Monday, June 9, 2025
19.8 C
Beni
19.8 C
Beni
Monday, June 9, 2025
Home Blog Page 70

हराएका बालक मार्फामा भेटिए

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४कागबेनीबाट मंगलबार दिउँसो १ बजे हराएका म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ टिकावाङका १३ बर्षिय सन्तोष बुढामगरबुधबार विहान मुस्ताङकै मार्फामा भेटिएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा विहान पौने ९ बजे भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक बिशाल अधिकारीले जानकारी दिनुभयो ।

छैरोबाट मार्फा तर्फ आउँदै गरेको अवस्थामा बालकलाई भेटाएर परिवारको जिम्मा लगाइएको छ । कागबेनीको जनशान्ति माविमा कक्षा ६ मा अध्ययनरत बुढामगर घरतर्फ जान लागेको बताएका थिए । उनका बुबा रामबहादुर बुढा मगरले छोरा हराएको भन्दै बेनीअनलाइनलाई जानकारी दिएपछि खोजीकार्य सुरु भएको थियो ।

टोड्केदेखि मुस्ताङको लेते जोड्ने पदमार्ग निर्माणको योजना

पछिल्लो समय युवाहरुमा पदयात्राको लहर चलेको छ । क्याम्पस पढ्ने विद्यार्थी होस् वा कार्यालयमा काम गर्ने कर्मचारी, बिदा पाउँदा ठूला सहर घुम्नेभन्दा ग्रामीण बस्ती, हिमालका वेसक्याम्प र पदयात्रामा रमाउने क्रम बढेको छ । साहसिक यात्रा गर्ने चलन बनेको छ ।

त्यस्तै क्रममा पछिल्लो समय धेरैको रोजाइमा पर्न थालेको छ, म्याग्दीको टोड्के । रघुगंगा गाउँपालिका ५, मंगला गाउँपालिका १ र बेनी नगरपालिकाको समेत केही खण्ड जोडिएको यो स्थान भौगोलिक र प्राकृतिक रुपमा आर्कषक छ ।

उत्तरतर्फ धौलागिरि हिमालले ढाकेको, समुन्द्री सतहबाट २ हजार ५ सय मिटरको उचाइमा खर्क र देउराली परेको स्थान । माथिल्लो भागमा मालिका मन्दिर र घनाजंगल । जंगलमा राताम्मे लालीगुराँस फुलेको देख्दा जो–कोही पनि रमाउने गर्छन् ।
पूर्वतर्फ स्वर्गद्वारीको मन्दिर छ ।

धार्मिक अस्थाले पनि कतिपयलाई यहाँ तानेको छ । यहाँ पुगेर शान्त वातावरणमा ध्यान गर्न पनि सकिन्छ । एक घण्टाको पैदल दुरीमा झिं र कुहुँ जस्ता आर्कषक र बाक्ला बस्तीहरु घुम्न पाइने भएपछि टोड्के रोजाइमा पर्न थालेको छ । बेनीबाट बस चढेर पनि पुग्न सकिने भएपछि समूहमा जानेहरुको पनि यो स्थान रोजाइमा पर्न थालेको स्थानीय दिलकुमारी पुर्जाले बताइन् ।

यो स्थानलाई भेडीखर्कको रुपमा मात्र नराखी पर्यटक आकर्षण गर्ने स्थल बनाउने तयारी छ । त्यसका लागि चाहिने पूर्वाधार निर्माणले यतिबेला गति लिएको छ । घुम्न आउनेलाई बस्नका लािग स्थानीय भीम शेरचनसहितका व्यवसायीले रिसोर्ट खुलाएका छन् । यहाँ अर्गानिक खाना पनि खुवाइन्छ । स्थानीय रुपमा पाइने तरकारी, रोटी, ढिडो र खाना तथा लोकल कुखुरा खुवाइने भएपछि पाहुना खुसी हुन्छन् ।

उत्तरमा धौलागिरि हिमाल देखिने, पैदल यात्राबाट पनि पुग्न सकिने, सवारी चढेर पनि जान पाइने भएपछि टोड्केलाई पर्यटकीय गन्तव्य बनाउन सकिने भएपछि स्थनीयको चासो बढ्यो । २०७२ सालमा स्थानीय बाबुराम आचार्य लगायतको अगुवाईमा टोड्के क्षेत्र विकास कोष बनाएर मेला आयोजना भयो । त्यसपछि टोड्के भन्ने स्थान पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने विश्वास पलायो । स्थानीयले पनि चासो दिए । जिल्लाबाट आएका नेता, व्यवसायीले टोड्केको विकासमा काम गर्ने बचन दिए । संचार माध्यमहरुले यो क्षेत्रको संभावनाबारे खोजी गरे ।

त्यसपछि यहाँका स्थानीयले वृहत विकासका लागि गुरुयोजना समेत बनाएका छन् । गुरुयोजना अनुसार खेलकुद मैदान निर्माण गर्ने, पर्यटक आकर्षित गर्न पदमार्ग निर्माण, टोड्केबाट कालीबराह, मालिका मन्दिर, निलीबराह, धौलागिरि आइसफलहुँदै मुस्ताङको लेते जाने पदमार्ग निर्माणको पनि योजना छ । उक्त योजना सफल हुँदा टोड्के पुग्ने पर्यटकलाई तीन चार दिनसम्म यात्रा गराउन सकिनेछ ।

‘यो पदमार्ग निर्माण गरेर संचालन गरियो भने विदेशी र स्वदेशी पर्यटकले तीनचार दिनसम्म यात्रा गर्न सक्छन्,’ पर्यटन व्यवसायी भीम शेरचनले भने, ‘त्यसका लागि राज्यको ध्यानाकर्षण गराउन खोजेका छौं ।’ यो पदमार्ग निर्माण गरेर संचालन भएमा धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमाल हेरेर यात्रा गर्न पाइने उनले बताए ।

टोड्केलाई पर्यटकीय क्षेत्र बनाउन अहिले यहाँ हाइ अल्टिच्युट खेल मैदान निर्माण भइरहको छ । १ करोड ९० लाख खर्च लाग्ने लक्ष्य भएपनि अहिले सहयोग जुटाएर ५३ लाख रुपैयाँमा काम सुरु भएको हो । यो मैदान बनिसक्दा हाइ अल्टिच्युटमा खेल्ने अभ्यास बढ्दा त्यहीं अनुभवले अन्तराष्ट्रिय स्तरको खेलमा भाग लिन सकिने, हिमाली पदमार्गमा यात्रा गर्न सकिने र हिमाल चढ्ने अभ्यास बन्ने शेरचनले बताए ।

टोड्केलाई पर्यटकीय क्षेत्र बनाउने काममा स्थानीय तह नै पहिलो प्रयास गरेको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘हाल हामीले स्वर्गद्वारीको घेराबार लगाएका छौं, खेल मैदान निर्माणाधिन छ,’ उनले भने, ‘खानेपानीको व्यवस्थापन, सार्वजनिक शौचालय र पदमार्ग पनि बनाइसकेका छौं ।’ मुस्ताङ जोड्ने पदयात्राले यो आर्कषक गन्तव्य बन्ने उनले बताए । त्यसका लागि १३ करोड बढी बजेट चाहिएकोले खोजी भैरहेको उनले बताए ।

वडा नं. ५ का अध्यक्ष मनबहादुर शेरपुन्जाले वडाको कार्यक्रम पनि टोड्के लक्षित भएको बताए । ‘सडकलाई स्तरीय बनाएर टोड्केसम्म आउने पाहुनाले सहज यात्रा गर्न सकुन् भन्ने लक्ष्य छ,’ उनले भने, ‘त्यसका लागि सडकमा लगानी गरेका छौं, त्यो पर्याप्त भएको छैन ।’ सबैको चासो बढाउन सकेमा प्रदेश र संघिय सरकारको लगानी भित्राउन सकिने उनले बताए।

टोड्के पुग्न मंगला १ को कुहुँबाट सडकमार्ग जोडिएको छ । बाबियाचौरदेखि कुँहु पुगेर जाँदा तुलनात्मक लामो दूरी भएपनि अहिले सोही मार्ग चलनचल्तीमा छ । मंगलाको कुँहुँ र रघुगंगाको झिं गाउँ आँफैमा पर्यटकीय गाउँ हुन् । मगरबस्ती र बाक्ला घर, होमस्टे र दृश्याबलोकनका कारण ती क्षेत्रमा सदरमुकाम र अन्य सहरी क्षेत्रबाट घुम्न आउनेहरु बढेका छन् । आएका पाहुनालाई मगर संस्कृति देखाइन्छ ।

त्यतिमात्र हैन यहाँको प्रस्तावित पदमार्ग संचालन गर्न सकेमा टोड्केका मगर संस्कृति, ठाडाखानीमा छन्त्याल संस्कृति र लेतेमा थकाली संस्कृतिका क्रियाकलाप संचालन गरेर पर्यटकलाई थप मनोरन्जन दिन सकिने शेरचन बताउँछन् । ती अभियानलाई स्थानीय तहमा जोड्ने प्रयास भएको शेरपुन्जा बताउँछन् ।

शेरचनसहितका ३६ जना व्यवसायीले यहाँ साँढे ३ करोड खर्चेर सुविधा सम्पन्न रिसोर्ट बनाएका छन् । ‘टोड्के हिल रिसोर्ट’ले पर्यटन प्रवद्र्धनमा थप योगदान पुगेको छ । उनीहरुकै अगुवाइमा सिमी, बोडी, जौ, फापर, आलु र मुला, टिमुर र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरणको तयारी छ । राजधानीका बजारमा यहाँको उत्पादनले स्थान पाउन थालेको छ । अर्गानिक फसलले बजार पाएसँगै टोड्के घुम्नका लागि पनि ती स्थानका युवाले चासो राख्न थालेको शेरचन बताउँछन् ।

धौलागिरी क्याम्पस स्ववियु अध्यक्षमा तीन जनाको उम्मेदवारी

बागलुङको धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।
क्याम्पसमा दर्ता भएका ९ संगठनमध्ये नेविसंघको एकल, अखिल संयुक्त प्यानल तथा स्वतनत्रबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसपटक नेविसंघ एक्लै चुनावमा गएको छ भने अनेरास्ववियु, अखिल क्रान्तीकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघको प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् । नेविसंघबाट सृष्टी आचार्यले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ भने अखिल संयुक्त प्यानलबाट आश्मिन शेखले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै स्वतन्त्र विद्यार्थी समूहबाट नेविसंघका पूर्व नेता दिपक सुवेदीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । सुवेदी यस अघि नेविसंघबाट स्ववियुको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

जलविद्युत् आयोजनालाई रघुगंगावासीको ३१ बुँदे माग

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् ।  जलविद्युत् आयोजनाहरूले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले स्थानीय राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको व्यापक छलफलबाट जलविद्युत् आयोजनालाई गाउँपालिकाको सामूहिक मागका रूपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो ।

आयोजनाहरूले सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि आइतबार गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय भेला गरेर आयोजनाहरूले पालिकामा गर्नैपर्ने न्यूनतम माग तयार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाका प्रमुखलाई आगामी चैत १ गते गाउँपालिकामा हुने जलविद्युतसम्बन्धी बृहत् छलफलमा पालिकाले निर्धारण गरेका मागलाई लिखित सहमति गर्ने तयारीसहित आउन पत्राचार गरिएको छ ।

यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाटको ठुलोखोला ‘ए’, ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले, २१.३ मेगावाट क्षमताको ठुलोखोला र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रस्तावित जलविद्युत् आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको भौतिक, जैविक, रासायनिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक वातावरणमा पर्ने असर तथा ती असरलाई न्यूनीकरण गर्न निश्चित बजेट नै विनियोजन हुने भए पनि आयोजनाहरुले आफूखुसी उक्त रकम खर्चन थालेपछि जनप्रतिनिधि र स्थानीयले विरोध जनाएका हुन् ।

जलविद्युत् आयोजनाले गत वर्ष गाउँपालिकासँग आफ्नो आयोजना क्षेत्रको पहुँचमार्गसम्मको सडकलाई ग्राभेल गरी स्तरोन्नति गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नगरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सरोकारवालाको भेलाबाट तयार गरेको मागमा आयोजनाहरूले खनेको पहुँचमार्गको सडकलाई कालोपत्र गर्नुपर्ने, आयोजनाको कुल लागत अनुमानको बजेट सार्वजनिक गर्नुपर्ने र सामाजिक उत्तरदायित्वबापतको रकमलाई वडा तथा पालिकाको निर्णयअनुसार खर्च गर्नुपर्ने माग गरिएको छ ।

पालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूले बाँध र विद्युतगृह रहने क्षेत्रमा पाँच सय मिटरसम्मको क्षेत्रको ढुंगा, गिटी, बालुवा पालिकालाई कुनै कर नतिरी प्रयोग गरेको देखिएकाले आयोजनाको स्वीकृति लिँदा नेपाल सरकारको खातामा रकम जम्मा गरिएको भनिएको प्रमाणसमेत गाउँपालिकामा पेस गर्न आयोजनालाई निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाराण भण्डारीले जानकारी दिए ।

गाउँपालिकाले आयोजनाहरूलाई विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन बुझाउन आग्रह गरे पनि अहिलेसम्म कुनै पनि आयोजनाले उक्त वितरण पालिकालाई बुझाएका छैनन् । जलविद्युत् आयोजनाहरूले प्रभावित क्षेत्रका स्थानीयलाई कुल लागतको १० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने, आयोजना निर्माणस्थलमा क्षति भएका घरको क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने, सुरुङ निर्माण गर्दा परम्परागत खानेपानीका मुहान सुक्न गएकाले वैकल्पिक रूपमा खानेपानी र सिँचाइ योजना निर्माण गर्नुपर्ने, आयोजनाबाट भएको वनजंगलको क्षतिको सट्टाभर्ना सम्बन्धित वडामै गर्नुपर्ने र वातावरण प्रदूषण न्यूनीकरणका लागि गाउँपालिकालाई उचित क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्नेलगायतका माग समेटिएका छन् ।

जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको मागबमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शिता नभएपछि स्थानीय रुष्ट बनेका छन् भने जनप्रतिनिधि तथा सरोकारवालाले समुदायमा खर्चिने रकमलाई उपयोगी र पारदर्शी बनाउन दबाब दिएका छन् ।

कागबेनीबाट म्याग्दीका १३ बर्षिय एक बालक सम्पर्कविहीन

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-४कागबेनीबाट म्याग्दीका एकजना बालक सम्पर्कविहीन भएका छन् । जनशान्ति माविमा कक्षा ६ मा अध्ययनरत १३ बर्षिय सन्तोष बुढामगर मंगलबार दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएको बुबा रामबहादुर बुढा मगरले बेनीअनलाइनलाई बताउनुभयो ।

विद्यालयको छात्राबासमा बस्ने बुढा मगर बेपत्ता भएपछि खोजीकार्य गर्दा समेत नभेटिएको बुबा रामबहादुरले बताउनुभयो। ‘छोरा हराएको जानकारी आएपछि खोजीकार्यमा जुटेपनि साँझसम्म फेला परेको छैन’रामबहादुरले भन्नु्भयो ।

छोरा हराएपछि हराएको भन्दै खोजतलासका लागि प्रहरीसमक्ष जानकारी समेत गराएका छन् । सूचना आएलगत्तै प्रहरीले विभिन्न यूनिटमा समेत खवर गरेको छ । यता बालकका बुबा रामबहादुरले बेनीतिर गएको वा अन्य कतै देखे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अपिल गर्नुभएको छ ।

स्ववियूकाे आवश्यकता र औचित्य

साजन पुन

स्ववियू भनेको स्वतन्त्र विद्यार्थी युनियन हो। यो नेपालका विभिन्न क्याम्पसहरूमा रहने विद्यार्थीहरूको प्रतिनिधिमूलक संस्था हो, जसले विद्यार्थीका हक, अधिकार, तथा हित संरक्षण गर्ने काम गर्छ। क्याम्पस स्तरमा स्ववियू निर्वाचनको आवश्यकता । शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन; यो व्यक्तित्व विकास, सामाजिक चेतना र नेतृत्व क्षमताको समग्र विकाससँग सम्बन्धित हुन्छ। क्याम्पस स्तरमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन यस्तो अभ्यास हो, जसले विद्यार्थीलाई लोकतान्त्रिक मूल्य, अधिकार र कर्तव्यबारे जान्न अवसर दिन्छ। सबैभन्दा

पहिला, स्ववियू निर्वाचन विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम हो। निर्वाचनमार्फत चुनिएका प्रतिनिधिहरूले विद्यार्थीको समस्या, गुनासो र आवश्यकता प्रशासनसम्म पुर्याउँछन्। उनीहरूले शुल्क, परीक्षा प्रणाली, छात्रवृत्ति, पुस्तकालय सुविधा, खानेपानी, शौचालय जस्ता दैनिक जीवनसँग जोडिएका विषयमा पहल गर्न सक्छन्।

दोस्रो, निर्वाचनले विद्यार्थीमा नेतृत्व विकास गर्छ। उम्मेदवार बन्ने, प्रचार गर्ने, योजना बनाउने र सार्वजनिक बहसमा भाग लिने प्रक्रियाले उनीहरूलाई आत्मविश्वासी, जिम्मेवार र रणनीतिक बनाउँछ। यसले भविष्यमा उनीहरूलाई कुशल नेतृत्वकर्ता बन्न सहयोग पुर्याउँछ।

तेस्रो, निर्वाचनले विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव दिन्छ। मत हाल्ने अधिकार प्रयोग गर्न पाउनु, आफ्नो मतमार्फत प्रतिनिधि छान्नु, र निष्पक्ष निर्वाचन प्रक्रियामा सहभागी हुनु—यी सबै लोकतन्त्रको वास्तविक शिक्षालय हुन्।

चौथो, स्ववियू क्याम्पसको समुचित व्यवस्थापनमा पनि सहयोगी बन्न सक्छ।

विभिन्न सांस्कृतिक, शैक्षिक तथा खेलकुद कार्यक्रम आयोजना गर्नु, सामाजिक अभियोगमा सहभागिता जनाउनु, तथा शिक्षण सिकाइको गुणस्तरमा योगदान दिनु स्ववियूको भूमिका भित्र पर्दछ।

अन्ततः, स्ववियू निर्वाचन एक माध्यम हो, जसले विद्यार्थीलाई समाजप्रति जिम्मेवार नागरिक बनाउँछ। तसर्थ, क्याम्पस स्तरमा स्ववियू निर्वाचन केवल औपचारिक प्रक्रिया होइन, यो विद्यार्थीको समग्र विकासका लागि अनिवार्य अभ्यास हो।

क्याम्पस स्तरमा स्ववियूको काम । शिक्षण संस्था केवल किताबी ज्ञान दिने ठाउँ मात्र होइन, यो विद्यार्थीको सोच, चेतना र नेतृत्व क्षमताको विकास गर्ने थलो पनि हो।

क्याम्पसभित्र विद्यार्थीको हक, हित र अभिव्यक्तिको संरक्षणका लागि स्थापित संस्था हो— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)। यसले विद्यार्थी र प्रशासनबीच सेतुको काम गर्छ, साथै क्याम्पसमा लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँछ। स्ववियूको पहिलो र प्रमुख जिम्मेवारी भनेको विद्यार्थीहरूको प्रतिनिधित्व गर्नु हो। कक्षा को समयमा नचल्ने, शुल्कको अनियमितता, छात्रवृत्तिमा अन्याय, शैक्षिक गुणस्तरमा कमीजस्ता समस्याहरू विद्यार्थीहरूले झेलिरहेका हुन्छन्।

यस्ता विषयहरूलाई प्रशासनसमक्ष पुर्याउने र समाधानको पहल गर्ने जिम्मा स्ववियूको हो। त्यस्तै, स्ववियूले शैक्षिक सुधारमा समेत महत्त्वपूर्ण भूमिका खेल्दछ। पुस्तकालयको अवस्था सुधार गर्ने, कक्षा नियमित गराउने, पाठ्यपुस्तक उपलब्ध गराउने जस्ता कार्यहरूमा स्ववियूको सक्रियता हुन आवश्यक छ। क्याम्पसमा भएका खानेपानी, शौचालय, वाइफाइ, खेलकुद मैदान जस्ता सहायक सुविधाहरूको व्यवस्थापनमा पनि स्ववियूले ध्यान दिनुपर्छ। यस्ता सुविधाहरूको अवस्था थाहा पाई प्रशासनसँग समन्वय गरेर सुधार गर्न स्ववियूको भूमिका देखिन्छ।

यसबाहेक, विद्यार्थी जीवन केवल पढाइमा सीमित छैन। सांस्कृतिक, साहित्यिक र खेलकुद कार्यक्रम विद्यार्थीको प्रतिभा उजागर गर्ने माध्यम हुन्। कविता, वक्तृत्वकला, नृत्य, नाटक, खेलकुद प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलाप आयोजना गर्नु स्ववियूको अर्को जिम्मेवारी हो। स्ववियूले छात्रवृत्तिको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न पनि भूमिका खेल्नुपर्छ। योग्य विद्यार्थीहरूले छात्रवृत्तिबाट वञ्चित नहोस् भन्ने कुरामा स्ववियू संवेदनशील हुनुपर्छ।

अन्ततः, स्ववियूले क्याम्पसमा अनुशासन कायम राख्न, दुर्व्यवहार तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउन र लोकतान्त्रिक मूल्यहरूमा आधारित वातावरण विकास गर्न निरन्तर प्रयत्न गर्नुपर्छ। यसरी हेर्दा, क्याम्पस स्तरमा स्ववियूको भूमिका अत्यन्तै व्यापक, जिम्मेवार र प्रभावकारी हुन्छ। यो संस्था केवल चुनाव जितेर कुर्सीमा बस्ने संगठन होइन; यो त विद्यार्थीका सपनाको संरक्षक, आवाजको प्रतिनिधि र सुधारको अगुवा हो।

अन्तमा,स्ववियू केवल चुनाव जितेर बस्ने संस्था होइन, यो विद्यार्थीकै स्वर, सपना र शक्ति हो। यसले शैक्षिक सुधारमा, सामाजिक चेतनामा, र लोकतान्त्रिक संस्कारमा ठूलो भूमिका खेल्दछ। क्याम्पसमा स्ववियूको उपस्थिति हुँदा विद्यार्थी सशक्त महसुस गर्छन् र आफ्नो भविष्य निर्माणमा सक्रिय हुन सक्छन्। यसैले, स्ववियूको गठन, सञ्चालन र सक्रियता हरेक क्याम्पसमा अनिवार्य र अपरिहार्य मानिन्छ।

लेखक म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थी हुन् ।

मंगला शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पुन निर्विरोध

म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका एल्डीस पुन सहित प्यानल निर्विरोध विजयी भएको छ ।

मंगला–१ कुहुँ थाइवाङ निवासी पुनसँगै सचिवमा विन्दा रोका काषाध्यक्ष मञ्जिना बुढाथोकी सदस्यहरु सचिना किसान, सलोन पुन र रामकुमारी थापा समेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पश्चिम म्याग्दीको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसको स्ववियू निर्वाचनका लागि चार विद्यार्थी संगठनले निर्वाचनका लागि संगठन दर्ता गरेपनि अनेरास्ववियुको प्यानल विरुद्ध कसैले पनि उम्मेदवारी भने दिएनन् । म्याग्दीको सदरमुकाम बाहिरको एक मात्रै क्याम्पस मंगलामा यसअघि सम्पन्न दुई स्ववियू निर्वाचन नेकपा एमाले निकट अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

सर्वसम्मत भएकालाई कार्यतालिका अनुसार सपथ ग्रहण गरिने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो । स्ववियु सभापति पुनले क्याम्पसलाई समुदायमा स्थापित गर्न र विद्यार्थीको हकहितका लागि निरन्तर सक्रिय हुने बताउनुभयो । यता म्याग्दी बहुमुखी क्याम्पसमा भने चार संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनले उम्मेदवारी दर्ता

म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट सभापति संगम चोखाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट सभापति दिनेश खत्री, अखिल क्रान्तिकारीबाट सन्दिप खत्री र अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीबाट मनिषा दर्जीले सभापतिमा उम्मेदवारी दर्ता भएको क्याम्पस निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र विप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् ।

भोलि (फागुन २८ गते) उम्मेदवारको नामावली उपर दाबी विरोध हुनेछ। भोलि नै दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ। आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।

बि.स २०७९ सालमा स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि स्थगित भएको थियो । क्याम्पस प्रमुख श्रीधर सुबेदीले निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु कार्यतालिका अनुसार नै अगाडी बढेको बताउनुभयो ।

 

रूस-युक्रेन युद्धमा मारिए रोल्पाका पूर्ववडाध्यक्ष बुढाथोकी

रुस-युक्रेन युद्धमा रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तीर्खबहादुर बुढाथोकी मारिएका छन् ।रुसी सेनामा कार्यरत ४४ वर्षीय बुढाथोकीको रुस–युक्रेन युद्धमा परी मृत्यु भएको हो । फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी दोहोरिन चाहेका थिए । ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए । उनी पराजित बनेपछि रसिया गएका थिए ।सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले बुढाथोकीको मृतयु भएको खबर आएको बताए । बुढाथोकीको परिवारमा बुबा–आमा, पत्नी, एक छोरा र एक छोरी छन् ।

खाजा खर्च बचाएर दृष्टिविहिन विद्यार्थीलाई सहयोग

म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर न्युन दृष्टिविहिन विद्यार्थीलाई २० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गरेका छन् ।

विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल, इको क्लव सहित सामाजिक उत्तरदाहित्व बोध गर्ने गरी स्थापित सञ्जालमा आवद्ध सदस्यहरुले रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविका स्रोत कक्षामा अध्ययनरत न्युन दृष्टि भएका १० बालबालिकालाई शैक्षिक साम्रागी हस्तान्तरण गरेका थिए ।

विद्यालयका प्रिन्सिपल दिपक सुबेदीका अनुसार शैक्षिक गतिविधि बाहेक समुदायस्तरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत सहभागिता जनाउने गरी स्थापित क्लवहरुमार्फत सचेतनामुलक अभियान बाहेक समस्यामा परेका साथीहरु र अभिभावकलाई समेत सहयोग गर्ने गरेको छन् । ज्ञानोदय माविमा आर्थिक रुपमा विपन्न न्युन दृष्टि भएका विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग गर्ने गरिएको प्रअ बिजय शर्माले बताउनुभयो ।