Thursday, June 26, 2025
26.1 C
Beni
26.1 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 6

गलेश्वर बजार सौन्दर्यीकरण, सडकमा ढुङ्गा बिछ्याउन थालियो

बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । 

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रका सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यीकरण योजना सञ्चालन भएको हो । योजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग सडकमा  ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो । 

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले दुई–दुई लाख विनियोजन गरेको योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले  २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको थियो ।

सडकलाई सम्याउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रका विकल्पमा दुई इन्च बाक्लो कटिङ ढुङ्गा बिछ्याएर सिमेन्टले जमाउने काम भइरहेको बेनी नगरपालिकाका प्राविधिक गौरीश्वर रिजालले बताउनुभयो । उहाँका अनुसार चालु आवको बजेटबाट गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ एक सय छ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याइने छ । त्रिपन्न घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको छ ।

मुक्तिनाथ र मुस्ताङ जावतजावत गर्ने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनीहरूको बसाइ लम्ब्याउने उद्देश्यले सुरू गरिएको सौन्दर्यीकरणको योजनालाई आगामी आवमा पनि गलेश्वर शिवालय क्षेत्र विकास कोष र अन्य सङ्घसंस्थासँग साझेदारी गरेर निरन्तरता दिने वडाध्यक्ष केसीले बताउनुभयो ।

गलेश्वर बजारभित्रका सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी काेरिडोरको सडकबाट मात्र आवतजावतको व्यवस्था मिलाइने उहाँले बताउनुभयो । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको डिजाइन गरिएको छ ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्छ । रासस

जामुनाखर्कका सार्कीको शब नेपाल पठाउने पहल सुरू

संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाउनु भएका बेनी नगरपालिका–६ जामुनाखर्कका हेमबहादुर सार्कीको शब नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरू गरिएको छ । तीन महिना अगाडी मृत्यु भएपछि सार्कीको शब अस्पतालमा अलपत्र परेपछि परिवारको पहिचान नभएको समाचार बेनीअनलाइनमा प्रकाशित गरेको थियो । मोना यूएईले नेपाली दुतावासमार्फत शब नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया सुरु भएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो ।

‘आफन्तसँग सम्पर्क भयो, अब हामीले आवश्यक कानुनी प्रक्रियालाई अगाडी बढाउँछौ’ अध्यक्ष राम्जालीले भन्नुभयो ।मृतक सार्की कार्यरत कम्पनी, श्रम कागजात सहित अन्य विभिन्न सुविधाका बारेमा बुझ्ने काम भइरहेको छ । यता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले यूएईबाट प्राप्त हुने क्षर्तीपुर्ती सहितका कागजातहरुका बारेमा मोनासँग समन्वय गरिने बताउनुभयो। घरको आर्थिक अवस्था कमजोर भएकाले यूएईमा रहेका म्याग्देलीलाई समेत आवश्यक आर्थिक सहयोग तथा थप समन्वयका लागि समेत अध्यक्ष बानियाँले अनुरोध गर्नुभएको छ ।

पानीका मूल सुक्न सक्ने भन्दै चिन्ता

अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीका मुहान जलविद्युत्का कारण सुक्ने सम्भावना भएको भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युत् आयोजनाका कारण पानीका मुहान सुक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको भुरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको उक्त जलविद्युत् निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन् । तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउनुभयो । आयोजनाले नदी प्रणालीमा कम्तीमा १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुँदै आएको छ, पानी सुरुङमा हालेपछि नदी प्रणालीमा पानी बग्न छाड्ने हो कि भन्ने चिन्ता छ ।”

अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत् आयोजना निर्माणको क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारण पानीको मुहान सुकेको बताउनुभयो । 

आगामी दिनमा पानीका मुहानमा असर नपर्ने गरी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी नदी मात्रै नभएर मानव सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनुपर्ने धारणा राख्नुभयो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका हाइड्रो सपोर्ट प्रालिका चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । कुनै पनि अवस्थामा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने तयारी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभएको थियो ।

जलविद्युत् आयोजना निर्माणका क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार रुपियाँ विनियोजन गरिने जानकारी गराइयो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार ७३० कुल लागत रहेको छ । 

भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने भएका छन् । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ को पोखरेबगरभन्दा ठिक पारी अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३, दानामा रहेको सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान हुने बताइएको छ । 

म्याग्दीमा हुने गण्डकी प्रदेशस्तरीय भलिबलको ट्रफि सार्वजनिक

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा बिहिबार जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी कार्यवाहक अध्यक्ष दिलकुमारी खत्रीले ट्रफि सार्वजनिक गर्नुभएको थियो । प्रमुख अतिथि खत्रीले प्रतियोगितामा सहभागि हुन आउने खेलाडी, अफिसियल सहितको टोलीलाई स्वागत तथा खेलअवधिभर कुनैपनि अभाव हुन नदिन अनुरोध गर्नुभएको थियो ।

प्रमुख अतिथि खत्रीले प्रतियोगिताले जिल्लाका भलिबल प्रतिभाको पहिचान तथा खेल पर्यटनमार्फत प्रचारप्रसार हुने बताउनुभयो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बर्षातको समयमा हुने खेललाई सफल बनाउन आयोजकको सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द सुबेदी, जिल्ला खेलकुद विकास समिति,जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताका बारेमा जिल्ला भलिबल संघका अध्यक्ष एवम् प्रतियोगिता संयोजक तेजेन्द्र बानियाँले प्रकाश पादैं जिल्लामा हुने प्रदेशस्तरीय प्रतियोगिताले खेल पर्यटनमा अतुलनीय योगदान दिने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लामा खेलकुदका प्रतिभालाई आवश्यक सुविधा सहित तालिम तथा प्रतियोगितामा सहभागिता गराउने गरी अगाडी बढेको बताउनुभयो । हरेक विधाका खेलमा म्याग्दीलाई सर्वोत्कृष्ट बनाउने र खेलाडीलाई लक्षित गरी बजेट ब्यवस्थापन गर्ने बताउनुभयो । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता हुने छ । प्रतियोगिताको उद्घाटन उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले असार ८ गते गर्ने आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने छ भने हरेक जिल्लाले तीन जना राष्ट्रि«यस्तरका खेलाडीलाई समावेश गर्न पाउने नियम रहेको छ ।

यूएईमा मृत्यु भएका म्याग्देलीको शब अलपत्र,आफन्तको पहिचान भएन

Two feet of a dead body, with an identification tag. vector drawing. autopsy.

संयुक्त अरब इमिरेट्स (यूएई)मा तीन महिना अगाडी मृत्यु भएका एक म्याग्देलीको आफन्त पहिचानमा हुन सकेको छैन । गत अप्रिल ६ तारिकमा मृत्यु भएका बेनी नगरपालिका वडा नं ६ हेमबहादुर सार्कीको आफन्तको पहिचान नहुदाँ नेपाल पठाउन समस्या भएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले बताउनुभयो । ‘मृत्युको कारण पहिचान हुन सकेको छैन, नेपाली दुताबासबाट खवर आएपछि मात्रै हामीलाई जानकारी भयो’ अध्यक्ष राम्जालीले बेनीअनलाइलाई भन्नुभयो ।
रोजगारीको शिलशिलामा कहिले युएई पुगेको, कुन अस्पतालमा छ भन्ने जानकारी दुतावासलाई रहेको छ ।

मृतककको पासर्पोटमासम्पर्क ब्यक्तिको नाम निरमीत सार्की रहेको मोना यूएईका सल्लाहकार राम गिरीले बताउनुभयो । मृतकको आफन्तको पहिचान तथा नेपालबाट आवश्यक कागजात नपुगेसम्म शब ल्याउन कठिनाई हुने भएकाले आवश्यक पहल गरिदिन मोना युएईका महासचिव काजीमान बुढाथोकीको भनाई छ । नेपाली दुतावासले म्याग्दी सहित नुवाकोटको रोमबहादुर कामीको समेत नेपालीमा रहेका आफन्तको खोजी गरिरहेको छ ।

यसैबीच बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले मृतकको आफन्तको खोजीकार्य भइरहेको बताउनुभयो । वडा अध्यक्ष बानियाँले आफन्तको पहिचान भएपछि शब नेपाल ल्याउन कानुनी प्रक्रिया सहित अन्तेष्टीमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।

विद्योदय आविमा साइबर अपराध, लागूऔषध र बालविवाह रोकथाम कार्यशाला

बेनी नगरपालिका -१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयमा साइबर अपराध, लागुऔषधको दुर्व्यसन तथा बालविवाह रोकथामसम्बन्धी विहिवार एकदिवसीय चेतनामूलक कार्यशाला सम्पन्न भएको छ। विद्योदय बालक्लबको आयोजना र प्रहरी चौकी पाखापानी म्याग्दीको समन्वयमा कार्यशाला सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा सहभागी प्रहरी बरिष्ठ हवलदार याम बहादुुर थापाले साइबर अपराध, लागुऔषधको दुर्व्यसन र बालविवाहका सामाजिक, मनोवैज्ञानिक र कानुनी पक्षबारे प्रशिक्षण दिनुभयो । उहाँले साइबर अपराधको परिभाषा दिँदै भन्नुभयो, “कम्प्युटर, इन्टरनेट र मोबाइल प्रविधिको दुरुपयोग गरी हुने आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ।” नेपालमा फेसबुक ह्याक, अश्लील सामग्री प्रसारण, ठगी, धम्की, गोप्य सूचना चोरी, अनलाइन ठगीजस्ता घटनाहरू बढ्दो क्रममा रहेको उहाँको भनाइ थियो।

साइबर अपराधबाट जोगिन बलियो पासवर्ड प्रयोग गर्न, अनजान व्यक्तिसँग व्यक्तिगत विवरण साटासाट नगर्न र सामाजिक सञ्जालको सचेत प्रयोग गर्नुपर्ने सुझाव उहाँले दिनुभयो। साथै, बिधुतीय अपराध ऐन २०६३ अन्तर्गत साइबर अपराध गर्ने जो–कोहीलाई जरिवाना वा कैद हुने कानुनी व्यवस्था रहेको जानकारी पनि गराउनुभयो।

त्यस्तै, लागू औषधको प्रयोग विशेष गरी किशोर–किशोरीमा तीव्र रूपमा फैलिरहेको भन्दै उहाँले यसको कारणले मानसिक, शारीरिक, पारिवारिक र सामाजिक क्षति र्पुयाउने खतरा औंल्याउनुभयो। “विद्यालय वरपर समाजमा लागू औषधको पहुँच बढ्दै गएको छ, यसबाट जोगिन अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर सचेतना फैलाउन जरुरी छ,” उहाँले भन्नुभयो।

बालविवाहसम्बन्धी जानकारी दिँदै अर्का सहजकर्ता प्रहरी जवान राम बहादुर बुुढाले बालविवाहले बालबालिकाको शिक्षामा बाधा पुग्ने, स्वास्थ्यमा समस्या ल्याउने र भावी जीवनमा असमानता तथा हिंसा निम्त्याउने हुँदा त्यसको रोकथाम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने र उल्लंघन गरे कानुनी कारबाही हुने प्रस्ट पार्नुभयो।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक तथा सुुचना अधिकारी अमृता जिसी रोकाले किशोर अवस्थामा प्रविधिको गलत प्रयोग, लागू औषधको दुव्र्यसन र बालविवाहले विद्यार्थीको भविष्य अन्धकारमय बनाउने हुँदा यस्ता कार्यक्रमले सचेतना फैलाउने र अपराध न्यूनीकरणमा टेवा र्पुयाउने बताउनुुभयो ।

बाल क्लब अध्यक्ष तथा कक्षा ८ की छात्रा सुुप्रिया पाइजाले सहभागीको तर्फबाट धारणा राख्दै भन्नुुभयो–“हामीलाई साइबर अपराध, लागू औषध र बालविवाहबारे धेरै जानकारी थिएन, तर यो कार्यक्रममा सहभागी भएर थुप्रै कुरा बुझ्न पाइयो। अब हामी सचेत भएर व्यवहार गर्नेछौं।” कक्षा ६ देखि ८ सम्मका करिब ४० जना विद्यार्थीहरू सक्रिय सहभागितासहित उपस्थित कार्यक्रमकोे सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा शिक्षक सुजन पुनले गर्नुभएको थियो। विद्यालयले यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

रघुगंगा गाउँपालिकाको बजेट ५० करोड

म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ । बिहिबार आयोजित गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँको बजेट पारित भएको हो ।

गाउँपालिका उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गरेकी थिइन् ।

संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याएको उपाध्यक्ष पुनको भनाई छ । रघुगंंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निशुल्क, कृषिका साम्रागी खरिदमा ७५ प्रतिशतसम्म अनुदान, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न कार्यक्रमहरुमार्फत स्वरोजगारमुलक गतिविधिलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भबन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमुलक कार्यक्रमहरुका साथै किसानको बर्गिकरण गरी परिचय पत्र वितरण समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन्। चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ। त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ।

विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो। त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।

यो जम्मा सम्भावित चार कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो। बाँकी तीन कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कूल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ। यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकता पूरा गर्न सक्ने सम्भावना देखिएको छ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितका अनुसार नेपाल र चीनबीच २०१९ मा भएको जिटुजी सम्झौतापछि यो काम सुरु गरिएको थियो। “नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा ४५ रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरेको हो, यो अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न गरिएको अन्वेषण परियोजना हो”, नापितले भने।

उनका अनुसार हाल प्राप्त भएको प्रतिवेदन प्रारम्भिक हो। ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ। चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ। सोपछि डिसेम्बर भित्रै व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना रहेको बताइएको छ।

दैलेखको जमिनले आफैँबाट बल्ने ग्यास र तेल जस्तै पदार्थ चुहिने दृश्य स्थानीयका लागि नयाँ होइन तर वैज्ञानिक रूपमा यसको पुष्टि गर्न २०३६ सालदेखि प्रयास हुँदै आएको हो। विसं २०७२ मा संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले मुलुकभर इन्धन संकट सिर्जना गर्‍यो। यसपछि स्वदेशी ऊर्जा स्रोतप्रति सरकार गम्भीर बन्न बाध्य भयो। त्यही पृष्ठभूमिमा दैलेख फेरि चर्चाको केन्द्रमा आयो।

यो सङ्कटले एउटा अवसर सिर्जना गर्‍यो। नेपालले स्वदेशी स्रोत पहिचान र उत्खननको सम्भावनामा पहिलो पटक गम्भीर ध्यान केन्द्रित गर्‍यो। विसं २०७५ माघमा नेपाल–चीन बीच पेट्रोलियम अन्वेषणका लागि हस्ताक्षर भएको सम्झौताले एक प्राविधिक प्रगति मात्र होइन, रणनीतिक सन्देश पनि बोकेको छ।

प्रारम्भिक अन्वेषणमा नेपाली तथा चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान र नाभिस्थान क्षेत्रमा निरन्तर बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए। दैलेखका छ–सात ठाउँमा पेट्रोल तथा ग्यास खानी रहेको प्राविधिकहरुको अनुमान रहेको छ।

धेरै पहिला गरिएको सर्भेबाट पनि यहाँ पेट्रोलियम पदार्थ वा ग्यास हुनसक्ने सम्भावना पाइएको थियो। अबको चरणमा त्यसको परिमाण र गुणस्तरबारे विस्तृत रूपमा यकिन गरिको छ। अहिलेको परियोजना चीनको पूर्ण अनुदानमा सञ्चालित नमूना (पाइलट) परियोजना हो।

यो चिनियाँ सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित हो। त्यसको प्रारम्भिक लागत अनुमानित रु दुई अर्ब ५० करोड रहेको थियो। कोभिड–१९ महामारी लगायत विविध कारणले कार्यान्वयनमा ढिलाइ हुँदा लागत पनि बढेको थियो।

नेपाल सरकारको खानी तथा भूगर्भ विभागले ‘पेट्रोलियम अन्वेषण प्रवद्र्धन परियोजना’ स्थापना गरी जग्गा अधिग्रहण, सडक र विद्युत् पहुँच विस्तार तथा प्रशासनिक समन्वयको काम सहजीकरण गरेको थियो। यसले गर्दा स्थानीय जनप्रतिनिधि, प्रशासनिक संयन्त्र वा अन्य कुनै पक्षबाट अवरोध भएन।

परियोजनाले अन्तिममा सार्थकता पाएपछि दैलेखवासी तथा सरोकारवाला निकाय उत्साहित भएका छन्। उत्खनन, प्रशोधन, आपूर्ति श्रृंखला तथा प्राविधिक काममा संलग्न जनशक्तिका कारण स्थानीय स्तरमा रोजगारीको अवसर वृद्धि हुने र उद्योगमैत्री वातावरण बन्ने उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले बताए।

मुलुकको ऊर्जा सुरक्षाका लागि यो परियोजना एक ऐतिहासिक अवसर सावित हुन सक्ने विश्वास लिइएको छ। प्रारम्भिक अनुमान अनुसारको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदै स्वदेशी स्रोतबाट नै ऊर्जा उत्पादन र वितरण गर्न सक्ने अवस्थामा पुग्ने बताइन्छ।

कालीगण्डकीको संरक्षणमा लागि पदयात्रा

धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रामा निस्किएको छ । 

बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिकता गुमाएको भन्दै महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा गत जेठ २२ गते देवघाटबाट सुरू भएको पदयात्रा २५ दिनमा ४३१ किलोमिटर दूरीमा रहेको उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार कालीगण्डकी बग्दै आएको जिल्लाहरूमा एकदिन विश्राम गरी पैदलमार्ग हुँदै नदीको महत्त्वबारे समुदायलाई समेत जानकारी गराउने गरिएको बताउनुभयो । संयोजक पौडेलले भन्नुभयो, ‘‘गण्डकी सभ्यता जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो, यो पदयात्रा मात्रै होइन कालीगण्डकीमा देखिएको सङ्कट जोगाउने अभियान पनि हो ।’’ कालीगण्डकी नदीको दामोदर कुण्ड, मुक्तिनाथ हुँदै देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ ।

पदयात्रामा निस्किएको टोलीमा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा, हरिहर संन्यास आश्रमका सन्तहरु, नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरु गरी ६० जना रहेको संयोजक पौडेलले बताउनुभयो । कालिगण्डकी नदीमा राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

कालिगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने  पदयात्रा संयोजक पौडेलले बताउनुभयो । पदयात्रा टोली मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिरमा दर्शन गरी दामोदरकुण्ड प्रस्थान गर्ने छ ।

पदयात्राले कालीगण्डकी नदीको संरक्षण तथा यस क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनुभयो । मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान समेत भनिन्छ । दामोदरकुण्डमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ । 

‘समुदायको मन जितेर जलविद्युत निर्माण गरिनुपर्छ’

अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीको मुहानहरु जलविद्युतका कारण विस्थापित हुने तथा सुक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन्  ।  कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युतका कारण पानी सुरुङबाट बग्दा नदी किनारमा रहेका तातोपानीका मुहानहरु सुक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।पानी सुकेमा आर्थिक, सामाजिक तथा वातावरणीय हिसाबले पनि प्रभाव पर्ने भएकाले त्यस तर्फ ध्यान दिन स्थानीयले सचेत गराएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । हाइड्रो सपोर्ट प्रा.ली.ले निर्माण गर्न लागेको उक्त जलविद्युत निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्ने स्थानीयको माग  छ ।

तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउँदै तातोपानीको मुलको भविष्य नै अन्यौल हुने तर्फ चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी यही क्षेत्रमा जन्मियौं हुर्कियौं र अब अन्त्य पनि यही हुने हो, यो हुँदै गर्दा हाम्रो हरेक गतिविधि कालीगण्डकीसँग जोडिएको हुनाले पानी सुरुङमा हाल्दा हामी पनि अन्यौलमा हुन्छौं ।’ १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो–हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुदै आएको छ, पानी सुरुङ छिरे हामीलाई पनि सुरुङ भित्रै लगेर जलाउने कुरा त भएन नि ।

अन्नपूर्ण गाउँपालिका २ का वडा अध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत निर्माणको क्रममा विस्फोटक प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारणले पानीको मुहान सुकेकाले गर्दा पानीको मुहानमा असर नपर्ने गरी काम गर्न आग्रह गर्नुभएको थियो ।  कालीगण्डकी नदी मात्रै नभएर सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनु पर्ने धारणा राख्नु भएको थियो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहने तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका हाइड्रो सपोर्ट प्रा.ली.का चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कुनै पनि मुल्यमा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने गरी तयारी गरी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभयो ।

सार्वजनिक सुनुवाइको क्रममा जलविद्युत आयोजना निर्माणको क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार विनियोजन गरिने जानकारी गराइएको थियो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार सात सय ३० कुल लागत रहेको छ । भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने छन् । एक सय ५१ मिटर ग्रस हेड रहेको उक्त विद्युत आयोजनाको  चार हजार तीन सय १९ मिटर लामो सुरुङ रहने छ । अन्नपूर्ण गाउँपालिका ६ को पोखरे बगरभन्दा ठीक पारी अन्नपूर्ण गाउँपालिका २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने छ ।