँ नगद प्रदान गरिने छ । अनुशासित टिमलाई नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले बताउनुभयो ।

माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।

 

 

डिजिलट हिंसाको न्यूनिकरण आवश्यकता !

गत शनिबारदेखि म्याग्दीमा स्थानीय तह, गैरसरकारी संस्थाहरुद्वारा विविध कार्यक्रम गरी लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान मनाइरहेका छन् । विगत एक सातादेखि दैनिकजसो म्याग्दीका ग्रामिण क्षेत्रमा अभियान अन्तरगत विभिन्न सार्वजनिक कार्यक्रमहरु भइरहदाँ परिवार र समाजमा महिलामाथि परम्परागत रूपमा हुने हिंसा बाहेक ‘डिजिटल प्लाटफर्म’ मार्फत महिलामाथि हिंसा समेत ह्वात्तै बढेको छ ।

जिल्लाभित्र हुने लैंगिक हिंसाका घटनासँगै घरपरिवारको सुन्दर भविस्यका लागि खाडी पसेका महिलाहरू समेत घरेलु हिंसाको चपेटामा परेका छन् । स्वदेश तथा विदेशमा हिंसामा परेका महिलाको अवस्था दिनप्रति दिन चिन्ताजनक रूपमा बढ्दै गएको छ । सूचना प्रविधिको विकास एवं पहुँच व्यापक बन्दै जाँदा महिला तथा बालिका डिजिटल प्लाटफर्ममा असुरक्षित हुँदै गएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा हिंसाको बदलिँदो स्वरूपप्रति पनि उत्तिकै ध्यान दिनुपर्नेमा सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

लैंगिक हिंसाविरुद्धको अभियानमा म्याग्दीमा पुरुष,महिला र बालबालिकामाथि हुने वा भइरहेका हिंसाका घटनाक्रम र त्यसका स्वरुप विश्लेषण गर्ने गरिएपनि डिजिटल प्लाटफर्ममा चिन्दै नचिनिएको, देख्दै नदेखिएको व्यक्तिबाट हुने हिंसा, दुव्र्यवहार न्यूनीकरणका लागि आवश्यक सावधानी र सचेतनामुलक अभियान सञ्चालन हुन सकेको छैन । म्याग्दीमा १ लाखभन्दा धेरै जनसंख्या दुरसञ्चारको पहुँचभित्र छन्।

जिल्लाका ६ वटै स्थानीय तहका अधिकांस बस्तीमा इन्टरनेटको पहुँच छ । स्मार्टफोन र इन्टरनेट प्रयोगकर्ताको हिस्सा दिन प्रतिदिन बढेको छ । जनचेतनाको अभाव र सचेत नागरिकले समेतसामाजिक सञ्जालमा के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने थाहा हुँदैन । किशोरी, बालबालिकाले हिंसा हुँदै छ भन्ने पत्तो समेत पाउँदैनन र समस्यामा परेपछि कानुनी अभ्यासको खोजीमा निस्किन्छन् ।

डिजिटल विभेद भित्रभित्र भुसको आगोसरी फैलिरहेको अवस्थामा म्याग्दीका सरोकारवाला निकायले यसका बारेमा गहन अध्ययन तथा विश्लेषण गर्नेतर्फ कुनै कार्य नगर्दा दुख लागेको छ । डिजिटल प्लाटफर्ममार्फत हुने हिंसाको बढ्दो क्रमलाई न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले समुदायस्तरमा लघु सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

प्रहरी कार्यालयमार्फत सानो, ठूलो समुहमा साइवर अपराध, आत्महत्या, लागु पर्दाथ दुब्र्यसनी बिरुद्धका अभियानहरू सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा डिजिटल प्लाटफर्ममा एक व्यक्तिको फोटोमा टाउको जोडिदिएको, चिठ्ठा परेको भन्दै लाखौंको प्रलोभनमा परी बैंक एकाउन्टबाट पैसा निकालेको,धम्क्याएका, फेक आइटी खोलेर फेसबुक दुरुपयोग, सामाजिक सञ्जालमार्फत गालीबेइजती, अनावश्यक भिडियो पठाएर मानसिक तनाव दिने गरेको गुनासो लिएर पीडित जाने गरेका छन्।

चालु आवमा अनलाइन हिंसासम्बन्धि फुटकर उजुरी ७ वटा दर्ता भएपछि आवश्यक कारवाही गरी पठाइएको छ। सामाजिक सञ्जालमा अहिले पुरुष र महिलालाई फरक विचार राख्ने भन्दै अश्लील गालीगलौज गर्ने प्रवृत्ति पनि देखिएको छ । हिंसाका विविध स्वरुप, तरिका फेरिएपनि दिवस मनाउने शैली भने एकदशक अगाडीकै जस्तै छ ।

प्रभातफेरी, लामो मन्तब्य लगायतका औपचारिक कार्यक्रमहरु मात्रै भइरहेको अवस्थामा अहिलेको वर्तमान अवस्थामा डिजिटल विभेदलाई न्यूनीकरणको लागि झकझक्याउने अभियान सञ्चालनको आवश्यकता छ ।

मानिस झन्झन् शिक्षित र सचेत हुँदै गएको भनिएपनि हिंसाका घटना झनै डरलाग्दो तरिकाले बढिरहेको अवस्थामा डिजिटल प्लाटफर्मको नियमन–निगरानी र कारबाही प्रक्रिया प्रभावकारी बनाउनुपर्छ । प्रयोगकर्तालाई यस्ता प्लाटफर्म सभ्य र सुसंस्कृत रूपमा चलाउन प्रेरित गर्नु आजको समयको आवश्यकता हो ।

अब स्थानीय तहले सरोकारवाला निकायसँग मिलेर भौतिक, डिजिटल वा अन्य विभिन्न प्रकारका हिंसाबाट समाजलाई मुक्त बनाउन विशेष अभियान सञ्चालनमा गर्नु पर्दछ । पुरुष, महिला, किशोरी र बालिकालाई अनलाइनबाट हुने हिंसाबाट कसरी जोगिने भनेर सतर्क पार्न जरुरी छ, उत्ति नै महत्वपूर्ण लैंगिक हिंसा बिरुद्धका दिवस र कार्यक्रमको स्वरुप परिवर्तनमा सरोकारवालालाई पनि सचेत पार्नुपर्छ ।

इन्टरनेटको पहुँच व्यापक बन्दै जाँदा विद्यालय तहको पाठ्यक्रममै यो विषय समावेश गरेर सचेत पार्नुपर्छ । म्याग्दीका स्थानीय तहले प्रकाशन गरिरहेका पुस्तक तथा विद्यालयमा समेत विभिन्न समयमा डिजिटल मिडियाको सवल, खराव पक्षका साथै हुनसक्ने जोखिमका बारेमा विद्याथीमार्फत समुदायस्तरमा समेत पु¥याउन आवश्यक छ ।

यसरी निकालियो १७ बर्षपछि क्षतविक्षत बिजुलीको खम्बा (फोटो फिचर)

बि.स २०६० चैत ७ गते तत्कालीन नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भीडन्तमा छियाछिया भएको बिजुलीको (खम्बा) मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ ।

बि.स २०६३ साल असोज २१ गतेबेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोल विद्युतका कर्मचारीसँगको मिलेमतोमा सुटुक्क लगिएको थियो ।

मानव अधिकारकर्मी कनकमणि दीक्षितले बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेललाई हस्तान्तरण गरेका छन्। यसअघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री सहितको टोली पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अधिकारकर्मी दीक्षितलाई भेटी पोल फिर्तीको वातावरण बनाएका थिए ।

पोल लिन बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल, काठमाण्डौमा रहेका यूवा होटल ब्यवसायी लोकबहादुर बानियाँ आलोक सहितको टोली केन्द्रमा पुगेका थिए। युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध सङ्ग्रहालय मार्फत आकर्षित गर्ने योजना रहेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए ।

बेनी नगरपालिकाले ७ नम्बर वडाको वीरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालीन युद्ध स्मारक’ का रूपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समितिमार्फत मदन पुरस्कार पुस्तकालयलाई पत्राचार गरिएको थियो ।

०७९ वैशाखमा मेयर जितेपछि उनले पोल बेनी फिर्ता ल्याउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए। बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १५ घण्टासम्म भिडन्त भएको थियो। बि.स २०६० चैत्र ७ गते राती ११ बजेदेखि सुरु भएको भिडन्त चैत्र १२ गते दिउँसो २ बजेसम्म भिडन्त भएको थियो ।

पोल फिर्ता हुने बहससँगै डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरचना बनाउने गरी अगाडी बढेको छ ।

उक्त समयमा युद्धको नकारात्मक सन्देश नदिने र शान्तिको कामना गर्ने गरी राख्ने गरी दिने प्रतिबद्धता जनाएपछि पोल फिर्ताको प्रक्रिया सुरु भएको थियो। उक्त पोलका बारेमा दिक्षितले जिल्ला समन्वय समिति म्याग्दीलाई लेखेको पत्रमा ’सशस्त्र द्वन्दले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उदेश्यका लागि’ पोल सुरक्षित राख्न भनिएको छ ।

बेनी नगरपालिकाले शान्त पार्कका लागि प्रवासमा रहेका म्याग्देलीहरुको संस्था मोना अन्तराष्ट्रिय सहित विभिन्न संघसंस्थासँग समेत साझेदारी गर्ने जनाएको छ । बेनी आक्रमणमा माओवादीका ९ वटा बटालियनका ४ हजार ५ सय लडाकु र १ हजार ९ सय स्वयंसेवक संलग्न थिए । माओवादीले बेनी आक्रमणमा ६६ वटा एके–४७ राइफल प्रयोग गरेका थिए ।तत्कालीन माओवादी र राज्य बिच सबैभन्दा ठुलो आक्रमण बेनीमा भएको थियो।

बिहिबार मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रबाट निकालिदैं । तस्वीर सौजन्य आलोक बानियाँ    

विद्यालयको दिवा खाजा: ‘कोदोको परिकार’ अनिवार्य नीति

नेपाल सरकारले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन दिवा खाजा अनिवार्य गरेको छ।

सामुदायिक विद्यालय तर्फका सबै प्रारम्भिक बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय समय अवधि भित्र दिनको एक पटक खाजा सुविधा पाइरहेका छन्।

विद्यालय दिवा खाजा विद्यार्थीका लागि आकर्षणको माध्यम पनि बनेको देखिन्छ। विद्यालय जान नमान्ने, ५ देखि ६ घण्टासम्म विद्यालय बस्दा सानो उमेरका बालबालिकालाई भोकले सताउने र पढ्न मन नलाग्ने समस्या थियो।

बाजुराका सबै सामुदायिक विद्यालयमा पनि दिवा खाजा सञ्चालनमा छ। दिवा खाजामा प्रयोग हुने खाद्यान्न र खाद्य बस्तु सबै बाहिरबाट नै प्याक सहित आउने गरेको छ। विद्यालयले पकाएर खुवाउने गरेका छन्। तर बडीमालिका नगरपालिकाले भने त्यसमा केही सुधार र फरक गर्ने योजना अघि सारेको छ।

सबैजसो जिल्लामा उपलब्ध सरोकार, सम्बन्धी निकाय र खाद्यान्न बाली तथा पोष्टीक आहार विज्ञहरुलाई राखेर स्थानीय रैथाने बालीलाई पनि प्रवर्द्धन गर्ने गरि खाजाको परिकार बनाउन प्रस्ताव गरिएको नगरप्रमुख अमर खड्काले बताएका छन्। बडीमालिका नगरपालिकामा २५ सामुदायिक विद्यालय छन्।

पालिकामा रहेका सबै सामुदायिक विद्यालयमा हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार खुवाउने बडीमालिकाले नीति लिएको छ। अन्य खानेकुरा र खाद्यान्न भन्दा बढी हाइजेनीक र पर्याप्त रुपमा स्थानीयले नै उत्पादन गर्ने बाली भएकोले त्यसको प्रवर्द्धन, संरक्षण र बजारीकरणका लागि अनिवार्य गर्न लागिएको नगर प्रमुख खड्काको भनाई छ।

‘स्थानीय रैथाने बालीको संरक्षण र बजारीकरण पनि गर्नु छ, त्यसैमा कोदो बढी नै पोष्टीक तत्त्व पाइने खाद्यान्न बाली भएकोले हप्ताको एक दिन अनिवार्य कोदोजन्य परिकार दिवा खाजामा राख्न लागिएको हो’, प्रमुख खड्काले भने। पालिकाले कृषि ज्ञान केन्द्र बाजुरासँग पनि त्यसका लागि समन्वय र सहकार्य गरेको छ।

बडीमालिका नगरपालिकाले गरेको प्रस्तावमा कृषि ज्ञान केन्द्रले अगुवाइ नै गर्ने इच्छाशक्ति देखाएको छ। जिल्ला स्थित गैर सरकारी संस्थाले समेत समर्थन गरेका छन्। विश्व खाद्य कार्यक्रमले यो निर्णय दीर्घकालीन योजना सहित स्थानीय बाली प्रवर्द्धनका लागि सहयोग पुग्ने बताएको छ।

स्वास्थ्यका लागि फाइदा पुग्ने र स्थानीय उत्पादनले पनि बजार पाउने भएकै कारण कोदोको परिकारलाई दिवा खाजामा समावेश गर्ने नीति पालिकाले लिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छिन्।

कोदोको परिकार दिवा खाजाका रुपमा प्रयोग गर्ने कुरा अन्य पालिका र विद्यालयका लागि पनि नयाँ सन्देश र सिकाइ हुने कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए।

बाजुराको रैथाने बाली कोदोको खपत र बजारीकरणमा टेवा पुग्ने भएपछि प्राविधिक सहयोग र उत्पादनको सीमा बढाउने गरि कृषि ज्ञान केन्द्रले योजना अघि बढाउने जैशीको भनाई छ।

बाजुरा कोदोका लागि उर्वर भूमिकै रुपमा परिचित छ। त्यसैमा बडीमालिका नगरपालिका भित्र कोदो उत्पादन नै बढी हुने गर्छ।

यालमाया केन्द्रले गोली लागेको विद्युतको खम्बा फिर्ता दियो

तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको (खम्बा) मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएको छ ।

मानव अधिकारकर्मी कनकमणि दीक्षितले सामाजिक सञ्जाल एक्समा बिहिबार लेख्दै पोल संरक्षणको योजना बनाएकोमा बेनी नगरपालिकालाई धन्यवाद समेत दिएका छन्।

बि.स २०६७ साल असोज २१ गते बेनीको मंगलाघाट जाने बाटोमा तत्कालीन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोल सुटुक्क लगेपछि फिर्ताका अनेक प्रयास सफल भएको थिएन ।

केन्द्रका सञ्चालक दिक्षितसँग युद्धको सन्देश नदिने र शान्तिको कामना गर्ने गरी राख्ने गरी दिने प्रतिबद्धता जनाएपछि पोल फिर्ताको प्रक्रिया सुरु भएको थियो

पोल लिन बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल सहितको टोली केन्द्रमा पुगेका छन् । बि.स २०६० चैत्र ७ गते तत्कालिन समयमा माओवादीले बेनी आक्रमण गरेको २० बर्ष पूरा हुदैछ ।

युद्धका अवशेषहरू नयाँ पुस्ता र विदेशीलाई युद्ध सङ्ग्रहालय मार्फत आकर्षित गर्ने योजना रहेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताए ।

पोल फिर्ता ल्याउन पहल गर्नुको साथै शान्ति पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गराउँदै नगरपालिकाले चासो देखाएको थियो ।

बेनी नगरपालिकाले ७ नम्बर वडाको वीरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालीन युद्ध स्मारक’ का रूपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समितिमार्फत मदन पुरस्कार पुस्तकालयलाई पत्राचार गरिएको थियो ।

डिभिजन बन कार्यालयसँगै जोडिएको सार्वजनिक र बराहपाखो सामुदायिक बनको करिब १० रोपनी क्षेत्रफलमा शान्ति पार्क र चिल्ड्रेन पार्क बनाउने र बेनी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी संरचना बनाउने गरी अगाडी बढेको छ । यसका लागि मोना अन्तराष्ट्रियले समेत चासो देखाएको छ ।

बेनी आक्रमणमा माओवादीका ९ वटा बटालियनका ४ हजार ५ सय लडाकु र १ हजार ९ सय स्वयंसेवक संलग्न थिए । माओवादीले बेनी आक्रमणमा ६६ वटा एके–४७ राइफल प्रयोग गरेका थिए ।तत्कालीन माओवादी र राज्य बिच सबैभन्दा ठुलो आक्रमण बेनीमा भएको थियो। बेनी आक्रमणको १९ वर्ष पूरा भएको छ।

जेसीज कप फुटबलमा पाँच विद्यालय दोस्रो चरणमा प्रवेश

 सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार खुल्लामञ्चमा भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सारदा माविले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।त्यस्तै प्रकाश मावि बेनीलाई दुईका विरुद्ध तीन गोलले पराजित गर्दै गौबमवस्त मावि देविस्थान दोस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो खेलमा मंगला माविलाई शुन्यका विरुद्ध पाचँ गोलले पराजित गर्दै न्यू वेष्ट प्वाईन्ट दोस्रो चरणमा प्रवेश गरेका छ।

चौथो खेलमा माउण्ट एभरेष्ट र केबी एकेडेमी दरवाङविचको खेलमा एक/एक गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा (८–७) माउण्ट एभरेष्ट दोस्रो चरणमा प्रवेश गरेको छ ।

पाचौ खेलमा किसानी मावि विमलाई शुन्यका विरुद्ध पाँच गोलले पराजित गर्दै बेनी सामुदायिक विद्यालय बेनी दोस्रो चरणमा प्रवेश गरेको छ। जिल्लाका २३ विद्यालयले सहभागीता रहेको प्रतियोगिता २३ गतेसम्म संचालन हुने छ । म्याग्दी जेसीजको मुख्य प्रायोजक राम–विमला फाउण्डेशन रहेको छ।

प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनोद घर्तीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई विभिन्न अवार्डसहित दुई हजार ५०० रुपैयाँ नगद पुरुस्कारले पुरस्कृत गरिने जानकारी दिनुभयो । भने अनुशासित टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको शाखा अध्यक्ष सुमन बानियाँले भन्नुभयो। जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहको विश्वकप मानिन्छ ।