Wednesday, June 25, 2025
25.5 C
Beni
25.5 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 68

राप्रपा सांसद दीपक बोहराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उहाँको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा विजयी हुनुभएका बोहोरा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

बोहरालाई  घाँटीमा क्यान्सर भएको थियो । उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बाेल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो ।

गर्भनरसहितका पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुन पाउने गरी मापदण्ड संशोधन

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी भइरहँदा अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको उमेरहद हटाएको छ ।

गभर्नर र मन्त्रालय मातहत निकायका अरु पदमा जति उमेरको व्यक्ति पनि नियुक्त हुन पाउने गरी मापदण्ड संशोधन गरिएको हो । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ (दोस्रो संशोधन) मार्फत उमेरहद हटाइएको छ ।

सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्डमा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र अरु पदाधिकारी तथा सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको भन्ने व्यवस्था थियो । अहिले गरिएको संशोधनमा उमेरहदको व्यवस्था हटाइएको छ ।

मापदण्डमा अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय भनेर राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, धितोपत्र बोर्डलगायत १५ वटा संस्था छन् ।

यही चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिँदै छ । अघिल्लो हप्ता सोमवार मन्त्रिपरिषद्ले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिश समिति गठन गरेको छ ।

समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट एक जनासहित तीन जनाको नाम सिफारिश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सोमवारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । संसद्को हिउँदे अधिवेशन गएको माघ १८ गतेदेखि शुरू भएको थियो ।

 

 

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आधार शिविर पुगेका आरोहीहरुले टाँगेको टेन्ट । ८ हजार ९१ मिटर उचाइ रहेको यो हिमाल आरोहणका लागि यस याममा ४२ जन

अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ।

चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए।

‘अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्,’ उनले भने, ‘आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ।’ उनका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन्।

पर्यटन विभागले पछिल्लो पटक गत मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन्। वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिइन्।

उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन्।

भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताए। ‘शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन्। केही दिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्,’ उनले भने।

विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ। अन्नपूर्णको अहिलेसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ। सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।

आठ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ। प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ।

नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले उल्लेख गरे। पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्‍याएका अभियन्ता गुरुङले बताए।

‘गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे,’ उनले भने, ‘यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन्।’ पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ।

पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताए। यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो।

फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताए। उनका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ।

ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ।

आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भए पनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिए।

मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ। नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन्। शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन्। रासस

मल्कबाङ्ग पुर्णखोप सुनिश्चित वडा घोषणा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कबाङ्गलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । मल्कबाङ्गमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मल्कबाङ्गलाई जिल्लाको दोस्रो पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको बताउनुभयोे ।
घोषणा कार्यक्रममा वडा अध्यक्ष अम्मर कुमार छन्त्याल, गाउँपालिका स्वास्थ्य शाखा संयोजक संम्झना खाती क्षेत्री, लगायतको उपस्थिती उक्त वडालाई पूर्ण खोप वडा घोषणा गरिएको मल्कबाङ्क स्वास्थ्य चौकीका प्रमुख रुपक गिरीले जानकारी दिनुभयो ।
“पुर्ण खोप सुरक्षित भविस्य“भन्ने मुल नाराका साथ नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा ० देखि १५ महिना १५ जना खोप लगाउदै १६ देखि ५९ महिनाका ६५ जनासबै बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मल्कबाङ्गलाई पुर्णखोप वडा घोषणा गरिएको पालिकाले जनाएको छ ।
‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मराङलाई जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो ,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो ।
सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ ।

बेनी रिङरोड स्तरोन्नतिको काम सुरु

नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्नेगरी तीन करोड १९ लाख रुपियाँमा विकेश दुप्चेश्वर सुभम जेभीसँग ठेक्का सम्झौता गरेको कार्यालयका इन्जिनियर विरबल सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका– ८, कालीपुलस्थित कालीगण्डकी पक्की मोटरेबल पुलदेखि अगाडि नौ सय मिटर दूरीसम्म ५ देखि ६ मिटर चौढाईमा नालीसहित सडक ढलान गरिने छ । ठेक्का सम्झौता गरी निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको उहाँले बताउनुभयो । नेपाल सरकारले अगाडि बढाएको दस वटा नमूना नगरपालिका कार्यक्रम अन्तर्गत बेनी नगरपालिकाले बेनी रिङरोड स्तरोन्नति योजना प्रस्ताव गरे अनुसार बजेट विनियोजन भएर योजना अघि बढेको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

‘रिङरोड स्तरोन्नति भएपछि ठुला सवारीसाधनलाई रिङरोडबाट आवतजावत गर्न सहज हुने छ । अहिले रिङरोड हिँउदमा धुलाम्मे र बर्खायाममा हिलाम्मे भएर सास्ती भएको छ । रिङरोडबाट उडेको धुलो बजार सम्म आइपुग्ने गरेको छ । यो वर्षको योजनाले काली पुलदेखि जिल्ला प्रहरी कार्यालय सम्म करिब नौ सय मिटर सडक ढलान हुन्छ ।

सम्पन्न गर्न आगामी वर्ष पनि बजेट माग गर्ने नगरको योजना छ ,’ नगर प्रमुख सुरत केसीले भन्नुभयो ।रिङरोड स्तरोन्नति भएपछि रिङरोडबाट उडेको धुलो बजार भित्र आउने समस्या हट्नुका साथै बजार भित्रको सडकमा सवारीसाधन जाम हुने पनि समस्या पनि हट्ने बेनी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो। रिङरोड स्तरोन्नति निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूलहरू रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

बिक्री हुन थाल्यो चुत्रो र गुर्जो, संकलन गर्न भ्याइनभ्याइ

आठ करोड लगानीमा साढे ४२ रोपनी जमिन भाडामा लिएर कम्पनी सञ्चालन गरिएको छ। यस कम्पनीमा तीन चिनियाँ र ३१ नेपाली कार्यरत छन्। कम्पनीले गुर्जो र चुत्रो संकलन गरी बिक्री गर्न ल्याउने संकलकलाई चुत्रोका डाँठको प्रतिकिलो २५ र जराको प्रतिकिलो ४० तथा गुर्जोको प्रतिकिलो २० रुपैयाँ दिन थालेको छ।खेतबारी तथा वनजंगलमा शताब्दीऔंदेखि उपयोगविहीन बनेको चुत्रो र गुर्जो बिक्री हुन थालेपछि अहिले गाउँगाउँका किसानलाई संकलन गर्न भ्याइनभ्याइ छ। कम मेहनत र लगानीमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि दैनिकजसो जंगलमा गएर चुत्रो संकलन गर्नेको संख्या ह्वात्तै बढेको मोदी गाउँपालिका वडा नं ४ क्याङका टीका पुनले जानकारी दिए।

वार्षिक सात सय ३० मेट्रिक टन चुत्रो र गुर्जो संकलन गर्ने लक्ष्य राखेको उद्योगले चार महिनामा २० टनभन्दा बढीको काम गर्न नसकेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागमा दर्ता भएको यो कम्पनीले चुत्रो र गुर्जो प्रशोधन गरी धुलो बनाएर चीन पठाउने गरेको छ।

जिल्लाको जलजला गाउँपालिका वडा नं ६ शालिजाका युवा शेरबहादुर पुनले दुई सातामै एक हजार पाँच सय किलो चुत्रो र गुर्जो बिक्री गरेर ५५ हजार आम्दानी गरेको जानकारी दिए। घरभन्दा माथि रहेको तारे सामुदायिक वनबाट उक्त मात्रामा संकलन गरिएको हो। यस्तै, फलेवास नगरपालिका वडा नं ७ लिमीठानाका जगन्नाथ शर्माले बिक्री हुन थालेपछि चुत्रो र गुर्जो खोज्न वनजंगल जानेको संख्या बढेको बताए। उनले चुत्रो सहजै संकलन गर्न सकिने भए पनि गुर्जो खोज्न भने समय लाग्ने बताए। शर्माले यसको उपयोगसँगै खेतीसमेत विस्तार गर्नतर्फ ध्यान दिनुपर्ने बताए।

औषधिजन्य वनस्पति चुत्रो र गुर्जो संकलन तथा बिक्री भए पनि यसको दीर्घकालीन उपयोग र खेती विस्तारमा ध्यान नदिइएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। नागरिकको विरोध बढेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले उद्योगको स्थलगत अनुगमन गरेको थियो।

वन कार्यालयले अनुगमनपछि कम्पनीले आवश्यक कानुनी प्रक्रिया नपुर्‍याएको भन्दै पत्राचार गरी तत्काल संकलन कार्य रोक्न आदेश दिएको भए पनि कम्पनीले अटेर गर्दै धमाधम प्रशोधन गरिरहेको स्थानीयले बताए। डिभिजन वन अधिकृत झ्यामनारायण सापकोटाका अनुसार विदेशी कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण नगरी परियोजना सञ्चालन गरिरहेको देखिएको थियो।

डिभिजन वन कार्यालयले पत्राचार गरेर यो विषयमा आफ्नो सरोकार देखाएजस्तो गरेको भए पनि व्यक्तिको दर्ता स्रेस्ता कायम भएका नम्बरी आबादीमा रहेका वनबाट जडीबुटी संकलन तथा ओसारपसारका लागि अनुमति दिन परिपत्र जारी गरिरहेको छ। कार्यालयले गण्डकी प्रदेश वन नियमावली २०८१ को अनुसूची १६ मा कायम गुर्जो र चुत्रो संकलन तथा ओसारपसार गर्न अनुमति प्रदान गरिएको सापकोटाले बताए।

डिभिजन वन अधिकृत सापकोटाले व्यक्तिगत वनबाट ल्याउने कुरालाई आफूहरूले रोक्न नमिल्ने बताए। कार्यालयका अनुसार पर्वतबाट यही पुसदेखि गुर्जो १० हजार पाँच सय किलो र चुत्रो तीन हजार किलो मात्र संकलन गरिएको छ। छिफु बायोटेक्नोलोजीका व्यवस्थापक हरिकुमार श्रेष्ठले भने प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नभइसकेको तर अन्तिम प्रक्रियामा रहेको बताए। उद्योग परीक्षणकै क्रममा किसानले ठूलो परिमाणमा चुत्रो र गुर्जो संकलन गरेर ल्याएपछि वन कार्यालयले रोकेको दाबी गरे।

पैयुँ गाउँपालिकाले गत फागुन २७ मा चुत्रो र गुर्जो संकलन कार्य रोक्न सूचना नै जारी गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले गाउँपालिकाले अहिले पूर्ण रूपमा संकलन कार्यमा रोक लगाएको बताए। डिभिजन वन कार्यालयले गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो र गुर्जो पहाडी भेगमा सबैजसो ठाउँमा पाइने जनाएको छ। कम्पनीले पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायत जिल्लालाई केन्द्रित गरेर प्रशोधन उद्योग सञ्चालन गरेको बताएको छ। रासस

मराङ पुर्णखोप सुनिश्चित वडा घोषणा

म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा भएको छ ।

घोषणा कार्यक्रममा वडा अध्यक्ष राजाराम सुवेदी, जिल्लासमन्वय समिति सदस्य श्रीप्रसाद गर्बुजा ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्री लगायतको उपस्थिती रहेको थियो । नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका अनुसार वडा भित्र सर्वेक्षण गर्दा १६ देखि ५९ महिनाका ७२ जना बालबालिकाले पुर्ण खोप लगाएको आधारमा मराङलाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पुनले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । ‘भौगोलिक विकटता कारण धवलागिरीमा पूर्ण खोप कार्यक्रम चुनौतीपूर्ण रहे पनि मराङलाई जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा गर्न सफल हुनु हाम्रो लागि ठुलो उपलब्धी हो,’अध्यक्ष पुनले भन्नुभयो ।

रोगको रोकथामका लागि खोपको अत्यन्तै आवश्यक रहेको उहाँको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि गाउँपालिकाले पनि प्रथामिकता दिएको उहाँले बताउनुभयो। वडा भित्र कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक रहेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो ।

सात वटा वडा रहेका गाउँकाका अन्य सबै वडालाई पुर्णखोप सुनिश्चित घोषणा गर्ने तयारी रहेको छ । सोमबार वडा नम्बर ५ मल्कबाङलाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिने भएको छ । वडा अध्यक्ष सुवेदीको अध्यक्षता, मराङ स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य चौकी अनमी साहाना शाहले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पुनहिल घुम्दै विद्यार्थी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीय स्थल पुनहिलको अवलोकन लागि पुगेका शिख माविका कक्षा १–५ का विद्यार्थी र शिक्षक । यहाँ पुगेका विद्यार्थीलाई मनोरम प्राकृतिक दृष्यको अवलोकन,शान्त मनोरम वातावरण,अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरा सहितको जानकारी गराएका थिए ।

 

सामुदायिक वनमा आगो लगाउने एक पक्राउ

सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ हुन्द्राको सरादी सामुदायिक वनमा आगलागी गरेको आरोपमा प्रहरीले सोही स्थानका ४९ वर्षीय ढाल बहादुर सार्कीलाई पक्राउ गरेको हो ।

सार्कीले शुक्रबार बारीमा आगो लगाउने क्रममा उक्त आगो सल्किई सरादी सामुदायिक वन, नीजि घर तथा पशु चौपाय बाध्ने गोठ र खानेपानीको पाईप जलेर क्षती भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो । सार्कीले लगाएको आगो स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

सार्कीलाई आईतबार जिल्ला अदालत बागलुङबाट आपराधिक उपद्वव गर्न नहुने कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपि यादवले बताउनुभयो ।

वन जंगलमा आगलागी गरेमा वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।