Sunday, May 11, 2025
20 C
Beni
20 C
Beni
Sunday, May 11, 2025
Home Blog Page 812

बेनी-गलेश्वर जोखिमपूर्ण स्थानका सडक मर्मत

0

म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी जोखिमपूर्ण स्थानका सडक मर्मत गरिएको छ । बेनी नगरपालिकाले बेनी–गलेश्वर सडकखण्ड अन्तरगत साँघुरो र अप्ठ्यारोका साथै हिलाम्मे सडक मर्मत गरेको हो ।

साउने सोमबारमा सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुने गरी दुई ठाउँमा हिलो जमेको ठाउँमा मर्मत गरी ग्राबेल तथा जेसिबीको प्रयोग गरी सडक मर्मत गरिएको बेनपा–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिम रहेको स्थानमा अस्थायी रुपमा नियमित मर्मत गरिने छ । उक्त सडकखण्ड बेनी–जोमसोम–कोरला आयोजना अन्तरगत पर्ने भएकाले नगरपालिकाले अस्थायी रुपमा मर्मत गरेको वडा अध्यक्ष केसीको भनाई छ ।

सडकखण्ड मर्मत तथा जोखिमस्थानको स्थलगत रुपमा अनुगमनमा मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, वडा नं ७ का अध्यक्ष एवम् नगर प्रबक्ता रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल सहितको टोली रहेको थियो ।

मेयर केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र आयोजनालाई बाँकी काम तत्काल सम्पन्न गर्न समेत ध्यानार्कषण गराइएको बताउनुभयो । बेनी नगरले भक्तजनको सहजका लागि तत्काल आकस्मिक रुपमा काम गरेपनि आयोजना पक्षसँग सडक स्तरोन्नतीका लागि निरन्तर दवाव दिने नगरपालिकाले जनाएको छ।

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण सापटी कर्जा पाउने

0

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार गरी स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ ।

घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइने छ । त्यसमध्ये पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधीको तलब रहेका छन् ।

त्यस्तै, योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।
कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधीको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ ।

त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ ।

त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने छ । विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहने छ ।योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः प्रदान गर्न सकिनेछ ।

कोषले यसै महिनादेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रवाह प्रारम्भ गरिने सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए । clikmandu.com

वेष्ट प्वाइन्टका विद्यार्थीलाई नेपाली सेनाले तालिम दिदै

0

म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविका विद्यार्थीलाई नेपाली सेनाले राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जुनियर डिभिजन ४८ औँ व्याज क्याडेटमा छनौट भएको विद्यालयमा आइतबारदेखि विद्यार्थीहरुलाई प्रथम प्रवचन प्रदान गरिएको हो ।

जिल्लाभित्र भैपरि आउने संकटका समयमा राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र देशभक्त जनशक्ति उत्पादनमा सघाउने गरी तालिम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल डिबी दाहालले बताउनुभयो । ‘आजदेखि तालिम सुरु भएको छ,‘विद्यार्थीमा उत्साह छ’ प्रिन्सिपल दाहालले भन्नुभयो ।

७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। ७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम नेपाली सेनाले तोकेको स्थानमा हुन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भीडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन गरिन्छ।

तालिममा सर्वोत्कृष्ट हुनेलाई विदेशमा समेत तालिमको अवसर दिने गरिन्छ । खोज, राहत, उद्धार र प्राथामिक उपचारमा सेवा जस्ता व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले यसअगाडी म्याग्दीमा सञ्चालित तालिममा विद्यार्थीहरुको आकर्षण बढेको थियो । तालिमका क्रममा विद्यार्थीहरुले खाजा, ड्रेस नेपाली सेनाबाटै प्राप्त गर्दछन् ।

नेपाली सेनाको गुल्ममा तालिम दिनका लागि राष्ट्रिय सेवा दलबाट समेत प्रतिनिधि आउने छन् । म्याग्दीमा पहिलोपटक बेनी सामुदायिक विद्यालयबाट यो तालिम सुरु भएको थियो भने माउण्ट एभरेष्ट आवासीय मावि, जामुनाखर्क मावि, प्रकाश माविमा समेत सञ्चालन भइसकेको छ । जिल्लाका अन्य स्थानीय तहमा भने नेपाली सेनाको सेवादलमार्फत तालिम हुनसकेको छैन्

 

 

 

 

प्रेस यूनियन म्याग्दीको अक्षय कोषालाई १ लाख सहयोग

0

नेपाल प्रेस युनियन म्याग्दीले सुरू गरेको अक्षय कोषमा सफल यूवा ब्यवसायी भिम रोकाले १ लाख सहयोग गर्नुभएको छ । बेनी नगरपालिका-३, भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले उक्त सहयोग गर्नुभएको हो ।

म्याग्दीमा क्रियाशिल पत्रकारहरुलाई आपतकालिन सहयोग,प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले स्थापित कोषको अभियानलाई थप प्रभावकारी बनाउन उक्त सहयोग गरेको सहयोगदाता रोकाले बताउनुभयो । म्याग्दीको सञ्चार क्षेत्रमा भविस्यमा पनि सहयोग गर्नेछु’रोकाले बेनीअनलाइनलाई भन्नुभयो ।  प्रेस यूनियमा आवद्ध रहेका पत्रकार सहित नेपाली कांग्रेसका नेता तथा जनप्रतिििनधमार्फत हालसम्म करिब ४ लाख नगद सहयोग प्राप्त भएको छ ।

प्रेस यूनियनले ज्योति विकास बैंकमा खोलेको खातामा जम्मा भएको आर्थिकको ब्याजले विभिन्न कार्यक्रम गरिने छ ।  ५ लाखको लक्ष्य रहेको अक्षयकोषलाई संगठनका पुर्व र वर्तमान पदाधिकारी,स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सहयोग गरेको र सहयोग आउने क्रम जारी रहेको प्रेस यूनियनका अध्यक्ष राकेश शर्माले बताउनुभयो। ५ लाख मुद्धती तथा आपतकालिन रुपमा खर्च गर्ने गरी ८ लाखको कोष बनाउने प्रेस यूनियनले जनाएको छ ।

म्याग्दीका मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

0

म्याग्दीको स्थानीय तहमा निर्वाचित मगर जनप्रतिनिधिलाई सम्मान गरिएको छ । मगर संघ म्याग्दीले स्थानीय तहमा म्याग्दी जिल्लामा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित वडा सदस्यलाई सम्मान गरेको हो ।

साउने सङ्क्रान्तिको अवसरमा मगर संघको सभाहलमा आयोजित सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजकुमार थापा, मंगला गापा अध्यक्ष सतप्रसाद रोका मालिका गापा प्रमुख वेगप्रसाद गर्वुजा, त्यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती, धवलागिरी गापा अध्यक्ष प्रेम पुन उपाध्यक्ष रमेश पुन, अन्नपुर्ण गापा अध्यक्ष भरत पुन, उपाध्यक्ष दिवा तिलिजा रघुगंगा उपाध्यक्ष प्रेमकुमारी पुन, २७ वडा अध्यक्ष सहित ११८ निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरिएको मगर संघका सचिव खम थापा मगरले बताउनुभयो ।

सोही अवसरमा म्याग्दीमा मगर समुदायका सरकारी निकायका प्रमुखलाई समेत सम्मान गरिएको छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी राना, शिक्षा समन्वय एकाई प्रमुख दल थापा, सामाजिक बिकास कार्यालय प्रमुख रमेश थापालाई समेत सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा जातिय रुपमा सम्मानित भएपनि सम्रग समुदायको हित हुने गरी जनप्रतिनिधिले काम गरिरहेको बताइएको थियो ।

मगर बाहुल्यता रहेको म्याग्दीमा निर्वाचित जनप्रतिनिधिबाट मगर समुदायको इतिहासको संरक्षण तथा लोपउन्मुख कला र संस्कृतिको प्रर्वधनमा समेत भूमिका खेल्ने अपेक्षा गरिएको मगर संघ म्याग्दीकी अध्यक्ष डकमायाँ पाईजाले बताउनुभयो । म्याग्दीमा मगर समुदायबाट जिसस प्रमुख, गाउँपालिका उपप्रमुख ९ जना, २७ वडा अध्यक्ष सहित १सय १८ जना स्थानीय तहबाट निर्वाचित भएका छन् । तस्वीर सौजन्य लोकेश पुनमगर

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु : यी व्यवस्था लागू हुँदै

0

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा छ लाख रुपैयाँसम्म आयकर लाग्दैन ।

यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ । अविवाहितको हकमा पाँचदेखि सात लाख रुपैयाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत, १० देखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ ।

यसैगरी विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ । आठ लाखदेखि ११ लाख रुपैयाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपैयाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ ।

२० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ । सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ । आजदेखि पहिलो पटक विद्युतीय सेवा कर लागू हुँदैछ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका छन् ।

वार्षिक २० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ । स्थायी लेखा नम्बर नलिए पनि विद्युतीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।

नेपालमा बसेर विदेशमा आउटसोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था पनि लागू भएको छ ।  आर्थिक ऐनले व्यवस्था गरेको दूरसञ्चार सेवा शुल्क पनि आजदेखि लागू हुँदैछ । यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै १० प्रतिशत कायम गरिएको छ।

मनसुन ‘ब्रेक’ हुँदा गर्मी बढ्यो, बिहानै चर्को घाम

0

मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ।

मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन।

मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ।

पछिल्लो २४ घण्टामा धनगढीको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस छ । नेपालगञ्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २७ दशमलव ८ डिग्री सेल्सियस छ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव २, जनकपुरको ३५ दशमलव ८ डिग्री सेल्सियस छ। काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस छ । आज, भोलि र पर्सि मौसम यस्तै रहने तर पर्सि रातिदेखि भने पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सिरातिदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

सगरमाथा क्षेत्रकाे भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतले बढ्यो, निकुञ्जको राजस्व ७३ प्रतिशतले वृद्धि?

0

विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ८३ दशमलव ६२  प्रतिशतले पर्यटक आवागमन बढेको हो ।

निकुञ्जको तथ्याङ्क अनुसार आ.व.०७७/०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/०७९ मा २६ हजार ४ सय ७४ जनाले भ्रमण गरेका छन् । जुन सङ्ख्यात्मक हिसाबले २२ हजार १ सय ३९ जनाले बढी हो । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कार्तिक र फागुनदेखि वैशाखसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यस निकुञ्ज सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अवस्थित छ ।

निकुञ्जको राजस्व सङ्कलन ७४ प्रतिशतले वृद्धि

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा ७४ प्रतिशतले वृद्धि भएको छ ।

गएकाे आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ०७८/०७९ मा ७४ दशमलव ४३ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको हो । आर्थिक वर्ष ०७७/०७८ मा १ करोड २१ लाख राजस्व सङ्कलन गरेको निकुञ्जले ०७८/०७९ मा ४ करोड ७३ लाख २८ हजार ९ सय ९९ दशमलव १४ रुपैयाँ सङ्कलन गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयाे । उहाँका अनुसार ०७७/०७८ मा कोभिडका कारण सगरमाथा क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व सङ्कलन न्यून भएको थियो । तर ०७८/०७९ मा पर्यटन गतिविधि लयमा फर्किएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

निकुञ्जले पर्यटक प्रवेश शुल्क, गैरकाष्ठ वन पैदावर तथा हेलिकप्टर उडान तथा अवतरणबापत शुल्क लिने गरेका छन् । तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिव्यक्ति ३ हजार, सार्क देशका पर्यटकबाट १ हजार ५ सय, नेपाली पर्यटकबाट १ सय रुपैयाँ र भरियाबाट २५ रुपैयाँ प्रवेश शुल्क निकुञ्जले लिने गरेको छ ।

त्यसैगरी तेश्रो देशका विदेशी पर्यटकबाट प्रतिक्याम्प १ हजार ५ सय, सार्क देशका पर्यटकबाट १ हजार र नेपाली पर्यटकबाट ८ सय रुपैयाँ क्याम्प शुल्क लिने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो । हेलिकप्टर उडान तथा अवतरणबाट प्रतिपटक ३ हजार रुपैयाँका दरले अवतरण शुल्क लिने गरेको छ।

अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

0

अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो ।

दुई दिनसम्म चलेको प्रशिक्षणमा अनेमसंघको इतिहास र योगदान, अनेमसंघले बनाएको चौधबुँदे कार्यक्रम, जनताको बहुदलीय जनवाद (जबज), नेपालको राजनीतिक आन्दोलनमा अनेमसंघको योगदान, समसामयिक अवस्था, भावी योजना, साङ्गठनिक ढाँचा, अनुशासन, एमाले र अनमेसंघको अन्तर्सम्बन्ध, सङ्गठनको महत्व तथा विकास लगायतका विभिन्न विषयवस्तुहरुमा सहजीकरण गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य एवं अनेमसंघका केन्द्रीय अध्यक्ष थममाया थापा, एमाले केन्द्रीय सदस्य एवं अनेमसंघका केन्द्रीय सचिवालय सदस्य नरदेवी पुन, एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य एवं एमाले जिल्ला उपसचिव थमसरा पुन र अनेमसंघको केन्द्रीय सदस्य तथा एमाले जिल्ला सचिवालय सदस्य खरमाया बिटालुले सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले र अनेमसंघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एमालेकै जोडबलका कारण देश र नेपाली जनताले संविधान पाएको बताउँदै संविधानको कार्यान्वयनसँगै सङ्घीयतामार्फत देशको दीगो विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अनेमसंघको केन्द्रीय अध्यक्ष समेत रहनुभएकी एमाले नेतृ थापाले अहिलेको सत्ता गठबन्धनले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लगाउँदै देशलाई श्रीलङ्का हुनबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने अवस्था आएको बताउनुभयो । अनेमसंघका जिल्ला अध्यक्ष यशुदा रोकाको अध्यक्षता र सचिव विष्णु गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागी सुष्मा बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बालोदय आधारभूत विद्यालयलाई यूकेबाट आर्थिक सहयोग

0

म्याग्दीको मंगला गाउँपालिका-१, भर्जुलामा अवस्थित बालोदय आधारभूत विद्यालयलाई एक परिवारले आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारका लागि भर्जुला घर भई हाल यूकेमा बसोबास गर्दै आएका भूतपूर्व ब्रीटिस आर्मी योगेन्द्रमान शेरपुन्जाले ५० हजार आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक मनकुमार जुग्जाली जानकारी दिए ।

‘उहाँहरुको यसअगाडी पनि धेरै सहयोग छ,‘सामाजिक क्षेत्रमा धेरै योगदान गर्नुभएको छ’ शिक्षक जुग्जालीले भन्नुभयो । बिभिन्न संघ संस्थामा आर्थिक सहयोग गर्दै आएका शेरपुन्जाले यो भन्दा पहिला पनि विद्यालयलाई १ लाख ८० हजार सहयोग गरेका थिए । सहयोगदाता शेरपुन्जाका दाजु क्या. जोगबाहादुर शेरपुन्जा पनि विगत लामो समयदेखी विद्यालयलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर रोकाले विद्यालयको सर्बाङ्गीण विकासमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण स्थानीयहरुको सहयोग आवश्यक रहेको बताएका थिए । त्यस्तै सहयोगदाता शेरपुन्जाले विद्यालयको वृद्धि विकासमका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्र.अ. झलकनाथ उपाध्यायले विद्यालयको बारेमा जानकारी गराएका थिए भने शिक्षक मनकुमार जुग्जालीले कार्यक्रम सञ्चालन गरेका थिए । भर्जुलाबाट स्वदेश तथा विदेशमा रहेकाले गाउँको विकासमा लाखौं सहयोग गरेका छन् ।