Tuesday, May 13, 2025
19.6 C
Beni
19.6 C
Beni
Tuesday, May 13, 2025
Home Blog Page 809

राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानाे नानी’ मेसिनले अमेरिकामा जित्यो ‘पिपुल्स च्वाइस अवार्ड’

0

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ‘पिपुल्स च्वाइस अवार्ड’ जितेको छ ।

अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिनुभएको छ ।

बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताउनुभएको छ । पुनले आउँदाे दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।

तस्बिर : महावीर पुनकाे फेसबुक

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

0

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर (normal position)  स्थानको आसपास अवस्थित रहेको जनाएकाे छ।

देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

साउन ६ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

साउन ७ गते (शनिबार)

दिउँसोः  देशका पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

साउन ८ गते (आईतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश को एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।

‘चिया पार्टी’ बन्यो पुनर्जागरण पार्टी नेपाल, चुनाव चिन्ह ‘वाईफाई’

0

निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ । पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ ।

आवश्यक निवेदन, कागजपत्रसहित आयोगमा दल दर्ताका लागि निवेदन दिएको र सनाखत भएको महासचिव रविकिरण हमालले जानकारी दिए । श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् ।

पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ ।  ज्ञान, विज्ञान र विचारको उच्चतम प्रयोग गरेर विकास गर्दै मानव सभ्यतालाई सर्वोत्कृष्ट बनाउने पार्टीको उद्धेश्य रहेको महासचिव हमालले जानकारी दिए । पार्टीको कार्यालय काठमाडौंको केएल टावरको पाँचौ तलामा राखिएको छ ।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

0

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

त्यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ । बैठकले मौद्रिक नीति पारित गर्ने छ । सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिने छ ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए । त्यसअघि उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए ।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ । गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन् । उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो नीतिका लागि तयार रहन पनि भन्दै आएका छन् ।

नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा सुरु

0

नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ ।

महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।

करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

आजको उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुने वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

विदेशबाट आउने मिस्डकलले नेपालीलाई तनाव

0

कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी। अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्क’। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्।

यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल । त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ। पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ। जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ। यस्ता कल प्रायः +९५५ बाट सुरु भएका नम्बर छन् । यो जर्जियाको ‘कन्ट्री कोड’ हो । नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए। यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उनले बताए। नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यी हुन् नागरिकता विधेयकले समटेका मुख्य तीन विषय

0

सरकारले प्रतिनिधिसभाबाट फास्ट ट्रयाकमा पारित गर्न खोजेको नागरिकता ऐन संशोधन विधेयकले मुख्यतः तीन वटा विषयलाई सम्बोधन गर्न खोजेको छ ।

पहिलो– जन्मको आधारमा नागरिकता पाएकाहरुको विषय । २०७२ सालमा संविधान जारी हुनु भन्दा पहिले नेपाल सरकारले जन्मका आधारमा नागरिकता जारी गरेको थियो । उनीहरुका सन्तानले नागरिकता पाउने विषय संघीय कानुन बमोजिम सम्बोधन हुने संविधानमा उल्लेख छ । संघीय कानुन नबन्दा जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले नागरिकता पाउन सकिरहेका छैनन् । फास्ट ट्रयाकमा पारित गर्न लागिएको नागरिकता विधेयकले यो विषयलाई सम्बोधन गरेको छ ।

जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानका बाबु र आमा दुबै नेपालको नागरिक रहेको अवस्थामा १६ वर्ष उमेर पुगेका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्थाका लागि राजनीतिक दलहरुका बीचमा समेत कुनै विमती देखापरेको छैन । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐन बनेपछि ३ असोज ०७२ भन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नेपालको नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा छ ।
दोस्रो– आमाको नामबाट नागरिकता जारी । नेपालको संविधानले आमाको नामबाट नागरिकता जारी हुने भनेको छ । तर, संविधान अनुसार संघीय कानुन नबन्दा यो संवैधानिक व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको छैन । प्रस्तावित विधेयकले यो विषयलाई सम्बोधन गरेको छ । प्रस्तावित विधेयक अनुसार पारित भएर ऐनका रुपमा लागू भएपछि नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर, यसका लागि निवेदक आमाले ‘स्वघोषणा’ गर्नुपर्ने हुन्छ । बाबुको पहिचान हुन नसकेको भावमा गरेको ‘स्वघोषणा’ गरेर नागरिकता लिँदा झुटो विवरण पेस गरेको पुष्टि भएमा कारबाहीको भागीदार हुनुपर्नेछ ।
तेस्रो– गैरआवासीय नेपालीलाई नागरिकता । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा नै गैरआवासीय नेपालीहरुले लगाए । उनीहरुको यही मागलाई सम्बोधन गर्ने विषय प्रस्तावित विधेयकमा छ । प्रस्तावित विधेयक अनुसार राजनीतिक र प्रशासनिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता जारी हुने विषय प्रस्तावित विधेयकमा छ ।

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

0

अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

काठमाडौंका केही स्थानमा गए राति भारी वर्षा भए पनि आज दिउँसो भने त्यो सम्भावना नरहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । ‘आज दिउँसो काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंमा आज भारी वर्षा हुँदैन’, उनले भने । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (बिहीबार) सुदूरपश्चिम र प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसमविद् श्रेष्ठले केही दिनयता देशका विभिन्न भागमा भारी वर्षा भए पनि यो आज साँझबाट क्रमशः घट्दै जाने बताए । ‘आज दिनभर वर्षाको सम्भाना छ । आज साँझबाट वर्षाको सम्भावना कमजोर हुँदै जानेछ’, उनले भने, ‘मनसुन साउथतर्फ सर्दै जाने भएकाले मनसुन कमजोर हुँदा पानी पनि कम पर्ने हुन्छ ।’

सर्वाधिक शक्तिशाली पासपोर्ट जापानको, नेपाली पासपोर्टको अवस्था कस्तो ?

0

पासपोर्ट (राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।

कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्धारण गरिन्छ । अर्थात, कुन देशका नागरिकले कति मुलुकमा ‘अन अराइभल भिसा’ सुविधा पाएका छन् भन्ने आधारमा वरीयता निर्धारण हुने गर्दछ ।

जापानको पासपोर्ट विश्वकै शक्तिशाली भएको सो विवरणमा खुलाइएको छ । जापानका नागरिक भिसा बिना नै १९३ देशमा यात्रा गर्न सक्छन् । ती मुलुकमा उनीहरुले ‘अन अराइभल भिसा’ प्राप्त गर्दछन् ।

दोस्रो नम्बरमा सिंगापुर, दक्षिण कोरिया संयुक्त रुपमा छन् । यी देशका नागरिकले पूर्वभिसा बिना नै १९२ मा यात्रा गर्न पाउँछन् । यस्तै, तेस्रो नम्बरमा रहेका जर्मनी र स्पेनका नागरिकले १९० मुलुकमा भिसाबिना नै यात्रा गर्न पाउँछन् । फिनल्याण्ड, इटली, लक्जमबर्ग चौथो वरीयतामा छन् । यी मुलुकमा नागरिकले १८९ मुलुकमा भिसा बिना यात्रा गर्न पाउँछन् ।

पाँचौं शक्तिशाली पासपोर्ट अस्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेनको छ, जसका नागरिक १८८ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् । फ्रान्स, आयरल्याण्ड, पोर्चुगल र संयुक्त अधिराज्य बेलायतको पासपोर्ट छैटौं वरीयतामा पर्दछ । यी मुलुकका नागरिक १८७ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

अमेरिकासहित बेल्जियम, न्यूजिल्याण्ड, नर्वे र स्वीटजरल्याण्डको पासपोर्ट सातौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८६ देशमा बिना भिसा यात्रा गर्न पाउँछन् । यस्तै, आठौं वरीयतामा अस्ट्रेलिया, क्यानाडा, ग्रीस, चेक रिपब्लिक र माल्टाको राहदानी छ । यी मुलुकका नागरिकले १८५ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

हंगेरी नवौं वरीयतामा छ, जसका नागरिकले १८३ मुलुकमा बिना भिसा यात्रा गर्न सक्छन् भने लिथुआनिया, पोल्याण्ड र स्लोभाकियाको पासपोर्ट दशौं वरीयतामा छ । यी मुलुकका नागरिकले १८२ मुलुकमा भिसा बिना नै यात्रा गर्न पाउँछन् ।

नेपाल भने यो वरीयताको १०६ औं स्थानमा छ । नेपाली नागरिकले ३८ मुलुकमा जानका लागि पहिला नै भिसा लिइरहनु पर्दैन । नेपालभन्दा पछाडि सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

छोरी बचाउन गएका बुबाको पनि डुबेर मृत्यु

0

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। तत्काल उद्धार गरी वालिङस्थित गहौँ प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो। रासस