Monday, June 2, 2025
27.7 C
Beni
27.7 C
Beni
Monday, June 2, 2025
Home Blog Page 54

दृष्टिविहीन श्रीमती र छोराहरूका लागि चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो बाटो…

श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यहाँसम्म पुग्ने बाटो नहुँदा तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले दुई वर्ष लगाएर बाटो खने।

कसैले सहयोग गरेनन्, कसैले चासो पनि देखाएनन्। एक्लै दुई किलोमिटर बाटो खनेपछि उनलाई अहिले सहज भएको छ। उनले बनाएको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक बनाइदिएको छ।

विसं २०७३ मा चन्द्रवीरले दुई वर्ष लगाएर खनेको गोरेटो अहिले सडक बनेको छ। त्यहाँ गाडी, अटो, मोटरसाइकल गुड्छन्। खमारी जान पनि यो छोटो बाटो प्रयोग हुन्छ। चन्द्रवीरले यो बाटो दृष्टिविहीन श्रीमती र चार छोराका लागि खनेका हुन्।

‘श्रीमती र छोराहरू आँखा नदेख्ने थिए, बजार जान बाटो थिएन,’ उनले भने, ‘श्रीमती र छोरा लड्लान् भनेर बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्छन्।’ उनका पाँच छोरा र एक छोरी थिए। एउटा छोरा र छोरी सानैमा बिते। अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्र आँखा देख्छ, बाँकी तीन छोराले देख्दैनन्।

जेठो छोरा काठमाडौँमा दोहोरी साँझमा काम गर्छन्। माइलो छोरा तुलसीपुर बजारमा गीत गाएर कमाउँछन्। कान्छो छोरा काठमाडौँमा छन्, उनले दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन्।

चन्द्रवीरलाई अहिले घरमै कसैले सहयोग गर्छन्। त्यही सहयोगले उनको दैनिकी चल्छ। ‘कहिले मास्टर आउँछन्, कहिले इञ्जिनियर आउँछन्,’ उनले भने, ‘आउने सबैले चामल, दाल ल्याइदिन्छन्, हाम्रो जीवन यसरी चल्छ।’ रासस

पोखरामा प्रथम एलिट भलिबल कप हुने

पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो ।

एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए ।

प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।

प्रतियोगिताबाट बचत रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । उनीहरुलाई प्रशिक्षणसमेत निशुल्क गराइनेछ । खेलकुदमार्फत भाइचारा स्थापित गर्न यो प्रतियोगिताले टेवा पु¥याउने आयोजकको विश्वास छ ।

नेपालमा बाघको सङ्ख्या बढ्यो, बासस्थानको समस्या

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गनुपर्ने र त्यसबाट आयआर्जनसँग पनि जोड्न सकिने उहाँको भनाइ छ ।

नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो । नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो ।

 

 

आफ्नै मनको पिँजरामा कैद

कल्पना गर्नुहोस्, एउटा चराको, जुन एउटा सुनौलो पिँजरामा कैद छ। त्यो पिँजरा यति सुन्दर छ कि हेर्दा लाग्छ चराको जीवन यही हो; सुरक्षित र सम्पन्न। पर कतै खुला आकाश देखिन्छ, जहाँ हजारौँ पखेटा फर्फराइरहेका छन्, तर उसलाई लाग्छ छ, “त्यो संसार मेरो लागि होइन। म यहाँ सुरक्षित छु, यो पिँजरा मेरो घर हो।“

हामी पनि त्यही चरा हौँ। हामी बाहिरबाट स्वतन्त्र देखिन्छौँ, हिँड्छौँ, बोल्छौँ, निर्णय गर्छौं। तर के हाम्रा निर्णयहरु साँच्चै स्वतन्त्र छन् त? के हाम्रो सोचाइ सधैँ हाम्रो आफ्नै हो त? तर सत्य के हो भने हाम्रो मनले हामीलाई एउटा अदृश्य पिँजरामा कैद गरिसकेको छ। हामीलाई लाग्छ, हामी स्वतन्त्र छौँ, तर हाम्रो स्वतन्त्रता केवल एक भ्रम हो।

मन एउटा जटिल संरचना हो। यसको पर्खालहरू भयबाट बनेका छन्; भविष्यको भय, असफलताको भय, समाजको भय। यसको पर्खाल पुराना विश्वासहरूले ढाकेको छ; के सही, के गलत, के सम्भव, के असम्भव। यसमा एउटा अर्को ढोका पनि छ, तर हामीले कहिल्यै त्यो ढोका खोल्ने हिम्मत गरेका छैनौँ। किनभने पिँजराभित्रको सुरक्षित संसार हामीलाई बाहिरको अज्ञात संसारभन्दा बढी प्रिय लाग्छ।

तर सोच्नुहोस्, के साँच्चै पिँजराभित्र बस्नु नै जीवन हो त? चरा जन्मिदा पिँजराका लागि जन्मदैन, खुला आकाशका लागि जन्मिन्छ। त्यसैगरी, हाम्रो चेतना पनि बन्धनका लागि होइन, स्वतन्त्रताको लागि जन्मिएको हो। तर यो मनले हामीलाई आफ्नै डर, असुरक्षा र समाजका नियमहरूको शृङ्खलामा बाँधेर राखेको छ। हामी बाहिर निस्कन चाहँदैनौँ, किनकि अज्ञातको डर हाम्रो मनको सबैभन्दा ठूलो शत्रु हो।
हाम्रो मनले हामीलाई यही सिकाएको छ; तिमी सुरक्षित छौ, जहाँ छौ त्यहीँ बस। तिमीले सोच्नुपर्दैन, प्रश्न गर्नुपर्दैन र सिमाना तोड्नुपर्दैन। यसैले हामी परम्परा मान्छौँ, समाजका नियमहरू पालना गर्छौं, अनि आफूलाई सुरक्षित राख्छौँ। तर के यो सुरक्षा नै स्वतन्त्रता हो त?

स्वतन्त्रता भनेको केवल शारीरिक रूपमा मुक्त हुनु मात्र होइन। स्वतन्त्रता भनेको मनका पर्खालहरू भत्काउन सक्ने साहस हो। स्वतन्त्रता भनेको हो, आफ्ना डरहरूको जरा भेट्टाउने प्रयास। स्वतन्त्रता भनेको हो, प्रश्न गर्नु, आफूलाई चुनौती दिनु, अनि त्यो पिँजराको ढोका खोल्न हिम्मत गर्नु।

तर यो सजिलो छैन। पिँजराभित्रको संसार परिचित छ, सुरक्षित छ। बाहिरको संसार अनिश्चित छ, अज्ञात छ। तर याद गर्नुहोस्, चराको लागि पिँजराभित्रको सुरक्षा भन्दा आकाशको खुलापन ठूलो हो। त्यहाँ जोखिम छ, आँधी छ, वर्षा छ, तर त्यही जीवन हो।

त्यसैले मनको पिँजराबाट निस्कनको लागि पहिलो कदम हो, स्वीकार गर्नु कि हामी कैद छौँ। हामी स्वतन्त्र छैनौँ, हामी डर, असुरक्षा र पुराना विश्वासको बन्धनमा बाँधिएका छौँ। जबसम्म हामी यो सत्यलाई स्वीकार गर्दैनौँ, तबसम्म कुनै ढोका खुल्दैन।

आफ्नै मनको पिँजराबाट मुक्त हुनका लागि हामीले मनको हरेक गतिविधिलाई हेरिरहनुपर्छ। हरेक विचारलाई प्रश्न गर्नुपर्छ, यो मेरो आफ्नै सोच हो कि अरूबाट आएको हो? यो विश्वास मेरो आफ्नै हो कि मैले यसलाई केवल अन्धाधुन्ध स्वीकार गरेको हुँ?

जब तपाईँ यी प्रश्नहरू सोध्न सुरु गर्नुहुन्छ, तब पिँजराको ढोका आफैँ खुल्न थाल्छ। तब तपाईँ थाहा पाउनुहुन्छ कि स्वतन्त्रता बाहिरको कुरा होइन, यो तपाईँभित्रै छ।

तर यो यात्रा सजिलो छैन। यो चुनौतीपूर्ण छ। तर सोच्नुहोस्, के चराले आकाशको विशालता बिना कहिल्यै साँचो जीवन बाँच्न सक्छ? त्यसैगरी के तपाईँले मनको पिँजरामा कैद भएर कहिल्यै जीवनको वास्तविक गहिराइ महसुस गर्न सक्नुहुन्छ?
त्यसैले पिँजराको ढोका खोल्नुहोस्। डरको सामना गर्नुहोस्। किनभने स्वतन्त्रता भनेको डरको अभाव होइन, बरु डर हुँदाहुँदै पनि कदम चाल्नु साहस हो। तपाईँ स्वतन्त्र जन्मिनुभएको हो, त्यही स्वतन्त्रता फिर्ता लिन तयार हुनुहोस्।

अधिकांश मन्त्रालयले चालू आर्थिक वर्षको भन्दा कम बजेट पाउने सम्भावना, यस्ताे छ सिलिङ

सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि कम बजेट पाउने सम्भावना देखिएको छ ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६५ करोड रुपौयँको बजेट सिलिङ निर्धारण गरेको छ । सरकारले यही सीमाभित्र रहेर बजेट ल्याउनुपर्ने हुन्छ । चालू आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको वास्तविक विनियोजनभन्दा आगामी आर्थिक वर्षको बजेट सिलिङ केही बढी देखिए पनि अनिवार्य दायित्वमा खर्च बढ्ने भएपछि विकास खर्च बढी हुने मन्त्रालयले नै न्यून बजेट पाउने अवस्था आएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, कृषि तथा पशुपन्छी विकासलगायत पुँजीगत खर्च बढी हुने मन्त्रालयको बजेट नै कटौतीमा पर्ने देखिएको छ ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गर्दा आन्तरिक राजश्वबाट १२ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ मात्रै प्राप्त हुने अनुमान गरिएको छ । स्रोत अनुमान समितिले दिएको सिलिङअनुसार बजेट ल्याउने हो भने छ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ स्रोत अपुग हुने यसले देखाउँछ । स्रोतको आँकलन गर्दा चालू आर्थिक वर्षको आन्तरिक राजस्वको लक्ष्य र आगामी आर्थिक वर्षको अनुमानमा खासै ठूलो अन्तर देखिँदैन । मध्यावधि समीक्षामार्फत् कायम गरिएको राजस्व लक्ष्यका तुलनामा भने झन्डै १० प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

ऋणको सावा–ब्याज तिर्न चार खर्ब १० अर्ब चाहिने

सार्वजनिक ऋणको साँवा ब्याज तिर्न यस वर्ष सरकारले चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो तर आगामी आवमा सरकारी ऋण तिर्न चार खर्ब १० अर्ब रुपैयाँभन्दाबढी रकम चाहिने समितिले जनाएको छ । आगामी आर्थिक वर्षमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीका लागि तीन खर्ब ४३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ चाहिने अनुमान छ ।

चालू आर्थिक वर्षमा यस्तो ऋण तिर्नका लागि सरकारले तीन खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै, बाह्य ऋणको सावा–ब्याज तिर्न आगामी आर्थिक वर्षमा ६७ अर्ब १८ करोड ९८ लाख रुपैयाँ बराबर चाहिने देखिएको छ । जसमध्ये बहुपक्षीय वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीका लागि ४९ अर्ब ६१ करोड २७ लाख र द्विपक्षीय वैदेशिक ऋण तिर्न १७ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ चाहिने अनुमान गरिएको छ । चालू आर्थिक वर्षका लागि सरकारले बाह्य ऋण तिर्न ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

अर्थ विविध शीर्षक अर्थात् अबण्डामा ठूलो रकम राखेर तजबिजीमा गर्ने परिपाटीमाथि विगतका वर्षहरूमा संसदमै आलोचना हुने गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले ७५ अर्ब ९५ करोड रुपैयाँ अबण्डामा राखेर बजेट लाएको थियो तर स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि एक खर्ब दुई अर्ब २७ करोड ८८ लाख रुपौयाँ बराबर बजेट अर्थ विविध शीर्षकमा राख्न सकिने गरी सिलिङ निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्षका लागि प्रदेश र पालिकामा सङ्घ सरकारबाट जाने वित्तीय हस्तान्तरणतर्फको बजेट भने केही बढ्न सक्ने गरी सिलिङ निर्धारण भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले वित्तीय हस्तान्तरणतर्फ चार खर्ब आठ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि यसको सीमा चार खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ तोकिएको छ । जसमध्ये प्रदेशलाई ९७ अर्ब ५१ करोड १७ लाख र पालिकालाई  तीन खर्ब १५ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ बराबर सिलिङ तोकिएको छ ।

कुन मन्त्रालयलाई कति सिलिङ ? 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षका लागि छ अर्ब १५ करोड ७२ लाख रुपैयाँको बजेट सिलिङ पाएको छ । जसमध्ये चालू शीर्षकका लागि पाँच अर्ब ४४ करोड ६५ लाख र पुँजीगत शीर्षकका लागि ७१ करोड सात लाख रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याउन भनिएको छ । प्रधानमन्त्री कार्यालयले चालू आर्थिक वर्षका लागि पाँच अर्ब ५९ करोड १७ लाख रुपैयाँको बजेट पाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आठ अर्ब २५ करोड १५ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ । यस मन्त्रालयले चालू आर्थिक वर्षका लागि नौ अर्ब २८ करोड २२ लाखको बजेट ल्याएको थियो । यस आधारमा उद्योग मन्त्रालयले चालू आर्थिक वर्षका  लागि पाएको बजेटभन्दा आगामी आवको बजेट सिलिङ कम छ ।

यस्तै चालू आर्थिक वर्षका लागि ८७ अर्ब ५५ करोड ९९ लाख रुपैयाँको बजेट पाएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आवका लागि ५० अर्ब ७९ करोड ९१ लाख रुपैया बराबरको मात्रै सिलिङ पाएको छ । यो मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाबाहेकको बजेट सिलिङ हो । यद्यपि ऊर्जा मन्त्रालयले पनि चालू आर्थिक वर्षका लागि पाएको बजेटभन्दा आगामी आर्थिक वर्षका लागि न्यून बजेट पाउने सम्भावना छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट पनि घट्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि ५७ अर्ब २९ करोड रुपैयाँको बजेट ल्याएको यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि भने ५० अर्ब ७५ करोड ७८ लाख रुपैयाँको मात्रै बजेट सीमा पाएको छ ।

यस्तै खानेपानी मन्त्रालयको बजेट सिलिङ २० अर्ब ७५ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यस मन्त्रालयले चालू आर्थिक वर्षका लागि २६ अर्ब ६३ करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको थियो । यस वर्षको तुलनामा आगामी आर्थिक वर्षमा खानेपानी मन्त्रालयले पनि सानो आकारको बजेट पाउने सम्भावना देखिएको छ ।

चालू आर्थिक वर्षका लागि एक खर्ब ९९ अर्ब २४ करोड ३४ लाख रुपैयाँको बजेट पाएको गृह मन्त्रालयले आगामी आर्थिक वर्षका लागि दुई खर्ब तीन अर्ब ९१ करोड ५० लाख रुपैयाँको सिलिङ पाएको छ । यो मन्त्रालयले पाएको सिलिङमध्ये एक खर्ब ९२ अर्ब २४ करोड ४५ लाख चालू शीर्षकका लागि र ११ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत शीर्षकका लागि निर्धारण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट पनि घटेर आउने देखिएको छ । चालू आर्थिक वर्षका लागि ११ अर्ब ९१ करोड १५ लाख रुपैयाँको बजेट पाएको यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि भने पाँच अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बराबरको मात्रै सिलिङ पाएको छ ।

पराराष्ट्र मन्त्रालयको बजेटको आकार भने बढ्ने देखिएको छ । यस मन्त्रालयले चालू आर्थिक वर्षका लागि छ अर्ब ७७ करोड ४२ लाखको बजेट पाएकामा आगामी आर्थिक वर्षका लागि सात अर्ब ३६ करोड ७६ लाख रुपैयाँको बजेट सीमा निर्धारण गरिएको छ । वन तथा वातावरण मन्त्रालयको बजेट घट्ने देखिएको छ । यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १२ अर्ब ३१ करोड ६१ लाख रुपैयाँको सिलिङ पाएको छ । वन मन्त्रालयको चालू आर्थिक वर्षको बजेट १५ अर्ब ७० करोड ९१ लाख रुपैयाँ थियो ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चालू आर्थिक वर्षका  लागि छ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट ल्याएकामा आगामी आर्थिक वर्षका लागि छ अर्ब ९१ करोड ९९ लाख रुपैयाँको सीमा निर्धारण भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षका लागि पाएको बजेटभन्दा आगामी आर्थिक वर्षको सिलिङ कम छ । यस मन्त्रालयले चालू आर्थिक वर्षका लागि एक खर्ब ५० अर्ब ५३ करोड २१ लाख रुपैयाँ बराबरको बजेट पाएको थियो तर आगामी आर्थिक वर्षका लागि भने एक खर्ब ४४ अर्ब ७५ करोड १० लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६२ करोड २० लाख रुपैयाँको सीमा पाएको छ । यस मन्त्रालयका लागि चालू आर्थिक वर्ष एक अर्ब ६० करोड ४५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

चालू आर्थिक वर्षका लागि तीन अर्ब ५० करोड ४८ लाख रुपौयाँको बजेट ल्याएको युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ७१ करोड २७ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ । रक्षा मन्त्रालयको बजेट पनि बढ्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि ५९ अर्ब ८७ करोड १४ लाख रुपैयाँको बजेट ल्याएका यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ६० अर्ब ५६ करोड २८ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ ।

शहरी विकास मन्त्रालयको बजेट घट्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि ९२ अर्ब ६३ करोड ५४ लाख रुपैयाँको बजेट ल्याएको यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ८९ करोड २१ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालू आर्थिक वर्षका लागि दुई खर्ब तीन अर्ब ६६ करोड २० लाख रुपैयाँको बजेट ल्याएको यस मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५८ अर्ब २८ करोड १५ लाख रुपैयाँ बराबरको मात्रै सिलिङ पाएको छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात अर्ब ५२ करोड ८१ लाख रुपैयाँको  सिलिङ पाएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष लागि सात अर्ब ३५ करोड २९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालू आर्थिक वर्षका लागि नौ अर्ब १७ करोड १४ लाखको बजेट ल्याएकामा आगामी आर्थिक वर्षका लागि छ अर्ब ५१ करोड ३७ लाख रुपैयाँको सिलिङ पाएको छ । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट पनि घट्ने देखिएको छ । चालू आर्थिक वर्षका लागि ८६ अर्ब २३ करोड ८९ लाख रुपौयाँको बजेट पाएको यस मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ४७ अर्ब ३७ करोड ९८ लाख रुपैयाँको सिलिङ निर्धारण भएको छ ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि एक अर्ब ३८ करोड ५८ लाख रुपैयाँको सिलिङ निर्धारण भएको छ । यस मन्त्रालयले चालू आर्थिक वर्षका लागि आठ अर्ब नौ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

चालू आर्थिक वर्षका लागि ५४ करोड ५३ लाख रुपैयाँको बजेट ल्याएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७३ लाख रुपैयाँको बजेट सीमा पाएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ । गत आर्थिक वर्षका लागि मन्त्रालयले पाएको बजेट भन्दा यो निकै कम हो । यद्यपि अर्थ विविध शीर्षकमा गरिएको स्रोत अनुमान, वित्तीय व्यवस्थातर्फको बजेट र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का लागि गरिने स्रोत अनुमानसमेत राखेर हेर्दा चालू आर्थिक वर्षको बजेट हाराहारीकै सिलिङ तयार पारिएको छ ।

साढे छ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोत अनुमान 

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि झन्डै साढे छ खर्ब बराबरको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि लागि १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ निर्धारण गर्दा आन्तरिक राजश्वबाट १२ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ मात्रै प्राप्त हुने अनुमान गरिएको छ । निर्धारित सिलिङअनुसार बजेट ल्याउने हो भने छ खर्ब ३७ अर्ब ५५ करोड स्रोत अपुग हुनेछ । यस्तो अपुग रकमलाई आन्तरिक तथा बाह्य ऋण र अनुदानमार्फत पूर्ति गरिनेछ ।

देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋण बर्सेनि बढ्दै जानु, ऋणको साँवा ब्याज भुक्तानीका लागि ठूलो रकम खर्च हुनु, ऋण लिएको रकम पुँजी निर्माणमा भन्दा चालू प्रकृतिका कार्यमा जानुलाई चुनौतीका रूपमा हेर्ने गरिन्छ । स्रोत अनुमान समितिले निर्धारण गरेको सीमाअनुसार नै बजेट आउने हो र सोहिअनुसार खर्च पनि हुने हो भने आगामी आर्थिक वर्षमा मात्र मुलुकलाई झन्डै छ खर्ब रुपैयाँ ऋण थपिने देखिन्छ ।

ठूलो आकारको बजेट ल्याउन ऋणलाई स्रोतका रूपमा देखाउने तर आन्तरिक राजस्व भने बढ्न नसक्ने स्थिति हरेक वर्ष आउने गरेको छ । आगामी आर्थिक वर्षको सरकारी राजस्व वृद्धिको अनुमान हेर्ने हो भने चालू आर्थिक वर्षको बजेटमा राखिएको शुरुआती लक्ष्यकै हाराहारीमा छ । यद्यपि चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा १० दशमलव तीन प्रतिशतले आन्तरिक राजस्व प्राप्ति बढ्ने आंँकलन समितिले गरेको छ । चालू आर्थिक वर्षको  बजेटमार्फत सरकारले १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो तर बजेटको मध्यावधि समीक्षामार्फत् राजस्वको लक्ष्य घटाएर ११ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर मात्रै प्राप्ति हुने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउन सकिनेगरी सीमा निर्धारण गर्दा झन्डै साढे छ खर्ब रुपैयाँ बराबर स्रोत अपुग हुने देखिन्छ । रकम वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋण उठाएर पूर्ति गर्नुपर्ने हुन्छ । समितिले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा वैदेशिक सहायता २८ दशमलव आठ प्रतिशतले बढ्ने आँकलन गरेको छ । आगामी आवमा वैदेशिक अनुदान ४५ अर्ब र वैदेशिक ऋण दुई खर्ब ३५ अर्ब नौ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ जबकि सरकारले चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामार्फत वैदेशिक ऋण र अनुदान प्राप्तिको लक्ष्य पनि संशोधन गरेको थियो ।

चालू आर्थिक वर्षका लागि लागि दुई खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण लिने सरकारको लक्ष्य रहेकामा गत माघमा मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर एक खर्ब ८० अर्ब ८४ करोड कायम गरिएको छ । यस्तै चालू आर्थिक वर्षमा ५२ अर्ब ३३ करोड रुपैयाँ वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकामा बजेट समीक्षामार्फत त्यसलाई घटाएर ३६ अर्ब ६३ करोड रुपैयाँ कायम गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्ने स्रोत देखाउँदा आन्तरिक ऋणको आकार पनि चालू आर्थिक वर्षको भन्दा बढाउन खोजिएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भने तीन खर्ब ५७ अर्ब ४६ करोड रुपैयाँ बराबर स्रोत आन्तरिक ऋण उठाएर पूर्ति गर्न सकिने अनुमान गरिएको छ ।

म्याग्दीमा ३१ जना क्षयरोगी बिरामी भेटिए

म्याग्दीमा ३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकाहरु मध्ये चालु आवको ८ महिनामा तीन बालकसहित ३१ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्।

स्वास्थ्य कार्यालय म्याग्दीले विश्व क्षयरोग दिवसको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा क्षयरोगको सङ्क्रमण भएकाको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच तथा लक्षण देखिएर स्वास्थ्य संस्थामा आएका बिरामीबाट नयाँ क्षयरोगी पत्ता लागेको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, रघुगंगामा ३, मालिकामा २, धवलागिरी २ र मंगला गाउँपालिकामा १ जना क्षयरोगका विरामी भेटिएका प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका क्षयारोग फोकलपर्सन गणेश सुबेदीले जानकारी दिनुभयो।

गत आव २०८०÷८१ मा ४७ जना र आव २०७९÷८०मा ६३ जना क्षयरोगका विरामी भेटिएका थिए। गएको आव २०७७÷७८ मा ४८ जना क्षयरोगी पत्ता लागेका थिए। क्षयरोगबाट पिडित भएका १ व्यक्तिबाट बर्षमा १० जना सम्म थप संक्रमित हुन सक्ने खतरा रहन्छ ।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्ने जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले बताउनुभयो ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको निमित्त कार्यालय प्रमुख सापकोटाको भनाई छ । ‘अधिकांसमा फोक्सो र घाँटीका रोगी भेटिएको छ, नयाँ क्षयरोगी थपिने सम्भावना अधिक छ,’ जनस्वास्थ्य अधिकृत सापकोटाले भन्नुभयो ।

म्याग्दीमा बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ, ताकम, भुरुङ तातोपानी, शिख स्वास्थ्य चौकीमा खकार जाँचका लागि ल्याव रहेको छ।क्षयरोग माइक्रोव्याक्टेरियम टियुबरक्लोसिस नामक किटाणुका कारण सर्ने गर्छन। यो रोग हावाबाट सर्ने रोग भएकाले फोक्सोमा असर गर्छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ।

म्याग्दीमा परीक्षणको दायरा बढाउँन नसक्दा सङ्क्रमितको बास्तविक संख्या पहिचानमा समस्या भइरहेको छ । क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र सङ्क्रमितको परिवारका सदस्यको पनि खकार परीक्षणको कार्य म्याग्दीमा न्यून भएकाले समुदायस्तरमा क्षयरोगीको संख्या अत्याधिक हुनसक्ने जनस्वास्थ्यकर्मीको भनाई छ ।

म्याग्दीमा २३३ जना क्षयरोगी भएको अनुमान गरिएकोमा जम्मा ४७ परीक्षणको दायरामा रहेको बताइएको छ । क्षयरोग बालबालिका र महिलामा संक्रमणको जोखिम अत्याधिक हुन्छ । म्याग्दीमा नियमित औषधि सेवन गरेकाहरूमा निको हुने दर ९३.२ प्रतिशत छ ।

यसलाई जनस्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको ब्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुन्छ । हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा खकार जाँच गर्नुपर्छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलकसहित विभिन्न माध्यमबाट बिरामीको पहिचानमा जोड दिनुभयो । निमित्त कार्यालय प्रमुख सापकोटाको सञ्चालन र फोकलपर्सन सुबेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

बेनी-दरवाङ सडकको तेस्रो खण्डलाई पूर्णता दिन थप बजेटको ब्यवस्था गर्न माग

 म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बेनी–दरवाङ सडकको तेस्रो (रणवाङ–दरवाङ) खण्ड स्तरोन्नतिको कामलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा जुग्जालीले बजेट अभावका कारण प्रभावित बनेको सडकका लागि थप बजेटको ब्यवस्था गरेर निर्माणको कामलाई पूर्णता दिन भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको हो ।

”गत आर्थिक वर्षमा रु. पाँच करोड बजेट बिनियोजन भएपनि निर्माण ब्यवसायीले काम नगरेकाले खर्च हुन सकेन् । यस वर्ष कामले गति लिएको छ, तर बिनियोजन भएको रु. दुई करोड ४० लाख खर्च भइसकेको छ,” उहाँले भन्नुभयो “पूर्वाधार विकास कार्यालयका अनुसार यसलाई सम्पन्न गराउन आवश्यक पर्ने थप रु. पाँच करोड बजेट तत्काल ब्यवस्थापन गर्न सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराउदछु ।”

रणवाङ–तोलावाङ खण्डको तीन किलोमिटर तीन सय मिटरमा हालै डिबिएसडी प्रबिधिको कालोपत्र भएको थियो । नदीजन्य निर्माण सामग्रीको अभाव, विपद् र कोरोना महामारीका साथै निर्माण व्यवसायीको ढिलासुस्ति झेलेको यो सडक आयोजनाले यस वर्ष बजेट अभावको सामना गर्नुपरेको छ ।

मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने, बागलुङको तमानखोला र ढोरपाटनका बासिन्दाले पनि प्रयोग गर्ने बेनी–दरबाङ सडक योजनाको आठ किलोमिटर दुरिको रणवाङ–दरवाङ खण्डमा कालोपत्र सहित स्तरोन्नति गर्न २०७६ जेठ ३१ गते विरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको थियो ।

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित सञ्चालन भएको योजनाको हालसम्म ८५ प्रतिशत भौतिक र ८० प्रतिशत वित्तीय प्रगति भएको छ ।

जुग्जालीले यसअघि बेनी–दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा भएको ढिलाई र बहुबर्षीय योजनामा बजेट अभाव भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

जुग्जाली लगायत प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री प्रकाशबहादुर केसीले निर्माणाधिन योजनाका लागि सालबसाली योजनाबाट बचेको बजेट रकमान्तर गर्न आर्थिक मामिला मन्त्रालयमा सिफारिस गरिएको बताउनुभयो ।

फापरखेतको पहिरोको सडकको विकल्पमा बेलिब्रिज बनाउन संघीय सरकारलाई माग गरेको र न्युन बजेट बिनियोजन भएका कारण प्रभावित भएका बहुबर्षीय योजनालाई गति दिन पहल गर्ने प्रतिवद्धता मन्त्री केसीले जनाउनुभयो । 

त्रिवेणीदेखि मुक्तिनाथसम्म रथयात्रा

हिन्दु र बौद्ध धर्मावलम्वीहरुको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथमा यही चैत २४ गते श्रीरामनवमीका दिनदेखि २०८२ सालको विजयादशमीका दिनसम्म ६ महिने षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव हुने भएको छ ।म्याग्दीका सदरमुकाम बेनीमा आज (शनिवार) आयोजित विश्वशान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले उक्त जानकारी दिनुभएको हो ।

म्याग्दी,बागलुङ र पर्वतका सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वामी कमलनयनाचार्यले यही चैत १८ गते नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष दिव्यधामबाट रथयात्रा सुरु गरि देवघाट,पोखरा,बागलुङको पञ्चकोट,म्याग्दीको बेनी,गलेश्वर हुँदै २२ गते मुस्ताङ स्थित पवित्र धार्मिक स्थल मुक्तिनाथमा पुगेर २३ गते पूर्वाङ्ग गरी २४ गतेदेखि ६ महिने मुक्तिनाथ महोत्सवको आयोजना हुने बताउनुभयो ।

उक्त महोत्सवमा वेद,उपनिषद्,रामायण,महाभारत,पुराण,गीता,विष्णुसहस्रनाम लगाएतका शास्त्रहरुको पाठपारायण,भगवद् आराधना सहित विशेष अनुष्ठान हुने उहाँले जानकारी दिनुभयो ।

उक्त अन्तरक्रिया तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले कालीगण्डकी नदी क्षेत्रका पुलस्त्य र कालाञ्जर क्षेत्र प्राचिन कालदेखि नै ऋषिमुनि र तत्वज्ञानीहरुको क्षेत्र भएको र यी क्षेत्रका धार्मिक तथा आध्यात्मिक स्थलहरुको पहिचान गरी प्रचारप्रसार गर्न सक्ने हो भने प्रशस्तै पर्यटकीय संभावनाहरु रहेको बताउनुभयो ।

कार्यक्रममा स्वामी कमलनयनाचार्यले कालीगण्डकी नदीको अस्तित्व नै खतरामा पर्ने गरी निर्माण भइरहेका जलविद्युत आयोजनाहरु आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संसारभरीका मन्दिरमा पूजा हुने शालिग्राम पाइने कालीगण्डकी नदीमा किन बनाउने हाइड्रो पावर ? कालीगण्डकीको महत्वलाई उजागर गर्न सक्ने हो भने प्रशस्त आर्थिक उपार्जन गर्न सकिन्छ । कालीगण्डकीको पानी थुनेर जलविद्युत आयोजना आवश्यक छैन ।” उहाँले कालीगण्डकी नदीबाट गिटी,वालुवा लगाएतका नदीजन्य श्रोतहरु निकाल्न पनि प्रतिवन्ध लगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कालीगण्डकी तथा शालीग्रामका अध्यता एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.जगन्नाथ रेग्मीले शालिग्राम शिला र कालीगण्डकी नदीको महत्व विश्वकै लागि अनुपम भएको बताउनुभयो । उहाँले कालीगण्डकी नदीलाई पूर्वीय सभ्यताको उद्गम स्थल भएको बताउँदै भारत र नेपालका सबै तीर्थहरुभन्दा मुक्तिनाथ सर्वोत्म थीर्थ भएको दावी गर्नुभयो ।

त्यसैगरी संविधान सभाका सदस्य नवराज शर्माले प्रदूषण र जलविद्युत आयोजनाहरुको कारण कालीगण्डकीको जलसम्पदा संकटमा पर्दै गएको बताउँदै जल (पानी) नै नरहेपछि कालीगण्डकीको महत्व पनि नरहने हुँदा यसतर्फ सबै सचेत हुन आग्रह गर्नुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले धार्मिक र आध्यात्मिक जागरणसँगै पर्यटन र विकाससँग जोडिएको स्वामी कमलनयनाचार्यको अभियानलाई पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिवेणीबाट सुरु भएको रथयात्रा बेनीमा प्रवेश गरेपछि भव्य स्वागत सहित म्याग्दीको सीमाना पार नहोउन्जेलसम्म सहयोग गर्न र उक्त अभियानमा सरिक हुन नगरवासी लगाएत जिल्लावासीहरुलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा ब्राह्मण समाज नेपालका कार्यवाहक अध्यक्ष महेश पराजुली,पञ्चकोट विकास समितिका अध्यक्ष जगन्नाथ आचार्य, जलजला गाउँपालिका पर्वतका अध्यक्ष राजु आचार्य,गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जोखिमपूर्ण कागबेनी : श्राद्ध गर्दै गरेकी महिलालाई नदीले बगायो, बचाउन जानेको उद्धार

दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।

कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरेपनि त्यो पर्याप्त हुन सकिरहेको छैन ।

श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजन बताउँछन् । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौँको भौतिक क्षति पुर्‍याएको थियो ।

जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । उनका अनुसार कागखोलाको धारलाई नियन्त्रणमा राखिए पनि श्राद्धस्थलको भौतिक संरचना दिगो रूपमा व्यवस्थापन हुन सकिरहेको छैन ।

यसैबीच, शनिबार श्राद्ध गर्न आएकी म्याग्दीको बेनी नगरपालिका–९ का ५३ वर्षीया सीता शर्मालाई कालीगण्डकी नदीले बगाएको छ । कागखोला र कालीगण्डकी नदीको दोभानमा स्नान गरिरहेको बेला उनी अचानक चिप्लिँदा करिब ६० मिटर तलसम्म खोलाले बगाएको थियो ।

चिप्लिएर खोलाले बगाएपछि उनको उद्धारका लागि गएका अर्का एकजनालाई पनि कालीगण्डकी नदीले केही तलसम्म बगाएपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीले कागबेनीमा स्नान गर्दागर्दै खोलाले बगाएपछि शर्माको सकुशल उद्धार गरिएको जानकारी दिए ।

यहाँको श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चाँसो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुःखेसो गरिन् । कागबेनीमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताइन् । श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उनको जोड थियो ।

बर्सेनि बर्खायाममा कागखोला र कालीगण्डकीले धार परिवर्तन गर्दा यहाँको श्राद्धस्थल र स्नानस्थलको भौतिक संरचनामा क्षति पुगेको समितिले जनाएको छ । यसैबीच, समितिले कागबेनीधाममा श्राद्ध गर्न आउने भक्तजनलाई स्नान र श्राद्ध गर्दा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

बारागु मुक्तिक्षेत्र–४ कागबेनीधाममा कागभुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागखोलामा स्नान गरेको भन्ने धार्मिक किंबदन्ती छ । यही कारण देशभरबाट बर्सेनि लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आएर पितृको नाममा श्राद्ध गर्ने, तर्पण दिने र कालीगण्डकी दोभानमा स्नान गर्दा दिवङ्गत पितृ खुसी भई आर्शिवाद दिने धार्मिक विश्वास रहिआएको छ । -रासस

जापानमा शरीरमा रगत उत्पादन नहुने रोगबाट पीडित बुढाथोकीको जीवन रक्षाको अपिल

जापानमा शरीरमा रगत उत्पादन नहुने रोग (बोनम्यारो एनिमिया) बाट पीडित एक म्याग्देलीको जीवन बचाउन परिवारले सहयोगको अपिल गरेका छन् । म्याग्दीको मालिका गाउँपालिका–४, घर भई हाल जापानस्थित फुकुओका इन्टरनेशनल अनिमेसन कलेजमा अध्ययनरत २३ बर्षिय चोकबहादुर बुढाथोकी रगत सम्बन्धी समस्याबाट पीडित भएपछि मोना जापानले अभियान सुरु गरेको हो ।

जापान आएको करिब ३ बर्षमा अचानक शरीरमा रगत उत्पादन नहुने समस्याबाट ग्रसित भएपछि बुढाथोकी हाल फुकुओकास्थित हारा सानसिन हस्पिटलमा उपचारार्थ रहेको मोना जापानका प्रबक्ता कमल बानियाँले बताउनुभयो ।

हालसम्म बुढाथोकीको उपचारका लागि मोना जापानले संस्थागत रुपमा ५० हजार येन सहित करिब २ लाख येन संकलन भएको छ । ‘उहाँको उपचार जापानमा महंगो छ, हामीले परामर्श लिइरहेका छौ, उपचारमा सहयोगको अपिल गरेका छौ’ मोना जापानका अध्यक्ष बिशाल केसीले भन्नुभयो। मोनाले आर्थिक सहयोगको जिम्मेबारी सुरेश पुनलाई जिम्मेबारी दिएको छ।

मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई उपचार अभियानमा सहयोग गर्न अपिल गर्नुभएको छ। पीडित बुढाथोकीलाई हस्पिटलका चिकित्सकले भारतको एपोलो अस्पतालमा कम खर्चिलो उपचार र परिवारले समेत रेखदेख गर्न मिल्ने बताएपछि मोना जापानले परिवारका सदस्यहरुसँग समेत छलफल गर्ने जनाएको छ ।

बोनम्यारो ट्रान्सप्लान्ट गर्ने पर्ने भएकाले उक्त उपचारका लागि ३० देखि ४० लाख सम्म लाग्न सक्ने अनुमान गरिएको छ । अहिले रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने चिकित्सकहरूको भनाई छ । सहयोग गर्न इच्छुकहरूले हाल मोना जापानले दिएको खाता नम्बर सहितको विवरणमा सम्पर्क गर्न सकिने छ ।