बागलुङमा बसको ढोकाबाट खसेर १ यात्रुको मृत्यु भएको छ । काठमाण्डौबाट रुकुमका लागि छुटेको बा ३ ख ९१८० नम्बरको बसको ढोकाबाट खसेर रुकुमका २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको हो ।
शनिबार बिहान ५ः४० बजेको समयमा गलकोट नगरपालिका–११ रिघा फेदिमा सडकमा खरायो देखेपछि समात्न बसको ढोकाबाट झर्ने क्रमममा बसले ठक्कर दिएर घाइते भएका बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो । मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको रिघा फेदिमा सडकमा खरायो देखेपछि समात्न बसबाट झरेका बस्नेत बसको टायरम मुनि परि घाइते भएका थिए । उपचारको क्रममा हटियास्थित इमर्जेन्सी पोलिक्लिनिकमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्याग्दीको गैरसरकारी संस्था कालीगण्डकी सामुदायिक विकास मञ्च (कदम)को नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रबार भएको १७ औ साधारणसभा तथा अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति चयन भएको हो ।
समितिको निवर्तमान अध्यक्षमा निलकण्ठ रेग्मी, उपाध्यक्षमा जगन्नाथ उपाध्याय, सचिवमा रक्षा पौडेल, कोषाध्यक्षमा प्रकाश रेग्मी र सहसचिवमा होसियारसिंह विक रहनुभएको छ । सदस्यहरुमा केशव ढुङ्गाना, सन्तमायाँ जुग्जाली, सन्तोष गौतम, भिमसरा पुन र पदेन सदस्यमा कार्यकारी निर्देशक मुक्ति ढुङ्गाना चयन हुनुभएको छ । कदमले म्याग्दीमा स्वास्थ्य क्षेत्रसंग सम्बन्धीत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पाँच वर्षअघि दाङ भालुवाङकी ज्योती केसीलाई ‘डिभि’ चिठ्ठाले अमेरिका तान्यो। उनको अमेरिका यात्राको एक मात्रै लक्ष्य थियो– पारिवारिक आर्थिक स्तर माथि उकास्ने। अर्थात उनका लागि अमेरिका मनग्य कमाई गर्ने केन्द्र बनेको थियो। तर अमेरिका उनका लाथि आर्थिक कमाई गर्ने ‘शहर’ मात्रै बनिदिएन। उनका लागि अमेरिका अध्ययन/खोज अनुसन्धानको बिशाल ‘किताब’ पनि बनिदियो।
अमेरिका पुगेको दुई वर्षसम्म ज्योती त्यहाँ रोजगारीमा लागिन् संगै अमेरिकाको जागिरे यात्राले उनलाई बृहत अध्ययनको बाटोमा लगायो। अनि ५ वर्षपछि अहिले ज्योती अन्तरिक्षयात्री बनेर घर फिरेकी छिन्। सम्भवतः उनी नै नेपालको पहिलो अन्तरिक्षयात्री पनि हुन्।
आर्थिक स्तर उकास्न अमेरिका रोजगारीमा रहेकी ज्योतीका लागि अमेरिकी वायु सेना बन्ने ‘ख्वाब’ जागिरहेको थियो। फलतः उनले अमेरिका पुगेको तीन महिनादेखिनै उनले अमेरिकी वायु सेना बन्ने तयारी थालिसकेकी थिइन्। उनलाई अमेरिकी वायु सेनाका लागि अमेरिकी सरकारले छनौट गर्यो। ‘म अमेरिकामा अर्कै जागिरमा थिएँ, तर अमेरिकी वायु सेना बन्ने तयारी पनि गरिरहेको थिएँ,’ ज्योतीले नागरिकसंग भनिन्, ‘अमेरिकी सरकारले फ्रि कोटामा मेरो नाम निकालिदियो।’ अमेरिकी वायु सेनामा नाम निस्किएपछि उनको १३ महिनाको तालिम सुरु भयो। ‘अमेरिकी सरकारले मेरो क्षमताको कदर गर्यो र मलाई फ्रि कोटामा सेलेक्ट गर्यो,’ उनले भनिन्, ‘१३ महिनासम्म हाम्रो ट्रेनिङ चल्यो, अनि म एयर फोर्स आर्मी बनेँ।’
झण्डै तीन वर्ष अमेरिकी वायु सेनाको जागिरकै क्रममा उनका लागि अन्तरिक्षयात्री बन्ने अर्को अवसर आयो। त्यसोत, अमेरिकी वायु सेना उनका लागि यो अवसर मात्रै थिएन, उनको जागिर सहजताका लागि थप कोशेढुंगा पनि थियो। ‘यो अवसर मेरा लागि निकै राम्रो थियो, मैले एयर फोर्सकै सहकर्मीहरुसंग पनि सल्लाह गरेँ, उहाँहरुले पनि धेरै राम्रो अवसर भन्नुभयो,’ उनले भनिन्, ‘अनि म यो अध्ययनका लागि पोल्याण्ड गएँ।’ अन्तरिक्षयात्री बन्नका लागि थालिएको दुई हप्ताको तालिममा उनी सहभागी भईन्। उनको यो प्रशिक्षण उनको ‘प्रयाक्टिकल्ली’ थियो। अन्तरिक्ष यात्राका लागि थालिनु पर्ने हरेक प्रकृया उनले यो अभ्यासका क्रममा गरिन्। यो प्रशिक्षण उनको शब्दमा भन्दा आईशोलेशन अर्थात यानमै राखेर गरिएको थियो। उनले एनालग अन्तरिक्षको प्रशिक्षण पूरा गरिन्।
‘हामीहरु ५ जना थियौँ, आईशालेशन (यान) मै रहेर हामीहरुले रिसर्च गर्यौँ,’ उनले भनिन् ‘मेरा लागि यो बिल्कुलै नयाँ अनि चुनौती पूर्ण अभ्यास थियो।’ त्यसोत, अमेरिकी वायु सेनाका लागि यो अन्तरिक्ष यात्रा थप कोशेढुंगा सावित हुने उनको भनाई छ। ‘म अमेरिकी वायु सेना हो, मेरो कर्म क्षेत्रका लागि पनि यो अन्तरिक्ष यात्रा थप कोशेढुंगा सावित बनेको छ,किनकी हामी वायु सेनाहरुका लागि यो थप सहज बन्छ,’ उनले भनिन्, ‘दुई हप्ता सम्म हामीहरु आईशोलेशन (यान) मै रहेर रिसर्च गर्यौँ, यो अवधि सम्म हामीहरुसंग कोही कसैको पनि भेट हुँदैन, मात्रै यानका ‘क्रु’ हरुसंग मात्रै कुराकानी हुन्छ।’
अभ्यासका क्रममा उनले पृथ्वीमै रिसर्च गरिन्, अनि अन्तरिक्ष यात्रीका लागि योग्य बन्न सफल भईन्। ‘हामीहरुले अभ्यासका क्रममा पृथ्वीमै रिसर्च गर्यौँ, अब हाम्रो रिसर्च पछि बल्ल माथि उड्छौँ र अध्ययन गर्छौँ,’ ज्योतीले भनिन्। उनका अनुसार खाना, सुत्ने व्यवस्थापन देखि सबै व्यवस्थापन यही यानभित्रै गरिएको हुन्छ। ‘हामीहरु खाना, सुत्ने सबै त्यहि आईशोलेशन भित्रै हुन्छ,’ उनले भनिन् ‘आईशोलेशन भित्र ५ देखि ६ जना मात्रै अट्ने सानो ठाउँ हुन्छ।’
पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेर अन्तरिक्ष यात्री बनेकी ज्योती अब नासासंगको सहकार्यमा रिसर्चका लागि उड्ने योजनामा छिन्। ‘अब मेरो उदेश्य भनेको नासासंगको सहकार्यमा अन्तरिक्ष यात्री बनेर उड्ने र नयाँ नयाँ खोज गर्ने भन्ने हो,’ उनले भनिन् ‘नेपालबाट अमेरिका फर्किएपछि अब मेरो प्रयास त्यस तर्फ हुने छ।’ तथापी आफ्नो कर्म अमेरिकी वायु सेनाको जागिरे भने यथावत राख्ने योजना छ। ‘अमेरिकी एयर फोर्समै रहेर अन्तरिक्ष यात्रीको यात्रा साकार पार्ने छु,’ उनले भनिन्।
अमेरिकी वायु सेना हुँदा पनि उनले अमेरिकाको टेक्सस आसपास कोभिडका बेला खटिएको स्मरण आफ्ना लािग निकै सन्तुष्ट पूर्ण क्षण रहेको बताईन्। ‘म कोभिडका बेला टेक्सस राज्यको आसपास लामो समय सम्म रहेर कोभिड व्यवस्थापन तथा भ्याक्सिन लगाउनका लागि खटिएँ,’ उनले भनिन् ‘मेरा लागि त्यो क्षण निकै चुनौती पूर्ण थियो, तर अहिले त्यो क्षेणले सन्तुष्टि मिल्छ।’ उनले अहिले पाईलट कोर्ष पनि पढिरहेकी छिन्।
मध्यमवर्गी परिवारकी ज्योतीको यो सफलताले उनको परिवारलाई निकै हर्षित तुल्याएको छ। ज्योतीका बुवा नरबहादुर केसीले छोरीलाई नेपालमै कसरी पढाउने भन्ने चिन्तन रहेको तर अमेरिकामा यति ठूलो सफता मिल्नु आफ्ना लागि निकै हर्षको बिषय भएको बताउँछन्। उनले भने, ‘नेपालमै कसरी राम्रो कलेजमा पढाउने भन्ने चिन्ता थियो, छोरी डिभी परेर अमेरिका गईन् र आज त्यहाँ पढेर अन्तरिक्ष यात्री बन्न सफल भएकी छिन्, यो खुशीभन्दा अरु हामी परिवारका लागि अरु के हुन सक्छ?’ nagariknews.com
चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो ।
त्यसैगरी सम्बन्ध विच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलाहरुलाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रावधानपनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिइन् ।
बैठकले नेपाल सरकारले पीछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधान समेत राखेको छ ।
समितिकी सचिव मिश्रले भनेकी छन्, ‘विवाह गरी वा नगरी एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्ध विच्छेद गरेर अनि श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यथित गरिरहेका त्यस्ता महिलाहरुलाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ । पारित गरेको छ ।’
उनले थप भनिन्, ‘त्यसैगरी ज्येष्ठ नागरिक भत्ताको सम्बन्धमा नेपाल सरकारले पीछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकि त्यस्तो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्नेछ भनेर यो विषयलाई समावेश गरेर पारित गरिएको छ ।’
समितिले न्यून आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलाहरुलाई पनि असहाय एकल महिला भत्ता दिने प्रावधान समेत पारित गरेको छ । त्यसैगरी सो घोषणागरी सामाजिक सुरक्षा भत्ता कसैले लिन नचाहेमा उसलाई राज्यले प्रशंशा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको समितिकी सचिव मिश्रले बताइन् ।
उनले भनिन्, ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको भन्दा न्यून आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएपनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका अन्य एकल महिलाहरुलाई असहाय एकल महिला भत्तामा समावेश गर्ने भनेर संशोधन गरिएको छ ।
त्यसैगरी सो घोषणा गरी कसैले भत्ता लिन नचाहेमा त्यस्ता व्यक्तिलाई प्रशंशा पत्रसहित सम्मान गर्ने भन्ने प्रावधान पनि समितिबाट पारित भएको छ ।’बैठकमा सांसदहरुले सामाजिक सुरक्षा भत्ता लिन नचाहनेहरुलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखेकी थिइन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरि क्षेत्रमा गरेको घुम्ती भेडा पालन यस भेगका युवाका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँमा रहेका युवालाईसमेत रोमाञ्चक व्यवसाय बनेको छ ।
करिब दुई दशकसम्म वैदेशिक रोजगारीमा मलेसिया र सिङ्गापुर बसेर स्वदेश फर्किएका छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबुबाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडा पालन गरेका छन् । आफ्नै पिता पुर्खाका पैतालाको डोबलाई पछ्याउँदै अहिले छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन् ।
छन्त्यालले जङ्गल, भिर, पहरो छिचोलेर धौलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामलीबाट १० दिनको कठोर यात्रा पछि शुक्रबार धौलागिरि आधार शिविरको खर्कमा आइपुगेको जानकारी दिए । “विभिन्न समस्याको सामना गर्दै धौलागिरि आधार शिविरको बेसक्याम्पमा सकुशल आइपुगेको छु”, छन्त्यालले भने । छन्त्यालको पारिवारिक बसाइ पोखरामा छ ।
सिङ्गापुरको रमाइलो जिन्दगी र पोखराको बसाइलाई समेत बिर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडा पालन गरेका छन् । भेडाको बथान लिएर छन्त्याल धौलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धौलागिरि हिमालको बेसक्याम्पतिर उक्लिएका हुन् ।
एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाखभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए । उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडा पालन गर्नु चुनौतीपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइ छ । बिहान उठेर भेडाको गणना गर्दै उनको दिन सुरु हुन्छ ।
त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउँछन् ।छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडा पालन सुरु गरेको बताए । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठमार्फत भेडा चराउँदै आएको उनको भनाइ छ । आफूबाहेक दुई हेरालोसमेत उनले राखेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस
कालीगण्डकी र म्याग्दीखोलामा निर्माणाधीन तटबन्धको संसदीय समितिद्वारा स्थलगत अनुगमन, तटबन्ध निर्माणको काम सन्तोषजनक रहेको समितिको ठहरव्यवस्थापिका संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वारा निर्माणाधीन तटबन्धको स्थलगत अनुगमन र निरीक्षण भएको छ ।
आज (शुक्रवार) उक्त समितिद्वारा म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्नका लागि कालीगण्डकी नदी र म्याग्दीखोलाको किनारमा निर्माणाधीन तटबन्धको अनुगमन गरिएको हो ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाको संयोजनमा समितिका सदस्यहरु घनश्याम खतिवडा, राजबहादुर बुढा क्षत्री, पोल्देनछोपाङ गुरुङ, लालकाजी गुरुङ तथा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ र निर्माण कम्पनीका प्रोप्राइटर राजकुमार श्रेष्ठसहितको टोलीले नदी तटबन्धनको अनुगमन गरेको जनाएको छ ।
उक्त टोलीले बेनीबजार र गलेश्वर बजार संरक्षण गर्नका लागि विभिन्न चार ठाउँमा निर्माणाधीन नदी तटबन्धको अनुगमन गरिएको जानकारी दिएको छ । संसदीय समितिसहितको टोलीले बेनीको कालीपुल, म्याग्दी जेसीजको भवन अगाडि, मङ्गलाघाट र गलेश्वर क्षेत्रमा नदी तटबन्धका लागि निर्माणाधीन कामको अनुगमन गरिएको प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले बताउनुभयो ।
गएको चैत महिनादेखि तटबन्ध निर्माणको काम सुरु गरिएकोमध्ये पहिलो चरणको हालसम्म झण्डै ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीको भनाइ छ ।रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले रौतह बि एण्ड बि काठमाडौंमार्फत माउण्ट धौलागिरि कन्टक्सन प्रालि म्याग्दीले नदी तटबन्ध निर्माणको कामको जिम्मेवारी लिएको छ ।
२ वर्षका लागि नौ करोड ४५ लाख रुपैयाँ बढीको लागतमा नदी किनारमा तटबन्ध गर्नका लागि निर्माणको जिम्मेवारी आफूले पाएकोमा अहिले नियमित रुपमा काम भैरहेको माउण्ट धौलागिरि कन्टक्सन प्रालिका प्रोप्राइटर राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्माणको काम भैरहेको क्षेत्रमा दैनिक ५० जना मजदुरहरु परिचालन भएका छन् । जोखिमपूर्ण सदरमुकाम संरक्षण गर्ने कार्यक्रमअनुसार आफ्नो पहलमा गत वर्षदेखि बहुवर्षे ठेक्कामार्फत नदीमा तटबन्ध निर्माणको काम सुरु भएकोमा सन्तोषजनक रहेको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।
निर्माणाधीन नदी किनारमा तटबन्ध निर्माणतर्फ ग्याबिन जाली भर्ने र कङ्क्रिट वाल लगाउने कामहरु भैरहेका छन् । ंबेनीको मंगलाघाट क्षेत्रमा उपभोक्ता समिति र ठेक्कामार्फत ८० मिटर ग्याबिन जाली लगाइएको छ भने गलेश्वरमा उपभोक्ता समितिमार्फत ३ सय २० मिटर लामो ग्याबिन जाली लगाइएको छ ।
यसैगरी कालीपुल क्षेत्रमा ठेक्कामार्फत ८० मिटर कङ्क्रिट वाल लगाइएको छ भने जेसीज भवनमूनि उपभोक्ता समितिबाट २ सय ६६ मिटर ग्याबिन जाली लगाइएको छ । त्यस्तै रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत कालीपुल बसपार्कमा रेलिङ निर्माण भएको छ भने मानिस हिँडडुल गर्नका लागि व्लक राखेर तीन मिटरको फुटपाट निर्माण गरिनेछ ।
यसअघि संसदीय समितिको टोलीले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको क्रममा भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण भैरहेको राहुघाट जलविद्युत आयोजनाको हालसम्म ४५ प्रतिशत भोतिक प्रगति देखिएको समितिका सदस्य एवं मोरङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले बताउनुभयो । आयोजना निर्माणमा ८० प्रतिशत भारत र २० प्रतिशत नेपालको मजदुर तथा निर्माण सामग्री प्रयोग भएको छ ।
विगत ७ वर्षदेखि जापानको ओसाकामा कार्यरत एक ३१ वर्षिय म्याग्देली युवाको आफू वस्ने कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएपछि विहीबार (हिजो) जापानको ओसाकामा रहेका म्याग्देलीहरुले जापानमा नै अन्त्यष्टि गरेका छन् ।
गत सोमबार ओसाका स्थित आफू बस्ने कोठमा मृत अवस्थामा भेटिएका म्याग्दीको मंगला गाउँपालिका वडा नं ४ बरंजाका ३१ वर्षिय अर्जुन रोका मगरको अन्त्यष्टिका लागि जापान सरकारको कानुन अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बिहीबार मात्र अन्तेष्टि गरिएको म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी एसिया प्याशिफिक संयोजक जापानका दीपक कार्कीले जानकारी दिनुभयो ।
संयोजक कार्कीले दिएको जानकारी अनुसार रोका मगर बिगत ७ बर्षदेखि जापानमा रहनुभई केही महिनादेखि ओसाका स्थित एक कम्पनिमा कार्यरत हुनुहुन्थ्यो। जुन २७ अर्थात् असार १३ गते बिहान आफु बस्ने कोठामा नै असामयिक निधन भई शव अन्त्येष्टिको निम्ती सम्पूर्ण प्रक्रिया पुरा गरि बिहीबार जापानको ओसाका शहरमा करिव ३२जनाको उपस्थितीमा शव अन्त्येष्टि गरिएको उहाँले जानकारी दिनुभयो ।
म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी एसिया प्याशिफिक संयोजक दीपक कार्कीको नेतृत्वमा म्याग्दी प्रवासी नेपाली संघ मोना जापान परिवार,मोना क्षेत्रीय समिति नागोयाका प्रतिनिधि, गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति कान्साई परिवार,मगर संघ कान्साई परिवार,र जापानमा रहेका स्व.रोका मगरका आफन्तहरुको उपस्थितिमा दिवंगत आत्माको चिरशान्तीको कामना र शोकाकुल परिवार जनमा समवेदना सहित अन्त्यष्टि कार्य सम्पन्न गरिएको मोना क्षेत्रिय कमिटीका सचिव सागर थापा बगालेले बताउनुभयो ।
बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप खरिद गरी वितरण गरिएको हो ।
ल्यापटप पाउनेमा बेनी नगरपालिका–२, ज्यामरुककोटको सरस्वती आधारभूत विद्यालय बगरफाँट र हंशबाहिनी आधारभूत विद्यालय खबरा, बेनपा–३, भकिम्लीको मुसुङडोले आधारभूत विद्यालय, बेनपा–४ सिङ्गाको बालमन्दिर आधारभूत विद्यालय डाँडाखेत, बेनपा–५, पुलाचौरको बालजागृति आधारभूत विद्यालय बगुवाखोला र ज्योती आधारभूत विद्यालय डडुवा तथा बेनपा–१० पात्लेखेतको विद्योदय आधारभूत विद्यालय वाखेत रहेका छन् ।
प्रति विद्यालयलाई जनही ७१ हजार रुपैयाँ बराबरको डेल कम्पनीको ब्राण्डेट ल्यापटप अनुदानस्वरुप उपलब्ध गराइएको बेनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई नगर प्रमुख सुरत केसीले उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्रोतव्यक्ति मोहन बानियाँको उपस्थितिमा सम्पन्न ल्यापटप वितरण कार्यक्रमको सञ्चालन स्रोतव्यक्ति जयराम सुवेदीले गर्नुभएको थियो ।
चालु वर्षमा बेनी नगरका ७ वटा विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण सिकाई सहजीकरण गर्नका लागि विद्यालयमा इन्टरनेट क्षमता विस्तार, आइसिटी उपकरण खरिद तथा मर्मतसम्भार गर्न र थप अनुदान उपलब्ध गराउन सकिने निर्देशनअनुसार ल्यापटप वितरण गरिएको बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले बताउनुभयो ।
इन्टरनेट सुविधा भएका तर उपकरणको अभावमा अनलाइनको माध्यमबाट शिक्षण गर्न तथा शिक्षण सिकाइमा आइसिटीको प्रयोग गर्न असमर्थ भएका, यसअघि आइसिटीसम्बन्धी कार्यक्रम नपरेका विद्यालयहरुमध्ये विद्यार्थीको सङ्ख्या, आइसिटी तालिम प्राप्त र जनशक्ति उपलब्ध विद्यालयलाई ल्यापटप सहयोग गरिएको छ ।
बेनी नगरपालिकाको आयोजनामा बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सिङ्गाको सहरी स्वास्थ्य केन्द्रको भवनमा आयोजित शिविरमा ६० जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआइए जाँच गरिएको थियो । भिआइए परीक्षणका क्रममा कुनै पनि महिलामा जटिल खालको समस्या नरहेको पाइएको जनाइएको छ । सोही अवसरमा नसर्ने रोग सुगर, प्रेसरको महिला ३९ र पुरुष २८ गरी ६७ जनाले परीक्षण गराएका थिए ।
नसर्ने रोगको परीक्षण गराएकामध्ये उच्च रक्तचाप (प्रेसर)तर्फ महिला ४ जना र पुरुष ६ जना तथा सुगरका एकएक जना महिला÷पुरुष गरी कुल ८ जनालाई रिफर गरिएको सिङ्गा स्वास्थ्यचौकीले जनाएको छ । यसअघि शिविरलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर प्रमुखमा निर्वाचित भएर पदबहाली गर्ने क्रममा तीनवटा स्वास्थ्यसम्बन्धी निर्णय गरिएको हुँदा सोहीअनुसार शिविरको आयोजना गरिएको बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले निःशुल्क स्वास्थ्य शिविरबाट रोगको परीक्षण गरी स्वास्थ्यलाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको थियो ।
शिविरको बेनी अस्पताल म्याग्दीका स्त्रीरोग विशेषज्ञ डाक्टर साजना श्रेष्ठ, सिनियर अनमी रुविना थापा, घतान स्वास्थ्यचौकीका सिनियर अनमी डेकमाया केसी र ज्यामरुककोट स्वास्थ्यचौकीका सिनियर अनमी करुणा थापाले भिआइए जाँच, उपचार तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । सोही अवसरमा सिङ्गा स्वास्थ्यचौकीका इन्चार्ज हरिलाल अधिकारी, सिनियर अनमी दिलकुमारी थापा, सिनियर अहेव शर्मिला पौडेल र सहरी स्वास्थ्य केन्द्र प्रमुख अनमी संगम खत्रीले नसर्ने रोगको परीक्षण एवं उपचार गर्नुभएको थियो ।
महिलाहरुको पाठेघरमा मुखको क्यान्सर परीक्षण गरी रोग पत्ता लगाउन, उपचार गर्न, रोकथाम तथा नियन्त्रण गरी समुदायस्तरमा सचेतना जगाउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताउनुभयो । गएको जेठ १५ गते बेनी नगरपालिकाले नगरका सबै वडामा ४५ वर्षदेखि माथिका सर्वसाधारणलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको सुरुवात गरेको थियो । सोहीअन्तर्गत सिङ्गामा भिआइए जाँच शिविर आयोजना गरिएको जनाइएको छ भने अब नगरपालिकामार्फत ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ ।
आगामी दिनमा आवश्यकताअनुसार अन्य वडाहरुमा पनि महिलाको पाठेघर खस्ने रोगको भिआइए जाँचसम्बन्धी शिविर सञ्चालन गर्ने बताइएको छ । पाठेघरसम्बन्धी समस्या धेरै महिलाहरुले खुलेर नबताउने हुँदा पाठेघरमा मुखको क्यान्सर हुने गरेको पाइन्छ । जसका कारण महिलाको ज्यानै जान सक्ने खतरा हुन सक्ने भएकाले समय समयमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने तथा असुरक्षित यौन सम्पर्क गर्नाले पाठेघरमा क्यान्सरको जोखिम बढ्छ ।