Monday, May 12, 2025
20 C
Beni
20 C
Beni
Monday, May 12, 2025
Home Blog Page 810

रुस र युक्रेन युद्धको असर भन्दै गंगालालमा मुटुको शल्यक्रिया नै रोकियो

0

मुटुको शल्यक्रिया गर्दा आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया नै बन्द भएको छ। यो समस्या अन्य अस्पतालमा पनि आउने सम्भावना छ तर यो अन्तर्राष्ट्रिय समस्या नै रहेको छ। रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थको आपूर्ति कम भएका कारण अक्सिजेनेटरलगायतका स्वास्थ्य सामग्री अभाव हुन थालेको हो।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले नेपालमा मात्र नभई भारतलगायत अन्य देशमा समेत अक्सिजेनेटरको अभाव रहेको बताए। उहाँले अस्पतालमा आकस्मिक शल्यक्रियाका लागि केही अक्सिजेनेटर राखिएको बताए। उनले पछि गर्न मिल्ने शल्यक्रिया मात्र हाललाई स्थगित गरेको बताए।

अक्सिजेनेटर ल्याउने जिम्मा पाएको ठेकेदारलाई चाँडो ल्याउन ताकेता गरिए पनि विश्व बजारमा अक्सिजेनेटरको अभाव भएकाले समस्या भएको दाबी उनले गरे। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले भने केन्द्रमा अक्सिजेनेटर अभाव छ भन्ने विषयमा कुनै जानकारी नै नभएको बताए। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा तत्काल अभाव नरहे पनि समस्या पर्ने देखिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

0

ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ ।राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो ।

पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय तहले हेरचाहको जिम्मेवारी लिने वा हेरचाह गर्ने नातेदार वा हकवालालाई सम्पत्ति हस्तान्तरणको व्यवस्था विधेयकले गरेको छ ।

स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्ति स्वामित्व स्थानीय सरकार मातहतसमेत जान सकिने व्यवस्था गरिएको छ । हकवाला र नातेदारले हेरचाह नगरेमा ज्येष्ठ नागरिकको संरक्षणको दायित्व स्थानीय तहलाई दिइएको छ । पालनपोषण, हेरचाह, शिक्षादीक्षा र अभिभावकत्व नपाएका सन्तानलाई भने बाबुआमाको पालनपोषणमा स्थानीय सरकारले बाध्य गर्न पाउनेछैन ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा रानाभाट,उपाध्यक्षमा डा. कंडेल

0

कर्मचारी मिलन केन्द्र म्याग्दीको अध्यक्षमा मनोज रानाभाट चयन भएका छन् । मिलन केन्द्र म्याग्दीको मंगलबार सम्पन्न विशेष अधिवेशनबाट रानाभाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

रानाभाट डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख हुन् । मिलन केन्द्रको उपाध्यक्षमा म्याग्दी अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. जितेन्द्र कंडेल चयन भएका छन् ।मिलन केन्द्रको अध्यक्ष र उपाध्यक्ष पद रिक्त रहेकामा विशेष अधिवेशनबाट पदपूर्ति गरिएको हो ।

म्याग्दीमा सवारी चालकलाई जरिवानाबाट ६४ लाख राजस्व सङ्कलन

0

जिल्लामा आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप-कार चालकबाट रु २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए । आव २०७७-७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७६-७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५-७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४-७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए।

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए। प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए।

तातोपानीमा साढे एक करोडको खानेपानी

0

बेनी नगरपालिका–४ तातोपानीमा खानेपानी योजना निर्माण भएको छ । रु एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा योजना निर्माण भएको हो।

घरघरमा मिटर जडान गरेर खानेपानी वितरण गरिएको तातोपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष थमबहादुर खत्रीले बताउनुभयो । “विसं २०७२ देखि सुरु भएको आयोजना सात वर्षको प्रयासमा निर्माण सम्पन्न भएको छ”, उहाँले भन्नुभयो “वितरण व्यवस्थित र अनावश्यक पानी खर्च हुन नदिन सबै उपभोक्ताको धारामा मिटर जडान गरिएको छ ।”

घरघरमा खानेपानी आपूर्ति हुन थालेपछि तातोपानीवासीको दैनिकी फेरिएको छ । तल्लो, उपल्लो तातोपानी बजार, फापरखेत, मसार, पुलमुख, कान्ला, टिमिलाखर्क, पाटारुख र चौकी टोलमा मिटर जडान गरेर निजी धारामा पानी वितरण गरिएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलका अनुसार कार्यालयको रु एक करोड २२ लाख १४ हजार र उपभोक्ताको रु २४ लाख बराबरको श्रमदानमा आयोजना निर्माण सकिएको छ । “पाइप कार्यालयले खरिद गरेर उपलब्ध गराएको छ । ट्याङ्की, आरबिटी, इन्टेक, मुख्य लाइन निर्माणमा कार्यालयले खर्च गरेको छ,” उहाँले भन्नुभयो “शाखा र वितरण लाइन खन्न र पुर्न उपभोक्ता समितिले श्रमदान गरेका हुन् । उपभोक्ताले आफू अनुकूलका धारा बनाएका छन् ।”

तातोपानी प्राकृतिक उपचारस्थलको रुपमा परिचित छ । यहाँको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न वर्सेनी हजारौँ बिरामी आउने भएकाले खानेपानी आपूर्ति चुनौती बनेको थियो । योजनाबाट स्थानीयवासीका साथै तातोपानी स्नान गर्ने बिरामी र भ्रमणका लागि आउने पर्यटक तथा पाहुनासमेत लाभान्वित भएका छन् ।

स्थानीयवासी दधीलाल अधिकारीका अनुसार यसअघि १५ वटा सार्वजनिक धारामा पालो लगाएर पाइपमार्फत घर–घरमा खानेपानी आपूर्ति गरिएको थियो । “स्रोतको कमी र बढ्दो सहरीकरणसँगै खानेपानी आपूर्ति र वितरणमा समस्या भएको थियो,” उहाँले भन्नुभयो “नयाँ आयोजना निर्माणसँगै पानीका कारण हुने सामाजिक द्वन्द्व हटेको छ ।”

धाराबाट पानी ओसार्दा हुने समयको बचत भएको छ । घरभित्र र आगनमै धारा हुँदा सुरक्षित र सहज भएको छ । खानीखोला, लेतेखोला, टिमिलाखर्क, भित्रिवनको चार वटा मुहानको पानी एक लाख, २० हजार र दश हजार लिटरको तीन वटा टङ्कीमा सङ्कलन गरेर पाइपमार्फत घरघरमा वितरण गर्ने संरचना बनाइएको छ । तीन हजार ४५० मिटर मुख्य, छ हजार ६११ मिटर शाखा र वितरण, ६ वटा इन्टेक, ३ वटा क्रसिङ लगायतका संरचना निर्माण भएको छ ।

२१३ जनाले लाइसेन्सको ट्रायल दिँदा २३७ जना पास !

0

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ ।सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो ।कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ ।यातायात व्यवस्था कार्यालय लुम्बिनी, लाइसेन्समा कार्यालय प्रमुख तेज नारायण यादव छन् ।

२१३ ले परीक्षा दिँदा २३७ जना पास ? सबैभन्दा रोचक कुरा त के भने केही साताअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीले लाइसेन्सका लागि २१३ जनाको परीक्षा लिँदा २३७ जना उत्तीर्ण भए । लाइसेन्सको परीक्षामा शतप्रतिशत पास हुनु त अचम्मको कुरा हो भने यहाँ त परीक्षा दिएका भन्दा बढी उत्तीर्ण भएपछि यातायात व्यवस्था कार्यालय लुम्बिनीमा हुँदै आएको अनियमितता र लाइसेन्स बेचबिखनको पर्दाफास भयो ।

ट्रायल (परीक्षा) दिएका भन्दा बढी कसरी उत्तीर्ण भए त ? ट्रायलमै सहभागी नभएकासँग १ लाख ५० हजार रुपैयाँसम्म लिएर हेभी इक्विपमेन्टको लाइसेन्स बिक्री गरेको भन्दै लुम्बिनी प्रदेशको श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा उजुरी परेको छ ।उजुरी आएपछि मन्त्रालयका तत्कालीन सचिव कुमारप्रसाद दाहालले ‘एक्सन’ लिए । उजुरीमा लगाइएको आरोपका सम्बन्धमा छानबिन शुरू भयो ।मन्त्रालयले दुईपटकसम्म यातायात व्यवस्था कार्यालय लुम्बिनी लाइसेन्सलाई पत्राचार गरेको थियो । तर, दुर्भाग्य ! सचिव दाहालको निर्धारित समयागावै काज फिर्ता भयो ।

उनी मुख्यमन्त्री कार्यालयबाट काजमा उक्त मन्त्रालयमा गएका थिए ।‘लाइसेन्समा सबै कर्मचारीको मिलेमतोमा बदमासी भइरहेको छ,’ दाहालले लोकान्तरसँग भने, ‘यादवसहित सबै मिलेर व्यापक पैसा उठाएर परीक्षामै सहभागी नभएकाहरूलाई पनि लाइसेन्स बिक्री गरेका छन् ।मैले केही सुधार गर्न थाल्छु भनेको उल्टै सरुवा गराइयो ।’दाहालले थपे, ‘मलाई त केही दुःख छैन, यो विषय बाहिर ल्याएँ । म अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छु । यस्तो प्रवृत्ति चेञ्ज नभएसँग देशमा सुधार कहिल्यै हुँदैन ।’अहिले श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालयमा गृह मन्त्रालयबाट सह–सचिव दीपकराज नेपाल सचिव भएर आएका छन् ।

दाहाल मन्त्रालयको जिम्मेवारीमा आउनुअघि मुख्यमन्त्री कार्यालयमा कार्यरत रहँदा नै लाइसेन्स वितरणमा हुने गरेको अनियमितताबारे पहिलेदेखि नै जानकार थिए ।यादवकै दबाबमा दाहाललाई मुख्यमन्त्री कार्यालयमा फिर्ता पठाइएको कार्यालयकै कर्मचारीहरू बताउँछन् । यादव यसअगाडि यातायात व्यवस्था कार्यालय लुम्बिनीबाटै निलम्बनमा परेका थिए ।

यादवले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई हटाएर आफू अनुकूलका कर्मचारीलाई राखेका छन् । ती कर्मचारी अहिले लाइसेन्स फाँटमा कार्यरत रहेको बताइएको छ ।यादवले सबै पार्टीका कार्यकर्तालाई मिलाएर नयाँ कर्मचारी करारमा समेत राखेका छन् ।७ वर्षदेखि करारमा काम गर्दै आएका नवलपरासी सुनवलका एक कर्मचारीले कार्यालय प्रमुखले आफू अनुकूल काम गर्न नपाएपछि आफूहरूलाई हटाएको बताए । नाम नबताउने शर्तमा उनले भने, ‘एक महिना तपाईं बिदामा बस्नुहोस्, त्यसपछि करार थप गरिदिन्छु भनेपछि बिदामा बसें । पछि करार थप गरिदिएनन् ।’

आफू अनुकूल काम गर्न नमान्ने करारका कर्मचारीलाई यसैगरी हटाउने गरिएको उनको गुनासो छ । आफूजस्ता सोझा मानिसहरूलाई मोहोरा बनाएर व्यापक आर्थिक चलखेल हुने गरेको उनको आरोप छ ।काम गर्न नसकेको आरोप लगाएर उनीसहित ५ जना कर्मचारीलाई हटाइएको थियो ।कुनै बेला यातायात व्यवस्था कार्यालय, भेरी (नेपालगञ्ज)लाई लाइसेन्स व्यापारको अखडा मानिन्थ्यो, अहिले त्यो रोग बुटवलमा सरेको छ ।यसबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख यादव बिदामा बसेका रहेछन् ।हाल निमित्त कार्यालय प्रमुख रहेका आलोककुमार ओझा आफूलाई केही थाहा नभएको भन्दै पन्छिए ।

‘यो विषयमा म केही जानकार छैन, मलाई नसोध्नुहोस्,’ उनले भने ।लुम्बिनी प्रदेशकी श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले यस विषयमा आफूले सचिवसँग बुझ्ने बताइन् ।यता सचिव दीपक नेपालले भने गुनासो नआउने गरी काम गर्न निर्देशन दिइसकेको बताए ।लाइसेन्स कार्यालय लुम्बिनी बाग्मतीपछि सबैभन्दा बढी सेवाग्राही आउने कार्यालय हो । यहाँ लुम्बिनीका १२ जिल्ला मात्र होइन, छिमेकी प्रदेश गण्डकीबाट पनि सेवाग्राहीहरू आउने गर्छन् ।प्रकाश आचार्य/लोकान्तर

सुन चोरीको आरोपमा सून व्यवसायीसहित दुई पक्राऊ

0

सुन चोरीको आरोपमा बागलुङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायीसहित चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने बोमबहादुर घर्ति मगर र न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का टेक बहादुर बिकलाई पक्राऊ गएिको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए ।

घर्तिलाई बागलुङको ढोरपाटन नगरपालिका वडा न. ५ की ६८ बर्षीय हिरा कुमारी कुँवरको घरबाट २ तोला सुनको सिक्रि एक थान, तीस लालको सुनको लकेट १ थान र नगद १५ हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राऊ गरिएको हो ।
उनले २०७९ असार २७ गते कुँवरबाट ति सुनका सामाग्री चोरी गरेको प्रहरीको आरोप छ ।

प्रहरीले सुन चोरीको आरोपी घर्ति मगरको साथबाट एक तोलाको सुनको सिक्रि एक थान, ३ तोलाको चाँदीको लकेट एक थान, ०.४०१ तोलाको चाँदीको औँठी एक थान र नगद ६० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको छ । सुन व्यवसायी बिकलाई चोरीका गरगहना खरिद गरेको आरोपमा पक्राऊ गरिएको हो । चोरीको सुनलाई गालि नयाँ बनाईएको थियो । उनीहरु दुवै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता गरिएको छ । दुवै जनालाई ४ दिन पुर्पक्षमा राख्नको लागि जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

नेपालकाे पासपाेर्ट विश्वकै कमजाेर, जापानकाे सबैभन्दा बलियाे !

0

नेपालको पासपोर्ट (राहदानी) विश्वकै कमजोर रहेको एक अध्ययनले देखाएकाे छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको हो ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १ सय ६ औँ स्थानमा राखेको छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१ सय ५ औँ) स्थानमा छ । गएको वर्ष नेपाल १ सय ९ औँ स्थानमा रहेको थियो ।

विश्वका कति देशले भिसाविना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिङ्गापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् । जापानी नागरिकहरूले पहिले नै भिसा नलगाइ संसारका एक सय ९३ देशको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ देशको मात्र भ्रमण गर्न मिल्छ ।

दोस्रो शक्तिशाली सिङ्गापुर र दक्षिण कोरियाको राहदानीले एक सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले एक सय ९० देश घुम्न सकिन्छ ।

दक्षिण एसियाली देशहरूमध्ये भारत ८७, भुटान ९३, बङ्गलादेश १ सय ४ र पाकिस्तान १ सय ९ औँ स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका देशमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औँ स्थानमा) छ ।

यस्ताे छ सूची– 

म्याग्दीमा असार महिनामै करोडौ खर्च

0

म्याग्दीमा पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् । गत आवमा जिल्लामा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको म्याग्दीमा संघीय र प्रदेश सरकार मातहतका कार्यालयबाट ठूलो बजेट असार महिनामा खर्च भएको छ। संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको हो । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४ दशमलव ४५ प्रतिशत अथवा रु ३८ करोड ५० लाख २४ हजार बजेट असार महिनामा खर्च भएको छ।

संघीयतर्फ पुँजीगत शीर्षकमा रु ४० करोड ४१ लाख २८ हजार बजेट विनियोजन भएकामा असार महिनामा रु १३ करोड ४० लाख ११ हजार ७७४ सहित कूल रु २४ करोड ५५ लाख २६ हजार ८९ खर्च भएको छ । प्रदेशका कार्यालयमा रु ८१ करोड १७ लाख ८८ हजार विनियोजन भएकामा रु ६२ करोड छ लाख २६ हजार ६९१ खर्च भएको छ ।खर्च भएकामध्ये रु २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो ।

संघीय सरकारको चालुतर्फ रु तीन अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३६२ बजेट विनियोजन भएकोमा रु तीन अर्ब ३० करोड १८ लाख चार हजार १०३ अथवा ९४ दशमलव ७२ प्रतिशत खर्च भएको छ । रु ५१ करोड १३ लाख ६७ हजार ७२९ संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । संघीय र प्रदेशको चालु बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदान समेत समेटिएको छ । प्रदेशको चालु शीर्षकमा रु ४८ करोड ५३ लाख विनियोजन भएकोमा रु ३६ करोड ७८ लाख ४९ हजार ४८० खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा रु १३ करोड ३५ लाख ८३ हजार १४५ खर्च भएको छ ।

आगामी तीन दिन भारी वर्षाको प्रक्षेपण

0

आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ।बुधबार बिहान देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

राती देशका केहि स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।

जारी बुलेटिनमा भनिएको छ,  ‘सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

बिहीबार पनि पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।‍ महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।