Wednesday, June 25, 2025
23.7 C
Beni
23.7 C
Beni
Wednesday, June 25, 2025
Home Blog Page 69

म्याग्दीका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध

म्याग्दीका पत्रकारहरुले आइतबार हातमा कालो पट्टी बाँधेर कार्यक्षेत्रमा काम गरेका छन् । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा एभिन्युजका पत्रकार सुरेश रजक र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ म्याग्दीको आह्वानमा पत्रकारहरु कालोपट्टी बाँधेर कार्यक्षेत्रमा खटिएको उपाध्यक्ष दलप्रसाद विश्वकर्माले बताउनुभयो ।

आफ्नो कार्यलय र समचार संकलनमा जाने क्रममा हातमा कालो पट्टी बाँधेर शुक्रबार भएको घटनाको विरोध जनाएको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ। भोलि सोमबार प्रमुख जिल्ला अधिकारीमार्फतकार्यक्षेत्रमा पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग गर्दै ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम रहेको सचिव ठाकुरप्रसाद आचार्यले जानकारी दिनुभयो ।

शाखा अध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक मुद्दाका आडमा र अन्य विभिन्न बाहनामा पत्रकार र संचार माध्यममाथिको आक्रमण सह्य नभएको बताउँदै अवाञ्छित र अराजक गतिविधिको सधै विरोधमा गर्ने बताउनुभयो । स्वर्गीय रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गदैं शनिबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर दबाबमुलक कार्यक्रम गरिएको थियो ।

गण्डकी प्रदेशमा थप चार दिन सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले आउने वर्ष थप चार दिन सार्वजनिक बिदा दिने भएको छ। विक्रम संवत् २०८२ मा नेपाल सरकारले निर्णय गरेका बाहेक चार दिन बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले गरेको बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रविण ढकालले भानु जयन्तीका दिन असार २९ गते आइतबार, कोजाग्रत पूर्णिमाका दिन असोज २० गते सोमबार, गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते बिहीबार र चैते दशैं २०८२ साल चैत १२ गते बिहीबार गरी ४ दिन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो।

यी बिदामा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार जारी गरेको सूचनामा उल्लेख छ।

हेभी सवारीसाधनले बेलिब्रिज छियाछिया

गण्डकी प्रदेशको ‘लाइफलाइन’ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको उत्तरी क्षेत्रका बेलिब्रिजमा ‘हेभी’ सवारीसाधन आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक कार्यालयले कडाई गरेको छ । बेलिब्रिज र पक्की पुलको क्षमता मापन नगरी धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठड्याइएका पाता, नटबोल्ट जीर्ण बन्दै गएपछि १२, १४ र १८ चक्केसम्मका सवारीसाधनलाई कडाई गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

‘पुलले धान्नै सक्दैन, अब पनि कडाई नगरे दुर्घटनाको जोखिम भएकाले कडाई गरिएको छ’ प्रमुख केसीले भने । म्याग्दी खण्डमा भुरुङ तातोपानी, रुप्से झरना र मुस्ताङमा करिब ३ वटा पुलहरूमा ‘हेभी’ सवारीसाधन आवतजावत नगर्ने गरी सामान ढुवानी गर्न अनुरोध समेत गरिएको छ ।

उत्तरी म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी इक्युमेन्टसम्बन्धी सरकारी निकायको निगरानी बिनै पुलमा सामान्य ‘सर्पोट’ राखेर सवारीसाधन आवतजावत गर्दा विगतमा समेत पुलमा क्षती भएको थियो ।

म्याग्दी र पर्वत जोड्ने कालिपुल सहित सडकखण्डमा बनेका पुलमा भारवहन क्षमताको मापन गर्ने सरकारी निकायको प्राविधिक क्षेत्र नै बेखवर छ । क्षमताभन्दा बढी भारवहन सवारी पुल हुँदै आवतजावत गर्दा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले क्षमताभन्दा बढी सवारीसाधनलाई आवतजावतमा कडाई गर्न भनेपछि ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।

प्रजिअ ढकालले ठूला सवारीसाधन आवतजावत गर्ने क्षेत्रमा रहेका पुलको प्राविधिक पक्षसँग स्थलगत रुपमै अनुगमन गरी प्रतिवेदन समेत तयार गर्ने सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत नयाँ पुलको डिजाइन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत् र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेका छन् ।

 

स्मल हेभनमा दीक्षान्त समारोह : २६ जना नानीबाबु दीक्षित

माउन्ट एभरेष्ट आवासीय माविद्धारा सञ्चालित स्मल हेमन मन्टेश्वरीमा शनिवार दीक्षान्त समारोह सम्पन्न भएको छ । बेनीबजारको रेडक्रस भवनमा सञ्चालित मन्टेश्वरीबाट शैक्षिक वर्ष २०८१ मा कक्षा युकेजीका २६ जना नानीबाबुहरु दीक्षित भएका मन्टेश्वरीका संयोजक विभा रोकाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि बेनी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले स्मल हेभन मन्टेश्वरी बेनी बजार क्षेत्रको उत्कृष्ट मन्टेश्वरी भएको बताउँदै आफ्नै छोराछोरीलाई जस्तै स्नेहपूर्वक संस्कार सहितको शिक्षा प्रदान गर्न यो मन्टेश्वरी सफल भएको विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी प्रिन्सिपल राजु केसीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सहित व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप र चारित्रीक तथा नैतिव वल प्रदान गर्ने खालका विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको बताउँदै नानीबाबुहरुको भविष्य निर्माणका लागि विद्यालयले समयसान्दर्भिक र बालमनोविज्ञानमा आधारित शिक्षण सिकाइ प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

विद्यालयमा बालविकासका लागि चाहिने सम्पूर्ण पूर्वाधार, शैक्षिक तथा शिक्षण सिकाइका सामग्रीहरु उपलव्ध हुनुका साथै घरको जस्तै माया र स्नेहका साथ मिस, म्याडमहरुले बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहनुभएको उहाँले बताउनुभयो । हाल युकेजीसम्म सञ्चालित मन्टेश्वरीलाई आगामी शैक्षिक वर्ष २०८२ मा कक्षा थप गरी एक कक्षा पनि सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी अभिभावक प्रतिक्षा श्रेष्ठ र दीपक सापकोटाले मन्टेश्वरीको शैक्षिक र व्यवस्थापकीय क्रियाकलापबाट आफूहरु सन्तुष्ट रहेको बताउनुभयो । अभिभावकले घरमा गर्ने स्याहार सुसार र दिने संस्कार विद्यालयले प्रदान गर्दै आएको विद्यालय र यहाँका मिस म्याडमहरुप्रति आफूहरु आभारी रहेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा नानीबाबु र मिस म्याडमहरुले विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालक रमेश गिरी र लिलाबहादुर बानियाँको पनि उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षता, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालको प्रमुख आतिथ्यता, शिक्षक धु्रवसागर शर्माको स्वागत र विभा रोकाको सञ्चालनसमा सम्पन्न भएको थियो । २०७२ सालमा स्थापना भएको स्मल हेभन मन्टेश्वरी विगत सात वर्षदेखि बेनीबजारको रेडक्रस भवनबाट सञ्चालन हुँदै आएको छ । मन्टेश्वरीमा हाल १३२ जना बालबालिकाहरु अध्ययनरत छन् ।

ढोरपाटनमा यसवर्षको दोस्रो शिकार याम : १३ नाउर, १० झारल र १२ बँदेलको शिकार गरिने

धौलागिरी हिमश्रृंखला भित्र बाग्लुङ, रुकुम र म्याग्दीमा फैलिएको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकार याम चलिरहेको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गरिने भएको हो ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ मा शिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा शिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छ वटा कम्पनीले अनुमति पाएका छन् ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा शिकार खेल्न आउन थालेका छन् । ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार दोस्रो याममा आउँदो वैशाख १६ गतेसम्म शिकारीले सिकार खेल्न पाउने छन् ।

अहिलेसम्म दुई नाउर मात्र शिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले शिकारीमार्फत दुई नाउर र दुई बँदेल शिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर शिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो ।

त्यसैगरी ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी शिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल शिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन शिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई शिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन शिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल शिकार गर्ने अनुमति पाएका छन् । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन शिकारीले एक नाउर, दुई झारल र तीन वटा बँदेलको शिकार गर्न अनुमति पाएका छन् । यो शिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट शिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको आठ लाख, नाउरको छ लाख २५ हजार पाँच सय तोकिएको छ ।

यसपाली सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा शिकार भइरहेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । शिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याम असोजदेखि मङ्सिर र फागुनदेखि वैशाखमा शिकार खुला हुन्छ ।

आठौं म्याग्दी महोत्सवको आयब्यय सार्वजनिक

बेनीमा सम्पन्न भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा आयब्यय सार्वजनिक गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा माघे सङ्क्रान्तिका अवसरमा पुस २८ देखि यही माघ ८ गतेसम्म आयोजना भएको महोत्सवमा १ करोड ९ लाख ५३ हजार ७ सय २९ रुपैयाँ आम्दानी र १ करोड ५ लाख ४३ हजार ८९० खर्च भएको संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा बिक्री भएको टिकटबाट सामाजिक उत्तरदाहित्व बहन अन्तरगत बिक्री भएको टिकटको आम्दानीबाट ब्यवसायिक हित कोषमा १२ लाख, म्याग्दी उवासंंघ विपद् ब्यवस्थापन कोष ३ लाख, धार्मिक पर्यटन प्रर्बधन ६० हजार, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा ५० हजार, म्याग्दी बालगृह २५ हजार र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान म्याग्दी शाखा ३५ हजार गरी १६ लाख ७० हजार सहयोग गरिएको कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

खर्च र सामाजिक उत्तरदाहित्व अन्तरगतको खर्चपछि ४ लाख ९ हजार ८२९ आम्दानी भएको छ । महोत्सवमा कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष राखिएका थिए। महोत्सवमा स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक, कृषि तथा पशुजन्य, सूचना प्रविधि, कपडा, खाद्यान्न, भाडाको प्रर्दशनी गरिएको थियो।

स्थानीय उत्पादनका ३० वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो। संघको आयोजनामा २०५८ सालदेखि सुरु भएको महोत्सवले म्याग्दीको जातजातीको भेषभुषा पहिचान र जिल्लाको पर्यटन प्रवद्र्धनको सुरुवात समेत भएको थियो ।

बुद्धिजीवी परिषद् नेपाल म्याग्दीमा नयाँ नेतृत्व

बुद्धिजीवी परिषद नेपाल जिल्ला कमिटी म्याग्दीको शनिवार सदरमुकाम बेनीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट डेकबहादुर बानियाँको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन भएको छ । अधिवेशनले कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिवमा हिराबहादुर बरुवाल, कोषाध्यक्षमा खगेश्वर रिजाल, उपसचिवमा विष्णुकुमारी रोका र दिपक सुवेदी निर्वाचित भएका हुन् ।

यसैगरी अधिवेशनबाट कमिटीको सदस्यहरुमा ज्ञानु बानियाँ, मनिता रायमाझी, छबि पूर्जा, शारदा सुवेदी, मुकुन्द रेग्मी, सुमन पौडेल, योगेश शर्मा, रघुनाथ न्यौपाने, रेगुन खत्री, डा. नन्दबहादुर खत्री, गोपाल केसी, जीबनाथ पौडेल र तारानाथ सुवेदी चयन भएको परिषदका निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीले बताउनुभयो । अधिवेशनको नेपाल वुद्धिजीवी परिषद् नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विधान आचार्यले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनपछि अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष आचार्यले खराब सोच र नकारात्मक प्रचारबाजी गर्नेको संख्या पछिल्लो समय बढ्दै गैरहेको हुँदा सचेत हुनुपर्ने बताउनुभयो । नकारात्मक सोच र नकारात्मक प्रचारबाजीमै उद्धत हुनेहरुको समूह बढ्दो क्रममा रहेकाले देशमा अराजकता र अस्थिरता फैलने उहाँको भनाइ थियो । त्यही अस्थिरता र अराजकता फैलाउने समूहकै कारण शुक्रवार काठमाडौंमा पत्रकारसहित दुई जनाको मृत्यु हुनुका साथै कयौं घाइते र धेरै सम्पतिको नोक्सानी भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले संविधानको राम्रा पक्षका साथै गणतन्त्रको सुन्दरताको बारेमा सबैलाई बुझाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले देशमा नकारात्मकताका साथै अराजक गतिविधि गर्नेहरुले आफ्नै मुलुक र राज्यसत्ताको विरोध तथा बेइज्जत गर्नेतर्फ लागेकोले यस्ता गतिविधिहरुको विरुद्धमा सही र सचेत विचार बाहिर ल्याउन बुद्धिजीवीहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरदेवी पुन, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख प्राध्यापक डाक्टर राजेन्द्र चापागाईँ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम बुद्धिजीवी परिषद म्याग्दी जिल्ला कमिटीका निवर्तमान अध्यक्ष गोरखनाथ सुवेदीको अध्यक्षता, सचिव नारायण पौडेलको सञ्चालन र सहसचिव हिराबहादुर बरुवालको स्वागतमा सम्पन्न भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा १०औं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

साधारणसभामा गएको पुस २८ गतेदेखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा लगाइएको  म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलामा प्रवेश टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको छ ।

टिकटबाट भएको आम्दानीतर्फ नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीलाई ५० हजार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिलाई ३५ हजार र नेपाल बाल सङ्गठनलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका सदस्यहरुलाई पनि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको बिबिएसतर्फ उत्कृष्ट अङ्कसहित स्नातकोत्तर तह उत्तीर्ण हुन सफल पर्वतको जलजला गाउँपालिका–२ निवासी राजेश कार्की र म्याग्दीको बेनी नगरपालिका–६ निवासी सुष्मा उपाध्याय पौडेललाई क्रमशः नगद पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।

साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जिल्लाको उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले बेनी नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा व्यावसायिक कर सङ्कलनको कार्य अगाडि बढाइएको बताउनुभयो ।

संविधानसभा सदस्य रेशमबहादुर बानियाँले निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले मेला, महोत्सवमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले पछिल्लो समय विभिन्न कारणले उद्योग व्यवसाय धरासायी बनेको बताउँदै सरकारले उद्योगमैत्री नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विनोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।

जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।
ज्ञान तथा सिपको अभावमा रहेका सर्वसाधारण एवं नागरिकहरुलाई लक्षित गरेर सिप सिकाउने र उनीहरुलाई आत्मनिर्भर बनाउनको लागि सदरमुकाम बेनीमा तीन महिने सिपमूलक सम्बन्धी तालिम सञ्चालन गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले जनाएको छ । केन्द्रको आयोजना र बेनी नगरपालिकाको समन्वयमा प्लम्बिङ तथा मन्टेश्वरी सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय गाउँघरमा दक्ष जनशक्ति नहुँदा हरेक काममा समस्या भैरहेको हुँदा सिप सम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले बेनी नगरपालिकामार्फत सिप विकास तालिम केन्द्रलगायत अन्य संघसंस्थाहरुसँग पनि आवश्यक समन्वय गरी विभिन्न किसिमका सिपमूलक तालिम र गोष्ठीहरु सञ्चालन गरिरहेको बताउँदै तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो । तालिममा सिकेको सिपलाई श्रमसँग जोड्न आवश्यक रहेको नगर प्रमुख केसीको भनाइ छ ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले तालिम सिपमूलक भएकाले तालिमको अवधिभर पूर्ण रुपमा सक्रिय भई तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो । केन्द्र प्रमुख मोहनचन्द्र रेग्मीले सिप सिकाएर स्वरोजगार बनाउने तथा बेरोजगार र गरिबी घटाउनको लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्टेश्वरी तथा प्लम्बिङ तालिममा कुल ४० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनसत्र केन्द्र प्रमुख सुवेदीको अध्यक्षता, लेखा अधिकृत नेत्रप्रसाद रेग्मीको स्वागत र बेनी नगरपालिकाका सहायक प्रशासकीय अधिकृत लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तीन महिनासम्म सञ्चालन हुने तालिम दैनिक ५ घण्टाको दरले चल्नेछ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको अध्यक्षमा केसी

नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको दोस्रो अधिवेशनबाट खड्क केसीको अध्यक्षतामा २५ सदस्यीय सदस्य चयन भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था संघको उपाध्यक्ष मुक्तमान केसी, अक्सिजन खड्का, सचिव बिनोद घर्ती, कोषाध्यक्ष स बहादुर विक रहनुभएको छ ।

अधिवेशनमा ६ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्यहरु चयन गरिएको छ भने प्रदेश र केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरिएको सचिव घर्तीले जानकारी दिनुभयो । अधिवेशनको संविधान सभा सदस्य रेशमबहादुर बानियाँले उद्घाटन गदैं नेपाली काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई जिम्मेबारी अनुसारको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा नेपाली कांग्रेसका उसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारीले पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको सक्रियताले पार्टीका अभियानहरु बलियो हुने बताउनुभएको थियो । दिपेन्द्र श्रेष्ठ (दिपु) अध्यक्षतामा भएको अधिवेशनको स्वागत मन्तव्य उपाध्यक्ष बिक्रम वोगटी र सचिव विनय श्रेष्ठले सञ्चालन गनुभएको थियो ।