Sunday, June 8, 2025
22.1 C
Beni
22.1 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 69

रैथाने भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता

नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ । भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय किन्ले क्लब (आइकेसी) ले बुधबार भोटे कुकुरलाई छुट्टै जातको रुपमा मान्यता दिएको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए ।

मान्यता पाएसँगै अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू वल्र्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेशनललगायतका संस्थाहरुमा पनि आधिकारिक मान्यता दिलाउनका लागि प्रक्रिया सुरु भएको विजयले बताए । यसले भोटे कुकुरप्रतिको चासो र समर्थनमा उल्लेखनीय वृद्धिको उनको भनाइ छ ।

भोटे कुकुरको संरक्षण तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने उदेश्यका साथ माघ १९ गते पोखरा ६ लेकसाइड बाराहीघाटमा भोटे कुकुर प्रदर्शन मेला सम्पन्न गरिएको थियो । प्रदर्शनीले भोटे कुकुरप्रति मानिसहरूबीच चासो र माया अभूतपूर्व रूपमा बढेको पाइएको अध्यक्ष पौडेलले सुनाए । उक्त मेलाले संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको र आगामी दोस्रो संस्करण ढोरपाटनमा गर्ने योजना रहेको उनको भनाइ छ ।

‘अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि दर्ज भएका छौं । भोटे कुकुर संरक्षण र प्रबद्र्धनका लागि पोखरामा भएको एक दिने प्रदर्शनीले ठूलो भूमिका खेल्यो अब दोस्रो संस्करण हामी ढोरपाटनमा गर्न चाहन्छाँै । हामीले ढोरपाटन नगरपालिकासंग सहकार्य गरेर जाने योजनामा छौं ।

आशा छ, उहाँहरुले भोटे कुकुरको प्रबद्र्धनमा सहयोग गर्नुहुनेछ,’ उनले भने, ‘नगरपालिकाले अहिलेसम्म कुनै विशेष चासो व्यक्त गरेको छैन ।

हामी निरन्तर पहलमा छौं । यो नेपालका लागि पनि गौरवको विषय हो । आइकेसीबाट प्राप्त मान्यताले भोटे कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने मार्ग खोलिदिएको छ, जसले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरूबाट मान्यता प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाएको छ ।’ भोटे कुकुरलाई विश्वव्यापी रूपमा स्थापित गर्न क्लबले निरन्तर पहल गरिरहेको छ । dhorpatannews

आज फागु पूर्णिमा मनाइँदै

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार मनाइँदैछ।आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ। बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्त्व छ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। तराईमा भोलि होली मनाइँदै छ। होली पर्वका अवसरमा थकालीहरू रङ्गीचङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन्। सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाइ रमाइलो गरिन्छ।

मापसे चालकलाई १० हजार जरिवाना!

मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेलाई अहिलेभन्दा थप २० गुणा बढी जरिवाना हुनेगरी कानुनको मस्यौदा तयार गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो।

मस्यौदामा अर्थ मन्त्रालयले सहमति जनाइसकेको छ। अहिले मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पुगेको र कानुनले सहमति दिनेबित्तिकै मन्त्रिपरिषद्मा लैजाने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले बताए। मस्यौदामा सवारी नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई गरिने जरिवाना विद्यमान ऐनमा तोकिएभन्दा धेरै बढी हुने व्यवस्था गर्न प्रस्ताव गरिएको मन्त्रालयको यातायात व्यवस्था शाखाका प्रमुखसमेत रहेका धामीले जानकारी दिए।

यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा मापसे गरी सवारीसाधन चलाएमा पहिलो पटक पाँच सय, दोस्रो पटक एक हजार र तेस्रो पटक एक हजार पाँच सजाय जरिवाना हुने व्यवस्था छ। तर नयाँ बनाउन लागिएको कानुनको मस्यौदामा मापसे वा नसालु पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई सिधै १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

यसैगरी निषेधित क्षेत्रमा हर्न बजाएमा पाँच सय रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ। मस्यौदामा सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाईसमेत जरिवानाको व्यवस्था गरिएको छ। त्यस्ता पैदल यात्रुलाई पाँच सय रुपैयाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। तोकिएका कागजातबिना सवारीसाधन चलाएमा एक हजार, मोबाइल फोनमा कुराकानी गर्दै सवारीसाधन चलाएमा एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।

सवारीसाधनबाट सडकमा फोहोर फाल्ने यात्रु/चालक/सहचालकलाई एक हजार रूपैयाँ, चोरीको सवारीसाधन चलाएमा पचास हजार रुपैयाँ, सवारीचालक, परिचालक, सहचालक, यात्रु, पैदलयात्री तथा अन्य व्यक्तिलाई अशिष्ट अपमानजनक व्यवहार गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवानाको प्रस्ताव मस्यौदामा राखिएको छ। यस्तो जरिवाना तोक्ने अधिकार यातायात निरीक्षक तथा प्रहरीलाई दिइएको छ।

धूमपान सेवन गर्दै सवारीसाधन चलाएमा एक हजार रूपैयाँ जरिवाना तोक्ने अधिकार प्रहरीलाई दिइएको छ। हेल्मेट र सिट बेल्टको प्रयोग नगरेमा एक हजार, अनधिकृत व्यक्तिले ट्राफिक संकेत राख्ने, झिक्ने, फेरबदल वा नष्ट गरेमा त्यस्तालाई पाँच हजारदेखि बीस हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ।

मस्यौदामा ढोका खुला राखी सवारीसाधन चलाएमा तथा अवस्था ठिक नभएको सवारीसाधन चलाएमा त्यस्ता चालकलाई पाँच सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्म जरिवाना तोक्न प्रस्ताव गरिएको छ। त्यस्तै मस्यौदामा तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएमा पाँच हजार रूपैयाँ तथा अरूलाई हानि पुग्ने गरी सवारी चलाएमा पच्चीस हजार रूपैयाँ जरिवाना गर्न प्रस्ताव गरिएको छ।

जथाभावी ओभरटेक गरेमा दुई हजार रूपैयाँ, सार्वजनिक सवारीसाधनमा भाडादरको सूची नराखेमा एक हजार रूपैयाँ, लेन अनुशासन पालना नगरी सवारी चलाएमा वा संकेत नदिई लेन परिवर्तन गरेमा एक हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ। फुटपाथमा सवारी चलाउनेलाई पनि जरिवानाको व्यवस्था गरिएको छ। त्यस्ता सवारीचालकलाई एक हजार रूपैयाँसम्म जरिवाना हुने छ। nagariknews.com

सार्वजनिक सुनुवाइमा नागरिकका गुनासै गुनासा

अमित विश्वकर्मा
म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर वुढाथोकी, स्यानु पाईजा, टिका बहादुर पाईजा, प्रताप मल्ल, केश बहादुर वस्याल, गीता रोका, अर्जुन पराजुली लगायतले सडक लगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले सजिलो ठाउँमा काम गरेको, वास्तविक किसानले अनुदान नपाएको, वडा कार्यालयमा वडा सचिव तथा प्राविधिक फेरबदल भइरहदा वा रिक्त रहदा कार्य सम्पादनमा समस्या उत्पन्न भएको, पात्लेखेतलाई आलु पकेट क्षेत्र घोषणा गरेपनि सो अनुसारको कार्यक्रम तथा सहयोग नपाएको, जग्गाको तिरो लगायतको राजस्व वढि तिर्नु परेको, स्वास्थ्य चौकीमा औसधि अभाव भएको, जग्गा नापीको लागि अमिनलाई वढि रकम तिर्नुपरेको गुनासो राखेका थिए ।

त्यस्तै सहभागीले निर्वाचनको समयमा पाँच वर्षमा पात्लेखेत सम्मका सडक पिच गर्नेभनि गरेको घोषणालाई कार्यान्वय गराउन जनप्रतिनिधिहरुलाई आग्रह समेत गरेको थिए । उनिहरुले सरकारी विद्यालयको पढाई खस्किदै गएको, योजनाहरुमा नियमित अनुगमन नभएको, एउटै रकमको योजनामा कतै कतै थोरै र कतै धेरै काम गर्न लगाईएकोमा प्रति जिज्ञासा राखेको थिए । कर्मचारीहरुलाई नागरिक प्रति उत्तरदायी र जवाफदेही भएर सेवा प्रवाह गर्न समेत उनिहरुको आग्रह थियो ।

सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पात्लेखेत वासीको सहजताका लागि नेप्टेचौर देखि पात्लेखेत जाने तल्लोबाटो निर्माण कार्य सुरु गरेको बताउनुभयो । उहाँले बेनी पात्लेखेत सडक अन्तर्गत बेनपा ९ नेप्टेचौरको एकदुई ठाउँमा जमिन कमजोर भएका कारण काम नगरिएको तर अप्ठ्यारो ठाउँ भनेर नछोडिएको बताउनुभयो ।

प्रदेश सरकारबाट बजेट अभावका कारण अहिले निर्माण व्यवसायीले काम रोकेको र वजेट व्यवस्थापन पछि अर्को वर्ष सडक पिच हुने उहाँले बताउनुभयो । उहाँले नगरपालिकामै अमिनको व्यवस्था रहेकाले जग्गा नाँपजाँचका लागि वाहिर अमिन खोज्न नजान आग्रह गर्नुभयो । प्रदेश लोक सेवाले समयमै आवश्यकता अनुसारको कर्मचारी नपठाउँदा समस्या भएको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।

उहाँले पात्लेखेतलाई आलु पकेट क्षेत्रको रुपमा लिएकाले थप कार्यक्रम तथा योजनाहरु संचालन गरिने बताउनुभयो । उहाँले शिक्षामा सुधार गर्नका लागि विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति संग अन्तरक्रिया कार्यक्रम निरन्तर संचालन गरिएको बताउनुभयो ।

नगर प्रमुख केसीले हामी गर्न सक्छौँ कार्यक्रम संचालन सम्वन्धी कार्यविधि निर्माण भई कार्यापालिकाबाट स्वीकृति गरिएको बताउदै यस अन्तर्गत विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै सिप तथा क्षमताको विकास गराएको उल्लेख गर्नुभयो । घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको नियमति स्वास्थ्य परिक्षण, पाठेघरको स्क्रिनिङ्ग शिविर लगायतलाई प्राथमिकता दिईएको नगर प्रमुख केसीको भनाई थियो ।

कार्यक्रममा उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाले नगरवासीलाई आयआर्जन तथा उत्पादन संग जोडिने खालका तालिम तथा अन्य कार्यक्रमहरु संचालन गरिरहेकाले सहभागी भई लाभ लिन आग्रह गर्नुभयो ।

उपमेयर संग आमा कार्यक्रम अन्तर्गत पात्लेखेतका महिलाहरुलाई संचालन गरिएको पन्चेबाजा बजाउने तालिमले अहिले यहाँका महिलाहरु व्यवसायीक रुपमा बाजा बजाउन थालेको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले योजना अनुगमनलाई प्रभावकारी बनाईएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दोस्रो चौमासिक सम्मको प्रगति प्रतिवेदन पस्तुत गर्दै कार्य सम्पादन र सेवा प्रवाहलाई चुस्त बनाईएको बताउनुभयो । हाल सम्म चालुतर्फ कुल बजेटको ५४ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । दोस्रो चौमासिक सम्म २ करोड १० लाख १७ हजार राजस्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठ, मालपोत कार्यालयका प्रमुख साधना कुमारी श्रेष्ठ, वडा अध्यक्ष मस्विर रोका, खानेपानी, जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयका इन्जिनियर शिव संकर शाह, कृषि शाखा प्रमुख आकृति ढुंगाना, स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले सहभागीको जिज्ञासामा बोल्नुभएको थियो ।

कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, वडा नम्वर १० का वडा अध्यक्ष रोकाको स्वागत र संचारकर्मी अमित विश्वकर्मा र शिव वोहोराको सहजीकरणमा सम्पन्न भएको थियो ।

केबि एकेडेमीका विद्यार्थीले आयोजना गरे प्रथम फुड मेला

म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङ्कमा संचालनमा रहेको केबि एकेडेमीका विद्यार्थीले विभिन्न परिकारका सहित प्रथम केबि एकेडेमी फुट मेला संचालन गरेका छन् । विद्यालय परिसरमा राखिएका विभिन्न परिकारका खानाका स्वाद लिन अभिभावकको घुइँचो लागेको हो ।

एकै ठाउँमा विभिन्न थरीका परिकारका स्वाद लिन पाउँदा छुट्टै खालको रमाइलो महसुस गरेको अनुभव अभिभावकको थियो। परिकारको स्वाद लिने, बनाउने र बिक्री गर्ने मात्रै नभई हेर्न जानेको समेत थियो ।

विद्यार्थीलाई खानाका परिकार बनाउने, खाना बनाउँदा ध्यान दिनुपर्ने टिप्स समेत दिइएको थियो । ७ वटा स्टल रहेको महोत्सवमा विभिन्न परिकार फरक फरक स्टलमा राखिएको थियो । विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरुको सहभागिता र क्रियाशिलतामा प्रयोगात्मक तथा सिर्जनात्मक खाना महोत्सव सम्पन्न गरिएको हो ।

उहाँका अनुसार परिकारका बारेमा समेत स्टलमा आउनेलाई देखाइएको थियो भने अतिरिक्त क्रियाकलापले समेत विद्यार्थीको क्षमता बढाउन उक्त मेला आयोजना गरिएको हो ।

उक्त परिकार बनाउन लाग्ने सबै सामान विद्यार्थीहरुले नै जुटाएका हुन् । पठनपाठन बाहेक घरायसी काममा अभिभावकलाई सघाउने विभिन्न गतिविधिलाई विद्यालयले अतिरिक्ति क्रियाकलाप अन्तरगत समेट्ने गरेको छ । खाना पकाउने, अभिभावक र अवलोकन गर्न गएकालाई दिने देखी भाडा माझ्ने काम समेत विद्यार्थीले गरेका थिए ।

मन्दिरको दानपेटिका फुटाएर रकम चोरी

म्याग्दीको बेनी नगरपालिका-७,बिरेन्द्रचोकमा १ सय बर्ष पूरानो चौतारीमा रहेको लक्ष्मीनारायण मन्दिरमाको दानपेटिकाबाट रकम चोरी भएको छ।

जिल्लाको प्रशासनीक निकाय अगाडी रहेको  मन्दिरबाट मंगलबार राती दानपेटिका फुटाएर १२-१५ हजार नगद सहित केही थान पित्तल र पुजाको साम्रागी चोरी  गरेको बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

‘भक्तजनले मन्दिरका लागि दान गरेको रकम दानपेटिका नै फुटाएर चोरी गरिएको छ, सिसीटिभीबाट खोजीकार्य भइरहेको छ, अन्य मन्दिरमा पनि यस्तै हुनसक्छ सतर्कता अपनाउनुपर्ने देखियो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

चोरी घटनामा संलग्नको हुलिया पहिचान गरी प्रहरीले खोजीकार्य गरिरहेको छ । चोरीमा संलग्नको पहिचान एवं पक्राउ गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनीबजार क्षेत्रमा बालक र किशोरहरुको समुह चोरीका विभिन्न घटनामा संलग्नता हुने गरिएको छ।

 

मालिका गाउँपालिकाको नवौं स्थापना दिवस (फोटो फिचर)

म्याग्दीको मालिका गाउँपालिकाले नवौं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले वडा नम्बर ६ दरबाङमा विशेष समारोहको आयोजना गरी विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो ।

पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने दरबाङ बजारमा झाँकी सहितको प्रभातफेरी ¥याली र मूल समारोह आयोजना गरिएको थियो । समारोहको १०६ बर्षिया ज्येष्ठ नागरिक धनमती गुरुङले उद्घाटन गर्नुभएको थियो ।

स्थापना दिवसको अवसरमा गाउँपालिकाले राजनीतिक तथा सामाजिक , शिक्षा, खेलकुद, कृषि, कला संस्कृति, लघुउद्यमलगायतका क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेको थियो ।

सो अवसरमा राजनीतिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै तीन जनालाई मरोन्नपरान्त सम्मान प्रदान गरिएको छ ।तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन, सामाजिक क्षेत्रमा योगदान दिनुभएका शेरबहादुर शेरचन र शिक्षा क्षेत्रमा योगदान दिनुभएका बिर बहादुर कार्कीको सम्मानमा उहाँको परिवारलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

               

कार्यक्रममा राष्ट्रिय खेलकुदमा जिल्लालाई चिनाउने कमला पुन र जमान सिं परियार, ज्येष्ठ नागरिक धनमती गुरुङ, बाँस निगालो तथा चोयाका सामाग्री निर्माण गर्ने भरीबहादुर पटेल, व्यवसायिक कृषि क्षेत्रमा योगदान पु¥याउने मालिका रेन्बो ट्राउट फर्मका सञ्चालक पूर्ण बहादुर रोका, बिसम कृषि फर्मका सञ्चालक भुपेन्द्र शर्मा सहित हरेक वडाबाट एक ÷एक जना लघुउद्यमी र कला संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरि बि.सं.२०७८ सालदेखि हालसम्म  कक्षा ८ र १० को परिक्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयलाई सम्मान गरिएको थियो भने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडीहरुलाई व्यक्तिगत रुपमा रु १० हजार र छात्रा कबड्डीमा समुहमा स्वर्ण दिलाउने छात्राहरुको समूहलाइ रु २० हजार सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले गाउँपालिकाले स्थापना दिवसको अवसरमा गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्ने संस्कारको सुरुवात गरेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गर्बुजाको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीदेवी घर्तिको स्वागत रहेको कार्यक्रममा नेकपा एमाले गाउँपालका कमिटीका उपाध्यक्ष सन्तनाथ जैसी, नेपाली काँग्रेस गाउँपालिका कमिटीका अध्यक्ष खिमबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छबि विश्वकर्मा, वडा नम्बर ६ का अध्यक्ष पथबहादुर रोका, गाउँपालिका निवर्तमान उपाध्यक्ष खरमायाँ बिटालु, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो भने सञ्चारकर्मी अमित विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

थकाली पोशाकमा चिटिक्क…

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायको प्रमुख चाड तोरन्ल पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमाको अवसरमा बुधबार अयाोजित कार्यक्रममा थकाली पोशाकमा सजिएका किशोरी तथा महिला । अल्पसंख्यक जातिमा सूचीकृत गरेको थकाली समुदायले परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।

नेपालमा १९ र विभिन्न देशमा ३ गरी २२ क्षेत्र रहेको थकाली समुदायका यूवाहरुले समेत पूरानो संस्कार र संस्कृति लोप हुन नदिने गरी विभिन्न तालिम तथा अनुसन्धानमुलक गतिविधि गर्ने गरेका छन् । तस्वीर हरिकृष्ण गौतम

म्याग्दीमा होलीमा उश्रृङखल गतिविधि गरेमा कारबाही हुने

म्याग्दीमा फागु पूर्णिमाको दिन जबरजस्ती रङ, फोहोर पानी, अण्डा र लोला हानेमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गर्ने भएको छ। होली पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।

होलीमा स्वीकृतिविना कुनैपनि कार्य भएमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

‘जबरजस्ती रङ दल्ने र लोला हान्ने गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ, पर्वलाई शान्त र मर्यादित बनाउन अनुरोध गर्दछौ’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो ।

प्रहरीले होलीको नियम तथा अपिल सार्वजनिक गरेको अवस्थामा अटेर गरेमा तत्काल नियन्त्रणमा लिन निर्देशन समेत दिएको छ ।

होलीको दिनमा सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने, भिडभाड हुने स्थानमा साधा पोसाकमा समेत प्रहरीलाई परिचालन गर्ने लगायतका योजना रहेको प्रनाउ श्रेष्ठको भनाई छ ।

बेनी नगरपालिका सहित पालिकामा रहेको इलाका प्रहरी कार्यालय,प्रहरी चौकी र पोस्टहरूमा कार्यरत प्रहरीलाई समेत होली लक्षित योजनाका बारेमा जानकारी गराइएको छ। होलीमा म्याग्दी जेसीजको विषेश कार्यक्रम छ भने नेपाल भाषा मंकाखलले हरेक बर्ष बजार परिक्रममा सहित कार्यक्रम गर्ने गरेको छ।

उक्त दिन ट्राफिक प्रहरीले समेत मापसे गरी सवारीसाधन चलाउने सम्भावनालाई मध्यनजर गरी चेकजाँचलाई समेत कडाई गर्ने जनाएको छ। मंगलबार प्रहरीले सूचना जारी गरी मर्यादित र शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह समेत गरेको छ। ‘सामाजिक व्यवहार ९सुधार० ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको छ ।

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु

म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमा) मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन सुरु गरेको हो।

तोरन्ल पर्वको अवसर आयोजित कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पित्रृको उद्धार र समुदायको एकतामा तोरन्ल पर्वको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । म्याग्दीमा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि संस्कार र संस्कृति लोप हुन नदिन निरन्तर सक्रिय रहेको बताउनुभयो ।

पर्वको उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सविन श्रेष्ठ लगायत विभिन्न क्षेत्रबाट उपस्थिती रहेको थियो ।पर्वको अवसरमा बेनीमा थकाली समुदायले तारो हान्ने खेल, भेषभूषा प्रदर्शनी र नाचगानलगायतका कार्यक्रमहरु आयोजना गरिएको छ ।

थकाली सेवा समाज नेपालका केन्द्रिय सदस्य शंकर शेरचन, थकाली यूवा समाज बेनी क्षेत्रका अध्यक्ष विजय भट्टचन लगायत थकाली अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमको अध्यक्ष थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचन, स्वागत थकाली यूवा समाज बेनी क्षेत्रका निर्वतमान अध्यक्ष दिलिप गौचन र सञ्चालन समितिका सचिव योगेन्द्र शेरचनले गर्नुभएको थियो । फागु पूर्णिमा पर्वलाई थकाली भाषामा तोरन्ल पर्व भनेर चिन्ने गरिन्छ।

हिन्दू धर्मावलम्बीहरुले जसरी आफ्ना दिवङ्गत पितृको उद्दारका लागि श्राद्ध गर्ने थकाली सेवा समाज बेनी क्षेत्रका अध्यक्ष जगतनारायण गौचनले बताउनुभयो । आफ्नो पितृहरुको सम्झना गर्दै आफ्ना छोरी ज्वाँई, भान्जाभान्जी, आफन्त तथा नातागोतालाई बोलाएर मीठामीठा परिकारहरु बनाएर खुवाउने प्रचलन रहेको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै १ सय १५ घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ।

यसैगरी नेपालमा १९ क्षेत्र तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाअनुसार थकालीको जनसंख्या १३ हजार छ। थकालीलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ।