Monday, June 9, 2025
22.7 C
Beni
22.7 C
Beni
Monday, June 9, 2025
Home Blog Page 71

खाजा खर्च बचाएर दृष्टिविहिन विद्यार्थीलाई सहयोग

म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर न्युन दृष्टिविहिन विद्यार्थीलाई २० हजार बराबरको शैक्षिक साम्रागी सहयोग गरेका छन् ।

विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल, इको क्लव सहित सामाजिक उत्तरदाहित्व बोध गर्ने गरी स्थापित सञ्जालमा आवद्ध सदस्यहरुले रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविका स्रोत कक्षामा अध्ययनरत न्युन दृष्टि भएका १० बालबालिकालाई शैक्षिक साम्रागी हस्तान्तरण गरेका थिए ।

विद्यालयका प्रिन्सिपल दिपक सुबेदीका अनुसार शैक्षिक गतिविधि बाहेक समुदायस्तरमा हुने विभिन्न कार्यक्रमहरुमा समेत सहभागिता जनाउने गरी स्थापित क्लवहरुमार्फत सचेतनामुलक अभियान बाहेक समस्यामा परेका साथीहरु र अभिभावकलाई समेत सहयोग गर्ने गरेको छन् । ज्ञानोदय माविमा आर्थिक रुपमा विपन्न न्युन दृष्टि भएका विद्यार्थीलाई विभिन्न माध्यमबाट सहयोग गर्ने गरिएको प्रअ बिजय शर्माले बताउनुभयो ।

 

तातोपानी कुण्डमा नुहाउनेको चाप बढ्यो

प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्नेको चाप बढेको छ । जिल्लाको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानीको कुण्डमा नुहाउने बिरामी, सर्वसाधारण र पर्यटकहरुको दिनहुँजसो सङ्ख्या बढ्दै जान थालेको हो ।
जाडो समय सकिएर गर्मीको समय सुरु भएसँगै अहिले तातोपानी कुण्डमा दैनिक रुपमा नुहाउन आउने बिरामी तथा सर्वसाधारण र पर्यटकहरुको चाप बढेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डमा अहिले पछिल्लोपटक म्याग्दीसहित बागलुङ, कास्की, पर्वत, मुस्ताङ, काठमाडौं, चितवन, नवलपरासी, कपिलवस्तु, ताप्लेजुङ, झापा, मोरङ, कैलाली, दाङ, रुकुम, रोल्पा, डोल्पालगायत जिल्लाबाट बिरामीहरु आएका छन् ।
यहाँको तातोपानी कुण्डमा बाहिरी जिल्लामध्ये सबैभन्दा धेरै छिमेकी बागलुङ जिल्लाबाट बिरामीहरु आउने गरेका छन् भने टाढाको जिल्लाहरु पूर्वी नेपालको ताप्लेजुङ, झापा र मोरङ तथा पश्चिमको दाङ र कैलालीबाट समेत बिरामीहरु कुण्डमा आएको तथ्याङ्क छ ।
यसका साथै विदेशी मुलुकहरु भारत, बङ्गलादेशबाट पनि बिरामी तथा पर्यटकहरु तातोपानी कुण्ड नुहाउनको लागि आउने गरेका छन् । तातोपानी कुण्डमा एकपटक आएर स्नान गरेर गएका बिरामीहरु रोग निको भएको भन्दै पुनः फर्किएर पटकपटक आउने गरेको भेटिन्छन् ।
पछिल्ला केही वर्षदेखि तातोपानी कुण्डमा नुहाउन आउने बिरामी, सर्वसाधारण र पर्यटकहरुको चाप बढ्न थालेपछि उनीहरुको व्यवस्थापनका लागि कुण्ड व्यवस्थापन समितिले आवश्यक पहल गरेको छ ।
बढ्दो चापलाई मध्यनजर गरी तातोपानी कुण्ड व्यवस्थापन समितिले मुख्य कुण्डभन्दा बाहिर दुईवटा पोखरी बनाएर नुहाउने व्यवस्थापन मिलाएको छ । तातोपानीको मुख्य पोखरीमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म महिला र पुरुषको छुट्टाछुट्टै पालो बनाएर नुहाउनको लागि समय तालिका बनाइएको छ । अहिले मुख्य पोखरीमा नुहाउनको लागि महिलाको दुईवटा समूह र पुरुषको एकवटा समूह रहेका छन् ।
तातोपानीको मुख्य पोखरी अर्थात् ठूलो कुण्डमा मात्रै दैनिक एक हजारभन्दा बढी बिरामी र सर्वसाधारणहरुले नुहाउने गर्दछन् भने बाहिरका दुईवटा पोखरीमा करिब ५ सय जनाले नियमित नुहाउँछन् । बाहिरको पोखरीमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म नुहाउन पाइन्छ ।
तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले तातोपानी कुण्डमा नियमित रुपमा करिब १२ सय जनाले दैनिक नुहाउने गरेको बताउनुभयो । उहाँका अनुसार तातोपानी कुण्डमा हरेक वर्ष २५ प्रतिशत नयाँ बिरामीहरु थपिने गरेका छन् । तातोपानी कुण्डमा पानीका थप स्रोत पत्ता लगाउने, कुण्डको संरक्षण तथा संरचना विस्तारका लागि आवश्यक पहल थालिएको उहाँको भनाइ छ ।
जमिन मूनिबाट ५५ डिग्री सेल्सियससम्मको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, घाउखटिरा, हार्डजोर्नी दुख्ने, छाला सम्बन्धी रोग, हड्डीको दुखाई, सड्केको, मर्किएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । तातोपानी कुण्डमा आगोले पोलेका बिरामीहरु समेत आएर स्नान गरी निको भएर फर्किएका उदाहरण छन् । तातोपानी कुण्डमा नेपालको ७७ वटै जिल्ला र विदेशबाट पनि बिरामी तथा सर्वसाधारण एवं पर्यटकहरु आएर स्नान गर्ने गरेको कुण्डले जनाएको छ ।

‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दीका ६ वटै स्थानीय तहको शिक्षा शाखाको समन्वय तथा आयोजना र बेनीअनलाइन प्रालिको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ‘अब म पनि बोल्छु’ नाराका साथ आयोजित वक्तृत्वकला प्रतियोगिताका लागि शिर्षक छनौट समितिले फरक–फरक शिर्षकमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सोमबार मंगला गाउँपालिकामा आयोजित छनौट प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बोल्ने कला अन्तरगत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका अतिरिक्त क्रियाकलापले शैक्षिक गतिविधिमा समेत सघाउने बताए ।

उनले पाठ्यक्रममा आधारित प्रतियोगितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए । पालिकास्तरीय छनौटमा म्याग्दीका सबै स्थानीय तहका जनप्रतिनिधिले समेत उत्कृष्ट अभ्यास भएको प्रतिक्रिया दिएका छन् ।

विद्यार्थीको पठनपाठनमा समेत सहज हुने गरी शैक्षिक विषयमा केन्द्रित भएर आयोजित प्रतियोगिताको पालिकास्तरको प्राप्त गोप्य शिलबन्दी गरिएको चैत्र महिनामा सार्वजनिक गरी बैशाख महिनामा फाइनल प्रतियोगिताको आयोजना गरिने स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर बद्री बरुवालले बताए ।

‘पालिकास्तरमा छनौट प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिन चाहन्छौ, हामीले विद्यार्थीको क्षमता विकासमा सहयोग गर्ने प्रयास गरेका छौ’ म्यानेजिङ डाइरेक्टर बरुवालले भने ।उनले विद्यार्थीको बोल्ने कलाका लागि आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिने बताए ।

प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएकोमा पहिलो खण्ड अन्तरगत पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको निर्णायक मण्डलबाट सहभागीको नतिजाबाट हरेक स्थानीय तहबाट १ जना छनौट गरी अन्तिम प्रतिष्पर्धा गराइने बेनीअनलाइन प्रालिले जनाएको छ ।

नतिजा सार्वजनिक भए लगत्तै एकदिने प्रशिक्षण तालिम समेत सञ्चालन गरिने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

चिमखोलाका खडकबहादुर तीनदिनदेखि काठमाण्डौबाट सम्पर्कविहिन

म्याग्दीको रघुगंगा गाउँपालिका-७,चिमखोलाका एक जना पुरुष तीन दिनदेखि बेपत्ता भएका छन् । काठमाण्डौ एयरपोर्ट नजिक पेप्सीकोला बस्ने ५८ बर्षिय खडक बहादुर पुन फागुन २३ गतेदेखि पेप्सीकोला टिभी टुडे आसपासका क्षेत्रबाट सम्पर्कविहीन भएका हुन् ।

हल्का सेतो र निलो रंगको ज्याकेट सेतो रंगको प्यान्ट र प्रेसर चप्पल लगाएको गहुँगोरो ५۔२ उचाई मानसिक समस्या भएका पुन विहान १० बजेदेखि सम्पर्कविहिन भएको छोरी नैना पुन मगरले बताइन् । ‘खोजीकार्य भइरहेको छ, कसैले भेटेमा सम्पर्क गरिदिनुहोला’ छोरी नैनाले भन्नुभयो ।  बेपत्ता भएका खडकबहादुरको खोजीकार्यका लागि काठमाण्डौमा रहेका चिमखोलाबासी तथा म्याग्देलीलाई समेत अनुरोध गरिएको छ ।

बेपत्ता भएको दिनदेखि नै खोजीकार्य जारी राखे पनि फेला पार्न नसकिएपछि परिवारले प्रहरी कार्यालयमा जानकारी समेत गराएका छन् । उनलाई देख्ने वा फेला पार्ने महानुभावले नजिकैको प्रहरी चौकी वा फोन नं ९८४११९०७९६÷९८४९१७५०६३ मा सम्पर्क गरिदिन हुन आफन्तले अनुरोध गरेका छन् ।

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

बागलुङ, फागुन २६ गते । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाएर उनीहरु अहिले आर्थिक रूपमा सवल बनेका छन् ।

जैमिनी नगरपालिकाले एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका ५५० महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध महिलाले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर बिक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध अधिकांशले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।

स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्न तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताउनुभयो । तालिम लिनु पूर्व वनजङ्गल र बारीमा भएका बाँको, सिस्नो खेर गएकामा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उहाँको भनाइ छ । तालिमले यहाँका महिलालाई व्यवसायिक बनाएको पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाँको त हाम्रो जङ्गलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिकै खेर गएका ती वस्तुहरु अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि पैसामा बिक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ ।”

आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमीलगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उहाँको भनाइ छ । मागअनुसार बजारमा उत्पादन पठाउन सकेको पुनले बताउनुभयो । गत वर्ष रु चार लाखको सिस्नोको पाउडर, रु दुई लाखको गुन्द्रुक र दुई लाखको सिमी बिक्री गरेको उहाँको अनुभव छ ।

जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउन तालिम सञ्चालन गरेपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरी बजारीकरण गर्न थालेको बताउनुभयो । नगरपालिकाले तालिमसहित आलु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेसिन उपलब्ध गराएपछि महिला सक्रिय बनेको उहाँको भनाइ छ ।

महिलाले सुरुमा करिब रु २० लाख लगानीमा प्याकेजिङसहितको मेसिन लिएर उद्योग सञ्चालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमी उत्साहित बन्दै गएका छन् । gorkhapatra

क्रिप्टोकरेन्सीमा संलग्न पाँच जना पोखराबाट पक्राउ

क्रिप्टोकरेन्सी प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले म्याग्दी र पर्वतका पाँच जनालाई पक्राउ गरेको छ। कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार कास्कीमा क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा खेलाउने घटनामा व्यक्ति समातिएको पहिलो हो। रुपेन्द्रको घरमा शंकास्पद कार्य भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाकै नेतृत्वले शूक्ष्म अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
रुपेन्द्र पर्वत जलजला गाउँपालिका ३ का भएपनि उनी चाउथे बस्दै आएका थिए ।

यस्तै प्रहरीले म्याग्दी घर भइ चिप्लेढुंगामा फेन्सी पसल गर्दै अँइरहेका रुपेन्द्रका फूपुको छोरा ३३ वर्षे विक्रम बानियाँ, स्नातक पढ्दै गरेका रुपेन्द्रका सानीआमाका छोरा रघुगंगा २ घर भइ त्यहीँ बस्दै आएका रोजन केसी, फूपुकै छोरा स्नातक चौथो वर्षमा रहेका २२ वर्षका सज्जन घिमिरे र बहिनी ज्वाइँ फुटस्टेप कन्सल्टेन्सी सञ्चालक २८ वर्षीय सन्दीप कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबै आफन्त हुन् । लामो समयदेखि अवैध काममा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ तर प्रहरीलाई भने यो मुद्दाले टाउको दुखेको छ ।

इलेक्ट्रोनिक डिभाइसहरुबाट काम गर्ने भएकाले प्रहरीले पनि यसलाई सोही अनुसार अनुसन्धान गर्नुपर्ने देखिएको छ, जुन कास्कीमा सम्भव छैन । अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याब काठमाडौं पठाउनुपर्ने हुन्छ । ‘यो निकै भाष्ट छ, प्रविधिको प्रयोग यसमा छ, यतिधेरै डिभाइसहरु छन्, यसलाई डिजिटल फरेन्सिक ल्याब लगेर परीक्षण गर्नुपर्ने आवश्यकता छ । यसबाट दुई दिनमै सबै कुरा निकाल्न सक्दैनौं । हामीसँग अनुसन्धान गर्ने अवधि छ । त्यो समयसम्म के निकाल्न सकिन्छ । त्यो निकाल्ने प्रयास गर्छौँ,’ एसपी ओलियाले भने ।

मुद्दाको प्रारम्भिक अनुसन्धानमै रुपेन्द्र अमेरिका हुँदैदेखि नै यो अवैध काम गर्दै आइरहेका थिए । उनले पोखरामा विक्रम र सन्दीपको सहयोगमा काम गर्दै आइरहेका थिए । विक्रम र सन्दीपले म्यानेजिङ लेभलको काम गरेका छन् । यी दुईले यहाँ रहेकाहरुलाई क्रिप्टो करेन्सीमा संलग्न गराउने र अनलाइनमा हुने सबै हिसाबकिताब राख्दै आएका थिए ।

रोशन र सज्जन रुपेन्द्रकै घरमा बसेर २४ सै घण्टा सिफ्ट बनाएर अनलाइनमा काम गर्दै आइरहेका थिए । ग्राहकले कति राख्यो र कति राख्ने सबै उनीहरुले हेर्दै र अपडेट गराउँदै आएको एसपी ओलियाले सुनाए । उनीहरुको दुई गेमिङ प्ल्याटफर्म रहेकोसमेत भेटिएको थियो । उनीहरुले १० डलर हालेमा ११ डलर अपलोड गरिदिने, २० डलर ग्राहकले हाले २२ डलर हालिदिने गर्दै आइरहेका थिए । त्यस समय उनीहरुलाई कोइन आउने गर्दथ्यो त्यहीँबाट उनीहरुले बढाएर हाल्ने गरेको खुलेको छ । त्यसबाट हारजित भएको रकम क्रिप्टोमार्फत् ग्राहकको खातामा राख्ने काम गर्दै आइरहेका ओलियाले बताए ।

पक्राउ परेका व्यक्तिहरुले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोबार गर्ने गरेको पाइएको पनि प्रहरीको दाबी छ ।उनीहरुले प्रयोग गर्ने ह्वाट्स एप, क्यास एप,टेलिग्राम,चिम एप,युएसडीटी (टीथर) हेर्दा यस्तो कारोबार भेटिएको हो । ह्वाट्सएप र टेलिग्राम अनलाइन संवाद गर्ने एप्सहरु हुन् भने क्यास एप र चिमे एप चाहिँ पैसा पठाउन वा लिन मिल्ने विद्युतीय वालेट (थैली) हुन् । टीथर आफैंमा क्रिप्टोकरेन्सी हो ।

क्रिप्टो करेन्सी कारोवार, अनलाइन जुवा÷ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईस बरामद गरेको छ । नेपालमा अवैध रहेको उक्त कारोवारमा प्रयोग गरिएका मोवाइल ३१ थान, कम्प्युटर मनिटर दुई थान, सीपीयू ३, ल्याप्टप ४, आइप्याड २, किवोर्ड २,माउस १, राउटर ४, पेनड्राइभ ३, हार्डडिक्स १, मल्टिपल्क १, चार्जर ११, युएसबी पोर्टसहितको स्टेन्ड १, स्ट्याम्प छाप १ र नगद रु ७२ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ

दोषी ठहर भए रुपेन्द्रलाई के सजाय हुन्छ ?
नेपालमा विदेशी मुद्राको अपचलनलाई अवैध मानिन्छ । विदेशी मुद्रा विनिमय–नियमित गर्ने ऐनले यस्तो अपराधमा संलग्नलाई विदेशी विनिमय जफत गरी त्यस्तो व्यक्तिलाई बिगो बमोजिमको जरिबाना देखि बिगोको तीन गुणासम्म थप जरिवाना हुने व्यवस्था गरेको छ । त्यसो हुँदा यो समूहले ३० करोडको तीन गुणा रकम तिर्नुपर्ने हुनसक्छ । पछिल्लो समय चाहिँ सम्पत्ति शुद्धीकरणअन्तर्गत पनि क्रिप्टो कारोबारलाई कारवाही गर्न सक्ने प्रावधान राखिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा १ मा उल्लेख भए अनुसार त्यस्तो कसूरमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवानाको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध संहिताले ‘विदेशीमुद्रा राख्ने, चलनचल्तीमा ल्याउने वा लेनदेन गर्ने कसुरमा एक वर्षसम्म कैद वा १० हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुनसक्ने’ भनेको छ । नेपालमा क्रिप्टो सम्बन्धी कारोबार गर्नेहरूलाई राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलन शीर्षकमै मुद्दा चलाउने गरेको छ । अहिले रुपेन्द्रको हकमा चाहिँ अवैध जुवा–सट्टबाजीको पनि कसूर लगाइएको छ । यो कसूरमा दोषी भए पनि तीन महिना कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ । मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ ।

कृषिसम्बन्धी विषयमा सुझाव सङ्कलनः तत्कालै कार्यान्वयन हुने खालका कार्यक्रमहरु ल्याउन किसानहरुको माग

आगामी आर्थिक वर्षमा कृषिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि म्याग्दीमा आइतबार सुझाव सङ्कलन भएको छ । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय, बाली संरक्षण प्रयोगशाला र पशु सेवा तालिम केन्द्रमार्फत सुझावहरु सङ्कलन गरिएको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीमा आयोजित कार्यक्रममा मन्त्रालय अन्तर्गत विभिन्न निकायबाट आएको टोलीले जिल्लास्थित बेनी नगरपालिका र जिल्लाका किसानहरुबाट सुझाव तथा राय सङ्कलन गरेको जनाएको छ । कार्यक्रमबारे जानकारी गराउँदै बाली संरक्षण प्रयोगशालाका प्रमुख शालिकराम अधिकारीले चालु आवमा सञ्चालित कृषि कार्यक्रमको समीक्षासहित आगामी वर्ष सञ्चालन हुने कार्यक्रमबारे सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी म्याग्दीका किसानहरुले कृषि उपजलाई बजारीकरण गर्नका लागि सडकको पहुँच विस्तार तथा स्तरोन्नति गर्नुपर्ने, सुन्तलाजात फलफुलहरुलाई बाह्रै महिना सिँचाइको व्यवस्था मिलाउनुपर्ने, किसानहरुको वर्गीकरण गर्नुपर्ने, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमबाट पाउनुपर्ने अनुदानलाई निरन्तरता दिनुपर्ने, पाडापाडीसहित राँगो पालेका किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, भूगोल र जनसङ्ख्यालाई आधार मानेर कृषिसम्बन्धी नीति तथा कार्यविधिहरु निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।

यसैगरी किसानहरुलाई कृषि पेशामा टिकाउन सक्ने उपायहरु अबलम्बन गर्नुपर्ने, बसाइसराइलगायत कारणले गाउँहरु रित्तिँदै गएकाले किसानलाई गाउँमै बस्ने वातावरण बनाउनुपर्ने, बाहिरी जिल्लाबाट विभिन्न व्यापारीहरुले ल्याउने उत्पादनलाई रोकेर स्थानीय किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने, परम्परागत सिँचाइ प्रणालीलाई परिवर्तन गर्नुपर्ने, विषादी र कम्पोष्ट मलको प्रयोगबारे जानकारी गराउनुपर्ने, खाली तथा पाखो जग्गा उपयोग गर्ने नीति ल्याउनुपर्ने, किसानलक्षित सडक तथा विद्युतका पूर्वाधारको विकास गर्नुपर्ने, किसानहरुको वास्तविक समस्या र आवश्यकता बुझेर कार्यक्रम बनाउनुपर्ने, बजेटलाई एकीकृत गरेर विनियोजन गर्नुपर्ने जस्ता सुझावहरु दिइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गमबहादुर श्रीषले किसानलाई लाभ पुग्ने र सजिलै कार्यान्वयन हुने खालका नीति तथा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वडास्तरबाटै बजेट तथा कार्यक्रम बनाउँदा सिँचाइ तथा उत्पादनसम्बन्धी विषयलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लाभन्दा बाहिरबाट आउने जुनसुकै उत्पादनलाई रोक्न सकिने बताउँदै यसका लागि किसानहरु स्वयंले पहल गर्नुपर्ने बताउनुभयो । कृषि र पशुतर्फ वडास्तरमा प्राविधिक जनशक्तिको अभाव रहेको बताउँदै उहाँले कृषि बिमाको समस्या सुधार गर्न तथा सिँचाइका लागि वैकल्पिक उपायहरु अपनाउन आवश्यक विधि निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पशु सेवा तालिम केन्द्रका प्रमुख डाक्टर गृष्म न्यौपानेले किसान दाजुभाइहरुले गरेको मागअनुसार कृषिका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बालकृष्ण अधिकारीले वार्षिक स्वीकृत कार्यक्रम नभई कृषिसम्बन्धी कार्यक्रमहरुमा संशोधन र परिमार्जन गर्न आवश्यक देखिएकाले मन्त्रालयमार्फत सुझाव सङ्कलन गर्न थालिएको बताउनुभयो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले कार्यक्रमहरुको सङ्ख्या बढाएर कृषकलक्षित कार्यक्रम बढाउनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सहभागी जिल्लाका किसानहरु तिलक गुरुङ, कमल पौडेल, सोवित शर्मा, नरबहादुर थापा, धनबहादुर श्रीष, कोपिलाल पौडेल र नमस्ते कृषि सहकारी संस्थाका प्रवन्धक जोगराज भण्डारीले आ–आफ्नो धारणा व्यक्त गर्दै दीगो रुपमा कृषि पेशा गर्ने खालको आवश्यक नीति ल्याउन माग गर्नुभयो । उहाँहरुले किसानलाई राजश्वमा छुट दिनुपर्ने बताउँदै किसानले तत्कालै कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।

 

उत्तरगंगा माविमा गरिमा विकास बैंकको वित्तिय सचेतना कार्यक्रम

गरिमा विकास बैंक बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नं १ मा अवस्थित उत्तरगंगा माविमा अध्यनरत विद्याथीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयमा रहेका बालबालिकालाई बचत गर्ने बानीको विकास गर्ने उदेश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिती रहेको थियो ।

धौलागिरी भित्र रहेका शाखामार्फत वित्तिय सचेतना कार्यक्रमलाई तिब्रता दिएको बैंकले सोही अवसरमा जेहेन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्रीहरु हस्तान्तरण समेत गरेको शाखा प्रबन्ध जित बहादुर गर्बुजाले बताउनुभयो । बैंकका क्षेत्रीय म्यानेजर कमलप्रसाद ढुंगानाले वित्तिय कारोबारसँगै सामाजिक उत्तरदाहित्वका साथै विभिन्न सहयोगमार्फत समुदायमा पुग्ने गरेको बताउनुभयो ।

विद्यालयमा रहेका बालबालिकालाई वित्तिउ सचेतनामार्फत समुदायमा फैलाउने उदेश्यले शाखा रहेका क्षेत्रमा पुगेर ज्ञान आदानप्रदान गर्ने गरिएको क्षत्रीय प्रमुख ढुंगानाको भनाई छ । करिब १ सय जनाको सहभागिता रहेको कार्यक्रममा क्षेत्रीय म्यानेजर ढुंगानाले विद्यार्थी र अभिभावकलाई खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष बान बहादुर छन्त्याल, विद्यालयका प्रअ इश्वरीप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । गरिमा विकास बैंकले म्याग्दी, बागलुङ र पर्वतका ८ शाखा हेर्ने गरी म्याग्दीको सदरमुकाम बेनीबजारमा क्षेत्रीय कार्यालय स्थापना गरेपछि अहिले शाखामार्फत समुदायस्तरका कार्यक्रमहरुलाई तिब्रता दिइएको छ ।

धौलागिरीभित्र म्याग्दीमा बेनीबजार, पश्चिम म्याग्दीको बावियाचौर, दरबाङ, उत्तरी म्याग्दीको पोखरेबगर, बागलुङ जिल्लाको सदरमुकाम बागलुङ, बुर्तिवाङ, पर्वत जिल्लाको सदरमुकाम कुस्मा र फलेबासमा शाखा रहेको छ । विकास बैंकमध्ये ‘नम्बर वान’ बैंक बन्ने गतिका साथ अगाडी बढिरहेको बैंकले प्रविधिको विकास र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ।

 

 

म्याद गुज्रिएका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती

म्याग्दीको सदरमुकाम बेनीबजार तथा ग्रामिण क्षेत्रमा गरिएको अनुगमनमा अत्याधिक मात्रामा म्याद सकिएका अखाद्य पेयपदार्थहरु भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सहकार्यमा संयुक्त रुपमा भइरहेको बजार अनुगमनमा अन्य खाद्यान्न साम्रागीको तुलनामा म्याद गुज्रिएका पेय पदार्थ धेरै भेटिएबको छ ।

धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा धारापानीका १४ वटा किराना तथा खाद्यान्न पसल, २ वटा होटल र रेष्टुरेण्टमा अनुगमन गरी कुल २५ हजार सातसय ९० रुपैयाँ बराबरको म्याद सकिएका पेर्यपदार्थ र खाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको थियो ।

यसअगाडी बेनी नगरपालिका, मंगला र मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गरिएको अनुगममा समेत अन्य बस्तु सरह ठूलो परिमाणमा उपभोग गर्ने म्याद सकिएका कोकाकोला, स्प्राईट, मिरिण्डा, फेन्टालगायत पेयपदार्थहरु भेटिएको पर्यटन तथा उद्योग कार्यालय प्रमुख अमृतप्रसाद कँडेलले बताए । दैनिक उपभोग्य सामानहरुको प्रयोगको अवस्था पत्ता लगाएर बिक्रेता र उपभोक्ताहरुलाई सचेत बनाउने उद्देश्यसहित बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बताइन् ।

अनुगमनको क्रममा पसलभित्र म्याद सकिएका सामानहरु बिक्री गर्न टाँसीमा राखेको, मूल्यसूची नटाँसेको, साइनबोर्डहरु नराखेको, एउटा नामको पसल दर्ता गरेर अर्को कारोबार गरेको, पसल दर्ता र नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका थिए । पोखरा, बेनी र ग्रामिण क्षेत्रमा रहेका पसल र डिलर तथा गाउँगाउँमा सामान बिक्री गर्न लैजाने व्यापारीहरुले म्याद सकिएका सामानहरु ग्रामीण भेगमा लगेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

अनुगमनमा भेटिएका कमजारीहरुलाई सुधार गर्न र कानुनी प्रक्रिया पुरा गरेर मात्रै पसल तथा व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ । संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ। तर, फितलो बजार अनुगमन र कमजोर कारबाही प्रक्रियाका कारण केही व्यवसायीहरुले मनोमानी ढंगले उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाट गरिरहेका छन्।

 

 

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका देशैभरमा द्वितीय, गण्डकी प्रदेशमा प्रथम

म्याग्दीको बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार देशैभर द्वितीय हुन सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले देशैभरमा द्वितीय स्थान हासिल गरेको हो ।
सार्वजनिक भएको कार्यसम्पादन मूल्याङ्कन अनुसार बेनी नगरपालिका द्वितीय भई ८१ दशमलव १७ अङ्क पाएको छ भने प्रथम हुने डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले ८१ दशमलव ६६ अङ्क पाएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनको नतिजा अनुसार म्याग्दीको मंगला गाउँपालिकाले ६९ दशमलव ४९, रघुगंगाले ६९ दशमलव ३५, मालिकाले ६८ दशमलव ७५, अन्नपूर्णले ५९ दशमलव ९६ र धवलागिरि गाउँपालिकाले ४० दशमलव ८३ अङ्क पाएका छन् ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरसभाबाट बजेट पारित भएको र आवधिक योजना बनाएको विवरणमा छुटेको अवस्थामा प्रमाणसहित पेश गरेपछि मुल्याङ्कनमा अंक बढेको बताउनुभयो । ‘सीमित स्रोतसाधन भए तापनि पालिकाले इमानदारीतापूर्वक कार्यसम्पादन गरेको छ,‘यो सफलता सबै जनप्रतिनिधि, कर्मचारी, जनताको साझा प्रयासबाट प्राप्त भएको हो । यसलाई निरन्तरता दिन हामी योजनाका साथ काम गर्छौं । हामीसँग सानाठूला योजनाहरुमा बजेट फ्रिज हुन नदिने गरी काम गरेका छौ, अगाामी बर्षको नतिजा झनै सुधार गछौं’ मेगर केसीले भन्नुभयो ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा गाउँपालिकातर्फ मंगला प्रथम भएको छ भने धवलागिरी सबैभन्दा पुछारमा छ । आयोगले स्थानीय सरकारको विभिन्न सूचकहरुको आधारमा रहेर हरेक वर्ष कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ । सोही अनुसार स्थानीय सरकारहरुलाई आयोगले कार्यसम्पादनको मूल्याङ्कन गरेर अङ्क प्रदान गर्दै आइरहेको छ ।
आयोगले स्थानीय सरकारले हरेक वर्ष असार १० गतेभित्रै आगामी आर्थिक वर्षको लागि आयव्ययसहितको अनुमानित बजेट सम्बन्धित गाउँ तथा नगरसभामा पेश गरे÷नगरेको, आगामीको आवको राजश्व र व्ययको अनुमान असार मसान्तभित्र पारित गरे÷नगरेको, स्थानीय तहले सङ्कलन गर्ने घरजग्गा रजिष्टेशन शुल्क, मनोरञ्जन तथा विज्ञापन करवापत उठेको रकममध्ये ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आयव्यय पक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको विषयमा आधारित रहेर कार्यसम्पादनको मूल्याङ्कन गर्ने गर्दछ ।
यसैगरी आयोगले स्थानीय तहले आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयन वार्षिक समीक्षा गरी त्यसको विवरण कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र राजश्व परिचालनको अवस्था, गत आवमा विनियोजित रकमअनुसार खर्चको अवस्था, आव ०७९÷८० मा कुल लेखापरीक्षणबाट औल्याएका बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे÷नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८१ मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी खुद भर्नादर, शैक्षिक सत्र २०८० मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउदर तथा स्वास्थ्यसम्बन्धी सूचकहरुलाई आधार बनाइएको जनाएको छ । अ