Monday, May 12, 2025
26.9 C
Beni
26.9 C
Beni
Monday, May 12, 2025
Home Blog Page 811

अनिकालको साथी ‘धर्म भकारी’

0

मानिसले ऋण लिन थाले, एैँचोपैँचो बिर्से । यसले धर्म भकारीजस्ता सामाजिक चल्ती र थिति ओझेलमा परे तर आधुनिक विकासको चरम स्थितिमा पनि हाम्रा गाउँघरमा अझै पनि पुराना संस्कृति र जीवनशैलीका अवशेष बाँकी छन् ।

‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ ।

समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो । सामाजिक परोपकारका विभिन्न क्षेत्रमध्ये अनिकाल र आपत्‌विपत्‌मा परेकालाई समाजका सबै सदस्य मिलेर सहयोग गर्ने । भविष्यमा आउन सक्ने सङ्कटलाई मध्यनजर गर्दै पहिलेदेखि नै अन्नलगायतका आवश्यक सामग्रीको जोहो गर्ने प्रचलन समाजमा थियो ।

पहिलेपहिले अनिकाल र विपद् पर्दा हुनेले अन्न दिने, नहुनेले लाने प्रथा थियो । गाउँलेले त्यसलाई ‘धर्म भकारी’को नाम दिएका थिए । किसानले मुठ्ठी दान गरेर धर्म भकारीमा अन्न थुपार्थे । अन्न नासिँदा, खडेरी वा बर्खा आदि समयमा त्यही अन्नको पालोपैँचो चल्थ्यो । भोकमरीमा हातमुख जोरिन्थ्यो ।

समय फेरियो । गाउँघरमा पुस्तौनी प्रथाका रुपमा रहेको धर्म भकारी समयक्रममा भने हराउँदै गयो । अर्थोपार्जनका नयाँ उपाय निक्लिए । बजार बस्यो । पैसाबाट किनमेल हुन थाल्यो । सहकारी र बैंकहरु खुले ।

मानिसले ऋण लिन थाले, एैँचोपैँचो बिर्से । यसले धर्म भकारीजस्ता सामाजिक चल्ती र थिति ओझेलमा परे तर आधुनिक विकासको चरम स्थितिमा पनि हाम्रा गाउँघरमा अझै पनि पुराना संस्कृति र जीवनशैलीका अवशेष बाँकी छन् ।

त्यसकै एक उदाहरण हो, म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको धर्म भकारी । ठ्याक्कै उहिल्यैकै स्वरुप र तरिकामा नचले पनि गाउँलेले जेनतेन त्यसलाई जोगाएका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई खाद्यान्नको सङ्कट पर्दा सारथी बन्दै आएको धर्म भकारी खाद्यान्नको आयात बढेसँगै संरक्षणको पर्खाइमा छन् ।

पछिल्लो समय बजारबाट आयातित खाद्यान्न छ्यापछ्याप्ती गाउँघरमा आउन थालेपछि ताकमस्थित धर्म भकारी सङ्कटमा पर्दै गएको स्थानीयवासी गोपाल आचार्य बताउँछन् । स्थानीय प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले ताकममा सञ्चालन गरेको धर्म भकारीको महत्व खाद्यान्न आयातका कारण कम हुँदै गएको हो ।

स्थानीय गोपाल आचार्यका अनुसार अहिले सो अन्न भकारीमा ४०/४५ मुरी धान मात्र रहेको र आगामी असोज÷कात्तिकबाट कोदो, मकै, गहुँ पनि सङ्कलन गर्ने योजना रहेको छ । पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मङ्सिरमा धान उठाएपछि सदस्यसँग सङ्कलन गरेर धर्म भकारीमा राख्ने र चाडबाडको अवसर पारेर भदौ, असोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आएको संस्थाका पूर्वअध्यक्ष रुक्मिणी पौडेलले जानकारी दिइन् ।

‘धर्म भकारी अलि पहिलैबाट सञ्चालित थियो, त्यसलाई थप व्यवस्थापनका लागि २०६८ सालमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौँ’, आचार्यले भनिन्, ‘तर पछिल्लो समय खाद्यान्नको आयातका कारण धर्म भकारीको महत्व कम हुँदै गएको छ ।’

९० जना शेयर सदस्य रहेको संस्थाले सुरुका वर्षहरुमा मङ्सिरमा धान भित्र्याउने समयमा खलो (धान झाँट्ने ठाउँ) बाट नै ८० मुरीसम्म धान सङ्कलन गर्दै आएको थियो । संस्थाले शेयर सदस्यसँग शेयरका रुपमा धान सङ्कलन गर्ने र सङ्कटको समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ ।

संस्थाबाट धान लैजाने सदस्यले मङ्सिरमा पाँच पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनुपर्दछ । धान लगेको सदस्यले मङ्सिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन ।

चाडबाडको समयमा चामलको अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो, स्थानीय ईश्वरी आचार्यले भनिन्, ‘पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छोडेपछि धर्म भकारीको महत्व पनि क्रमशः कम हुँदै गएको छ ।’

पहिले पहिले चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्म भकारी आवश्यक ठानेर स्थानीय अगुवाले यसको सञ्चालन गरिन्। हराउला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएका छौँ, तर अझै यसलाई व्यवस्थापन गर्न संस्थालाई धौधौ परेको स्थानीयले बताएका छन् ।

संस्थाले पछिल्लो समय सदस्यसँग साप्ताहिक रुपमा वचत सङ्कलन र कर्जा लगानीसमेत गर्दै आइरहेको छ । ‘हामी अझै अलमलमा छौं, कसरी यसलाई संरक्षण गर्ने र सहकारीलाई सदस्यको सेवामा लगाउने भन्ने विषयमा सरोकारवालाका तर्फबाट सहयोगको अपेक्षा गरेका छौँ।’, उनले भनिन् ।

गाउँघरमा उत्पादन हुने खाद्यान्नलगायतका वस्तुको उत्पादन, भण्डारण र प्रयोग कम हुँदै गएको, आयातित खाद्यान्नका कारण गाउँका जनताको आम्दानी बजार झरेको र विभिन्न प्रकारका विषादी प्रयोग भएका खाद्यान्न खान थालेका कारण रोगको प्रकोपसमेत बढेको स्थानीयवासीको भनाइ रहेको छ ।

गाउँमा चाडबाडको समयमा चामलको समस्या हुन नदिन, महिलालाई सङ्गठित भएर काम गर्न, नेतृत्व विकासका लागि सहयोग पुगोस भनेर धर्म भकारी सञ्चालन गर्नुका साथै त्यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको स्थानीयवासी देवेन्द्र थापाले बताए । उनले धर्म भकारीलाई सबैको सहयोग र समन्वयमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

ग्रामीण क्षेत्रमा सहकारीले जनताको आयस्तर उठाउन तथा सहज जीवनयापनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन्, सहकारीको प्रवद्र्धनका लागि स्थानीय तहलगायत सरकारी निकाय र अन्य सङ्घसंस्थाको समेत सहयोग हुनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

धर्म धकारीबाटै पछिल्लो समय खाद्य बैंकको अवधारणा आएको पाइन्छ । देशका विभिन्न ठाउँमा यस्त खाद्य बैंकमार्फत किसानलाई बीउबिजन र अन्नपात वितरण गर्ने गरिन्छ । चाहिँदाको बेला धर्म भकारीबाट अन्न झिकेर लान पाइने र पछि प्रतिपाथिको एक मानाका दरले ब्याजसहित फिर्ता गर्नुपर्ने नियम समितिले बनाएको छ । धर्म भकारीको रेखदेखसहित अन्न लेनदेनको प्रबन्ध समूहले नै गर्ने गरेको छ ।

वर्षभरिमा जहिले अन्न लगे पनि नयाँ अन्न फलेर भित्र्याउने याममा अन्न फिर्ता गर्नुपर्छ । यदि त्यसबेला सबै फिर्ता गर्न नसके ब्याजबापतको मात्र धर्म भकारीमा जम्मा गरी र बाँकी आउँदा वर्षमा तिर्न पनि सकिने व्यवस्था छ ।

धर्म भकारीलाई व्यवस्थित गर्न भवन निर्माण समेत गरिएको छ । स्थानीय स्व झनबहादुर थापा र उहाँकी श्रीमती लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको र सोही जग्गामा श्रमदानबाट भवन निर्माण गरिएको ताकमकी अगुवा महिला नेत्री अमृता भण्डारीले बताउनुभयो ।

आयातित सामग्रीको बढ्दो प्रभाव र सहरकेन्द्रित बसाइँसराइका कारण गाउँघरमा समेत भकारी राख्ने प्रचलन हराउँदै गएको समयमा धौलागिरि गाउँपालिकाको ताकममा रहेको धर्म भकारी यस क्षेत्रको एउटा उदाहरणीय काम बनेको छ ।

खाद्यान्न व्यवस्थापन चुनौतीपूर्ण : एफएओ

नेपालमा अहिले पनि अधिकांश परिवार कृषिमै आश्रृत छन् । अझै पनि ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि कार्यमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको तथ्याङ्क छ तर, खाद्यान्न उत्पादन भने घट्दै गएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसरी खाद्यान्न उत्पादन घट्दै जाने र आयातित खाद्यान्न पनि रोकिने समय आयो भने यस्ता धर्म भकारी तत्कालको राहतका लागि निकै उपयोगी रहनेछन् ।

विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न सङ्कट हो । स्थानीय विशेषता रहेका अन्नबाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउबिजन लोप हुँदै जानु २१ औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती भएको एफएओको प्रतिवेदनमा भनिएको छ ।

सन् २०२५ सम्ममा विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठूलाठूला कम्पनीले विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्नुपर्ने सो प्रतिवेदनमा उल्लेख छ । पृथ्वीको जनसङ्ख्या पनि दिनानुदिन बढ्दो क्रममा छ र बढ्दो जनसङ्ख्याको अनुपातलाई खाद्यान्न पर्याप्ततातर्फ लैजान कृषिका पारम्परिक विधिलाई पनि जलवायु परिवर्तन अनुकूल बनाउँदै अझ उत्पादनमुखी र व्यवसायीकरण गर्न जरुरी देखिएको वरिष्ठ कृषि वैज्ञानिक डा टीकाबहादुर कार्की बताउँछन् ।

सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको धेरै निर्यात गर्ने देशमा छैटौँ स्थानमा पर्दथ्यो तर विस्तारै नेपालमा कृषि कार्य ह्रास हुँदै जाँदा आज चामललगायत धेरै कृषिजन्य उत्पादन आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । वैदेशिक रोजगारप्रति युवाको आकर्षण बढ्ने क्रमले पनि कृषि पेसा उपेक्षित बन्दै गएको छ ।

भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ । हाम्रो उब्जनशील खेत र माटोहरु बाँझै छन् । स्कुलको पाठ्यक्रममा पूर्वव्यावसायिक शिक्षाका रुपमा कृषि कार्य र औजारबारे शिक्षा दिने विषय हटाइएकाले विद्यार्थीमा कृषि कार्यप्रति उत्सुकता जगाउन र ज्ञान बढाउन नसकिएको डा कार्कीको भनाइ छ ।

ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव र भोकमरीको समस्या भएको खण्डमा यस्ता धर्मभकारीको महत्व र उपयोगिता बल्ल थाहा हुनेछ । ताकमेलीको सिको गर्दै अन्य स्थानमा पनि धर्म भकारी स्थापना गरी व्यवस्थितरुपमा सञ्चालन गर्न सकिएमा भोकमरीको समस्या कम गर्न सहयोग पुग्नेछ ।

साउनको पहिलो सोमबार : गलेश्वरमा ३ लाख ३३ हजार भेटी संकलन

0

म्याग्दीको बेनी नगरपालिका-९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो ।

सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ३३ हजार ५५६ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताउनुभयो । ‘संकलित भेटी कोषको खातामा जम्मा गरिएको छ,‘ । ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ’ कोषाध्क्ष रोकाले भन्नुभयो ।

मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा फिजारिएर करिव साढे घण्टासम्म गनेर सार्वजनिक गरिएको कोषकी सदस्य गौमायाँ गर्बुजाले बताउनुभयो ।

दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । यसपटक पहिलो सोमबार अनुकल मौषमका कारण भक्तजनको भिड लागेको थियो । साउन महिनामा ५ सोमबार परेकाले अन्य सोमबार समेत भक्तजनको भिड लाग्ने अनुमान गरिएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । भक्तजनको सहजताका लागि प्रवेशद्धारदेखि मन्दिरका विभिन्न स्थानमा स्वयमसेवक तथा सिसीक्यामेराले समेत निगरानी गरिएको छ ।

गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरुबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरु आएका थिए ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने ब्यवस्था मिलाइएको छ ।गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा भेटी सार्वजनिक गरिदैं ।

पोखरा-मुस्ताङ रूटमा नियमित रूपमा हवाई उडान हुन सकेन

0

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा यएरको विमान दुर्घटना भएपछि मुस्ताङमा हवाई सेवा नियमित हुन सकेको छैन् । साेही विमान दुर्घटनापछि असार मसान्तसम्मको डेढ महिनामा जम्मा ९ पटक उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । सुमित यएरले जेठ २१ गते ५ उडान र असार ७ गते ४ वटा उडान मात्रै गरेको हो । तारा यएरले पोखरा–जोमसोम रूटको उडान तालिका नै हटाएको छ ।

पोखरा–जोमसोम रूटमा व्यस्त सिजनमा दैनिक १५ देखि १८ वटासम्म उडान हुँदै आएको थियो भने अफ सिजनमा पनि दैनिक एक दुई उडान नियमित हुने गर्दथ्यो । तर तारा यएरको विमान दुर्घटनापछि भने पोखरा–जोमसोम रूटमा उडानै हुन छाडेको भन्दै मुस्ताङका पर्यटन व्यवसायीहरू चन्तित बनेका छन् ।यता, जोमसोमस्थित नागरिक उड्डयन कार्यालयले भने प्रतिकूल मौसम र अफ सीजन भएका कारण उडान नियमित नभएको दावी गरेको छ ।

परियोजना सकिँदा स्वास्थ्यकर्मी अभाव, अस्पतालको सेवा प्रभावित

0

स्वास्थ्यकर्मी अभावमा बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलबभत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था ‘निक साइमन इन्स्टिच्युट’ (एनएसआइ)ले पठाएको चार स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित भएको हो ।

कोभिड कोषअन्तर्गत नियुक्त भएका १३ नर्स, चार अनमी, तीन ल्याब टेक्निसियन, तीन हेल्थ असिस्टेन्ट, दुई अहेव, दुई फार्मेसी सहायक, एक ल्याब असिस्टेन्ट र दुई हेल्थ असिस्टेन्टको असार मसान्तदेखि करार अवधि सकिएको छ ।

असार मसान्तबाट एनएसआइको परियोजना सकिएकाले एक मेडिकल अधिकृत, एक एनेस्थेसिया सहायक, एक स्टाफ नर्स र एक बायोमेडिकल इक्युपमेन्ट टेक्निसियन अस्पतालबाट बाहिरिएका छन् । एनेस्थेसिया असिस्टेन्ट नै नभएपछि बेहोस बनाएर गर्नुपर्ने सम्पूर्ण उपचार सेवा बन्द भएको छ । अस्पतालले विज्ञप्ति प्रकाशित गरी ३८ स्वास्थ्यकर्मीको म्याद थप नहुँदा सेवा प्रभावित भएको जनाएको छ । साना शल्यक्रिया, शल्यक्रिया गरी सुत्केरी गराउने (सुरक्षित सुत्केरी सेवा) र सर्जिकल गर्भपतनसहित बिरामी बेहोस बनाई गरिने सबै उपचार बन्द भएको विज्ञप्तिमा उल्लेख छ ।

गत असार महिनामा बेनी अस्पतालमा सुरक्षित प्रसूति सेवा लिएका ९२ मध्ये १८ जनाको शल्यक्रिया गरिएको थियो । सेवा बन्द हुदा सुत्केरी हुने समय पुगेका गर्भवती बागलुङ वा पोखरा पुग्नुपर्ने भएको गुनासो गरेका छन् । अस्पतालमा आठ कन्सल्टेन्ट चिकित्सक र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि हाल १९ स्वास्थ्यकर्मी मात्रै छन् । ४० जना अपुग छन् । बेनी अस्पतालका प्रमुख जितेन्द्र कँडेलले करार अवधि सकिएपछि भएका स्वास्थ्यकर्मीको बिदाइ र थप जनशक्ति व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो ।

मेडिकल, सर्जिकल, बालरोग, स्त्रीरोग, नाक–कान–घाँटीसमेतका वार्ड स्थगित गरी प्रसूति, जनरल वार्ड मात्र चलाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । एनेस्थेसियासँग सम्बन्धित जनशक्ति नहँुदा शल्यक्रिया प्रभावित बनेको छ । हाल दरबन्दीका १९ बाहेक छात्रवृत्ति करारका तीन कन्सल्टेन्ट, चार मेडिकल अफिसर र अस्पताल व्यवस्थापन समितिले नियुक्त गरेका अन्य स्वास्थ्यकर्मी छन् । डायलसिस, फार्मेसी, विलिङ, दर्ता, इन्डोर र आकस्मिकमा आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कर्मचारी नियुक्त गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

पचास शय्या क्षमताको अस्पतालमा बालरोग, स्त्रीरोग, हाडजोर्नी, फिजियोथेरापी, रेडियोलोली, शल्यक्रिया, एनेस्थेसियासमेत सातवटा वार्ड (विभाग) छ । सोहीअनुसार प्रत्येक वार्डमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल चिकित्सक, चार नर्सले सेवा दिने गरेका थिए । चार मेडिकल अधिकृतको दरबन्दी भएकामा दुई जना अध्ययन बिदामा छन् । एक जना रिक्त छ ।

गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषबाट तलबभत्ता दिने गरी गत पुसमा नियुक्त गरेका ३५० स्वास्थ्यकर्मीको करार अवधि सकिएपछि प्रदेशका ११ जिल्लाका अस्पतालको सेवामा असर परेको छ । कोरोना कम भएको अवस्थामा स्वास्थ्यकर्मी जिल्ला अस्पतालमा रहेर अन्य बिरामीको उपचारमा खटिएका थिए । नयाँ कर्मचारी नियुक्त नगरी करारमा रहेका कर्मचारीलाई हटाउँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

मोना फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी चयन

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी चयन भएका छन् । आइतबार फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद भट्टचन,बिक्रम भण्डारी, रेक पुन, महासचिव प्रताप मल्ल, कोषाध्यक्ष ओम गौचन, सहसचिव महेन्द्रबहादुर बोहोरा रहेका छन् । फ्रान्समा रहेका म्याग्देलीको साझा संस्था मोनाको कार्यसमिति सदस्यहरूमा दिनेश कार्की, विकाश शेरचन, प्रेमबहादुर थापा मगर, शिखर पुन, देवान खड्का र रमेश बोहोरा रहेका छन् ।

मोनामार्फत गरिने खेलकुदजन्य गतिविधिलाई संयोजन गर्न यूवा तथा खेलकुद संयोजकमा प्रेमबहादुर थापा मगर र सहसंयोजक शिखर पुनलाई चयन गरिएको मोना फ्रान्सले जनाएको छ । निर्वाचन समितिमा मोना फ्रान्सका संस्थापक अध्यक्ष हेम बानियाँ र एकता समाज फ्रान्सका संस्थापक अध्यक्ष तप्त भण्डारीले नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यको घोषणा गरेका थिए ।

मोना फ्रान्समार्फत जिल्लामा आर्थिक अवस्था कमजोर भएकाको उपचार तथा विभिन्न सामाजिक कार्यमा सहयोग भएको छ । नवनिर्वाचत अध्यक्ष केसीले फ्रान्समा रहेका म्याग्देलीलाई मोनामा आवद्धका साथै विभिन्न कार्यक्रमहरु गरिने बताए । उनले फ्रान्समा रहेका म्याग्देली समस्यामा परेमा वा जन्मभूमिका रचनात्मक सहयोग गर्ने गरी पूरानो कार्यसमितिको अनुभवलाई लिएर काम गर्ने बताए ।

बेनी-अर्थुङ्गेको कालोपत्रे सडकमा कच्चीको भाडा तिर्न बाध्य

0

बेनी-अर्थुङ्गे सडक कालोपत्रे भईसक्दा पनि यातायात व्यवसायीले कच्ची सहर भाडा असुलिरहेका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे गरिएको सडकमा साउन १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरिएपनि कालोपत्रे भएको बेनी–अर्थुङ्गे सडकखण्डको करिब ३ किलोमिटरमा भने कच्ची सडक सहर भाडा लिने गरिन्छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले उक्त सडकखण्डका बारेमा निर्णय गरेपछि सर्वसाधारण आक्रोशित भएका छन् । बेनी–अर्थुङ्गे हुदै नगरपालिको वडा नं ५, ६, ९ र १० वडा तथा छिमेकी मंगला गाउँपालिका वडा नं १ र रघुगंगा गाउँपालिका वडा नं ५ र ६ का बासिन्दा आवतजावत गर्ने गर्दछन् ।

‘कालोपत्रे गरेको उक्त सडकमा तत्काल भाडा समायोजन हुनुपर्छ’ अर्थुङ्गेका प्रमोद शर्माले भने । उक्त सडकखण्डमा दैनिक भाडाको सवारीसाधनमा आवतजावत गर्नेले कालोपत्रे सडकमा भएको भाडा समायोजनकाग लाई बेल पाक्यो हर्ष न विस्मात’ भने जस्तै नै भएको बताएका छन् ।

अहिले प्रति यात्रु १ सय रुपैयाँ तिदैं आएको उक्त सडकखण्डमा भाडा समायोजन भएपछि आधा घट्ने छ । आइतबारदेखि लागु भएको भाडा तिर्न खोन्दा यात्रुबाहक बस, बोलेरो जिप, लगायतका साधनका चालकले भाडा समायोजन बेनी–दरबाङ सडकखण्डमा मात्रै भएकाले पुरानै भाडा दिएमात्रै लैजाने बताउने गरेको यात्रुको गुनासो छ। यता सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले उक्त खण्डका बारेमा गुनासो आइरहेको बताउँदै नयाँ भाडादर कायम हुने बताए ।

कालोपत्रे भएपछि कच्ची सडकको भाडा लिनु ठिक नभएको बताउँदै यातायात ब्यवसायीले बेनी–दरबाङकै मापदण्ड प्रयोग गरी भाडादर कायम गर्नुपर्ने सहायक प्रजिअ शर्माको भनाई छ । यसैबीच बेनी–दरबाङ सडकखण्डको भाडादर समेत निर्णय भए अनुसार नभएकाले गुनासो गरिएको छ भने जिल्लाभरको भाडादर महंगो भएकाले एकैपटक समायोजन हुनुपर्ने सर्वसाधारणको माग छ ।

५२ बर्षपछि घर फर्किएका दलबहादुरलाई लायन्स क्लव दोभानको सहयोग

0

५२ बर्षपछि भारतबाट रित्तै फर्किएका एक ब्यक्तिलाई सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ म्याग्दी दोभानले आर्थिक सहयोग गरेको छ । १७ बर्षको उमेरमा घर छोडेर भारत पुगेका म्याग्दीको मंगला गाउँपालिका वडा नं २ सिमलचौरका दल बहादुर घर्ती क्षत्रीलाई क्लवले सोमबार नगद २० हजार हस्तान्तरण गरेको हो ।

भारतमा रहेका विभिन्न नेपाली संघसंस्थाको सहयोगमा नेपाल फर्किएका जिसीको एउटा आँखा र हातमा समस्या रहेको क्लवकी अध्यक्ष कमला जिसी खत्री जिसीले बताउनुभयो । ‘उहाँको अवस्था दयनीय छ,‘उपचारमा समेत आर्थिक आवश्यक छ’ अध्यक्ष जिसीले भन्नुभयो । घर फर्किएपछि आफन्तको सहयोगमा निर्वाह गरिरहनुभएका बृद्धको उपचारमा थप सहयोग आवश्यकता रहेको क्लवकी अध्यक्ष जिसीको भनाई छ ।

पाँचदशक परिवारको सम्पर्क बाहिर रहेको अवस्थामा घरमा बुबाको निधन भएकाले सहयोग रकमबाट कृया तथा बचेको आर्थिकबाट उपचारमा खर्च गर्ने दलबहादुरले बताउनुभयो । ‘तन्नेरी अवस्थामा गएको थिए, बुढेशकालमा रित्तै फर्किए,‘यो सहयोगबाट खुसी छु’ दलबहादुरले भन्नुभयो । लायन्स क्लवको सचिवालयमा आयोजित कार्यक्रममा घरायसी र भारतमा भोगेको समस्याका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा खबरा बस्ने मुटुरोगी रोशन परियारलाई ८ हजार, राखुकी मृगौला पीडित सिता भण्डारीलाई ५ हजार सहयोग गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा दोभानकी संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ, लायन्स क्लव अन्तराष्ट्रिय बालबालिका बिभागकी प्रमुख सुनिता केसी, विभाग अधिकारी नविना रावल, क्लवका पूर्व अध्यक्ष सहित नयाँ कार्यसमितिको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवकी सचिव विष्णु गुरूङले गर्नुभएको थियो ।

कोरियामा म्याग्दी रनिङ कपको तयारी तिब्र

0

दक्षिण कोरियामा हुन लागेको म्याग्दी रनिङ कप-२०२२ भलिबल खेल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । कोरियामा रहेका म्याग्देलीको साझा संस्था मोना कोरियाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन हुने पुरुष तथा महिला भलिबल प्रतियोगिताको विभिन्न उपसमितिहरूमार्फत तयारी तिब्र पारिएको छ ।

मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश केसी संगबुक कुमिन छेयुक ख्वान सउलमा हुने प्रतियोगिताको जुलाई २४ तारिकका दिनदेखि नामदर्ता शुरु गरिने जानकारी दिए ।

‘खेलमार्फत नेपालीलाई जोड्ने प्रयासमा सधै छौ,‘खेलको तयारी तिब्र गतिमा अगाडी बढेको छ’ अध्यक्ष केसीले भने । प्रतियोगितामा प्रथम,द्धितिय र तृतियलाई क्रमश १५ लाख, ९ लाख र ३ लाख ५० हजार वन, मेडल र ट्रर्फी उपलब्ध गराइने प्रतियोगिता संयोजक पुस्कल पुनले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता शुल्क साढे ३ लाख वन राखिएको छ ।

कोरियामा रहेका नेपालीलाई मोना कोरियामार्फत यसअगाडी समेत विभिन्न खेलमार्फत जोड्ने प्रयास भएको थियो । खेलकुद सहित विभिन्न कार्यक्रममार्फत समस्यामा परेका म्याग्देली र जन्मभूमिमा सहयोग गदैं आएको छ । प्रतियोगितामा जीएमई रेमिटेन्स र ग्लोबल आईएमई बैंकको सम्पुर्ण सेवा उपलब्ध हुनेछ

साउन महिना : हिन्दू महिलामा मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’, के छ पौराणिक मान्यता ?

0

आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ ।

पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ । यद्यपि यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरीले साउने सङ्क्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको सङ्ख्याचाहिँ वर्षैपिच्छे बढ्दै गएको छ । कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन् । साउनमा शृङ्गारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारी बताउँछन् ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृङ्गार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला वस्त्र खरिदकर्ताका भीड बढेसँगै व्यापार बढिरहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मीना शृङ्गार पसलकी प्रोप्राइटर मीनादेवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताउनुभयो ।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ । विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन् । महिलाले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् ।जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र रातो कुर्था सलवारमा सजिएर हिँड्ने र सोमबार व्र समेत बस्न थालेको बताउनुभयो ।

उहाँका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ । श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्नुभएको हो । उहाँले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिनुभएको छ । साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरीसमेतले हरियो चुरा लगाएको देखिन्छ । हरियो चुरा, पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ ।

हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिला बताउँछन् । महिला आफ्नो श्रीमान्को सुस्वास्थ्यका लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ । यो एउटा आस्था पनि हो । सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ ।

कतिपयले यसलाई अनावश्यक तडकभडकका रूपमा पनि मनाउन थालेका छन् । नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । हिन्दू धर्म संस्कृति मान्ने महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ ।

“पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन । महिलाले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ”, बर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भन्नुभयो ।

साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ । तर पछिल्लो समय धार्मिक आस्थाका आधारमा मात्र नभई देखासिकीका रूपमा पनि चुरा÷मेहन्दी लगाइएको कतिपयको बुझाइ छ ।

के छ पौराणिक मान्यता ?

पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।

हरियो उपचारको रङ पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

यसकारण लगाइन्छ हरियो

शास्त्री नवीन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।
-रासस

बाँदरबाट बाली जोगाउनै मुस्किल

0

 म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ ।मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको थियो । उहाँले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाउनु भएको छ । “बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्”, उहाँले भन्नुभयो, “बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छाँै ।”

सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जङ्गल छेउको करिब पाँच रोपनी जग्गामा खेती गर्न छाडेको पाँच वर्ष भयो । “बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो”, उहाँले भन्नुभयो, “श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु ।”

म्ङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुनुहुन्छ । बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन् । खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ । बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ ।

आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पु¥याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेरसमेत अन्नपात नास गरिदिने गरेको छ । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताउनुभयो । वनको विस्तारसँगै जङ्गल वरपरका खेतबारीमा खेती हुन छाडेका छन् । आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन् ।

कानुनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ । बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताउनुभयो ।

पानीका लागि बस्तीमा आउने बाँदरलगायत वन्यजन्तु र मानिसको द्वन्द्व न्यूनीकरण गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । नेपालमा आसामी रातो, रातो र सेतो रङको हनुमान लङ्गुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लङ्गुर बाँदर एक–दुई वटाको सङ्ख्यामा मात्र भेटिन्छ । आसामी र रातो बाँदर भने समूहमा बस्छन् ।

यी बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने तथा नष्ट पारिदिने गर्छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ । बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेर खेतबारी बाँझो राख्न थालेका छन् । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउन मै व्यस्त हुने गरेको बेनपा–४ वास्कुनाका कृषक भीम थापाले बताउनुभयो । जलजलाको मल्लाजका किसान बाँदर धपाउन खेतबारीको डिलमा छाप्रो नै बनाएर बस्ने गरेका छन् ।

केही स्थानीय तहले बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेती गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन । बाँदर आतङ्क नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । त्यसैले सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर बाँदरको समस्या समाधान गर्नु आवश्यक भएको छ ।