Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 52

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित  म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल ९ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ । पालिकामा जन्मेदेखि १५ महिना भित्रका २ सय ५५ जना बालबालिकाहरुले सम्पूर्ण खोप लगाइसकेको मालिका गाउँपालिकाले जनाएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीले बताउनुभयो । बालबालिकाहरु जन्मेपश्चात् ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत २१ गते ७ नम्बर वडा विमबाट वडाहरुलाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु भएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । निस्कोट, रुम, डाँडागाउँ, ओखरबोट, देवीस्थान, दरबाङ र विमसहित ७ वटा वडा रहेको मालिकामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि मङ्गलवार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै म्याग्दीका जिल्ला समन्वय अधिकारी कमलप्रसाद आर्चाले प्रत्येक बालबालिकाहरुले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्ने उनीहरुको नैसर्गिक अधिकार भएको उल्लेख गर्नुभयो । उहाँले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै नियमित रुपमा लगाउने गरिएका खोपलगायत कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । दातृ निकायहरुको सहयोगमा सञ्चालित खोप कार्यक्रमहरुमा अब आर्थिक सहयोग आउने सम्भावना कम रहेको हुँदा यसका लागि वैकल्पिक स्रोतको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई खोप लगाएर पूर्णखोप सुनिश्चित घोषणा गर्ने कार्यक्रममा धेरै पक्षबाट सहयोग मिलेको हुँदा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, निकाय र व्यक्तिहरुलाई आभार प्रकट गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्ने कार्य वार्षिक कार्यक्रम भएकाले यसलाई निरन्तरतासहित पूर्णखोप अभियानलाई सफल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँ, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी जैसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका सहसंयोजक राजेश थापामगरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरुले नृत्य प्रस्तुत गरेका थिए । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित भई मालिका गाउँपालिका म्याग्दी जिल्लामा दोस्रो र गण्डकी प्रदेशमा तेस्रो बनेको छ ।

तुँदी पावर : मृतक चौधरीको पोष्टमार्टम अझै भएन

म्याग्दीको रघुगङ्गा गाउँपालिका-८, निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत बाराका हरिओम चौधरीको आफन्तहरूले शव बुझ्न नमान्दा पोष्टमार्टम हुन सकेको छैन् ।

तुँदी पावर प्रवर्धक रहेको ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनामा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका-६, कुमरगढीका २७ वर्षीय चौधरी कामबाट फर्किने क्रममा अचानक बेहोस भई मृत्यु भएपछि परिवारका सदस्यले परिवारको लालनपालनका लागि उचित क्षर्तीपुर्तीको सुनिश्चितता नभएसम्म शब नबुझ्ने अडान दिएका छन् ।

चौधरीको उपचारका क्रममा बेनी प्रादेशिक अस्पतालमा ल्याइएका चौधरीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।मृतकका आफन्त कमलबाबु चौधरीका अनुसार सिविएम डब्लुई कम्पनीमार्फत हरिओम आयोजनामा जोडिनुभएको थियो ।

मृतक चौधरीले वल्डिङको काम गर्नुहुन्थ्यो । तुँदी पावरले मजदुरको विमा नगरेको, क्षर्तीपुर्तीमा आलटाल गरेको भन्दै मृतकका छोराछोरीको शिक्षादीक्षा सहित उचित क्षर्तीपुर्ती बिना शब नबुझ्ने बताएपछि छलफल जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबिच कम्पनीले ७ महिनासम्म कार्यरत चौधरीको बिमा समेत नगरेको पाइएको छ । मजदुरलाई जोखिमपूर्ण काममा लगाएर बिमा समेत नगरेपछि आफन्तले कानुनी कारबाहीको माग गरेका छन् ।

कम्पनीको लापवाहीका कारण हरिओमको मृत्यु भएको र कम्पनीले गुनासो सुनुवाइ नगरेको भन्दै उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले अडान लिएका छन् । हरिओमको शव अहिले बेनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

मृतक चौधरीका घरमा बुवाआमा, एक दाजु ,श्रीमती र दुई छोरी हुनुहुन्छ । म्याग्दीमा निर्माणाधिन अवस्थामा रहेका जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई न्यूनतम सुविधाका लागि समेत आनकानी गर्ने गरेका छन् । तुँदी कम्पनीको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत पनि निर्माणाधिन अवस्थामा रहेको छ ।

शिक्षक महासङ्घद्वारा कक्षा १२ को परीक्षा बहिष्कार

नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षासहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन्।

‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ,‘त्यसै गरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’

यस्तै शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन सबैसँग विज्ञप्तिमा आह्वान गरिएको छ।  सरकारले भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

सुनको भाउ ताेलाकाे २ लाख नजिक, एकैदिन ६ हजार ९ सय रुपैयाँले बढ्याे

सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुनको भाउ तोलाकाे एक लाख ९७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेकाे थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

मेडिकलको बेतिथी : फुड सप्लिमेन्टबाट ठगिदैं बिरामी

म्याग्दीको सदरमुकाम बेनीबजारमा शिशुले प्रयोग गर्ने गरी गाइप वाटर बिक्री गरेको पाइयो । जन्मदिएपछि ६ महिनासम्म शिुशुलाई प्राकृतिक दूध बाहेक प्रयोग नगर्न चिकित्सकले सुझाव दिने गर्दछन् ।

सदरमुकाम बेनीबजारमा रहेका मेडिकलले शिशुदेखि बृद्धबृद्धालाई शरीरमा भिटामिन, मिनरल र अन्य आवश्यक तत्व खानाबाट पूर्ति नभएको भन्दै फुड सप्लिमेन्ट भिराउने गरेको पाइएको छ ।

बेनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दन सुबेदीले शिशुलाई गाइप वाटरलाई औषधिको रुपमा बिक्री गरेको पाइएको बताउँदै तत्काल रोक्न निर्देशन दिनुभयो । पूर्ण स्तनपानको अभियानमा राज्यबाट उच्च प्राथमिकता दिएको अवस्थामा विभिन्न बाहनामा फुड सप्लिमेन्ट दिनु गलत भएको प्रमुख सुबेदीको भनाई छ । ‘‘बिरामीलाई औषधीसँगै फुड सप्लिमेन्ट बेच्न पाइदैन’’ प्रमुख सुबेदीले भन्नुभयो ।

फुड सप्लिमेन्ट अनेक थरीका हुन्छन् । नेपाली र भारतीय कम्पनीबाट बजारमा आउने भएकाले औषधिपछि यो खानुहोस्, निको हुन्छ भन्दै बिरामीलाई भिराउने गरेको पाइन्छ । फुड सप्लिमेन्टबाट बिरामी निको भएको कुनै आधार भने मेडिकल पसलले दिन सकेका छैनन् ।

पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा सुरू भएको अनुगमनमा बेनीबजारका फार्मेसी, औषधि पसलले भारतीय कम्पनीबाट उत्पादित फुड सप्लिमेन्टलाई औषधिको रूपमा खाइरहेको अनुगमनको क्रममा भेटिएको छ । फुड सप्लिमेन्ट औषधिजस्तै झोल, पाउडर, क्याप्सुललगायतका आकारमा बिक्री गरेको भेटिएको अनुगमन टोलीका संयोजक अमृतप्रसाद कँडेलले बताउनुभयो।

अनुगमनको क्रममा चिकित्सकले समेत भारतीय महंगो औषधि सिफारिस गर्ने, चिकित्सकको प्रेस्क्रिप्सन बिनै फुड सप्लिमेन्टलाई औषधिको नाममा बेच्न गरेको भन्दै ब्यवसायीलाई सचेत गराइएको छ । एउटा विरामीलाई चिकित्सकले सिफारिस गरेको बाहेक फुड सप्लिमेन्टको नाममा ३ सयदेखि १ हजारसम्म थप खर्च गराउने गरेको पाइएको छ ।

चिकित्सकले समेत फेसनको रूपमा फुड सप्लिमेन्टको प्रयोग भइरहेको भन्दै सप्लिमेन्ट खाँदा शरीरलाई आवश्यक भिटामिन, मिनरलजस्ता तत्व पूर्ति हुने भ्रम मात्रै भएको बताउने गरेका छन् । बेनीका मेडिकलले आर्युबेदिक समेत एउटै स्थानमा राखेर बिक्री गर्ने गरेको पाइएको छ । बेनीबजार र ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमनसँगै देखिएका समस्याहरुका बारेमा सम्बन्धित निकायमार्फत सचेत गराउने बताइएको छ ।

अर्मनमा ‘एक घर, एक धारा’

मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँचवटा खानेपानी आयोजना सञ्चालन भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित रु. दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु. एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भइरहेका चार आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने एक योजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिने जानकारी दिनुभयो ।

“पाँचवटै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित धमाधम निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण हुन्छ ।”

नेवामार्फत रु ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा, रु. २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा, रु. ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र रु. ३६ लाख ८६ हजार ८७० लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने वडाध्यक्ष खत्रीले बताउनुभयो ।

कादुरी संस्थामार्फत रु. एक करोड पाँच लाखको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने भएको छ । नेवामार्फत कार्यान्वयन हुने योजनामा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान छ । घरघरमा खानेपानी धाराका साथै भाँडा धोएपछि सुकाउने पक्की चाङ पनि बनाइनेछ ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मङ्गला–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा नै निजी धारा भएपछि समयको बचत, सहज र सुविधा हुने बताउनुभयो । रासस

म्याग्दी क्याम्पसमा आयोजित रक्तदानबाट २२ पिन्ट रगत संकलन

स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई रक्तदानमा आर्कषित गर्ने उदेश्यले आयोजित कार्यक्रमको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो ।

रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको भनेर म्याग्दीमा हुने रक्तदान कार्यक्रमबाट बाहिरी जिल्लामा समेत पठाएर धेरैको ज्यान जोगाउने गरिएको प्रमुख अतिथि गर्बुजाले बताउनुभयो । रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष शेरबहादुर केसी, क्याम्पस प्रमुख श्रीधर सुबेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, रघुगंगा गाउँपालिकाका प्रबक्ता एवम् वडा नं ६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जा, बेनपा ७ का वडा सदस्य विश्वास श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।

रक्तदान कार्यक्रमको अध्यक्षता स्ववियु सभापति संगम चोखाल, स्वागत उपाध्यक्ष रेजिना भण्डारी र सञ्चालन सचिव मञ्जुल कटुवालले गर्नुभएको थियो । म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।

कक्षा १२ को परीक्षा नसर्ने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको एक सदस्यले बताए।

बिहीबार (वैशाख ११ गते) देखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ।

तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित हुने देखिएपछि यसबारे निर्णय लिन आज बोर्ड बैठक बोलाइएको थियो।

यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए।

अनुगमन टोली आएसँगै औषधि पसलले भागे

सदरमुकाम बेनी बजार क्षेत्रमा सञ्चालित औषधि पसल तथा क्लिनिक एवम् मानव स्वास्थ्य सँग सम्बन्धित संस्थाको अनुगमन गर्ने क्रममा एउटा पसलका सञ्चालक पसल बन्द गरेर भागेका छन् । बजार अनुगमनका लागि जिल्ला प्रशासनको नेतृत्वमा पर्यटन तथा उद्योग कार्यालयलगायतको अनुगमन टोली औषधि पसल पुग्नै लाग्दा पसल बन्द गरेर भागेका हुन् ।

बेनी नगरपालिका ८ को गणेश टोलमा रहेको प्रयास मेडिकल स्टोर्सका सञ्चालकले बजार अनुगमन टोली आउँदै गरेको जानकारी पाए पछि पसल बन्द गरेर भागेका हुन् ।

अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्य सूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि समेत एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको थियो । अनुगमन गरिएका हरेक पसलमा कुनै न कुनै समस्या भेटिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनिरल र अन्य आवश्यक तत्त्व खानाबाट पूर्ति नभएको भन्दै बिरामीलाई फुड सप्लिमेन्टलाई औषधिको नाममा सिफारिस गर्ने गरेको समेत भेटिएको जनाइएको छ । औषधि पसलले बिरामीलाई औषधि बाहेक विभिन्न बहानामा अनावश्यक खर्च गराउने गरेको गुनासो समेत आएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अमृतप्रसाद कँडेलले बताउनुभयो ।

नवीकरण नभएकालाई दुई दिनको समय दिएर सबै कागजात पुरा गर्न निर्देशन गरिएको थियो । अनुगमन टोलीकी संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले औषधि, डेन्टल र ल्याब सेवा मापदण्ड विपरीत सञ्चालन गर्न नदिने बताउनुभयो ।

बेनीमा रहेको निलगिरी डेन्टल केयर सेन्टर, न्यु युगल फार्मेसी, पाण्डे मेडिकल हल, युगल डेन्टल केयर सेन्टर, ढकाल मेडिकल हल, न्यु ढकाल ल्याब, बेनी सन्जिबिनी हेल्थ क्लिनिक, कोर स्माइल डेन्टल केयर सेन्टर र म्याग्दी डेन्टल होममा अनुगमन गरिएको थियो ।अनुगमनको क्रममा एउटा डेण्टल हाउसको कागजात नभएको पाइएको र अनुगमन भएका सबै फर्महरूमा कमजोरी भेटिएको अनुगमनमा सहभागी नेपाल पत्रकार महासङ्घका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो ।

म्याग्दीको धवलागिरि पहिलो पूर्णखोप सुनिश्चितता र दिगोपना घोषित

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको धवलागिरि गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषित भएको छ । धवलागिरि गाउँपालिकाको आयोजनामा सोमबार एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो ।

बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका कुल ६ सय ३१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिकाको रुपमा घोषणा गरिएको धवलागिरि गाउँपालिकाले जनाएको छ । पालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले पनि नियमित खोप लगाइरहेका छन् ।

राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षत्रीले बताउनुभयो । बालबालिकाहरुले १५ महिनादेखि ५९ महिनासम्म पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

धवलागिरि गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्नका लागि यसअघि गएको चैत १७ गतेबाट वडास्तरमा कार्यक्रम गरी वडालाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य सुरु गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो । गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकमसहित ७ वटा वडा रहेको धवलागिरिको यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि आज पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । जिल्ला खोप समन्वय समितिको संयोजक समेत रहनुभएकी कार्यवाहक प्रमुख खत्रीले भौगोलिक हिसाबले जिल्लाको विकट ठाउँमा रहेको धवलागिरि गाउँपालिका जिल्लामै पहिलो पूर्णखोप सुनिश्चित पालिकाको रुपमा घोषणा हुन सफल भएकोमा यस कार्यमा खट्ने सबैलाई धन्यवाद दिनुभयो ।

सोही अवसरमा धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो । उहाँले मानव स्वास्थ्य र स्वस्थ जीवनका लागि खोप निकै महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि खोपलगायत गाउँपालिकाबाट सञ्चालन हुने कार्यक्रमहरुमा सबैको सहयोग हुने अपेक्षा समेत गर्नुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख क्षत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रवक्ता एवं वडानम्बर ३ का वडा अध्यक्ष देवेन्द्र रोकाले स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पूर्णखोप पालिका सुनिश्चित घोषणामा सहयोग पु¥याउनुहुने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र फोकल पर्सनलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा पालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए । धवलागिरि गाउँपालिका म्याग्दीसहित गण्डकी प्रदेशमै पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषित भई पहिलो बनेको दावी गरिएको छ ।