Friday, June 27, 2025
21.3 C
Beni
21.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 481

बरंजाको दुई वडालाई १७ करोड भन्दा बढी बजेट : मन्त्री जुग्जाली

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ ।

मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा रु. १७ करोड भन्दा बढी लागतका योजना सञ्चालन हुने जानकारी गराउनुभयो ।

“पखेर देखि मंगला गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय जोड्ने सडक कालोपत्र सहित स्तरोन्नतिको काम यसै वर्ष शुरु गर्ने तयारीमा छौ,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा रु. दुई करोड बजेट बिनियोजन भएको यो सडकलाई रु. दश करोड बजेट बराबरको ठेक्का लगाउन प्रदेश सरकारले छनोट गरेको छ ।”

पूर्वाधार विकास कार्यालय म्याग्दीले पखेर–बरंजा सडकको सर्वेक्षणको काम सकेर ठेक्का आव्हानको तयारी गरेको छ । बरंजा हुदै बाग्लुङको ताराखोला जोड्ने छोटो दुरीको सडकलाई पनि स्तरोन्नति गर्न लागिएको मन्त्री जुग्जालीले जानकारी दिनुभयो । “बागलुङको ताराखोलाका बासिन्दा जिल्ला सदरमुकाम बाग्लुङ बजार पुग्न तीन घण्टाको घुमाउरो बाटो प्रयोग गर्दै आएका छन ।

बेनी देखि बरंजा हुदै ताराखोलाको केन्द्र अर्गल दुई घण्टामै पुग्न सकिन्छ,” मन्त्री जुग्जालीले भन्नुभयो “गत वर्ष मार्ग खुलेको यो सडकलाई पनि स्तरोन्नति गर्न बाग्लुङतर्फ रु. पचास लाख बजेट बिनियोजन भएको छ । आगामी वर्ष थप बजेट व्यवस्थापन गर्छौ ।”

बेनी–दरवाङ सडकको फापरखेत देखि पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण भएकाले बरंजाबासीलाई सहज भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने सडक स्तरोन्नितका लागि थप रु. दुई करोडको अर्को योजनाको पनि ठेक्का आव्हानको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।

मंगला–४ का वडा अध्यक्ष लालबहादुर रोकाले बरंजाको २ वटै वडाका बासिन्दा र जनप्रतिनिधिहरुबीच छलफल गरेर यो योजना मार्फत अप्ठ्यारो सडकलाई सुधार गर्न लागिएको बताउनुभयो । बेनी–थामडाडाङा–बरंजा सडक अन्तरगत बेनी नगरपालिका वडा नम्बर ४ र मंगला गाउँपालिका वडा नम्बर ३ को सिमाना स्थित अर्जेखोलामा २५ मिटर लामो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ ।

अर्जेखोलाको पुल निर्माण गर्न प्रमान सारस जेभीसँग रु. तीन करोड ४१ लाख १६ हजारमा असोज अन्तिम साता ठेक्का सम्झौता भएको हो । ठेक्का अवधी १८ महिना रहेको छ । रु. तीन करोड ४१ लाख १६ हजार लागत अनुमान गरिएको अर्जेखोला पुलका लागि चालु आर्थिक वर्षमा रु. एक करोड पचास लाख बजेट बिनियोजन भएको छ । सम्झौतापछि कार्यस्थलमा परिचालनको तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधिहरुले बताएका छन् ।

यसअघिका दुई वर्ष अर्थिक वर्षमा वार्षिक योजनामा समावेश भएपनि अर्जेखोलाको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशत भन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा निर्माण शुरु भएको थिएन् ।

म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जुग्जालीले भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गत जेठमा बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुबर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रीया अघि बढेको मंगला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर रोकाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा रु. पचास÷पचास लाख बिनियोजन भएको थियो । मन्त्री जुग्जालीले गाउँमा भित्रिएको योजनाको प्रभावकारी कार्यान्वयनका लागि निगरानी, सहजिकरण र समन्वयका लागि जनप्रतिनिधि, अगुवा र स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो ।

“विकासका पूर्वाधार साझा हुन् । कसले जस पाउँछ भन्दा पनि जनताले लाभ पाउने विषयलाई महत्व दिनुपर्छ,” उहाँले भन्नुभयो “आफ्नो गाउँठाउँमा भित्रिएको बजेटको प्रभावकारी कार्यान्वयनमा सबै जुटौ ।” मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा रहेको महेन्द्ररत्न मा.वि.को छात्रावास भवनलाई प्रदेश सरकारले गाउँपालिकामा समपुरक अनुदान स्वरुप रु. पचास लाख पठाएको छ । गाउँपालिकाले प्रदेश सरकार बराबरको बजेट व्यवस्थापन गरेर योजना कार्यान्वयनको तयारी गरेको छ ।

मंगला ३ र ४ मा कृषि, सिचाई, खानेपानीका योजनाहरुमा पनि यसअघि भन्दा धेरै बजेट बिनियोजन भएको वडा नम्बर ४ का उमेश विकले बताउनुभयो । मन्त्री जुग्जालीले धापुङ, बुकेनी, खर्कका बासिन्दा र त्यहाँका जनप्रतिनिधिहरुसँग चालु आर्थिक वर्षमा प्रदेश सरकार मार्फत बजेट बिनियोजन भएको योजना र कार्यान्वयनको तयारीका साथै स्थानीयको समस्याको बारेमा छलफल गर्नुभएको बुकेनीका बासिन्दा समेत रहेका माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिकले जानकारी दिनुभयो । मन्त्री जुग्जालीले बरंजाको खर्कको पहिरोको पनि निरिक्षण गर्नुभएको थियो ।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको(नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन्। यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो।

चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए।

कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी ९नेपाल० पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,’उनले भने‘चिनियाँ पक्षले हाम्रो प्रस्तावमा सहमति जनाएपछि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका बासिन्दाहरुले पनि प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवत जावत गर्न पाउने भएका छन्।

यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो। सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहहरुसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सिमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिची सम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन्।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो।त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो।विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो।

विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुुस्ताङबासीलाई आवत जावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए।

दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडा लगायत सामग्री सस्तोमा आयात गर्न पाएका उनले बताए।चीनको नेचुङ–लिची काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता,  भन्सार, सीमा निरीक्षण, परराष्ट्र मामिला कार्यालय, जन सुरक्षा ब्यूरो, वाणिज्य ब्यूरो, सीमा नियन्त्रण र बन्दरगाह व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा सोमबार दिउँसोदेखि नाका खोलिएको थियो।

सो अवसरमा नेपाल तर्फबाट प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुुख धनराज आचार्य, प्रदेश सांसद नम्बु गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो।

दुवै सररकारका प्रतिनिधिहरुको उपस्थितिमा नाका खोलिएको हो।कोरला नाकाको ढोका खुल्ला भएको पहिलो दिन चिनले लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका बासिन्दाहरुलाई एक लाख किलोग्राम खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्री उपहार दिएको छ।

प्रधानमन्त्री पुुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४  व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो।

लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट ९बिओपी०को रोहबरमा यही कात्तिक २५ गते चीनले दशगजा क्षेत्रको नेपाली भूमीमा पाँच  प्रिफेव कन्टेनर जडान गरिएको छ।कोरला नाकाको चीनतर्फ स्थायी संरचना छन।नेपालमा थिएनन्।

चार हजार मिटर भन्दा बढी उचाइको नाकामा नेपाली सुुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि नेपालको अनुुरोधमा चीनले ‘प्रिफेव कन्टेनर’ उपलब्ध गराएर जडान गरिएको हो।चार वटा खाट राख्न सकिने कन्टेनरभित्र १० जनासम्म अटाउन सक्छन्। चीनले उपलब्ध गराएको कन्टेनरमा सुरक्षा निकायको टोली र कोरलानाका जाने पर्यटक प्रतिकुल मौसम हुँदा आश्रय लिन सक्नेछन्।

नेचुङ शसस्त्र प्रहरी बलको ९विओपी०को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्चि सडकको पहुँच पुगेको छ।चीनले नाकासम्म पक्कि सडक र सुविधा सम्पन्न भवन बनाएको जनाइएको छ।

आज नेपाल संवत्को नयाँ वर्ष र म्हः(आत्म) पूजा

नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए।

नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ।आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा  म्हः (आत्म) पूजासमेत गरिन्छ।कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  ९म्हः० पूजा पर्व मनाउने गर्दछन्।

यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ।भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ।

भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ।भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो।देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः ९आत्म० पूजा गर्दैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष र आत्म (म्हः) पूजा आज गर्नुपर्ने जनाएको छ।

मलेसियामा एक म्याग्देली जीवन मरणको दोसाधमा, उपचारमा सहयोग गर्न अपिल

रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देली अचानक बिरामी भएपछि अस्पतालमा अलपत्र परेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका-८, का २६ बर्षिय दिपक छन्त्यालको सरकारी अम्पाङ्ग अस्पतालमा विगत १४ दिनदेखि उपचारार्थ छन्त्यालको स्वास्थ्य अवस्था जटिल रहेकाले तत्काल उपचारमा आर्थिक तथा उद्धारको आवश्यकता रहेको बताइएको छ ।

अचानक विरामी भएपछि अस्पतालमा भर्ना भएका छन्त्यालको मुटु र मृगौलामा खरावी भएको भन्दै परीक्षण गरिएको छ भने अक्सिजनको सहायतामा उपचार भइरहेको मोना मलेसियाका अध्यक्ष पूर्ण रोका मगरले बताए । ‘रिर्पोटहरू आउन बाँकी छ, सामान्य बोल्छन्, अहिलेकै अवस्थामा उपचार सम्भव नभएकाले सबैको सहयोगको आवश्यकता छ’ अध्यक्ष रोकाले भने ।

बिरामी भएर अस्पतालमा भर्ना भएको जानकारीपछि मलेसियाको जोहोर बारु सेनाईबाट ३८० किलोमिटरको यात्रा पछि अस्पतालमा पुगेका अध्यक्ष रोकाले सरकारी अस्पतालको उपचार खर्च आर्थिक सहयोग जुटाएर मात्रै सम्भव नहुने भएकाले कम्पनी र नेपाली दुताबासमार्फत समेत पहल आवश्यक रहेको बताए । अस्पताल आसपासका क्षेत्रमा रहेका म्याग्देलीलाई छन्त्यालको उपचारमा सघाउन र स्वास्थ्यकर्मीबाट नियमित जानकारी लिन समेत उनले अनुरोध गरे ।

उनले छन्त्यालको परिवारलाई समेत अवस्थाका बारेमा जानकारी गराएको बताए । छन्त्यालको स्वास्थ्य अवस्थाका बारेमा नेपाली दुतावासको समेत ध्यानाकर्षण गराइएको बताउँदै जीवमरणको दोसाधमा रहेकोले उनको जीवन रक्षामा विशेष ध्यान दिनुपर्ने अध्यक्ष रोकाले बताए । अस्पतालमा भर्ना भएका छन्त्यालका उद्धारको खाँचो रहेको मोना मलेसियाले जनाएको छ ।

Hospital Details:-Government hospital Jalan Mewah Utara, Taman Pandan Mewah, 68000 Ampang, Selangor, Malaysia

मोना यूएईले देउसी भैलो खेलेर तिहार मनायो

युएईमा रहेका म्याग्देलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा देउँसीभैलो कार्यक्रममा उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

दशैंतिहारमा जन्मभूमि आउन नपाएकाहरुलाई चाडपर्वको खल्लो महसुस हुन नदिन मोनामा आवद्ध म्याग्देलीहरुको उपस्थितमा तिहार विशेष शुभकामना आदानप्रदान एवम् देउशीभैला कार्यक्रम गरिएको थियो । देउसीभैलो सहित नेपाली मौलिक गीतमा छम्छमी नाचेर म्याग्देली दाजुभाई तथा दिदिबहिनीले तिहारको खुसीयाली साटासाट गरेका थिए ।

म्याग्दीमा हुने विपद् तथा सामाजिक कार्य, विकास निर्माण तथा परोपकारी कार्यमा सहयोग गर्ने लक्ष्य सहित मोना युएईले दशैँ तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा देउसीभैलौ कार्यक्रम सम्पन्न गरेको मोना युएइका महासचिव काजीमान बुढाथोकीले बताए ।उनले चाडपर्वमा हुने कार्यक्रमले म्याग्देली बिचको एकता र सहकार्य थप बलियो हुने बताए ।

मोना युएईका संरक्षक प्रकाश कार्की, नेपाल एअर युएईका म्यानेजर अस्मिता सुवेदी पौडेल, र तिहार विशेष कार्यक्रमका संयोजक किरण खत्रीले मन्तव्य राखेका थिए । मोना युएईका अध्यक्ष सुवास राम्जालीले यूएईमा रहेका हरेक म्याग्देलीलाई मोनामा आवद्ध बनाएर संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने बताए ।

उनले मोनामार्फत हुने हरेक गतिविधि म्याग्देली जनताको दुखसुखमा सर्मपित रहेको बताए । देउँसी भेलो कार्यक्रमलाई विशेष बनाउने संरक्षक प्रकाश कार्कीको परिवार र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगदाता लगायतलाई धन्यवादसंगै आभार ब्यक्त गरेका थिए ।

कार्यक्रमका संयोजक खत्रीले प्रदेशमा रहेका म्याग्देलीहरुविचमा भाईचारा सम्वन्धलाई बलियो बनाउदै अघि बढ्न र हाम्रा परम्परागत संस्कृतिको जर्गेना साथसाथै रमाईलो गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

भैली विशेष कार्यक्रम बनाउन यातायातको सुविधा उपलब्ध गराउने सल्लाकार वेल फगामी, उपाध्यक्ष टेक फगामी, सदस्य विनोद केसी र होम क्षेत्रीलाई मोना युएईले धन्यवाद दिएको छ ।

मोना युएईका अध्यक्ष सुवाश राम्जालीको अध्यक्षता र महासचिव काजीमान बुढाथोकीको संचालनमा भएको कार्यक्रममा युएईको बसाईलाई अन्त्य गर्दै नेपाल आउन लागेका सदस्य एवम् कलाकार तुल देवी पुन र भ्रमण रहेका बरिष्ठ उपाध्क्ष किरण खत्रीको परिवारलाई विदाई गरिएको थियो ।

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

शर्माले भनिन्, ‘आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने नै निर्णय गरेको हो। कानुन नियमन गर्ने भन्ने होइन। सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरेको हो।’

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका ?

तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ-आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा. डा. माधवप्रसाद भट्टराई टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पूर्वबाट पश्चिम फर्किनुपर्ने बताउँछन् ।

उनले भने, ‘टीका लगाइमाग्ने मान्छे पूर्व फर्किएर बस्नु राम्रो हुन्छ । दिदीबहिनी पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइदिनुपर्छ ।’कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर गरिएको उनको भनाइ छ । विधिपूर्वक भाइटीका लगाउने हो भने सुरुमा दियो, कलश र गणेशको पूजा गर्नुपर्छ ।

‘त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । दीर्घायूको कामना गर्न अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ,” उनले भने, “अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।’ दाजुभाइको पनि लामो आयु होस् भनेर यसरी पूजा गरिने विधिशास्त्रीय परम्परा रहेको उनी बताउँछन् ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्ने उनको भनाइ छ ।‘यसरी पूजा गरिसकेपछि दाजुभाइलाई उपयुक्त स्थानमा राख्नुपर्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा पारेर पानी र तेलको धाराले छेक्नु पर्छ । तेल र पानीले छेक्दा सकेसम्म तेल र पानीको धारा नटुटेको राम्रो हुन्छ,” उनले भने, “दाजुभाइलाई टीका लगाइदिँदा ढोकामा ओखर फुटाउने चलन छ ।

ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् भनेर हो । दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदियोस् भनेर हो । ओखर फुटाउनु अनिष्टलाई फुटाएर कष्ट नास गरिएको संकेत हो ।’दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गरिन्छ । यसपछि सप्तरंगी तथा पञ्चरंगको टीका लगाउनु पर्ने प्रा.डा. भट्टराई बताउँछन् ।

कसैले पाँच र कसैले सात रंगको टीका लगाउने गरेको उनले जानकारी दिए । पाँच वा सात, जति रंगको टीका लगाए पनि फरक नपर्ने उनको भनाइ छ ।‘सात रंग जुटाउन नसक्दा पाँच रंगको टीका लगाउने चलन छ । तर, आजकाल सात रंग नै पाउन धेरै कठिन छैन ।

तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ । सात रंग नै प्रयोग गर्नुको कारण सप्तरंगी इन्द्रेणी जति राम्रो हुन्छ, त्यति सात रंगको टीका पनि राम्रो हुन्छ भनेर हो,’ उनी अगाडि थप्छन्, ‘हाम्रा दाजुभाइलाई सुन्दर बनाउनुपर्छ, सात रंगजस्तै दाजुभाइको जीवन पनि रंगीन होस् भनेर सात रंगको टीका लगाउने गरिएको हो ।’जिन्दगीमा सुख, दुःख, उकाली, ओराली छन् । राम्रा नराम्रा दुवै अनुभूति दाजुभाइको जिन्दगीमा हुन्छ । त्यसको प्रतीकका रूपमा पनि टीकामा रंगहरूको प्रयोग गरिएको उनले स्पष्ट पारे ।

‘रंगहरूको प्रतीकात्मक रूपमा अलगअलग अर्थ पनि छ। मित्रता, त्याग, ऊर्जा र शक्ति, शान्तिको प्रतीकका रुपमा रंगलाई प्रयोग गरिएको हो तिहारको टीकामा,’ समिति सभापति प्रा.डा. भट्टराई भन्छन्, ‘टीकालाई राम्रो पनि मानिन्छ, किनभने जिन्दगीमा पनि सौन्दर्य हुनुपर्छ भन्ने हो ।

पहिला सेतो रंगको ठाडो रंग लगाएर त्यसमाथि अन्य रंग लगाउनु अर्थ राम्रो पार्नु हो । यसको अर्थ जीवनलाई पनि यसरी लगाइने सुन्दर टीकाजस्तै राम्रो (सुन्दर) बनाउनु पर्छ भन्ने हो ।’ दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूले सगुनको रूपमा खाने कुरा दिनुपर्छ । खाने कुरामा दाजुभाइलाई मिठो लाग्ने मिठाइ दिनु पर्ने उनको भनाइ छ ।

खास गरी अहिले बजारमा पाइने विभिन्न प्रकारका मिठाइभन्दा पनि शुद्ध घ्यूमा पकाएको सेल रोटी, अर्सा तथा अनर्सा दिने परम्परा रहेको उनको भनाइ छ । ‘यससँगै ऋतुफल अर्थात् मौसमी फलफूल पनि दिनु पर्ने विधिशास्त्रीय मान्यता छ,’ उनी भन्छन्, ‘यसबाहेक उपहार दिने पनि चलन छ ।

तर, यो अनिवार्य होइन । सक्नेले दिए पनि हुन्छ । नसक्दा नदिए पनि हुन्छ ।’दिदीबहिनीले सगुन र उपहार दिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिनु पर्ने उनको भनाइ छ । ‘दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर दक्षिणा दिनुपर्छ । दक्षिणा गक्ष र इच्छाअनुसार दिने हो, उनी भन्छन् ।

तिहारका पाँच दिन ः यो वर्ष कहिले के गर्ने ?
केही वर्षअघिसम्म दाजुभाइले दिदीबहिनीलाई अक्षताको टीका लगाइदिने गरे पनि पछिल्लो समय सप्तरंगी टीका लगाइदिने गरेको पाइन्छ । ‘दिदीबहिनीलाई पनि सप्तरंगी टीका लगाइदिँदा केही फरक पर्दैन ।

लगाउँदा हुन्छ,’ उनले भने ।दिदीबहिनीबाट टीका लगाइसकेपछि दिदीबहिनीले दिएको मिठाइ र फलफूल त्यही दिन खानु पर्ने प्रा.डा. भट्टराईको भनाइ छ । ‘शास्त्रमा भ्रातृ द्वितियाको दिन दिदीबहिनीले दिएको दाजुभाइले खानु भनेर उल्लेख गरेको छ,’ उनी भन्छन् ।यो वर्षको तिहार कात्तिक २५ गतेदेखि सुरु भएको छ । भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

म्याग्दीले बिर्सिएको कुनै जमानाकी ‘हिट’ गायिका

कुनै जमानामा ‘बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल’ गीत खुब ‘हिट’ थियो । ‘नबोलाउ हातले बरु बोलाउ पिपलु पातले, किरे मिरे जाले रुमाल, बेनीको बजार जता माया उतै छ नजर किरे मिरे जाले रुमाल’ आम मानिसको जिब्रोमै झुण्डिन्थ्यो गीतको यो बोल । पुरानो पुस्ताका लाखौं नेपाली हिले पनि यो गीत गुनगुनाउँछन् । सबैको मन, मस्तिष्कमा बस्न सफल सदावहार गीतमा स्वर दिने गायिका हुन् मन छन्त्याल भने गीतका सर्जक थिए मनकै पति टीका श्रेष्ठ।

सर्जक श्रेष्ठको बि.स २०७७ चैत्र महिनामा मृत्यु भइसकेको छ । ७४ वर्ष पुुगेकी गायिका मन अहिले छायाँमा छिन् ।
२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीतको ‘क्रेज’मा अहिलेसम्म कत्ति पनि कमी आएको पाइँदैन । गीतको बोल अरु धेरै गीतमा राखेर ती गीतले चर्चा पाएका छन् तर गीतकी गायिका मन भने गायन क्षेत्रभन्दा धेरै टाढा गुमनाम छिन्।

छन्त्याल अहिले आफ्नै घर रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा बस्दै आएकी छन् । यो गीतसँग छन्त्यालको नाम धेरै ठाउँमा जोडिएर आउँदैन ।

पछि ‘रिमिक्स’ भएर आएका गीतमा उनीहरूको पहिचान जोडिएको छैन । अहिले आएर आफ्नो गीतलाई रिमिक्स बनाएर बजारमा ल्याएको देख्दा मनलाई दुःख लाग्छ । ‘शुुरूमा मैले वास्ता गरिनँ । त्यसपछि कसैले नसोधी मेरो गीतलाई रिमिक्स बनाए । चर्चासँगै पैसा पनि कमाए । अहिले आएर यो त सम्पत्ति रहेछ भन्ने बल्ल बुुझें,’ मनले भनिन् ।

विक्रम संवत् २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौंको राष्ट्रिय नाचघरमा मन छन्त्यालले समूहमा गीत गाएकी थिइन् । दिवसको अवसरमा सांगीतिक कार्यक्रमका लागि साविक १४ अञ्चलबाटै कलाकारलाई काठमाडौं बोलाइएको थियो । ‘हामी चाहिँ धौलागिरी अञ्चलबाट छानिएर गएका हौं,’ मनले भनिन्, ‘त्यहाँ हाम्रो समूहले यानीमायाँ, सालैजो, ठाडो भाकाका गीत गाएका थियौं ।’ यो नै उनको सांगीतिक क्षेत्रको पहिलो पाइला थियो ।

मनलाई म्याग्दीबाट काठमाडौं लगेका थिए टीका श्रेष्ठले । मनको जन्म २००८ सालमा म्याग्दीको साविक कुुहिने मंगले गाविसमा भएको हो । टीका म्याग्दीमा शिक्षण पेशामा थिए । सानैदेखि सांगीतिक क्षेत्रसँग पनि नजिक थिए । काठमाडौंमा कार्यक्रमको लागि कलाकार उपलब्ध गराउन धौलागिरी अञ्चलका अञ्चलाधीशले श्रेष्ठलाई पत्र लेखे । साविक धौलागिरी अञ्चलका ४ वटै जिल्लाबाट कलाकार छान्नुपर्ने हुन्थ्यो ।

कलाकारहरू छानेर अञ्चलाधीश कहाँ लैजानुपर्दथ्यो । त्यहाँ गाउँदा राम्रो गरेपछि मात्र काठमाडौं लैजान कलाकारहरू छानिन्थे । श्रेष्ठकै नेतृत्वमा मन छन्त्याल लगायत अरु जिल्लाका गरी १२ जनाको टोली काठमाडौं पुगेर नाचघरमा आफ्नो कला प्रस्तुत गरेको थियो । त्योभन्दा पहिले खासै गीत नगाएकी मन छन्त्यालले त्यसपछि म्याग्दीमा स्कूलका केही कार्यक्रममा गीत गाइन् ।

२०२१ र २०२५ सालमा पनि प्रजातन्त्र दिवसको अवसरमा गीत गाउन मन छन्त्याल टीका सहितको टोलीसँग काठमाडौं गएकी थिइन् । टीकासँग मन छन्त्यालको सम्बन्ध पनि घनिष्ठ हुँदै गयो । अन्ततः बेनीको बजार गीत रेकर्डपछि २०३१ सालमै छन्त्याल र श्रेष्ठले विवाह गरी दाम्पत्य जीवन शुरू गरे ।

विवाहपछिको एक–डेढ वर्ष उनी काठमाडौंमै बसेकी थिइन् । एक ठाउँमा सिलाइकटाइ सिक्दै थिइन् । सिलाइकटाइ सिकेको ठाउँमा मनको माया लामासँग भेट भयो । मन बेलाबेलामा रेडियो नेपालमा गीत गाउन जाने गर्थिन् । त्यहाँ स्वर परीक्षा दिन मान्छेहरू आइरहने गर्थे । मन सम्झिन्छिन्, ‘स्वर परीक्षा पास भएमा गीत रेकर्ड गर्न पनि पाइने रहेछ, मैले पनि स्वर परीक्षा पास गरें ।’ स्वर परीक्षा पास गरेपछि उनले पनि गीत रेकर्ड गराइन्।

२०३१ सालमा मनले रेडियो नेपालमा रेकर्ड गरेको गीत थियो, ‘बेनीको बजार जता माया उतै छ नजर … ।’ रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यसबेला निकै बज्यो, धेरैको मन जित्यो ।‘रेडियोबाट दिनदिनै जसो त्यो गीत बज्थ्योे । मलाई त आफैंलाई आफ्नो स्वर खासै राम्रो लाग्थेन, मान्छेले खै किन रुचाएछन् ?’ उनी भन्छिन् । रेडियोबाट गीत सुन्दा उनी आफैं लजाउँथिन् ।

गीतको संकलनकर्ता उनका पति टीका नै हुन् । बेनीको बजार गीत रेकर्ड गराएबापत मनले ३५ रुपैयाँ पाएकी थिइन् । ‘गीतको पारिश्रमिक पाउन पनि धेरै धाउनुपरेको थियो,’ उनी सम्झिन्छिन् । ‘बेनीको बजार’पछि मनले ८–९ वटा गीत गाएर रेडियो नेपालमा रेकर्ड गराइन् । एउटा छन्त्याल भाषाको गीत, फूलको माया गाँसेर मायालाई …, फूलबारीमा फूल फूल्यो बोलको, सालैजो भाका लगायतका गीत उनले रेकर्ड गराइन् तर बेनीको बजार धेरैको जिब्रोमा झुण्डिने गीत बन्यो । काठमाडौंमा एक–डेढ वर्ष बसेपछि मन बुटवल झरिन् ।

यता आएपछि भने उनको सांगीतिक यात्रा अघि बढेन । ‘आर्थिक अवस्था खासै राम्रो थिएन । त्यसबेला गीत गाएर मात्र बाँच्न सक्ने अवस्था पनि थिएन । व्यापार व्यवसाय गर्नुप¥यो । बालबच्चा हुर्काउनुप¥यो,’ उनले भनिन् । धेरै गीत रेकर्ड नगरे पनि उनलाई पुरानो पुस्ताको गायिकाका रूपमा धेरैले सम्मान गरे । बुटवलमा शुरूआती ताकाका मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा मन निर्णायक पनि बसिन् ।

उनको गीतलाई रिमिक्स गरिएकोप्रति केही गुनासो सुनाइन् । ‘पुरानो गीत फेरि निकाल्न खोजेछन् ठीकै छ भनियो, अहिले त आफ्नो कलाको धेरै महत्त्व रहेछ भन्ने लाग्यो,’ मनले भनिन्, ‘रोयल्टी पनि पाइने अवस्था रहेछ । हामीलाई थाहा थिएन । रोयल्टी खोज्दै पनि हिँडिएन, उनीहरूले पनि आऊ भनेनन् ।’ गीतमार्फत म्याग्दी र बेनी बजारलाई चिनाएको भन्दै मन छन्त्याल र टीकालाई सम्मान गर्न बेनी बोलाइयो । म्याग्दी जेसिज र म्याग्दी व्यापार संघले बेनीमा महोत्सवको आयोजना गरेका थिए ।

मनको जोडी मञ्चमा बस्दा बेनीको बजारको रिमिक्स गीत बज्यो । छन्त्याल अचम्मित भइन् । ‘अर्कैको स्वरमा गीत बजेपछि मेरो गीत होइन भनें । मैले गाएको गीतको त्यहाँ कुनै चक्का थिएन । बमबहादुर कार्की र खड्क गर्बुजा पनि महोत्सवमा पुग्नुभएको थियो,’ उनले सम्झिइन, ‘उहाँहरूले रेडियो नेपालमा फोन गरेर मेरो स्वरको गीत बजाउन भन्नुभयो । त्यसपछि महोत्सवमा मैले गाएको गीत बजेको थियो ।’

गीत चर्चाको शिखरमा पुगेको भए पनि मनले पहिले चाहेको समयमा आफ्ना गीत सुन्न पाइन्नथ्यो । अचेल भने कहिलेकाहीँ आफ्नोे नातिले उनको गीत सुनाइदिन्छन् ।‘यूट्युबबाट सर्च गरेर नातिले गीत लगाइदिन्छ, यो हजुरको गीत भन्छ,’ उनले सुनाइन्, ‘अहिले जस्तो समय भएको भए निरन्तर लागिन्थ्यो होला तर पनि खासै पछुतो छैन ।

’‘एउटा गीतले भए पनि केही चिनिने मौका पाएँ, सन्तुष्ट छु,’ उनले भनिन् । मनका २ छोरी छन् । उनको बुुढेसकालको सहारा छोरी बनेका छन् । लामो समयदेखि मिर्गाैला पीडित पति टीकाको मृत्युुपछि २ छोरीहरू आलोपालो माइतीमा आएर मनको रेखदेख गर्छन् ।
लोकान्तर डटकमका लागि प्रकाश आचार्यको लेख साभार

सदाबहार बेनी बजार

विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर गौंडा भए । गौंडा भएपछि सुकेको व्यापार उठ्न निकै समय लाग्यो।
बेनीको बजार
जता मायाँ उतै छ नजर
किरेमिरे जाले रुमाल‘
म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ सर्जक तथा गायक स्वर्गीय टीकाबहादुर श्रेष्ठले गाएको यो गीतको गीतांशजस्तै छ, बेनी बजार । म्याग्दी जिल्ला सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार साविकको धौलागिरी अञ्चलका ४ जिल्लाको व्यापारको प्रतिनिधित्व गर्ने बजार हो ।

बाइसे–चौबिसे राजाका पाला पर्वत राज्यको मुकाम, राज रजौटाको थलो बेनी बजार हिजो जस्तो थियो, आज त्यो भन्दा सुधारिएको छ । तर, बिग्रिएर कहिल्यै पछि परेन । बेनी बजारका अनेकौं किस्सा र आरोह÷अवरोह छन् । पर्वत राज्यको मुकाम हुँदै अहिलेको सानो जिल्लाको मुकाम हुँदा समेत बेनीले आफ्नो साख जोगाइराखेको छ ।
बेनी बजार इतिहास

पूर्व सांसद एवं इतिहासका जानकार चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औं शताब्दीमा स्थापना भएको हो । विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो । १६ हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए । राजा राजबम मल्लले पर्वत राज्य सम्हाले ।

उनै राजाले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्चालनको खर्चको खोजी गर्दा बेनीले व्यवसायिक यात्राको सुरुआत गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गरेका छन् ।

तत्कालीन समयमा बेनी बजार चौबाटोमा पर्दथ्यो । मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजबमले व्यापारको अक्कल लगाए । खानीहरु सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगडहरुले तामा र फलाम निकाल्न थाले ।

अरु बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहेको भएपनि बेनी बजारको मात्र त्यस्तो इतिहास छ जुन बजार दलित व्यापारी कामी समुदायका नागरिकले उठाएका हुन् । बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुहरुको व्यापार सुरु भएको इतिहास छ । ‘यी धातुहरु भने पर्वत राज्यका विभिन्न ठाउँमा निकालिन्थ्यो,’ लेखक बानियाँ भन्छन् ।

अहिलेको म्याग्दीमा पर्ने बेनीबजार बगर थियो । पर्वतमा पर्ने बेनीबजार कालीगण्डकीको तिरबाट व्यापार सुरु भएको हो । ‘पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ,’ बानियाँ भन्छन् ‘बेनी बजारलाई फेरो हालेका काली र म्याग्दी खोलालले छिचोलेको भूभागमा खेती कम हुन्छ ।’

म्याग्दी खोलाले छोडेका केही बगरमा खेती हुने भएपनि कालीखोलाले छोडेका चट्टानमा उब्जाउ नभएकै कारण विकल्पको रुपमा बेनीमा व्यापार सुरु भएको उनको भनाइ छ । पर्वत राज्यका ७ औं राजा मलेबम मल्लले पहिले बेनीबजार भन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे ।

Date: 1968 Location: Beni, Myagdi Description: Toddler sitting in the lap of his grandmother in Beni Bazaar and his grandmother’s friend laughing.

उनको राजकाज त्यहींबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो । बाइसे चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ । बेनीमा टक्सार (मुद्रा काट्ने मेसिन) राखेर काम भइरहेको थियो ।

पहिले बगर, अहिले बजार
बेनी बजारले ५ शताब्दीको यात्रामा अनेकौं आरोहअवरोह व्यहोरेको छ । कहिले टक्सार हटेपछि हराएको व्यापार त कहिले आगलागी र कहिले व्यवस्था परिवर्तनको शिकार बेनी बजार भएको इतिहास छ ।‘पर्वत राज्यमा विसं १८४३ को दशकमा गोरखाका राजाले आक्रमण गरे ।

Date: 1968 Location: Mudi, Myagdi Description Returned Gurkha soldier teaching four young students in outdoor classroom.

५ दिन लामो लडाइँपछि दरबार जलाइयो, व्यापार उठाइयो र विजयी हासिल भएको घोषणा गरियो । त्यतिबेला हुने धातुको व्यापार केही समयका लागि घट्यो र फेरि उठ्यो,’ बानियाँ भन्छन । विसं १९२०–२५ को दशकमा गोरखाका राजाले काठमाडौं विजय गरेपछि भक्तपुर र साखुका नेवारहरु बेनीमा आए । १९२६ मा तत्कालीन राजाले दिएको एक सुर्को जमिनमा घर बनाएर नेवारले सुरुआत गरेको बजार अहिलेसम्म छ ।

Date: 1966-08-21
Location: Beni, Myagdi
Description: Beni bazaar as seen from helicopter.

विसं १९७१ मा तत्कालीन पर्वत राज्यमै रहेको बेनी बजारमा रहेको टक्सार बागलुङ बजारमा सारियो । व्यापारका लागि मुद्रा चाहिने मुद्रा कोष नै बागलुङमा सारिएकाले त्यो बेला बेनीबजार एक चरण सुक्यो । पर्वत राज्य टुक्रिएर गौंडा भए । गौंडा भएपछि सुकेको व्यापार उठ्न निकै समय लाग्यो ।

विसं २००० सालमा बेनी बजारमा भएको आगलागी कहालीलाग्दो थियो । बुढापाकाका अनुसार त्यतिबेला बेनी बजार सबै नासियो । १०१८ सालसम्म एकै ठाउँमा रहेको पर्वत राज्यको अस्तित्व त्यतिबेला सकियो जब राज्यको पुनसंरचना भयो ।
राजा महेन्द्रले उच्चस्तरिय संयन्त्र बनाएर पुनसंरचनाको खाका ल्याउन लगाए ।

Date: 1967-03-13
Location: Beni, Myagdi
Description: Victory procession through bazaar after election of district chairman.

समितिले ल्याएको खाकामा १४ अञ्चल १४ जिल्ला थिए । ७४ जिल्ला फाप्दैन भनेपछि एक जिल्ला थप्ने निर्णय भयो । पर्वत, कास्की र स्याङ्जाबाट केही भूभाग छुट्टाउँदा पर्वत जिल्ला थपियो । नयाँ जिल्लालाई पर्वत नै नामाकरण गरियो । पुरानो पर्वतको शाख बोकेको जिल्लाको नाम म्याग्दी र मुकाम बेनी भनेर राखियो । २०१८ सालमा साविक मुकाम पर्वत जिल्लामा परेपछि बेनीले नयाँ मुकाम बिस्तार ग¥यो । पहिलेको बगर अहिले बजार बनेको छ ।

नयाँ संरचना र बेनीको व्यापार
बेनी बजार आप्रबासीले भरिएको बजार हो । यहाँ व्यापारका लागि आउनेहरु अधिकांश बाहिरी जिल्लाका छन् । म्याग्दी जिल्लाकै पनि बेनी बजार बाहिरका धेरै छन् । स–साना संकट आउँदा समेत यहाँको व्यापार छोडेर हिँड्नेहरु धेरै हुन्छन् ।
बजारको व्यापार घट्ने त्रासले संकटमा व्यवसायीले बजार छोड्ने गरेका भएपनि यहाँको व्यापारमा तात्विक असर नपरेको अनुभव छ, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उत्तम कर्मचार्यको ।

‘पैदल हिँडे घोरेपानीको बाटो हो नत्र म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो बेनी बजार,’ कर्मचार्य भन्छन्, ‘बेनीले जबरजस्त आफ्नो साख जोगाइरहेको छ ।’ गाउँगाउँमा सडक पुगेका छन् । राज्यको पुनसंरचना भएपनि पालिका मुकामहरु बनेका छन् । तर, बेनी बजारले भने यी सबै परिर्वतनसँग अनुकुलित हुने गरेको बानियाँको पनि अनुभव छ ।

‘नेपालको संविधानले जिल्लाको कल्पना गरेको छैन । अब मुकाम रहँदैन भनेर धेरैले पहिले बजार छोडे,’ बानियाँ भन्छन्, ‘विकल्प नै छैन्, मुख्यद्वार भएकाले बेनीले आफूलाई परिवर्तन गर्नुप¥यो । तर, सुक्नु परेन, छोडेका पनि फर्किन थालेका छन् ।’ हिजो तामा फलामको व्यापारबाट बेनी नुन कपडाको व्यापारमा प्रवेश गरेको थियो ।

‘स्याङ्जाको पुतलीखेतबाट मान्छेले बोकेर ल्याएको सामान यहाँ बिसाउँदा व्यापार हुन्थ्यो,’ कर्मचार्य भन्छन्, ‘हिजो गाडी थिएनन्, अहिले गाउँमा गाडी पुग्दा कमी भए होला तर व्यापार खस्किएको हैन ।’ २०१७ सालमा म्याग्दी बेनी र पर्वत बेनीलाई जोड्नेगरी म्याग्दी खोलामा पुल बनेपछिको व्यापार स्थीर रहेको उनले बताए ।

अहिलेको आधुनिक व्यापारमा पनि बेनी उत्तिकै अब्बल छ । मुस्ताङको स्याउ र च्यांग्राको ट्रान्जिट प्वाइन्ट बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न भण्डारण पनि बेनीमा भएरै बाँडिन्छ । म्याग्दीमा मालिका गाउँपालिकाको दरबाङ बजारले बेनीसँग प्रतिस्पर्धा गर्छ । दोस्रो बजारको रुपमा रहेको दरबाङको पनि आफ्नै इतिहास छ । दरबाङले आफ्नो स्वरुप फेरेको भएपनि बेनीलाई कहिलै असर गरेन । दरबाङले आफ्नै लयमा विकासको बाटो समातेको छ ।

मंगला गाउँपालिकाको बाबियाचौर, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र धौलागिरि गाउँपालिकाको मुना बजारले आ–आफ्नै लय समातिहेका छन् । पोखरे बगरमा रहेको फराकिलो भूभागले मूल्य बढाउँदा भरिएको बेनी बजारको जग्गासँग कुनै तुलना हुँदैन । रघुगंगाको मौवाफाँट पनि आफ्नै लयमा छ । बेनी बजार जसरी तीन नदीको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगमस्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका पाइन्छ परिर्वत र व्यापारमा पनि त्यस्तै छ ।

लाहुरेले सिंगारिएको बजार
म्याग्दीमा खेतीयोग्य जमिन कम छ । यहाँको मुख्य पेशा भनेकै कि त व्यापार नभए लाहुर हो । लाहुरेहरुको जिल्ला भनेर परिचय बनाएको म्याग्दी मुकाम बेनी बजारमा व्यापारको साख जोगिनुको अर्को मुख्य कारण विप्रेषण हो ।

‘केही नभएपछि परिवार पाल्ने उपाय खोज्न जवानहरु गोर्खा, ब्रिटिस र सिंगापुर पुगे, अहिले जापान, जर्मन र खाडी पुगेकै छन्,’ इतिहासका जानकार चन्द्रप्रकाश बानियाँ भन्छन्, ‘अनौंठो चलन के छ म्याग्दीमा भने पहिलेकाले पैसा ल्याएर जग्गामा हालेनन्, लाहुरेले घरमा छोडेर जाने पैसा व्यवसायसँग जोडियो ।

’ उत्पादन र उत्पादकत्व नभएकै कारण बजारसँग सधैं जोडिने बाध्यता म्याग्दीमा छ । जसको फाईदा बेनी बजारले उठाइरहेको छ । सडक, संरचना र व्यवस्था फेरिँदा समेत पाँच शताब्दीसम्म बेनीको उत्तिकै महत्व र गरिमा रहेको बानियाँ बताउँछन् । ढोरपाटन दैनिकबाट साभार

हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरे

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए ।

“रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो”, उनले भने, “३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।” वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ । घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ

मुस्ताङमा हिमचितुवाले पुर्याको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्याङ्क छैन । ढाक्मर गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए । गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकको ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्याङ्क छ ।

हिमचितुवाको आक्रमणमा परी मरेका च्याङ्ग्राहरु। तस्बिर : सुन्दरकुमार थकाली।