Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 678

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलाको अध्यक्षमा सुबेदी

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँ पालिका अधिबेशनबाट अध्यक्षमा रमेश सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा बिर बहादुर तरामी,महिला उपाध्यक्षमा बिष्णु माया रोका, उपाध्यक्षमा डेक बहादुर थापा, सचिवमा राजेन्द्र आचार्य, सहसचिवमा बलिभद्र गौतम, कोषाध्यक्षमा यु कुमारी गिरी रोका रहेका छन् ।

अधिवेशनले १५ सदस्यीय गाउँ कमिटी र ५ वटै वडा कमिटीग गठन गरेको जिल्ला अध्यक्ष हुमनाथ पाण्डेले बताउनुभयो । अधिवेशनबाट संगठनको गाउँ पालिका इन्चार्जमा गम बहादुर खत्री, सहइन्चार्जमा महेन्द्र के सीलाई चयन गरिएको छ । संगठनले गाउँपालिका भित्र न्यून तलबमा काम गरेका शिक्षकलाई तलबसुविधा बृद्धी, सार्वजनिक शिक्षाका लागी प्रष्ट योजना, दरबन्दी मिलानको क्रमा शिक्षकमैत्री वातवारण लगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने बताइएको छ ।

कृषिमा आत्मनिर्भर गफले मात्रै हुदैनः मुख्ममन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै अव कृषिमा आत्मनिर्भर हुने गफ मात्रै गरेर नहुने बताए ।

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव,माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले माटो अनुकुल उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने प्रसस्तै सम्भावना भएकाले प्रदेश सरकारले निजी क्षेत्रसँग समेत सहकार्य गरी योजना बनाउने बताए। ‘म्याग्दीमा उत्पादन हुने बस्तु पोखराबाट ल्याउनुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ,‘अब सबैले कुराभन्दा काम गरेर देखाउने समय आएको छ’ मुख्यमन्त्री अधिकारीले भने ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक म्याग्दीमा आएका अधिकारीले कालिगण्डकी नदीको शिलालाई भारतको अयोध्यासम्म पु¥याउने कार्यले धार्मिक पर्यटनलाई प्रर्बधन गर्ने बताए ।

उनले गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नती, कोरोला नाका सञ्चालनमा आएपछि आर्थिक गतिविधिका धेरै सम्भावना भएकाले पर्यटन क्षेत्रमा सक्रिय भएकालाई अहिले नै होटल बन्द नगर्न अनुरोध गरे।‘हामीसँग सम्भावना धेरै छ, कालिगण्डकीमा सुन भेटिन्छ,मैले प्रत्यक्ष धेरैपटक सुन चाल्दै गरेको देखेको छु’ मुख्यमन्त्री अधिकारीले भने ।

उनले कृषि, पर्यटन र जलविद्युत मुख्य आधार भएकाले अब प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजना बनाउने बताए । उनले गण्डकी प्रदेशभित्रका हरेक जिल्लाका बारेमा जानकारी रहेको बताए । उनले छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई बलियो बनाउने बताए ।

उनले दुबै देशलाई जोड्ने कालिगण्डकी करिडोरलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारबाट सबै किसिमको सहयोग हुने बताए । उनले विकास निर्माणमा सरकारको स्रोतसाधनले भ्याएसम्मका काम गरिने बताए । मुख्यमन्त्री अधिकारीले अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैयाको भवनलाई तत्काल सुरू गर्न समेत ठेकेदारलाई निर्देशन दिए । ‘ठेकेदारको लापरवाहीले जनतालाई असर गरिरहेको छ,‘जिल्ला अस्पताललाई गुणस्तरीय सेवाका लागि आवश्यक सबै सहयोग गर्छु’ मुख्यमन्त्री अधिकारीले भने ।

उनले शिक्षा र स्वास्थ्यलाई पर्यटनसँग जोड्ने कार्यमा प्रदेश सरकारले सहयोग गर्ने बताए । मुख्यमन्त्री अधिकारीले धेरै कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति हाबी भएको बताउँदै आफ्नो ५ बर्षे कार्यकालमा जनतालाई अनुभुती हुने गरी काम गर्ने बताए ।म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार सकिएको संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा-३ च्याम्पीयन

बेनीमा आयोजित वडा स्तरीय वास्केटबल प्रतियोगितामा रघुगंगा गाउँपालिका-३ पिप्ले च्याम्पीयन भएको छ ।  कालीपुलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–१० पात्लेखेतलाई ४४ का विरुद्ध ५२ स्कोर गर्दै पिप्ले विजयी भएको वास्केटवल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।

सेमी फाइनलमा बेनी नगरपालिका–८ लाई ४७ का विरुद्ध ४९ स्कोरले पराजित गर्दै पिप्ले फाइनल पुगेको थियो । पात्लेखेतले रघुगंगा–४ दर्मीजालाई ५२ का विरुद्ध ५५ स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम र दृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. ५१ हजार र ३१ हजार पुरस्कार प्राप्त गरेका छन् । ८ टिम सहभागी प्रतियोगिता विहिबारदेखि सञ्चालन भएको थियो । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ अन्तरगत म्याग्दी उद्योग वाणिज्य संघले जिल्ला वास्केटबल संघसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेको हो ।

गोठमा थन्किए चर्खा र हाते तान : देखिँदैन काम्लो, घुम र हापदुला

माघ महिनाको पारिलो घाम। आँगनको बीचमा ओछ्याइएको ऊनी गलैँचामा बसेर तानमा हापदुला बुनिरहेकी छिन्, देउमाया छन्त्याल। म्याग्दीको रघुगंगा गाउँपालिका ६ ठाडाखानीकी ७३ वर्षीया छन्त्याललाई हिजोआज तानमा बस्न उति जाँगर लाग्दैन।

करिब दुई दशक अघिसम्म गाउँका घरैपिच्छे हाते तान टाँगेर फुर्सदको समयमा ऊनको धागोबाट काम्लो, घुम र हापदुला बुन्ने चलन अहिले हराएको छ। गाउँका प्रायः सबैले हाते तान र चर्खा गोठ र सिकुवामा थन्काएका छन्। कहिलेकाहीँ देउमायाजस्तै ठाडाखानी गाउँका बुद्धिसरा हिमाली र टीका छन्त्यालले चर्खा चलाउने र तानबाट ऊनका कपडा बुन्ने गरेका छन्।

दुई दशक पहिले चर्खाबाट ऊनको धागो निकाली घरेलु तानमा बुन्ने हापदुला, काम्लो, बख्खु, घुमलगायत ऊनका न्याना कपडा हिजोआज गाउँमै समेत देख्न मुस्किल हुन थालेको छ।

उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यवसायिकरुपमा भेडा पालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन हराएपछि रैथाने सीपमा आधारित यस्ता न्याना कपडा लोप हुँदै गएका हुन्।

गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्नसक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासी बताउँछन्।

भेडापालनबाट गाउँलेले राम्रो आम्दानी गर्दै आएपनि भेडा मासुको रूपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानको ध्यान जान सकेको छैन।

भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने रघुगंगा गाउँपालिका ६ मा वडाअध्यक्ष मनप्रसाद शेरपुंजाले बताए। भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश–विदेशमा समेतरहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्ति अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालकको भनाइ छ। ऊनबाट बन्ने कपडा (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको छ।

गाउँघरका बूढापाकाले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवा परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउन जाने भएकाले गाउँघरमा चर्खा चल्न छोडेको मालिका गाउँपालिका ५ देवीस्थानका टेकबहादुर बूढाले बताए।

धवलागिरि गाउँपालिका ५ की तेजमायाँ विक उमेरले ७१ वर्षकी हुनुभयो। जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौंबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडिन्। उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ।

तेजमायाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन्। उनले रौँबाट कपडा बुन्न हजुरआमासँग सिकेको बताइन्। तर, अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनी बताउँछिन् । ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ। तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ विकले भनिन् ‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्। हाम्रो सेखपछि यी सबै कुरा हराएर जान्छन्।’

अहिलेका पुस्ताले परम्परागत सीप नसिकेको प्रति विक चिन्तित छिन्। ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम पाँच हजारदेखि ४०/५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ। न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग रहेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए।

उनले पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएको स्वीकार गरे नयाँ–नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ।

‘पहिले पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ’, मालिका गाउँपालिका ७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडा वातावरणीय दृष्टिकोणले पनि फाइदाजनक हुने भएकाले बुझेका र किन्न सक्ने मानिसले खोजी गर्छन्।’

सातौं म्याग्दी महोत्सव आज समापन हुने

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला आज शनिबार समापन गरिने भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीबजारको खुलामञ्चमा गएको पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न प्रतियोगितात्मक खेलसँगै मनोरञ्जनका कार्यक्रम सहित उत्साहजनक आर्थिक कारोबार गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । ‘महोत्सवलाई सफलतापूर्वक सम्पन्न गदैछौ,‘यसपटक लक्ष्यअनुसारको आर्थिक कारोबार र दर्शकको उपस्थिती देखियो’ अध्यक्ष कटुवालले भन्नुभयो ।

महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको अध्यक्ष कटुवालको भनाई छ । महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुभएको थियो भने समापन गण्डकी प्रदेशका नवनियु्क्त मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय भएको महासचिव अमित बानियाँले बताउनुभयो ।

महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवस्थलमा व्यापारिक र अन्य गरी कुल २ सय ५८ वटा स्टलहरु लगायत रमाइलो मेलामा डेढ लाख आन्तरिक पर्यटकको आगमन भएको र करिब दश करोड बराबरको कारोबार हुने अनुमान गरिएको बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा एक करोड २४ लाख ८७ हजार रुपैयाँ आम्दानी, एक करोड १५ लाख ७७ हजार २११ रुपैयाँ खर्च र नौ लाख नौ हजार ७८९ रुपैयाँ बचत हुने अनुमान गरिएको छ । म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा महोत्सव आयोजना गर्ने गरिए पनि सातौं महोत्सव भने विश्वभर फैलिएको कोरोना भाइरस र लकडाउनका कारण यसवर्ष आयोजना गरिएको थियो ।

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा ।

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो छन्त्याल जातिको ठूलो बस्ती हो । छिमेकी बस्तीबाट हत्तपत्त कोही नपुग्ने यो छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल हो ।

समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा अवस्थित यहाँ वर्षमा पाँच महिना हिउँ हुन्छ । हिमपातको समयमा गाउँ मानव सम्बन्धबाट विच्छेद हुन्छ ।

१४२ घरपरिवार बसोबास गर्छन् यहाँ । सदरमुकाम बेनी बजारदेखि करिब दुईदिनको यात्रामा पुगिने गुर्जामा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसर छन् । तर यसको सदुपयोग हुन सकेको छैन । जीविकोपार्जनको एउटै स्रोत भनेको पशुपालन र जडीबुटी  हो ।

यहाँ बिखला, चिराइतो, सतुवा, जटामसी, कुट्की, वनलसुनलगायतका जडीबुटी र दुर्लभ मानिएको कार्ज स्टोन (सेतो ढुङ्गो) को खानी रहेको धवलागिरि गाउँपालिका १ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्याल बताउँछन् । यहाँका जडीबुटीको राम्रो माग रहेकाले प्रशस्त आम्दानी गर्न सकिने सम्भावना रहेको उनी बताउँछन् ।

गुर्जागाउँको प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता पर्यटकका आकर्षण हुन् । वडाध्यक्ष छन्त्यालले भने, ‘तर आवश्यक प्रचार गरिदिने माध्यम हामीले पाएनौ । नेताहरु चुनावपछि गाउँ विर्सन्छन । यहाँको विकासमा कसैको चासो छैन ।’

पशुपालन, रातो च्याउ र गोल्डेन स्याउ, टिमुरको व्यावसायिक खेती, पर्यटन र खानी उत्खनन यहाँका बासिन्दाको आयआर्जनको बलियो माध्यम बन्न सक्ने देखिएको छ ।

भौगोलिक विकटतालाई कारण बनाएर सरोकारवाला निकाय पन्छिने प्रवृत्ति रहेको स्थानीय जसविर विकले बताए ।

गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा पहिचानमा आएको पत्थरको खानी आवश्यक उपकरण अभाव, राज्यको अनुमति नहुनु र स्थानीयको उदासीनताले उत्खनन हुन सकेको छैन ।

सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने यो पत्थरको बजारमा माग छ । गुर्जा गाउँदेखि एक दिनको पैदलयात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने यो पत्थर म्याग्दीका लागि भिल्लाका देशमा मणिजस्तै बनेको गुर्जाबाट बेनी आएर बसोबास गरेका डकर्मी डेकबहादुर विकले बताए ।

पत्थर उत्खननलाई स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएकाले अलपत्र परेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडअध्यक्ष झकप्रसाद छन्त्याल बताउँछन् ।

गुर्जावासी गाई, भैँसी, भेँडापालन गरी मकै, आलु र जौ उत्पादनबाट छ महिना जीविकोपार्जन गर्छन् । बाँकी समय बेसहाराको भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यतामा छन् ।

एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युत्को उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भने गुर्जा उक्लेको वडाध्यक्ष छन्त्यालले बताए ।

विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गुर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गुर्जा गाउँमा अझै छ । गुर्जा गाउँ पछिल्लो समय पर्यटन र जडीबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएकाले अहिले गुर्जाको परिचय फेरिएको छ ।

देशभित्र र विदेशमा गुर्जालाई ‘हर्बल हब’ भन्न थालिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रको ५० प्रतिशत र धौलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा यहाँका २५ किसानले उक्त स्याउको ८०० बेर्ना लगाएका थिए । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित हाइब्रिड जातको स्याउ लगाएका हुन् ।

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको आधारि शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । शिविरबाटै डोल्पा, गुर्जाबाट धवलागिरि आधार शिविरसम्मपुग्न सकिने भएकाले ‘एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

भीर पाखाको सिस्नो शहरियाको भान्छामा मीठो परिकार बन्दै

‘हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नो खाएको बेस आनन्दी मनले ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा उल्लेख गरे झैंँ सिस्नो भन्ने बित्तिकै गरिबको खाना अर्थात् हेपिएको खाना भनेर बुझिन्थ्यो ।

‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिने गरिन्थ्यो । तर अब त्यो समय रहेन । पछिल्ला दिनमा सिस्नो धनीको भान्छादेखि पाँचतारे होटलको मेनुमा समेत समावेश भएपछि यसको महत्व र माग ह्वात्तै बढेको छ ।

म्याग्दीका पाखापखेरामा जताततै पाइने सिस्नोलाई प्रशोधन गरी पाउडर उत्पादन गर्न थालेपछि यहाँको सिस्नो नेपालमा मात्रै होइन विदेशका पाँच तारे होटलमा सम्म पुग्न थालेको छ ।

सिस्नो विशुद्ध अग्र्यानिक उत्पादन हो । यसको उत्पादनमा न किटनाशकको प्रयोग गर्नुपर्छ, न कृत्रिम भण्डारणको खाँचो नै पर्छ ।
बजार क्षेत्रमा बसोबास गर्नेहरु पछिल्लो समय ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्य सामग्रीको उपभोगतर्फ आकर्षित भएका छन् ।

कुनै समय गाउँघरका गरिबको खानाको परिकार भनिने सिस्नोलगायतका ग्रामीण उत्पादनहरु अहिले सहरबजारका धनीमानीको रोजाइँमा पर्न थालेका छन् ।

आयातित र औद्योगिक उत्पादनको उपभोगसँगै विलासी जीवनशैलीका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि ग्रामीण क्षेत्रमा विषादीको प्रयोगबिना प्राङ्गारिक तरिकाले उत्पादन गरिएका तरकारी र खाद्य सामग्रीप्रति आकर्षण बढ्न थालेको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन भएका खाद्यान्न, गेडागुडी र तरकारीको माग बढ्न थालेपछि सदरमुकाम बेनीमा महिला उद्यमीले ती सामग्री मात्र पाइने पसल खोलेका छन् । उत्पादनले बजार र मूल्य पाउन थालेपछि गाउँका किसान उत्साहित भएका छन् । गाउँमा उत्पादन भएको सिस्नोको पाउडर,सिमी, साग, चामल, दाल, कोदोको पिठो, भुटेको मकै, मह, घ्यू, अचार, टिमुर, बदाम, च्याउ, टुसा, मकैको आटो लगायतको माग बढ्न थालेपछि पसल सञ्चालन गरेको कालीपुलमा आग्र्यानिक उत्पादनको पसल संचालन गर्नुभएकी कमला पौडेलले बताउनु भयाे ।

गरिबको खाना भनेर चिनिने सिस्नोको परिकार केही वर्षयता धनी मानिसले बसोबास गर्ने देश विदेश र सहर बजारमा लोकप्रिय बन्न थालेपछि म्याग्दीका उद्यमीले प्रशस्त आयआर्जन गर्न सफल भएका छन् ।

म्याग्दीका उद्यमीहरूले उत्पादन गरेको स्वास्थ्यवद्र्धक सिस्नोको पाउडर हाल काठमाडाै, पोखराजस्ता ठूला सहरमा मात्र नभएर विदेशबाट समेत माग हुन थालेको छ । सिस्नो पाउडरको उपभोग गरेमा महिनावारी नियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेहजस्ता रोग निको हुने भएपछि सिस्नोको माग बढेको उद्यामीहरूको भनाइ छ ।

यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ । जिल्ला लघुउद्यमी सङ्घ, म्याग्दीका अनुसार गतवर्ष म्याग्दीमा एक हजार ३०० किलोग्राम पाउडर उत्पादन भई अन्यत्र बिक्री भएको थियो ।

साउनदेखि माघ महिनामा सिस्नोको मुना टिपेर पाउडर बनाउने उपयुक्त समय हो । बेनी, बागलुङ, कुश्मा, मुस्ताङ, पोखरा, काठमाडौं लगायत स्थानबाट पाउडरको माग हुने गरेको घतान नेप्टेचौरकी उद्यमी अनिता खत्रीले जानकारी दिनुभयाे ।
जिल्लाको बेनी, घोरेपानी र तातोपानीका होटल तथा लजहरूमा पनि पाउडरको माग बढिरहेको छ । एक किलोग्राम पाउडरको मूल्य न्यूनतम रु ४ सय पर्छ ।
करेसाबासी, खेतबारीका कान्ला, खाली जमिनमा उम्रेको सिस्नोबाट पनि आम्दानी गर्न सकिने भएपछि महिला उत्साहित भएको दानाकी उद्यमी मैती तामाङले बताउनु भयाे ।

वनस्पति विज्ञ चन्द्रमणी सापकोटाका अनुसार सिस्नोमा पाइने झुस जस्तो फर्मिक अम्ल र पोल्ने जलन हुने र हिस्टामाइले सुन्निने भएकाले सिस्नोले छुँदा निकै दुख्ने र पोल्ने हुन्छ । अंग्रेजीमा यसलाई नेटल भनेर चिनिन्छ । मध्यपहाडी तथा उपत्यकामा पाइने पोल्ने झार नै सिस्नो हो र यसमा धेरै औषधीय गुण पाइएको छ ।

आर्युवैदिक चिकित्सक डा. जीवन शर्माका अनुसार सिस्नोमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थ रहेका हुन्छन् । सिस्नोमा २५ प्रतिशतसम्म प्रोटिन हुन्छ । त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन मानिन्छ ।

नेपालका पाँचतारे होटेलका मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ । यसलाई संसारकै अति स्वस्थकर खानाको सूचीमा समेत राखिएको छ । देश बाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी हुने आर्युवेदिक चिकित्सकहरुको भनाइ छ ।

कसरी खाने सिस्नो?

सामान्यतयाः सिस्नोलाई पखाली उम्लेको तातोपानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेषगरी यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेर पकाइन्छ ।

विदेशमा बटरमा प्याज, लसुन, लिक, गाँजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नो पकाइन्छ। यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन, मरिच र क्रिम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।

सिस्नुको चिया पनि त्यत्तिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रिन–टीकै तरिकाले सेवन गरिन्छ । र, जुसको रुपमा पनि पिउन सकिन्छ ।

सिस्नोको फूलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ। यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण बोकेको सिस्नो

सिस्नोमा प्रशस्तै औषधीय गुण रहेको आर्युवेदिक चिकित्सकहरुको भनाइ छ । सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्नुका साथै मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुने चिकित्सक शर्माले बताउनु भयाे ।

उहाँका अनुसार उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पु¥याउँछ । प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्ने उहाँले बताउनु भयाे ।

त्यसैगरी छाला र कपालका लागि पनि सिस्नो निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पु¥याउँने र कपाल सिल्की बनाउन सहयोग गर्नुका साथै कपाल झर्नबाट रोक्ने गर्दछ । पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुनुका साथै शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि नियमित सिस्नोको सेवन गनु उपयुक्त हुने आर्युवेदिक चिकित्सकहरु बताउँछन् ।

पुरानै लयमा फर्कियो लभ्लीहिल

सदरमुकाम बेनीको दक्षिणी मोहडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतीतको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको संख्यामा यहाँ आउने प्रेमजोडीहरू यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् ।

उत्तरतर्फ आँखै अगाडि चाँदीझैँ सेता टलक्क टल्केका हिमशृंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी । हरिया बगैँचा, रूखका बुट्यानहरू, हावामा बयेली खेलिरहेका फूलहरू, भुर्र–भुर्र उडिरहेका चराहरू अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरू देखिने लभ्लीहिल (प्रणयशिखर) मा हिजोआज पर्यटक आगमन वढ्दै गएको छ ।

आसपासमा देखिने हिम श्रृंखला, चौफेरै देखिने हरियाली र आकर्षक भू-बनोटलगायत मनमोहक दृश्यले यो ठाउँलाई प्रेममैत्री बनाएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका डरले गत दुई वर्षसम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज आफ्नै लयमा फर्किन थालेको छ । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका-२ खबरानजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीहरूका कारण हिजोआज लभ्लीहिल गुलजार बन्दै जान थालेको छ ।

पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि दुई वर्षसम्म कोरोना संक्रमणका डरले सुनसान भएको थियो । अहिले भने यहाँ रौनक सुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

????????????????????????????????????

आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रुपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ । विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ, लभ्लीहिल । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामकरण गरिएको छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरू देख्न सकिन्छ ।

यसैगरी, म्याग्दी जिल्लाको अधिकांश भू-भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत यहाँबाट अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्यको अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार र नयाँ वस्तीको समेत सम्भावना रहेको छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरू बताउँछन् ।

लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धाहरू रमाउने स्थलका रूपमा विकसित भइरहेको छ । यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

सोच, शोक र समाज

विनय श्रेष्ठ
म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला–२०७९ को छैटौं दिन सफलतापूर्वक सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ मुल आयोजक रहेको महोत्सवको सबल पक्ष र सुधार गर्नु पर्ने पक्षको बारेमा भविष्यले मुल्यांकन गर्ला नै । म्याग्दीमा महोत्सव चलिरहदा माघ १ गते माघेसैक्रान्ति कै दिन चालक दल सहित ७२ जनाको ज्यान जाने गरि काठमाडौ देखि पोखरा उडान भरेको यति एयरलाइन्सको हवाईजहाज सेतीको खोचमा भएको दुर्घटनाले देशै शोकमा दुब्यो ।

यस दुखद घटनाले सबैको ध्यानाकर्षण ग¥यो । एकातिर पोखरा र बागलुङ हुदै म्याग्दी महोत्सवका लागि आएका कलाकार निरा छन्त्याल दुर्घटनामा परि निधन हुनु र अर्कोतिर नेपाल सरकारले माघ २ गते शोक बिदाको घोषणाले महोत्सव के हुन्छ भन्ने सबैको चासोको विषय बन्यो ।

शोकले आयोजकलाई नछुने कुरै भएन । माघ १ गते नै शोक धुन बजाएर मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण ग¥यो । माघ २ गते मध्यान्ह १२ बजेसम्म महोत्सव स्थगन गरेर समवेदना प्रकट ग¥यो । यहाँसम्म त ठिकै थियो तर महोत्सव स्थगन भित्र भलिबल प्रतियोगिता सञ्चालन गरेर आयोजक आलोचनाको सिकार बन्यो । आयोजकले व्यापक छलफल र नाफाघाटाको हिसाब गरेरै उक्त निर्णयमा पुगेको होला तर के “गल्ति गर्ला र पाखुरा सुर्कैलो” भने झै मसला पुगिहाल्यो । सामाजिक सञ्जाल रङ्गी हाले, जुन स्वभाविक पनि थियोे ।

आयोजकले “सर्प पनि मर्ने तर लाठी पनि नभाचिने” निर्णय गरेको थियो तर आलोचनाको शिकार बन्यो । हिन्दीमा उखान छ “शो मस्त गो अन” । आयोजकले कानमा तेल हालेर बसिदियो । आलोचनाहरु एक कानले सुनिदियो अर्को कानले उडाईदियो । हात्ती लम्कदै गयो ।हुन त कुनै पनि घटनालाई कसरी लिने भन्ने आफ्नोे सोचले बताउँछ । “मन पर्ने के को हो के पनि बसाउछ” भन्ने नेपाली उखान त्यसै बनेको होईन ।

महोत्सवको यस परिवेशमा पनि मानिसहरु दुई कित्तामा विभाजित भए । एकाथरिले “शोकको दिन महोत्सव स्थगन गरेर आयोजकको के नै जान्थ्यो र” भन्दै दवाव सहित समवेदना प्रकट गरे भने अर्काथरिले महोत्सव सञ्चालनको मौन स्वीकृति दिएर मुख दर्शक बनिदिए । “आज म¥यो भोलि त दुई दिन” भने झै हाम्रो संस्कृतिमा शोक मनाउने फरक फरक चलन छ । घाटमा लैजादा कोहिले शंख फुक्छन्, कोहिले भजन गाउँछन्, कोहिले ढ्याङ्ग्रो बजाउँछन्, कोहिले गित संगित पनि । काजकिरियाको आफ्नै रितिथिति छ ।

काजकिरिया पनि १३ दिनदेखि ३ दिनसम्मको प्रचलन छ । काजकिरियामा मासु र रक्सी चढाउन मिल्ने र खान मिल्ने प्रचलन पनि छ । क्रिया बस्दा घ्युभात खाने संस्कृतिमा हुर्किएका हौ हामी । मलामीको रुपमा सागर गएकाहरु पनि जीवन मरण स्वभाविक प्रकृया हो भनी त्यति धेरै संम्वेगात्मक भएको देखिदैन । अचेल त दागबत्ती दिए लगत्तै अधिकांश त घर फर्किहाल्ने चलन छ । क्रियापुत्री समेत घर फर्के लगत्तै पत्रिका पढ्ने र मोवाइल चलाउने, टिकटक हेर्ने जस्ता कार्य सामान्य भै सकेकाछन् ।

यहाँसम्म कि ठाडो क्रिया बस्ने, धेरै छोराहरु मध्ये एकजना मात्र क्रिया बस्ने चलन पनि चलेको छ । दुःख बोक्दा पहिले जस्तो धेरै कष्ट बोक्नु पनि पर्दैन । वर्ष दिनको लागि वर्खी बार्ने चलन पनि एकाध मात्र देखिन्छ । यहीँ समाज हो एकातिर पतिको निधनमा पत्नीले जीवनभर एकल महिला भएर मात्र होईन विना श्रृङ्गार सेतो पहिरनमा पहिरिनु पर्छ भन्दछ भने पत्नी गुमाएको पुरुषलाई सोहि दिन अर्को विवाह गर भन्ने सुझाव तेर्साईन्छ ।

प्रसंग फेरि जहाज दुर्घटनाको नै कोट्याउ । अकल्पनीय घटना घट्यो नै तर घटना स्थलमा पुगेकाहरु उद्दार भन्दा पनि भिडियो खिच्न तिरै बढि लालयित भएको पाइन्छ । यस घटनामा त उद्दारमा संग्लग्न हुन कठिन छ तर समाजमा घट्ने धेरै घटनामा मानिसहरु समाधान भन्दा पनि फोटो खिच्न र भिडियो बनाउन नै उद्दत देखिन्छन् । सर्पले बच्चा निल्न लागेको होस् वा सुडानमा ख्याउटे बालकलाई गिद्दले ढुकेको फोटो र भिडियो बनाएका कतिपय पत्रकार मध्ये केहिले पछि आत्मग्लानी सहित आत्महत्या समेत गरेका थिए । यी घटनाहरुले समाजको यथार्थलाई जनाउँछ । एक क्रियापुत्री त काजकिरिया भित्रै स्वर्गवास भएको आमाको फोटो अगाडि नाचेको टिकटक बनाएर भाइरल भएका थिए । अब त लाग्छ चितामा जलिरहेको बुबा वा आमाको लाससंग सेल्फी खिच्न वा टिकटक बनाउन मात्र बाकी छ ।

समवेदना जनाउने विभिन्न माध्यम छन्, तरिका छन् । कसैले बढि देखावटी गर्ला भने कसैले मनमनै । समवेदना भने भित्री मनदेखि श्रद्धा प्रकट गर्नु हो । कुनै पनि दुर्घटना बाजा बजाएर आउदैन । आयोजकको तर्फबाट विश्लेषण गर्दा महोत्सव जारी राख्ने निर्णय बाध्यात्मक परिस्थितिको उपज होला तर हामी पनि त मानविय समवेदनालाई चटक्कै भुलेर खेल्यौ, नाच्यौ, गायौ अनि उफ्रियौ नि, होईन र ? अरुलाई चोर औला देखाउदै गर्दा बाकि चार औला त आफैतिर फर्कियो कि ? कि होईन भने अबको समाज कुन दिशातर्फ जादैछ ? सोचनीय विषय हो ।
अस्तु !

बेनी-गलेश्वर सडक कालोपत्रे गर्नका लागि शिलन्यास

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको प्रवेश विन्दुमा बेनी–गलेश्वर खण्डको सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ ।  जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभएको हो ।

उक्त सडकको शिलन्यास गर्दै मेयर केसीले निर्माण ब्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नती गर्न निर्देशन गर्दै सडक निर्माणको क्रममा आउने समस्यालाई समाधान गर्नका लागि समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

२ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले भ्याट/ पिएस सहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँ ठेक्का लिएको थियो । ७२० दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पुस १७ गते सम्झौता गरेको थियो ।

उक्त जेभीका संचालक सुवासचन्द्र कार्कीले समयभित्रै काम गर्ने योजनासहित शुक्रबार मजदुर, दूईवटा डोजर लगायतको मेशिन लिएर काम सुरु गरिएको बताउनुभयो ।

मेशिन र मजदुर लगायतको उपकरण थपेर काममा गति दिने योजना रहेको कार्कीले भन्नुभयो । सडक निर्माण कार्यमा बेनी नगरपालिका, प्रदेश सरकार, कालीगण्डकी कोरिडोर लगायतको साथ सहयोग पाए तोकिएको मिति भन्दा अगावै काम सम्पन्न गर्ने प्रतिवद्धता उहाँले जनाउनुभएको थियो । “फराकिलो सडकसहित कल्भट, आरसीसी ढलान, नालासहित ग्राभेल र बेससहित आठ मिटर चौडाई कालोपत्रे गरिने छ ।”

सडक स्तरोन्नतीमा सम्झौता अनुसारको काम गुणस्तरीय र समयमै कालोपत्रे काम सम्पन्न गराउनका लागि आयोजनाले प्रभावकारी रुपमा अनुगमन, निरिक्षण र समन्वय गर्नेे बेनी–जोमसोम– कोरला सडकका योजना प्रमुख जगत प्रजापतिले भन्नुभयो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङबासी र घुम्न आउने पर्यटक सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी नदीको कटान र माथिबाट खहरेभेलले सडक जिर्ण र सागुरो बन्दै गएपछि जिल्लाका जनप्रतिनिधि र सराकोरवालाहरुले सडक स्तरोन्नतीका लागि पहल गरेका थिए ।