Thursday, May 1, 2025
19.3 C
Beni
19.3 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 827

वनको शौचालयमै किशोरी बलात्कृत, जोमसोमबाट राजन पक्राउ

0

जिल्ला प्रहरी कार्यालय मुस्ताङले एक किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ चैलेका २९ वर्षीय राजन विक रहेका छन् ।

प्रहरीका अनुसार विकले १६ वर्षकी एक किशोरीलाई जबरजस्ती करणी गरेका थिए । विकले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि शनिबार साँझ जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ घरपझोङ गाउँपालिका–४ जोमसोमबाट विकलाई पक्राउ गरेको हो । विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरु काटेको अभियोगमा पक्राउ परेका धरौटीमा रिहा

0

गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेका ९ जना धरौटीमा छुटेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा पक्राउ परेका सोमबार जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालतले गोरु काट्ने क्रममा संलग्न पुरुषलाई जनही १ लाख २० हजार र महिलालाई ४५ हजार धरौटी माग गरिएको थियो । पक्राउ परेकालाई बिना सर्त रिहाईको माग गदैं मंगोल नेशनल अर्गनाइजेशनले आन्दोलन समेत गरेको थियो ।

आन्दोलनकर्ताले मंगोल मौलिक, धर्म, संस्कार र संस्कृतिमा गोरूले कुल पुज्ने परम्परा रहेकाले मौलिकतामा प्रहार गदै पुर्खा देखि चलि आएको संस्कारमा हस्तक्षेप गरिएको गुनाासो गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा समेत गौबध हुने गरेको छ । छाडा पशुचौपाया, दुध दिन छोडेपछि गाईलाई समेत बध गर्नेहरु खोजीखोजी दिने क्रममा केहीदिन अगाडी प्रहरीले नै एउटा गाईको अलपत्र परेको अवस्थामा उद्धार गरेको थियो ।

 

खारा-खाम्ला सडकको मार्ग खुल्यो

0

जिल्लाको मालिका गाउँपालिका-७ खाराबाट धवलागिरि गाउँपालिका-४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ ।धवलागिरि गाउँपालिका, म्याग्दीखोलामा निर्माण हुन लागेका जलविद्युत् आयोजना, प्रदेश र सङ्घीय सरकारले पछिल्लो पाँच वर्षयता १० किलोमिटर दूरीको यो सडकको विभिन्न ठाउँमा मार्ग खोलेका छन् ।

म्याग्दी नदीमा ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ मेगावाट क्षमताको अपर म्याग्दी–१ र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । जलविद्युत् आयोजना निर्माणस्थलमा ढुवानी र आवतजावतका लागि निर्माण भएको सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ ।

धवलागिरि गाउँपालिका–खिवाङका किसान पुनले खारा–खाम्ला सडक निर्माण भएपछि भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने खाम्ला, खिवाङ, चेचुङ, नाउरा, बगरका बासिन्दाका साथै धवलागिरि हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई पनि सुविधा पुगेको बताए ।

यसअघि खिवाङबाट खारा हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न तीनदेखि चार घण्टा लाग्ने गरेकामा यात्रा अवधि एक घण्टामा छोटिएको छ । शिवरात्रि, बाँसबोट, खारालगायतका स्थानमा अक्करे भिरको चट्टान फुटाएर सडक बनाइएको छ । आवतजावत, ढुवानी, जडीबुटी र स्थानीय कृषि तथा पशुजन्य उत्पादन निकासीमा सहज भएको स्थानीयवासीले बताएका छन् ।

धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले वर्षौँअघि निर्माणको अनुमति लिएर बसेका जलविद्युत् आयोजनालाई गति दिन पहल र सहजीकरण गरिएको बताए । खाम्लामा पुगेको सडकलाई खिबाङ पुर्याउन पालिका र प्रदेश सरकारको रु एक करोड ३३ लाख बजेटमा मार्ग खोल्ने काम भइरहेको पनि उनले बताए ।

गाउँपालिकाको केन्द्र मुनाबाट मुदी पुगेको सडकलाई विस्तार खिवाङ र मुदीको सिमानामा लगिएको छ । अपर म्याग्दी–१ को बाँध निर्माणस्थल नजिक पुगेको सडकलाई अपर म्याग्दी र म्याग्दीखोला जलविद्युत् आयोजनाले विस्तार गरेर नाउरा–बगर हुँदै धवलागिरि आधार शिविर नजिकको दोभानमा पु¥याउन लागेका छन् ।

भोकभोकै विद्यालय जान वाध्य बेसहारा बालबालिकालाई सहयोग जुट्दै

0

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाकका लागि अल्पकालीन सहयोग जुटेको छ ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा आइतबार बेनी अनलाइन लगाएत विभिन्न संचारमाध्यममा ‘भोकभोकै विद्यालय जान्छन् आमाबाबु विहीन बालबालिका’ शीर्षकको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि ती बालबालिकाहरुलाई सोमबार तीनजना मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गरेर खाद्यान्न लगाएतका आवश्यक सामाग्री जुटेको हो ।

दुई वर्ष अघि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको वर्षका १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले रु २१ हजार ५ सय बराबरको खाद्यान्न ती तिनजना बालबालिकाहरुलाई उपलव्ध गराएकी हुन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहनुभएकी रोका मगरले आवश्यक स्टेशनरी र विद्यालय पोशाक लगाएतका अन्य आवश्यकीय सामाग्रीका लागि थप रकम उपलव्ध गराउने बताएकी छन् ।

त्यसैगरी सिराहा नगरपालिका सिराहा घर भै हाल कतारमा कार्यरत डा.एम.आलमले रु २० हजार सहयोग गर्नुभएको छ भने काठमाण्डौंबाट नानीकिरण सुनुवारले रु ११ हजार सहयोग गरेका छन् ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो ।

उनलाई एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने भएका छन् ।त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ ।

पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो । पुजनलाई खाद्यान्न जुटेपनि वस्नको लागि भने अझै टुंगो लाग्न सकेको छैन ।

त्यस्तै बुबा र आमा दुवैले अर्को बिबाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकलाई हजुरआमाले पाल्ने र खाद्यान्न विद्यालयले सहयोग जुटाएर उपलव्ध गराउने भएको छ । मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिबाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको विचल्ली भएको हो।

विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थीहरुको अवस्था अञ्जु,पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए ।

बुबाको मृत्यु भएका,आमाले अर्कैसंग बिबाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई देख्दा आँखाबाट आँशु आउने शिक्षिका घनदेवी घर्तीले बताइन् । अरु मनकारी व्यक्तिहरुले पनि उनीहरुको पढाइलेखाईको खर्च व्यहोरी दिए ती असहाय बालबालिकाहरुलाई ठूलो सहयोग हुने उनले बताइन् ।यस अघि कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात विताउने गरेको मञ्जु स्वयंले बताइन् ।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन् ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ । त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।
‘सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन,अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ,अहिले तत्कालै दुईकोठे भवन बनाएर भए पनि उनीहरुलाई छात्रवासमा राख्ने प्रवन्ध गर्नुपर्छ’ बगरफाँट स्थायी घर भै हाल काठमाण्डौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भने ।

रघुगङ्गामा सफ्टवेयरबाट रसिद

0

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ ।सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो ।

सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।“गाउँपालिका र वडा कार्यालयले सेवा शुल्कको रसिद सफ्टवेयरबाट काट्ने गरिएको छ”, उनले भने, “वडा कार्यालयले हरेक १०÷१० दिन र गाउँपालिकामा सङ्कलित राजस्व भोलिपल्ट बैंकमा दाखिला गरेर रसिद सफ्टवेयरमा अपलोड गर्छन् । तोकिएका समयमा राजस्व जम्मा नगरेसम्म रसिद काट्न सफ्टवेयरले नै दिदैन ।”

गत आर्थिक वर्षमा रु छ लाख ७१ हजार ५०० सङ्कलन भएको सिफारिस दस्तुरबाट चालू आर्थिक वर्षमा रु १६ लाख आम्दानी हुने अनुमान गरिएकामा जेठ २० गतेसम्म रु ३१ लाख ८६ हजार ८५४ सङ्कलन भएको लेखा अधिकृत खगराज सुवेदीले बताए । रघुगङ्गाले बनाएको सर्भरमा सार्वजनिक गर्न मिल्ने कार्यपालिका, गाउँसभाका निर्णय र भुक्तानीको बिलकोसमेत भण्डारण गर्ने काम सकिएपछि आम नागरिकको पहुँच हुनेछ । औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र सेवाग्राहीलाई इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको छ ।

सिफारिस, उपभोक्ता समितिलगायत विभिन्न काम लिएर आउने सेवाग्राहीले गाउँपालिकामा दिनुपर्ने निवेदनको नमूना विकास गरिएको छ । आफ्नै भवनबाट सञ्चालन भएको रघुगङ्गामा सेवाग्राहीले भर्ने सन्तुष्टि फाराममा दिने सुझाव विश्लेषण गर्ने संयन्त्र बनाइएको छ ।

कार्यालयको सुरक्षा र निगरानीका लागि सिसीटिभी जडान, म्यानुअलका अतिरिक्त विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएका छन् । आठवटै वडा कार्यालयमा पूर्वाधार, कृषि र पशु सेवाका प्राविधिक वडा कार्यालयमै बसेर सेवा दिन थालेका छन् ।

वडा सचिव नहुँदा ४, ६ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीका रुपमा काम गरेका छन् । कर्मचारीको सेवासुविधाको विषय समेटेर कार्यक्रम सञ्चालन निर्देशिका बनाएको रघुगङ्गाले बेरुजु असुल उपर गर्न घरदैलो अभियान चलाउने तयारी गरेको छ ।

असुल गर्नुपर्ने बेरुजु भएकाको घरमै गएर भेट्ने र फछ्र्योट गर्नेलाई सम्बन्धित ठाउँमै प्रमाणपत्र दिने गरी कार्यक्रम बनाएको प्रशासकीय अधिकृत सुवेदीले बताए । कूल रु ९३ लाख ७१ हजार २४५ बेरुजु रहेको छ । रु २६ लाख १३ हजार ८७२ असुल गर्नुपर्ने, रु ६० लाख १९ हजार ८८३ प्रमाण पेश गर्ने र रु सात लाख ३७ हजार ४९० पेस्की बेरुजु छ ।

उपभोक्ता समितिमार्फत भएका केही योजनामा तोकिएको दररेटभन्दा कम दरमा काम हुँदा पनि बेरुजु औल्याइएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ मा १६० वटा योजनामध्ये १४० सम्झौता र ८७ वटा सम्पन्न तथा २० वटा सम्झौता हुन बाँकी छन् । रासस

बाँझो जग्गा उपयोगमा ल्याउन गर्न घरेलु उद्योग महासंघको माग

0

नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ। सोमबार महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतीयोग्य जमिन अझै बाँझो रहेका जग्गाको पहिचान गरी बेरोजगार युवा परिचालन गरेर कृषिजन्य बस्तु उत्पादन गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

महासंघको टोलीले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपमेयर ज्योति लामिछानेलाई ज्ञापन पत्र बुझाउँदैखेर गैरहेको जग्गामा त्यहाँको सम्भाव्यता अनुसारका बस्तु उत्पादन गरि युवलाई उद्यममा लाग्न प्रोत्साहन गर्ने खालका कार्यक्रम संचालन गर्न अनुरोध गरेको थियो।

छ बुँदे सुझाव सहितको ज्ञापन पत्रमा उद्योगहरुको पहिचान गरि अभिलेख तयार गर्ने, उद्यमीहरुलाई वित्तीय अवस्थाका आधारमा प्रोत्साहन स्वरुप कर्जा प्रदान गर्ने, उत्पादित बस्तु बिक्रिमा अनुदानको व्यवस्था गर्ने, युवा लक्षित उद्यमशिलताको विकास गर्ने बिषय उठाईएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख केसीले नगरभित्रका साना उद्योग तथा उद्यमीहरुको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको बताए । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सृजना श्रेष्ठ, जिल्ला उपाध्यक्ष लोकनाथ रेग्मी, सचिव हरि कार्की, परियार सेवा समाज र म्याग्दी टेलरिङ संघ लगायतको उपस्थिति रहेको थियो ।

पर्वतको कुस्माबाट पोखराको पामे जोड्ने सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

0

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ ।

साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनको योजनामा समावेश गर्नका लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने छ । यही जेठ २६ गतेको सचिवस्तरको बैठकको निर्णयअनुसार विभागलाई स्वीकृति प्रदान गरिएको सो मन्त्रालयका शाखा अधिकृत रामजी घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचारसमेत गरिसकिएको छ ।

सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुने जनाइएको छ । सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जनाइएको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ ।

गरिमा बैंकको सर्वोदय माविमा वित्तीय साक्षरता कार्यक्रम

0

गरिमा विकास बैंक पोखरेबगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अन्नपूर्ण गाउँपालिका-२, भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविका विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको छ ।

वित्तिय साक्षरता कार्यक्रममा शाखा प्रबन्धक श्याम थापाले खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधा, डिजिटल सेवा लगायत विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । उत्तरी क्षेत्रका विभिन्न बस्तीमा पुगेर सेवा दिइरहेको बैंकले विद्यार्थीलाई बचतको महत्वका बारेमा धेरै जानकारी गराएको प्रबन्धक थापाको भनाई छ ।

कार्यक्रममा कक्षा १० मा अध्ययनरत ३० विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विब्यस अध्यक्ष बुद्धि पु्न, सहायक प्रअ टक बहादुर पुन लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सहयोग तथा वित्तिय साक्षरता कार्यक्रम गर्ने गरेको छ ।

बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै

0

ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो ।

ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको वडानम्वर ७ रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना निर्माण हुन लागेको छ । ‘‘दुईबर्षभित्र विद्युत उत्पादन गर्ने लक्षसहित आगामी मंसिरदेखि विद्युतको पुर्वाधार निर्माण कार्य सुरु हुनेछ’’, श्रेष्ठले भन्नुभयो – ‘१ अर्व १० करोडको लगानीमा उक्त सम्पन्न हुने योजनामा ७० प्रतिशत सिभिल बैंकको र लगानीकर्ताको ३० प्रतिशत हुने छ ।

विद्युत उत्पादन अनुमति प्राप्त गरेको आयोजनाले ‘सडक पहुँच पु¥याउने र जग्गा ब्यवस्थापनको काम अघि बढेको छ । आगामी बर्षको मंसिर पुषदेखि काम सुरु गर्ने लक्षसहित आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको समेत श्रेष्ठले जानकारी दिनुभयो । ‘दुइकिलोमिटर पाईपबाट पानी लिएर २७२ मिटर उचाईबाट पानी झारेर विद्युत उत्पादन गरिने छ ।

आयोनजनाबाट उत्पादन भएको विद्युत गरज्याङ सवस्टेशनमा जेडिनेछ ।’ यस संस्थाको अध्यक्ष ऐन्जटेन्जी शेर्पा हुनुहुन्छ । यस संस्थाका संचालक सदस्यहरुको नेतृत्वमा अन्य जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसक्नुभएको छ । यस आयोजनामा शेयर लगानी गर्ने इच्छुक ब्यक्तिहरुले यही असार मसान्तभित्र पहिलो किस्ता जम्मा गरिसक्नुपर्ने छ । उक्त लगानीको लागि संचालक सदस्य प्रमोद श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन, सम्मेलनबाट ११ बुँदे बेनी घोषणापत्र जारी

0

‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशको बाल परिषदका पूर्व अध्यक्ष दिपा आचार्यले बालविवाह न्युनीकरण गर्नका लागि किशोरीहरुको विशेष भूमिका रहनेमा जोड दिनुभयो । उहाँले म्याग्दी जिल्लाको किशोरी सञ्जाललाई केन्द्रीय किशोरी सञ्जालमा आबद्ध हुनका लागि आग्रह गर्दै जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पुगेर बालविवाह विरुद्धको सचेतनामूलक अभियानलाई तीव्र रुपमा सञ्चालन गरी बालविवाहको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । बालविवाह न्युनीकरण गर्न सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

किशोरी सम्मेलनको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन तथा सामाजिक कुरिती न्युनीकरणमा सामाजिक विकास कार्यालयले खेलेको भूमिकालगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी संगम म्याग्दीका स्रोतव्यक्ति भरतप्रसाद केसीले सानै उमेरमा हुने बालविवाहले पार्ने असर तथा न्युनीकरणका उपायलगायत र सहजकर्ता मुक्तिप्रसाद ढुङ्गानाले सामाजिक परीक्षणको विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो ।

सोही अवसरमा ज्योती विकास बैंक म्याग्दी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । म्याग्दीको बेनीमा सम्पन्न प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनले बालविवाह न्युनीकरण तथा किशोरीहरुको हकहित र अधिकारसँग सम्बन्धित रहेर विभिन्न बुँदाहरु समेटेर बनाइएको ११ बुँदे बेनी घोषणापत्र पनि जारी गरिएको आयोजक संस्था संगम म्याग्दीले जनाएको छ ।

बालविवाह न्युनीकरण गर्नका लागि संगम म्याग्दीले पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको चारवटा वडाहरु लुलाङ, मुदी, मुना र ताकममा बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानलाई वडा, पालिका र जिल्ला हुँदै प्रदेशस्तरमा पनि यसको प्रभाव पु¥याउनका लागि सहकार्य र समन्वय होस् तथा साझेदार निकायसँग बालविवाह न्युनीकरण गर्नका लागि हातेमालो र सहकार्य होस् भन्ने उद्देश्यका साथ प्रदेशस्तरीय किशोरी सम्मेलनको आयोजना गरिएको संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।

किशोरी सञ्जालका केन्द्रीय सदस्यद्वय अलिसा ठकुरी र सवनम मल्लले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्लास्तरीय किशारी सञ्जाल म्याग्दीका अध्यक्ष नरदेवी विकको अध्यक्षता, संगम म्याग्दीका सहसचिव सुनिता बेलबासेको सञ्चालन र सदस्य धनमाया श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । सम्मेलनमा म्याग्दीसहित पर्वत, कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाको बाल सञ्जालबाट किशोरीहरुले सहभागिता जनाएका थिए ।

अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न पश्चिम म्याग्दीको खासगरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको सङ्गम म्याग्दीले जानकारी दिएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र सङ्गम म्याग्दीको आयोजनामा बालविवाह रोक्न समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन भैरहेको छ ।

error: Content is protected !!