Wednesday, June 25, 2025
24.3 C
Beni
24.3 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 67

मार्च महिनामा एक लाख २१ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए ।

जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए । मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए ।

यस्तै चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ ।

श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एशियाली देशका ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

निःशुल्क मुटु परीक्षणको आज अन्तिम दिन, विपन्न रोगीको उपचारमा सहयोग हुने

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५ सय भन्दा बढीले सेवा लिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि शिविर सञ्चालन गरिएको हो ।

बुधबार साँझ सम्पन्न हुने शिविरमा अति विपन्न र जटिल समस्या देखिएकालाई निशुल्क र सहुलियतमा उपचार समेत गरिने छ । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन भएको शिविरमा म्याग्दी र पर्वतको जलजला गाउँपालिकाका मुटुमा समस्या देखिएकाहरुको भिड लागेको जिल्ला समन्वय समितिका अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा रक्त परीक्षण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका निर्देशक डा. रबी मल्लले यो अवसरको सदुपयोग गर्न समेत अनुरोध गर्नुभएको छ । मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने शिविरमा विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिइरहेको छजिल्ला समन्वय समितिका निमित्त प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो ।

शिविरमा म्याग्दी उद्योग वाणिज्य सङ्घ, राखु कल्याणकारी समाज, म्याग्दी जेसीज, नेपाल रेडक्रस सोसाईटी, ओमकुमारी शान्ति कोष र म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले स्वंयमसेवक परिचालन गरेका छन् भने बेनी नगरपालिकाको नगर प्रहरी सहितको अन्य थप जनशक्ती समेत खटिएको छ ।

लेखफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्बरको ट्याक्टर लाउरी डाँडामा सडकदेखि ५० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक घनश्याम ढकालले जानकारी दिनुभयो।

दुर्घटनामा जलजला गाउँपालिका वडा नम्बर ५ का चालक २० वर्षीय अनिल रेग्मी गम्भीर घाइते भएको वडाध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो। घाइते रेग्मीलाई उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको वडाध्यक्ष जिसीले बताउनुभयो।घटनाको बारेमा वारीबेनी प्रहरी चौकीवाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको वारीबेनी प्रहरी चौकीका प्रमुख ढकालले बताउनुभयो।

मुटुरोग विशेषज्ञ डा. रबी मल्ल सम्मानित

गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक डा. रवि मल्ल गृहजिल्ला म्याग्दीमा सम्मानित हुनुभएको छ । मुटुरोग विशेषज्ञ डा. मल्ललाई बुधबार एक कार्यक्रमका बिच म्याग्दी उद्योग बाणिज्य संघले दोसल्ला र सम्मानपत्रले सम्मान गरेको छ ।

बेनी नगरपालिका वडा नं ८ कालिपुलस्थित पर्यटक सुचना केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान सहित विपन्नको उपचार सहित ग्रामिण क्षेत्रमा शिविरमार्फत सेवा प्रवाहबाट नागरिक लाभान्वित भएको भन्दै संघले सम्मान गरेको हो ।

संघका अध्यक्ष सुविन श्रेष्ठ, पूर्व अध्यक्ष एवम् बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, सचिव मोतिलला पौडेल, महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले सम्मान गर्नुभएको थियो ।

सम्मानित भएपछि डा. मल्लले जन्मभूमी म्याग्दीका नागरिकलाई मुटु रोगमा देखिएको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

डा. मल्ल जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा दुई दिनसम्म निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर बुधबार सकिदै छ।

 

जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्ष विष्णु रोका मगर ,सचिव कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । मनोनित सबै पदाधिकारीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराउनुभएको हो ।

अध्यक्षमा मनोनित अध्यक्ष श्रेष्ठ नेपाल तरुणदलका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्थामा आवद्ध श्रेष्ठ सफल युवा व्यवसायीको रुपमा समेत परिचित हुनुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष बन्नुभएकी रोका म्याग्दी जिल्ला भलिबल संघमा कोषाध्यक्ष र सचिव किसान भलिबल संघ म्याग्दीकै महासचिव हुनुहुन्छ । भने कोषाध्यक्ष नरेश पुन मगर म्याग्दी भलिबल संघ मालिका गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

सोही अवसरमा म्याग्दी सहित ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले भागवण्डाको आधारमा खेलकुद विकास समितिका पदाधिकारीहरु मनोनयन गरेको हो । सोही बमोजिम म्याग्दीबाट अध्यक्ष सहित कोषाध्यक्ष कांग्रेस तथा उपाध्यक्ष र सचिव एमालेको भागमा परेको थियो ।

मल्क‌बाङ‌मा उद्‌घोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

धवलागिरि गाउँ‌पालिकाको वडा नं. ५ मल्कबाङ्‌गमा ३ दिने उद्‌घोषण तथा क्षमता अभिवृध्दि तालिम सम्पन्न भएको छ । वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम २०८१ चैत्र १६ गते आरम्भ भई १८ गते सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय २४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अजयमिलन श्रेष्ठले सहजकर्ता प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
समापन कार्यक्रममा प्रमुख अतिथि धवलागिरि गाउँपालिकाको अध्यक्ष प्रेमप्रसाद पुनले कार्यक्रम उपलब्धिमूलक भएको बताएका थिए । कार्यक्रममा प्रशिक्षक र सहभागीलाई प्रमाण-पत्र वितरण गरिएको थियो ।
वडा अध्यक्ष अमरबहादुर छन्त्यालको अध्यक्षता र वडा सचिव बेद‌नाथ सुवेदीको सञ्चालनमा भएको समापन कार्यक्रममा वडा सदस्यहरू भक्तबहादुर छन्त्याल, अङबहादुर पुन, दिपा वि.क., स्थानीय वि.व्य.स. अध्यक्ष दलमान पुन, नन्दीबाङ जलविद्युत आयोजनाका अध्यक्ष भीमप्रसाद छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।

गण्डकी प्रदेश सभामा घरेलु मदिरा वैध गर्नेबारे छलफल

लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ। सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन्।

विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए। ‘विज्ञहरूसहित सरोकार भएका पक्षहरूबीच विधयकमाथि दफाबार छलफल हुन्छ, त्यसपछि प्रदेशसभाबाट विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

प्रदेश सरकारले सोसम्बन्धी विधेयकलाई यही चैत १४ गते प्रदेशसभामा प्रस्तुत गरेको थियो। सोमबार प्रदेशसभा बैठकमा भएको सैद्धान्तिक छलफलमा १० प्रदेशसभा सदस्यले उक्त विधेयकमाथि आफ्ना धारणा राखेका थिए। प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले घरेलु मदिरालाई कानुनी दायरामा ल्याउँदा स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताए। उनले मदिराको व्यावसायिक उत्पादनसँगै संस्कार र संस्कृतिलाई पनि ध्यान दिन जरुरी रहेको बताए।

प्रदेशसभा सदस्य रेखा गुरुङले विधेयकले घरेलु मदिराको गुणस्तरहीन र गैरकानुनी उत्पादनलाई निरूत्साहित गर्ने बताए। घरेलु मदिरामा विषाक्त पदार्थको मिसावटले स्वास्थ्य जोखिम बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्ने उनको भनाइ छ। स्थानीय उत्पादनलाई व्यावसायिक अवसर सृजना गर्दै घरेलु मदिराको अवैध उत्पादन नियन्त्रण गर्न र कर प्रणालीमार्फत प्रदेशको राजस्व विस्तार गर्न सहयोग पुग्ने उनले बताए।

उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले घरेलु मदिराको ‘ब्रान्डिङ’का लागि कानुनी प्रबन्ध गर्न लागिएको बताए। आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सैद्धान्तिक सहमतिपछि विधेयकको मस्यौदा तयार पारिएको उनको भनाइ छ।

मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादनलाई खुला गर्न लागिएको हो। सङ्घीय कानुनसँग नबाझिने गरी विधेयकलाई पूर्णता दिइने मन्त्री बस्यालले बताए। परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकसाथ वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने हुँदा व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याइने उनको भनाइ छ। प्रदेश सरकारले घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणलाई आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पनि समेट्दै आएको छ।

मुख्यमन्त्रीलगायत विभागीय मन्त्रीले पटकपटक घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानुनी मान्यता दिने बताउँदै आएका छन्। पछिल्लो समय प्रदेश र स्थानीय तहले घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने आवाज उठाउँदै आएका छन्। सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरे पनि व्यावसायिक उत्पादन र बिक्रीका लागि घरेलु मदिरा वर्जित छ। मदिरा ऐन, २०३१ ले पनि घरेलु मदिरालाई वैधानिक मान्यता दिएको छैन।

सोही ऐनमा टेकेर प्रहरीले बेलाबेला घरेलु मदिरा नष्ट गर्ने अभियान नै चलाउँछ। जनजाति समुदायको संस्कृतिसँग गाँसिएको र कतिपयको आयआर्जनको माध्यम बनेको घरेलु मदिरा जफत गरेको भन्दै प्रहरीकै आलोचना हुने गर्छ। वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई आर्थिकलाभ मिल्ने देखिन्छ।

केही समयअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारण अनुसन्धान सफल भएको थियो। प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो। मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरालाई वैध बनाउन लागेको हो।

विधेयकमा घरेलु मदिरा उत्पादन गर्न प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था छ। व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरिएको छ। धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री बस्यालले जानकारी दिए।

उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण, अन्न तथा फलफूलजस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने विधेयकको मस्यौदामा उल्लेख छ। घरेलु मदिरालाई गण्डकी प्रदेशभित्रका कृषि सहकारीले समेत दर्ता गर्न सक्नेछन्। यस्तो मदिरामा अन्य मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ। कोदो , फापर, उवा, जौँ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐँसेलु, चुत्रो, डिम्बरजस्ता अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था विधेयकमा छ।

‘तोकिएको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिराको व्यावसायिक उत्पादन तथा बिक्रीका लागि ऐन ल्याउन लागिएको हो,’ मन्त्री बस्यालले भने, ‘प्रदेशसभा र सम्बन्धित समितिमा दफाबार छलफल गरी आवश्यक संशोधनसहित विधेयक पारित हुन्छ।’ लामो समयदेखि बहसमा रहेको घरेलु मदिरा छिट्टै कानुनी दायरामा आउँदैछ। रासस

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुग्यो

सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ आज तोलामा एक हजार आठ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

राप्रपा सांसद दीपक बोहराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उहाँको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा विजयी हुनुभएका बोहोरा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

बोहरालाई  घाँटीमा क्यान्सर भएको थियो । उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बाेल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।

गर्भनरसहितका पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुन पाउने गरी मापदण्ड संशोधन

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी भइरहँदा अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद हटाएको छ ।

गभर्नर र मन्त्रालय मातहत निकायका अरु पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुन पाउने गरी मापदण्ड संशोधन गरिएको हो । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत उमेरहद हटाइएको छ ।

सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्डमा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र अरु पदाधिकारी तथा सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको भन्ने व्यवस्था थियो । अहिले गरिएको संशोधनमा उमेरहदको व्यवस्था हटाइएको छ ।

मापदण्डमा अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय भनेर राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, धितोपत्र बोर्डलगायत १५ वटा संस्था छन् ।

यही चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिँदै छ । अघिल्लो हप्ता सोमवार मन्त्रिपरिषद्ले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिश समिति गठन गरेको छ ।

समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट एक जनासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था छ ।