Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 7

जनकल्याण माविले विविध कार्यक्रमसहित ६९औं वार्षिकोत्सव मनायो

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधवार आफ्नो ६९औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयको आयोजनामा विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले गएको शैक्षिक सत्रमा कक्षा ५ मा उत्कृष्ट अङ्कसहित प्रथम हुने सुमित परियार, द्वितीय सुदिपा परियार, कक्षा ८ मा प्रथम हुने इच्छा बानियाँ, द्वितीय अस्मिता परियार र आयुष बानियाँलाई नगद क्रमशः दुईहजार, एकहजार पाँचसय र सातसय ५० रुपैयाँसहित पुरस्कृत गरिएको थियो । यसैगरी विद्यालयले दिर्घसेवा सम्मान र उत्कृष्ट शिक्षक तथा अभिभावकलाई पनि पुरस्कृत गरेको जनाएको छ।

विद्यालयको बालशिक्षामा लामो समय सेवा गर्नुभएकोमा सुन्तली सुवेदी, कक्षा ८ को नगरपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा दिलाउन सहजीकरण गर्ने शिक्षक मोहनबहादुर जिसी, शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शिक्षक प्रकाश सुवेदी र उत्कृष्ट अभिभावकतर्फ देवीकुमारी नेपालीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति अक्षयकोषको तर्फदेखि संविधानसभा सदस्य रेशमबहादुर बानियाँलाई सम्मानपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्र्दै संविधानसभा सदस्य बानियाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीको आकर्षण बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा कार्यरत शिक्षकहरुले मेहनतका साथ अध्यापन गराउनुपर्ने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न तथा राम्रो जनशक्ति उत्पादन गर्नको लागि विद्यालय प्रशासन लाग्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीहरुलाई अध्ययनसँगै नगरपालिकामार्फत ‘हामी सक्छौं, हामी गर्छौं’ भन्ने सिपमूलक कार्यक्रममार्फत जोड्ने प्रयास गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई शैक्षिक र भौतिक रुपमा सशक्त बनाएर स्थापित गराउनुपर्ने बताउँदै सामुदायिक विद्यालयलाई सबै क्षेत्र, वर्ग र लिङ्गले अपनत्व गर्नेगरी अगाडि बढाउनुपर्ने बताउनुभयो । साुमदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहेकाले त्यसको प्रतिफल आउने गरी सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ छ । बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै नगरपालिकाले शैक्षिक सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।

विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी र पूर्व अध्यक्ष रामप्रसाद सुवेदीले आ–आफ्नो कार्यकालमा समग्र विद्यालयको शैक्षिक गुणस्तर बढाउन तथा भौतिक विकासमा जोड दिइएको बताउनुभयो । विव्यस अध्यक्षद्वय रेग्मी र सुवेदीले विद्यालय सञ्चालन गर्नको लागि यसअघि विभिन्न माध्यमबाट आर्थिक सङ्कलन समेत गरिएको बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयमा हल व्यवस्थापन र अन्य संरचना निर्माणको आवश्कता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, सम्मानित शिक्षक प्रकाश सुवेदी, साहित्यकार अजयमिलन श्रेष्ठ, विद्यार्थीद्वय इच्छा बानियाँ र करिस्मा किसानले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, प्रअ पौडेलको स्वागत र शिक्षक शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सव समारोहको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

माउण्टमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको बेनी शाखाद्वारा जिल्लाको बेनी नगरपालिका–७, महारानीथानमा सञ्चालित माउण्ट एभरेष्ट आवसीय माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ । कार्यक्रममा बैंकको बेनी शाखा प्रमुख उपेन्द्र गौतम, शाखा सञ्चालन प्रमुख निर्मला आचार्य र कर्जा विभाग प्रमुख धुर्व भट्टराईले संयुक्त रूपमा बैंकमा खाता खोल्ने प्रक्रिया, बचत गर्नुका फाइदा, बैंकको सेवा, सुविधाबारे सहजीकरण गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा विद्यार्थीहरुलाई मोबाइल बैङ्किङ तथा डिजिटल कारोबार, बैंक तथा खाताका प्रकार, व्यालेन्स ट्रान्सफर, एटिमएको प्रयोग, शेयर बजार तथा शेयर मार्केट तथा डिजिटल कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, सुरक्षालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको कर्जा विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । शाखा प्रमुख गौतमले विद्यार्थीहरूलाई स्कुलको पढाइसँगै बैङ्किङ सम्बन्धी विषयमा आधारभूत ज्ञान प्रदान गरी भविष्यमा उनीहरूले लिने वित्तीय निर्णयहरूलाई सहज र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसी र भाइस प्रिन्सिपल धुर्वसागर शर्माको विशेष उपस्थिति रहेको थियो भने ५५ जना भन्दाबढी विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए । आगामी दिनमा पनि बैंकले वित्तीय साक्षरतालाई निरन्तरता दिने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको हाल देशभर ७४ जिल्लामा सञ्चालित २ सय ७५ वटा शाखा र ६५ एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गरिएको छ ।

म्याग्दीमा लेखा समूह गठन, अध्यक्षमा ओमबहादुर रेश्मी

म्याग्दीमा लेखामा आवद्ध कर्मचारी संगठित भएका छन् । जिल्लामा रहेका संघीय, प्रदेश र स्थानीय तहको लेखा शाखामा कार्यरत कर्मचारीले ओमबहादुर रेश्मीको अध्यक्षतामा लेखा समूह म्याग्दी गठन गरेका छन् । समितिको संरक्षकमा कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख किरणचन्द्र सुबेदी,उपाध्यक्षमा गोकुल शर्मा, सचिव सुमन सुबेदी, सहसचिव बसन्त पौडेल, कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठ रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरूमा अस्मिता थापा, बिजय बहादुर कुँवर, गणेश पौडेल र सुदिप पोख्रेल रहनुभएको सचिव सुबेदीले जानकारी दिनुभयो । लेखा समूह गठनसँगै वित्तीय अनुशासन कायम गर्ने, पेशागत सुरक्षा,वृत्ति विकास सहित संस्थागत गतिविधिका साथै कर्मचारी स्वाग तथा विदाई लगायत विभिन्न कार्यक्रमहरु गर्ने अध्यक्ष रेश्मीले बताउनुभयो। यसैबीच बुधबार विधिवतरुपमा लेखा समूह जिल्ला प्रशासन कार्यालय मा दर्ता भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले समूहका पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

बेनीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (भिडियो)

म्याग्दीको बेनी नगरपालिका-७, पुस्तकालय चोकमा फल्चा शैलीमा निर्माण गर्न लागिएको विश्रामस्थलको शिलन्यास गरिएको छ । बेनी सामुदायिक माविसँगै जोडिएको वडा कार्यालय अगाडी सार्वजनिक जग्गामा भक्तपुर जिल्लाका कालीगढ र इँटाको प्रयोग गरी १२ लाखको लागतमा प्राचिन मौलिकता झल्कने गरी विश्रामस्थलको मेयर सुरत केसीले शिलन्यास गर्नुभयो । करिब ३० जना एकैपटक बस्न मिल्ने विश्रामस्थलमा परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरी असार महिनामै सम्पन्न गरिने छ ।

उक्त बिश्रामस्थलमा विद्यार्थी, ग्रामिण क्षेत्रबाट आएका सर्वसाधारण तथा बृद्धबृद्धाहरुलाई सहज हुने वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । विश्रामस्थलको शिलन्यास कार्यक्रममा उपमेयर ज्योति लामिछाने पौडैल, कार्यपालिका सदस्य र्सिजना श्रेष्ठ, वडा सदस्यहरू सोहन श्रेष्ठ, रमेश फगामी, नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, फल्चा निर्माण उपभोक्ता समितिका संयोजक कुविरकुमार श्रेष्ठ सहित अगुवाहरुको उपस्थिती रहेको थियो । करिब साढे ३ सय बर्ष अगाडी नेवार समुदायले मानबस्तीको विस्तार गरेका थिए । नेवारी भाषामा केही समयको विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा नामले चिनिन्छ ।

लेकगाउँमा ‘एक घर, एक धारा’ सहित खानेपानी विस्तार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमसहित खानेपानी विस्तार भएको छ ।

लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एउटा विद्यालय र दुई वटा सामुदायिक भवनमा खानेपानीको पहुँच विस्तार गरिएको हो ।

लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो ।

घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको र पूर्वाधारसहित सुरक्षित खानेपानीलाई ध्यान दिइएको उहाँले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो ।

खानेपानी आयोजनाका लागि ट्रष्टको ५० लाख ५४ हजार र स्थानीयवासीको १० लाख ९२ हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल ६१ लाख ४७ हजार रुपैयाँ लगानी भएको छ ।

आयोजना निर्माण शुरू भएको दुई महिनामै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि उपभोक्ता उत्साहित भएका छन् ।

विद्युत् सेवा सुधारका लागि राज्यमन्त्री गर्बुजाको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण

उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्यमन्त्री गर्बुजाको कार्यकक्षमा भएको भेटमा कार्यकारी निर्देशक शाक्यलाई म्याग्दीमा विद्युत आपुर्ति नियमित गराउन निर्देशन दिनुभयो । म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले गृहजिल्ला म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र जलद्यिुत आयोजनालाई समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीमा नयाँ ईन्सुलेटेड तार र ट्रान्सफरमर थप जडान गरी विद्युत आपुर्ती भरपर्दो र नियमित गराउन , जिल्लाको भौगोलिक रुपमा सबैभन्दा दुर्गम गुर्जा लगायतका ग्रामिण बस्तीमा केन्द्रिय प्रसारण लाइन पु¥याउनका लागि प्रक्रिया थाल्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीका स्थानीय तह सँगको सहकार्यमा जिल्ला सदरमुकाम बेनी सहितका बजारमा सडक बत्ती जडान गर्नका लागि समन्वय गरी प्रक्रिया थाल्न आग्रह गर्नुहुँदै राज्यमन्त्री गर्बुजाले आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यमन्त्री गर्बुजाका निजि सचिव विनोद शर्माका अनुसार ,छलफलमा कार्यकारी निर्देशक शाक्यलाई राज्यमन्त्री गर्बुजाले विद्युत क्षेत्रमा जिल्लामा देखिएका अन्य समस्यालाई समाधान गर्नका लागि आवश्यक कार्य गर्न सचेत गराउनुभयो ।

भेटमा कार्यकारी निर्देशक शाक्यले निर्माणाधिन प्रसारण लाइन र सवस्टेशन तथा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७, डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने १३ वटा रोगविरुद्धका सबै खोप लगाइएको हो ।

‘बागलुङका सबै स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप लगाउने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, बालबालिकालाई दिने नियमित खोपबाहेक यस वर्ष हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पनि लगाइसकेका छौँ, विद्यालय जाने ६ देखि १० कक्षासम्मका ११ हजार ६२ छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ११ किशोरी गरी जम्मा ११ हजार १७७ जना (९८ प्रतिशत)लाई उक्त खोप लगाएका छौँ’, उनले भने। 

हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथा २१५ खोप ‘सेसन’मार्फत प्रत्येक महिना खोप तथा सरसफाइ प्रवद्र्धन सेवा प्रवाह हुँदै आएको छ । 

बागलुङ नगरपालिकाका एक हजार १२२, जैमिनी नगरपालिकाका ७७२, गलकोट नगरपालिकाका ७५४, ढोरपाटन नगरपालिकाका एक हजार ६२, बडिगाड गाउँपालिकाका ७९५, निसीखोला गाउँपालिकाका ८२९, तमानखोला गाउँपालिकाका २७७, ताराखोला गाउँपालिकाका १९३, काठेखोला गाउँपालिकाका ४३४, बरेङ गाउँपालिकाका ६४५ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको प्रमुख सापकोटाले बताए ।

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । 

साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। 

‘कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पुर्याउन नसक्ने अवस्था थियो,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारले पक्की नहर र पाइप जडान गर्ने योजना सञ्चालन गरेपछि उत्साही भएका छौँ ।’

चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको योजनाबाट दुईवटा च्याम्बर र १२५ मिटर पक्की नहर निर्माण भएको उपभोक्ता समितिका सदस्य चेतन थापाले बताए । उनका अनुसार पहिरो र जमिन भासिने समस्या भएको ठाउँमा आजदेखि १६८ मिटर लामो २५० मिलिलिटर क्षमताको पाइप जडान गर्न थालिएको छ । 

यसअघि विसं २०५१-५२ मा कामका लागि खाद्यान्न कार्यक्रममार्फत मर्मत भएको नहर जीर्ण बनेको थियो । बेनी नगरपालिका र स्थानीयवासीको साझेदारीमा मुहान निर्माण भएको छ । यो योजनाबाट १८० कृषकको २१९ रोपनी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर थापामगरले बताए। 

आयोजना निर्माणलाई निरन्तरता दिन कार्यालयले ५० लाख लागत अनुमानसहित विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । थप एक किलोमिटर नहर निर्माण र पाइपलाइन जडान गर्नुपर्ने उपभोक्ता समिति सदस्य थापाले बताए । सिँचाइ सुविधा सहज भएमा खेतमा तीन बाली लगाउन, व्यावसायिक बेमौसमी तरकारीखेती गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ । 

महत्वपूर्ण र आवश्यक योजना भएकाले जनप्रतिनिधिहरूसँग समन्वय गरेर क्रमागत योजनामा समावेश गराउन प्रस्ताव गरेको जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख, सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले जानकारी दिए ।

रेलेखोलाको छ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाले निर्माण सकेर विद्युत् उत्पादननका लागि आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो।

आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार आयोजनाले विद्युतगृहमा जडान गरेका मेसिन उपकरण र उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोडिएको हो। विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युतगृहमा टर्वाइनलगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको हो।

‘आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ, परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ,’ आयोजना प्रमुख काफ्लेले भने। विसं २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो।

यस आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँ हुँदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १३ किलोमिटर पहुँचमार्ग बनाएको छ। आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ। एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि आयोजनाबाट ढिला गरी विद्युत् उत्पादन भएको हो।

विद्युतगृहमा दुईवटा टर्वाइन जडान गरेर विद्युत् उत्पादन सुरु भएको छ।  रेलेखर्कस्थित निर्माण भएको बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर तीन हजार ५०० मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर विद्युतगृहमा खसाली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्टिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए।

हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ। विद्युतगृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको चार दशमलव तीन किलोमिटर प्रसारण लाइन निर्माण भएको छ। रु एक अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको यस आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।

यस आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए। अक्करे भिर पहाडलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरोलगायत प्राकृतिक विपत्तिको सामाना गर्दै आयोजनाले निर्माण सकेर विद्युत् उत्पादन सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए।

नारच्याङमा यसअघि एक सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासेट, पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ। रासस

पुटिनको तेल उद्योगलाई अमेरिकाको ‘संरक्षण’! युक्रेनी हमला रोक्न दबाब, किभद्वारा कडा आपत्ति

किभ/वासिङ्टन, (एजेन्सी) । रुस-युक्रेन युद्धमा युक्रेनको सबैभन्दा ठूलो सहयोगी मानिएको संयुक्त राज्य अमेरिकाले नै रुसी अर्थतन्त्रको मेरुदण्ड मानिने तेल उद्योगलाई जोगाउन खोजेको आरोप लागेको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्र (Oil Refineries) मा गर्दै आएको ड्रोन हमला रोक्न अमेरिकाले दिएको दबाबप्रति युक्रेनले कडा आपत्ति जनाएको छ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एक अन्तर्वार्तामा अमेरिकाले यस्ता हमला रोक्न आग्रह गरेको पुष्टि गर्दै यसलाई ‘पुटिनको तेल सम्पत्तिको संरक्षण’ को संज्ञा दिएका छन्। यस घटनाले युद्धका बीचमा दुई प्रमुख सहयोगी राष्ट्रहरूबीच गहिरो मतभेद रहेको सतहमा आएको छ।

के हो अमेरिकी चिन्ता?

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हालै युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्न आग्रह गरेका थिए। उनको तर्क थियो कि यस्ता आक्रमणले विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता ल्याउन सक्छ र तेलको मूल्य अकासिन सक्छ, जसको असर विश्वभर पर्नेछ। अमेरिकाले यस्ता आक्रमणलाई युद्धको दायरा बाहिरको गतिविधिका रूपमा हेरेको देखिन्छ।
युक्रेनको आक्रोश: “सहयोग दिनुस्, आदेश होइन”
अमेरिकी आग्रहप्रति युक्रेनले कडा र व्यङ्ग्यात्मक प्रतिक्रिया दिएको छ। विदेशमन्त्री कुलेबाले भने, “यदि हाम्रा साझेदारहरूले हामीलाई सातवटा ‘पेट्रियट’ हवाई रक्षा प्रणाली (Air Defence System) दिन सक्दैनन् भने, हामीलाई यो वा त्यो नगर्नुहोस् भनेर आग्रह गर्ने अधिकार पनि उनीहरूलाई छैन।”
उनले थपे, “जब युक्रेनमा बिजुली र पानी छैन, मानिसहरू जाडोमा कठ्याङ्ग्रिएर बसिरहेका छन्, त्यतिबेला हामीलाई कसैले ‘यो नगर, त्यो नगर’ भन्न सुहाउँदैन। हामी आफ्नो अस्तित्वका लागि लडिरहेका छौं।”

किन निशानामा छन् तेल प्रशोधन केन्द्र?


युक्रेनी अधिकारीहरूका अनुसार रुसी तेल प्रशोधन केन्द्रहरू वैध सैन्य निशाना हुन्। उनीहरूको तर्क छ:
इन्धन आपूर्ति: यी केन्द्रहरूले रुसी सेनाका ट्याङ्क, लडाकु विमान र بحरी जहाजका लागि आवश्यक इन्धन उत्पादन गर्छन्।
आर्थिक स्रोत: तेल निर्यात पुटिन सरकारको आम्दानीको प्रमुख स्रोत हो, जसलाई उनीहरूले युक्रेनविरुद्धको युद्धमा खर्च गरिरहेका छन्।
पछिल्ला केही महिनामा युक्रेनी ड्रोनहरूले रुसका एक दर्जनभन्दा बढी प्रमुख तेल प्रशोधन केन्द्रहरूमा सफलतापूर्वक आक्रमण गरेका छन्। यसले रुसको तेल प्रशोधन क्षमतामा करिब १४ प्रतिशतले कमी आएको र उसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


विश्लेषण: सहयोगीबीच स्वार्थको टकराव


यो घटनाले युद्ध लम्बिँदै जाँदा सहयोगी देशहरूबीच पनि रणनीति र स्वार्थमा भिन्नता देखिन थालेको स्पष्ट पारेको छ। एकातिर अमेरिका युक्रेनलाई सैन्य सहयोग दिएर रुसलाई कमजोर बनाउन चाहन्छ, तर अर्कोतर्फ विश्वव्यापी अर्थतन्त्र र आफ्नो घरेलु राजनीतिमा पर्ने असरबारे पनि चिन्तित छ।
तर, युक्रेनका लागि यो आफ्नो अस्तित्वको लडाइँ हो, जहाँ उसले दुश्मनको युद्ध क्षमतालाई जुनसुकै मूल्यमा ध्वस्त पार्न खोजिरहेको छ। अमेरिकी दबाबका बाबजुद युक्रेनले आफ्नो आत्मरक्षाका लागि यस्ता आक्रमणहरू नरोक्ने संकेत दिएको छ, जसले आगामी दिनमा यी दुई सहयोगीबीचको सम्बन्धमा थप जटिलता ल्याउन सक्ने देखिन्छ।