Thursday, June 26, 2025
22 C
Beni
22 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 70

म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको अवसरमा १०औं म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

साधारणसभामा गएको पुस २८ गतेदेखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा लगाइएको  म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलामा प्रवेश टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको छ ।

टिकटबाट भएको आम्दानीतर्फ नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीलाई ५० हजार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिलाई ३५ हजार र नेपाल बाल सङ्गठनलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा विभिन्न विपद्लगायत घटनाबाट क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका सदस्यहरुलाई पनि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

सोही अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको बिबिएसतर्फ उत्कृष्ट अङ्कसहित स्नातकोत्तर तह उत्तीर्ण हुन सफल पर्वतको जलजला गाउँपालिका–२ निवासी राजेश कार्की र म्याग्दीको बेनी नगरपालिका–६ निवासी सुष्मा उपाध्याय पौडेललाई क्रमशः नगद पाँचहजार रुपैयाँसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।

साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले जिल्लाको उद्योग, व्यापार, कला र संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले बेनी नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा व्यावसायिक कर सङ्कलनको कार्य अगाडि बढाइएको बताउनुभयो ।

संविधानसभा सदस्य रेशमबहादुर बानियाँले निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले मेला, महोत्सवमार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनले पछिल्लो समय विभिन्न कारणले उद्योग व्यवसाय धरासायी बनेको बताउँदै सरकारले उद्योगमैत्री नीति र कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष विरबहादुर थापा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विनोद श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले स्वागतसहित अध्यक्षता र महासचिव नारायण घर्ती क्षत्रीले सञ्चालन गर्नुभएको साधारणसभाको उद्घाटनसत्र संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले धन्यवाद मन्तव्यका साथ समापन गर्नुभएको थियो ।

जनशक्ति उत्पादन गर्न बेनीमा व्यावसायिक सिपमूलक तालिम सुरु

व्यवसायिक तथा सिप विकास तालिम केन्द्र कुश्मा पर्वतको आयोजनामा सिप विकास सम्बन्धी तालिम शुक्रवारदेखि म्याग्दीको बेनीमा सुरु भएको छ । केन्द्रको चालु आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार दक्ष तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो ।
ज्ञान तथा सिपको अभावमा रहेका सर्वसाधारण एवं नागरिकहरुलाई लक्षित गरेर सिप सिकाउने र उनीहरुलाई आत्मनिर्भर बनाउनको लागि सदरमुकाम बेनीमा तीन महिने सिपमूलक सम्बन्धी तालिम सञ्चालन गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले जनाएको छ । केन्द्रको आयोजना र बेनी नगरपालिकाको समन्वयमा प्लम्बिङ तथा मन्टेश्वरी सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय गाउँघरमा दक्ष जनशक्ति नहुँदा हरेक काममा समस्या भैरहेको हुँदा सिप सम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले बेनी नगरपालिकामार्फत सिप विकास तालिम केन्द्रलगायत अन्य संघसंस्थाहरुसँग पनि आवश्यक समन्वय गरी विभिन्न किसिमका सिपमूलक तालिम र गोष्ठीहरु सञ्चालन गरिरहेको बताउँदै तालिमलाई भरपुर रुपमा उपयोग गर्न सुझाव दिनुभयो । तालिममा सिकेको सिपलाई श्रमसँग जोड्न आवश्यक रहेको नगर प्रमुख केसीको भनाइ छ ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले तालिम सिपमूलक भएकाले तालिमको अवधिभर पूर्ण रुपमा सक्रिय भई तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो । केन्द्र प्रमुख मोहनचन्द्र रेग्मीले सिप सिकाएर स्वरोजगार बनाउने तथा बेरोजगार र गरिबी घटाउनको लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । मन्टेश्वरी तथा प्लम्बिङ तालिममा कुल ४० जनाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटनसत्र केन्द्र प्रमुख सुवेदीको अध्यक्षता, लेखा अधिकृत नेत्रप्रसाद रेग्मीको स्वागत र बेनी नगरपालिकाका सहायक प्रशासकीय अधिकृत लक्ष्मण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तीन महिनासम्म सञ्चालन हुने तालिम दैनिक ५ घण्टाको दरले चल्नेछ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको अध्यक्षमा केसी

नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको दोस्रो अधिवेशनबाट खड्क केसीको अध्यक्षतामा २५ सदस्यीय सदस्य चयन भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था संघको उपाध्यक्ष मुक्तमान केसी, अक्सिजन खड्का, सचिव बिनोद घर्ती, कोषाध्यक्ष स बहादुर विक रहनुभएको छ ।

अधिवेशनमा ६ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्यहरु चयन गरिएको छ भने प्रदेश र केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरिएको सचिव घर्तीले जानकारी दिनुभयो । अधिवेशनको संविधान सभा सदस्य रेशमबहादुर बानियाँले उद्घाटन गदैं नेपाली काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थालाई जिम्मेबारी अनुसारको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा नेपाली कांग्रेसका उसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारीले पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको सक्रियताले पार्टीका अभियानहरु बलियो हुने बताउनुभएको थियो । दिपेन्द्र श्रेष्ठ (दिपु) अध्यक्षतामा भएको अधिवेशनको स्वागत मन्तव्य उपाध्यक्ष बिक्रम वोगटी र सचिव विनय श्रेष्ठले सञ्चालन गनुभएको थियो ।

कालिगण्डकी कोरिडोर : पर्वत बेनीमा ९ मिटर कायम गरी सडक विस्तार गर्नुपर्ने

कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन मालढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयको असन्तुष्टीलाई सहमतिको वातावरण बनाउन जलजला गाउँपालिकालाई अनुरोध गरिएको छ ।

म्याग्दी र मुस्ताङ जिल्लाको लाइफलाइन मानिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको म्याग्दी प्रवेशद्धारमा जलजला गाउँपालिका–३ पर्वत बेनी बजार क्षेत्रका बासिन्दाको असहमतिका कारण रोकिएको कामलाई तत्काल अगाडी बढाउन जलजला गाउँपालिका अग्रसर हुनुपर्नेमा जोड दिइएको थियो ।

सर्वदलिय, सर्वपक्षीय भेलामा पर्वतबेनीमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम अवरोध भए अगाडी बढाउन नसकिने मनसायमा कालीगण्डकी कोरिडोर रहेको भन्दै उक्त सडकखण्डमा अवरोध भए बैकल्पिक मार्गहरूको समेत खोजी गर्नुपर्नेमा बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो ।

‘बागलुङ हुदै आउनुपर्ने कोरिडोर पर्वतखण्डमा प्रवेश गरेको छ, यसको बैकल्पिक मार्गहरुलाई हामीले पहिचान गरेका छौ, अवरोध निरन्तर भए बैकल्पिक मार्गबाट भएपनि काम गर्नुपर्छ’ मेयर केसीले भन्नुभयो । स्थानीयको जायज माग सम्बोधन गर्न सकिने अवस्थामा सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने मेयर केसीको तर्क थियो ।

भेलामा नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष बिरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव राजाराम बरुवाल लगायत विभिन्न राजनीिितक दलका प्रतिनिधिले समेत राष्ट्रिय गौरवको योजनालाई अवरोध नगर्न र समयमै सम्पन्न गर्न सहमतिको माध्यमबाट समाधान खोज्न अनुरोध गरेका थिए ।

सोही अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि धेरै घरमा क्षती पुग्ने भएपछि ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्नेकार्यमा भइरहेको अवरोध प्रति असन्तुष्ट जनाउनुभएको थियो ।स्थानीय जनप्रतिनिधि सहितको टोलीले यसअगाडी दायाँबायाँ ९ मिटर मापदण्ड कायम गर्ने विषयमा सहमति जनाउनुभएको थियो ।

म्याग्दीको कालिपुल र पर्वतबेनी जोड्ने कालिगण्डकी मोटरेबल पुलदेखि ७ सय ८० मिटर दूरीमा पर्वत बेनी बजारका करिब ३० वटा पक्की घरहरूले ९ मिटरको मापदण्ड कायम गर्न तयार भएपनि वित्तिय कारोबार तथा भविस्यमा क्षती नहुने कागजमै सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो ।

सडकको मापदण्ड ११ मिटर चौढाइ भनेर तर्साउने र अहिले ९ मिटर भन्ने गरिएको भन्दै ९ मिटरमा स्थानीयले सहमति गरेपनि वित्तिय कारोबारमा देखिएको समस्यालाई समाधान गर्न समेत माग गर्नुभयो ।

आयोजनाले १३ किलोमिटर दूरी रहेको मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्रे र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीसँग २०७७ चैतमा ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्रे गरेपनि दुई वर्षमै जिर्ण भएको थियो ।

ट्रयाक खुलेको करिब तीन दशकपछि यो सडक विस्तार भइरहेको छ । सडकखण्ड उपल्लो मुस्ताङ हुदै चिनको तिब्वत जोड्ने कोरला नाकाससम्म पुग्छ ।

पत्रकार हत्या र आमसञ्चारमाध्यममा आक्रमणको विरोधमा बेनीमा प्रदर्शन

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले समाचार सङ्कलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा म्याग्दीको सदरमुकाम बेनीमा विरोध प्रदर्शन गरेको छ ।

शनिबार विहान जिल्ला प्रशासन कार्यालय अगाडी बिरेन्द्रचोकमा बिरोधसभाको आयोजना गरी शुक्रवार भएको राजावादीहरूको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र संचारगृहमा तोडफोड गर्नेलाई कडा कारबाहीको माग गरेको हो ।

जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले भिडियो खिचिरहेको घरमा पूर्वराजा ज्ञानेन्द्र शाहका सर्मथकहरूले थुनेर आगो लगाएको घटनाको निन्दा गर्दै छानबिन र दोषी उपर कारवाहीको माग गरेका छन् ।

स्वर्गीय पत्रकार रजकलाई श्रद्धाञ्जली अर्पण गदैं परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ । सचिव ठाकुरप्रसाद आचार्यले सञ्चालन गरेको शोक तथा विरोधसभामा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का लगायतको उपस्थिती रहेको थियो।

यसैबीच पत्रकार महासंघ म्याग्दी शाखाले ७० औं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गर्ने भनिएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

चिटिक्क बन्दै छ ५० शैयाको बेनी अस्पताल भवन (फोटो-भिडियो)

५० शैयाको बेनी अस्पतालको भवनमा लिफ्ट जडान भइरहेको छ । चार तले भवनको झ्यालढोका राख्ने,विद्युत, पानी जडान, रंगरोगन र टायल राखिएको छ । भवनभित्र र बाहिर मजदुरहरु धमाधम काम गरिरहेका छन् ।भवनको भुईतला देखि चौथो तलासम्म चिटिक्क देखिएको छ ।

खानेपानीको ट्याकी राखिएको छ, शौचालय, बिरामी कक्षहरूका साथै कार्यालय प्रयोजनका लागि आवश्यक संरचनाहरूमा पनि काम तिब्र गतिमा अगाडी बढेको छ । शुक्रबार अस्पताल भवनभित्र प्रवेश गर्दा चालु आवभित्रै नयाँ भवनबाट सेवा दिन सकिने अवस्था देखिएको बेनी अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री बताउनुहुन्छ ।

‘हरेक दिन कामले गति लिएको छ, अब अस्थायी बाँकी रहेको कामलाई समेत पूर्णता दिएर भवनबाटै सेवा सञ्चालन गर्नेछौ’ अध्यक्ष खत्रीले भन्नुभयो । भवनभित्रका सबै संरचनालाई एकैसाथ सञ्चालनका लागि तयारी भइरहेको छ । भवन भित्र र बाहिर धमाधम काम भइरहेको अवस्थामा कोरोनाको समयमा प्रयोग भएको भवनबाट समेत बिरामीलाई हटाएर त्यहाँ टायल सहितका बाँकी काम समेत यसै महिना सम्पन्न गर्ने निर्माण ब्यवसायीले प्रतिबद्धता ब्यक्त गरेको बेनी अस्पतालले जनाएको छ ।

भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री छ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग१८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको जनाइएको छ।

घरेलु मदिरालाई वैधानिकता दिँदै गण्डकी सरकार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा पुर्याउनलाई वैधता दिने तयारीमा गण्डकी प्रदेश सरकार जुटेको छ ।

‘स्थानीयरूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न कानुनी व्यवस्था गरिनेछ,’ हरेक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएपनि हालसम्म कानुन बनेको थिएन ।घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।

घरेलु मदिरालाई वैधानिकता दिनलाई गण्डकी सरकारले तयार पारेको विधेयक बिहीबार प्रदेश सभा सचिवालयमा दर्ता भएकोसूचना अधिकारी प्रेम सुवेदीले बताए । ‘प्रदेश सभामा पेश गर्नलाई सचिवालयमा दर्ता भएको तीन दिन पुग्नुपर्छ’, उनले भने ।

प्रदेश सभामा पेश भएपछि विधयेकमाथि छलफल सुरु हुनेछ ।

कोदो, फापर, उवा, जौँ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पाने, मौवा, अम्वा, लिची, ऐसेलु, चुत्रो, डिम्बर, जडीबुटी मध्य कुनै एक खाद्य पदार्थको मात्रै ब्राण्डिङ हुने गरेर मर्चाको प्रयोगमार्फत मदिरा उत्पादन गर्नुपर्ने प्रस्ताव छ ।

मदिराको स्वादमा मिठास भर्न अन्य कुनै खाद्य पदार्थको न्यून परिणाम मिश्रण गर्ने पाइने व्यवस्था गरिएको हो । तर, अखाद्य पदार्थको मिश्रणमा भने कडाई गरिएको छ । प्रयोग भएको अन्न, फलफूल, जडीवुटी, अल्कोहलको मात्रा तथा गुणस्तरका आधारमा घरेलु मदिरालाई बर्गीकरण गर्ने जनाइएको छ ।

यो विधेयकमा व्यक्ति, फर्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, संकलन, प्रशोधन, प्याकेजिङ, लेबलिङसँगै बिक्री वितरण गर्न नपाउने प्रस्ताव छ । उद्योग तथा वाणिज्य हेर्ने जिल्लास्थित कार्यालयमा दर्ता भई इजाजत लिएर मात्रै घरेलु मदिरा उत्पादनसँगै बिक्री गर्न पाइनेछ । व्यक्तिले मात्रै नभइ सहकारीले पनि घरेलु मदिरा उत्पादन, विक्री सम्बन्धी उद्योग दर्ता गर्न सक्नेछन् ।

उद्योग दर्ताका लागि स्थानीय तहको सिफारिस, उद्योग सञ्चालक १८ वर्ष पूरा भएको, उत्पादन, सङ्कलन वा बिक्री वितरणको लागि प्रयोग गरिने स्थान तथा आवश्यक पर्ने भाँडा, मेसिनरी सम्बन्धी विवरण, घरेलु मदिरा उत्पादनका लागि चाहिने अन्न तथा फलफूल जस्ता कच्चा पदार्थको आपूर्ति गर्ने क्षेत्र उल्लेख गर्नुपर्ने छ । उद्योग रहने स्थानको सँधियारको मञ्जुरीनामासहित मुचुल्काबिना उद्योग दर्तामा रोक लगाइएको छ । घरेलु मदिराको उत्पादन सम्बन्धी कार्ययोजना, उद्योगको परियोजना प्रस्ताव भएपछि मात्रै उद्योग दर्तासँगै इजाजतपत्र पाउने शर्त तेर्साइएको हो । नेपाली बजारमा बिक्री वितरण गरिने घरेलु मदिराको हकमा लेबल लगाउँदा नेपाली भाषामा लगाउनुपर्ने प्रस्ताव छ ।

मदिराको गुणस्तर कायम नगरेमा, अखाद्य र मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने वस्तुको प्रयोगले मदिरा उत्पादन गरेमा, स्थानीयरुपमा उत्पादन नभएको वा पैठारी गरेको कच्चा पदार्थ फेला परेमा, अन्य प्रचलित कानून विपरितका कार्य गरेमा भने इजाजतपत्र वा उद्योग दर्ता खारेज गर्ने शर्त राखिएको छ ।
धर्म, संस्कृति वा परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगको लागि वार्षिक ५० लिटरसम्म घरेलु मदिरा उत्पादन गर्नलाई छुट दिइएको छ ।

उत्पादनमा स्वच्छता र गुणस्तर कायमलाई अनिवार्य गरिएको छ । वास बनाउनको लागि फरमेन्टेशन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानी, मर्चा जस्ता पदार्थ सफा, स्वच्छ र स्वस्थकर पदार्थको प्रयोग गर्नुपर्ने विधयेकमा प्रस्ताव गरिएको छ ।

प्रयोग गरिने भाँडा, औजार स्वच्छ तथा सफा हुनु पर्नेछ । काठ, माटो वा तामाको भाँडाबाहेक अरु प्रयोग गर्न रोक लगाइएको छ । कुनै पनि अखाद्य वस्तु मिसाउन प्रतिबन्ध लगाइएको हो । सरुवा वा संक्रमित रोग लागेका व्यक्ति वा कामदारलाई त्यस्तो रोग निको नभएसम्मको लागि घरेलु मदिराको उत्पादन, प्रशोधन तथा प्याकेजिङको काममा नलगाउने प्रस्तावसहित विधयेक प्रदेशसभामा पेश भएको छ ।

प्रदेश सरकारले विधेयकमा मदिराको प्याकेजिङ गर्दा प्लाष्टिकको बोतल वा पाउचमा राख्न नहुने स्पष्ट व्यवस्था गरेको छ । उद्योग दर्ता गर्ने बेलामा वार्षिक कति परिणम उत्पादन गर्नुपर्ने हो ? खुलाउनुपर्ने विधेयकमा व्यवस्था छ । प्रदेश सरकारले तोकेको अधिकारीले जुनसुकै बखत घरेलु मदिरा र त्यसको चुहान (डिस्टिलेसन)मा जाने पदार्थको अल्कोहलको मात्र जाँच गर्न सक्नेछ । अल्कोहलको मात्र एक प्रतिशतभन्दा बढी फरक वा गुणस्तरमा उल्लेखनीय रुपमा फरक पार्न पाइने छैन ।

वास बनाउनको लागि फरमेन्टेशन गर्दा प्रयोग गरेको कच्चा पदार्थ, पानीको मात्रा सम्बन्धी विवरणको अभिलेख अनिवार्य राख्नुपर्नेछ । उत्पादन, सङ्कलन र बिक्री वितरण गरेको घरेलु मदिराको उत्पादन, सङ्कलन र बिक्रीको दैनिक हिसाब राख्नुपर्ने प्रस्ताव गरिएको छ । उत्पादकले घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, बोटलिङ, प्याकेजिङ तथा बिक्री वितरण गर्दा वातावरण प्रदुषणमा रोक लगाइएको छ ।

प्रचलित कानुन विपरीत मदिराको उत्पादन, बिक्री वितरण गरेमा कानुनी कारबाहीको व्यवस्था गरिएको छ । इजाजत प्राप्त फर्म बाहेक अरुलाई त्यस्तो मदिरा खुद्रा वा थोक कुनै पनि प्रकारले बिक्री वितरण गर्न पाउने छैन । विद्यालय, धार्मिक स्थल, सार्वजनिक स्थलमा मदिराको बिक्री वितरण गर्न पाइने छैन ।

परम्परागत रुपमा मन्दिरमा चढाइँदै आएका देवी देवताका मठ मन्दिरमा भएको प्रयोगलाई भने यो ऐन जारी भएपनि बाधा नपुग्ने उल्लेख छ । प्रदेश सरकारको ऐन विपरित मदिरा बिक्री वितरण गरे १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।

अखाद्य वस्तुको प्रयोग गरेको बिगो जफत गरी ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवानासहित संघीय कानून बमोजिमको सजाय हुने प्रस्ताव छ ।

समाजवादी मोर्चाको जुलुस भृकुटीमण्डपतर्फअघि बढ्दै (तस्बिरहरू)

समाजवादी मोर्चाको जुलुस सुरु भएको छ। विभिन्न क्षेत्रबाट निस्केको जुलुस भृकुटीमण्डपतर्फ अगाडि बढिरहेको छ।

भृकुटीमण्डपमा हुने सभालाई समाजवादी मोर्चा आबद्ध चार दलका शीर्ष नेताले मात्रै सम्बोधन गर्दै छन्।

सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मात्र सम्बोधन गर्ने भएका हुन् ।

तीनकुनेमा राजावादीको नारा: नारायणहिटी खाली गर

काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

राजवादीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट निस्किएका जुलुस  तीनकुने आइपुगेको छ।

राजावादीहरूले नारायणहिटी खाली गर, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाइरहेका छन्।

केही समय अघि राजावादीहरूले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।

उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

पार्कमा रावणको मुर्ती बाहेकको काम धमाधम

म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु. एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९/८० र २०८०/८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

“पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्”, उहाँले भन्नुभयो, “जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।”

ठेकेदारले रु १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताउनुभयो । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नाभि गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।

घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन् । समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रावण पार्क निर्माणस्थल पछैबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

विसं २०७४ देखि नै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुनसकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ । रासस