Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 475

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब असी हजार पर्यटकले गरे भ्रमण

म्याग्दी, ८ मङ्सिर । पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७९ स्वदेशी र पाँच हजार पाँच सय चारजना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

घाँसा प्रहरी चौकीले मुस्ताङ भित्रने र लेतेमा बाहिरिने आन्तरिक पर्यटकको तथ्याङ्क राख्ने व्यवस्था मिलाइएको छ । विदेशी पर्यटकको अभिलेख भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोम र लोमान्थाङस्थित कार्यालयले राख्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार दसैँ, तिहार, छठपर्व बिदाको अवसरमा मुस्ताङ घुम्ने पर्यटकको लर्को लागेको थियो । कात्तिकमा मुस्ताङमा १३ हजार नौ सय एक सवारीसाधनले पर्यटक बोकेर भित्रिएका थिए ।

छ हजार चार सय आठ मोटरसाइकल, छ हजार दुई सय ८९ कार–जिप तथा सात सय ५० वटा बसमार्फत पर्यटक मुस्ताङ भित्रिएका थिए । मुस्ताङ प्रवेश गर्ने घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक प्रताप महतले अधिकतम दैनिक चारदेखि पाँच हजार पाँच सयको अनुपातमा पर्यटक मुस्ताङ भित्रिएका बताए ।

बेनी–जोमसोम सडकमार्गका अलावा पोखरा–जोमसोम हवाईमार्गबाट पनि मुस्ताङमा पर्यटक भित्रिएका थिए । मुक्तिनाथको रानीपौवाका होटल व्यवसायी सुरेन्द्र गौचनले कात्तिकमा पर्यटक आगमन उत्साहजनक भएको जानकारी दिए ।

“विगतका वर्षमा दसैँतिहार याममा वर्षात्का कारण सडक अवरुद्ध हुँदा अपेक्षाकृत पाहुना आएका थिएनन्, आएकाले पनि धेरै दुःख पाए”, उनले भने, “यसपालि सडक, मौसम सफा भएकाले छोटो समय घुमघाम गर्नेले मुस्ताङलाई रोजे ।” शरदयाम घुमघामका लागि उपयुक्त मानिन्छ । छठ सकिएपछि चिसो बढ्न थालेकाले पर्यटक आगमन घट्दै गएको छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको होटल व्यवसायीले बताएका छन् ।

गरिमा विकास बैंकले १७ औं वार्षिकोत्सवमा गर्यो १७ वटा सामाजिक काम

गरिमा विकास बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको बताइएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा आयोजित रक्तदान कार्यक्रमबाट १०९ युनिट, क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट १५२ युनिट र क्षेत्रीय कार्यालय पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १०५ युनिट गरि जम्मा ३६६ युनिट रगत संकलन गरेको छ ।

त्यसैगरि वार्षिकोत्सवको अवसरमा बैंकले गलेश्वरधाम जेष्ठ नागरिक आश्रम, म्याग्दी, श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, स्याङ्जा र गुरुकुल बृद्धाश्रम, स्याङ्जामा न्यानो कपडा वितरण, विर्तामोड नगरपालिका, झापाको सबै वडाहरुका लागि डस्टबिन हस्तान्तरण, भृकुटीपथ टोल विकास संस्था एवं पुतलीबजार टोल विकास संस्था, चितवनमा डस्टबीन हस्तान्तरण, श्री जनता माध्यमिक विद्यालय, मलंगवा, सर्लाहीमा अध्ययनरत कक्षा १ का ८५ जना विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण, अनाथ तथा असहाय महिला कल्याण समाज, रुपन्देहीको अनाथ आश्रममा आवश्यक ईन्भर्टर हस्तान्तरण, प्रशान्ति बृद्धाश्रम केन्द्र (सुर्खेत)लाई आवश्यक बेड हस्तान्तरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम हरु सम्पन्न गरेको छ ।

त्यसै गरि बैंकले ट्राफिक व्यवस्थापनलाई थप सहजिकरण हेतु क्षेत्रीय ट्राफिक कार्यालय इटहरीको समन्वयमा डिजिटल बोर्ड स्थापना, वित्तिय जागरुकताका लागि नेशनल इन्फोटेक कलेज, विरगंजमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना, सेती प्रादेशीक अस्पताल, धनगढीमा आर्थिक सहयोग एवं अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण, काठमाडौंको बुढानिलकण्ठ मन्दिरलाई १०० थान कुर्सी हस्तान्तरण, नेपाल प्रहरी अनाश्रीत गुल्म, सुन्धारालाई भिजिटर कुर्सी हस्तान्तरण, अमर सेवा नेपाल अनाथ आश्रमलाई आवश्यक कम्प्युटर र प्रिन्टर हस्तान्तरण जस्ता कार्य गरेको बताइएको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

“प्रत्येक इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्थापन गरेका छौ,” उहाँले भन्नुभयो “सबै बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड पनि लैजानेछ ।”

भलिबलमा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सय देखि दुई हजार रुपैयासम्म पुरस्कार पाउने जनाइएको छ ।

पहिलो दिन सबै खेल शुरु गरिएको र दोस्रो दिन फाईनल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा जिसस प्रमुख परियारले विकासमा विभेदको अन्त्य गरि सबैको अपनत्व हुने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

“जलजला गाउँपालिका नदीजन्य स्रोतको हिसाबले आन्तरिक आम्दानी गर्न सक्ने धेरै आधार भएपनि अदालतको अड्चनले बञ्चित भएको छ,” उहाँले भन्नुभयो “स्थानीय तहको आन्तरिक आम्दानी बृद्धी गर्ने र स्थानीय विकासमा परिचालन गर्ने विषयमा जिसस पर्वत सर्वोच्च अदालत सम्म पुगेर लडिरहेको छ ।”

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोड्ने योजना अनुसार यस वर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।

“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेका छौ,” उहाँले भन्नुभयो “अनुशाषित, लगनशिल, मेहनती जनशक्ति उत्पादन गर्न खेलकुदले सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका पालिका सभापति इन्दुप्रकाश पौडेल, एमालेका पालिका अध्यक्ष बाबुराम कार्की, माओवादी केन्द्रका यामबहादुर जिसी, विद्याज्योती माविका प्रअ रघुनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिसस पर्वतका उपप्रमुख सोमबहादुर जिसी लगायतको उपस्थिति रहेको कार्यक्रमको उद्घाटन समारोहमा सहभागी विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

 

गरिमा विकास बैंकले १७ औं बार्षिकोत्सवमा गलेश्वरधाममा न्यानो कपडा वितरण

गरिमा विकास बैंकले बेनी नगरपालिका–९ स्थित गलेश्वरधामको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैकले आफ्नो १७ औं बार्षिकोत्सवको अवसरमा बिहिबार एक कार्यक्रमका बिच ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो।

बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम् बेनी नगरपालिकाका प्रथम मेयर हरिकुमार श्रेष्ठले ९४ बर्षिया धनसरी पाइजालाई न्यानो कपडा वितरण गदैं कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वित्तिय कारोबारसँगै म्याग्दीमा जेष्ठ नागरिकलाई सम्मान, शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताउनुभयो ।

उहाँले बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यसहित कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी,गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन, पुलस्त्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले म्याग्दीमा शाखा विस्तार गरेका ठूला बैंकको संख्या धेरै भएपनि सामाजिक उत्तरदाहित्व अन्तरगत समुदायस्तरमा सहयोग गर्नेको संख्या न्यून रहेको अवस्थामा हरेक बर्ष गरिमा विकास बैंकले सहयोग गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा सहभागी जेष्ठ नागरिक ९४ बर्षिया पाइजाले सहयाोग गरेकोमा धन्यवाद दिदैं आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नुभयो।

न्यानो कपडा वितरण कार्यक्रमा बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्र श्रेष्ठले यो समय चिसोको समय भएकाले स्वास्थ्यको ख्याल गर्न जेष्ठ नागरिकलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समिति सदस्य श्रेष्ठ, स्वागत बेनी शाखा प्रमुख कमलप्रसाद ढुंगाना र सञ्चालन शाखाका बरिष्ठ सहायक शंकरप्रसाद सुबेदीले गर्नुभएको थियो ।

बैंकको सदरमुकाम बेनी, बावियचौर, दरबाङ, पोखरेबगरमा शाखा रहेको छ । देशभर १ सय २३ शाखा रहेको बैंकले बार्षिकोत्सवको अवसरमा १७ स्थानमा न्यानो कपडा वितरण, रक्तदान सहित विभिन्न कार्यक्रम गरी मनाएको छ ।

चिनियाँ शैक्षिक संस्थासँग सम्बन्ध बढाउँदै प्रतिभा मावि

प्रविधि, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्धेश्यसहित प्रतिभा माविले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा जोड दिएको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न मुलुकका शैक्षिक संस्थासँग विद्यालयले सहकार्य थालेको हो ।

केहीदिन अघिमात्र जापानको एभरेस्ट इन्टरनेशनल स्कुलसँग सांस्कृतिक अनुभव, प्रविधि, सिकाइ र सफलताका कथा आदानप्रदान गर्ने उद्देश्य सहित सम्झौता गरेको प्रतिभा माविले चिनियाँ शिक्षण संस्थासँग पनि सहकार्य थालेको हो । त्यसका लागि चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीलाई बुधबार विद्यालयमा स्वागत गर्दै थप सम्बन्ध बिस्तारको सुरुवात गरेको छ ।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविले विगत केही वर्षदेखि विद्यालयमा चिनियाँ भाषा अध्यापन पनि गराउँदै आएको छ । पछिल्लो समय विश्वमै चिनियाँ भाषाको महत्व पनि बढेको छ । चिनियाँ विश्वविद्यालयसँग भगीनी सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित चीनका विभिन्न शिक्षणसंस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गरेको प्राचार्य सापकोटाले बताए ।

चिनियाँ शिक्षण संस्थाले अवलम्बन गरेको शैलीलाई अपनाउन सके नेपाली शैक्षिक प्रणालिमा अहिले भन्दा व्यापक परिवर्तन ल्याउन सक्ने उनले बताए । ‘जापानको शैक्षिक संस्थासँग एकतहको सम्झौता भइसकेको छ । अब चिनियाँ शिक्षण संस्थासँग पनि सम्बन्ध बिस्तार गर्ने योजनामा छौ । यसले हाम्रो शिक्षण पद्धतिमा सुधार ल्याउने अपेक्षा हो,’ उनले भने ।

चीनको बेइजिङ इन्टरनेशनल चाइनिज कलेजकी डिन कुइ फानले चिनियाँ भाषा र संस्कृतिप्रति लगाव राख्ने नेपाली विद्यार्थीलाई यसअघि नै छात्रवृत्ति दिन थालिसकेकोले आगामी दिनमा प्रतिभा माविसँग यस विषयमा थप सहकार्य गर्न सकिने बताइन् ।विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता सम्बन्धले विद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने बताए । ।

कात्तिकमा झन्डै ८० हजार पाहुनाले मुस्ताङ घुमे

कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। ती मध्ये ७३ हजार ८ सय ७९ जना आन्तरिक र ५५ सय ४ जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरि ७९ हजार ३ सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।

चाँडबाँडको लामो बिदा पारेर हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जाने आन्तरिक पाहुनाका कारण महिनाभर हिमाली जिल्ला मुस्ताङको चहलपहल निकै नै बढेको प्रहरीले जनाएको छ। पर्यटकीय सिजन भएकोले विदेशी पाहुना पनि जाँदा मुस्ताङ कात्तिक महिनाभर पर्यटनमय बनेको प्रहरीको भनाई छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुस्ताङ गएका विदेशी मध्ये भारतीय पाहुना पनि थिए। ‘चाँडबाँडको कारण लामो बिदाको मौका पारेर यो वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक मुस्ताङ घुम्न आए,’ पाण्डेले भने, ‘महिनाभर नै मुस्ताङ पर्यटनले चलायमान बन्यो।’ दसैं र तिहारको लामो बिदा परेका कारण आन्तरिक पाहुनाको ठूलो संख्या मुस्ताङ पुगेको उनले बताए।

डिएसपी पाण्डेका अनुसार मुस्ताङमा कात्तिकभर १३ हजार ९ सय १ वटा गाडी गएका थिए। ती गाडी चढेर पाहुना घुम्न मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेका सवारी मध्ये ६ हजार ४ सय ८ वटा मोटरसाइकल, ६ हजार २ सय ८९ कार–जीप तथा ७ सय ५० वटा बसमार्फत ती पाहुना मुस्ताङ पुगेका थिए। दिनको चारवटा बस जोमसोमबाट पोखराका लागि नियमित चल्ने भएपनि ती सवारी पनि गणना भएको उनले बताए।

‘सवारी  व्यवस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो,’ उनले भने, ‘यतिधेरै पाहुना आए की कात्तिक महिनाभर यहाँको पर्यटन क्षेत्र चम्केको थियो।’ सिजनका कारण यहीबेला पोखरा–जोमसोम हवाई सेवा पनि संचालन भएकोले हवाईमाध्यम मार्फत पनि पाहुना भित्रिएको उनले बताए। जिल्ला भित्रिएका पाहुनाको तथ्यांक राख्नेगरि प्रहरीले मुस्ताङ प्रवेशको एकमात्र नाका घाँसामा टिम नै खटाएको छ। प्रहरीले जिल्ला प्रवेशका सबै सवारी चेक गरेर यात्रु गणना गरेर रेकर्ड नै राख्ने गरेको उनले बताए। डिएसपी पाण्डेले मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ र अर्ध निषेधित क्षेत्र उक्लने पाहुनालाई सचेत गराउने गरि डिजिटल प्रणालिको सूचना बोर्ड राख्ने तयारी गरेको पनि जानकारी दिए।

मुस्ताङको मुक्तिनाथ क्षेत्रका पर्यटन व्यावसायी सुरज गुरुङ पनि योपटक हिमाली जिल्ला मुस्ताङले ठूलो आकारमा आन्तरिक र बाह्य पाहुना पाएको बताए। उनका अनुसार दसैं र तिहारको बिदाले गर्दा पाहुना आगमन निकै नै थियो। ‘हुन त पोहोर पनि पाहुना आएकै हुन्। तर, पोहोर भन्दा यो पटकको आगमन अझै बढी थियो। एकमहिना भरि जिल्लामा पाहुना अभाव भएनन,’ उनले भने।

‘आन्तरिक पाहुनाको पनि सिजन नै हो । त्यसबाहेक विदेशी पाहुना आउने मुख्य सिजन भएकोले पनि यो बेला एकमहिना पर्यटन क्षेत्र व्यस्त बन्यो,’ उनले भने। उनका अनुसार यतिबेला भने पाहुना केही कम भएका छन्। ‘अब अफसिजन सुरु भएको छ। पाहुना केही घटेका छन्। नत्र अघिल्लो महिना त हामी सबैलाई व्यस्त बनायो,’ मुक्तिनाथ मन्दिर नजिकै होटल संचालन गरिरहेका गुरुङले भने, ‘पाहुना आगमन उत्साहजनक हुँदा व्यावसाय चलायमान बन्यो।’

पोखराबाट पर्यटक समूहलाई मुस्ताङ घुमाउँदै आएका पर्यटन व्यावसायी विजय केसीका अनुसार कात्तिक महिनामा आन्तरिक पाहुनाको यतिसम्म भीड थियो की एउटै समूहमा ३ सय जनासम्म पनि पाहुना पुगेका थिए।

‘मुस्ताङ जाने नितान्त पर्यटन उद्देश्यले हो। धार्मिक र साहसिक पर्यटनले मुस्ताङले पाहुना तानेको छ,’ केसीले भने, ‘आन्तरिक पाहुनामा घुमफिरको संस्कार यति विकास भएको छ की समूहमा पाहुना घुम्न गएका थिए। कात्तिक महिनाभर मुस्ताङ पाहुनाले भरिभराउ थियो।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीले पनि यो बेला पाहुना आगमन निकै नै बढेको बताए। आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो रहेको उनले बताए। विशेष गरि आन्तरिक पाहुना बढी आउँदा कात्तिक महिनाभर मुस्ताङ चलायमान बनेको उनले बताए। थोराङला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको उनले बताए।

‘२÷३ दिन अघि नै होटल बुकिङ नगरि आउँदा त पर्यटकलाई बासको पनि समस्या थियो। सवारी चल्न थालेको र पहुँच सहज बन्दै जाँदा पर्यटन आगमन बढेको हो,’उनले भने, ‘आन्तरिक पाहुनाको घुम्ने ट्रेन्डले पनि महिनादिनसम्म मुस्ताङका होटल खालि रहेनन।’

कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

गलेश्वर (म्याग्दी), ७ मङ्सिर । आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधिनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । गलेश्वरदेखि बेनीसम्मको कालीगण्डकी किनारमा स्नान गर्नेको घुइँचो लागेको छ ।

म्याग्दी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रुपमा रहेको बेनीमा हरिबोधिनी एकादशीमा स्नान गर्नुका साथै गलेश्वर र बेनीस्थित लक्ष्मीनारायणको मन्दिरमा पूजा गर्न ठूलो संख्यामा भक्तजन आएका छन् । मुक्तिनाथबाट बगेर आउनुका साथै भगवान विष्णुको अवतारका रुपमा पुजिँदै आएको शालिग्राम पाइने एक मात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी घरघरमा रोपिएका तुलसीको भगवान दामोदर (विष्णु)सँग विवाह गरिदिने प्रचलन रहेको छ ।

कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरे बराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा असारमा पर्ने हरिशयनी एकादशीमा रोपिएको तुलसीको विवाह गरिन्छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । आजदेखि चर्तुमास व्रतकोपनि समाप्त गरिन्छ ।

हरिबोधिनी एकादशीलाई ठूली एकादशी पनि भनिन्छ । आजका दिन, असार शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान श्रीविष्णु उठ्नु हुने पुराणमा उल्लेख छ । आजको एकादशीमा गरिने स्नान, दान, तपआदि सबै कार्यले अक्षययज्ञ बराबरको फल दिने धार्मिक विश्वास गरिन्छ ।

हरिशयनी एकादशीदेखि चार महिना क्षीरसागरमा भगवान श्रीविष्णु सुतेपछिको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधीमा कुनै माङ्गालिक कार्य गर्नुहुँदैन भन्ने मान्यता छ । यो चार महिनामा विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैन । चतुर्मासको अन्त्यसँगै माङ्गालिक कार्यका लागि मुहूर्त खुल्ने धार्मिक मान्यता रहेको छ ।

कात्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक भनिन्छ । महाभारत अनुसार कहिल्यै भोको नबस्ने भीमसेन पनि यस दिनव्रत बसेका थिए । त्यसैलै अरु दिनमा व्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीलेसमेत ठूलो एकादशीको दिनमा भने व्रत बस्नैपर्ने मान्यता रहेको छ । हिन्दू धर्मशास्त्र वा आयुर्वेदमा महत्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि महत्त्वपूर्ण छ ।

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी, मंसिर ७ । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पुर्‍याउन थियो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कदेखि कुनौटाघाट जोड्ने यो जीर्ण गोरेटोबाटोको स्वरूप अहिले फेरिएको छ । बेनी–जोमसोम सडक खण्डमा पर्ने कुनौटादेखि माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको हो ।

गत असोजको तेस्रो सातादेखि पदमार्ग निर्माण सुरु भएको थियो । नेकपा (माओवादी केन्द्र) को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानबाट सुरु भएको पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीयवासी श्रमदानमा जुटेका छन् भने प्रवासीले मन खोलेर सहयोग गर्ने क्रम जारी छ ।

एक/एक ट्र्याक्टर बालुवा, गिट्टी र २० बोरा सिमेन्टबाट सुरुआत भएको पदमार्ग बनाउने अभियानमा अहिलेसम्म रु १३ लाख बढी नगद सहयोग जुटिसकेको पदमार्ग निर्माणका अभियन्तासमेत रहेका माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए ।

‘सरकारी तवरबाट बजेट परेर बाटो मर्मत गर्ने प्रयासले सार्थकता नपाएपछि हामीले श्रमदान अभियानबाट केही अप्ठेरो ठाउँमा पक्की पदमार्ग बनाउने उद्देश्यले श्रमदान अभियान चलाएका थियौँ, अभियान सञ्चालन भएकै भोलिपल्टदेखि स्वतःस्फूर्त श्रमदानमा सहभागी हुने र आर्थिक सहयोग गर्ने पनि हातेमालो गर्न थालेपछि पदमार्ग बनाउने अभियानलाई सबैको साझा अभियानको रूपमा अगाडि बढायौँ, देश तथा विदेशमा रहनुभएका धेरै जनाले सहयोग गर्नुभएको छ’, कटुवालले भने ।

पदमार्ग निर्माण योजना अहिले सबैको साझा अभियान बनेको छ । यो योजनालाई सरकारी तवरको कुनै बजेट बिनै समुदायको साथ, सहयोग र सहकार्यको नमूना कार्यको रूपमा स्थानीयले पूर्णता: दिने जमर्को गरेका छन् । पदमार्ग बनाउन स्थानीयवासीले एक दिनदेखि २० दिनसम्म श्रमदान गरेका छन् भने अहिलेसम्म एक किलोमिटर पक्की पदमार्ग निर्माण भइसकेको छ ।

माछखर्कको च्युरीबाससम्म पदमार्ग निर्माण गर्न अझै एक किलोमिटर पदमार्ग बनाउनुपर्ने छ । बिहानदेखि साँझसम्म नै पदमार्ग बनाउने काम भइरहेको छ । सडकबाट गिट्टी बालुवा र सिमेन्ट उकालो र जङ्गलको बाटोमा बोकेर स्थानीय युवा पदमार्ग बनाउन व्यस्त बनेका छन् । दसैँ र तिहारको केही दिनबाहेक अन्य सबै दिनमा स्थानीय युवा पदमार्ग बनाउने काममै लागेका छन् ।

भगवतीका विभिन्न बस्तीका सहयोगदाताले आफ्नो दिवङ्गत आफन्तको सम्झनामा पदमार्ग बनाउन स्वतःस्फूर्त सहयोग गर्ने क्रम जारी रहेको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताए ।

‘सुरुमा श्रमदानबाटै पदमार्ग बनाउन थाल्यौँ, अहिले विभिन्न व्यक्तिले सहयोग गरिरहनुभएको छ, अभियानमा जुटेको सहयोगबाट थप पदमार्ग बनाउन जनशक्ति पनि थप गरेका छौँ, हामी यहाँ ढलान गरेर बनाएका हरेक सिँढीमा हाम्रो पसिनाले सिञ्चित गर्न चाहन्छौँ, सबैको साथ, सहयोग, सहकार्य र समर्पणको भावनाले यो पदमार्गले पूर्णता पाउने निश्चित भएको छ’, केसीले भने ।

पदमार्ग बनाउन श्रमदान गर्ने युवासँगै सङ्कलित सहयोग रकमबाट ज्याला दिने गरी श्रमिकसमेत परिचालन गरिएको छ । पदमार्ग निर्माणलाई गति दिन जङ्गलमै पाल टाँगेर बास बस्ने प्रबन्ध मिलाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ ।

ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेको स्थानीय युवा हिमाल कटुवालले बताए । भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज हुने उनको भनाइ छ ।

मङ्सिर महिनाभित्रमा कुनौटादेखि च्युरीबास खण्डमा चिटिक्कको पक्की पदमार्ग निर्माण गर्ने लक्ष्य छ । सुरुआतमा श्रमदानबाट मात्रै केही पदमार्ग बनाउने गरी काम सुरु भए पनि काम सुरु भएपछि देश तथा विदेशमा रहेका भगवतीवासीले मन खोलेर सहयोग गर्न थालेकाले पदमार्ग निर्माण योजनालाई निरन्तर अगाडि बढाइएको स्थानीय युवा डेकबहादुर कार्कीले बताए ।

जङ्गलमा झाडी फँडानी गरेर ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको बन्दोबस्त मिलाएर पदमार्गलाई ढलान नै गरेर पक्की बनाइएको छ । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एकमिटर फराकिलो बनाइएको छ । पदमार्गमा २२ दिनदेखि काम गरिरहनुभएका स्थानीय ५६ वर्षीय प्रेमबहादुर कटुवालले पुन्य काममा सहभागी भएको अनुभूति हुने गरेको अनुभव सुनाए ।

‘हामीले काम त घरमा बसे पनि गर्छौं, तर यहाँ आएर पदमार्गमा पसिना बगाउँदा छुट्टै आनन्दको मिलेको छ’, उनले भने ।

भ्रष्टाचार विरुद्धको अभियानमा विद्यार्थी : अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

गौरवमय इतिहास रहेको वैभवमय भूमि नेपालको अबको बाटो के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा म्याग्दीको दरबाङमा बुधबार (आज) विद्यार्थीहरुसँग अनुशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौं स्कुल अफ ल अन्तर्गतको सामाजिक न्यायकर्मी विद्यार्थी निकेतनको आयोजनामा सम्पन्न सो अनुशिक्षण तथा अन्तक्र्रिया कार्यक्रममा दरबाङमा अवस्थित तीनओटा विद्यालयका दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुलाई जागृत गराउने उद्धेश्यले आयोजित उक्त कार्यक्रम नेपालका सातओटै प्रदेशमा आयोजना गरिएको र गण्डकी प्रदेशका लागि म्याग्दीको दरबाङ क्षेत्रलाई छनोट गरिएको आयोजक संस्थाकी प्रशिक्षक दिक्षा जिसीले बताउनुभयो ।

कार्यक्रममा समाजको विकास र गतिशीलतालाई बुझ्दै नेपालको संविधानले सामाजिक न्याय र सहभागितामूलक शिद्धान्तको आधारमा समतामूलक समाज निर्माणको परिकल्पना गरेकोले त्यो परिकल्पनालाई यथार्थतामा परिणत गर्न विद्यार्थी तथा नागरिक सचेतना कार्यक्रम संचालन गरिएको काठमाण्डौं स्कुल अफ ल मा वि.एल.एल.वि चौंथो सेमिस्टरमा अध्ययनरत विष्णु भण्डारीले जानकारी दिनुभयो ।

भ्रष्टाचार मुक्त नेपाल हरेक नेपालीको चाहना भएकोले सबैभन्दा पहिला नेपाललाई भ्रष्टाचारको दलदलबाट मुक्त गर्न आवश्यक रहेको र यो कार्य विद्यार्थीहरुको बर्गतले मात्र सम्भव हुनेभएकोले सबै विद्यार्थीहरुलाई भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न आह्वान गर्दै आवश्यक तयारीको विषयमा प्रशिक्षक मन्दिरा सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षकहरुले नेपालमा समाजवादको यात्रा,कृषि सवलीकरणको सवाल,समाजवादःअर्थव्यवस्था र दिगो विकास,आर्थिक विकास र नेपालमा शिक्षा लगाएतका विषयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै अबको हाम्रो बाटो समाजवादको बाटो भएकोले पुंजिवादको विकल्प समाजवादलाई वनाएर अगाडी बढ्नुपर्ने बताउनुभएको थियो ।

जनप्रिय मावि दरबाङ,के.वि एकेडेमी र दरबाङ बोर्डिङ स्कुलका विद्यार्थीहरु सहभागि कार्यक्रममा प्रशिक्षकहरु विष्णु भण्डारी,दिक्षा जिसी,दिक्षा दवाडी,शिला पुन र मन्दिर सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ ।

नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा बुधबार वाटर डिस्पेन्सर राखिएको हो ।
नगरपालिकामा सेवा लिन आउने सेवाग्राही, बेनी – दरवाङ तथा बेनी – बाग्लुङ जाने यात्रुहरु, गेट वाहिर रहने यातायात व्यवसायीहरु, समेतलाई सुविधा पुग्ने गरि तातो चिसो शुद्ध पीउने पानीको व्यवस्था गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख सुरत केसीले सेवाग्राहीहरुलाई लक्षित गरि तातोचिसो पिउने पानीको व्यवस्थाका लागि वाटर डिस्पेन्सर राखिदिएकोमा प्रतिष्ठानलाई आभार प्रकट गर्नुभयो । केसीले भन्नुभयो, ‘प्रतिष्ठानले सामाजिक उत्तरदायित्व वहन गरेको छ, हाम्रा सेवाग्राही तथा गेट वाहिर ट्याक्सी तथा बसको पर्खामा रहने यात्रुहरुलाई पनि यसले पिउने पानीको सुविधा हुनेछ ।

नगरप्रमुख केसीले एक गीलास मनतातो पानी समेत पिउनुभएको थियो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रत्येक दिन उक्त जारमा पानी राख्ने, मेसिनमा पानी तताउने र उक्त मेसिनको सुरक्षा गर्ने समेतको जिम्मेवारी नगर प्रहरीले लिने भएको छ ।नगर प्रहरी प्रमुख शंकर पौडेलले १० वटै वडाबाट आउने सेवाग्राहीहरु तथा अन्य व्यक्तिहरुलाई समेत तातो चिसो शुद्ध पीउने पानीको सुविधा भएको भन्दै प्रत्येक दिनमा जारमा पानी राख्ने र उक्त वाटर डिस्पेन्सरको हेरचाह गर्ने कार्यमा नगर प्रहरी खटिने बताउनुभयो ।

प्रतिष्ठानले करिव १३ हजार २ सयको लागतमा उक्त वाटर डिस्पेन्सर राखेको हो । कार्यक्रममा प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका कोषाध्यक्ष तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेल, सदस्य राजकुमार परियार, शक्ति छिनाल लगायतको उपस्थिति रहेको थियो ।सामाजिक उत्तरदायित्व अन्तरगत प्रतिष्ठान म्याग्दीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका राहतका लागि १५ हजार ५ सय ५५ रपैयाँ प्रतिष्ठान केन्द्रलाई दुई साता अघि पठाएको थियो ।